(१३) तेह्रौं समुल्लास ईसाईमतको विषयमा व्याख्या
(१३) तेह्रौं समुल्लास ईसाईमतको विषयमा व्याख्या
ओ३म्
अनुभूमिका (३)
जुन यो बाइबलको मत छ, त्यो केवल ईसाईहरूको हो भन्ने गरिन्छ सो होइन, किन्तु यसबाट यहूदी आदि पनि गृहीत हुन्छन् । जुन यो (१३) तेह्रौं समुल्लासमा ईसाईको मतको विषयमा लेखिएको छ, यसको अभिप्राय यो हो कि आजभोलि बाइबलको मतमा ईसाईहरू मुख्य भैरहेका छन् र यहूदी आदि गौंण छन् । मुख्यको ग्रहणबाट गौंणको पनि ग्रहण हुन जाने हुनाले, यसबाट यहूदीहरूको पनि ग्रहण सम्झनुपर्दछ ।
यिनको जुन विषय यहाँ लेखिएको छ सो केवल बाइबलबाट कि जसलाई ईसाई र यहूदी आदि सबैले मान्दछन् र यसै पुस्तकलाई आफ्नो धर्मको मूलकारण सम्झन्छन् ।
यस पुस्तकका भाषान्तर थुप्रै भएका छन्, जो कि यिनका मतमा ठूला-ठूला पादरी भए, उनैले बनाएका हुन् । त्यस मध्येमा देवनागरी वा संस्कृत भाषान्तरलाई हेर्दाखेरी मलाई बाइबलमा थुप्रै शङ्का भएको छ, त्यस मध्येबाट थोरै मात्र यस तेह्रौं समुल्लासमा सबैको विचारार्थ लेखेको छु । यो लेख केवल सत्यको वृद्धि र असत्यको ह्रास गर्नको लागि हो, न कि कसैलाई दुःख दिनु वा हानि गर्न अथवा मिथ्या दोष लगाउनको अर्थमा । यसको अभिप्राय उत्तर लेखमा सबैले सम्झनेछन् कि यो पुस्तक कस्तो छ र यिनको मत पनि कस्तो छ ?
यस लेखबाट यही प्रयोजन गरिएको छ कि सबै मनुष्यमात्रले हेर्न, सुन्न, लेख्न आदिको लागि सहज हुनेछ र पक्षी-प्रतिपक्षी भएर विचार गर्दै ईसाई मतको आन्दोलन सबैले गर्न सक्नेछन् ।
यसबाट एउटा यो प्रयोजन सिद्ध हुनेछ कि मनुष्यहरूको धर्मविषयक ज्ञान बढेर यथायोग्य सत्याऽसत्य मत र कर्त्तव्याकर्त्तव्य कर्मसम्बन्धी विषय विदित भएर सत्य र कर्तव्य कर्मको स्वीकार, असत्य र अकर्तव्य कर्मको परित्याग गर्न सहजताले हुन सक्नेछ ।
सबै मनुष्यलाई यो उचित छ कि सबैको मतविषयक पुस्तकहरूलाई हेरेर, बुझेर केही सम्मति वा असम्मति देऊन् वा लेखून्, नत्र सुन्ने गरून् । किनभने जसरी पढ्नाले ‘पण्डित’ हुन्छ, त्यसरी नै सुन्नाले ‘बहुश्रुत’ हुन्छ । यदि श्रोता दोस्रालाई सम्झाउन सक्दैनन् भने पनि स्वयंले त बुझ्ने नै छन् । जो कसैले पक्षपातरूप यानारूढ भएर हेर्दछन्, तिनीहरूलाई न आफ्नो न त पराय गुण दोष विदित हुन सक्दछ ।
मनुष्यको आत्मा यथायोग्य सत्याऽसत्यको निर्णय गर्नको लागि सामर्थ्य राख्दछ । जति आफ्नो पठित वा श्रुत हुन्छ, त्यति निश्चय गर्न सक्दछ । यदि एक मतवालाले दोस्रो मतवालाको विषहरूलाई जान्ने र अन्यले नजानेमा त यथावत् संवाद हुन सक्दैन, किन्तु अज्ञानी कुनै भ्रमरूप खोरमा पर्दछ । यस्तो नहोस् त्यसैले यस ग्रन्थमा, प्रचरित सबै मतहरूको विषय थोरै-थोरै लेखिएको छ । यत्तिबाटै शेष विषयहरूमा अनुमान गर्न सकिन्छ कि यिनीहरू साँचा हुन् कि झुट्टा ?
जुन-जुन सर्वमान्य सत्य विषय हुन्, ती सबैमा एक समान छन् । झगडा झुटो विषयमा हुने गर्दछ । अथवा एउटा साँचो र अर्को झुटो भएमा पनि केही थोरै विवाद त चलिहाल्दछ । यदि वादी-प्रतिवादीले सत्याऽसत्य निश्चयको लागि वाद-विवाद गरे भने त, अवश्य निश्चय हुन जान्छ ।
अब म यस १३औं समुल्लासमा ईसाईमत विषयक थोरै मात्र लेखेर सबैको सम्मुख स्थापित गर्दछु, विचार गर्नुहोस् कस्तो लाग्दछ ?
॥अलमतिलेखेन विचक्षणवरेषु ॥
॥ इत्यनुभूमिका ॥
•
—दयानन्द सरस्वती
पुस्तक हुनसक्दछ । जसरी वेदोक्त परमेश्वर सबै पाप, क्लेश, दुःख शोकादिबाट रहित ‘सच्चिदानन्दस्वरूप’ छ, उसलाई ईसाईहरूले मान्दथे वा अब पनि(१३) तेह्रौं समुल्लास
ईसाईमतको विषयमा व्याख्या
ईसाईमतको समीक्षा (१३.१)
अब यस भन्दा अगाडि ईसाईहरूको मत-विषयमा लेखिन्छ, जसबाट सबैलाई विदित हुन जानेछ कि यिनको मत निर्दोष र यिनको बाइबल पुस्तक ईश्वरकृत हो कि होइन ? प्रथम बाइबलको तौरेतको विषय लेखिन्छ । त्यस मध्येबाट प्रथम उत्पत्तिको विषयमा केही-केही विषय देखाइन्छ—
(क) पुरानो विधानको पुस्तक (तौरेत) (१३.२)
उत्पत्ति पुस्तक (१३.२.१)
मूल-१— आरम्भमा ईश्वरले आकाश र पृथ्वीलाई सृज्यो ॥ पृथ्वी असमान र सुनसान थियो अनि गहिराइमा अँध्यारो थियो र ईश्वरको आत्मा जलमाथि डोलिरहेको थियो ॥
[इलाहाबाद मिशन प्रेसबाट विक्रम संवत् १९२३ मा मुद्रित, पुरानो नियमको पहिलो भाग अर्थात् तौरेतको पुस्तक, उत्पत्ति] —तौरेत (उत्पत्तिपर्व/अध्याय १/आयत १, २) ॥
समीक्षक— आरम्भ कसलाई भन्दछौ ?
ईसाई— सृष्टिको प्रथमोत्पत्तिलाई ।
समीक्षक— के यही सृष्टि प्रथम हो, यसको पूर्व कहिल्यै भएन ?
ईसाई— हामीले जान्दैनौं, भयो कि भएन, ईश्वरले जानोस् ।
समीक्षक— जब जान्दैनौ भने त तिमीले यस पुस्तकमाथि विश्वास किन गर्यौ, किनभने जसबाट सन्देहको निवारण हुन सक्दैन र यसैको भरोसामा मान्छेहरूलाई उपदेश गरेर यस सन्देहले भरिएको मतमा किन फसाउँदछौं ? र जुन निःसन्देह सर्वशङ्कानिवारक वेदमतलाई स्वीकार किन गर्दैनौ ? जब तिमीले ईश्वरको सृष्टिको हाललाई जान्दैनौ भने त ईश्वरलाई कसरी जान्दछौ होला ?
आकाश कसलाई मान्दछौ ?
ईसाई— खुला र माथितिरकोलाई ।
समीक्षक— खुलाको उत्पत्ति कुन प्रकारले भयो ! किनभने यो विभु पदार्थ र अति सूक्ष्म छ र तल माथि एकैनासको छ । जब आकाश सृजेको थिएन तब खुला र अवकाश थियो कि थिएन ? यदि थिएन भने त ईश्वर, जगत्को कारण र जीव कहाँ रहन्थे ? बिना अवकाशको कुनै पदार्थ स्थित हुन सक्दैन, यसैले तिम्रो बाइबलको कथन युक्त छैन ।
ईश्वर असमान, उसको ज्ञान-कर्म असमान हुन्छ कि समानवाला ?
ईसाई— समान हुन्छन् ।
समीक्षक— त्यसो भए यहाँ ईश्वरले बनाएको पृथ्वी समान थिएन, यस्तो किन लेखियो ?
ईसाई— असमानको अर्थ उबड-खाबड अर्थात् अग्लो-होचो थियो, बराबर थिएन ।
समीक्षक— फेरि बराबर कसले गर्यो ? के अहिले पनि तल-माथि उठेको-बसेको छैन ? यसैले ईश्वरको काम असमान हुन सक्दैन, किनभने ऊ सर्वज्ञ छ, उसको काममा भुलचुक कहिल्यै हुँदैन र बाइबलमा ईश्वरको सृष्टि असमान लेखियो, यसैले यो पुस्तक ईश्वरकृत हुन सक्दैन ।
समीक्षक— प्रथम ईश्वरको आत्मा के पदार्थ हो ?
ईसाई— चेतन ।
समीक्षक— त्यो साकार हो कि निराकार तथा व्यापक हो कि एकदेशी ?
ईसाई— निराकार, चेतन र व्यापक हो । परन्तु कुनै ‘चुनिएको पर्वत’, ‘चौथो आकाश’ आदिमा विशेष गरेर रहन्छ ।
समीक्षक— यदि त्यो निराकार हो भने त उसलाई कसले देख्यो ? र व्यापकको जलमाथि डोल्ने कहिल्यै हुँदैन । भला ! जब ईश्वरको आत्मा पानीमाथि डोलिरहेको थियो भने तब ईश्वर कहाँ थियो ? यसबाट यही सिद्ध हुन्छ कि ईश्वरको शरीर कहीं अन्यत्र स्थित थियो होला अथवा आफ्नो केही आत्माको एक टुक्रालाई पानीमाथि डुलाइदियो होला । यदि यस्तै हो भने त विभु र सर्वज्ञ कहिल्यै हुन सक्दैन । यदि विभु होइन भने त जगत्को रचना, धारण, पालन र जीवहरूको कर्महरूको व्यवस्था वा प्रलय कहिल्यै गर्न सक्दैन । किनभने जुन पदार्थको स्वरूप एकदेशी हुन्छ, त्यसको गुण, कर्म, स्वभाव पनि एकदेशी हुन्छन् । यदि यस्तो हो भने त त्यो ईश्वर हुन सक्दैन । किनभने ईश्वर सर्वव्यापक, अनन्त गुण-कर्म-स्वभावयुक्त, सच्चिदानन्दस्वरूप, नित्य, शुद्ध, बुद्ध, मुक्तस्वभाव, अनादि, अनन्तादि लक्षणयुक्त वेदहरूमा भनिएको छ, उसैलाई मान तब नै तिम्रो कल्याण हुनेछ, अन्यथा हुँदैन ॥१॥
मूल-२— र ईश्वरले भन्यो कि उज्यालो भएस् तब उज्यालो भयो ॥ ईश्वरले उज्यालोलाई हेर्यो कि राम्रो छ...॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय १/आयत ३, ४) ॥
समीक्षक— के ईश्वरको कुरा जडस्वरूप उज्यालोले सुन्यो ? यदि सुनेको भए, अहिले पनि सूर्य र दीप अग्निको प्रकाशले हाम्रो-तिम्रो कुरा किन सुन्दैन ? प्रकाश जड हुन्छ, त्यसले कहिल्यै कसैको कुरा सुन्न सक्दैन । के जब ईश्वरले उज्यालोलाई देख्यो तबै जान्यो कि उज्यालो राम्रो छ ? पहिला जान्दैनथ्यो ? यदि जान्दथ्यो भने त देखेर किन राम्रो छ भन्थ्यो ? यदि जान्दैनथ्यो भने त त्यो ईश्वर नै होइन । यसैले तिम्रो बाइबल ईश्वरोक्त र त्यसमा भनिएको ईश्वर सर्वज्ञ होइन ॥२॥
मूल-३— र ईश्वरले भन्यो कि पानीको मध्यमा आकाश बनोस् र पानीलाई पानीले विभाग गरोस् ॥ तब ईश्वरले आकाशलाई बनायो र आकाशको तलको पानीलाई आकाशको माथिको पानीले विभाग गर्यो र यस्तै भयो ॥ ईश्वरले आकाशलाई स्वर्ग भन्यो अनि साँझ र बिहान दोस्रो दिन भयो॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १/आयत ६, ७, ८) ॥
समीक्षक— के आकाश र जलले पनि ईश्वरको कुरा सुने ? र यदि जलको बीचमा आकाश हुँदैनथ्यो भने त जल रहन्थ्यो नै कहाँ ? प्रथम आयतमा आकाशलाई सृजेको थियो पुनः आकाशलाई बनाउनु व्यर्थ भयो । यदि आकाशलाई स्वर्ग भने त त्यो सर्वव्यापक छ यसैले सर्वत्र स्वर्ग भयो, फेरि माथि स्वर्ग छ भन्नु व्यर्थ भयो । जब सूर्य उत्पन्न नै भएको थिएन भने पुनः दिन र रात कहाँबाट हुन गयो ? यस्तै असम्भव कुराहरू अगाडिका आयतहरूमा भरी छ ॥३॥
मूल-४— तब ईश्वरले भन्यो कि मैले आदमलाई आफ्नो स्वरूपमा आफ्नै समान बनाउँछु । तब ईश्वरले आदमलाई आफ्नो स्वरूपमा उत्पन्न गर्यो, उसले त्यसलाई ईश्वरको स्वरूपमा उत्पन्न गर्यो, उसले तिनलाई नर र नारी बनायो ॥ र ईश्वरले तिनीहरूलाई आशीष दियो.....॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १/आयत २६, २७, २८) ॥
समीक्षक— यदि आदमलाई ईश्वरले आफ्नो स्वरूपमा बनायो भने त ईश्वरको स्वरूप पवित्र, ज्ञानस्वरूप, आनन्दमय आदि लक्षणयुक्त हुन्छ, उसको सदृश आदम किन भएन ? यदि भएन भने त उसको स्वरूपमा बनेन । फेरि आदमलाई उत्पन्न गर्यो भने त ईश्वरले आफ्नो स्वरूपलाई नै उत्पत्तिवाला गरायो, पुनः त्यो अनित्य किन होइन र आदमलाई कहाँबाट उत्पन्न गर्यो ?
ईसाई— माटोबाट बनायो ।
समीक्षक— माटो कहाँबाट बनायो ?
ईसाई— आफ्नो ‘प्रकृति’ अर्थात् सामर्थ्यबाट ।
समीक्षक— ईश्वरको सामर्थ्य अनादि हो कि नवीन ?
ईसाई— अनादि हो ।
समीक्षक— जब अनादि हो भने त जगत्को कारण सनातन भयो, फेरि अभावबाट भावमा किन मान्दछौ ?
ईसाई— सृष्टिको पूर्व ईश्वरको बिना कुनै वस्तु थिएन ।
समीक्षक— यदि थिएन भने त यो जगत् कहाँबाट बन्यो ? र ईश्वरको सामर्थ्य चाहिं गुण हो कि द्रव्य ? यदि द्रव्य हो भने त ईश्वरदेखि भिन्न दोस्रो पदार्थ थियो र गुण हो भने त गुणबाट द्रव्य कहिल्यै बन्न सक्दैन, जसरी रूपबाट अग्नि र रसबाट जल बन्न सक्दैन । यदि ईश्वरबाट जगत् बनेको भए त ईश्वरको सदृश गुण, कर्म, स्वभाववाला हुनुपर्ने थियो । उसको गुण, कर्म, स्वभावको सदृश नहुनाले यही निश्चय हुन्छ कि ईश्वरबाट बनेन, किन्तु जगत्को कारण अर्थात् परमाणु आदि नामवाला जडबाट बनेको हो ।
जस्तो कि उत्पत्ति वेदादि शास्त्रहरूमा लेखिएको छ, त्यस्तै नै मान, जसबाट ईश्वरले जगत्लाई बनाउँछ । यदि आदमको भित्रको स्वरूप जीव र बाहिर मनुष्यको सदृश हो भने त त्यस्तै ईश्वरको स्वरूप किन होइन ? किनभने जब आदम ईश्वरको सदृश बन्यो भने त ईश्वर आदमको सदृश अवश्य हुनुपर्दछ ॥४॥
मूल-५— तब परमेश्वर ईश्वरले भूमिको धुलोबाट आदमलाई बनायो र उसको नथुनामा जीवनको श्वास फुक्यो र आदम जीवता प्राण भयो ॥ र परमेश्वर ईश्वरले अदनमा पूर्वतिर एउटा बगैंचा लगायो र त्यसमा आदम जसलाई पहिले बनाएको थियो, त्यसमा राख्यो ॥ र त्यस बगैंचाको मध्यमा जीवनको वृक्ष र राम्रा नराम्रा ज्ञानको वृक्ष भूमिबाट उमार्यो ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २/आयत ७, ८, ९) ॥
समीक्षक— जब ईश्वरले अदनमा बगैंचा बनाएर त्यसमा आदमलाई राख्यो तब ईश्वरले जान्दैनथ्यो कि पुनः यहाँबाट यसलाई निकाल्न पर्नेछ ? र जब ईश्वरले आदमलाई धुलोबाट बनायो भने त ईश्वरको स्वरूप भएन, र यदि हो भने त ईश्वर पनि धुलोबाट बनेको होला ? जब त्यसको नथुनामा ईश्वरले श्वास फुक्यो भने त त्यो श्वास ईश्वरको स्वरूप थियो वा भिन्न ? यदि भिन्न थियो भने त आदम ईश्वरको स्वरूपमा बनेन । यदि एक हो भने त आदम र ईश्वर एकजस्तै भए । यदि एकजस्तै हुन् भने त आदमको सदृश जन्म, मरण, वृद्धि, क्षय, तृषा आदि दोष ईश्वरमा आयो, फेरि त्यो ईश्वर कसरी हुन सक्दछ ? त्यसैले यो तौरेतको कुरा कत्ति पनि ठीक विदित हुँदैन र यो पुस्तक पनि ईश्वरकृत होइन ॥५॥
मूल-६— र परमेश्वरले आदमलाई गहिरो निद्रामा पारे र त्यो सुत्यो, तब परमेश्वरले त्यसको करङहरूबाट एउटा निकालेर त्यसमा मासु भरिदियो ॥ र परमेश्वर ईश्वरले त्यसै करङबाट एउटी नारी बनायो र आदमको नजिकमा ल्यायो ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २/आयत २१, २२) ॥
समीक्षक— यदि ईश्वरले आदमलाई धुलोबाट बनायो भने त उसकी स्त्रीलाई धुलोबाट किन बनाएन ? यदि नारीलाई हड्डीबाट बनायो भने त आदमलाई किन हड्डीबाट बनाएन ? र जसरी नरबाट निस्कनाले नारी नाम भयो भने त नारीबाट निक्लेर नर पनि हुनुपर्दछ । र उनमा परस्पर प्रेम पनि रहोस्, जसरी स्त्रीको साथ पुरुषले प्रेम गरोस्, त्यसरी नै स्त्रीले पनि पुरुषको साथ प्रेम गरोस् ।
हेर विद्वान्हरू हो ! ईश्वरको कस्तो पदार्थविद्या अर्थात् ‘फिलोसफी’ झल्कन्छ ! यदि आदमको एउटा करङ निकालेर नारी बनायो भने त सबै मनुष्यको एउटा करङ किन कम्ती हुँदैन ? र स्त्रीको शरीरमा एउटामात्र करङ हुनुपर्दछ, किन कि त्यो एउटा करङबाट मात्रै बनेकी छ । के जुन सामाग्रीबाट जगत्लाई बनायो, उसै सामाग्रीबाट स्त्रीको शरीरलाई बनाउन सक्दैनथ्यो ? त्यसैले यो बाइबलको सृष्टिक्रम सृष्टिविद्यादेखि विरुद्ध छ ॥६॥
मूल-७— यहोवा परमेश्वरले जति बनैला पशु बनाएका थिए, ती सबैमा सर्प धूर्त थियो, र उसले स्त्रीसँग भन्यो, के साँचो हो, कि परमेश्वरले भनेको, कि तिमीले यस बाटिकाको कुनै वृक्षको फल नखानूँ ? ॥ स्त्रीले सर्पलाई भनी, यस बाटिकाको वृक्षको फल हामीले खान सक्दछौं ॥ परन्तु त्यस वृक्षको फल जुन बगैंचाको माझमा छ, ईश्वरले भनेको छ कि, तिमीले त्यसलाई नखाँनू न छुनू, कहीं यस्तो नहोस् कि मरौला ॥ तब सर्पले स्त्रीलाई भन्यो कि तिमीहरू निश्चय मर्नेछैनौ ॥ किनभने ईश्वरलाई थाहा छ कि जुन दिन तिमीले त्यसलाई खानेछौ त्यसै दिनबाट तिम्रो आँखा खुल्नेछ र तिमी राम्रो र नराम्रोको पहिचान गर्नमा ईश्वरकै समान हुन जानेछौ ॥ र जब स्त्रीले देखी त्यो वृक्ष खानमा सुस्वाद र दृष्टिमा सुन्दर बुद्धि दिनमा योग्य छ तब उसले फल टिपेर खाई र आफ्नो पतिलाई पनि दिई, उसले पनि खायो ॥ तब ती दुइटैको आँखा खुल्यो र दुवैले जाने कि हामी नाङ्गै छौं सो उनीहरूले अञ्जीरको पातलाई सिएर आफ्ना लागि ओढ्ने बनाए ॥
तब परमेश्वरले सर्पलाई भने कि तैंले जुन यो गराइस् यसको कारण तँ सारा घरेलु र हर एक वनको पशुभन्दा पनि अधिक श्रापित हुनेछस्, तँ आफ्नो पेटको बलले चल्नेछस् र आफ्नो जीवनभरी धुलो खानेछस् ॥ र मैले तँमा र तेरी स्त्रीमा र तेरो वंशमा र उसको वंशमा वैर बनाउनेछु, त्यसले तेरो शिर कुल्चनेछ र तैंले उसको कुर्कुच्चामा टोक्नेछस् ॥ र उसले स्त्रीलाई भन्यो कि मैले तेरो पीडा र गर्भधारणलाई बढाइदिनेछु, तैंले पीडाबाट बालकलाई जन्म दिनेछेस् र तेरो इच्छा तेरो पतिमाथि हुनेछ र त्यसले तँमाथि प्रभुता गर्नेछ । र उसले आदमलाई भन्यो कि तैंले आफ्नी पत्नीको वचनलाई मानिस् र जुन वृक्षको फल खानको लागि मैले वर्जना गरेको थिएँ, तैंले खाइस्, यसकारण भूमि तेरो लागि श्रापित छ, आफ्नो जीवनभरी तैंले त्यसको उपजलाई पीडाको साथमा खानेछस् । र त्यसले काँडा र धारिला वनस्पति तेरो लागि उमार्नेछ र तैंले खेतको साग पात खानेछस् ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३/आयत १-७, १४-१८) ॥
समीक्षक— यदि ईसाईहरूको ईश्वर सर्वज्ञ हुन्थ्यो भने त यस ‘धूर्त सर्प’ अर्थात् शैतानलाई किन बनाउँथ्यो ? र यदि बनाएमा पनि वही ईश्वर अपराधको भागी हुन्छ, किनभने उसले त्यस दुष्टलाई बनाउँदैनथ्यो भने त त्यसले किन दुष्टता गर्थ्यो ? र उसले पूर्व जन्म मान्दैन भने त बिना अपराध उसलाई पापी किन बनायो ? र साँच्चै भनौं भने त त्यो सर्प थिएन किन्तु मनुष्य थियो । किनभने मनुष्य हुन्थेन भने त मनुष्यको भाषा कसरी बोल्न सक्दथ्यो ?
र जो आफू झुटो र अरूलाई झुटोमा चलाउँछ भने, त्यसैलाई शैतान भन्नुपर्दछ । सो यहाँ शैतान सत्यवादी किन कि यसैले उसले त्यस स्त्रीलाई बहकाएन किन्तु साँचो बतायो र ईश्वरले आदम र हब्बासँग झुट भन्यो कि यसलाई खानाले तिमीहरू मर्नेछौ । जब त्यो वृक्ष ज्ञानदाता र अमर बनाउनेवाला थियो भने त त्यसको फल खानमा किन वर्जना गरियो ? र यदि वर्जियो भने त त्यो ईश्वर झुटो र बहकाउनेवाला ठहरियो । किनभने त्यस वृक्षका फल मनुष्यको लागि ज्ञान र सुखकारक थिए, अज्ञान र मृत्युकारक होइन ।
जब ईश्वरले फल खानको लागि निषेध गर्यो भने त, ती वृक्षको उत्पत्ति केको लागि गरेको थियो ? यदि आफ्नो लागि गरेको हो भने त, के आफू अज्ञानी र मृत्युधर्मवाला थियो ? यदि अरूको लागि बनाएको हो भने त खाँदामा अपराध हुने भएन । र आजभोलि कुनै पनि वृक्ष ज्ञानकारक र मृत्युनिवारक देख्नमा पाइँदैन, के ईश्वरले त्यसको बीउ पनि नष्ट गरिदियो ? यस्तो कुराबाट मनुष्य छली-कपटी हुन्छ भने त ईश्वर किन त्यस्तो भएन ? किनभने जसले दोस्रोसँग छल-कपट गर्दछ, त्यो छली-कपटी किन भएन ?
र यी तीनै जनालाई श्राप दियो, त्यो बिना अपराधको छ, पुनः त्यो ईश्वर अन्यायकारी पनि भयो र यो श्राप ईश्वरलाई हुनुपर्ने थियो, किनभने उसले झुटो बोल्यो र उनीहरूलाई बहकायो ।
यो ‘फिलोसफी’ हेर ! के बिना पीडाको गर्भधारण र बालकको जन्म हुन सक्दथ्यो ? र बिना श्रमको कसैले आफ्नो जीविका गर्नसक्दछ ? के प्रथम काँडा आदिका वृक्ष थिएनन् ? र जब साग-पात खान सबै मनुष्यलाई ईश्वरले बताउनाले उचित भयो भने त जुन उत्तरमा मांस खान बाइबलमा लेखियो, त्यो झुटो किन भएन ? र यदि त्यो साँचो हो भने त यो झुटो भयो ।
जब आदमको केही पनि अपराध सिद्ध हुँदैन भने त ईसाईहरू सबै मनुष्यलाई आदमको अपराधबाट सन्तान हुँदाखेरि अपराधी किन भन्दछन् ? भला यस्तो पुस्तक र यस्तो ईश्वर कहिल्यै बुद्धिमानीहरूलाई मान्न योग्य हुन सक्दछ ? ॥७॥
मूल-८— र परमेश्वर ईश्वरले भन्यो कि हेर ! आदम राम्रो नराम्रोको ज्ञान पाएर हामीदेखि एकको समान हुनगयो र अबदेखि यस्तो नहोस् कि कतै त्यसले आफ्नो हात बढाएर जीवन वृक्षको फल पनि टिपेर खाओस्, र सदा अमर हुन जाओस् ॥ सो उसले आदमलाई निकालिदियो र अदनको बगैंचाको पूर्वतिर करोबीम (रक्षक) राख्यो । र चम्किलो खड्ग जुन चारैतिर घुम्दथ्यो, जसले जीवनको वृक्षको मार्गको रक्षा गर्दथ्यो ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय ३/आयत २२, २४) ॥
समीक्षक— भला ! ईश्वरलाई यस्तो ईर्ष्या र भ्रम किन हुन गयो कि ज्ञानमा मेरो तुल्य भयो ? के यो नराम्रो कुरो भयो र... ? यो शङ्का किन भयो ? किनभने ईश्वरको तुल्य कहिल्यै पनि कोही हुन सक्दैन । परन्तु यस लेखबाट यो पनि सिद्ध हुन सक्दछ कि त्यो ईश्वर थिएन, किन्तु एक मनुष्य विशेष थियो । बाइबलमा जहाँ कहीं ईश्वरको कुरो आउँछ वहाँ मनुष्यको तुल्य नै लेखिएको छ ।
अब हेर्नुहोस् ! आदमको बढ्दो ज्ञानलाई देखेर ईश्वर किन दुःखी भयो र अमर वृक्षको फल खानमा कति ईर्ष्या गर्यो, र प्रथम जब त्यसलाई बगैंचामा राख्यो तब उसलाई भविष्यत्को ज्ञान थिएन कि पुनः यसलाई निकाल्न पर्नेछ, त्यसैले ईसाईहरूको ईश्वर सर्वज्ञ थिएन । र चम्किलो खड्गको पहरा राख्यो यो पनि मनुष्यको काम भयो, ईश्वरको होइन, मलाई बडो आश्चर्य भएको छ कि यस्तो गुणवालालाई ईसाईहरूले ईश्वर किन मान्दछन् ? किनभने यी कुराहरू सबै मनुष्यको स्वभावमा घट्न सक्दछन्, ईश्वरमा होइन ॥८॥
मूल-९— र कयौं दिन पछाडि यस्तो भयो कि काइन भूमिको फलहरूबाट परमेश्वरको लागि भेटी लिएर आयो ॥ र हाबिलले पनि आफ्नो बथानबाट भेडाका पाठाहरू लगेर परमेश्वरलाई दियो र परमेश्वरले उसको भेटीको आदर गर्यो ॥ परन्तु काइन र उसको भेटीको आदर गरेन, यसैले काइन अति कुपित भयो र रिसायो । तब परमेश्वरले सोध्यो कि तँ किन क्रूद्ध भएको छस् र तेरो अनुहारमा रिस देखिएको छ ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय ४/आयत ३, ४, ५, ६) ॥
समीक्षक— यदि ईश्वर मांसाहारी हुँदैनथ्यो भने त भेंडाको भेटी र हाबिलको सत्कार र काइन तथा उसको भेटीको तिरस्कार किन गर्दथ्यो ? यस्तो झगडा गराउने र हाबिलको मृत्युको कारण पनि ईश्वर नै भयो र जसरी आपसमा मनुष्यहरू एक अर्कासँग कुरा गर्दछन्, त्यस्तै नै ईसाईहरूका ईश्वरको कुरा छन् । बगैंचामा जानु-आउनु, त्यसलाई बनाउनु पनि मनुष्यको कर्म हो । यसबाट विदित हुन्छ कि बाइबल मनुष्यले बनाएको हो, ईश्वरले होइन ॥९॥
मूल-१०— तब परमेश्वरले काइनसँग सोध्यो— तेरो भाइ हाबिल कहाँ छ र त्यसले भन्यो मलाई थाहा छैन, के म आफ्नो भाइको चौकिदार हूँ ॥ तब उसले सोध्यो— तैंले के गरिस् ? तेरो भाइको रगतको शब्दले भूमिबाट मलाई पुकार्दछ ॥ र अब तँ पृथ्वीदेखि श्रापित भइस्......॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ४/आयत ९-११) ॥
समीक्षक— के ईश्वरले काइनसँग सोधे बिना हाबिलको हाल जान्दैनथ्यो र रगतको शब्दले भूमिबाट कसैलाई पुकार्न सक्दछ ? यी सबै कुराहरू अविद्वान्हरूका हुन्, यसैले यस पुस्तक न ईश्वर न त विद्वान्ले बनाएको हुन सक्दछ ॥१०॥
मूल-११— र हनूक मतुसिलहको उत्पत्तिको पछि तीन सय वर्षसम्म ईश्वरको साथ-साथ चल्दथ्यो...॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय ५/आयत २२) ॥
समीक्षक— भला ! ईसाईहरूको ईश्वर मनुष्य हुन्थेन भने त, हनूकको साथ-साथ लागेर किन चल्थ्यो ? त्यसैले जहाँ वेदोक्त, निराकार, व्यापक ईश्वर छ, उसैलाई ईसाईहरूले मानेमा त उनीहरूको कल्याण हुनेछ ॥११॥
मूल-१२— र यस्तो भयो कि मान्छे पृथ्वीमा बढ्न थाले र उनीहरूबाट छोरीहरू जन्मिए ॥ तब ईश्वरका पुत्रहरूले मनुष्यका पुत्रीहरूलाई देखे कि तिनीहरू अत्यन्त सुन्दरी छन् र उनीहरू मध्येमा जसलाई मन पराए उनीहरूसित विवाह गरे ॥ र त्यति वेला पृथ्वीमा दानवहरू थिए र त्यसको पछि पनि जब ईश्वरका पुत्र मनुष्यका पुत्रीहरूसँग मिले तब त उनीहरूबाट सन्तान उत्पन्न भए जो बलवान् थिए, जो अगाडिबाट नामी थिए ॥ र ईश्वरले देख्यो कि मनुष्यका दुष्टता पृथ्वीमा धेरै बढ्यो र उनका मनको चिन्ता र भावना दिन-प्रतिदिन नराम्रो हुँदै गैरहेको छ ॥ तब पृथ्वीमा मान्छेलाई उत्पन्न गर्नाले परमेश्वर पछुतायो र अति शोक भयो ॥ तब परमेश्वरले भन्यो कि मान्छे जसलाई मैले उत्पन्न गरें, मान्छेदेखि लिएर पशुसम्म र घस्रेर हिंड्ने र आकाशमा उड्ने पक्षीहरूलाई पृथ्वीबाट नष्ट गर्नेछु किनभने यिनीहरूलाई बनाउनाले म पछुताएको छु ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ६/आयत १, २, ४, ७) ॥
समीक्षक— ईसाईहरूलाई सोध्नुपर्दछ कि ईश्वरका पुत्रहरू को हुन् ? र ईश्वरकी स्त्री, सासू, श्वसुर, साला र सम्बन्धी को हुन् ? किनभने अब त मान्छेका छोरीहरूसँग विवाह हुनाले ईश्वर यिनका सम्बन्धी बन्यो, र जति उनीहरूबाट उत्पन्न हुन्छन्, ती पुत्र र प्रपौत्र भए । के यस्तो कुरा ईश्वर र ईश्वरको पुस्तकको हुन सक्दछ ? किन्तु यो सिद्ध हुन्छ कि, ती जङ्गली मनुष्यहरूले यो पुस्तक बनाएका हुन् ॥
त्यो ईश्वर नै होइन जो सर्वज्ञ छैन, न त भविष्यत्को कुरा जान्दछ, त्यो जीव हो । के जब सृष्टि गरेथ्यो तब ‘अगाडि मनुष्य दुष्ट हुनेछन्’ यस्तो जान्दैनथ्यो ? र पछुताउनु, अति शोकादि हुनु, भुलले काम गरेपछि पछुताउनु आदि ईसाईहरूका ईश्वरमा घट्न सक्दछ, वेदोक्त ईश्वरमा होइन । र यसबाट यो पनि सिद्ध हुन्छ कि ईसाईहरूका ईश्वर पूर्ण विद्वान् योगी पनि थिएन, नत्र भने शान्ति र विज्ञानले अति शोकादिदेखि पृथक् हुन सक्दथ्यो ।
भला, पशु-पक्षी पनि दुष्ट हुन गए ! यदि त्यो ईश्वर सर्वज्ञ हुन्थ्यो भने त यस्तो विषादी किन हुन्थ्यो ? त्यसैले न यो ईश्वर र न त यो ईश्वरकृत मानेमा त आफ्नो मनुष्य जन्मलाई सफल गर्न सक्दछन् ॥१२॥
मूल-१३— त्यस डुँगाको लम्बाई तीन सय हात, चौडाई पचास हात र उचाई तीस हातको होस्...॥ तँ डुँगामा जानूँ, तँ र तेरा छोरा र तेरी पत्नी र तेरा छोराकी पत्नीहरू तेरो साथ ॥ र सारा शरीरहरूदेखि जीवता जन्तु दुई-दुई आफूसँग डुँगामा लैजानू, जसबाट तिनीहरू तँसग बाँच्दै राखून्, ती भाले र पोथी हुनेछन् ॥ एक-एक जातिका पक्षी, र एक-एक जातिका पशु, र एक-एक जातिका भूमिमा घस्रेर हिंड्नेवाला जन्तु, सबैदेखि जोडी-जोडी तँसँग आउनेछन् कि तैंले उनीहरूलाई जीवित राख्नू ॥ र भाँति-भाँतिका भोज्य पदार्थ जुन खाने गरिन्छ, त्यसलाई तैंले लिएर आफूसँग जम्मा गर्नू सो तँलाई र उनीहरूलाई भोजनको लागि हुनेछ ॥ परमेश्वरको यस आज्ञाको अनुसार नूहले त्यसै गर्यो । —तौरेत (उत्पत्तिपर्व/अध्याय ६/आयत १५, १८, १९, २०, २१, २२) ॥
समीक्षक— भला कोही पनि विद्वान् यस्तो विद्यादेखि विरुद्ध असम्भव कुराको वक्तालाई ईश्वर मान्न सक्दछ ? किनभने यत्रो चौडा र उचाई डुँगामा हात्ती-हात्तीनी, ऊँट-ऊँटनी आदि करोडौं जन्तु र उनका लागि खाने-पिउने चीजहरू, ती सबै कुटुम्बहरू पनि, अटाउन सक्दछन् ? त्यसैले यो मनुष्यकृत पुस्तक हो । जसले यो लेख गरेको छ, त्यो विद्वान् पनि थिएन ॥१३॥
मूल-१४— र नूहले परमेश्वरको लागि एक वेदी बनायो र सारा पवित्र पशु अनि हर एक पंछीहरूबाट अलिकति-अलिकति लिएर होमको भेटी त्यस वेदीमा चढायो ॥ र परमेश्वरले सुगन्ध सुँघ्यो र परमेश्वरले आफ्नो मनमनैमा भन्यो कि मान्छेको लागि म पृथ्वीलाई फेरि कहिल्यै श्राप दिनेछैन, यस कारणले कि मान्छेको मनको भावना त्यसको बालककालदेखि बाटै जे-जति उत्पन्न हुन्छ सो नराम्रो नै हुने गर्दछ, र जुन रीतिबाट अहिले मैले सारा जीवधारीहरूलाई मारें, फेरि कहिल्यै मार्नेछैन ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय ८/आयत २०, २१) ॥
समीक्षक— वेदी बनाउने, होम गर्ने आदि लेखबाट यही सिद्ध हुन्छ कि यी कुराहरू वेदहरूबाट बाइबलमा गएका हुन् । के परमेश्वरको नाक पनि छ जसबाट सुगन्ध सुँघ्यो ? के यो ईसाईहरूको ईश्वर मनुष्यवत् अल्पज्ञ होइन कि कहिले श्राप दिन्छ र कहिले पछुताउँछ, कहिले भन्दछ श्राप दिने छैन, पहिले दिएको थियो फेरि पनि दिनेछ । पहिला त सबैलाई मार्यो र अब भन्दछ कि कहिल्यै मार्नेछैन !!! यी कुराहरू सबै बच्पनाका हुन्, ईश्वरको होइन, र न त कुनै विद्वान्को । किनभने विद्वान्को पनि कुरो र प्रतिज्ञा स्थिर हुन्छ ॥१४॥
मूल-१५— र ईश्वरले नूह र उसका छोराहरूलाई आशीष दियो र उनीहरूलाई भन्यो कि...॥ हर एक जीउँदो चल्दो जन्तु तिम्रो भोजनको लागि हुनेछ, मैले हरियो तरकारीकै समान सबै वस्तु तिमीलाई दिएँ ॥ परन्तु मासुलाई प्राणसमेत अर्थात् त्यसको रगत समेत नखानूँ ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ९/आयत १, ३, ४) ॥
समीक्षक— के एउटालाई प्राणकष्ट दिएर दोस्रालाई आनन्द गराउनाले दयाहीन ईसाईहरूको ईश्वर होइन ? जुन माता-पिताले एउटा छोरालाई मारेर अर्कालाई ख्वाएमा त महापापी हुँदैनन् ? यसै प्रकारको यहाँ कुरा छ, किनभने ईश्वरको लागि सबै प्राणी पुत्रवत् हुन्छन् । यस्तो नहुनाले यिनको ईश्वर कसाईवत् काम गर्दछ र सबै मनुष्यहरूलाई हिंसक पनि यसैले बनाएको छ । त्यसैले ईसाईहरूको ईश्वर निर्दयी हुनाले पापी किन भएन ? ॥१५॥
मूल-१६— र सारा पृथ्वीमा एउटै बोली र एउटै भाषा थियो ॥ फेरि उनीहरूले भने कि आओ हामी एउटा नगर र एउटा गुम्मट जसको टुप्पो स्वर्गसम्म पुगोस् आफ्नो लागि बनाऔं र हाम्रो नाम राखौं, यस्तो नहोस् कि हामी सारा पृथ्वीमा छिन्न-भिन्न हुन परोस् ॥ तब परमेश्वर त्यस नगर र त्यस गुम्मट जसलाई आदमका सन्तानहरूले बनाउँदै थिए, हेर्नको लागि उत्रियो ॥ तब ईश्वरले भन्यो कि हेर ! यिनीहरू एकै छन् र यिनीहरू सबैको बोली एकैखाले छ, अब यस्तो-यस्तो गर्न थाल्नेछन् कि सो यिनीहरूले जसमा मन लगाउनेछन्, त्यसदेखि अलग गर्न सकिने छैन ॥ आऊ हामी उत्रिऔं र यिनीहरूको भाषामा गडबडी पारिदिऔं जसबाट एक दोस्राको बोली बुझ्न नसकून् ॥ तब परमेश्वरले उनीहरूलाई त्यहाँदेखि सारा पृथ्वीभरी छिन्न-भिन्न पारिदियो र उनीहरूले त्यो नगर र गुम्मट बनाउनमा असफल रहे ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय ११/आयत १, ४, ५, ६, ७, ८) ॥
समीक्षक— जब सारा पृथ्वीमा एक भाषा र एक बोली थियो, त्यस समयमा सबै मनुष्यहरूलाई परस्पर अत्यन्त आनन्द प्राप्त भयो होला । परन्तु के गर्न सकिन्छ, यो ईसाईहरूको ईर्ष्यक ईश्वरले सबैको भाषामा गडबडी पारेर सबैको सत्यानाश गर्यो । उसले यो ठूलो अपराध गर्यो । के यो शैतानको काम भन्दा पनि घटिया काम होइन ? र यसबाट यही विदित हुन्छ कि ईसाईहरूको ईश्वर चुनिन्दा पहाड आदिमा रहन्थ्यो र जीवहरूको उन्नति पनि चाहँदैनथ्यो । यो बिना एक अविद्वान्को ईश्वरको कुरो र यो ईश्वरोक्त पुस्तक कसरी हुन सक्दछ ? ॥१६॥
मूल-१७— ....तब उसले आफ्नी पत्नी सारैसँग भन्यो कि हेर मैले जान्दछु कि तँ देख्नमा अति सुन्दर स्त्री छेस् ॥ त्यसैले यस्तो हुनेछ कि जब मिश्रीले तँलाई देख्नेछन् तब तिनीहरूले भन्नेछन् कि यो त्यसकी स्त्री हो र मलाई मार्नेछन् परन्तु तँलाई जीउँदै राख्नेछन् ॥ तैंले भन्नू कि, म उसकी बहिनी हूँ, जसकारण मेरो भला हुनेछ र मेरो प्राण तेरो हेतुबाट बच्नेछ ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १२/आयत ११, १२, १३) ॥
समीक्षक— अब हेर्नुहोस् ! जुन अब्राहम ठूलो पैगम्बर ईसाई र मुसलमानहरूमा बज्दछ र त्यसका कर्म मिथ्याभाषाणादि घटिया छन्, र आफ्नी स्त्रीको पातिव्रत्य धर्म भङ्ग गराएर व्यभिचारिणी बनाउँदछ । भला ! जसका यस्ता पैगम्बर छन्, तिनीहरूलाई विद्या वा कल्याणको मार्ग कसरी मिल्न सक्दछ ? ॥१७॥
मूल-१८— र ईश्वरले अब्राहमलाई भन्यो कि तँ र तेरोपछि तेरो वंश उनीहरूको पुस्ताहरूमा मेरो नियमलाई मानून् ॥ तँ मेरो नियम जुन मबाट र तँबाट र तेरोपछाडि तेरो वंशबाट हुन्छ तिमीले मान्नपर्दछ कि सो यो हो कि तिमीदेखि हर एक पुरुषको खतनः (लिङ्गमुण्डच्छद) गरियोस् । र तिमीले आ-आफ्नो शरीरको लिङ्गको टुप्पाको छाला काट्नू र तिमीहरू मध्येमा यो नियमको चिह्न हुनेछ । र तिम्रा पिंढीहरूमा हर एक आठ दिनको पुरुषको खतना गरियोस्, जुन तेरो घरमा उत्पन्न हुन्छ अथवा जुन कुनै परदेशीबाट जुन तेरो वंशको होइन, पैसाले किनेर लिइयोस् ॥ जुन तेरो घरमा उत्पन्न भएको होस् अथवा तैंले किनेको होस्, त्यसको अवश्य खतनः गरियोस् र मेरो नियम तिम्रा माँझमा सर्वदा नियमको लागि हुनेछ ॥ र अखतनः बालक जसको लिङ्गको टुप्पाको छाला काटिएको छैन, सो प्राणी आफ्ना जनहरूबाट छुट्ट्याइयोस् कि उसले मेरो नियमलाई तोडेको छ ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १७/आयत ९, १०, ११, १२, १३, १४) ॥
समीक्षक— अब हेर्नुहोस् ईश्वरको अन्यथा आज्ञा ! कि यदि यो खतनः गर्न ईश्वरलाई इष्ट हुन्थ्यो भने त त्यस छालालाई आदि-सृष्टिमा बनाउने नै थिएन, र जुन यो बनाइएको छ त्यो रक्षार्थको लागि हो, जसरी आँखाको परेला । किनभने त्यो गुप्तस्थान अति कोमल हुन्छ, यदि त्यसमाथि छाला हुँदैन भने एउटा किराले टोक्दा वा थोरै मात्र पनि चोट लाग्दा धेरै दुःख हुन्छ र पिशाब फेरेपछि केही मूत्रांश लुगामा नलागोस्, इत्यादिको लागि त्यसलाई काट्नु नराम्रो हो र अहिले ईसाईहरूले यस आज्ञालाई किन पालना गर्दैनन् ? यो आज्ञा सदाको लागि हो, यसलाई नगर्नाले ईसाको साक्षी जुन कि ‘व्यवस्थाको पुस्तकको एक बिन्दु पनि झुटो होइन’, मिथ्या हुन गयो । यसको सोच-विचार ईसाईले कत्ति पनि गर्दैनन् ॥१८॥
मूल-१९— तब परमेश्वरले इब्राहीमसँग कुरा गर्न बन्द गरेर उसको नजिकबाट टाढिंदै ईश्वर माथितिर जाँदै रह्यो ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय १७/आयत २२) ॥
समीक्षक— यसबाट यही सिद्ध हुन्छ कि ईश्वर मनष्य वा पक्षीवत् थियो जो माथिबाट तल र तलबाट माथि आउने-जाने गर्दथ्यो । यो कोही इन्द्रजाली पुरुषवत् विदित हुन्छ ॥१९॥
मूल-२०— इब्राहीम माम्रेको मैदानको बीच चर्को घामको समय तम्बूको द्वारमा बसेको थियो, तब यहोवाले उसलाई दर्शन दियो ॥ र उसले आँखा खोलेर दृष्टि लगाउँदा त के देख्यो भने, तीन पुरुष उसको सामुन्ने उभिएका छन्, जब उसले तिनीहरूलाई देख्यो तब उसले तिनीहरूलाई भेट्नको लागि तम्बूको द्वारबाट दौडियो, र भूमिमा निहुरेर दण्डवत् गर्यो र भन्यो ॥ हे प्रभु, यदि ममाथि तेरो अनुग्रहको दृष्टि छ भने त विन्ती गर्दछु कि आफ्नो दासलाई छोडेर नजाँनुहोस् ॥ इच्छा छ भने थोरै जल ल्याउँछु चरण पखाल्नुहोस् र वृक्षको तल विश्राम गर्नुहोस् ॥ र म एक टुक्रा रोटी लिएर आउँछु तपाईं तृप्त हुनुहोस्, त्यस पछाडिमात्रै अगाडि बढ्नुहोला, किनभने तपाईं यसैको लागि म दासकहाँ आउनुभएको हो, तब उनले भने जस्तो तैंले भनेको छस् त्यस्तै गर्नू ॥ र इब्राहीमले तम्बूमा सारासँग फूर्तीले गएर भन्यो कि तीन नपुवा पीठो लिएर मुछेर रोटी पका ॥ र इब्राहीम गाई गोरुको बथानतिर दौडियो, र एक कोमल र राम्रो बाच्छो ल्याएर आफ्नो सेवकलाई दियो, र उसले त्यसलाई फूर्तीसाथ पकायो ॥ तब त्यसले नौनी, दूध र त्यो बाच्छो, जुन उसले पकाएको थियो, ल्याएर उनको अगाडि पस्किदियो र आफू उनकोसाथ वृक्षको तल उभियो, र उनीहरूले खान लागे ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १८/आयत १, २, ३, ४, ५, ६, ७, ८) ॥
समीक्षक— अब हेर्नुहोस् सज्जनहरू हो ! जसको ईश्वरले बाच्छाको मासु खान्छ, त्यसका उपासकले गाई-बाच्छा आदि किन छोड्नें ? जसलाई कुनै दया छैन, मासु खानमा आतुर रहँने, त्यो बिना हिंसक मनुष्यको अर्को हुन सक्दैन ?
र ईश्वरको साथमा अरू दुई जना मनुष्य नजाने को थिए ? यसबाट विदित हुन्छ कि जङ्गली मनुष्यहरूको एक मण्डली थियो, उनीहरूमा जो प्रधान थियो त्यसैको नाम बाइबलमा ईश्वर राखे होलान् । यिनै कुराहरूले बुद्धिमानीहरू यिनको पुस्तकलाई ईश्वरकृत मान्न सक्दैनन्, न त यस्तालाई ईश्वर मान्न सक्दछन् ॥२०॥
मूल-२१— र परमेश्वरले इब्राहीमसँग भन्यो कि साराले किन यस्तो भनेर मुस्कुराइन् कि म बुढी भैसकें साँच्चै बालक जन्माउन सक्छु ॥ के परमेश्वरको लागि कुनै कुरो असाध्य छ ? नियत समयमा, अर्थात् वसन्त ऋतुमा, म तँसँग फेरि आउनेछु, र साराको पुत्र उत्पन्न हुनेछ ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय १८/आयत १३, १४) ॥
समीक्षक— अब हेर्नुहोस् कि के-के ईसाईहरूको ईश्वरको लीला ! जो केटा वा स्त्रीहरूको समान चिढिन्छ र ताना मार्दछ !!! ॥२१॥
मूल-२२—तब परमेश्वरले आफूतिरबाट सदोम र अमोरमा आकाशबाट गन्धक र आगो वर्षायो ॥ र ती नगरहरूमा सारा मैदान र सारा नगर निवासीहरूलाई र जे-जति भूमिमा उम्रिएको थियो सबै उल्टो पारेर नष्ट गरिदियो ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय १९/आयत २४, २५) ॥
समीक्षक— अब यो पनि लीला बाइबलको ईश्वरको हेर्नुहोस् कि जसलाई बालक आदिमाथि पनि केही दया आएन ! के ती सबै अपराधी थिए, सबैलाई भूमि उल्ट्याएर दबाएर मार्यो ? यो न्याय, दया र विवेकदेखि एकदमै विरुद्ध छ । जसको ईश्वरले यस्तो काम गर्दछ भने त्यसको उपासकले किन नगर्ने ? ॥२२॥
मूल-२३— आओ हामीले हाम्रो पितालाई दाख (अंगुर) रस पियाऊँ र उनको साथमा शयन गरौं ताकि हामीले आफ्नो पिताको वंश बचाऔं ॥ तब उनीहरूले त्यस रात आफ्नो पितालाई दाख रस पियाए र ठूली छोरी गई र आफ्नो पिताको साथमा शयन गरी....॥ हामीले उसलाई आज राति पनि दाख रस पियाउनेछौं, बहिनी तँ गएर शयन गर....॥ सो लूतकी दुइटै छोरीहरू आफ्ना पिताबाट गर्भिणी भए....॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय १९/आयत ३२, ३३, ३४, ३६) ॥
समीक्षक— हेर्नुहोस् ! जब पिता-पुत्री पनि जुन मद्यपानको नशामा कुकर्म गर्नबाट बँच्न सकेनन्, यस्तो दुष्ट मद्यलाई जो कोही ईसाई आदिले पिउँछन्, उनीहरूको घटियापनको के पारावार छ ? त्यसैले सज्जनहरूले मद्यलाई पिउनको लागि नाम पनि लिनुहुँदैन ॥२३॥
मूल-२४— र आफूले भने अनुसार परमेश्वरले सारासँग भेट गरेर आफ्नो वचनकै अनुसार साराको विषयमा गरे । र सारा गर्भिणी भई....॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २१/आयत १, २) ॥
समीक्षक— अब विचार गर्नुहोस् कि सारालाई भेटेर गर्भवती बनाए, यो काम कसरी भयो ? के बिना परमेश्वर र साराको तेस्रो कोही गर्भस्थापनको कारण देखिन्छ ? यस्तो विदित हुन्छ कि सारा परमेश्वरको कृपाबाट गर्भवती बनी ॥२४॥
मूल-२५— तब इब्राहीमले बडो छिटो उठेर रोटी र एक छालाको थैलोमा जल लिएर हाजिराको काँधमा राखिदिए, र छोरा पनि उसैलाई सुम्पेर बिदा गरे ॥ जब थैलाको जल रित्तियो उसले त्यस छोरालाई बेशेर्बाको जङ्गलको झाडीको तल हालिदिई ॥ र ऊ त्यसको सामुन्ने बसेर चिच्याउँदै रोई ॥ परमेश्वरले त्यसबालकको आवाज सुने....॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २१/आयत १४, १५, १६, १७) ॥
समीक्षक— अब हेर्नुहोस् ! ईसाईहरूका ईश्वरको लीला, कि प्रथम त सारालाई पक्षपात गरेर हाजिरालाई वहाँबाट निकालिदियो, र चिच्याउँदै-चिच्याउँदै रोई हाजिरा र शब्द सुन्यो छोराको, यो कस्तो अद्भुतको कुरा हो ? यहाँ यस्तो लाग्यो होला कि ईश्वरलाई भ्रम भयो होला कि यो बालक नै रुन्छ । अब भन कि यस्तो ईश्वर र ईश्वरको पुस्तकको कुरा कहिल्यै हुनसक्दछ बिना साधारण मनुष्यको वचनको ? यस पुस्तकमा थोरै कुरा सत्यको, र बाँकी कुरा असार भरिएको छ ॥२५॥
मूल-२६— यी कुराहरूको पश्चात् यस्तो भयो कि ईश्वरले इब्राहीमलाई भनेर उसको परीक्षा लियो, उसले भन्यो हेर इब्राहीम म यहाँ छु ॥ उसले भन्यो तँ आफ्नो एउटा मात्रै छोरो इसाहक जसलाई तैंले धेरै माया गर्दछस्, लिएर उसलाई मोरिय्याह देशमा जा, र त्यसलाई एउटा पहाडको माथिबाट मैले बताउनेछु होमबलि गरेर चढाइदे ॥ र आफ्नो छोरा इसाहकलाई बाँधेर त्यस वेदीको काठमाथि राख्यो ॥ र इब्राहीमले छुरी लिएर आफ्नो छोरालाई घात गर्नको लागि हात बढायो ॥ तब परमेश्वरका दूतहरूले स्वर्गबाट पुकारे कि इब्राहीम-इब्राहीम ॥ आफ्नो हात छोराको गर्दनमा नबढा र त्यसलाई केही पनि नगर्नू किनभने अब मैले जाने कि तँ ईश्वरदेखि डराउँछस् ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २२/आयत १, २, ९, १०, ११, १२) ॥
समीक्षक— अब स्पष्ट भयो यो बाइबलको ईश्वर अल्पज्ञ हो, सर्वज्ञ होइन । र इब्राहीम पनि एउटा भोला मनुष्य थियो, नत्र भने त यस्तो चेष्टा किन गर्दथ्यो ? ईश्वर सर्वज्ञ हुन्थ्यो भने त किन गराउँथ्यो र उसको भविष्यत् श्रद्धालाई पनि सर्वज्ञताबाट किन जान्दैन ? ॥२६॥
मूल-२७— हे हाम्रा प्रभु, हाम्रो सुनः तँ त हाम्रो बीचमा ठूलो प्रधान होस्; सो हाम्रो कबर (चिहान) देखि जसलाई तैंले चाहन्छस् उसमा आफ्नो मुर्दालाई गाड्नु; हामी मध्येबाट कसैले पनि तँलाई कबर (चिहान) लिनको लागि रोक्ने छैनौं, कि तैंले आफ्नो मुर्दालाई उसमा गाड्न नपाए ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय २३/आयत ६) ॥
समीक्षक— मुर्दाहरू गाड्नाले संसारको ठूलो हानि हुन्छ, किनभने त्यो सडेर वायुलाई दुर्गन्धमय गरेर रोग फैलाउँछ ।
प्रश्न— हेर ! जोसँग प्रीति हुन्छ उसलाई जलाउनु राम्रो कुरो होइन, र गाड्नु अर्थात् सुताइदिनु हो, यसैले गाड्नु राम्रो हुन्छ ।
उत्तर— यदि मृतकसँग तिमीले प्रीति गर्दछौ भने त आफ्नै घरमा किन राख्दैनौ ? र गाड्दछौ पनि किन ? जुन जीवात्मासँग प्रीति थियो त्यो त निस्केर गैगयो, अब दुर्गन्धमय माटोसँग केको प्रीति गर्छौ ? र यदि प्रीति गर्दछौ भने त त्यसलाई पृथ्वीमा किन गाड्दछौ, किनभने कसैले कसैलाई भनोस् कि तँलाई भूमिमा गाडिदिनेछौं तब त्यसले सुनेर प्रसन्न कहिल्यै हुँदैन । त्यसको मुख, आँखा र शरीरमा धुलो, ढुङ्गा, ईंटा, चूना हाल्नु, छातीमा ढुङ्गा राख्नु कुनचाहिं प्रीतिको काम हो ?
र सन्दूकमा हालेर गाड्नाले धेरै दुर्गन्ध पृथ्वीमा फैलिएर वायुलाई बिगारेर दारुण रोगोत्पत्ति गराउँदछ ।
दोस्रो एक मुर्दाको लागि थोरैमा पनि ६ हात लामो र ४ हात चौडाई भूमि चाहिन्छ । यसै हिसाबले सय, हजार, वा लाख अथवा करोडौं मनुष्यको लागि कति भूमि व्यर्थमा रोकिन जान्छ । न त्यो खेत, न बगैंचा र न त बस्नयोग्य नै काममा आउँछ, त्यसैले सबै भन्दा नराम्रो गाड्नु हो ।
त्यस भन्दा केही नराम्रो जलमा छोड्नु हो, किनभने त्यसलाई जलजन्तुले उत्तिखेरै लुछेर खानेछन् परन्तु जे-जति हाडखोर वा मल जलमा रहनेछ, त्यो पनि सडेर जगत्लाई दुःखदायक नै हुनेछ ।
त्यस भन्दा थोरै राम्रो जङ्गलमा छोड्नु हो । किनभने त्यसलाई मांसाहारी पशु-पक्षीले लुछेर खानेछन् तथापि त्यसका हाडखोरले जति दुर्गन्ध हुन्छ, जगत्को अनुपकार नै हुन्छ ।
र जलाउने काम चाहिं सर्वोत्तम हो किनभने त्यसका सबै पदार्थ अणु बनेर वायुमा उडेर जान्छन् ।
प्रश्न— के मुर्दाको धुवाँमा दुर्गन्ध हुँदैन ? जलाउनाले पनि दुर्गन्ध त हुन्छ नै ।
उत्तर— हो ! यदि अविधिबाट जलाएमा त थोरै हुन सक्दछ, परन्तु गाड्ने आदि भन्दा थोरै हुन्छ । र जुन विधिपूर्वक जसरी वेदमा लेखिएको छ— वेदी मुर्दाको तीन हात गहिरो, साढे तीन हात चौडा, पाँच हात लामो, पिंधमा डेढ बीत्ता अर्थात् आवश्यकतानुसार खनेर शरीरको बराबर घ्यू, त्यसमा एक सेरमा रत्तीभर कस्तुरी, मासाभर केशर हालेर थोरै भन्दा थोरै आधा मन चन्दन, अधिक जति हुन सक्दछ लिएर, अगर, तगर, कपूर आदि र पलाश आदिको दाउरा वेदीमा जम्मा गरेर, त्यसमाथि मुर्दा राखेर पुन चारैतिर माथि वेदीको मुखबाट एक बीत्तासम्म भरेर त्यस घ्यूको आहुति दिएर जलाउनको लागि लेखिएको छ, यस प्रकारबाट दाह गरेमा त कत्ति पनि दुर्गन्ध हुँदैन किन्तु यसैको नाम अन्त्येष्टि, नरमेध, पुरुषमेध यज्ञ हो ।
र जो दरिद्र छन् भने त बीस सेर भन्दा थोरै घ्यू चितामा नहाल्ने, चाहे त्यो भीक माग्ने वा जातिवालाले दिने अथवा राजाबाट मिल्नाले प्राप्त होस् परन्तु उसै प्रकार दाह गर्नु । र यदि घ्यू नमिलेमा कुनै प्रकारले पनि गाड्नु भन्दा मृतकलाई दाउराले जलाउन नै उत्तम हुन्छ, किनभने एक विश्वाभर भूमिमा अथवा एक वेदीमा लाखौं-करोडौं मृतक जल्न सक्दछन्, भूमि पनि गाड्ने जति बिग्रँदैन र कबर (चिहान) लाई देख्नाले पनि भय हुन्छ, यसैले गाड्न आदि सर्वथा निषिद्ध छ ॥२७॥
मूल-२८— धन्य हो मेरा स्वामी इब्राहीमका परमेश्वर यहोवा, जसले मेरो स्वामीलाई आफ्नो दया र आफ्नो सच्चाई बिना छोडेन, परमेश्वरले मलाई ठीक मार्गमा चलाएर मेरा स्वामीका भाइ बन्धुहरूका घरतिर पुर्याइदिए ॥ —तौरेत (उत्पत्तिपर्व/अध्याय २४/आयत २७) ॥
समीक्षक— के त्यो इब्राहीमको नै ईश्वर थियो ? र जसरी आजभोलि बेगारी वा अगुवाई अर्थात् अगाडि-अगाडि हिंडेर मार्ग देखाउँछन् तथा ईश्वरले पनि गर्यो भने त आजभोलि किन देखाउँदैन ? र मनुष्यहरूसँग किन कुरा गर्दैन ? यसैले यस्ता ईश्वर वा ईश्वरका पुस्तक पनि कहिल्यै हुन सक्दैन किन्तु जङ्गली मनुष्यको हो ॥२८॥
मूल-२९— इश्माएलका छोराहरूको नाम यी हुन्— जेठो पुत्र नबायोत, फेरि केदार, अद्बेल, मिबसाम ॥ मिश्मा, दूमा, मस्सा ॥ हदर, तेमा, यतूर, नफीश र केदमा ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २५/आयत १३, १४, १५) ॥
समीक्षक— यो इश्माएल इब्राहीमबाट उसकी हाजिरा नाम गरेकी दासीतिरबाट पुत्र भएर जन्मेको थियो, यसैको वंश मुसलमानहरू भएका हुन् । तब नै दासी पुत्र हुनाले मुसलमानहरू बडो खुशामदी हुन्छन् ॥२९॥
मूल-३०— ....मैले तेरो पिताको रुचिको समान स्वादिष्ट भोजन बनाउनेछु ॥ र तैंले पितालाई लगेर दिनु जसलाई उसले खाएर आफू मर्न भन्दा अगाडि तँलाई आशीष दिनेछन् ॥ र रिबकाले घरबाट आफ्नो जेठो पुत्र ऐसावको राम्रो लुगा लिएर आफ्नो सानो छोरो याकूबलाई पहिरायो ॥ र बाख्राको पाठाको छाला उसको हातमा र घाँटीमा बेर्यो ॥ तब याकूबले आफ्नो पितासँग भन्यो कि म त तपाईंको जेठो छोरो ऐसाव हूँ, तपाईंले भने बमोजिम मैले गरेको छु, आउनुहोस् उठेर बस्नुहोस् र मेरो हरिणको मासु खानुहोस्, जसबाट तपाईंको प्राणले मलाई आशीष देओस् ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २७/आयत ९, १०, १५, १६, १७, १९) ॥
समीक्षक— हेर्नुहोस् ! यस्तो झुट-कपटबाट आशीर्वाद लिएर पश्चात् सिद्ध र पैगम्बर बन्दछन्, के यो आश्चर्यको कुरो होइन ? र यस्ता ईसाईहरूका अगुवा भएका छन् पुनः यिनको मतको गडबडमा के न्यूनता होस् ? ॥३०॥
मूल-३१— र याकूब बिहानै छिटो उठेर त्यस ढुङ्गा जसलाई उसले सिरानी बनाएको थियो लिएर खाँबो ठड्यायो र त्यसको टुप्पामा तेल हाल्यो ॥ र त्यस स्थानको नाम बैतएल राख्यो....॥ र यो ढुङ्गा जुन मैले खाँबो जस्तो ठड्याएको छु ईश्वरको घर हुनेछ....॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय २८/आयत १८, १९, २२) ॥
समीक्षक— अब हेर्नुहोस् जङ्गलीहरूको काम ! यिनीहरूले ढुङ्गा पूजे र अरूलाई पूजाए र यसलाई मुसलमानहरूले ‘बैतएलमुकद्दस’ भन्दछन् । के यही ढुङ्गो ईश्वरको घर र उसै पाषाणमात्रमा ईश्वर रहन्थ्यो ? वाह-वाह ! के भनौं ईसाईहरू हो ! महाबुत्परस्त त तिमीहरू नै हौ ॥३१॥
मूल-३२— र ईश्वरले राहेलको स्मरण गर्यो अनि ईश्वरले उसको सुन्यो र उसको कोख खोल्यो ॥ र त्यो गर्भिणी भई र छोरा पाई ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३०/आयत २२, २३) ॥
समीक्षक— वाह-वाह ईसाईहरूका ईश्वर ! कति ठूलो डाक्टर हो ! स्त्रीहरूको कोख खोल्नको लागि कुनचाहिं शस्त्र वा औषधि थियो जसबाट खोल्यो, यी सबै कुरा अन्धाधुन्धका हुन् ॥३२॥
मूल-३३— परन्तु ईश्वर आरामी लाबानको स्वप्नमा रातको आयो र उसलाई भन्यो कि सावधान रहनु, तैंले याकूबलाई राम्रो नराम्रो नभन्नू ॥ किनभने तँ आफ्नो पिताको घरको बडो अभिलाषी होस्, तैंले के कारणले मेरा देवताहरूलाई चोरी गरिस् ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३१/आयत २४, ३०) ॥
समीक्षक— यो मैले नमूना लेख्दैछु, हजारौं मनुष्यहरूको स्वप्नमा आयो; कुरा गर्यो, जागृत साक्षात् मिल्यो; खायो-पियो, आयो-गयो आदि बाइबलमा लेखिएको छ परन्तु अहिले नजाने त्यो छ कि छैन ? किनभने अहिले कसैलाई स्वप्न वा जागृतमा पनि ईश्वर मिल्दैन र यो पनि विदित भयो कि यी जङ्गलीहरू पाषाणादि मूर्तिहरूलाई देवता मानेर पूज्दथे । परन्तु ईसाईहरूका ईश्वरले पनि ढुङ्गालाई नै देवता मान्दछ, नत्र भने त देवताहरूलाई चोर्नु भन्ने कुरा कसरी घट्न सक्दछ ? ॥३३॥
मूल-३४— र याकूब आफ्नो मार्गमा हिंड्यो र ईश्वरका दूतहरूले आएर उसलाई भेटे ॥ र याकूबले उनीहरूलाई देखेर भन्यो कि यी ईश्वरका दल (सेना) हुन् ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३२/आयत १, २) ॥
समीक्षक— अब ईसाईहरूको ईश्वर मनुष्य हुनमा कत्ति पनि संदिग्ध रहेन, किनभने ईश्वरसँग सेना पनि छ । र सबै शस्त्र पनि होलान् तथा कसैसँग लडाईं-झगडा पनि हुन्छ होला; नत्र भने त सेना राख्नको के प्रयोजन छ ? ॥३४॥
मूल-३५— र याकूब एक्लै रहन गयो वहाँ मिरमिरे उज्यालोसम्म एक जनासँग उसले मल्लयुद्ध गर्दै रह्यो ॥ र जब त्यसले देख्यो कि म याकूबमाथि प्रबल हुन सकिन तब उसको साँप्राको भित्री नसालाई छोयो, सो याकूबको साँप्राको नसा उससँग लड्दालड्दै नै चढ्यो ॥ तब उसले भन्यो कि मलाई जान दे, किनभने उज्यालो हुन लागिसक्यो, याकूबले भन्यो जबसम्म तैंले मलाई आशीष दिंदैनस् तबसम्म म जान दिन्न ॥ र उसले याकूबसँग सोध्यो, तेरो नाम के हो ? उसले भन्यो याकूब ॥ उसले भन्यो अब तेरो नाम याकूब होइन, परन्तु इस्राएल हुनेछ, किनभने तँ परमेश्वरसँग र मनुष्यसित पनि युद्ध गरेर प्रबल भएको छस् ॥ तब याकूबले भन्यो कि मैले विन्ती गर्दछु कि तिम्रो नाम के हो मलाई भन, उसले भन्यो मेरो नाम किन सोध्छस् ? तब उसले याकूबलाई आशीर्वाद दियो ॥ र याकूबले त्यस स्थानको नाम पनूएल राख्यो, किनभने मैले ईश्वरलाई प्रत्यक्ष देखें र मेरो प्राण बचेको छ ॥ र जब ऊ त्यो पनीएलदेखि टाढा हुँदै गयो सूर्यको ज्योति उसमाथि पर्यो र ऊ साँप्राले लङ्गडाइरहेको थियो ॥ यसैले इस्राएलका वंश त्यस साँप्राको नसा जुन चाहिं चढेको थियो आजसम्म पनि खाँदैनन् किनभने उसले याकूबको साँप्राको नसा जुन चढेको थियो, छोएको थियो ॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३२/आयत २४-३२) ॥
समीक्षक— जब ईसाईहरूको ईश्वर अखाडमल्ल हो तब नै त सारा र राहेलमाथि पुत्र हुने कृपा गर्यो, भला यो कहिल्यै ईश्वर हुन सक्दछ ? केवल बालकपनको लीला हो । अरू हेर लीला ! एउटाले नाम सोध्छ त अर्कोले बताउँदैन ? र ईश्वरले उसको नाडी त चढाइदियो र जिताइदियो परन्तु यदि डाक्टर हुन्थ्यो भने त जाँघको नाडी पनि ठीक गरिदिने थियो । र यस्तो ईश्वरको भक्तिदेखि जुन कि याकूब लङ्गडाइराख्यो भने त अरू भक्त पनि लङ्गडाउँछन् होला । जब ईश्वरलाई प्रत्यक्ष देख्यो र मल्लयुद्ध गर्यो, यो कुरो बिना शरीर नभैकन कसरी युद्ध हुन सक्दछ ? यो केवल लडकपनको लीला हो ॥३५॥
मूल-३६— ....ईश्वरको मुख देख्यो....॥
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३३/आयत १०) ॥
समीक्षक— जब ईश्वरको मुख छ भने त अरू पनि अवयव होलान् र त्यो जन्म-मरणवाला पनि होला ॥३६॥
मूल-३७— र यहूदाहको जेठो छोरो एरमाथि परमेश्वरको दृष्टिमा दुष्ट थियो सो परमेश्वरले उसलाई मारिदियो ॥ तब यहूदाहले ओनानसँग भन्यो कि आफ्नी भाउजूसँग जा र उसँग विवाह गर र आफ्नो दाइको वंश चला ॥ र ओनानले भन्यो कि यो वंश त मेरो हुनेछैन र यस्तो भयो कि ऊ भाउजूसित जाँदा वीर्यलाई भूमिमा खसालिदियो....॥ र उसको यो कार्य परमेश्वरको दृष्टिमा नराम्रो थियो यसैले उसलाई पनि मारिदियो
—तौरेत (उत्पत्तिपर्व/अध्याय ३८/आयत ७, ८, ९, १०, ११) ॥
समीक्षक— अब हेर्नुहोस् ! यो मनुष्यको काम हो कि ईश्वरको ? जब उसको साथमा नियोग भयो त उसलाई किन मार्ने ? उसको बुद्धिलाई शुद्ध किन गरिएन ? र वेदोक्त नियोग पनि प्रथम सर्वत्र चल्दथ्यो । यो निश्चय भयो कि नियोगको कुरा सर्वत्र चलेको थियो ॥३७॥
यात्राको पुस्तक (तौरेत) (१३.२.२)
मूल-३८— ती दिनहरूमा यस्तो हुन गयो कि जब मूसा जवान भयो, र बाहिर आफ्ना भाइ बन्धुहरूकहाँ गएर उनीहरूको दुःखमाथि दृष्टि गर्न थाल्यो; तब उसले देख्यो, कि कुनै मिस्री मान्छेले मेरो एउटा इब्री भाइलाई पिटिराखेको छ ॥ तब उसले यता-उता दृष्टि लगायो र देख्यो कि कोही पनि छैन तब त्यस मिस्रीलाई मारेर बालुवामा पुरिदियो ॥ फेरि दोस्रो दिन बाहिर जाँदा उसले देख्यो कि दुई जना इब्री पुरुष आपसमा मारपिट गरिराखेका छन्; उसले अपराधीसँग भन्यो, तैंले आफ्नो भाइलाई किन पिट्दैछस् ? त्यसले भन्यो, कसले तँलाई हामीमाथि हाकिम र न्याय ठहरायो ? जुन तरिकाले तैंले मिस्रीको हत्या गरिस् त्यसरी नै तैंले मलाई पनि घात गर्न चाहन्छस् ? तब मूसा यो सोचेर डरायो, कि निश्चय त्यस कुरालाई यिनीहरूले थाहा पाइसके ॥ जब फिरौनले यो कुरा सुने तब मूसाको हत्या गर्नको लागि युक्ति गरे । तब मूसा फिरौनको अगाडिबाट तुरुन्तै भाग्यो, र मिद्ययान देशमा गएर बस्न थाल्यो; र त्यो वहाँ एउटा कुवाको नजिकै बस्यो ॥
—तौरेत (यात्रापर्व/अध्याय २/आयत ११, १२, १३, १४, १५) ॥
समीक्षक— अब हेर्नुहोस् ! यस्तो कर्म गर्नेवाला मूसा पैगम्बर बन्न गयो । जुन बाइबलको मुख्य सिद्धकर्ता मतको आचार्य मूसा कि जसको चरित्र क्रोधादि गुणहरूले युक्त, मनुष्यको हत्या गर्नेवाला र चौरवत् राजदण्डदेखि बच्ने अर्थात् जब कुरा लुकाउँथ्यो भने त झुट बोल्नेवाला पनि अवश्य होला, यस्तालाई पनि जो ईश्वर मिल्यो, त्यो पैगम्बर बन्यो, त्यसले यहूदी आदिको मत चलायो, त्यो पनि मूसाकै सदृश भयो । यसैले ईसाईहरूका जो मूल पुर्खा भएका छन्, ती सबै मूसा आदिदेखि लिएर जङ्गली अवस्थामा थिए, विद्या-वस्थामा थिएनन्, इत्यादि ॥३८॥
मूल-३९— तब परमेश्वरले देख्यो कि मूसा हेर्नको लागि फर्केर आउँदैछ तब ईश्वरले झाडीको मध्यबाट पुकारेर भन्यो कि हे मूसा ! हे मूसा ! तब उसले आवाज दियो म यहाँ छु ॥ तब ईश्वरले भन्यो कि यता नआउनू, आफ्नो खुट्टाबाट जुत्ता फुकाल्नू, किनभने यो स्थान जसमाथि तँ उभिएको छस् पवित्र भूमि हो ॥ —तौरेत (यात्रापर्व/अध्याय ३/आयत ४, ५) ॥
समीक्षक— हेर्नुहोस् ! यस्ता मनुष्य जुन कि मनुष्यलाई मारेर बालुवामा पुर्नेवालासँग ईश्वरको मित्रता र उसलाई पैगम्बर मान्दछन् । र हेर तब तिम्रो परमेश्वरले मूसालाई भन्यो कि पवित्र स्थानमा जुत्ता लानु हुँदैन, तिमी ईसाईहरू यस आज्ञादेखि किन विरुद्ध हिंड्दछौ ?
प्रश्न— हामीले जुत्ताको स्थानमा टोपी उतार्दछौं ।
उत्तर— यो दोस्रो अपराध तिमीले गर्यौ, किनभने टोपी उतार्न न ईश्वरले भन्यो न त तिम्रो पुस्तकमा लेखिएको छ । र उतार्न योग्यलाई उतार्दैनौ, नउतार्न पर्नेलाई उतार्दछौ, यो दुइटै प्रकार तिम्रो पुस्तकदेखि विरुद्ध छ ।
प्रश्न— हाम्रो यूरोप देशमा शीत अधिक हुन्छ, यसैले हामीले जुत्ता उतार्दैनौं ।
उत्तर— के शिरमा शीत लाग्दैन ? अहिले त यहीं छौ जब यूरोप देशमा जान्छौ तब यस्तो गर्नु नि । परन्तु जब हाम्रो घरमा अथवा विछौनामा आउँछौ तब त जुत्ता उतार्ने गर यदि उतार्दैनौ भने त आफ्नो बाइबल पुस्तकको विरुद्ध चल्दछौ, यस्तो तिमीले गर्नु हुँदैन ॥३९॥
मूल-४०— तब परमेश्वरले उसलाई सोध्यो कि तेरो हातमा यो के हो ? उसले भन्यो कि छडी हो ॥ तब उसले भन्यो कि त्यसलाई जमिनमा फ्याँकिदे र उसले त्यस छडीलाई जमिनमा फ्याँक्दा सर्प बन्यो र मूसा त्यसको अगाडिबाट भाग्यो ॥ तब परमेश्वरले मूसालाई भन्यो कि आफ्नो हात बढाएर त्यसको पुछारलाई समात्, तब उसले आफ्नो हात बढाएर त्यसको पुछार समात्यो फेरि त्यो उसको हातमा छडी भयो ॥ तब परमेश्वरले उसलाई भन्यो कि फेरि तैंले आफ्नो हात आफ्नो काखमा राख र उसले त्यसै गर्यो, तब उसले हात निकालेर हेर्दा त हिउँजस्तै कुष्ठी थियो ॥ र उसले भन्यो कि फेरि तेरो हात काखमा राख उसले त्यसै गर्यो तब हेर्दा त त्यसको हात पहिलाको जस्तै दुरुस्त भयो ॥ तैंले नील नदीको जल लिएर सुक्का ठाउँमा हाल्नु र त्यो जल त्यहाँ सुक्का ठाउँमा तुरुन्तै रगत हुनेछ ॥ —तौरेत (यात्रापर्व/अध्याय ४/आयत २, ३, ४, ६, ७, ९) ॥
समीक्षक— अब हेर्नुहोस् ! कस्तो जादुगरको जस्तो खेल, खेलाडी ईश्वर, उसको सेवक मूसा र यी कुराहरूलाई मान्नेहरू कस्ता छन् ? के आजभोलिका जादुगरहरूले यस भन्दा कम्ती करामत गर्दछन् ? यो ईश्वर के, यो त ठूलो खेलाडी हो । यस्ता कुरालाई विद्वान्हरूले कसरी मान्दछन् ? र प्रत्येक पटक म ईश्वर हूँ, इब्राहीम, इसहाक र याकूबको इत्यादि प्रत्येक पटक आफ्नै मुखले प्रशंसा गर्दै-फिर्नु, यो कुरो उत्तम जनको हुनै सक्दैन किन्तु कुनै दंभी मनुष्यको हुन सक्दछ ॥४०॥
मूल-४१— तब मूसाले इस्राएलका सबै बुज्रुकहरूलाई बोलाएर भन्यो, तिमीहरूले आफ्नो-आफ्नो कुलको अनुसार एक-एक पाठा छुट्याएर राख, र फसहको (पर्वको) पशु बलि गर्नू ॥ र त्यसको रगत जुन तसलामा हुन्छ त्यसमा जूफाको एक गुच्छा डुबाएर उसै तसलाको रगतले द्वारको चौकोसको माथि दुवैतिर छ्याप्नु र बिहानसम्म तिमीहरू कोही पनि घरबाट बाहिर ननिस्कनु ॥ किनभने परमेश्वरले देशको बीच हुँदै मिस्रीहरूलाई मार्दै जानेछ; जहाँ-जहाँ द्वारको चौकोसमा रगत छ्यापिएको देख्नेछ त्यस-त्यस द्वारलाई छोड्नेछ, र नाश गर्नेवालाहरूलाई तिम्रो घरमा मार्नको लागि प्रवेश दिने छैन ॥ —तौरेत (यात्रापर्व/अध्याय १२/आयत २१, २२, २३) ॥
समीक्षक— भला, यो जुन काम टुना-मुना गर्नेवालाको जस्तै छ, त्यो ईश्वर कहिल्यै सर्वज्ञ हुन सक्दछ ? जब रगतको छाप देखेमात्र इस्राएलको कुलको घर जान्ने, अन्यथा नजान्ने । यो काम क्षुद्र बुद्धिवाला मनुष्यको जस्तो छ । यसबाट विदित हुन्छ कि यी कुराहरू कुनै जङ्गली मनुष्यले लेखेको हो ॥४१॥
मूल-४२— र यस्तो भयो कि आधी रातको ईश्वरले मिस्र देशको सिंहासनमा विराजमान फिरौनदेखि लिएर बन्धनमा परेका बँधुवाहरूसम्म सबैका जेठो सन्तानलाई, वरन पशुहरू समेतका जेठा बच्चा सबैलाई मार्यो ॥ र फिरौन रातमा नै उठेर बस्यो, र उसका सबै कर्मचारी, सम्पूर्ण मिस्री उठे; र मिस्रमा बडो हाहाकार मच्चियो, किनभने एउटा घर पनि बचेको थिएन जसमा कोही मरेको नहोस् ॥ —तौरेत (यात्रापर्व/अध्याय ४/आयत २९, ३०) ॥
समीक्षक— वाह ! आधी रातमा डाँकूको समान निर्दयी बनेर ईसाईहरूको ईश्वरले बच्चा, केटा, वयस्क, वृद्ध र पशुसमेत पनि बिना अपराध मारिदियो र कत्ति पनि दया आएन । मिस्रमा बडो विलाप भैरह्यो तर पनि ईसाईहरूको ईश्वरको चित्तबाट निष्ठुरता नष्ट भएन ! यस्तो काम ईश्वरले त के किन्तु कुनै भला मनुष्यले पनि गर्दैनन् । यसमा आश्चर्य छैन, किनभने यस्तो लेखिएको छ कि ‘मांसाहारिणः कुतो दया’ जब ईसाईहरूको ईश्वर मांसाहारी छ भने त उसलाई दयाको के काम हुने ? ॥४२॥
मूल-४३— परमेश्वर तिम्रा लागि युद्ध गर्नेछ, यसैले तिमीहरू चुपचाप रहनु ॥ तब परमेश्वरले मूसालाई भन्यो, तैंले किन मेरो चिन्ता गर्दैछस् ? इस्राएलका सन्तानलाई भन्नु कि तिमीहरू यहाँबाट अगाडि बढ ॥ र तैंले आफ्नो लट्ठी उठाएर आफ्नो हातलाई समुद्रमाथि बढाउनू, र त्यो दुई भाग हुन जानेछ; तब इस्राएली समुद्रको बीच हुँदै स्थलै-स्थलबाट हिंडेर जानेछन् ॥
—तौरेत (यात्रापर्व/अध्याय १४/आयत १४, १५, १६) ॥
समीक्षक— के हो जी ! अगाडि त ईश्वर भेडाको पछाडि गोठालाको झैं इस्राएल कुलको पछि-पछि डुल्थ्यो, अहिले नजाँने कहाँ गयो ? नत्र भने त समुद्रको बीचबाट चारैतिरको रेलगाडिहरूको सडक बनाउनुपर्ने, जसबाट सबै संसारको उपकार हुने थियो र डुँगा आदि बनाउने परिश्रम पनि पर्ने थिएन । परन्तु के गर्ने, ईसाईहरूको ईश्वर नजाने कहाँ लुकिरहेको छ ? इत्यादि थुप्रै मूसाको साथमा असम्भव लीला ईश्वरले गर्यो । परन्तु यो विदित भयो कि यस्तो ईश्वर, यस्ता उसका सेवक र यस्ता ईश्वरकृत पुस्तक हामीहरूदेखि टाढा भएकै जाती ॥४३॥
मूल-४४— तैंले उनलाई दण्डवत् नगर्नू, न त उनको उपासना नै गर्नू, किनभने म तेरो परमेश्वर जलन राख्नेवाला ईश्वर हूँ, र जसले मसँग वैर राख्दछन्, उनका छोराहरू, नातिहरू र पलाँतिहरूलाई पनि अर्थात् चौथो पिंढीसम्म दण्ड दिने गर्दछु ॥
—तौरेत (यात्रापर्व/अध्याय २०/आयत ५) ॥
समीक्षक— भला यो कुन घरको न्याय हो कि जो पिताको अपराधदेखि चार पुस्तासम्म दण्ड दिनु राम्रो मान्ने । के असल पिताको दुष्ट र दुष्ट पिताको श्रेष्ठ सन्तान हुँदैनन् ? यदि यस्तै हो भने त चौथो पुस्तासम्म दण्ड कसरी दिन सक्दछ ? र जो पाँचौ पुस्तादेखि अगाडि दुष्ट हुनेछ, त्यसलाई दण्ड दिन सक्नेछैन । बिना अपराध कसैलाई दण्ड दिनु अन्यायकारीको कुरा हो ॥४४॥
मूल-४५— विश्रामको दिन उसलाई पवित्र राख्नको लागि स्मरण गर्नू ॥ छ दिनसम्म तैंले परिश्रम गर्नू....॥ परन्तु सातौं दिन परमेश्वर तेरो ईश्वरको विश्राम हो....॥....परमेश्वले विश्रामको दिनलाई आशीष दियो....॥ —तौरेत (यात्रापर्व/अध्याय २०/आयत ८, ९, १०, ११) ॥
समीक्षक— के रविवार एउटा मात्र पवित्र र बाँकी ६ दिन अपवित्र हुन् ? र के परमेश्वरले ६ दिनसम्म बडो परिश्रम गरेको थियो र जसबाट थाकेर सातौं दिन सुत्यो ? यदि रविवारलाई आशीर्वाद दियो भने त बाँकी सोमवार आदि ६ दिनलाई के दियो ? अर्थात् श्राप दियो होला । यस्तो काम विद्वान्को पनि हुन सक्दैन भने त ईश्वरको कसरी हुन सक्दछ ? भला रविवारमा के गुण र सोमवार आदिले के दोष गरेका थिए कि जसबाट एउटालाई पवित्र तथा वर दियो र अन्यलाई यत्तिकै अपवित्र गरेर छोडिदियो ॥४५॥
मूल-४६— आफ्नो छिमेकी माथि झुटो साक्षी नदिनू ॥.....आफ्ना छिमेकीको स्त्री, दास, दासी, चौपाय र कुनै वस्तुलाई जुन छिमेकीको हो, लालच नगर्नू ॥
—तौरेत (यात्रापर्व/अध्याय २०/आयत १६, १७) ॥
समीक्षक— वाह ! तब नै ईसाईहरू परदेशीहरूको मालमा यसरी झुक्दछन् कि जानो तिर्खालु पानीमा, भोको अन्नमा । जस्तै यो केवल मतलबसिन्धु र पक्षपातको कुरा हो, यस्तै नै ईसाईहरूको ईश्वर पनि छ । यदि कसैले भन्दछ कि हामी सबै मनुष्यमात्रलाई छिमेकी मान्दछौं तब सिवाय मनुष्यहरूको अन्य कुन स्त्री र दासी आदि वाला हुन् जसलाई छिमेकी नमान्ने ? यसैले यी कुराहरू स्वार्थी मनुष्यको हो, ईश्वरको होइन ॥४६॥
मूल-४७— जो कुनै मनुष्यलाई यस्तो मारोस् कि त्यो मरोस्, त्यो पनि निश्चय नै मारियोस् ॥ यदि उसको घातमा नबसेको होस्, र परमेश्वरको इच्छाबाटै उसको हातमा पर्दछ भने त, यस्तो मार्नेवालालाई भाग्नको लागि मैले एक स्थान बताइदिनेछु जहाँ त्यो भागेर जाओस् ॥
—तौरेत (यात्रापर्व/अध्याय २१/आयत १२, १३) ॥
समीक्षक— यदि यो ईश्वरको न्याय साँचो हुन्थ्यो भने त मूसाले एक जनालाई मारेर गाडेर भागेको थियो, मूसालाई किन दण्ड दिइएन ? यदि भन्दछौ कि ईश्वरले त्यसलाई मार्नको लागि मूसालाई पठाएको थियो भने तापनि ईश्वर पक्षपाती ठहरियो, किनभने त्यस मूसालाई राजाबाट न्याय किन हुन दिइएन ? ॥४७॥
मूल-४८— तब उसले कयौं इस्राएली जवानहरूलाई पठायो, जसले परमेश्वरको लागि होमबलि र गोरुहरूबाट बलिदान चढाए ॥ र मूसाले आधा रगतलाई लिएर भाँडामा राख्यो र आधा रगतलाई वेदीमा छर्कियो....॥ र मूसाले त्यस रगतलाई लिएर मान्छेहरूमाथि छर्कियो र भन्यो यो रगत त्यस वाचाको हो जसलाई परमेश्वरले यी सबै वचनहरूको कारण तिम्रो साथ गरेको छ ॥ र परमेश्वरले मूसालाई भन्यो कि पहाडमा मकहाँ आउनु र वहीं रहनु मैले तँलाई ढुङ्गाका पाटीहरू, व्यवस्था र आज्ञा जो मैले लेखेको छु तँलाई दिनेछु ॥
—तौरेत (यात्रापर्व/अध्याय २४/आयत ५, ६, ८, १२) ॥
समीक्षक— अब हेर्नुहोस् ! यो सबै कुरा जङ्गली मान्छेहरूको हो कि होइन ? र परमेश्वर गोरुहरूको बलिदान लिने र वेदीमा रगत छर्किने यो कस्तो जङ्गलीपन र असभ्यताको कुरा हो ? जब ईसाईहरूको खुदाले पनि गोरुहरूको बलिदान लिन्छ भने त भक्तले गोरु-गाईको बलिदानको प्रसादीबाट पेट किन नभर्ने ? र जगत्मा हानि किन नगर्ने ?
यस्ता-यस्ता नराम्रा कुराहरू बाइबलमा भरिएको छ, यसैका कुसंस्कारहरूबाट वेदहरूमा पनि यस्तै झुट्टा दोष लगाउन चाहन्छन् परन्तु वेदहरूमा यस्ता कुराको नाम पनि छैन ।
र यो पनि निश्चय भयो कि ईसाईहरूको ईश्वर एक पहाडी मनुष्य थियो, पहाडमा रहन्थ्यो । जब त्यो खुदा मसी, कलम, कागज बनाउन जान्थेन; न त त्यसलाई प्राप्त थियो, यसैले ढुङ्गाका पाटीमा व्यवस्थाहरू लेखेर दिने गर्दथ्यो र यिनै जङ्गलीहरूको सामुन्ने ईश्वर बनेर बस्दथ्यो ॥४८॥
मूल-४९— र भन्यो कि तैंले मेरो रूप देख्न सक्दैनस् किनभने मलाई देखेर कोई मान्छेहरू बाँच्न सक्दैनन् ॥ र परमेश्वरले भन्यो कि हेर मसँग एउटा चट्टानको स्थान छ र तँ त्यहाँ उभिनु ॥ र यस्तो हुनेछ कि जबसम्म मेरो विभव (तेज) तेरो सामुन्नेबाट निस्कने छ तब मैले तँलाई पहाडको खोंचमा राख्नेछु र जबसम्म तेरो सामुन्नेबाट निस्किसक्नेछु तँलाई आफ्नो हातले ढाक्नेछु ॥ फेरि आफ्नो हात उठाउनेछु र तँ मेरो पछाडि देखिनेछस् र पीठको दर्शन त गर्नेछस् परन्तु मेरो रूप देख्नेछैनस् ॥
—तौरेत (यात्रापर्व/अध्याय ३३/आयत २०-२३) ॥
समीक्षक— अब हेर्नुहोस् ! ईसाईहरूको ईश्वर केवल मनुष्यवत् शरीरधारी र मूसासँग कस्तो प्रपञ्च रचेर आफू स्वयं ईश्वर बनेको छ । जो पछाडि देखिन्छ, रूप देखिंदैन भने त हातले त्यसलाई ढाकि पनि दियो होला । जब मूसालाई आफ्नो हातले ढाक्यो होला तब त उसको हातको रूप उसले देखेन होला ? ॥४९॥
लैव्य व्यवस्थाको पुस्तक (तौरेत) (१३.२.३)
मूल-५०— र परमेश्वरले मूसालाई बोलायो र मिलापवाला मण्डलीको तम्बूबाट यो वचन उसले भन्यो ॥ कि इस्राएलका सन्तानहरूसँग बोल र उनीहरूलाई भन्नु कि यदि तिमीहरूले परमेश्वरलाई भेटी ल्याउँदाखेरि त पशुबलि अर्थात् गाई, गोरु र भेडा, बाख्राबाट आफ्नो भेटी ल्याउने गर्नू ॥ —तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय १/आयत १, २) ॥
समीक्षक— अब विचार गर्नुहोस् ! ईसाईहरूको परमेश्वर गाई, गोरु, भेडा, बाख्रा आदिको भेटी लिनेवाला, जो कि आफ्नो लागि बलिदान गराउनको लागि उपदेश गर्दछ । त्यो गाई, गोरु, भेडा, बाख्रा आदि पशुको रगत र मासुको प्यासो, भोको हो कि होइन ? यसैबाट त्यसलाई अहिंसक र ईश्वरको कोटिको दाँजोमा गन्न कहिल्यै पनि सकिंदैन किन्तु मांसाहारी प्रपञ्ची मनुष्यको सदृश भने पक्कै हो ॥५०॥
मूल-५१— तब त्यो बाच्छोलाई परमेश्वरको सामुन्ने बलि गरोस्; र हारूनको पुत्र जुन याजक हो त्यसले रगतलाई समीपमा लगेर त्यस वेदीको चारैतिर छर्कियोस् जुन कि मिलापवाला तम्बूको द्वारमा छ ॥ फेरि त्यो होमबलिपशुको छाला काढेर त्यस पशुलाई टुक्रा-टुत्रा पारोस् ॥ तब हारून याजकको पुत्रले वेदीमा आगो बालोस्, र आगोमा दाउरा सजाएर राखोस् ॥ र हारूनको पुत्र जुन याजक हो उसले टाउकोबाट बोसो समेत पशुको टुक्रा पारेर त्यस वेदीको बलिरहेको दाउरामाथि सजाएर राखोस् ॥ र त्यसको भित्रीमासु र खुट्टालाई पानीले धोओस् । तब याजकले सबै टुक्रालाई वेदीमा जलाओस्, कि त्यो होमबलि परमेश्वरको लागि सुखदायक सुगन्धवाला हवन ठहरियोस् ॥
—तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय १/आयत ५-९) ॥
समीक्षक— थोरै विचार गर्नुहोस् त ! बाच्छोलाई परमेश्वरको अगाडि उसको भक्तले मार्ने र उसले मराउने र रगतलाई चारैतिर छर्कने, अग्निमा होम गर्ने, ईश्वरले सुगन्ध लिने, भला यो कसाईको घर भन्दा केही कम्तीको लीला छैन ? यसैबाट न बाइबल ईश्वरकृत, न त त्यो जङ्गली मनुष्यको सदृश लीलाधारी ईश्वर हुन सक्दछ ॥५१॥
मूल-५२— फेरि ईश्वरले मूसालाई भन्यो ॥ कि इस्राएलीहरूलाई यो भन्नु कि, यदि कोई मनुष्य ती कामहरूदेखि जसलाई ईश्वरले निषेध गरेको छ त्यस्ता कुनै कामलाई भुलले गरेर पापी हुन्छ भने ॥ र यदि अभिषिक्त याजकले यस्तो पाप गरेमा, जसबाट प्रजा दोषी ठहरिन्छन् भने त, आफ्नो पापको कारण त्यसले एउटा निष्खोट बाच्छो ईश्वरको लागि पापबलि गरेर चढाउनु ॥ र अभिषिक्त याजकले त्यस बाच्छोलाई मिलापवाला तम्बूको द्वारमा ईश्वरको अगाडि लगेर त्यसको टाउकामा हात राखेर, र त्यस बाच्छोलाई ईश्वरको सामुन्ने बलि गरोस् ॥
—तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय ४/आयत १, २, ३, ४) ॥
समीक्षक— अब हेर्नुहोस् पापलाई छुटाउने प्रायश्चितको विधि ! स्वयंले पाप गर्ने, गाई आदि उत्तम पशुहरूको हत्या गर्ने र परमेश्वरले गराउने । धन्य हुन् ईसाईहरू कि यस्तो कुराहरूलाई गर्ने-गराउनेवालालाई पनि ईश्वर मानेर आफ्नो मुक्तिको आशा गर्दछन् ॥५२॥
मूल-५३— जब कुनै अध्यक्षले पाप गर्दछ....॥....तब त्यसले निष्खोट पाठो आफ्नो भेटीको लागि लिएर आओस् ॥ र....त्यसलाई ....परमेश्वरको अगाडि बलि गरोस् तब पाप कटनी हुनेछ ॥
—तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय ४/आयत २२, २३, २४) ॥
समीक्षक— वाहजी ! वाह ! यदि यस्तै हो भने त यिनका अध्यक्ष अर्थात् न्यायाधीश तथा सेनापति आदि पाप गर्नदेखि किन डराउँछन् होला र ? आफूले यथेष्ट पाप गर्ने र प्रायश्चितको बदलामा गाई, बाच्छा, बाख्रा आदिका प्राण लिने, तब नै ईसाईहरू कुनै पशु वा पक्षीको प्राण लिनमा शङ्कित हुँदैनन् । सुन ईसाईहरू हो ! अब त यस जङ्गली मतलाई छोडेर सुसभ्य धर्ममय वेदमतलाई स्वीकार गर कि जसबाट तिम्रो कल्याण होस् ॥५३॥
मूल-५४— यदि त्यसमा भेडा ल्याउने क्षमता छैन भने त त्यसले गरेको अपराधको लागि दुई वटा पाठापाठी अथवा परेवाका बच्चा परमेश्वरको लागि ल्याओस् ॥ र त्यसको टाउको गर्दनमा बटारोस् परन्तु नछिंदोस् ॥....त्यसले गरेको पापको प्रायश्चित गरोस् र त्यसको लागि निश्चय क्षमा गरिनेछ ॥ तर यदि परेवाका बचेरा पनि ल्याउने क्षमता छैन भने त....सेर भर चोखो पीठो पापबलिको भेटीको लागि ल्याओस् र त्यसमाथि तेल नहालोस्....॥....र त्यसलाई क्षमा हुनेछ ॥
—तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय ५/आयत ७, ८, १०, ११, १३) ॥
समीक्षक— अब सुन्नुहोस् ! ईसाईहरूमा पाप गर्नको लागि कोई धनाढ्य डराउँदैन होला न त दरिद्र पनि; किनभने यिनको ईश्वरले पापहरूको प्रायश्चित गर्नको लागि सहज बनाएर राखेको छ । यो एउटा कुरा ईसाईहरूको बाइबलमा अद्भुत छ कि बिना कष्ट गरेर पापबाट छुटेर जाने । किनभने एक त पाप गर्यो दोस्रो जीवहरूको हिंसा गर्यो र खुब आनन्दले मासु चबाउँदै खायो र पाप पनि छुटेर गयो ।
भला ! परेवाको बचेराको गर्दन मोडिदिनाले धेरै बेरसम्म छटपटिन्छ होला तब पनि ईसाईहरूलाई दया आउँदैन । दया कसरी आउने ! यिनका ईश्वरको उपदेश नै हिंसा गर्नको लागि छ, र जब सबै पापहरूको यस्तो प्रायश्चित छ भने त ईसाको विश्वासबाट पाप छुटेर जान्छ, यो ठूलो आडम्बर किन गर्दछन् ॥५४॥
मूल-५५— र याजक कसैको लागि होमबलि चढाउँछ भने त्यस होमबलिपशुको छाला त्यही याजकले लेओस् ॥ र तन्दूरमा, कराहीमा, वा ताओमा पाकेको सबै भेटबलि उसै याजकको हुनेछ जसले त्यसलाई चढाउँछ ॥ —तौरेत (लैव्य व्यवस्थापर्व/अध्याय ७/आयत ८, ९) ॥
समीक्षक— हामीले जान्दथ्यौं कि यहाँ देवीका भोपे र मन्दिरहरूका पुजारीहरूको पोपलीला विचित्र छ, परन्तु ईसाईहरूको ईश्वर र उनका पुजारीहरूको पोपलीला यस भन्दा पनि हजारौंगुणा बढेर रहेछ, किनभने चोरीको दाम र भोजनको पदार्थ खानको लागि आओस् फेरि ईसाईहरूका याजकहरूले खुब मौज उडाए होलान् ? र अहिले पनि उडाउँदै होलान् ? भला, कोई मनुष्य एउटा छोरालाई मार्ने र अर्को छोरालाई त्यसको मासु खुवाउने, यस्तो कहिल्यै हुन सक्दछ ? त्यसै गरी सबै मनुष्य, पशु, पक्षी आदि सबै जीव ईश्वरका पुत्रवत् हुन् । परमेश्वरले यस्तो काम कहिल्यै पनि गर्न सक्दैन । त्यसैले यो बाइबल ईश्वरकृत र यसमा लेखिएको ईश्वर र यसलाई मान्नेवाला धर्मज्ञ कहिल्यै हुन सक्दैनन् । यस्तै नै सबै कुराहरू लैव्य व्यवस्था आदि पुस्तकहरूमा भरिएको छ, कहाँसम्म गणना गराऊँ ॥५५॥
गणनाको पुस्तक (तौरेत) (१३.२.४)
मूल-५६— सो गधिनीले परमेश्वरको दूतलाई आफ्नो हातमा नाङ्गो तलवार खिचेर बाटामा उभिएको देखी, तब गधिनी बाटोलाई छोडेर छुट्टै खेतमा पसी, त्यसलाई मार्गमा फर्काएर ल्याउनको लागि बिलामले गधिनीलाई लट्ठीले हिर्कायो ॥ तब परमेश्वरले गधिनीको मुख खोल्यो र त्यसले बिलामसित भन्यो कि मैले तेरो के बिराम गरेको छु कि तैंले मलाई अहिले तीन पटक चुटिस् ॥
—तौरेत (गणनापर्व/अध्याय २२/आयत २३, २८) ॥
समीक्षक— प्रथम त गधासम्मले ईश्वरका दूतहरूलाई देख्दथे र आजभोलि बिशप पादरी आदि श्रेष्ठ वा अश्रेष्ठ मनुष्यहरूलाई पनि खुदा वा उसका दूत देखिंदैनन् । के आजभोलि परमेश्वर र उसका दूत छन् कि छैनन् ? यदि छन् भने त गहिरो निद्रामा सुतेका छन् ? वा रोगी भए अथवा कुनै अन्य भूगोलमा फड्को मारे ? वा कुनै अर्को धन्धामा लागे ? वा अब ईसाईहरूसँग रुष्ट हुन गए ? अथवा मरे ? विदित भएको छैन कि के भयो ? अनुमान त यस्तो लागिरहेको छ कि अहिले छैनन्, देखिंदैनन् त तब पनि थिएनन् र देखिन्थेनन् होलान्, किन्तु यी केवल हुक्का गुडगुडाए जस्तो मनमानी गफौडा उडाए होलान् ॥५६॥
मूल-५७— सो अब केटाहरूमा हर एक छोरालाई र हर एक स्त्री जो पुरुषसँग संयुक्त भएकी छ, प्राण निकालिदिनु ॥ परन्तु छोरीहरू जो पुरुषसँग संयुक्त भएका छैनन्, उनीहरूलाई आफ्नो लागि जिउँदै राख्नू ॥ —तौरेत (गन्तीपर्व/अध्याय ३१/आयत १७, १८) ॥
समीक्षक— वाह जी ! मूसा पैगम्बर र तिम्रो ईश्वर धन्य हो कि जो स्त्री, बाल, वृद्ध र पशु हत्या गर्नबाट पनि अलग रहेन र यसबाट स्पष्ट निश्चित हुन्छ कि मूसा विषयी थियो । किनभने यदि विषयी हुन्थेन भने त ‘अक्षतयोनि’ अर्थात् पुरुषहरूसँग समागम नगरेकी कुँवारी कन्याहरू आफ्नो लागि किन माग्दथ्यो वा उनीहरूलाई यस्तो निर्दय वा विषयीपनको आज्ञा किन दिन्थ्यो ? ॥५७॥
समुएलको दोस्रो पुस्तक (तौरेत) (१३.२.५)
मूल-५८— र त्यसै दिन रातिमा यस्तो भयो कि उसले परमेश्वरको यो वचन भन्दै नातानमा पुग्यो ॥ कि जा र मेरो सेवक दाऊदलाई भन्नु कि परमेश्वरले भनेको छ कि— के मेरो निवासको लागि तैंले एउटा घर बनाइदिन्छस् ? ॥ किनभने जहिलेदेखि इस्राएलका सन्तानहरूलाई मिस्रबाट निकालेर ल्याएँ, मैले त आजको दिनसम्म पनि घरमा वास गरेको छैन परन्तु तम्बूमा र डेरामा फिरिराखेको छु ॥ —तौरेत (समुएल दोस्रोपर्व/अध्याय ७/आयत ४, ५, ६) ॥
समीक्षक— अब कत्ति पनि सन्देह रहेन कि ईशाईको ईश्वर मनुष्यवत् देहधारी हो । फेरि शिकायत गर्दछ कि मैले धेरै परिश्रम गरें, यता-उता धेरै दौडिएँ, अब दाऊद तैंले घर बनाइदिएमा त मैले त्यसमा आराम गर्ने थिएँ, किन ईसाईहरूको यस्तो ईश्वर र यस्ता पुस्तकलाई मान्नमा लज्जा पनि आउँदैन ? परन्तु के गरून् बिचराहरू फस्न गए त गए । अब निस्कनको लागि बडो पुरुषार्थ गर्नपर्ने भयो ॥५८॥
राजाहरूको पुस्तक (तौरेत) (१३.२.६)
मूल-५९— र बाबेलको राजा नबूकदनेस्सरको राज्यको उन्नाईसौं वर्षको पाँचौं महिनाको सातौं तिथिमा बाबेलको राजा एक सेवक नबूजरदान जुन जल्लादहरूको प्रधान अर्थात् निज सेनाको प्रधान अध्यक्ष थियो, यरूसेलममा आयो ॥ र त्यसले परमेश्वरको मन्दिर, राजाको भवन र यरूसेलमका सारा घरहरू र हर एक ठूला घरलाई जलाइदियो ॥ र कसदिहरूका सारा सेनाले जुन त्यस निज सेनाको अध्यक्षको साथमा थिए, यरूसेलमको भित्ता र पर्खाललाई चारैतिरबाट ढालिदिए ॥
—तौरेत (राजाहरूको पर्व २/अध्याय २५/आयत ८, ९, १०) ॥
समीक्षक— के गर्ने त, ईसाईहरूको ईश्वरले त आफ्नो आरामको लागि दाऊद आदिसँगबाट घर बनाएको थियो, त्यसमा आराम गर्थ्यो होला, परन्तु नबूजरदानले ईश्वरको घरलाई नष्ट-भ्रष्ट गरिदियो र ईश्वर वा उसका दूतहरूको सेनाले केही पनि गर्न सकेनन् ।
प्रथम त यिनको ईश्वरले बडो लडाई गर्दथ्यो र विजयी हुन्थ्यो परन्तु अहिले त आफ्नो घरसमेत जलाएर-फोरेर बस्यो । न जाने चुपचाप किन बसिरह्यो ? फेरि त्यसका दूतहरू नजाने कता भागे ? यस्तो समयमा कोही पनि काममा आएनन् र ईश्वरको पराक्रम पनि न जाने कहाँ उडेर गयो ? यदि यो कुरो साँचो हो भने त जुन-जुन विजयको कुराहरू प्रथममा लेखे सो-सो सबै व्यर्थ हुन गयो । के मिस्रका केटा-केटीहरूलाई मारेर मात्रै शूरवीर बनेको थियो ? अहिले शूरवीरहरूको सामुन्ने चुपचाप भएर बसिरह्यो ? यो त ईसाईहरूको ईश्वरले आफ्नो निन्दा र अप्रतिष्ठा गरायो । यस्तै हजारौं यस पुस्तकमा निकम्मा कथाहरू भरेका छन् ॥५९॥
जबूरको दोस्रो भाग
कालको समाचारको पहिलो पुस्तक (इतिहास) (१३.२.७)
मूल-६०— सो परमेश्वर मेरो ईश्वरले इस्राएलमा मरी पठायो र इस्राएलका मध्येबाट सत्तरी हजार पुरुष ढले ॥ —तौरेत (इतिहासपर्व १/अध्याय २१/आयत १४) ॥
समीक्षक— अब हेर्नुहोस् इस्राएलका ईसाईहरूको ईश्वरको लीला ! जुन इस्राएल कुलको लागि थुप्रै वर दिएको थियो र रात-दिन जसको कोर्कामा हल्लन्थ्यो, अब झट क्रोधित भएर मरीलाई पठाएर सत्तरी हजार मनुष्यहरूलाई मार्यो । यस्तै देखेर कुनै कविले लेखेका छन्, सत्य हो कि—
क्षणे रुष्टः क्षणे तुष्टो रुष्टस्तुष्टः क्षणे क्षणे । अव्यवस्थितचित्तस्य प्रसादोऽपि भयङ्करः ॥
जसरी कोई मनुष्य क्षणमा प्रसन्न, क्षणमा अप्रसन्न हुन्छ अर्थात् क्षण-क्षणमा प्रसन्न-अप्रसन्न हुन्छ, त्यस्ताको प्रसन्नता पनि भयदायक हुन्छ, त्यस्तै लीला ईसाईहरूको ईश्वरको छ ॥६०॥
ऐयूबको पुस्तक (जबूर) (१३.२.८)
मूल-६१— र एक दिन यस्तो भयो कि परमेश्वरको अगाडि ईश्वरको पुत्र आएर उभियो र शैतान पनि उनको मध्यमा परमेश्वरको अगाडि आएर उभियो ॥ र परमेश्वरले शैतानलाई सोधे कि तँ कहाँबाट आउँदैछस् ?, तब शैतानले उत्तर दिंदै परमेश्वरसँग भन्यो कि पृथ्वीमा घुम्दै र यता-उता फिर्दै आइरहेको छु ॥ तब परमेश्वरले शैतानलाई सोध्यो कि तैंले मेरो दास ऐयूबलाई जाँचेको छस् कि उसको समान पृथ्वीमा अरू कोही छैन, त्यो सिद्ध र खरो जन ईश्वरदेखि डराउँछ र पापदेखि अलग रहन्छ र अहिलेसम्म आफ्नो सच्चाईलाई थामेर राखेको छ र तैंले मलाई त्यसलाई अकारण नाश गर्नको लागि उक्साइस् ॥ तब शैतानले उत्तर दिएर परमेश्वरलाई भन्यो कि धूर्तको लागि धूर्त्त्याईं, परन्तु प्राणको बदलामा मनुष्यले आफ्नो सबै थोक दिन्छ ॥ परन्तु अहिले आफ्नो हात बढाएर त्यसको हाड-मासुलाई छोइदे, तब त्यसले निःसन्देह तँलाईं तेरो सामुन्ने निन्दा गर्नेछ ॥ तब परमेश्वरले शैतानलाई भन्यो कि, हेर त्यो तेरो हातमा छ, केवल त्यसको प्राणलाई बचाइदे ॥ तब शैतान परमेश्वरको अगाडिबाट निस्कियो र ऐयूबको शिरदेखि पाउसम्म नराम्रोसँग खटिराले पीडित गरायो ॥ —जबूर (ऐयूबपर्व/अध्याय २/आयत १-७) ॥
समीक्षक— अब हेर्नुहोस् ईसाईहरूको ईश्वरको सामर्थ्य ! कि शैतानले उसको सामुन्ने उसका भक्तलाई दुःख दिन्छ । न शैतानलाई दण्ड, न त आफ्नो भक्तलाई बचाउन सक्दछ न त उसका दूतहरूले नै त्यसको सामना गर्न सक्दछन् । एउटा शैतानले सबैलाई भयभीत बनाएर राखेको छ । र ईसाईको ईश्वर पनि सर्वज्ञ होइन । यदि सर्वज्ञ हुन्थ्यो भने त ऐयूबको परीक्षा शैतानसँग किन गराउँथ्यो ? ॥६१॥
उपदेशको पुस्तक (जबूर) (१३.२.९)
मूल-६२— हो मेरो अन्तःकरणले बुद्धि र ज्ञान धेरै देखेको छ ॥ मैले आफ्नो मन लगाएँ कि बुद्धि र ज्ञानको भेद लिऊँ र बावलेपन र मूर्खतालाई पनि जानूँ, मलाई थाहा भयो कि यो पनि वायुलाई समाउनु जस्तै कठिन हो ॥ किनभने धेरै बुद्धिको साथ धेरै खेद पनि हुन्छ, र जसले आफ्नो ज्ञान बढाउँछ त्यसले आफ्नो दुःख पनि बढाउँछ ॥
—जबूर (सभोपदेशक पर्व/अध्याय १/आयत १६, १७, १८) ॥
समीक्षक— अब हेर्नुहोस् ! जुन बुद्धि र ज्ञान शब्द पर्यायवाची हुन्, त्यसलाई दुई मान्दछन् । र बुद्धिको वृद्धिमा शोक र दुःख मान्नु, बिना अविद्वान्को यस्तो लेख कसले गर्न सक्दछ ? त्यसैले यो बाइबल ईश्वरले बनाएको त हुँदैहोइन भने कुनै विद्वान्ले बनाएको पनि होइन ॥६२॥
यहाँ थोरैमात्र तौरेत र जबूरको विषयमा लेखियो । यसको अगाडि थोरैमात्र मत्ती आदि रचित इञ्जीलको विषयमा लेखिनेछ, अहिले जसलाई ईसाईहरूले ठूलो प्रमाणभूत मान्दछन्, जसको नाम इञ्जील राखेका छन्, त्यसको परीक्षा थोरैमात्र लेख्दछु कस्तो लाग्दछ ।
(ख) नयाँ विधानको पुस्तक (इञ्जील) (१३.३)
मत्तीरचित इञ्जील (१३.३.१)
मूल-६३— यीशु ख्रीष्टको जन्म यस रीतिबाट भयो, उसकी आमा मरियमको यूसुफसित मंगनी (विवाहको लागि वचनवद्ध) भएको थियो । परन्तु उनको विवाह हुनुभन्दा पहिला नै देखियो कि उनी पवित्र आत्माबाट गर्भवती छन् ॥....हेर परमेश्वरको एउटा दूतले स्वप्नमा उसलाई दर्शन दिएर भन्यो कि— हे दाऊदका सन्तान यूसुफ तँ आफ्नी स्त्री मरियमलाई यहाँ ल्याउनबाट नडरा किनभने उसको पेटमा जुन गर्भ रहेको छ त्यो पवित्र आत्माबाट भएको हो ।
—इञ्जील (मत्तीपर्व/अध्याय १/आयत १८, २०) ॥
समीक्षक— यी कुराहरूलाई कुनै विद्वान्ले मान्न सक्दैन कि जो प्रत्यक्षादि प्रमाण र सृष्टिक्रमदेखि विरुद्ध छ । यी कुराहरूलाई मान्नु जङ्गली मनुष्यको काम हो, सभ्य विद्वान्हरूको त हुँदै होइन । भला ! जो परमेश्वरको नियम हो त्यसलाई कसैले तोड्न सक्दैन र परमेश्वरले पनि उल्टो-पाल्टो गरेमा त उसको आज्ञालाई कसैले मान्नेछैन र त्यो पनि सर्वज्ञ र निर्भ्रम रहनेछैन । यस्तै हो भने त जुन-जुन कुमारीको गर्भ रहँन जान्छ तब सबैले यस्तो भन्न सक्नेछन् कि यसमा गर्भ रहनु ईश्वरतिरबाट भएको हो र झुट-मुट भनिदिने कि परमेश्वरको दूतले मलाई सपनामा भनेको छ कि यो गर्भ परमात्मातिरबाट रहेको हो । जस्तो यो असम्भव प्रपञ्च रचेका छन्, त्यस्तै नै सूर्यबाट कुन्ती गर्भवती हुनु पनि पुराणहरूमा असम्भव लेखिएको छ । यस्ता-यस्ता कुराहरूलाई ‘आँखाका अन्धा गाँठका पूरा’ ले मानेर भ्रमजालमा पर्दछन् । यहाँ यस्तो कुरा भयो होला कि कुनै पुरुषसँग समागम हुनाले मरियम गर्भवती भईहोली, उसले वा कुनै दोस्राले यस्तो असम्भव कुरो उडाइदियो होला कि गर्भ ईश्वरतिरबाट रहेको हो ॥६३॥
मूल-६४— तब आत्माले यीशुलाई जङ्गलमा लगेर शैतानद्वारा उसको परीक्षा लिन चाह्यो ॥ त्यो चालीस दिन र चालीस रात निराहार रह्यो अन्तमा उसलाई भोक लाग्यो ॥ तब परीक्षा लिनेवालाले भन्यो कि यदि तँ ईश्वरको पुत्र होस् भने त भनिदे कि यो ढुङ्गा रोटी बनोस् ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ४/आयत १, २, ३) ॥
समीक्षक— यसमा स्पष्ट सिद्ध हुन्छ कि ईसाईहरूको ईश्वर सर्वज्ञ होइन । किनभने सर्वज्ञ हुन्थ्यो भने त उसको परीक्षा शैतानबाट किन गराउँथ्यो ? स्वयं जान्न सक्थ्यो । भला ! कुनै ईसाईलाई आजभोलि चालीस रात दिन भोकै राखेमा त कहिल्यै बच्न सक्ला ? र यसबाट यही सिद्ध हुन्छ कि न त्यो ईश्वरको छोरो थियो र न त उसमा कुनै करामत अर्थात् सिद्धि नै थियो, नत्र भने त शैतानको सामुन्ने ढुङ्गाको रोटी किन बनाएन ? र आफू भोको किन रहन्थ्यो ? फेरि सिद्धान्त यो हो कि जसलाई परमेश्वरले ढुङ्गा बनाएको छ, त्यसलाई रोटी कसैले बनाउन सक्दैन र ईश्वरले पनि पूर्वकृत नियमलाई उल्टो गराउन सक्दैन किनभने ऊ सर्वज्ञ र उसका सबै कामहरू बिना भुल-चुकका छन् ॥६४॥
मूल-६५— जब यीशुले सुन्यो कि यूहन्नालाई समातेर बन्दीगृहमा हाले, तब ऊ गलीलतिर गयो ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ४/आयत १२) ॥
समीक्षक— जब सुनेर यूहन्नानको बन्दीगृहमा पर्नु जान्यो भने त सर्वज्ञ होइन । किन कि सुनेर जान्नु त असर्वज्ञ जीवहरूको काम हो । यो सुनेर जान्नु, जानेर भुल्नु ईश्वरको स्वभाव होइन, किन्तु जीवको स्वभाव हो ॥६५॥
मूल-६६— र यीशु बपतिस्मा लिएर तुरुन्त पानीबाट बाहिर निस्कियो, र देख्यो, उसको लागि आकाश खुल्यो; र उसले परमेश्वरको आत्मालाई परेवा जस्तै गरेर उत्रँदै र आफूमाथि आउँदै गरेको देख्यो ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ३/आयत १६) ॥
समीक्षक— भला ! ईश्वरको आत्मालाई आँखाले कहिल्यै देख्न सक्दछ ? र व्यापक ईश्वर परेवाको झैं न त कहिल्यै उत्रने र चढ्ने गर्दछ । र जो चढ्ने-ओर्लने गर्दछ, त्यो ईश्वर नै हुन सक्दैन यो निश्चित हो ॥६६॥
मूल-६७— र उनीहरूलाई भन्यो, मेरो पछि-पछि आओ, त मैले तिमीहरूलाई मान्छे समात्नेवाला बनाउनेछु ॥ तिनीहरूले तुरुन्त जाललाई छोडेर उसका पछि लागे ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ४/आयत १९, २०) ॥
समीक्षक— विदित हुन्छ कि यसै पाप अर्थात् जुन तौरेतमा दश आज्ञाहरूमा लेखिएको छ कि— ‘सन्तानहरूले आफ्नो माता, पिताको सेवा र मान्यता गर्नुपर्दछ जसले गर्दा उमेर बढोस् ।’ सो ईसाले न आफ्ना माता-पिताको सेवा गर्यो न त अरूलाई उनका माता-पितालाई सेवा गर्न नै दियो । यसै अपराधले चिरञ्जीवी रहेन । र यो पनि विदित भयो कि ईसाले मनुष्यलाई फसाउनको लागि एक मत चलाएको छ कि जालमा माछाकै समान मनुष्यहरूलाई स्वमत जालमा फसाएर आफ्नो प्रयोजन साध्ने ।
जब ईसा नै यस्तो थियो भने त आजभोलिका पादरीहरू आफ्नो जालमा मनुष्यहरूलाई फसाएमा त के नै आश्चर्य हुन्छ ? किनभने जसरी ठूला-ठूला र धेरै माछाहरूलाई जालमा फसाउनेवालाको प्रतिष्ठा र जीविका राम्रो हुन्छ । यसै गरी जसले धेरैलाई आफ्नो मतमा फसाउन सक्दछ त्यसको अधिक प्रतिष्ठा र जीविका हुन्छ । यसैले गर्दा यिनीहरू जसले वेद र शास्त्रहरू पढेनन् न त सुने, ती बिचरा भोले मनुष्यहरूलाई आफ्नो जालमा फसाएर उनका बाउ-आमा कुल-कुटुम्बदेखि छुटाइदिन्छन्, यसैले सबै विद्वान् आर्याहरूलाई यो उचित हुन्छ कि स्वयं यिनका भ्रमजालदेखि बच्नु र अन्य भोला-भाला आफ्ना दाजु-भाइहरूलाई पनि बचाउने ॥६७॥
मूल-६८— तब यीशु सारा गलील देशमा उनका सभाहरूमा उपदेश गर्दै र राज्यको सुसमाचार प्रचार गर्दै र मान्छेहरूमा हर एक रोग र हर एक व्याधिलाई निको पार्दै हिंड्यो ॥....सबै रोगीहरूलाई जो नाना प्रकारका रोगहरू र पीडाहरूबाट दुःखी थिए, भूतग्रस्तहरू, छारे रोगवाला र अर्द्धाङ्गीहरूलाई पनि निको पार्यो ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ४/आयत २३, २४) ॥
समीक्षक— जसरी आजभोलि पोपलीला, भूत-प्रेत निकाल्नको लागि पुरश्चरण, आशीर्वाद, जन्तर र खरानीको चुट्की दिनाले भूत-प्रेत निकाल्ने, रोगहरू निको पार्ने साँचो हो भने त त्यो इञ्जीलको कुरा पनि साँचो होला । यसैले भोले मनुष्यहरूलाई भ्रममा फसाउनको लागि यी कुरा हुन् । यदि ईसाईहरू ईसाको कुरा मान्दछन् भने त यहाँका देवी-भैरवका कुराहरू किन नमान्ने ? किनभने ती कुराहरू यिनैका सदृश छन् ॥६८॥
मूल-६९— धन्य छन् ती, जो मनका दीन छन्, किनभने स्वर्गको राज्य उनैको हो ॥ धन्य छन् ती, जो शोक गर्दछन्, किनभने तिनैले शान्ति पाउँछन् ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ५/आयत ३, ४) ॥
समीक्षक— स्वर्ग एउटा छ भने त राजा पनि एउटा हुनुपर्दछ । यसैले जति दीन छन्, ती सबै स्वर्गमा गएभने त स्वर्गमा राज्यको अधिकार कसलाई हुनेछ ? अर्थात् परस्पर लडाईं-भिडाईं गर्नेछन् र राज्य व्यवस्था खण्ड-बण्ड हुन जानेछ । र दीन भन्नाले कङ्गालहरू लिएमा त ठीक भएन, यदि निरभिमानीलाई लियौ भने तापनि ठीक भएन, किनभने दीन र निरभिमानको एकार्थ हुँदैन । किन्तु जो मनले दीन हुन्छ, त्यसलाई सन्तोष कहिल्यै हुँदैन, यसैले यो कुरो ठीक छैन ॥६९॥
मूल-७०— लोप गर्नको लागि होइन, परन्तु पूरा गर्नको लागि आएको हूँ, कि जबसम्म आकाश र पृथ्वी बित्दैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा या बिन्दु पनि बिना पूरा नभै रहँदैन ॥ यसैले जो कोहीले यी साना-साना आज्ञाहरूमा कुनै एउटालाई मान्दैन, र त्यस्तै मान्छेहरूलाई सिकाउँछ भने, त्यो स्वर्गको राज्यमा सबै भन्दा तल्लो मानिनेछ, परन्तु जो कसैले त्यसलाई पालन गर्दछ र अरूलाई सिकाउँछ भने, त्यही स्वर्गको राज्यमा महान् मानिनेछ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ५/आयत १८, १९) ॥
समीक्षक— जब आकाश र पृथ्वी बित्नेछ तब व्यवस्था पनि सकिनेछ यस्तो अनित्य व्यवस्था मनुष्यहरूको हुन्छ, सर्वज्ञ ईश्वरको होइन । र यो एक प्रलोभन र भयमात्र दिएको छ कि जसले यी आज्ञाहरूलाई मान्दैन त्यो स्वर्गमा सबै भन्दा तल्लो मानिनेछ । जब यो ईसाको साक्षी हो भने त तौरेत र जबूरको लेखलाई पनि ईसाईहरूले अवश्य मान्नुपर्दछ । यद्यपि ती पुस्तकहरूमा जुन राम्रा कुराहरू छन् ती वेदोक्त हुनाले खण्डनीय हुन सक्दैन, किन्तु मन्तव्य छन् । परन्तु तिनमा जति दोष छन् त्यसको उत्तर दिनु ईसाईहरूमाथि निर्भर गर्दछ । ती पुस्तकहरूमा बहुतांश त इतिहास मात्रै भरिएको छ र थुप्रै असम्भव कुराहरू पनि छन् । यस्तो पुस्तकको सत्य हुनमा ईसाको साक्षी दिनुले ईसालाई अविद्वान् बनाउँदछ ॥७०॥
मूल-७१— मैले तिमीलाई भन्दैछु कि यदि तिम्रो धर्म अध्यापकहरू र फरीसिहरूको धर्मदेखि अधिक नभएमा त तिमी स्वर्गको राज्यमा प्रवेश गर्न पाउने छैनौ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ५/आयत २०) ॥
समीक्षक— जब धर्माचरणबाट नै स्वर्ग प्राप्त हुन्छ भने त, चाहे वहाँ, चाहे उस समयमा, चाहे कोई पनि मनुष्य धर्मात्मा हुनेछ, त्यसले स्वर्ग पाउनेछ । ईसालाई मान्नुपर्ने आवश्यकता छैन ॥७१॥
मूल-७२— सो जसरी तिम्रो स्वर्गवासी पिता सिद्ध हुनगए त्यसरी नै तिमी पनि सिद्ध बन ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ५/आयत ४८) ॥
समीक्षक— जब सबैका पिता परमेश्वर हुन् भने त ईसाईहरू केवल ईसाको पितालाई परमेश्वर भन्दछन्, यो यिनीहरूको ठूलो भुलको कुरा हो ॥७२॥
मूल-७३— हाम्रो दिनभरिको लागि रोटी आज हामीलाई देऊ ॥ आफ्नो लागि पृथ्वीमा धनको सञ्चय नगर....॥ —इञ्जील (मत्तीपर्व/अध्याय ६/आयत ११, १९) ॥
समीक्षक— यसबाट विदित हुन्छ कि जुन समयमा ईसाको जन्म भएको छ, त्यस समयमा मान्छेहरू जङ्गली र दरिद्र थिए तथा ईसा पनि त्यस्तै दरिद्र थियो । यसैले त दिनभरिको रोटीको प्राप्तिको लागि ईश्वरसँग प्रार्थना गर्थ्यो र सिकाउँथ्यो । जब यस्तो हो भने त ईसाईहरूले धन सञ्चय किन गर्दछन् ? उनीहरूलाई चाहिन्छ कि ईसाको वचनदेखि विरुद्ध नचलेर सबै दान पुण्य गरेर दीन हुनुपर्दछ ॥७३॥
मूल-७४— हर एक जो मसँग ! हे प्रभु ! हे प्रभु ! भन्दछ, त्यो स्वर्गको राज्यमा प्रवेश गर्नेछैन....॥ —इञ्जील (मत्तीपर्व/अध्याय ७/आयत २१) ॥
समीक्षक— अब विचार गर्नुहोस् ! ठूला-ठूला पादरी बिशप साहेब र कृश्चीनहरू जुन यो ईसाको वचन सत्य हो, यस्तो सम्झन्छन् भने त प्रभु अर्थात् ईश्वर कहिल्यै नभनोस्, यदि यस कुरालाई मान्दैनौ भने त पापबाट कहिल्यै बच्न सक्देनौ ॥७४॥
मूल-७५— उस दिन थुप्रैले मसँग भन्नेछन्; हे प्रभु, हे प्रभु, के हामीले तेरो नामबाट भविष्यवाणी गरेनौं, र तेरो नामले दुष्टात्माहरूलाई निकालेनौं, र तेरो नामले थुप्रै अचम्मका कामहरू गरेनौं ? ॥ तब मैले उनीहरूसित सम्झौता गरिदिनेछु कि मैले तिमीहरूलाई कहिल्यै जानिन, हे कुकर्म गर्नेवालाहरू, मेरो नजिकबाट टाढा जाओ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ७/आयत २२, २३) ॥
समीक्षक— हेर्नुहोस् ! ईसा जङ्गली मनुष्यहरूलाई विश्वास गराउनको लागि स्वर्गमा न्यायाधीश बन्न चाहन्छ, यो केवल भोले मनुष्यहरूलाई प्रलोभन दिने कुरो हो ॥७५॥
मूल-७६— र हेर, एक कुष्ठीले नजिक आएर उसलाई प्रणाम गर्यो र भन्यो कि, हे प्रभु यदि तैंले चाहन्छस् भने त, मलाई शुद्ध गराइदे ॥ यीशुले हात बढाएर त्यसलाई छोएर— भन्यो कि तँ शुद्ध भइस्, र त्यो तुरन्त कुष्ठरोगबाट निको बन्यो ॥
—इञ्जील (मत्तीपर्व/अध्याय ८/आयत २, ३) ॥
समीक्षक— यी सबै कुराहरू भोला मनुष्यलाई फसाउनको लागि हो । किनभने जब ईसाईहरू यी विद्या सृष्टिक्रमविरुद्ध कुराहरूलाई सत्य मान्दछन् भने त शुक्राचार्य, धन्वन्तरि, कश्यप आदिका कुरा पुराण र महाभारत (आदि पर्व, अध्याय ६१) मा अनेक दैत्यहरूको मरेका सेनालाई ब्युँताइदिए, बृहस्पतिको पुत्र कचलाई टुक्रा-टुत्रा पारेर जनावर र माछालाई ख्वाइदिए, फेरि पनि शुक्राचार्यले जिउँदो बनाइदिए, पश्चात् कचलाई मारेर शुक्राचार्यलाई नै ख्वाइदिए, फेरि उसलाई पेटैबाट जिउँदो बनाएर बाहिर निकाले, आफू मरे, उनलाई कचले जिउँदो बनायो । मनुष्यसहित वृक्षलाई तक्षकले भस्म गरेको थियो, पुनः कश्यप ऋषिले जस्ताको तस्तै बनाइदिए, धन्वन्तरिले लाखौं मुर्दालाई ब्युँताए, लाखौं कुष्ठ रोगीहरूलाई निको पारे, लाखौं अन्धा र बहिराहरूलाई आँखा र कान दिए, आदि कथालाई मिथ्या किन भन्दछन् ?
यदि यो कुरा मिथ्या हो भने त ईसाको कुरा मिथ्या किन होइन ? जसले दोस्राको कुरालाई मिथ्या र आफ्नो झुटो कुरालाई सत्य भन्दछ भने त हठी किन होइन ? त्यसैले ईसाइहरूका कुराहरू केवल हठ र लडकपनकै समान हुन् ॥७६॥
मूल-७७— तब दुई भूतग्रस्त (दुष्टात्मा) मनुष्य चिहानबाट बाहिर निस्केर ऊ सँग मिले, जो अति प्रचण्ड थिए कि कोही पनि तिनको मार्गबाट जान सक्दैनथे ॥ फेरि तिनीहरूले चिच्याएर भने, हे परमेश्वरको पुत्र, हामीसित तेरो के काम छ ? के तँ समयदेखि पहिला नै हामीलाई दुःख दिनको लागि आएको होस् ? ॥ र तिनीहरूदेखि केही टाढा सुँगुरहरूको बथान चरिरहेको थियो ॥ ती भूतहरूले विन्ती गरे कि यदि तैंले हामीलाई निकाल्दछस् भने त सुँगुरको बथानमा पठाइदे ॥ उसले भन्यो, जाओ, उनीहरू निस्केर सुँगुरको बथानमा पसे, र हेर, सबै बथान खाल्डाबाट हाम्फालेर पानीमा पर्दै डुबेर मरे ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ८/आयत २८, २९, ३०, ३१, ३२) ॥
समीक्षक— भला ! थोरैमात्र पनि विचार गर्नुहोस् त यी सबै कुरा झुटो हुन्, किनभने मरेको मनुष्य चिहानबाट कहिल्यै पनि निस्कँन सक्दैन । कसैमाथि चढ्दैन, न त संवाद नै गर्दछ, यी सबै कुरा अज्ञानीहरूका हुन्, जो कि महाजङ्गली हुन्, तिनैले यस्तो कुरामा विश्वास गर्दछन् । ती सुँगुरहरूको हत्या गरायो, सुँगुरवालाको हानि गर्नेको पाप ईसालाई भयो होला । र ईसाईहरू ईसालाई पाप क्षमा र पवित्र गर्नेवाला मान्दछन् भने त ती भूतहरूलाई पवित्र किन गर्न सकेन ? र सुँगुरवालाहरूको हानी किन भरिदिएन ? के आजभोलिका सुशिक्षित ईसाई अंग्रेजहरू यी गफौडा कुराहरूलाई पनि मान्दछन् होला ? यदि मान्दछन् भने त भ्रमजालमा परेका हुन् ॥७७॥
मूल-७८— हेर ! मान्छेहरूले एउटा विकलाङ्गलाई जुन खाटमा थला परिरहेको थियो यीशुको सामुन्ने लिएर आए, यीशुले उनीहरूको विश्वासलाई देखेर भन्यो कि– हे पुत्र ! ढाडस (धैर्य) बाँध, तेरो पाप क्षमा गरिएको छ ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ९/आयत २) ॥
समीक्षक— यो पनि कुरो त्यस्तै असम्भवको हो, जस्तो पूर्वमा लेखेर आएको छु र जुन पाप क्षमा गर्ने कुरो हो छ । त्यो केवल भोला मनुष्यहरूलाई प्रलोभन दिएर फसाउनु हो । जसरी एउटाले खाएको मदिरा, भाङ्ग र अफिमको नशा अर्कोलाई लाग्दैन । त्यसरी नै आफूले गरिएको पाप अर्कोसँग जाँदैन किन्तु जसले गर्दछ त्यसैले भोग्दछ, यही ईश्वरको न्याय हो । यदि एउटाले गरेको पाप अर्कोलाई प्राप्त हुन्छ भने अथवा न्यायाधीशले स्वयं लियो भने त कर्ताहरूको यथायोग्य फल ईश्वरले दिनेछैन, त्यो अन्यायकारी हुन जान्छ ॥७८॥
मूल-७९— सो तिमी गएर यसको अर्थ सिक, किनभने मैले बलिदान होइन परन्तु दया चाहन्छु; किनभने मैले धर्मीहरूलाई होइन परन्तु पापीहरूलाई पश्चातापको लागि बोलाउन आएको हूँ ॥ —इञ्जील (मत्तीपर्व/अध्याय ९/आयत १३) ॥
समीक्षक— अब विचार गर्नुहोस् कि धर्मात्माहरूलाई ईसाई हुनु केही आवश्यकता छैन, किनभने उनीहरू त धर्मबाटै मुक्तिमा जानेछन् र यसबाट यही सिद्ध हुन्छ कि धर्मादि आचरण नै मुक्तिको साधन हो ईसा होइन । किनभने ईसाई पनि जबसम्म धर्म गर्नेछैनन्, तबसम्म तिनीहरूको पनि सद्गति हुने छैन ॥७९॥
मूल-८०— फेरि यीशुले आफ्ना बाह्र चेलाहरूलाई बोलाएर, उनलाई अपवित्र आत्माहरूमाथि अधिकार दियो कि, तिनीहरूलाई निकालेर सबै प्रकारको बिमारीहरू र सबै प्रकारको दुर्बलताहरूलाई निको पारून् ॥ —इञ्जील (मत्तीपर्व/अध्याय १०/आयत १) ॥
समीक्षक— यी तिनै शिष्य हुन्, जसमध्येमा एउटाले (३०) तीस ओटा सिक्काको लोभमा परेर ईसालाई पक्राउने छ । र अन्य वेष बदलेर छुट्टा-छुट्टै भाग्ने छन् । भला ! जब यी कुरा नै विद्यादेखि विरुद्ध छन् भने त भूत-प्रेतहरू लाग्नु-निस्कनु, बिना औषधि वा पथ्यको त्यत्तिकै व्याधिहरू छुट्नु सृष्टिक्रमबाट असम्भव छ, यसैले यस्ता कुराहरूलाई मान्नु अज्ञानीहरूको काम हो ॥८०॥
मूल-८१— किनभने बोल्नेवाला तिमी होइनौ परन्तु तिम्रो पिताको आत्मा तिमीमा बोल्ने गर्दछ ॥ —इञ्जील (मत्तीपर्व/अध्याय १०/आयत २०) ॥
समीक्षक— जब परमेश्वरको आत्मा नै सबैमा बोल्दछ भने त वही मिथ्याभाषाणादि पापहरूबाट लिप्त भएर दुःखरूपी नरकमा पर्नेछ । यदि यस्तै हो भने त मूसाबाट दश आज्ञाको विषयमा उपदेश गर्यो कि झुटो नबोल, यो उपदेश किन गर्यो ? त्यसैले जीवहरूको व्यवहारमा जीव नै बोल्दछन्, ईश्वर होइन ॥८१॥
मूल-८२— यो नसम्झ कि म पृथ्वीमा मिलाप गराउनको लागि आएको हूँ; मैले मिलाप गराउनको लागि होइन, परन्तु तलवार चलाउनको लागि आएको हूँ ॥ म आएको हूँ कि, मनुष्यलाई उसको पितादेखि, छोरीलाई उसकी आमादेखि र बुहारीलाई उसकी सासूदेखि छुट्याइदिनको लागि आएको हूँ ॥ मनुष्यका वैरी उसैका घरका नै हुनेछन् ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १०/आयत ३४, ३५, ३६) ॥
समीक्षक— यस्तो फुट गराएर लडाईं-झगडा मचाएर मनुष्यलाई दुःख दिनेवाला र खड्ग (तलवार) चलाउने, पिता-पुत्र, आमा-छोरी, सासू-बुहारी आदिमा फुट गराएर, परस्पर वैर बढाइदिने मनुष्यको लागि अति नराम्रो काम हो । विदित हुन्छ कि ईसाईहरूले यसै उपदेशलाई अधिक प्रचारमा ल्याएका छन् । जहाँ यिनीहरू जान्छन्, त्यहीं भरपूर फुट हुन्छ । मेल-मिलापको नामो निशान पनि रहँदैन । यसैबाट आफ्ना छिमेकीहरूबाट आपसमा उनीहरूलाई लडाएर, मालमत्ता मार्ने, कसैका छोरालाई बहकाएर आमा-बाउदेखि अलग गरिदिएर नष्ट गर्न सिकाएका छन् । यो केवल दोष हो । यसलाई तर्काइदिनु धेरै राम्रो कुरो हुनेछ ॥८२॥
मूल-८३— यीशु भीडमा मान्छेहरूसँग कुरा गरिरहेको थियो, तब देख्यो, उसकी माता र भाइ बाहिर उभिएका थिए, र उनीसँग कुरा गर्न चाहन्थे ॥ कसैले आएर उनलाई भन्यो, हेर तिम्रो आमा र भाइ बाहिर उभिएका छन् र तिमीसँग कुरा गर्न चाहन्छन् ॥ यो सुनेर उसले त्यो भन्नेवालालाई उत्तर दियो कि— को हो मेरो माता र को हो मेरो भाइ ? ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १२/आयत ४६, ४७, ४८) ॥
समीक्षक— हेर्नुहोस् ! प्रथम त तौरेत र जबूरको ईसा साक्षी दिन्छ कि उसको एक बिन्दु पनि झुटो छैन । र त्यसमा आफ्नो माता, पिताको मान राख्नको लागि लेखिएको छ । र यहाँ माता आदिको अपमान गर्दछ । यो केवल हठको कुरा हो । र यसैले गर्दा आफ्नो आयु विशेष पनि पाएन । किनभने ईसाले यदि माता-पिताको सेवा गर्दथ्यो भने त आयु पनि बढ्ने थियो । र यो पूर्वापर विरुद्ध कुरा हुनाले ईसा कत्ति पनि विद्वान् थिएन । हो, ती जङ्गली मनुष्य मध्येमा केही असल थियो ॥८३॥
मूल-८४— तब यीशुले त्यसलाई सोध्यो, तिमीसँग कति रोटी छ ? त्यसले भन्यो सात ओटा रोटी र थोरै माछा छ ॥ तब उसले मान्छेहरूलाई भुइँमा बस्नको लागि आज्ञा दियो ॥ र त्यो सात रोटी र माछा लिएर धन्यवाद गर्दै च्यातेर आफ्ना चेलाहरूलाई दिंदै गयो, र चेलाहरूले मान्छेलाई बाँड्दै गए ॥ त्यहाँ भएका सबै मान्छेले खाएर तृप्त भए अनि बचेको टुक्रा सात टोकरी भरी उठाए ॥ र खानेवालाहरूमा स्त्रीहरू बच्चाहरूलाई छोडेर चार हजार पुरुष थिए ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १५/आयत ३४, ३५, ३६, ३७, ३८) ॥
समीक्षक— अब हेर्नुहोस् ! के यो आजभोलिका झुटा सिद्धहरू र इन्द्रजाली आदिकै समान छलको कुरो होइन ? ती रोटीहरूमा अरू रोटी कहाँबाट आयो ? यदि ईसामा यस्तो सिद्धि हुन्थ्यो भने त आफू भोको भएर अञ्जीरको फल खानको लागि किन भट्कन्थ्यो ? आफ्नो लागि माटो, पानी र ढुङ्गा आदिबाट मोहनभोग रोटीहरू किन बनाउन सकेन ? यी सबै कुराहरू पढ्दा केटा-केटीको खेलको जस्तो छ । जसरी कति साधुले वैरागी यस्तै छलको कुरा गरेर भोले मनुष्यहरूलाई ठग्दछन्, त्यस्तै यो पनि छ ॥८४॥
मूल-८५— मनुष्यको पुत्र आफ्ना स्वर्गदूतहरूको साथ आफ्नो पिताको महिमामा आउनेछ, र त्यस समयमा उसले हरेकलाई उनको कर्मको अनुसार प्रतिफल दिनेछ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १६/आयत २७) ॥
समीक्षक— जब कर्मानुसार फल दिने छ भने त ईसाईहरूको पाप क्षमा हुनको उपदेश गर्नु व्यर्थ छ र त्यो साँचो हो भने त यो झुटो हुन जान्छ । यदि कोई भन्दछ कि माफ गर्न योग्य क्षमा गर्दछन् र क्षमा नगर्न योग्य क्षमा गरिंदैन, यो पनि ठीक होइन, किनभने सबै कर्महरूको फल यथायोग्य दिनाले नै न्याय र दया पूरा हुने गर्दछ ॥८५॥
मूल-८६— यीशुले उत्तर दियो, हे अविश्वासी र हठीला जनहरू हो म कहिलेसम्म तिम्रा साथमा रहनेछु ? कहिलेसम्म तिम्रो सहनेछु ? त्यसलाई यहाँ मेरो नजिकमा लिएर आओ ॥ उसले उनीहरूलाई भन्यो, आफ्नो विश्वासको घटीको कारण मैले तिमीहरूलाई सत्य भन्दैछु यदि तिमीलाई तोरीको गेडा जत्ति पनि विश्वास छ भने त तिमीहरूले यस पहाडसँग भन्न सक्नेछौ कि यहाँबाट सरेर उता जा, त्यो सरेर जानेछ र कुनै काम तिमीहरूबाट असाध्य हुनेछैन ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १७/आयत १७, २०) ॥
समीक्षक— आजभोलि जो ईसाईहरू उपदेश गर्दै-फिर्दछन् कि ‘आओ हाम्रो मतमा पाप क्षमा गराऔं मुक्ति पाओ’ यो सबै मिथ्या हो । किनभने यदि ईसामा पाप छुटाउने, विश्वास जमाउने र पवित्र गराउने सामर्थ्य हुन्थ्यो भने त आफ्ना शिष्यहरूका आत्माहरूलाई निष्पाप, विश्वासी, पवित्र किन गर्दैनथ्यो ? रातदिन जो ईसाको साथ-साथै घुम्दथे । जब उनैलाई शुद्ध, विश्वासी र कल्याण गर्न सकेन भने, त्यो मरेपछाडि नजाने कहाँ छ ? आजभोलि कसैलाई पवित्र गर्न सक्दैन ॥
जब ईसाका चेला तोरीको गेडा जत्ति पनि विश्वासदेखि रहित थिए र उनैले यो इञ्जील पुस्तक बनाएका हुन्, तब यसको प्रमाण हुन सक्दैन । किनभने जो अविश्वासी, अपवित्रात्मा, अधर्मी मनुष्यहरूको लेख हुन्छ त्यसमाथि विश्वास गर्न कल्याणको इच्छा गर्नेवाले मनुष्यहरूको काम होइन र यसैबाट यो पनि सिद्ध हुन सक्दछ कि यदि ईसाको वचन साँचो हो भने त, अहिले कुनै ईसाईमा एक तोरीको गेडा जत्ति ‘विश्वास’ अर्थात् ईमान छैन । यदि कसैले भन्दछ कि हामीमा पूरा वा थोरै विश्वास छ तब त्यसलाई भन्नु कि तिमीले यस पहाडलाई मार्गबाट हटाइदेऊ, यदि त्यसले हटाउनाले हटेमा पनि पूरा विश्वास हुन्न किन्तु एक तोरीको गेडा बराबर हो र यदि हटाउन सकेन भने त सम्झनु कि एक छिंटो बराबर पनि विश्वास ‘ईमान’ अर्थात् धर्म ईसाईहरूमा छैन । यदि कसैले भन्दछ कि यहाँ अभिमान आदि दोषहरूको नाम पहाड हो तब पनि ठीक होइन, किनभने यदि यस्तै हो भने त मुर्दाहरू, अन्धाहरू, कुष्ठीहरू, भूतग्रस्तहरूलाई निको पार्नु पनि अल्छी, अज्ञानी, विषयी र भ्रान्तहरूको बोध गरेर सचेत, कुशल गरायोहोला । यदि यस्तो मानेमा पनि ठीक हुँदैन, किनभने यदि यस्तो हुन्थ्यो भने त स्वशिष्यहरूलाई किन यस्तो गर्न सक्थेन ? त्यसैले यस्ता असम्भव कुरा भन्नु ईसाको अज्ञानताको प्रकाश गर्दछ ।
भला ! जे-जति पनि ईसामा विद्या हुन्थ्यो भने त यस्तो अपत्यारिला अटाटूट जङ्गलीपनको कुरा किन भन्थ्यो ? तथापि—
‘यत्र देशे द्रुमो नास्ति तत्रैरण्डोऽपि द्रुमायते’
जुन देशमा कुनै वृक्ष नै हुँदैन भने त त्यस देशमा एरण्डको वृक्षलाई सबै भन्दा ठूलो र राम्रोमा गन्दछन् । त्यस्तै महाजङ्गली देशमा ईसाको हुनु पनि ठीक थियो, आजभोलि ईसाको के गणना हुन सक्दछ ? ॥८६॥
मूल-८७— ....मैले तिमीसँग साँचो भन्दैछु, यदि तिमी फिर्दैनौ र बालकजस्तो बन्दैनौ, तब स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैनौ ॥ —इञ्जील (मत्तीपर्व/अध्याय १८/आयत ३) ॥
समीक्षक— जब आफ्नै इच्छाले मनलाई फिराउनु स्वर्गको कारण र नफिराउनु नरकको कारण हुन्छ भने त, कसैको पाप-पुण्य कहिल्यै लिन सक्दैन, यस्तो सिद्ध हुन्छ । र बालकको समान हुने लेखबाट विदित हुन्छ कि ईसाका कुराहरू विद्या र सृष्टिक्रमदेखि धेरै विरुद्ध थियो र यो पनि उसको मनमा थियो कि मान्छेहरूले मेरो कुरालाई बालककै समान मान्नेछन्, सोध-साध कसैले पनि गर्नेछैनन्, आँखा चिम्लेर मान्नेछन् । धेरै ईसाईहरूको बालबुद्धिवत् चेष्टा छ, नत्र भने त यस्तो युक्ति, विद्याको विरुद्ध कुरालाई किन मान्दथे ? र यो पनि सिद्ध हुन्छ कि यदि ईसा आफू विद्याहीन बालबुद्धि हुन्थेन भने त अन्यलाई बालवत् बन्ने उपदेश किन गर्थ्यो ? किनभने जो जस्तो हुन्छ त्यसले अरूलाई पनि आफ्नो सदृश बनाउन चाहन्छ नै ॥८७॥
मूल-८८— तब यीशुले आफ्ना चेलालाई भन्यो, मैले तिमीहरूलाई साँचो भन्दैछु कि, धनवान्लाई स्वर्गको राज्यमा प्रवेश गर्न कठिन छ ॥ फेरि तिमीलाई भन्दैछु कि, परमेश्वरको राज्यमा धनवान्ले प्रवेश पाउनु भन्दा त ऊँटले सियोको नाथ्रीबाट पार भएर जान सहज हुन्छ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १८/आयत २३, २४) ॥
समीक्षक— यसबाट यो सिद्ध हुन्छ कि ईसा दरिद्र थियो । धनीमानीहरूले उसको प्रतिष्ठा गर्दैनथे होला त्यसैले यो लेखे होलान् । परन्तु यो कुरा साँचो होइन, किनभने धनाढ्यहरू र दरिद्रहरूमा राम्रा-नराम्रा हुन्छन् । जो कसैले राम्रो काम गर्नेछ, सुख पाउनेछ । र यसबाट यो कुरा पनि सिद्ध हुन्छ कि ईसाले ईश्वरको राज्य कुनै एक देशमा मान्दथ्यो, सर्वत्र होइन । जब यस्तो हो भने त त्यो ईश्वर होइन, यदि ईश्वर हो भने त उसको राज्य सर्वत्र हुन्छ; पुनः त्यसमा प्रवेश गर्दछ वा गर्दैन, यो भन्नु केवल अविद्याको कुरा हो । र यसबाट यो कुरा पनि आयो कि जति ईसाई धनाढ्य छन् के ती सबै नरकमा जानेछन् ? र दरिद्र जति सबै स्वर्गमा जानेछन् ? भला अलिकति पनि विचार ईसामसीले गर्दथे भने त जति सामग्री धनाढ्यहरूसँग हुन्छ त्यति दरिद्रसँग हुँदैन । यदि धनाढ्यहरू आफनो विवेकले धर्म मार्गमा व्यय गरे त दरिद्र नीच गतिमा परिराखे पनि धनाढ्य उत्तम गतिमा प्राप्त हुन सक्दछन् ॥८८॥
मूल-८९— यीशुले उनीहरूलाई भन्यो, मैले तिमीहरूलाई साँचो भन्दैछु कि, नयाँ सृष्टिमा जब मनुष्यको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, जो तिमीहरू पनि मेरो पछि लागेका छौ, बाह्र सिंहासनहरूमा बसेर इस्राएलका बाह्र गोत्रहरूको न्याय गर्नेछौ ॥ र जो कसैले घरहरू, या भाइहरू या बहिनीहरू या पिता या माता या छोराहरू या खेतहरूलाई मेरो नाममा छोडेका छन्, त्यसलाई सय गुणा मिल्नेछ र त्यो अनन्त जीवनको अधिकारी हुनेछ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय १९/आयत २८, २९) ॥
समीक्षक— अब हेर्नुहोस् ईसाको भित्रको लीला ! कि मेरो जालदेखि मरे पछाडिबाट पनि मान्छेहरू उम्केर नजाऊन् र जसले ३० चाँदीका सिक्काको लोभले आफ्नो गुरुलाई पक्डाएर मरायो, त्यस्ता पापी पनि योसँग सिंहासनमा बस्नेछन् र इस्राएलका कुललाई पक्षपातले न्याय नै गरिने छैन किन्तु उनीहरूका सबै अपराध माफ र अन्य कुलहरूलाई न्याय गरिनेछ । अनुमान हुन्छ कि यसैबाट ईसाईहरूले धेरै पक्षपात गरेर ‘कुनै गोराले कुनै कालोलाई मारिदियो भने तापनि बहुधा पक्षपातबाट गोरालाई निरपराधी घोषित गरेर छोडिदिन्छन् ।’ यस्तै नै ईसाको स्वर्गको पनि न्याय होला र सबै भन्दा ठूलो दोष यिनको न्यायमा प्रणालीमा आउँछ किनभने एउटा सृष्टिको आदिमा मर्यो र अर्को चाहिं ‘कयामत’ को रातको निकटमा मर्यो भने, एउटा त आदिदेखि अन्तसम्म आशामा नै परिराख्यो कि कहिले मेरो न्याय हुनेछ र अर्कोचाहिंको उति वेलै न्याय भयो, यो कति ठूलो अन्याय भयो, र जो नरकमा जानेछ, त्यसले अनन्तकालसम्म नरक भोगोस् र जो स्वर्गमा जानेछ, त्यसले सदा स्वर्गको फल भोग्नेछ, किनभने यहाँ पनि बडो अन्याय छ । कारण अन्तवाला साधन र कर्महरूको फल अन्तवाला हुनुपर्दछ, र तुल्य पाप वा पुण्य दुइटै एउटा जीवको हुन सक्दैन, त्यसैले तारतम्यबाट धेरै-थोरै सुख-दुःखवाला अनेक स्वर्ग र नरक हुनुपर्दछ, तब नै सुख-दुःख भोग्न सक्दछन्, सो ईसाईहरूको पुस्तकमा कहीं पनि यस्तो व्यवस्था छैन, त्यसैले यो पुस्तक ईश्वरकृत वा ईसा ईश्वरको पुत्र कहिल्यै हुन सक्दैन । यो बडो अनर्थको कुरा छ कि कदापि कसैको बाउ-आमा सय-सय हुन सक्दैनन् किन्तु एउटाको एउटी आमा र एउटै बाउ हुन्छ । अनुमान छ कि मुसलमानहरूले ‘एउटालाई ७२ स्त्रीहरू बहिश्तमा (स्वर्गमा) मिल्दछ’ भनेर लेखेका छन्, सो यिनीहरूले त्यहींबाट लिए होलान् ॥८९॥
मूल-९०— बिहान जब त्यो नगरमा फर्कंदै थियो तब उसलाई भोक लाग्यो ॥ र मार्गमा एउटा अञ्जीरको वृक्ष देखेर त्यहाँ गयो, परन्तु त्यसमा फल थिएनन् केवल पातमात्रै थिए, र उसले भन्यो तँमा फेरि फल कहिल्यै नलागोस्, यस्तो भनेपछि अञ्जीरको वृक्ष तुरुन्त सुक्न गयो ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २१/आयत १८, १९) ॥
समीक्षक— सबै पादरीहरू ईसाई भन्दछन् कि त्यो बडो शान्त, क्षमान्वित, क्रोधादि दोषरहित थियो । परन्तु यस कुरालाई हेर्दा क्रोधी, ऋतुको ज्ञानरहित ईसा थियो र त्यो जङ्गली मनुष्यपनको स्वभावयुक्त वर्त्तन्थ्यो । भला ! वृक्ष जड पदार्थ हो, त्यसको के अपराध थियो कि त्यसलाई श्राप दियो र त्यो सुक्यो, त्यसको श्रापले त सुकेन होला परन्तु कुनै त्यस्तो औषधि हाल्नाले सुक्न गएमा त कुनै आश्चर्य छैन ॥९०॥
मूल-९१— ती दिनहरूका क्लेशपछाडि तुरुन्त सूर्य अँधेरो हुनेछ, र चन्द्रमाको प्रकाश पनि हराउँदै जानेछ, र तारा आकाशबाट खस्नेछन् र आकाशका सेनाहरू हल्लिनेछन् ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २४/आयत २९) ॥
समीक्षक— वाह जी ईसा ! ताराहरूको कुन विद्याबाट खस्न तिमीले जान्यौ र आकाशको सेना कुनचाहिं हो, जुन हल्लिनेछ ? यदि कहिल्यै ईसाले थोरै मात्र पनि विद्या पढेको भए त अवश्य जान्ने थियो कि तारा सबै भूगोल हुन्, कसरी खस्न सक्दछन् । यसबाट विदित हुन्छ कि ईसा सिकर्मीको कुलमा उत्पन्न भएको दाउरा चिर्ने, बोक्रा छोडाउने, काट्ने र जोड्ने गर्थ्यो होला । जब तरङ्ग उठ्यो कि म पनि यस जङ्गली देशमा पैगम्बर हुन सक्नेछु, कुरा गर्न थाल्यो । कति कुरा त उसको मुखबाट राम्रा पनि निस्के र धेरैजसो नराम्रा, त्यहाँका मान्छेहरू जङ्गली थिए, मान्न थाले । जसरी आजभोलि यूरोप देश उन्नतियुक्त छ, त्यस्तै पूर्वमा हुन्थ्यो भने त ईसाको सिद्धाई केही पनि चल्ने थिएन । आजकाल केही विद्यावान् भए पश्चात् पनि व्यवहारको पेच र हठले गर्दा यस पोकल मतलाई नछोडेर सर्वथा सत्य वेदमार्गतिर झुक्दैनन्, यही यिनमा न्यूनता छ ॥९१॥
मूल-९२— बरु आकाश र पृथ्वी डगमगाउलान्, परन्तु मेरो कुरा कहिल्यै खेर जाँदैन ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २४/आयत ३५) ॥
समीक्षक— यो कुरो पनि एकदमै अविद्या र मूर्खताको हो । भला ! आकाश डगमगाएर कहाँ जानेछ ? जब आकाश अति सूक्ष्म हुनाले आँखाले देख्नै सक्दैन भने त डगमगाएको कसले पो देख्न सक्ला ? र आफ्नो मुखबाट आफ्नो बडाइ गर्नु असल मान्छेको काम होइन ॥९२॥
मूल-९३— तब उसले बायाँतिरकालाई भन्नेछ, हे श्रापितहरू हो ! मेरो सामुन्नेबाट त्यस अनन्त आगोमा जाओ, जो शैतान र त्यसका दूतहरूका लागि तयार गरिएको छ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २५/आयत ४१) ॥
समीक्षक— भला, यो कति ठूलो पक्षपातको कुरा हो ! जो आफ्ना शिष्य हुन्, तिनीहरूलाई स्वर्ग र जो अरू छन्, उनीहरूलाई अनन्त आगोमा खसाल्ने । परन्तु जब ‘आकाश नै रहँदैन’ भनेर लेखेपछि त अनन्त आगोको नरक अर्थात् बहिश्त कहाँ रहनेछ ? यदि शैतान र त्यसका दूतहरूलाई ईश्वरले बनाउँदैनथ्यो भने त यति विघ्न नरकको तयारी किन गर्न पर्दथ्यो ? र जाबो एउटा शैतान नै ईश्वरको भयदेखि डराएन भने त त्यो ईश्वर नै के हो ? किनभने त्यसैको दूत भएर पनि बागी बन्यो र ईश्वरले त्यसलाई प्रथम नै पक्रेर बन्दीगृहमा हाल्न सकेन, न त मार्न सक्यो, पुनः त्यस्ताको ईश्वरता के ? जसले ईसालाई नै चालीस दिनसम्म दुःख दियो, ईसाले पनि त्यसको केही गर्न सकेन भने त ईश्वरको छोरो हुनु व्यर्थ भयो । यसैले ईसा न ईश्वरको पुत्र र न त बाइबलको ईश्वर हुन सक्दछ ॥९३॥
मूल-९४— तब बाह्र शिष्यहरू मध्येमा एउटा यहूदी इस्करियोती नामक चेलो प्रधान याजकहरू कहाँ गयो र भन्यो कि यदि मैले यीशुलाई तपाईंहरूको हातमा पक्राइदिएँ भने त तपाईंहरूले मलाई के दिनुहुन्छ ? उनीहरूले त्यसलाई तीस चाँदीका सिक्का तौलेर दिए ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २६/आयत १४, १५) ॥
समीक्षक— अब हेर्नुहोस् ! ईसाको सबै करामत र ईश्वरता यहाँ खुल्न गयो, किनभने जुन उसको प्रधान याजक शिष्य थियो, त्यो पनि उसको साक्षत् सङ्गबाट पवित्रात्मा भएन भने त, अरूलाई मरेपछाडि पवित्रात्मा के गराउन सक्दछ ? र उसका विश्वासी मान्छेहरू उसका भरोसामा कति ठगिन जान्छन् होला, किनभने जसका साक्षात् सम्बन्धमा रहँदा पनि शिष्यको केही कल्याण गर्न सकेन, त्यसले मरेपछि कसैको के कल्याण गर्न सक्ला ? ॥९४॥
मूल-९५— जब तिनीहरूले खाइराखेका थिए, तब यीशुले रोटी लियो, र आशीष मागेर रोटी च्यात्यो, र शिष्यहरूलाई दिएर भन्यो— लौ खाओ, यो मेरो देह हो ॥ फेरि उसले कटौरा लिएर, धन्यवाद गर्यो, र उनीहरूलाई दिंदै भन्यो, तिमी सबैले यसलाई पिओ ॥ किनभने यो वाचाको मेरो रगत हो, जुन धेरैको लागि पापहरूको क्षमाको निमित्त बगाउने गरिन्छ ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २६/आयत २६, २७, २८) ॥
समीक्षक— भला, के यस्तो कुरो कुनै पनि सभ्यले गर्दछ ? बिना अविद्वान् जङ्गली शिष्यहरूसँग खाने चीजलाई आफ्नो मासु र पिउने चीजलाई रगत भन्न सक्दैन । र यसै कुरालाई आजभोलिका ईसाईहरू ‘प्रभु भोजन’ भन्दछन् । अर्थात् खाने-पिउने चीजहरूमा ईसाको मासु र रगतको भावना गरेर खाने-पिउने गर्दछन्, यो कति नराम्रो कुरो हो ? जसले आफ्नो गुरुको मासु र रगतलाई पनि खाने-पिउनेको भावनाले छोडेनन् भने त अरूलाई कसरी छोड्न सक्दछन् ॥९५॥
मूल-९६— र ऊ पतरस र जब्दीको दुइटै पुत्रलाई साथमा लिएर गयो, फेरि उदास र व्याकुल हुन थाल्यो ॥ तब उसले उनीहरूसँग भन्यो, मेरो मन असाध्यै उदास भएको छ, यहाँसम्म कि मेरो प्राण निस्कन चाहन्छ तिमी यहीं बस, र मेरो साथमा जाग्दै राख ॥ फेरि ऊ अलिकता अगाडि बढेर भुइँमा पछारियो, र यो प्रार्थना गर्न लाग्यो कि, हे मेरा पिता, यदि हुन सक्दछ भने त, यो कटौरा मदेखि टलोस्, तर पनि जस्तो मैले चाहन्छु त्यस्तो होइन, परन्तु जस्तो तैंले चाहन्छस् त्यस्तै होओस् ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २६/आयत ३७, ३८, ३९) ॥
समीक्षक— हेर्नुहोस् ! यदि त्यो केवल मनुष्य नभएर, ईश्वरको पुत्र, त्रिकालदर्शी र विद्वान् हुन्थ्यो भने त यस्तो अयोग्य चेष्टा गर्ने थिएन, यसबाट विदित हुन्छ कि यो प्रपञ्च ईसाले अथवा उसका चेलाले झुटमुट बनाएका हुन् कि त्यो ईश्वरको छोरो, भूत भविष्यत्को वेत्ता र पाप क्षमा गराउने कर्ता हो । यसैबाट सम्झनुपर्दछ कि यो केवल साधारण, सीधा, सच्चा, अविद्वान् थियो, न विद्वान्, न योगी, न त सिद्ध नै थियो ॥९६॥
मूल-९७— उसले यो भनिरहेको थियो कि, हेर यहूदा जुन बाह्र शिष्यहरू मध्येमा एउटा थियो, आयो, र उसको साथमा महायाजकहरू र जेठाबाठा मान्छेहरूको ठूलो भीड थियो, तलवार र लट्ठी लिएर आए ॥ यीशुलाई पक्राउनेवालाले यो भनेको थियो कि जसलाई मैले म्वाइँ खान्छु, त्यही हो; उसैलाई समात्नु ॥ र तुरुन्त त्यसले यीशुको नजिक आएर भन्यो, हे गुरु प्रणाम; र उसलाई धेरै म्वाइँ खायो ॥ यीशुले उसलाई भन्यो; हे मित्र, जुन कामको लागि तँ आएको होस्, त्यसलाई पूरा गरेस् । तब उनीहरूले आएर यीशुमाथि हात हाले, र उनलाई पक्रिए ॥ .....तब अरू सबै शिष्यहरू उसलाई छोडेर भागे ॥ अन्तमा दुई जना झुटा साक्षीले आएर भने कि, उसले भनेको छ कि; मैले परमेश्वरको मन्दिरलाई ढलाउन सक्दछु र त्यसलाई तीन दिनमा बनाउन सक्दछु । तब महायाजकले उभिएर उसलाई भन्यो, के तैंले कुनै उत्तर दिंदैनस् ? यी मान्छेहरूले तेरो विरोधमा के साक्षी दिएका छन् ? परन्तु यीशु चुप रह्यो, महायाजकहरूले उसलाई भने ॥ मैले तँलाई जीवता परमेश्वरको शपथ दिन्छु कि, यदि तँ परमेश्वरको पुत्र ख्रीष्ट (मसीह) होस् भने त, हामीलाई बताइदे ॥ यीशुले उसलाई भन्यो; तँ आफैले भनिहालिस् नि तः फेरि पनि मैले तिमीहरूसित यो भन्दैछु कि, अबदेखि तिमीहरू मनुष्यको पुत्रलाई सर्वशक्तिमान्को दाहिनेतिर बसेर आकाशको बादलमा आउँदै गरेको देख्नेछौ ॥ तब महायाजकले आफ्नो लुगा च्यातेर भन्यो, यसले परमेश्वरको निन्दा गरेको छ, अब हामीलाई साक्षीहरूको के प्रयोजन ? ॥ हेर, तिमीहरूले पनि अहिले यसले गरेको परमेश्वरको निन्दा सुनेका छौ ! तिमीहरूको विचार के छ ? उनीहरूले उत्तर दिए, वध गर्न योग्य छ ॥ तब उनैले उसको मुखमा थुके, र उसलाई मुड्कीले हिर्काए, अरूले थप्पड मारेर भने ॥ हे ख्रीष्ट (मसीह) ! हामीसित भविष्यद्वाणी गरेर बता कि कसले तँलाई पिटे ? ॥ र पतरस बाहिर आँगनमा बसेको थियो कि, एउटी ठिटीले आएर भनी; तँ पनि यीशुको गलीलीको साथमा थिइस् ॥ त्यसले सबैको सामुन्ने यो भनेर मुख फेर्यो र भन्यो कि, मलाई केही थाहा छैन तैंले के भन्दैछेस् ॥ जब त्यो बाहिर सिंढीमा पुग्यो, तब अर्की एउटी ठिटीले त्यसलाई देखेर सबैका सामुन्ने भनी, ‘यो पनि यीशु नासरीको साथ थियो’ ॥ त्यसले धिक्कारेर किरिया खाँदै भन्यो कि मैले त्यसलाई चिन्दिन.....॥
—इञ्जील (मत्तीपर्व/अध्याय २६/आयत ४७-५०, ५६, ६१-७४) ॥
समीक्षक— अब हेर्नुहोस् कि जसको यति पनि सामर्थ्य वा प्रताप थिएन कि आफ्ना चेलालाई पनि दृढ विश्वास गराउन सकोस् र चेलाहरू पनि चाहे प्राणै पनि किन नजाओस्, तर पनि आफ्नो गुरुलाई लोभले पक्राउँदैनन्, फिर्दैनन्, न मिथ्याभाषण गर्दछन्, न त झुटो किरिया नै खान्छन् । र ईसा पनि कुनै करामती थिएन, नत्र त तौरेतमा लेखिएको छ कि— लूतको घरमा पाहुनालाई मार्नको लागि थुप्रैले आक्रमण गरेका थिए, वहाँ ईश्वरका दुइटा दूत पनि थिए, आक्रमणकारीलाई दुइटैले अन्धो बनाइदिए । यद्यपि यो पनि कुरो असम्भव छ तथापि ईसामा त यति पनि सामर्थ्य थिएन । र आजभोलि कति भडम्बा उसको नाममा ईसाईहरूले बढाएर राखेका छन् । भला ! यस्तो दुर्दशाबाट मर्न भन्दा त आफू स्वयं जुझेर वा समाधि चढाएर अथवा कुनै प्रकारबाट प्राण छोड्थ्यो भने त राम्रो थियो परन्तु त्यो बुद्धि बिना विद्याको कहाँबाट उपस्थित हुने ? ॥९७॥
त्यो ईसाले यो पनि भनेको छ—
मूल-९८— के तैले बुझ्दैनस्, कि मैले आफ्नो पितासँग विन्ती गर्न सक्दछु, र उनले स्वर्गदूतहरूको बाह्र पल्टन भन्दा अधिक मेरो समक्ष अहिल्यै उपस्थित गरिदिनेछन् ? ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २६/आयत ५३) ॥
समीक्षक— धम्काउँदै जान्छ, आफ्नो र आफ्नो पिताको बडाइ पनि गर्दै जान्छ, र अहिले यहाँ केही पनि गर्न सक्दैन । हेर आश्चर्यको कुरो ! जब महायाजकले सोधेको थियो कि— ‘यी मान्छेहरूले तेरो विरुद्ध साक्षी दिएका छन्, यसको उत्तर दे’ तब त ईसा चुप रह्यो । यो पनि ईसाले राम्रो गरेन, किनभने जुन साँचो थियो, त्यसलाई त्यहाँ भनिदिएको भए पनि त राम्रो हुन्थ्यो । धेरै आफ्नो घमण्डको कुरा गर्नु उचित थिएन । र जसले ईसामाथि झुटो आरोप लगाएर नराम्रो हालतमा मारे, उनीहरूले पनि यस्तो गर्न उचित थिएन । किनभने ईसाको त्यस्तो प्रकारको अपराध थिएन, जस्तो उसको विषयमा तिनीहरूले गरे । परन्तु तिनीहरू पनि जङ्गली थिए, न्यायको कुरालाई कता सम्झने ? यदि ईसा झुटमुटको ईश्वरको छोरो बन्दैनथ्यो र तिनीहरूले उसको साथमा यस्तो यातना गर्दैनथे भने त दुइटैको लागि उत्तम काम हुने थियो, परन्तु यति विद्या, धर्मात्मा र न्यायशीलता कहाँबाट आउने ? ॥९८॥
मूल-९९— जब यीशु अध्यक्षको सामुन्ने उभिएको थियो तब अध्यक्षले सोध्यो के तँ यहूदीहरूको राजा होस् ? यीशुले उसलाई भन्यो, तिमी आफैले भनिरहेका छौ ॥ जब प्रधान याजक र प्राचीन मान्छेहरूले उसमाथि दोष लगाउँथे तब उसले केही पनि उत्तर दिएन ॥ तब पिलातुसले उसलाई भन्यो, के तैंले सुन्दैनस् कि तेरो विरोधमा कतिले साक्षी दिइरहेका छन् ? ॥ परन्तु उसले त्यसलाई एउटा पनि उत्तर दिएन, यो देखेर हाकिम बडो आश्चर्यमा पर्यो ॥
पिलातुसले उनीहरूसित सोध्यो कि— यीशु आफूलाई जुन ख्रीष्ट (मसीह) बताउँछ के गरूँ, सबैले भने कि उसलाई क्रूसमा चढाइयोस् । अध्यक्षले सोध्यो किन यसले के त्यस्तो नराम्रो काम गरेको छ र ? परन्तु अरूले पनि चिच्याउँदै-चिच्याउँदै भन्नथाले कि यसलाई क्रूसमा चढाइयोस् ॥ जब पिलातुसले देख्यो कि, भीडमा उसको कुरो कसैले सुन्दैन परन्तु उल्टो हुलदङ्गा हुन गएकोछ, तब उसले पानी लिएर भीडको सामुन्ने हात धोयो, र भन्यो; म यस धर्मीको रगतदेखि निर्दोष छु, तिमीहरूले नै जान ॥
यस कुरालाई उसले बरअब्बामाथि छोडिदियो, र यीशुलाई कोर्रा हनाएर सुम्पिदियो, कि क्रूसमा चढाइयोस् ॥ तब हाकिमका सिपाहीहरूले यीशुलाई किल्लामा लगेर उसका सारा पल्टनले उसलाई चारैतिरबाट घेरे ॥ र उसका लुगा फुकालिदिए र उसलाई किरमिरे डोरी पहिराए ॥ र काँडाको मुकुट बनाएर उसको टाउकामा लगाइदिए, दाहिने हातमा निगालोको डंठी दिए र उसको अगाडि घुँडाले टेकेर उसलाई ठट्टामा उडाउन थाले, कि हे यहूदीहरूका राजा नमस्कार ! र उसमाथि थुके, त्यही निगालो लिएर टाउकोमा हान्न थाले ॥ जब उसलाई ठट्टा गरेर उडाइसके, फेरि त्यो डोरीलाई उतारेर उसैका पहिलाका लुगा लगाइदिएर क्रूसमा चढाउनको लागि हिंडे ॥ बाटामा जाँदाखेरि उनीहरूलाई शमौन नामको एक कुरेनी मनुष्य मिल्यो, उनीहरूले त्यसलाई बेकारमा समाते ताकि उसको क्रूस बोकेर हिंडोस् ॥ र त्यस स्थानमा जुन गुलगुता नामको ठाउँ अर्थात् खोपडीको स्थानले चिनिन्थ्यो, त्यहाँ पुगे ॥ उनीहरूले पित्त मिलाएको अंगुररस पिउनको लागि दिए, परन्तु उसले चाखेर पिउन चाहेन ॥ तब उनीहरूले उसलाई क्रूसमा चढाए, र दोषपत्र उसको टाउकामा लगाइदिए र उसको लुगा बाँडेर लिए ॥ र त्यहाँ बसेर उसलाई पहरा दिन थाले ॥
र उसको दोषपत्र टाउकामा लगाइदिएर भन्नथाले कि यो यहूदीहरूको राजा हो ॥ तब उसको साथैमा दुइटा डाँकूलाई एउटा दाहिनेतिर अर्कोलाई यीशुको बायाँतिर क्रूसमा चढाए ॥ र आउने-जानेवालाहरू टाउको हल्लाउँदै निन्दा गर्दथे ॥ र यस्तो भन्दथे कि— हे मन्दिरलाई ढालेर र तीन दिनमा बनाउनेवाला, तँ आफूलाई बचा, यदि तँ साँच्चै परमेश्वरको पुत्र होस् भने त, क्रूसबाट तल झरेर देखा ॥ यसै रीतिबाट प्रधान याजकहरू र प्राचीन सङ्गीहरूले पनि ठट्टा गरेर भने ॥ अरूलाई त बचाइस्, अब आफूलाई त बचाउन सक्दैनस् । यो त इस्राएलको राजा हो, अब क्रूसबाट तल झरिस् भने मात्रै हामीले विश्वास गर्नेछौं ॥ यसले ईश्वरमाथि भरोसा राख्दछ, यदि उसले यसलाई चाहन्छ भने त, अब यसलाई फुत्काओस्, किनभने यसले भनेको थियो कि म परमेश्वरको पुत्र हूँ ॥ जो डाँकू उसको साथमा टाँगिएका थिए उनीहरूले पनि यसै रीतिबाट यीशुको निन्दा गर्दथे । दोस्रो प्रहरदेखि लिएर तेस्रो प्रहरसम्म देशमा अँध्यारो छाइरह्यो ॥ तेस्रो प्रहरको निकट यीशुले ठूलो शब्दले पुकारेर भन्यो— “एली, एली लमा शबक्तनी ?” अर्थात् हे मेरा परमेश्वर, तैंले मलाई किन छोडिदिइस् ? जो मान्छे त्यहाँ थिए, यस्तो सुनेर तिनीहरूले भने कि— त्यसले त एलिय्याहलाई पुकारेको छ ॥ ती मध्येको एउटा चाहिं तुरुन्त दौडियो, र गद्दा लिएर अंगुररसमा भिजायो अनि निगालाको डाँठमा राखेर उसलाई चुसायो ॥ अरूले भने हेर्दैराख, एलिय्याह उसलाई बचाउनको लागि आउँछ कि आउँदैन ॥ तब यीशुले फेरि ठूलो शब्दले चिच्याएर प्राण त्यागिदियो ॥
—इञ्जील (मत्तीपर्व/अध्याय २७/आयत ११-१४, २२-२४, २६-५०) ॥
समीक्षक— सर्वथा यीशुको साथ ती दुष्टहरूले नराम्रो काम गरे । परन्तु यीशुको पनि दोष छ, किनभने ईश्वरको न कोई पुत्र, न त्यो कसैको बाउ हो । किनभने त्यो कसैको बाउ भयो भने त कसैको श्वसुर, साला सम्बन्धी आदि पनि हुन्छ । जब अध्यक्षले सोधेको थियो तब जस्तो साँचो थियो त्यस्तै बताउनुपर्ने थियो । र यो ठीक हो कि जुन-जुन आश्चर्य कर्म प्रथममा गरेको साँचो भए त अहिले पनि क्रूसबाट तल झरेर आएर सबैलाई शिष्य बनाउन सक्ने थियो । र त्यो यदि ईश्वरको पुत्र हुन्थ्यो भने त पक्कै पनि ईश्वरले बचाउने थियो । यदि त्यो त्रिकालदर्शी हुन्थ्यो भने त अंगुररसमा पित्त मिलेको चाखेर किन छोड्थ्यो ? त्यसले पहिल्यैबाट जान्न सक्थ्यो । यदि त्यो करामती हुन्थ्यो भने त चिच्याउँदै-चिच्याउँदै किन प्राण त्याग्थ्यो ? अर्थात् चाहे कोई कति नै चतुराई गरोस्, परन्तु अन्तमा सत्य-सत्य र झुट-झुट हुन जान्छ । यसबाट यो पनि सिद्ध हुन्छ कि यीशु एक त्यस समयको जङ्गली मनुष्यहरूमा केही राम्रो थियो । न त्यो करामती, न ईश्वरको पुत्र र न त विद्वान् थियो, किनभने यदि यस्तो हुन्थ्यो भने त त्यसले दुःख किन भोग्थ्यो ? ॥९९॥
मूल-१००— अरू पनि हेर, ठूलो भुइँचालो गयो कि परमेश्वरको एउटा दूत स्वर्गबाट उत्रेर चिहानको द्वारबाट ढुङ्गा लडाउँदै त्यसमाथि बस्यो । त्यो यहाँ छैन, परन्तु आफ्नो वचनकै अनुसार ब्युँतिएको छ । आओ यो स्थान हेर, जहाँ प्रभु थियो ॥ र हेर यीशु उनीलाई मिल्यो र भन्यो, नमस्कार र उनीहरू नजिक आएर उसको खुट्टा समातेर दण्डवत गरे ॥ तब यीशुले भन्यो नडराओ, गएर मेरा भाइहरूलाई भन कि गलीलमा जानु त्यहाँ गएर मलाई देख्नेछौ ॥ र एघार चेलाहरू गलीलको त्यस पहाडमा गए जहाँ यीशुले उनीहरूलाई बताएको थियो ॥ र तिनीहरूले उसको दर्शन पाएर प्रणाम गरे, तर कसै-कसैलाई सन्देह भयो ॥ यीशुले उनीहरूको नजिक आएर भन्यो कि, स्वर्ग र पृथ्वीको सारा अधिकार मलाई दिइएको छ ॥ यसैले तिमीहरू गएर सबै जातिहरूका मान्छेहरूलाई चेला बनाओ र उनीहरूलाई पिता, पुत्र र पवित्रात्माको नामबाट बपतिस्मा देओ ॥ र उनीहरूलाई सबै कुराहरू जुन मैले तिमीहरूलाई आज्ञा दिएको छु, मान्न सिकाओ र हेर, म जगत्को अन्तसम्म तिमीहरूको सङ्ग छु ॥ —इञ्जील (मत्तीपर्व/अध्याय २८/आयत २, ६, ९, १०, १६-२०) ॥
समीक्षक— यो कुरो पनि मान्नयोग्य छैन, किनभने सृष्टिक्रम र विद्याविरुद्ध छ । प्रथम ईश्वरसँग दूतहरू हुनु, उनीहरूलाई जहाँ-तहाँ पठाउनु, माथिबाट झर्नु, कस्तो ग्रामप्रमुख, जिल्लाप्रमुख जस्तो बनाइदिएको छ । के त्यसै शरीरबाट स्वर्ग गयो र ब्युँतियो ? किनभने ती स्त्रीहरूले खुट्टा समातेर प्रणाम गर्दा त त्यही शरीर थियो ? र त्यो तीन दिनसम्म किन सडेन ? र आफ्नो मुखले सबैको अधिकारी हूँ भन्नु केवल दम्भको कुरा हो । शिष्यहरूसँग मिल्नु उनीहरूसँग कुरा गर्नु असम्भव छ किनभने यी कुराहरू साँचो हो भने त आजभोलि पनि किन मुर्दा ब्युँतदैन ? र त्यसै शरीरबाट स्वर्ग किन जाँदैनन् ? ॥१००॥
यहाँसम्म मत्तीरचित इञ्जीलको विषय पूरा भयो । अब अगाडि मार्क रचित इञ्जीलको विषयमा लेखिन्छ ।
मार्क रचित इञ्जील (१३.३.२)
मूल-१०१— के यो सिकर्मी होइन ? जुन मरियमको पुत्र, याकूब, योसेस, यहूदा र शमौनको भाइ हो.... ॥ —इञ्जील (मार्कपर्व/अध्याय ६/आयत ३) ॥
समीक्षक— असलमा यूसुफ सिकर्मी थियो, यसैले ईसा पनि सिकर्मी थियो । कति वर्षसम्म त सिकर्मी काम गरेर हिंड्थ्यो । पश्चात् पैगम्बर बन्दा-बन्दै ईश्वरको पुत्र नै बन्यो र जङ्गली मान्छेहरूले बनाए, तब नै बडो कारीगरी चलायो । काट-कुट फुट-फाट गर्नु नै उसको काम हो ॥१०१॥
लूका रचित इञ्जील (१३.३.३)
मूल-१०२— यीशुले उसलाई भन्यो, तैंले मलाई उत्तम किन भन्दछस् ? कोई उत्तम छैनन्, केवल एक, अर्थात् परमेश्वर ॥ —इञ्जील (लूकापर्व/अध्याय १८/आयत १९) ॥
समीक्षक— जब ईसाले नै एक अद्वितीय ईश्वर छ भन्दछ भने त ईसाईहरूले पवित्रात्मा, पिता, पुत्र तीन कहाँबाट बनाए ? ॥१०२॥
मूल-१०३— ....तब त्यसलाई हेरोदेसकहाँ पठाइदिए....॥ हेरोदेस यीशुलाई देखेर अति प्रसन्न भयो, किनभने धेरै दिनदेखि उसले यीशुलाई देख्ने चाहना राखेको थियो, किनभने उसको विषयमा धेरै कुरा सुनेको थियो, र उसको कुनै चमत्कार हेर्ने आशा राख्दथ्यो ॥ त्यसले उससँग धेरै कुराहरू सोधिराख्यो, तर यीशुले त्यसलाई केही पनि उत्तर दिएन ॥
—इञ्जील (लूकापर्व/अध्याय २३/आयत ७, ८, ९) ॥
समीक्षक— यो कुरो मत्तीरचितमा छैन, यसैले यी साक्षी बिग्रिए । किनभने साक्षी एकैनासे हुनुपर्दछ र यदि ईसा चतुर र चमत्कारी हुन्थ्यो भने त हेरोदेसलाई पक्कै पनि उत्तर दिन्थ्यो र चमत्कार पनि देखाउँथ्यो, यसबाट विदित हुन्छ कि ईसामा विद्या र चमत्कार केही पनि थिएन ॥१०३॥
यूहन्ना रचित सुसमाचार (१३.३.४)
मूल-१०४— आदिमा वचन थियो, र वचन परमेश्वरको साथ थियो, र वचन परमेश्वर थियो ॥ यही आदिमा परमेश्वरको साथ थियो ॥ सबैथोक उसैद्वारा उत्पन्न भयो र जे-जति उत्पन्न भएको छ, त्यसबाट कुनै पनि वस्तु उसको बिना उत्पन्न भएको छैन ॥ उसमा जीवन थियो; त्यो जीवन मनुष्यको ज्योति थियो ॥ —इञ्जील (यूहन्नापर्व/अध्याय १/आयत १, २, ३, ४) ॥
समीक्षक— आदिमा वचन बिना वक्ताको हुन सक्दैन र यदि वचन ईश्वरको सङ्ग थियो भने त ‘आदिमा वचन ईश्वरको सङ्ग थियो’ यो भन्नु व्यर्थ भयो । र वचन कहिल्यै ईश्वर हुन सक्दैन किनभने जब त्यो आदिमा ईश्वरको सङ्ग थियो भने त पूर्व वचन वा ईश्वर थियो, यो घट्न सक्दैन । वचनको द्वारा सृष्टि कहिल्यै हुन सक्दैन, जबसम्म त्यसको कारण हुँदैन । र वचनको बिना पनि चुपचाप रहेर कर्ता सृष्टि गर्न सक्दछ । जीवन कसमा अथवा के थियो, यस वचनले जीवलाई अनादि मान्नेछौ, यदि अनादि हो भने त आदमको नथुनामा श्वास फुँक्नु झुटो भयो र के जीवन मनुष्यहरूको मात्रै ज्योति हो, पश्वादिको होइन ? ॥१०४॥
मूल-१०५— र भोजनको समयमा जब शैतानले शमौनको पुत्र यहूदा इस्करियोतीको मनमा यो कुरा हालिसकेको थियो कि, उसलाई पक्राउने ॥
—इञ्जील (यूहन्नापर्व/अध्याय १३/आयत २) ॥
समीक्षक— यो कुरो साँचो होइन, किनभने जब कसैले ईसाईहरूलाई सोध्छ कि शैतानले सबैलाई बहकाउँछ भने त शैतानलाई कसले बहकाउँछ ? यदि भन्दछौ कि शैतान आफै बहकिन्छ त मनुष्य पनि आफै बहकिन सक्दछ, पुनः शैतानको के काम ? र यदि शैतानलाई बनाउने र बहकाउनेवाला परमेश्वर नै हो भने त त्यही शैतानको शैतान ईसाईहरूको ईश्वर ठहरियो । परमेश्वरले नै सबैलाई त्यस मार्फत बहकायो । भला, यस्तो काम ईश्वरको हुन सक्दछ ? साँचो त यही हो कि यो पुस्तक ईसाईहरूको र ईसा ईश्वरको छोरो जसले बनाए ती शैतान हुन् त हुन् किन्तु न यो ईश्वरकृत पुस्तक, न यसमा भनिएको ईश्वर र ईसा ईश्वरको पुत्र हुन सक्दछ ॥१०५॥
मूल-१०६— तिम्रो मन व्याकुल नहोस्, ईश्वरमाथि विश्वास राख र ममाथि पनि विश्वास गर्ने गर ॥ मेरो पिताको घरमा थुप्रै बस्नको लागि स्थान छ, यदि हुँदैनथ्यो भने, मैले तिमीलाई बताउने थिएँ, किनभने म तिम्रो लागि स्थान तयार गर्न जान्छु ॥ र यदि मैले गएर तिम्रा लागि ठाउँ तयार गरूँ, त फेरि आएर मैले तिमीलाई मेरो त्यहाँ लैजानेछु कि, जहाँ म रहन्छु त्यहाँ तिमीहरू पनि रहनेछौ ॥ र जहाँ म जान्छु तिमीले पनि त्यहाँको मार्ग जानेका छौ ॥ यीशुले भन्यो मार्ग, सच्चाई र जीवन म नै हूँ; बिना मद्वारा कोही पनि पिताको ठाउँमा जान सक्दैन ॥ यदि तिमीले मलाई जानेका भए त मेरो पितालाई पनि जान्ने थियौ, र अब उसलाई जानेका छौ, र उसलाई देखेका पनि छौ ॥
—इञ्जील (यूहन्नापर्व/अध्याय १४/आयत १-४, ६,७) ॥
समीक्षक— अब हेर्नुहोस् ! यो वचन ईसाको के पोपलीला भन्दा कम्ती छ ? यदि यस्तो प्रपञ्च रच्दैनथ्यो भने त को त्यसको मतमा फस्थ्यो ? के ईसाले आफ्नो पितालाई ठेक्कामा लिएको छ ? र त्यो ईसाको वशमा छ भने त, पराधीन हुनाले त्यो ईश्वर हुन सक्दैन, किनभने ईश्वर कसैको सिफारिस सुन्दैन । के ईसा भन्दा पहिला कसैले पनि ईश्वरलाई प्राप्त गरेनन् होला ? यस्तो स्थान आदिको प्रलोभन दिन्छ र जुन आफ्नो मुखले आफ्नो मार्ग, सत्य र जीवन बनाउँछ, त्यो सबै प्रकारबाट दम्भी भनिन्छ, त्यसैले यो कुरो सत्य कहिल्यै हुन सक्दैन ॥१०६॥
मूल-१०७— मैले तिमीसँग साँचो-साँचो भन्दैछु जसले ममाथि विश्वास गर्दछ, जुन काम मैले गर्दछु त्यसलाई उसले पनि गर्नेछ र यी भन्दा ठूला काम पनि गर्नेछ भने सबै आश्चर्यको कर्म गर्नेछ किनभने म पितासँग जाने गर्दछु ॥ —इञ्जील (यूहन्नापर्व/अध्याय १४/आयत १२) ॥
समीक्षक— अब हेर्नुहोस् ! यदि ईसाईहरू ईसामाथि यति नै विश्वास राख्दछन् भने त मरेका मुर्दालाई ब्युँताउने काम किन गर्न सक्दैनन् ? र यदि विश्वासबाट पनि आश्चर्यको काम गर्न सक्दैनन् भने त ईसाले पनि आश्चर्यको काम गरेको थिएन, यस्तो निश्चित जान्नुपर्दछ । किनभने स्वयं ईसाले नै भन्दैछ कि तिमीले पनि आश्चर्यको काम गर्नेछौ, तर पनि यस समयमा ईसाई कुनै एउटाले पनि आश्चर्यको काम गर्न सक्दैन भने त कसको हियोको आँखो फुटेको छ, त्यसले ईसालाई मुर्दा ब्युँताउने आदिको कर्ता मान्दछ ॥१०७॥
मूल-१०८— ....जो अद्वैत सत्य ईश्वर हो....॥
—इञ्जील (यूहन्नापर्व/अध्याय १७/आयत ३) ॥
समीक्षक— जब अद्वैत ईश्वर छ भने त ईसाईहरूले यसरी तीन ओटा बताउनु सर्वथा मिथ्या हो ॥१०८॥
यसै प्रकार थुप्रै ठाउँमा इञ्जीलमा अन्यथा कुराहरू भरिएका छन् ।
यूहन्नाको प्रकाशित वाक्य (१३.३.५)
अब यूहन्नाको अदुभुत कुराहरू सुन्नुहोस्—
मूल-१०९— र त्यस सिंहासनको चारैतिर चौबीस सिंहासन छन्; र यी सिंहासनहरूमा प्राचीन श्वेत वस्त्र पहिरेका बसेका छन्, र उनीहरूका शिरमा सुनको मुकुट छ ॥ र त्यस सिंहासनमा बिजुली र गर्जन निस्कन्छन् र सिंहासनको सामुन्ने अग्निका सात दीपक जलिराखेका छन्, यी परमेश्वरका सात आत्माहरू हुन् ॥ र सिंहासनको सामुन्ने स्फटिकजस्तै काँचका समुद्र छन्, र सिंहासनको माझमा र सिंहासनको चारैतिर चार प्राणी छन्, जसका अगाडि पछाडि आँखा छन् ॥ पहिलो प्राणी सिंहको समान छ, र दोस्रो बाच्छाको समान छ, तेस्रो प्राणीको मुख मनुष्यको जस्तो छ र चौथो प्राणी उडिराखेका चिलको जस्तो छ ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ४/आयत ४-७) ॥
समीक्षक— अब हेर्नुहोस् ! एक नगरको तुल्य ईसाईहरूको स्वर्ग छ । र यिनको ईश्वर पनि दीपकको समान अग्नि छ । र सुनका मुकुटादि आभूषण धारण गर्नु र अगाडि-पछाडि नेत्रहरू हुनु असम्भावित छ । यी कुराहरूलाई कसले मान्न सक्दछ ? र वहाँ सिंहादि चार पशु पनि छन् भनेर लेखिएको छ ॥१०९॥
मूल-११०— र जो सिंहासनमा बसेको थियो, मैले त्यसको दाहिने हातमा एउटा पुस्तक देखें, त्यस पुस्तकको भित्र र बाहिर लेखिएको थियो, र त्यसलाई सातओटा मोहर लगाएर बन्द गरिएको थियो ॥ फेरि मैले एक बलवन्त स्वर्गदूतलाई देखें जुन उच्च स्वरले यो प्रचार गरिरहेको थियो कि यस पुस्तकलाई खोल्न र यसमा लगाइएको मोहरलाई फुकाउन सक्ने यहाँ कोही छ ? ॥ न स्वर्गमा, न पृथ्वीमा, न त पृथ्वीको तल कोही त्यस पुस्तकलाई खोल्न सक्ने या त्यस पुस्तकमा दृष्टि लगाउन सक्ने निस्कियो ॥ र म धुरूधुरू रुन लागें, किनभने त्यस पुस्तकलाई खोल्नेवाला वा दृष्टि गर्नेवाला कोही पनि निस्किएन ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ५/आयत १, २, ३, ४) ॥
समीक्षक— अब हेर्नुहोस् ! ईसाईहरूको स्वर्गमा सिंहासन र मनुष्यहरूको ठाँठ-बाँठ र किताबलाई कयौं शीलबन्दी गरिएको जसलाई खोल्नको लागि स्वर्ग, पृथ्वी र पातालमा कोही पनि मिलेन । यूहन्नाको रुनु र पश्चात एक प्राचीनले भन्यो कि त्यसलाई वही ईसाले खोल्नेछ, प्रयोजन ‘जसको विवाह उसैको गीत ।’ हेर्नुहोस् ! ईसामाथि नै सबै माहात्म्य नुगाइएको छ, परन्तु यी सबै कुराहरू केवल कथनमात्रै हुन् ॥११०॥
मूल-१११— र मैले त्यस सिंहासन र चारै प्राणीहरू र ती प्राचीनहरूका बीचमा मानौं एउटा वध गरिएको पाठो उभिएको देखें, त्यसका सात सींग र सातै आँखा थिए, यी परमेश्वरका सात आत्माहरू हुन्, जुन सारा पृथ्वीमा पठाइएको छ ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ५/आयत ६) ॥
समीक्षक— अब हेर्नुहोस् यस यूहन्नाको स्वप्नको मनोव्यापार ! त्यस स्वर्गको बीचमा सबै ईसाई र चार पशु तथा ईसा पनि छ बाँकी कोही छैनन् ! यो बडो अद्भुत कुरो भयो यहाँ त ईसाको दुई आँखा थिए र सींगको नाम पनि थिएन र स्वर्गमा गएपछि सात सींग र सात आँखावाला भयो ! र ती सातै ईश्वरका आत्मा ईसाको सींग र नेत्र बनेका थिए । हाय ! यस्ता कुराहरूलाई ईसाईले किन माने होलान् ? भला केही त बुद्धिलाई काममा लगाएको भए ॥१११॥
मूल-११२— र जब उसले पुस्तक लियो, तब ती चारै प्राणी र चौबीसै प्राचीन त्यस पाठाको सामुन्ने ढले, र प्रत्येकको हातमा वीणा र धूपले भरिएका सुनका कटौरा थिए, यो त पवित्र मान्छेहरूको प्रार्थना हो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ५/आयत ८) ॥
समीक्षक— भला, जब ईसा स्वर्गमा हुँदैन तब यी बिचराहरूले धूप, दीप, नैवेद्य, आरती आदि पूजा कसको गर्दछन् होला ? र यहाँ प्रोटेस्टेंट ईसाईहरू बुत्परस्ती (मूर्तिपूजा) लाई त खण्डन गर्दछन् र यिनको स्वर्ग बुत्परस्तीको घर बनिरहेको छ ॥११२॥
मूल-११३— फेरि मैले देखें कि, पाठाले ती सात शीलहरूलाई एक-एक गरेर खोल्यो, र ती चारै प्राणीहरू मध्येमा एउटाको गर्जनजस्तो शब्द सुनियो, कि आइज ॥ र मैले दृष्टि लगाएँ कि, एउटा सेतो घोडा छ, र त्यसको सवारी धनुष लिएको र त्यसलाई मुकुट दिइएको छ, र त्यो जय भन्दै निस्कियो कि अरू पनि जय प्राप्त गरौं ॥
र जब त्यसले दोस्रो शील खोल्यो, तब मैले सुनें कि दोस्रो प्राणीलाई पनि आइज ॥
फेरि एउटा घोडा निस्कियो, रातो रङ्गको थियो, त्यसको सवारलाई यो अधिकार दिइयो कि, पृथ्वीबाट मेल-मिलाप उठाएर लैजा, ताकि मान्छेहरू एक अर्कालाई वध गर्न सकून्, र त्यसलाई एउटा ठूलो तलवार दियो ॥
र जब त्यसले तेस्रो शील खोल्यो, तब त तेस्रो प्राणीले यो भन्दै गरेको मैले सुनें कि, आइज, र मैले दृष्टि लगाएँ कि, त्यहाँ एउटा कालो घोडा छ ॥ र जब त्यसले चौथो शील खोल्यो, र देख्यो कि एउटा पहेंलो घोडा छ र त्यसमाथि बसेकाको नाम मृत्यु हो इत्यादि ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ६/आयत १, २, ३, ४, ५, ६, ७, ८) ॥
समीक्षक— अब हेर्नुहोस् पुराणहरूमा भन्दा पनि अधिक मिथ्या लीला छ कि छैन ? भला ! पुस्तकको बन्धनभित्र घोडाको सवार कहाँबाट हुन सक्दछ ? यो सपनाको सुनको महल जसले यसलाई सत्य मानेका छन, तिनीहरूमा अविद्या जति थोरै भनौं, त्यति नै थोरै हुन्छ ॥११३॥
मूल-११४— र तिनीहरूले ठूलो शब्दले पुकार्थे कि हे— स्वामी पवित्र र सत्य ! कहिलेसम्म तैंले न्याय गर्दैनस् र पृथ्वीका निवासीहरूबाट हाम्रो रगतको बदला लिंदैनस् ॥ र प्रत्येकलाई उजेलो वस्त्र दिइयो र तिनीहरूलाई भनियो कि अरू थोरैबेर विश्राम गर, जबसम्म तिम्रा सङ्गी दास, र भाइ, जो तिमीहरूको जस्तै वध गरिनेछन्, तिनीहरूको गन्ती पूरा गरेर सकिंदैन ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ६/आयत १०, ११) ॥
समीक्षक— जो कोही ईसाई होलान्, तिनीहरू दौरासुपुर्द (कुराइमा बस्दा-बस्दा) यस्तो न्याय गराउनको लागि रुने गर्दछन्, जसले वेदमार्गलाई स्वीकार गर्नेछ, त्यसको न्याय हुनमा कत्ति पनि बेर लाग्नेछैन । ईसाईहरूसँग सोध्नुपर्दछ कि— “कचहरी आजभोलि बन्द छ ? र न्यायको काम पनि हुँदैन ? न्यायाधीश निकम्मा बसेका छन्” भने त केही पनि ठीक-ठाक उत्तर दिन सक्ने छैनन् ।
र ईश्वरलाई पनि बहकाउँदा र उनका ईश्वर पनि बहकिन जान्छ किनभने यिनीहरूले भन्नेबित्तिकै शत्रुहरूसँग बदला लिन जान्छ । र दंशीला स्वभाववाला छन् मरेपछि पनि स्ववैर लिने गर्दछन्, शान्ति कत्ति पनि छैन । र जहाँ शान्ति छैन, त्यहाँ दुःखको के पारावार होला ॥११४॥
मूल-११५— र आकाशका तारा पृथ्वीमा यस्तरी खसे कि जसरी ठूलो आँधीले हल्लिएर अञ्जीरको काँचा दाना बुटाबाट झर्दछन् ॥ र आकाश यसरी सर्कियो कि, जसरी पत्र लपेट्दा सर्कन्छ, र प्रत्येक पहाड र टापु आ-आफ्नो स्थानबाट खस्किएर अलग भए ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ६/आयत १३, १४) ॥
समीक्षक— अब हेर्नुहोस् यूहन्ना भविष्यद्वक्ता ! जब विद्या हुँदैन तब नै यस्तो अण्ड-बण्ड कथा गायो । भला ! तारा सबै भूगोल हुन् एक पृथ्वीमा कसरी खस्न सक्दछन् ? र सूर्यादिको आकर्षणले तिनीहरूलाई यता-उता जान किन दिन्थ्यो ? र के आकाशलाई गुन्द्री जस्तै सम्झन्छ ? यो आकाश साकार पदार्थ होइन, जसलाई बेर्ने वा पट्याउन सक्ने । त्यसैले यूहन्ना आदि सबै जङ्गली मनुष्य थिए, तिनीहरूलाई यी कुराको के खबर ? ॥१५॥
मूल-११६— र जसमा मोहर लगाइयो, मैले त्यसको गन्ती सुनें, कि इस्राएलको सन्तानका सबै गोत्रहरू मध्येमा एक लाख चवालीस हजारमाथि मोहर लगाइयो । यहूदाका गोत्रमा बाह्र हजारमाथि मोहर लगाइयो, रुबेनको गोत्र मध्येमा बाह्र हजारमाथि, गादको गोत्र मध्येमा बाह्र हजारमाथि मोहर लगाइयो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ७/आयत ४, ५) ॥
समीक्षक— के जुन बाइबलमा ईश्वर लेखेको छ, त्यो इस्राएल आदि कुलहरूको स्वामी हो, वा सबै संसारको ? यदि यस्तो हुँदैनथ्यो भने त उनै जङ्गलीहरूलाई साथ किन दिन्थ्यो ? र उनैको सहायता गर्दथ्यो, दोस्राको नाम निशाना पनि लिंदैन, यसैले त्यो ईश्वर होइन । र इस्राएल कुल आदिका मनुष्यमाथि छाप लगाउनु अल्पज्ञता अथवा यूहन्नाको मिथ्या कल्पना हो ॥११६॥
मूल-११७— यसै कारणले ती परमेश्वरका सिंहासनका अगाडि छन्, र उसको मन्दिरमा दिन रात उसको सेवा गर्दछन्, र जो सिंहासनमा बसेको छ, त्यसले उनीहरूमाथि तम्बू टाँग्नेछ ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ७/आयत १५) ॥
समीक्षक— के यो महाबुत्परस्ती (मूर्तिपूजक) होइन ? अथवा उनका ईश्वर देहधारी मनुष्यको तुल्य एकदेशी होइन ? र ईसाईहरूको ईश्वर रातमा पनि सुत्दैन, सुत्थ्यो भने त रातमा पूजा कसरी हुन सक्दछ ? तथा त्यसको निद्रा पनि उड्छ होला र यदि रात-दिन जाग्छ भने त विक्षिप्त वा अति रोगी होला ॥११७॥
मूल-११८— फेरि एउटा अर्को स्वर्गदूत सुनको धूपदानी लिएर आयो, र वेदीको निकटमा गयो र उसलाई बेस्सरी धूप दियो, कि सबै पवित्र मान्छेहरूको प्रार्थनाहरूको साथ त्यस सुनौलो वेदीमा जुन सिंहासनको सामुन्ने चढाए ॥ र त्यस धूपको धुवाँले पवित्र मान्छेहरूको प्रार्थनाहरूको सहित स्वर्गदूतको हातदेखि परमेश्वरको सामुन्ने पुग्यो ॥ र स्वर्गदूतहरूले धूपदानीलाई लिएर त्यसमा वेदीको आगो भरेर पृथ्वीमा हाले, र गर्जन र शब्द गर्दै बिजुली चम्केर भुइँचालो गयो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ८/आयत ३, ४, ५) ॥
समीक्षक— अब हेर्नुहोस् ! स्वर्गसम्म वेदी, धूप, दीप, नैवेद्य, नरसिंघाको शब्द हुन्छन्, के वैरागीहरूको मन्दिर भन्दा ईसाईको स्वर्ग कम्तीको छ त ? केही धूम-धाम अधिक नै छ ॥११८॥
मूल-११९— र पहिलो स्वर्गदूतले नरसिंघा फुक्यो तब रगतले मुछिएका असिना र आगो उत्पन्न भयो, र त्यसलाई पृथ्वीमा हालियो, पृथ्वीको एक तिहाई भाग जल्न गयो र सबै हरियो घाँस पनि पोलियो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ८/आयत ७) ॥
समीक्षक— वाह रे ! ईसाईहरूका भविष्यद्वक्ता ! ईश्वर, ईश्वरका दूत, नरसिंघाको शब्द र प्रलयको लीला केवल केटाहरूको खेलजस्तो देखिन्छ ॥११९॥
मूल-१२०— र पाँचौं दूतले नरसिंघा फुक्यो र मैले एउटा तारालाई स्वर्गबाट पृथ्वीमा खस्दै गरेको देखें र अथाह कुण्डको कूपको चाबी त्यसलाई दिइयो ॥ त्यसले अथाह कुण्डको कूप खोल्यो र कूपबाट ठूलो भट्टीको धुवाँजस्तै गरेर धुवाँ उठ्यो र सूर्य अनि वायुमा अँध्यारो भयो ॥ र त्यस धुवाँबाट सलह पृथ्वीमा निस्किएर अनि तिनीहरूलाई पृथ्वीका बिच्छीको जस्तो शक्ति दिइयो ॥ र भनियो कि पृथ्वीका घाँस, हरियाली र वृक्षलाई हानि नपुर्याइकन ती मनुष्यहरूको जसको निधारमा ईश्वरको छाप छैन ॥....पाँच महिनासम्म तिनीहरूलाई पीडा दिइयोस्.... ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ९/आयत १, २, ३, ४, ५) ॥
समीक्षक— के नरसिंघाको आवाज सुनेर तारा उनै दूतहरूका टाउकामाथि र उसै स्वर्गमा खसे होलान् ? यहाँ त खसेनन् । भला ! त्यो कूप वा सलह पनि प्रलयको लागि ईश्वरले पाल्यो होला र छापलाई देखेर पढ्छ होला कि छापवालालाई नटोक ? यो केवल भोले मनुष्यहरूलाई डराएर ईसाई बनाउनको लागि धोका दिन हो कि यदि तिमी ईसाई भएनौ भने त सलहले टोक्नेछ । यस्ता कुरा विद्याहीन देशमा चल्नसक्दछ, आर्यावर्त्तमा होइन, के त्यो प्रलयको कुरो हुन सक्दछ ? ॥१२०॥
मूल-१२१— र घोडचढी सेनाहरूको संख्या बीस करोड थियो, मैले त्यसको गन्ती सुनें ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ९/आयत १६) ॥
समीक्षक— यति विघ्न घोडा स्वर्गमा कहाँ अडिन्थे, कहाँ चर्थे र कहाँ बस्थे र कहाँ हग्थे ? त्यसको दुर्गन्ध पनि स्वर्गमा कति भयो होला ? बस यस्तो स्वर्ग, यस्तो ईश्वर र यस्तो मतको लागि हामी सबै आर्यहरूले तिलाञ्जलि दिएका छौं । यस्तो बखेडा ईसाईहरूको शिरदेखि पनि सर्वशक्तिमान्को कृपाले दूर भएमा त राम्रो हुने थियो ॥१२१॥
मूल-१२२— र मैले अर्को पराक्रमी दूतलाई स्वर्गबाट उत्रिंदै गरेको देखें जसले मेघलाई ओढेको थियो र त्यसको शिरमा मेघधनुष थियो र त्यसको मुख सूर्यजस्तो थियो र त्यसको खुट्टा आगाको खाँबोजस्तो थियो ॥......र त्यसले आफ्नो दाहिने खुट्टा समुद्रमा र बायाँ खुट्टा पृथ्वीमा राख्यो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १०/आयत १, २) ॥
समीक्षक— अब हेर्नुहोस् यी दूतहरूको कथा ! जुन पुराणहरू र भाटहरूको कथामा भन्दा पनि बर्ता छ ॥१२२॥
मूल-१२३— र मलाई लट्ठीको समान लामो एउटा निगालो दिए, र कसैले भन्यो कि, उठेर परमेश्वरको मन्दिर, वेदी र त्यसमा भजन गर्नेहरूलाई नाप ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय ११/आयत १) ॥
समीक्षक— यहाँको त के कुरा ईसाईहरूको त स्वर्गमा पनि मन्दिर बनाएर नाप्ने गरिन्छ, राम्रो हो, यिनको जस्तो स्वर्ग छ, त्यस्तै कुराहरू छन् । त्यसैले यहाँ प्रभुभोजनमा ईसाको शरीरावयव मासु रगतको भावना गरेर खाने-पिउने गर्दछन्, गिर्जाघरमा पनि क्रूश आदिको आकार बनाउनु आदि बुत्परस्ती (मूर्तिपूजा) हो ॥१२३॥
मूल-१२४— र परमेश्वरको जुन मन्दिर स्वर्गमा छ, त्यसलाई खोलियो, र त्यसको मन्दिरमा उसको वाचाको सन्दूक देखियो, र बिजुली चम्कियो र शब्द गर्जियो अनि भुइँचालो गयो, र ठूला-ठूला असिना वर्षियो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १९/आयत १९) ॥
समीक्षक—स्वर्गमा जुन मन्दिर छ त्यो हर समय बन्द रहन्छ होला, कहिलेकाहिं खोलिन्छ होला, के परमेश्वरको पनि मन्दिर हुन सक्दछ ? जुन वेदोक्त परमात्मा सर्वव्यापक छ, उसको कुनै पनि मन्दिर हुन सक्दैन । हो, ईसाईहरूको परमेश्वर जुन आकारवाला छ, त्यसको चाहे स्वर्गमा, चाहे भूमिमा हुन सक्दछ होला । र जस्तो लीला टन्-टन् पूँ-पूँ को यहाँ हुन्छ, त्यस्तै ईसाईहरूको स्वर्गमा पनि । र नियमको सन्दूक पनि कहिलेकाहिं ईसाईहरूले देख्दछन् होला, त्यसमा नजाने के प्रयोजन सिद्ध गर्दछन् ? साँचो त यो हो कि यी सबै कुराहरू मनुष्यलाई भुलाउनको लागि गरेका हुन् ॥१२४॥
मूल-१२५— एउटा बडो आश्चर्य स्वर्गमा देखियो अर्थात् एक स्त्री जसले सूर्यलाई पहिरेकी छ र त्यसका खुट्टमा चन्द्रमा छ, त्यसको शिरमा बाह्र ताराहरूको मुकुट छ ॥ र त्यो गर्भवती भएर चिच्याएकी छ किनभने प्रसवको पीडाले चापेको छ र बच्चा जन्माउनको लागि पीडित छ ॥ र दोस्रो आश्चर्य स्वर्गमा देखियो कि, हेर ठूलो रातो अजिङ्गर छ जसको सात ओटा टाउका र दश ओटा सींग छन् र त्यसको टाउकामा सात ओटा राजमुकट छन् ॥ र त्यसको पुछारले आकाशका ताराहरूको एक तिहाई भागलाई तानेर पृथ्वीमा हालिदियो....॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १२/आयत १, २, ३, ४) ॥
समीक्षक— अब हेर्नुहोस् लम्बा-चौडा गफौडा ! यिनको स्वर्गमा पनि विचारी स्त्री चिच्याउँछे, त्यसको दुःख कसैले सुन्दैन, न त मेटाउन सक्दछन् । र त्यस अजिङ्गरको पुछार यति लामो थियो कि जसले ताराहरूको एक तिहाई पृथ्वीमा हालिदियो ? भला ! पृथ्वी सानो छ र ताराहरू पनि ठूला-ठूला लोक छन्, यस पृथ्वीमा एउटा पनि अटाउन सक्दैन । किन्तु यहाँ यही अनुमान गर्नुपर्दछ कि यी ताराहरूको तिहाई यस कुरालाई देख्नेवालाको घरमा खसे होलान् र जुन अजिङ्गरको पुछार यति लामो थियो जसले सबै ताराहरूको तिहाईलाई लपेटेर पृथ्वीमा पछार्यो, त्यो अजिङ्गर पनि त्यसैको घरमा रहन्छ होला ॥१२५॥
मूल-१२६— फेरि स्वर्गमा लडाईं भयो, मीकाईल र उसका स्वर्गदूत अजिङ्गरसँग लड्न निस्किए, र अजिङ्गर र उसका दूतको घमासान लडाईं भयो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १२/आयत ७) ॥
समीक्षक— जो कोही ईसाईहरूको स्वर्गमा जान्छ होला, त्यसले पनि लडाईंमा दुःख पाउँछ होला । यस्तो स्वर्गको यहाँबाट आशा छोडेर हात जोडेर बसिराख । जहाँ शान्तिभङ्ग र उपद्रव मच्चिरहोस्, त्यो ईसाईहरूकै लागि ठीक छ ॥१२६॥
मूल-१२७— र त्यो अजिङ्गर अर्थात् त्यही पूरानो सर्प, जसलाई इब्लीस र शैतान भन्दछन्, र सारा संसारलाई भ्रममा पार्नेवाला हो, पृथ्वीमा खसालियो, र त्यसका दूतलाई पनि त्यसको साथैमा खसालियो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १२/आयत ९) ॥
समीक्षक— के जब त्यो शैतान स्वर्गमा थियो तब मान्छेहरूलाई भ्रममा पार्थेन ? र त्यसलाई जन्मभरी बन्दीगृहमा अथवा किन मारेनन् ? त्यसलाई पृथ्वीमा किन खसालियो ? यदि सबै संसारलाई भ्रममा पार्नेवाला शैतान हो भने त शैतानलाई भ्रममा पार्नेवाला को हो ? यदि शैतान स्वयं भ्रमेको हो भने त शैतानको बिना भ्रममा पर्नेहरू परिराखून् र यदि त्यसलाई भ्रमाउनेवाला परमेश्वर हो भने त त्यो ईश्वर नै ठहरिएन ।
विदित त यो हुन्छ कि ईसाईहरूको ईश्वर पनि शैतानसँग डराउँछ होला ? किनभने यदि शैतान भन्दा प्रबल हुन्थ्यो भने त ईश्वरले त्यसले अपराध गर्ने समयमा नै दण्ड किन दिएन ? जगत्मा शैतानको जति राज छ त्यसको सामुन्ने सहस्रांश पनि ईसाईहरूको ईश्वरको राज छैन । त्यसैले ईसाईहरूको ईश्वर त्यसलाई हराउन सक्दैन होला । यसबाट यहि सिद्ध हुन्छ जसरी अहिलेको समयमा राज्याधिकारी ईसाई डाँकू-चोर आदिलाई शीघ्र दण्ड दिन्छन्, त्यस्तो पनि ईसाईहरूको ईश्वर छैन । पुनः को त्यस्तो निर्बुद्धि मनुष्य छ जसले वैदिक मतलाई छोडेर कपोल-कल्पित ईसाई मत स्वीकार गर्दछ ? ॥१२७॥
मूल-१२८— यस कारण, हे स्वर्ग र तिनमा बस्ने मगनहरू हो, हे पृथ्वी र समुद्र, तिमीमाथि हाय ! किनभने शैतान बडो क्रोधको साथमा तिमीमाथि उत्रिंदैछ, किनभने जान्दछ कि, त्यसको थोरै समय बाँकी छ ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १२/आयत १२) ॥
समीक्षक— के त्यो ईश्वर वहींको रक्षक र स्वामी हो ? पृथ्वीका मनुष्यादि प्राणीहरूको रक्षक र स्वामी होइन ? यदि भूमिको पनि राजा हो भने त शैतानलाई किन मार्न सकेन ? ईश्वरले हेरिरहन्छ र शैतानले बहकाउँदै फिर्दछ भने पनि उसलाई निषेध गराउँदैन ॥ विदित त यो हुन्छ कि एक असल ईश्वर र एक समर्थ दुष्ट दोस्रो ईश्वर बन्दैछ ॥१२८॥
मूल-१२९— ....र बयालीस महिनासम्म युद्ध गर्ने अधिकार त्यसलाई दिइयो ॥ र उसले ईश्वरको विरुद्ध निन्दा गर्नको लागि आफ्नो मुख खोल्यो, उसको नाम, तम्बू र स्वर्गमा वास गर्नेहरूका लागि निन्दा गर्ने ॥ र त्यसलाई यो दिइयो कि, पवित्र जनहरूसँग युद्ध गर्ने र तिनीहरूमाथि जय गर्ने र हर एक कुल, भाषा र देशमाथि त्यसलाई अधिकार दिइयो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १३/आयत ५, ६, ७) ॥
समीक्षक— भला ! यदि पृथ्वीका जनहरूलाई बहकाउनको लागि शैतान र पशु आदिलाई पठाएर मनुष्यसँग युद्ध गराउने, त्यो काम डाँकूहरूको सरदारको जस्तो छ यस्तो काम ईश्वर वा ईश्वरका भक्तहरूको होइन ॥१२९॥
मूल-१३०— फेरि मैले दृष्टि लगाएँ कि, हेर, त्यो पाठो सियोन पहाडमाथि उभिएको छ, र त्यसको साथमा एक लाख चवालीस हजार मान्छेहरू छन्, जसका निधारमा उसका र उसका पिताको नाम लेखिएको छ ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १४/आयत १) ॥
समीक्षक— अब हेर्नुहोस् ! जहाँ ईसाको बाउ रहन्थ्यो, वहीं उसै सियोन पहाडमा उसको छोरो पनि रहन्छ । परन्तु एक लाख चवालीस हजार मनुष्यहरूको गणना कसरी गर्यो ? एक लाख चवालीस हजार नै स्वर्गका वासी भए, शेष करोडौं ईसाईहरूको टाउकामा छाप लगाइयो ? के ती सबै नरकमा गए ? ईसाईहरूले चाहियो कि सियोन पर्वतमा गएर ईसाको उक्त बाउ र उसको सेना त्यहाँ छन् कि छैनन् राम्रोसँग हेरून् ? यदि छन् भने त यो लेख ठीक छ नत्र भने त मिथ्या । यदि कहींबाट आए भने त कहाँबाट आए ? यदि भनौला स्वर्गबाट, के ती पक्षी हुन् कि यति ठूलो सेना र आफै तल माथि उडेर आउने-जाने गर्ने ? यदि ती आउने-जाने गर्दछन् भने त एउटा जिल्लाको न्यायाधीशकै जस्तो भयो । र त्यो एक, दुई, तीन हुन् भने त बन्न सक्दैन किन्तु न्यून भन्दा न्यून एक-एक भूगोलमा एक-एक ईश्वर चाहियो, किनभने एक, दुई, तीन ब्रह्माण्डहरूको न्याय गर्ने र सर्वत्र युगपत् घुम्नमा समर्थ कहिल्यै हुन सक्दैन ॥ १३० ॥
मूल-१३१— ....आत्माले भन्दछ, हो किनभने तिनीहरू आफ्नो परिश्रमहरूबाट विश्राम पाउने छन्, र तिनीहरूका कार्य तिनीहरूको साथमा हुन जान्छ ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १४/आयत १३) ॥
समीक्षक— अब हेर्नुहोस् ! ईसाईहरूको ईश्वर त भन्दछ कि उनका कर्म उनैको साथमा रहन्छ अर्थात् कर्मानुसार फल सबैलाई दिइनेछ फेरि यिनीहरूले भन्दछन् कि ईशा सबै पापहरूलाई लिनेछ र क्षमा पनि गरिदिनेछ । यहाँ बुद्धिमानीहरूले विचार गर्नुहोस् कि ईश्वरको वचन साँचो वा ईसाईहरूको ? एक कुरामा दुईटै साँचा हुन त सक्दैनन्, यिनमा एउटा झुटो अवश्य होला । हामीलाई के ? चाहे ईसाईहरूको ईश्वर झुटो होस् वा ईसाईहरू ॥ १३१ ॥
मूल-१३२— ....परमेश्वरको प्रकोपको ठूलो रसकुण्डमा हालिदिए ॥ र नगरको बाहिर त्यस रसकुण्डमा अंगुर पेलियो, र त्यस रसकुण्डबाट यति रगत निस्कियो कि घोडाको लगामहरूसम्म पुग्यो, र सय कोससम्म बग्यो ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १४/आयत १९, २०) ॥
समीक्षक— अब हेर्नुहोस् ! यिनका गफौडा पुराणहरू भन्दा पनि बढी-चढी छ कि छैन ? ईसाईहरूको ईश्वर कोप गर्दाखेरि अति दुःखित हुन्छ होला र त्यसको कोपका कुण्ड पनि भरी-भराउ छन्, के त्यसको कोप जल हो ? वा अन्य द्रवित पदार्थ हो कि जसले कुण्ड भरेको छ ? र सय कोससम्म रगतको खोलो बग्नु असम्भव छ, किनभने रगत वायु लाग्नाले उत्निखेरै जमिहाल्दछ, पुनः कसरी बग्न सक्दछ ? यसैले यस्ता कुराहरू मिथ्या हुन्छन् ॥ १३२ ॥
मूल-१३३— र त्यसपछि मैले देखें कि, स्वर्गमा साक्षीको तम्बूको मन्दिर खोलियो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १५/आयत ५) ॥
समीक्षक— यदि ईसाईहरूको ईश्वर सर्वज्ञ हुन्थ्यो भने त साक्षीहरूको के काम ? किनभने त्यसले स्वयं सबैथोक जान्नसक्थ्यो । यसबाट सर्वथा यही निश्चय हुन्छ कि यिनीहरूको ईश्वर सर्वज्ञ होइन किन्तु मनुष्यवत् अल्पज्ञ हो, त्यसले ईश्वरता के गर्न सक्दछ ? होइन होइन होइन, र यसै प्रकरणमा दूतहरूका बडा-बडा असम्भव कुराहरू लेखिएको छ, त्यसलाई सत्य कसैले पनि मान्न सक्दैन । कहाँसम्म लेखूँ, यस प्रकरणमा सर्वथा यस्तै कुराहरू भरिएको छ ॥१३३॥
मूल-१३४— ....र त्यसको अधर्म परमेश्वरलाई स्मरण भयो ॥ जस्तो त्यसले तिमीलाई दिएको छ, त्यस्तै नै त्यसलाई भर्नू, र त्यसको कामहरूको अनुसार त्यसलाई दुई गुणा बदला दिनु....॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १८/आयत ५, ६) ॥
समीक्षक— हेर्नुहोस् ! प्रत्यक्ष ईसाईहरूको ईश्वर अन्यायकारी छ । किनभने न्याय त्यसलाई भन्दछन् कि जसले जस्तो वा जति कर्म गर्यो, त्यसलाई त्यस्तै र त्यति नै दिनु । त्यसमा अधिक-न्यून दिनु अन्याय हुन्छ । जसले अन्यायकारीको उपासना गर्दछन्, तिनीहरू अन्यायकारी किन होइनन् ॥१३४॥
मूल-१३५— ....किनभने पाठाको विवाह आइपुगेको छ र त्यसकी पत्नीले आफूलाई तयार गरिसकेकी छ ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय १९/आयत ७) ॥
समीक्षक— अब सुन्नुहोस् ! ईसाईहरूको स्वर्गमा विवाह पनि हुन्छन् ! किनभने ईसाको विवाह ईश्वरले वहीं गरायो । सोध्नुपर्दछ कि त्यसका श्वसुर, सासू, शालादि को थिए र जन्ती कति थिए ? र वीर्यको नाश हुनाले बल, बुद्धि, पराक्रम, आयु आदि पनि काटिएर अहिलेसम्म ईसाले वहाँ शरीर त्यागिदियो होला, किनभने संयोगजन्य पदार्थको वियोग अवश्य हुन्छ । अहिलेसम्म ईसाईहरूले त्यसको विश्वासमा धोका खाए र नजाने कहिलेसम्म धोका खाँदै राख्नेछन् ॥१३५॥
मूल-१३६— ....र त्यस अजिङ्गर, अर्थात् पुरानो सर्पलाई, जुन इब्लीस र शैतान हो, पक्रेर हजार वर्षको लागि बाँधिदियो ॥ र त्यसलाई अथाह कुण्डमा हालेर बन्द गरिदिए र त्यसमाथि ताला लगाइदिए कि, त्यो हजार वर्ष पूरा नभएसम्म, थरी-थरीका मान्छेहरूलाई नभ्रमाओस्, ....॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २०/आयत २, ३) ॥
समीक्षक— हेर्नुहोस् ! मरें मरें गरेर शैतानलाई समात्यो र हजार वर्षसम्म बन्ध गर्यो; फेरि पनि छुट्नेछ । के फेरि भ्रममा पार्दैन ? यस्तो दुष्टलाई त बन्दीगृहमा सदाको लागि राख्नु वा मारे बिना छोड्नु नै हुँदैन । परन्तु शैतानको हुनु ईसाईहरूको भ्रममात्रै हो, वास्तवमा केही पनि होइन ।
केवल मान्छेहरूलाई डराएर आफ्नो जालमा ल्याउनको लागि उपाय रचिएको छ । जस्तै कुनै धूर्तले कुनै भोले मनुष्यहरूलाई भन्यो कि ‘हिंड ! तिमीलाई देवताको दर्शन गराउँछु’, कुनै एकान्त ठाउँमा लगेर एउटा मान्छेलाई चतुर्भुज बनाएर राख्यो । झाडीमा उभ्याएर भन्यो कि ‘आँखा चिम्ल, जब मैले भन्छु तब आँखा खोल्नू र फेरि जब भन्नेछु तब आँखा चिम्लनूँ, यदि चिच्लेनौ भने त अन्धो हुन जानेछौ ।’ त्यस्तै यी मतवालाहरूको कुरा छ कि जसले हाम्रो मजहबलाई मान्दैन, त्यो शैतानले बहकाएको हो ।
जब त्यो सामुन्ने आयो तब भन्यो कि– ‘आँखा खोल’ ! पुनः शीघ्र भन्यो कि आँखा चिम्ल । जब फेरि झाडीमा लुक्यो, तब फेरि भन्यो आँखा खोल ! देख्यौ नारायणलाई ? सबैले दर्शन गरे । त्यस्तै लीला मजहबीहरूको छ त्यसैले यिनका मायामा कोही पनि फस्न हुँदैन ॥१३६॥
मूल-१३७— फेरि मैले एक ठूलो सेतो सिंहासन र त्यसमाथि जो बसेको थियो, देखें, जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे, र यिनीहरूको लागि ठाउँ पुगेन ॥ फेरि मैले सबै साना-ठूला मरेका जति सबैलाई सिंहासनको अगाडि उभिएको देखें, र पुस्तक खोलियो, फेरि अर्को एउटा पुस्तक खोलियो अर्थात् जीवनको पुस्तक, र जस्तो त्यस पुस्तकमा लेखिएको थियो, तिनीहरूको कामको अनुसार मरेकाहरूको न्याय गरियो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २०/आयत ११, १२) ॥
समीक्षक— ल हेर्नुहोस् त बालकपनको कुरो ! भला पृथ्वी र आकाश कसरी भाग्न सक्दछन् ? र तिनीहरू केमाथि बस्नेछन् ? जसको सामुन्नेबाट भागे र त्यसको सिंहासन र त्यो केका आधारमा बसेको थियो ? र मुर्दाहरू परमेश्वरको सामुन्ने उभ्याइयो भने त परमेश्वर पनि बस्यो अथवा उभियो होला ? के यहाँको कचहरी र दोकानजस्तै ईश्वरको व्यवहार त्यहाँ पनि छ जुन कि पुस्तकको लेखानुसार हुने गर्दछ ? र जब जीवहरूको हाल ईश्वरले लेख्यो वा उसका भरौटेले ? यस्ता-यस्ता कुराहरूबाट अनीश्वरलाई ईश्वर र ईश्वरलाई अनीश्वर ईसाई आदि मतवालाले बनाइदिए ॥१३७॥
मूल-१३८— ....त्यस मध्येबाट एउटा मसँग आयो, र मसँग कुरा गरेर भन्यो, यता आइज, मैले तँलाई दुलही अर्थात् पाठाकी पत्नीलाई देखाउनेछु ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २१/आयत ९) ॥
समीक्षक— भला ! ईसाले स्वर्गमा ‘दुलही’ अर्थात् स्त्री पनि राम्री फेला पार्यो, मोज गर्दछ होला । जो-जो ईसाई वहाँ जान्छन् होला, तिनीहरूलाई पनि स्त्रीहरू मिल्दछन् होला, ठिटा-ठिटी हुन्छन् होला र बडो भीडभाड हुनाले रोगोत्पत्ति भएर मर्दछन् पनि होला । यस्तो स्वर्गलाई त टाढैबाट हात जोड्नु राम्रो हुनेछ ॥१३८॥
मूल-१३९— र त्यो नगर चौखुँडा मिलेको थियो र त्यसको लम्बाई र चौडाई बराबर थियो, फेरि त्यसले गजले त्यस नगरलाई नाप्यो, नापो साढे सात सय कोस निस्कियो, त्यसको लम्बाई, चौडाई र उचाई बराबर थियो ॥ र त्यसले उसको शरपनाहलाई मनुष्यको अर्थात् दूतहरूको हातको नापोले नाप्यो तब एक सय चवालीस हात निस्कियो ॥ र त्यस शरपनाहको जोडाई सूर्यकान्त मणिको थियो, र नगर यस्तो चोखो सुनको थियो कि लाग्दथ्यो स्वच्छ काँचकै समान हो ॥ र त्यस नगरको भित्ताहरू हर प्रकारका बहुमूल्य रत्नहरू जडेर बनाइएको थियो, पहिलो भित्ता सूर्यकान्तमणिको थियो, दोस्रो नीलमणिको, तेस्रो लालमणिको, चौथो मरकतमणिको ॥ पाँचौं गोमेदकको, छैटौं माणिक्यको, सातौं पीतमणिको, आठौं पेरोजको, नवौं पुष्पराजको, दशौं लहसनिएको, एघारौं धूम्रकान्तको, बाह्रौं मर्टीष (याकूत) को ॥ र बाह्रै फाटक, बाह्र प्रकारका मोतिले बनेको थियो र नगरको सडक स्वच्छ काँचकै समान चोखो सुनले बनेको थियो ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २१/आयत १६-२१) ॥
समीक्षक— सुन्नुहोस् ईसाईहरूको स्वर्गको वर्णन ! यदि ईसाईहरू मर्दै जान्छन् र जन्मदै जान्छन् भने त यति ठूलो सहरमा कसरी अटाउँछन् ? किनभने त्यसमा मनुष्यहरूको आगम हुन्छ र त्यसबाट निक्लँदैनन् । र जुन यो बहुमूल्य रत्नहरूले बनेको नगर मानिएको छ, र सबै सुनको हो, इत्यादि लेख केवल भोले-भाले मनुष्यहरूलाई बहकाएर फसाउने लीला हो । भला लम्बाई चौडाई त त्यस नगरको लेखिएको हुन सक्दछ, परन्तु उचाई साढे सात कोस कसरी कुन सक्दछ ? यो सर्वथा मिथ्या कपोलकल्पनाको कुरा हो । र यति ठूला मोति कहाँबाट आए होलान् ? यस लेखलाई लेख्नेवालाको घरको घ्याम्पोबाट आयो होला, यो गफौडा पुराणहरूको पनि बाउ हो ॥१३९॥
मूल-१४०— र त्यसमा कोही अपवित्र वस्तु या घृणित काम गर्नेवाला, या झुटो बोल्नेवाला कुनै रीतिले पनि प्रवेश गर्न पाउने छैन....॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २१/आयत २७) ॥
समीक्षक— यदि यस्तै हो भने त ईसाईहरूले किन भन्दछन् कि पापीहरू पनि स्वर्गमा ईसाई हुनाले जान सक्दछन् ? यो झुटो कुरो हो । यदि यस्तै हो भने त यूहन्ना स्वप्नको मिथ्या कुराहरू चलाउनेवाला स्वर्गमा प्रवेश कहिल्यै गर्न सक्नेछैन, र ईसा पनि स्वर्गमा गएको छैन होला । किनभने जब एक्लै पापीले स्वर्ग प्राप्त गर्न सक्दैन भने त अनेक पापीहरूको पापभारयुक्त कसरी स्वर्गवासी हुन सक्दछ ? ॥१४०॥
मूल-१४१— र जब कुनै श्राप हुनेछैन र ईश्वरको र पाठाको सिंहासन त्यस नगरमा हुनेछ र त्यसका दासले त्यसको सेवा गर्नेछन् । र त्यसको मुख देख्नेछन् र त्यसको नाम उनीहरूका निधारमा लेखिएको हुनेछ । र वहाँ रात हुने छैन र उनीहरूलाई दीपक अथवा सूर्यको ज्योतिको प्रयोजन हुँदैन किनभने परमेश्वर ईश्वरले उनीहरूलाई ज्योति दिनेछ उनीहरू सदा सर्वदा राज्य गर्नेछन् ॥
—इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २२/आयत ३, ४, ५) ॥
समीक्षक— हेर्नुहोस् यो ईसाईहरूको स्वर्गवास ! के ईश्वर र ईसा सिंहासनमा निरन्तर बसिराख्नेछन् ? र उनका दासले उनका सामुन्ने सधैं मुख देख्नेछन् ? अब यो त बताउनुहोस् तिम्रो ईश्वरको मुख यूरोपियनको सदृश गोरो वा अफ्रिका वालाहरूको सदृश कालो अथवा अन्य देशवालाहरू कै समान छ ? यो तिम्रो स्वर्ग पनि बन्धन हो, किनभने जहाँ सानो-ठूलो छ र त्यसै नगरमा रहन अवश्य पर्दछ भने त वहाँ दुःख किन हुँदैन ? जुन मुखवाला हो, त्यो ईश्वर सर्वज्ञ सर्वेश्वर कहिल्यै हुन सक्दैन ॥१४१॥
मूल-१४२— हेर, म शीघ्र आउनेछु, र हरेकको कामको अनुसार बदला दिनको लागि प्रतिफल मसँग छ ॥ —इञ्जील (प्रकाशितवाक्यपर्व/अध्याय २२/आयत १२) ॥
समीक्षक— जब यही कुरो छ कि कर्मानुसार फल पाउँछन् भने त पापहरूको क्षमा कहिल्यै हुन सक्दैन, र यदि क्षमा हुन्छ भने त इञ्जीलको कुरा झुट्टा । यदि कसैले भन्दछ कि क्षमा गर्न पनि इञ्जीलमा लेखिएको छ भने त पूर्वापर विरुद्ध अर्थात् हल्फदरोगी भयो भने त झुट हो, यसलाई मान्न छोडिदेओ ॥१४२॥
अब कहाँसम्म लेखौं, यिनको बाइबलमा लाखौं कुराहरू खण्डनीय छन् । यो त थोरै चिह्नमात्र ईसाइहरूको बाइबल पुस्तकको देखाइयो, यत्तिबाटै बुद्धिमानीहरूले धेरै बुझ्न सक्नेछन् । थोरै कुराहरूलाई मात्रै छोडेर शेष सबै झुट भरिएको छ । जसरी झुटको सङ्गले सत्य पनि शुद्ध रहन सक्दैन, त्यसरी नै बाइबल पुस्तक पनि माननीय हुन सक्दैन किन्तु त्यो सत्य त वेदहरूलाई स्वीकार गर्नमा नै गृहीत हुन्छ ।
यसको अगाडि मुसलमानहरूको मतको विषयमा लेखिनेछ ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिनिर्मिते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते कृश्चीनाख्यमतविषये त्रयोदशः
समुल्लासः सम्पूर्णः ॥१३॥
Comments
Post a Comment