समुल्लास ११ भाग १
आर्यावर्तीय मतको खण्डन-मण्डनको विषयमा वर्णन
मण्डनको विषय (११.१)
अब आर्य जनहरूको जुन कि आर्यावर्तमा बस्दछन्, उनीहरूका मतको खण्डन तथा मण्डनको विधान गर्दछु ।
यो आर्यावर्त देश यस्तो देश हो जसको सदृश भूगोलमा दोस्रो कुनै पनि देश छैन । त्यसैले यस भूमिको नाम सुवर्णभूमि हो, किनभने यसैले सुवर्णादि रत्नहरूलाई उत्पन्न गर्दछिन् । त्यसैले नै सृष्टिको आदिमा आर्यहरू यसै देशमा आएर बसे । त्यसैले हामीले सृष्टिविषयमा पनि भनेर आएका छौं कि ‘आर्य’ नाम उत्तम पुरुषहरूको हो र आर्यहरूदेखि भिन्न मनुष्यहरूको नाम ‘दस्यु’ हो । जति भूगोलमा देशहरू छन्, ती सबैले यसै देशको प्रशंसा गर्दछन् र आशा राख्दछन् । पारसमणि पत्थर हुने सुनिन्छ, त्यो कुरो त झुट्टो हो परन्तु आर्यावर्त देश नै साँच्चो पारसमणि हो कि जसलाई फलामरूपी दरिद्र विदेशीले छुनासाथ ‘सुवर्ण’ अर्थात् धनाढ्य हुन जान्छन् ।
चक्रवर्ती राजाहरूको नाम उल्लेख (११.२)
एतद्देशप्रसूतस्य सकाशादग्रजन्मनः । स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवाः ॥
—मनुस्मृति (अध्याय २/श्लोक २०) ॥
सृष्टिदेखि लिएर पाँच हजार वर्षहरूदेखि पूर्व समय पर्यन्त आर्यहरूको ‘सार्वभौम चक्रवर्ती’ अर्थात् भूगोलमा सर्वोपरि एकमात्र राज्य थियो । अन्य देशहरूमा ‘माण्डलिक’ अर्थात् साना-साना राजाहरू रहन्थे किनभने कौरव-पाण्डव पर्यन्त यहाँका राजा र राजशासनमा सबै भूगोलका सबै राजा र प्रजाले मान्दथे, किनभने यो मनुस्मृति जुन सृष्टिको आदिमा भएको हो, यसको प्रमाण छ— ‘यसै आर्यावर्तमा उत्पन्न भएका ‘ब्राह्मण’ अर्थात् विद्वान्हरूबाट भूगोलका सबै मनुष्य ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, दस्यु, म्लेच्छ आदि आफ्नो-आफ्नो अनुकूल विद्या, चरित्रहरूको शिक्षा र विद्याभ्यास गर्ने गरून् ।’ र महाराजा युधिष्ठिरजीको राजसूय-यज्ञ र महाभारतको युद्धपर्यन्त यहाँका राज्याधीन सबै राज्यहरू थिए । सुन्नुहोस् ! चीनको ‘भगदत्त’, अमेरिकाको ‘बब्रुवाहन’, यूरोपको ‘विडालाक्ष’ अर्थात् बिरालाको सदृश आँखावाला, ‘यवन’ जसलाई यूनान भनिन्छ र ईरानको ‘शल्य’ आदि सबै राजा राजसूय-यज्ञ र महाभारत युद्धमा आज्ञाऽनुसार आएका थिए । जब रघुगण राजा थिए, तब रावण पनि यहाँको आधीन थियो । जब रामचन्द्रको समयमा विरुद्ध हुन गयो, तब त्यसलाई रामचन्द्रले दण्ड दिएर राज्यदेखि नष्ट गरेर उसको भाइ विभीषणलाई राज्य दिए ।
स्वायंभुव राजादेखि लिएर पाण्डवपर्यन्त आर्यहरूको चक्रवर्ती राज्य रह्यो । तत्पश्चात् आपसको विरोधले लडेर नष्ट भए । किनभने यस परमात्माको सृष्टिमा अभिमानी, अन्यायकारी, अविद्वान्हरूको राज्य धेरै दिन चल्दैन । साथै यो संसारको स्वाभाविक प्रवृत्ति पनि हो कि जब धेरैजसो धन असंख्य प्रयोजन भन्दा अधिक हुन्छ, तब आलस्य, पुरुषार्थरहितता, ईर्ष्या-द्वेष, विषयासक्ति र प्रमाद बढ्दछ । यसले गर्दा देशमा विद्या सुशिक्षा नष्ट भएर दुर्गुण र दुष्ट व्यसन देशमा बढ्दै जान्छ, जस्तै कि मद्य-मांस सेवन, बाल्यावस्थामा विवाह र स्वेच्छाचारादि दोष बढ्दै जान्छ । साथै जब युद्धविभागमा युद्धविद्याको कौशल र सेना यति बढे कि जसको सामना गर्नेवाला भूगोलमा दोस्रो हुँदैन, तब उनीहरूमा पक्षपात, अभिमान बढेर अन्याय बढ्न जान्छ । जब यस्तो दोष हुन जान्छ, तब आपसमा विरोध गरेर अथवा तिनीहरूदेखि अधिक दोस्रो सानो कुलमा कुनै यस्तो समर्थ पुरुष उभ्भिन्छ कि तिनीहरूलाई पराजय गर्नमा समर्थ हुन्छ । जसरी मुसलमानहरूको बादशाहीको अगाडि ‘शिवाजी’, ‘गोविन्दसिंहजी’ उभिएर मुसलमानहरूको राज्यलाई छिन्न-भिन्न गरिदिए ।
अथ किमेतैर्वा परेऽन्ये महाधनुर्धराश्चक्रवर्तिनः केचित्सुद्युम्नभूरिद्युम्नेन्द्रद्युम्नकुवलयाश्व यौवनाश्ववध्रियाश्वाश्वपतिः शशबिन्दुर्हरिश्चन्द्रोऽम्बरीषोऽननूक्तः स्वयातिर्ययातिरनरण्याक्षसेनादयः । अथ मरुत्तभरतप्रभृतयो राजानः ॥ —मैत्राण्युपनिषद् (प्रपाठक १/श्लोक ५) ॥
इत्यादि प्रमाणहरूबाट सिद्ध हुन्छ कि सृष्टिदेखि लिएर महाभारतपर्यन्त चक्रवर्ती सार्वभौम राजा आर्यकुलमा नै भएका थिए । अहिले यिनीहरूका सन्तानहरूको अभाग्योदय हुनाले राजभ्रष्ट भएर विदेशीहरूको पादाक्रान्त भैरहेका छन् । जसरी यहाँ सुद्युम्न, भूरिद्युम्न, इन्द्रद्युम्न, कुवलयाश्व, यौवनाश्व, वध्रियाश्व, अश्वपति, शशविन्दु, हरिश्चन्द्र, अम्बरीष, अननूक्त, स्वयाति, ययाति, अनरण्य, उक्षसेन, उत्थ, मरुत्त् र भरत आदि ‘सार्वभौम’ सबै भूमिमा प्रसिद्ध चक्रवर्ती राजाहरूको नाम लेखिएको छ, त्यसरी नै स्वायम्भुवादि चक्रवर्ती राजाहरूको नाम स्पष्ट मनुस्मृति, महाभारतादि ग्रन्थहरूमा लेखिएको छ । यसलाई मिथ्या गर्नु अज्ञानी र पक्षपातीहरूको काम हो ।
मन्त्रहरूको सिद्धि एवं निराकरण (११.३)
प्रश्न— जुन आग्नेयास्त्र आदि विद्या लेखिएको छ, सो सत्य हो कि होइन ? र तोप तथा बन्दूक त्यस समयमा थियो कि थिएन ?
उत्तर— यो कुरो साँचो हो, यी शस्त्रहरू पनि थिए । किनभने पदार्थविद्याबाट यी सबै कुरा हुन सम्भव छ ।
प्रश्न— के ती देवताहरूका मन्त्रबाट सिद्ध हुने गर्दथे ?
उत्तर— होइन । यी सबै अस्त्र पदार्थहरूबाट सिद्ध गर्दथे । ती ‘मन्त्र’ अर्थात् विचारले सिद्ध गर्दथे र चलाउँथे । ‘मन्त्र’ शब्दमय हुन्छ, त्यसबाट कुनै द्रव्य उत्पन्न हुँदैन । यदि कसैले भन्दछ कि मन्त्रबाट अग्नि उत्पन्न हुन्छ, त्यसो भए त त्यो मन्त्रको जप गर्नेवालाको हृदय र जिब्रो नै भस्म गरिदिनुपर्ने । ‘मार्न जाने शत्रुलाई र मरिरहने आफू ।’ यसैले ‘मन्त्र’ नाम हो विचारको, जसरी ‘राजमन्त्री’ अर्थात् राजकर्महरूको विचार गर्नेलाई भनिन्छ, त्यसरी नै ‘मन्त्र’ अर्थात् विचारबाट सबै सृष्टिको पदार्थको प्रथम ज्ञान र पश्चात् क्रिया गर्नाले अनेक प्रकारको पदार्थ र क्रियाकौशल उत्पन्न हुन्छन् ।
जसरी कसैले एक फलामको बाण वा गोला बनाएर त्यसमा यस्तो पदार्थ राखोस् कि जुन अग्नि लाग्नाले वायुमा धुवाँ फैलने र सूर्यको किरण वा वायुको स्पर्श हुनाले अग्नि जलोस्, यसैको नाम ‘आग्नेयास्त्र’ हो । जब दोस्राले यसको निवारण गर्न चाहेमा त त्यसैमाथि ‘वारुणास्त्र’ छोडिदेओस् अर्थात् शत्रुको सेनामाथि आग्नेयास्त्र छोडेर नष्ट गर्न चाहेमा, त्यसरी नै आफ्नो सेनाको रक्षार्थ सेनापति वारुणास्त्रले आग्नेयास्त्रको निवारण गरोस् । त्यो यस्तो द्रव्यहरूको योगले गर्दा हुन्छ जसको धुवाँ वायुको स्पर्श हुनेबित्तिकै नै बादल बनेर उत्निखेरै वर्षन लागोस् र आगोलाई निभाइदेओस् । यसरी नै ‘नागपाश’ अर्थात् जुन शत्रुमाथि छोड्नाले उसको अङ्गलाई जकडेर बाँधिदिन्छ । त्यसरी नै एक ‘मोहनास्त्र’ अर्थात् जसमा नशाको चीज हाल्नाले, जसमा धुवाँ लाग्नाले सबै शत्रुका सेना ‘निद्रास्थ’ अर्थात् मूर्च्छित हुन जान्छन् । यसै प्रकारबाट सबै शस्त्रास्त्र हुन्थे र एक तार वा शीशाले अथवा कुनै अर्को पदार्थले विद्युत उत्पन्न गरेर शत्रुहरूको नाश गर्दथे, त्यसलाई पनि ‘आग्नेयास्त्र’ तथा ‘पाशुपतास्त्र’ भन्दछन् । ‘तोप’ र ‘बन्दूक’ नाम अन्य देशको हो । यो संस्कृत आर्यावर्तीय भाषाको होइन । किन्तु जसलाई विदेशीहरूले तोप भन्दछन्, संस्कृत र भाषामा त्यसको नाम ‘शतघ्नी’ र जसलाई बन्दूक भन्दछन्, त्यसको नाम संस्कृत र आर्यभाषामा ‘भुशुण्डी’ भन्दछन् । जसले संस्कृत विद्यालाई पढेन र यस देशको भाषालाई पनि ठीक-ठीक जान्दैन, ती भ्रममा परेर कुनैको केही र कुनैको केही लेख्ने र बक्ने गर्दछन् । त्यसलाई बुद्धिमानीहरूले प्रमाण मान्दैनन् ।
र जति विद्या भूगोलमा फैलिएको छ, त्यो सबै आर्यावर्त देशबाट मिश्रवासीहरूले, तिनीहरूबाट यूनानीहरूले, तिनीहरूबाट रोमवासीहरूले र तिनीहरूबाट अमेरिका आदि देशमा फैलियो । अहिलेसम्म जति प्रचार संस्कृत विद्याको आर्यावर्त देशमा भएको छ, त्यति अन्य कुनै देशहरूमा छैन । जो कसैले भन्दछ कि जर्मन देशमा संस्कृतको ठूलो प्रचार छ र जति संस्कृत मोक्षमूलर साहबले पढेका छन् त्यति कसैले पढेका छैनन्, यो कुरो त भन्नमात्रैको हो । किनभने ‘यस्मिन्देशे द्रुमो नास्ति तत्रैरण्डोऽपि द्रुमायते’ अर्थात् जुन देशमा कुनै वृक्ष हुँदैन, त्यस देशमा एरण्डलाई नै ठूलो वृक्ष मान्दछन् । त्यसरी नै यूरोप देशमा संस्कृत विद्याको प्रचार नहुनाले जर्मन र मोक्षमूलर साहबले थोरै पढे पनि त्यस देशको लागि अधिक हो । परन्तु आर्यावर्त देशतिर हेर्यौं भने त उनको एकदमै न्यून गणना हुन्छ । किनभने मैले जर्मन देशनिवासीका— एक ‘प्रिन्सिपल’ को—पत्रबाट जानें कि जर्मन देशमा संस्कृत-चिट्ठीको अर्थ गर्नेहरू पनि एकदमै थोरै रहेछन्, अनि मोक्षमूलर साहबको संस्कृत-साहित्य र थोरै मात्रमा वेदको व्याख्यालाई हेरेर मलाई विदित भयो कि मोक्षमूलर साहबले यता-उता आर्यावर्तीय जनहरूले लेखेकै टीकालाई हेरेर केही-केही यथा-तथा आफूले लेखेका रहेछन् । जस्तै कि—
‘युञ्जन्ति॑ ब्र॒ध्नम॑रु॒षं चर॑न्तं॒ परि॑ त॒स्थुषः॑ । रोच॑न्ते रोच॒ना दिवि ॥’
—ऋग्वेद (मण्डल १/सूक्त ६/मन्त्र १) ॥
यस मन्त्रको अर्थ ‘घोडा’ गरेका छन् । यस भन्दा त जुन सायणाचार्यले ‘सूर्य’ अर्थ गरेका छन् त्यो राम्रो हो । परन्तु यसको ठीक अर्थ ‘परमात्मा’ हो, सो मैले बनाएको ‘ऋग्वेदादिभाष्यभूमिका’ मा हेर्नुहोला । उसमा यस मन्त्रको यथार्थ अर्थ गरिएको छ । यतिबाटै जान्न सक्नुहुनेछ कि जर्मन देश र मोक्षमूलर साहबमा संस्कृत-विद्याको कति पाडित्य रहेछ ।
यो निश्चय हो कि जति विद्या र मत भूगोलमा फैलिएको छ, ती सबै आर्यावर्त देशबाट नै प्रचरित भएको हो । हेर ! एक जैकालियट साहब प्यारिस अर्थात् फ्रांस देश निवासी आफ्नो ‘बाइबल इन इण्डिया’ मा लेख्दछन् कि— “सबै विद्या र भलाइहरूको भण्डार आर्यावर्त देश हो र सबै विद्या तथा मत यसै देशबाट फैलिएको हो” र परमात्मासँग प्रार्थना गर्दछु कि “हे परमेश्वर ! जस्तो उन्नति आर्यावर्त देशको पूर्व कालमा थियो, त्यस्तै नै हाम्रो देशलाई सदैव गर्नुहोस्,” सो त्यस ग्रन्थमा हेर्न सक्नुहुनेछ । तथा ‘दाराशिकोह’ बादशाहले पनि यही निश्चय गरेका थिए कि जस्तो पूरा विद्या संस्कृतमा छ त्यस्तो अन्य कुनै भाषामा छैन । उनले यस्तो उपनिषद्हरूको भाषान्तरमा लेख्दछन् कि— “मैले अरबी आदि थुप्रै भाषाहरू पढें, परन्तु मेरो मनको सन्देह छुटेर आनन्द मिलेन । जब संस्कृत हेरें र सुनें तब निःसन्देह भएर मलाई ठूलो आनन्द मिल्यो ।” हेर, काशीमा ‘मानमन्दिर’ मा शशिमालचक्रलाई कि जसको पूरा रक्षा पनि भएको छैन, तर पनि कति उत्तम छ कि जसमा आजसम्म पनि खगोलको थुप्रै वृत्तान्त जस्तो विदित हुन्छ । जुन ‘सवाई जयपुराधीश’ त्यसलाई सम्हालेर र टुट-फुट भएकोलाई मर्मत गरिदिएमा त असाध्यै राम्रो हुने थियो । परन्तु यस्तो शिरोमणि देशलाई महाभारत युद्धले यस्तो धक्का दियो कि अझैसम्म पनि यो आफ्नो पूर्व दशामा फर्केर आउन सकेन । किनभने जब भाइ-भाइमा मारकाट हुन लाग्यो भने त नाश हुनमा के सन्देह ?
विनाशकाले विपरीतबुद्धिः ॥ —चाणक्यनीति (अध्याय १६/श्लोक ५) ॥
यो कुनै कविको वचन हो कि— जब नाश हुनको लागि समय निकट आउँछ तब उल्टो बुद्धि भएर उल्टो काम गर्न थाल्दछन् । कसैले तिनीहरूलाई सीधा सम्झाएमा पनि उल्टो मान्दछन् र उल्टो सम्झाएमा त त्यसलाई सीधा मान्दछन् । जब ठूला-ठूला विद्वान् महाराजा, ऋषि, महर्षिहरू महाभारत युद्धमा मारिए र थुप्रै मरेर गए, तब विद्या र वेदोक्त धर्मको प्रचार नष्ट हुन थाल्यो । ईर्ष्या, द्वेष र अभिमान आपसमा गर्न थाले । जुन बलवान् भयो त्यसले देशलाई दबाएर राजा बनेर बस्यो । त्यसरी नै सर्वत्र आर्यावर्त देशमा खण्ड-बण्ड राज्य हुन गयो । पुनः द्वीप-द्वीपान्तरको राज्यको व्यवस्था कसले गर्ने ?
जब ब्राह्मणहरू विद्याहीन भए तब क्षत्रिय, वैश्य र शूद्रहरूका अविद्वान् हुनमा त कथा नै के भन्ने ? जुन परम्परादेखि वेदादि शास्त्रहरूको अर्थसहित पढ्ने प्रचार थियो, त्यो पनि छुट्यो । केवल जीविकार्थ पाठमात्र ब्राह्मणहरूले पढ्नलागे । सो पाठमात्र पनि क्षत्रिय आदिलाई पढाएनन् । किनभने जब अविद्वानी गुरु बने तब छल, कपट, अधर्म पनि उनमा बढ्दै गयो । ‘ब्राह्मणहरूले विचार गर्न थाले कि आफ्नो जीविकाको प्रबन्ध बाँध्नु पर्दछ ।’ सम्मति गरेर यही निश्चय गर्दै क्षत्रिय आदिलाई उपदेश गर्न लागे कि हामी नै तिम्रा पूज्यदेव हौं । बिना हाम्रो सेवाले तिमीलाई स्वर्ग र मुक्ति मिल्ने छैन । किन्तु तिमीहरू जो कसैले हाम्रो सेवा गरेनौ भने त घोर नरकमा पर्नेछौ । जुन-जुन पूर्ण विद्यावाला धार्मिकहरूको नाम ब्राह्मण र पूजनीय वेद र ऋषि-मुनिहरूका शास्त्रमा लेखिएको थियो, त्यसलाई आफ्नो मूर्ख, विषयी, कपटी, लम्पट, अधर्मीहरूमाथि घटाएर बसाए । कतै ती आप्त विद्वान्हरूको लक्षण यस्ता मूर्खहरूमा कहिल्यै घट्न सक्दछ ? परन्तु जब क्षत्रियादि यजमान संस्कृत-विद्याले अत्यन्त रहित भए, तब तिनीहरूको सामुन्ने जे-जे गफ मारे त्यस-त्यसलाई बिचराहरूले सबै मान्दै गए । जब तिनीहरूले माने तब यी नाममात्रका ‘ब्राह्मणहरू’ को भनेजस्तो हुन थाल्यो । सबैलाई आफ्नो वचन-जालमा बाँधेर वशीभूत गराएर भन्न थाले कि—
ब्रह्मवाक्यं जनार्दनः ॥
अर्थात् जुन ब्राह्मणहरूको मुखबाट वचन निस्कन्छ, त्यो जान्नु कि साक्षात् भगवान्को मुखबाट निस्कन्छ । जब क्षत्रियादि वर्ण ‘आँखाका अन्धा र गाँठका पूरा’ अर्थात् भित्री विद्याको आँखो फुटेको तर धनसम्पत्तिले परिपूर्ण भएका, यस्ता-यस्ता चेलाहरू मिल्दै गए, फेरि त के थियो र... यी व्यर्थ नाममात्रका ब्राह्मणहरूलाई विषयानन्दको उपवन मिल्यो । यो पनि तिनीहरूले प्रसिद्ध गरे कि जे-जति पृथ्वीमा उत्तम पदार्थहरू छन्, ती सबै ब्राह्मणहरूका लागि हुन् । अर्थात् जुन गुण, कर्म, स्वभावबाट ब्राह्मणादि वर्णव्यवस्था थियो, त्यसलाई नष्ट गरेर जन्मको आधारमा राखे र मृतक तथा स्त्री पर्यन्तको दान पनि यजमानहरूबाट आफैले लिन थाले । जस्तो आफ्नो इच्छा भयो त्यस्तै गर्दै जान थाले । यहाँसम्म कि ‘हामी भूदेव हौं’ हाम्रो सेवाको बिना देवलोक कसैलाई मिल्न सक्दैन । तिनीहरूसँग सोध्नुपर्दछ कि तिमीहरू कुन लोकमा जान्छौ ? तिम्रा काम त घोर नरकमा भोग्नपर्नेखाले छन्; कृमि, कीट बन्नेछौ । तब त अत्यन्त क्रोधित भएर भन्नेछन् कि— “हामी ‘श्राप’ दिन्छौं, तिम्रो नाश हुनेछ, किनकि शास्त्रमा लेखिएको छ ‘ब्रह्मद्वेषी विनश्यति’ ब्राह्मणहरूसँग द्वेष गर्नेवाला नष्ट भएर जान्छ ।” हो, यो कुरो त साँचो हो कि सम्पूर्ण वेद, र परमात्मालाई जान्नेवाला, धर्मात्मा, सबै जगत्को उपकारक पुरुषहरूसँग जो कसैले द्वेष गर्दछ, त्यो अवश्य नष्ट हुन्छ । परन्तु जो ब्राह्मण छैन, त्यसको न ब्राह्मण नाम, न त त्यसको सेवा गर्न नै योग्य हुन्छ । परन्तु तिमी त ब्राह्मण होइनौ नि ।
प्रश्न— त्यसो भए हामी को हौं त ?
उत्तर— तिमी ‘पोप’ हौ ।
प्रश्न— ‘पोप’ कसलाई भन्दछन् ?
उत्तर— वास्तवमा यसको अर्थ ‘रोमन भाषामा’ त गिर्जाघरको सबै भन्दा ठूलो सदस्य र पिताको नाम ‘पोप’ हो परन्तु अहिले छल-कपटबाट अर्कालाई ठगेर आफ्नो प्रयोजन फत्ते गर्नेवालालाई नै ‘पोप’ भन्दछन् ।
प्रश्न— हामी त ब्राह्मण र साधु हौं । किनभने हाम्रा पिता ब्राह्मण र माता ब्राह्मणी तथा हामी अमुक साधुका चेला हौं ।
उत्तर— यो साँचो हो, परन्तु सुन भाइ ! आमा-बुबा ब्राह्मणी-ब्राह्मण हुनाले र कुनै साधुको शिष्य हुँदैमा ब्राह्मण वा साधु हुन सक्दैनौ, किन्तु ब्राह्मण र साधु त आफ्नो उत्तम गुण, कर्म, स्वभावबाट हुन्छन्, जुन कि परोपकारी होस् ।
सुनेका छौं कि जसरी रोमका ‘पोप’ आफ्ना चेलाहरूलाई भन्थे कि तिमीले आफ्नो पाप हाम्रो सामुन्ने भन्यौ भने त हामीले क्षमा गरिदिने छौं । बिना हाम्रो सेवा र आज्ञाले कोही पनि स्वर्ग जान सक्दैन । यदि तिमी स्वर्गमा जान चाहन्छौ भने त जति रुपैयाँ जम्मा गर्नेछौ त्यति नै सामाग्री स्वर्गमा तिमीलाई मिल्ने छ, जब कसैले लाख रुपैयाँ स्वर्गको इच्छा गरेर ‘पोपजी’ लाई दिन्थ्यो, तब त्यो ‘पोपजी’ ईसा र मरियमको मूर्तिको सामुन्ने हुण्डी लेखेर यस्तो कागज दिन्थ्यो कि—
“हे खुदावन्द ईसामसी ! अमुक मनुष्यले तेरो नाममा लाख रुपैयाँ स्वर्गमा आउनको लागि हामीसँग जम्मा गराएको छ । जब त्यो स्वर्गमा आउँछ तब तैंले आफ्नो पिताको स्वर्गको राज्यमा पच्चीस हजार रुपैयाँमा बाग-बगैंचा, घर; पच्चीस हजारमा सवारी, नोकर-चाकर; पच्चीस हजारमा खाने-पिउने, लुगाफाटो-सुत्न-बस्नको लागि सबै सरजाम र पच्चीस हजारको इष्ट मित्रहरूका लागि पनि जियाफत अर्थात् खातिरदारी आदिको लागि दिनु । यो हुण्डीलाई स्वीकारिदिनु ।” —सही पोपजीको ।
फेरि पोपजी आफैले सही गरेर हुण्डीको कागज उसलाई थमाएर भन्दथ्यो कि— “जब तँ मर्दछस् तब यो हुण्डी पनि कबर (चिहान) मा गाड्नको लागि आफ्ना कुटुम्बलाई भनिदिनु । जब फरिश्ता (दूतहरू) आउनेछन् तब तँलाई र हुण्डीलाई साथैमा लैजानेछन् र लेखिएको प्रमाण बमोजिम चीजहरू तँलाई उपलब्ध गराउनेछन् ।”
अब जान कि स्वर्गका ठेकेदारहरू यिनै पोपजी हुन् । जबसम्म यूरोपमा मूर्खता थियो, तबसम्म वहाँ पोपलीला चल्दथ्यो । अहिले विद्यावान् हुनाले झुटो लीला धेरै गरेर चल्दैन, किन्तु निर्मूल पनि भएको छैन ।
त्यसरी नै आर्यावर्त देशमा पनि पोपजीहरूले लाखौं अवतार लिएर लीला फिंजाइरहेका छन्, अर्थात् राजा र प्रजाले विद्या नपढ्ने, राम्रा पुरुषहरूको सङ्गत गर्न नदिने, रात-दिन बहकाउनुको सिवाय अरू केही पनि काम गर्दैनन् । परन्तु यो ध्यानमा राख्नु कि जस-जसले छल, कपट र स्वार्थको लीला गर्दछन्, तिनीहरूलाई नै ‘पोप’ भन्दछन्, जो तिनीहरूमा पनि धार्मिक विद्वान् परोपकारी हुन्छन्, ती सच्चा ब्राह्मण र साधु हुन् । अब तिनै पोपहरू अर्थात् छली-कपटी-स्वार्थीहरू, “मनुष्यलाई ठगेर आफ्नो प्रयोजन सिद्ध गर्नेहरूका लागि नै” ग्रहण ‘पोप’ शब्दबाट गर्न र ‘ब्राह्मण’ तथा ‘साधु’ नामबाट उत्तम पुरुषहरूलाई स्वीकार गर्न योग्य हुन्छ ।
हेर ! यदि कोही पनि उत्तम ब्राह्मण वा साधु हुँदैनथ्यो भने त वेदादिशास्त्रहरूको पुस्तक स्वरसहितको पठन-पाठन, जैन, मुसलमान र ईसाई आदिबाट बचाएर आर्यहरूलाई वेदादि शास्त्रमा प्रीतियुक्त र वर्णाश्रममा राख्ने काम कसले गर्न सक्दथ्यो ?
‘विषादप्यमृतं ग्राह्यम् ॥’ —मनुस्मृति (अध्याय २/श्लोक २३९) ॥
विषदेखि पनि अमृतको ग्रहण गर्नुकै समान पोपलीलाबाट बहकाउँदा पनि आर्यहरूले जैन आदि मतहरूदेखि बचेर रहनु विषमा अमृतकै समान गुण सम्झनुपर्दछ ।
जब यजमान विद्याहीन हुनगए र आफूहरू केही पूजा-पाठ पढेर अभिमानमा आएपछाडि सबै जनाले सम्मति गरेर राजा आदिसँग भने कि ब्राह्मण र साधु अदण्ड्य हुन्छ, हेर ! ‘ब्राह्मणो न हन्तव्यः’ ‘साधुर्न हन्तव्यः’ यस्ता-यस्ता वचन जुन कि सच्चा ब्राह्मण र सच्चा साधुहरूको विषयमा थियो, सो पोपहरूले आफूमाथि घटाउन थाले । साथै थुप्रै झुट्टा-झुट्टा वचनयुक्त ग्रन्थ बनाएर त्यसमा ऋषि-मुनिहरूका नाम राख्दै उनीहरूकै नामबाट सुनाउने गर्नथाले । ती प्रतिष्ठित ऋषि-मुनिहरूका नामबाट अविद्वानीहरूले मान्न थाले । पश्चात् जब आफूमाथिबाट दण्डको व्यवस्था हटाइदिए, पुनः यथेष्टाचार गर्न लागे, अर्थात् यस्ता कडा नियम चलाए कि ती पोपहरूको आज्ञाको बिना सुत्न, बस्न, जान, आउन पनि सक्दैनथे । राजाहरूलाई यस्तो निश्चय गराए कि पोपसंज्ञक भनाउँदा मात्रका ब्राह्मण साधुले चाहे जेसुकै गरोस्, कहिल्यै पनि दण्ड नदिनू अर्थात् उनीहरूमाथि मनले पनि दण्ड दिने विचार सोच्नु हुँदैन । जब यस्तो मूर्खता भयो, तब जस्तो पोपहरूको इच्छा हुन्थ्यो, त्यस्तै गर्न थाले, अर्थात् यस प्रकारले बिगार्ने जडीको मूल महाभारत युद्ध भन्दा पूर्व एक हजार वर्षदेखि प्रवृत्त भएका थिए । किनभने त्यस समयमा ऋषि-मुनिहरू पनि थिए तथापि केही-केही आलस्य, प्रमाद, ईर्ष्या, द्वेषको अङ्कुर उम्रिएको थियो, त्यो बढ्दै-बढ्दै वृक्ष हुन गयो । जब साँचो उपदेश रहेन तब आर्यावर्तमा अविद्या फैलिएर आपसमा लड्न थाले । किनभने—
वाममार्गको निराकरण (११.४)
उपदेश्योपदेष्ट्टत्वात् तत्सिद्धिः । इतरथाऽन्धपरम्परा ॥
—यो सांख्यसूत्र (अध्याय ३/सूत्र ७९, ८१) को वचन हो ॥
जब उत्तम-उत्तम उपदेशकहरू हुन्छन् भने तब राम्रो तरहसँग धर्म, अर्थ, काम र मोक्ष सिद्ध हुन्छन् । र जब उत्तम उपदेशक र श्रोता रहँदैनन्, तब अन्धपरम्परा चल्नथाल्दछ । फेरि पनि जब सत्पुरुष निस्केर सत्योपदेश गर्दछ, तब अन्ध-परम्परा नष्ट भएर, प्रकाशको परम्परा चल्दछ । पुनः ती पोपहरू आफूलाई र आफ्नो चरणको पूजा गराउन लागे अनि भन्न थाले कि यसैमा तिम्रो कल्याण छ । जब यिनीहरू तिनका वशमा हुन गए, तब प्रमाद र विषयासक्तिमा निमग्न भएर गोठालाकै समान झुट्टा गुरु र चेला फसे । विद्या, बल, बुद्धि, पराक्रम, शूरवीरतादि शुभगुण सबै नष्ट हुन थाल्यो । पश्चात् एक वाममार्ग निकाले । ‘शिव उवाच’ ‘पार्वत्युवाच’ ‘भैरव उवाच’ इत्यादि नाम लेखेर त्यसलाई तन्त्र नाम राखे । त्यसभित्र यस्तो-यस्तो कुरा लेखे कि—
मद्यं मांसं च मीनं च मुद्रा मैथुनमेव च ।
एते पञ्च मकाराः स्युर्मोक्षदा हि युगे युगे ॥१॥
—महानिर्वाणतन्त्र पञ्चमोल्लास; कालीतन्त्रादि ॥
प्रवृत्ते भैरवीचक्रे सर्वे वर्णा द्विजातयः ।
निवृत्ते भैरवीचक्रे सर्वे वर्णाः पृथक्-पृथक् ॥२॥ —कुलार्णव तन्त्र (८/९६) ॥
पीत्वा पीत्वा पुनः पीत्वा यावत्पतति भूतले ।
पुनरुत्थाय वै पीत्वा पुनर्जन्म न विद्यते ॥३॥ —कुलार्णव तन्त्र (७/१००) ॥
मातृयोनिं परित्यज्य विहरेत् सर्वयोनिषु ॥४॥
वेदशास्त्रपुराणानि सामान्यगणिका इव ।
एकैव शाम्भवी मुद्रा गुप्ता कुलवधूरिव ॥५॥
—ज्ञानसंकलनी तन्त्र; हठयोग प्रदीपिका उपदेश (४/३५) ॥
हेर यी गर्वगण्ड पोपहरूको लीला कि जुन चाहिं वेदविरुद्ध महा अधर्मको काम हो त्यसैलाई श्रेष्ठ, वाममार्गीहरूले माने । मद्य, मांस, मीन अर्थात् माछा, मुद्रा पूरी, रोटी आदि चर्वण, योनि र पात्राधार मुद्रा तथा पाँचौं मैथुन अर्थात् पुरुष जति सबै शिव र स्त्री जति सबै पार्वतीकै समान मानेर—
अहं भैरवस्त्वं भैरवी ह्यावयोरस्तु सङ्गमः ॥ —कुलार्णवतन्त्र उल्लास (८/९७, १०२) ॥
चाहे कुनै पुरुष वा स्त्री नै किन नहोस् यस्तो ऊट-पटांग वचनलाई पढेर समागम गर्नमा ती वाममार्गीहरूले दोष मान्दैनन् । अर्थात् जुन नीच स्त्रीहरूलाई छुन हुँदैन, तिनैलाई अतिपवित्र यिनीहरूले मानेका छन् । जसरी शास्त्रहरूमा रजस्वला आदि स्त्रीहरूको स्पर्शको निषेध गरिएको छ, त्यसलाई वाममार्गीहरूले अति पवित्र मानेका छन् । सुन ! यिनीहरूका श्लोक खण्ड बण्ड—
रजस्वला पुष्करं तीर्थं चाण्डाली तु स्वयं काशी,
चर्मकारी प्रयागः स्याद्रजकी मथुरा मता ।
अयोध्या पुक्कसी प्रोक्ता ॥ —इत्यादि (-रुद्रयामल तन्त्र) ॥
रजस्वलाको साथमा समागम गर्नाले जान्नु पुष्कर तीर्थको स्नान, चाण्डालीको साथमा समागम गर्नाले काशीको यात्रा, चमारीसँग समागम गर्नाले जान्नु प्रयागको स्नान, धोबीकी स्त्रीको साथमा समागम गर्नाले मथुरा-यात्रा र कञ्जरीको साथमा लीला गर्नाले जान्नु कि अयोध्या-तीर्थ गरेर आयौ । मद्यको नाम ‘तीर्थ’, मांसको नाम ‘शुद्धि’ र ‘पुष्प’, माछाको नाम ‘तृतीया’ र ‘जलतुम्बिका’, मुद्राको नाम ‘चतुर्थी’, मैथुनको नाम ‘पञ्चमी’ । यस्ता नाम तिनीहरूले यसको लागि राखे कि अरू कसैले बुझ्न नसकून् । आफ्नो नाम कौल, आर्द्र, वीर, शाम्भव र गण आदि राखेका छन् । फेरि जुन वाममार्ग मतमा छैन, त्यसलाई ‘कण्टक’, ‘विमुख’, ‘शुष्कपशु’ आदि नाम राखेका छन् ॥१॥
र भन्दछन् कि जब भैरवीचक्र हुन्छ, तब उसमा ब्राह्मणदेखि लिएर चाण्डालपर्यन्तको नाम द्विज हुन जान्छ, र जब भैरवीचक्रदेखि अलग भएमा त, सबै आफ्ना-आफ्ना वर्णस्थ हुन जान्छन् । भैरवीचक्रमा वाममार्गीहरू भूमि वा पट्टामा एक बिन्दु, त्रिकोण, चतुष्कोण, बाटुलाकार बनाएर त्यसमा मद्यको घैंटो राखेर त्यसको पूजा गर्दछन्, फेरि यस्तो मन्त्र पढ्दछन्— ‘ब्रह्मशापं विमोचय’ हे मद्य ! तँ ब्रह्मा आदिको श्रापदेखि रहित भएस् । एक गुप्त स्थानमा कि जहाँ सिवाय वाममार्गी बाहेक अरूलाई आउन दिंदैनन्, त्यहाँ स्त्री र पुरुष जम्मा हुन्छन् । एउटी स्त्रीलाई नाङ्गी बनाएर पूज्दछन् र स्त्रीहरूले कुनै एक जना पुरुषलाई नाङ्गो बनाएर पूज्दछन् । पुनः कुनै कसैकी स्त्री, कुनै आफ्नी वा अर्काकी कन्या, कुनै कसैकी आमा, बहिनी, बुहारी आदि आउँछन् । पश्चात् एक पात्रमा मद्य भरेर मासु पनि ठूलो थालीमा राख्दछन् । त्यस मद्यको प्याला जुन कि उनीहरूका आचार्य हुन्छ, त्यसले हातमा लिएर ‘भैरवोऽहम्’ ‘शिवोऽहम्’ ‘म भैरव वा शिव हूँ’ भन्दै पिउन थाल्दछ । त्यसकै जूठो पात्रले अरूले पनि पिउन थाल्दछन्, र जब कसैकी स्त्री वा वेश्यालाई नाङ्गी बनाएर अथवा कुनै पुरुषलाई नाङ्गो बनाएर त्यसको हातमा तलवार थमाउँदै स्त्रीको नाम देवी र पुरुषको नाम महादेव राख्दछन्, उनीहरूका उपस्थ (गुप्ताङ्ग) इन्द्रियको पूजा गर्दछन्, तब उस देवी वा शिवलाई मद्यको प्याला पियाएर, त्यही जूठो पात्रले एक-एक प्याला सबैले पिउँछन् । फेरि त्यसै प्रकार क्रमैले पिएर पिउँदा-पिउँदै उन्मत्त भएर, चाहे कुनै कसैको बहिनी होस्, चाहे कन्या वा आमा होस्, जसको साथ जसको इच्छा हुन्छ, उसैको साथमा कुकर्म गर्दछन् । कहिले-काहिं अधिक नशा चढ्दामा लात्ती वा जुत्ताले हानाहान्, मुड्कीले हानाहान्, केश लुछालुछ गरेर आपसमा लड्दछन् । कुनै-कुनैले त्यहीं वमन पनि गर्दछन् । तिनीहरूमा जुन पुगेको हुन्छ त्यो ‘अघोरी’ अर्थात् सिद्धमा गनिन्छ, त्यसले वमन गरेको चीजलाई पनि खाइदिन्छ । अर्थात् यिनीहरूका सबै भन्दा ठूला सिद्धहरूको कुरो यो छ कि—
हालां पिबति दीक्षितस्य मन्दिरे, सुप्तो निशायां गणिकागृहेषु ।
विराजते कौलवचक्रवर्ती ॥ —कुलार्णवतन्त्र, उल्लास ९ ॥
जो ‘दीक्षित’ अर्थात् रक्सी व्यापारीको घरमा गएर बोतल माथि बोतल थप्दछ । रण्डीहरूको घरमा गएर कुकर्म गरेर सुत्दछ, जसले इत्यादि कर्म निर्लज्ज, निःशङ्क भएर गर्दछ, त्यही वाममार्गीहरूमा सर्वोपरि मुख्य चक्रवर्ती राजाको समान मानिन्छ । अर्थात् जति ठूलो कुकर्मी त्यही नै तिनीहरूमा ठूलो, र जसले राम्रो काम गर्दछ र नराम्रा कामहरूदेखि डराउँछ त्यो त्यति नै सानो । किनभने—
पाशबद्धो भवेज्जीवः पाशमुक्तः सदा शिवः ॥ —ज्ञानसंकलनी तन्त्र, श्लोक ४३ ॥
यस्तो तन्त्रमा भन्दछन् कि जो लोकलज्जा, शास्त्रलज्जा, कुललज्जा, देशलज्जा आदि पाशोमा बाँधिन्छ त्यो ‘जीव’ र जो निर्लज्ज भएर नराम्रा कामहरू गर्दछ त्यही नै सदा ‘शिव’ हो ॥२॥
‘उड्डीस’ तन्त्र आदिमा एक प्रयोग लेखिएको छ कि एक घरमा चारैतिरबाट आलय होस् । त्यसमा मद्यको बोतल पूरा भरेर राखिदिने । त्यस आलयमा एक बोतल मद्य पिएर, अर्को आलयमा जाओस् । फेरि त्यसबाट पनि मद्य पिएर तेस्रोमा जाओस्, तेस्रोबाट पनि मद्य पिएर फेरि चौथो आलयमा जाओस् । उभिएरै तबसम्म मद्य पियोस् जबसम्म रूख ढल्दाझैं पृथ्वीमा नढलोस् । फेरि जब नशा उत्रेमा त्यसरी नै पियोस् कि जबसम्म पृथ्वीमा गिर्दैन । यसरी नै पुनः तेस्रो पटक पिएर गिरेको मान्छे उठेमा त पुनर्जन्म हुने छैन, अर्थात् साँचो त यो हो कि यस्ता मनुष्यहरूको पुनः मनुष्यजन्म हुन कठिन छ, किन्तु नीच योनिमा बहुकालपर्यन्त परिरहनेछ ॥३॥
वाममार्गीहरूको तन्त्र-ग्रन्थहरूमा यो नियम छ कि एक आमालाई मात्र छोड्नु बाँकी अरू कसैलाई पनि नछोड्नु अर्थात् चाहे कन्या वा दिदी-बहिनी आदि नै किन नहून्, सबैको साथमा संगम गर्नुपर्दछ । यी वाममार्गीहरूमा दश महाविद्या प्रसिद्ध छन्, त्यस मध्येमा एउटा मातङ्गी विद्यावालाले भन्दछ कि ‘मातरमपि न त्यजेत्’ अर्थात् आमालाई पनि समागम गरे बिना नछोड्नू । फेरि स्त्री पुरुषको समागमको समयमा मन्त्र जप्दछन् कि हामीलाई सिद्धि प्राप्त भओस् । यस्ता बहुलाहा तालका मान्छेहरू पनि संसारमा सारै नै न्यून होलान् ॥४॥
जुन मनुष्यले झुटको खेती गर्न चाहन्छ, त्यसले सत्यको निन्दा अवश्य गर्दछ । हेर ! यी वाममार्गी के भन्दछन् ? वेद शास्त्र, र पुराण यी सबै सामान्य वेश्याहरूको तुल्य हुन् र जुन त्यो शाम्भवी वाममार्गको मुद्रा हो, त्यो गुप्त कुलकी स्त्रीहरूको तुल्य छ ॥५॥
यसैले यिनीहरूले सर्वथा वेदविरुद्ध मत निकालेका छन् । पश्चात् यिनीहरूको मत धेरै ठाउँमा चल्यो । तब धूर्तता गरेर वेदहरूको नामबाट पनि वाममार्गीको लीला कता-कति चल्न थाल्यो । अर्थात्—
सौत्रामण्यां सुरां पिबेत् ॥ —तुलना [शत.ब्रा.(कां.१२/३/५/२) तथा (ब.४/कं.५)] ॥
प्रोक्षितं भक्षयेन्मांसम् ॥ —मनस्मृति (अध्याय ५/श्लोक २७) ॥
वैदिकी हिंसा हिंसा न भवति ॥१॥ —तुलना [मनुस्मृति (अध्याय ५/श्लोक ४४)] ॥
न मांसभक्षणे दोषो न मद्ये न च मैथुने । प्रवृत्तिरेषा भूतानां निवृत्तिस्तु महाफला ॥२॥
—मनुस्मृति (अध्याय ५/श्लोक ५६) ॥
‘सौत्रामणी’ यज्ञमा मद्य पियोस, यसको अर्थ त यो हो कि सौत्रामणी यज्ञमा ‘सोमरस’ अर्थात् सोमवल्लीको रस पियोस् ।
‘प्रोक्षित’ अर्थात् यज्ञमा मासु खानमा दोष छैन, यस्ता-यस्ता पामरपनका कुराहरू वाममार्गीहरूले चलाएका छन् ।
तिनीहरूसँग सोध्नुपर्दछ कि यदि वैदिकी हिंसा हिंसा हुँदैन भने त, तँ र तेरा कुटुम्बलाई मारेर होम गरेमा त केको चिन्ता ? ॥१॥
मांसभक्षण गर्न, मद्य पिउन, परस्त्रीगमन गर्न आदिमा दोष छैन, यस्तो भन्नु छोकरपन हो । किनभने बिना प्राणीहरूलाई पीडा नदिइकन मांस प्राप्त हुँदैन, र बिना अपराधको पीडा दिनु धर्मको काम होइन । मद्यपानको त सर्वथा नै निषेध छँदैछ, किनभने अहिलेसम्म वाममार्गीहरूको बिना अरू कसैको ग्रन्थमा लेखिएको छैन, किन्तु सर्वत्र निषेध छ । साथै बिना विवाहको मैथुनमा पनि दोष छ, यसलाई निर्दोष भन्नेवाला नै सदोष हो ॥२॥
यस्तै-यस्तै वचन पनि पवित्र ऋषिहरूका ग्रन्थमा हालेर कयौं ऋषि-मुनिहरूको नामले ग्रन्थ बनाएर ‘गोमेध’, ‘अश्वमेध’ नामका यज्ञ पनि गराउन थालेका थिए । अर्थात् ‘यी पशुहरूलाई मारेर होम गर्नाले, यजमान र पशुलाई स्वर्गको प्राप्ति हुन्छ’ यस्तो प्रसिद्धिको निश्चय त यो हो कि ब्राह्मणग्रन्थहरूमा अश्वमेध, गोमेध, नरमेध आदि शब्दहरू छन्, तिनका ठीक-ठीक अर्थ जानेन् । किनभने यदि जान्दथे भने त यस्तो अनर्थ किन गर्दथे ?
सुरा मत्स्या मधु मांसमासवं कृसरौदनम् ।
धूर्तैः प्रवर्तितं ह्येतन्नैतद् वेदेषु कल्पितम् ॥
मानान्मोहाच्च लोभाच्च लौल्यमेतत्प्रकल्पितम् ।
—महाभारत (शान्तिपर्व/अध्याय २६५/श्लोक ९-१०) ॥
‘सुरा, माछा, मद्य, मासु, आसव, कृसरा आदि खाने प्रचलन धूर्तहरूले गरेका हुन् । वेदमा यी पदार्थहरूको खाने-पिउने-होमन गर्ने विधान छैन । ती धूर्तहरूले अभिमान, मोह र लोभको वशीभूत भएर ती वस्तुहरू प्रति आफ्नो लोलुपता नै प्रकट गरेका हुन् ।’ यसरी महाभारतले त स्पष्ट रूपले बताइरहेको छ कि यो सबै हिंसाको प्रचलन धूर्तहरूले नै चलाएका हुन् ।
प्रश्न— अश्वमेध, गोमेध, नरमेध आदि शब्दहरूको अर्थ के हो त ?
उत्तर— यसको अर्थ यो हो कि—
राष्ट्रं वा अश्वमेधः ॥ —शतपथ ब्राह्मणे (१३/१/६/३) ॥
अन्नहि गौः ॥ —शतपथब्राह्मणे (४/३/१/२५) ॥
अग्निर्वा अश्वः ॥ —शतपथब्राह्मणे (३/५/१/५) ॥
आज्यं मेधः ॥ —शतपथब्राह्मणे [तुलना— (१३/२/११/२)] ॥
घोडा, गाई आदि पशु तथा मनुष्यलाई मारेर होम गर्न कहीं पनि लेखिएको छैन । किन्तु यो कुरा पनि वाममार्गीहरूले नै चलाएका हुन्, र जहाँ-जहाँ यस्तो लेख छ, त्यो-त्यो सबै वाममार्गीहरूले प्रक्षेप गरेका हुन् । ‘मेध’ शब्दले बुद्धिपूर्वक कार्य गर्नको लागि भाव प्रकट गर्दछ । मेध शब्दको धातु पाठ “मेध=मेधृ=सं-ग-मे” बाट बनेको छ, यसको अर्थ हुन्छ मिलाप गर्नु, सशक्त गर्नु अथवा पोषित गर्नु भन्ने । हेर ! राजाले न्याय धर्मबाट प्रजाको पालन गरोस्, विद्यादि दिलाउने यजमान र अग्निमा घ्यू आदिको होम गर्नु अर्थात् राष्ट्र वा साम्राज्यको गौरव, वैभव, कल्याण र विकास एवं समृद्धिको लागि समर्पित यज्ञ नै ‘अश्वमेध’ हो; अन्न दूषित हुनबाट बचाउनु, आफ्ना इन्द्रियहरूलाई वशमा राख्नु, सूर्यका किरणहरूबाट उचित उपयोग लिनु, पृथ्वीलाई स्वच्छ एवं पवित्र राख्नु अर्थात् पृथ्वी तथा पर्यावरणको शुद्धताको लागि समर्पित यज्ञ नै ‘गोमेध’ हो; जब मनुष्य मर्दछ, तब उसको शरीरलाई विधिपूर्वक दाह गर्नुलाई नै ‘नरमेध’ भनिन्छ । मानिसलाई उत्तम कार्यको लागि प्रशिक्षित एवं संगठित गर्नु पनि नरमेध वा पुरुषमेध अथवा नृमेध यज्ञ भनिन्छ ।
प्रश्न— यज्ञकर्ता भन्दछन् कि यज्ञ गर्नाले यजमान र पशु स्वर्गगामी; तथा होम गरेर फेरि पशुलाई जित्ने गर्दथे, यो कुरो साँचो हो कि होइन ?
उत्तर— साँचो होइन । यदि स्वर्ग जान्छ भने त यस्ता कुरा भन्नेलाई मारेर, होम गरेर, स्वर्गमा पुर्याउनुपर्दछ वा त्यसका प्रिय माता, पिता, स्त्री र पुत्रादिलाई मारेर होम गरेर स्वर्गमा किन पुर्याउँदैनन् ? वा वेदीबाट पुनः किन ब्युँताउँदैनन् ?
प्रश्न— जब यज्ञ गर्दछन् तब वेदहरूका मन्त्र पढ्दछन् । यदि वेदमा हुन्थेन भने त कहाँबाट पढ्दथे ?
उत्तर— मन्त्रले कसैलाई कहीं पनि पढ्नमा रोक्दैन, किनभने त्यो एक शब्द हो । परन्तु उनका अर्थ यस्तो होइन कि पुशलाई मारेर होम गर्नु । जस्तै ‘अग्नये स्वाहा’ इत्यादि मन्त्रहरूको अर्थ— ‘अग्निमा हवि, पृष्ट्यादिकारक घृतादि उत्तम पदार्थहरूको होम गर्नाले वायु, वृष्टि, जल, शुद्ध भएर जगत्लाई सुखकारक गराउँदछ,’ परन्तु यी सत्य अर्थहरूलाई ती मूढले बुझ्दैनथे । किनभने जो स्वार्थबुद्धि हुन्छन्, तिनीहरू आफ्नो स्वार्थ गर्नको अतिरिक्त दोस्रो केही पनि जान्दैनन्, मान्दैनन् । जब यी पोपहरूको यस्तो अनाचार देखेर अर्कातिर मरेकाको तर्पण, श्राद्धादि गरेको देखेर एक महाभयङ्कर, वेदादि-शास्त्रनिन्दक, बौद्ध र जैन मत प्रचलित भएको हो । सुनिन्छ कि यसै देशमा गोरखपुरको एउटा राजा थियो, उसबाट पोपहरूले यज्ञ गराए । उसकी प्रिय रानीको समागम घोडाको साथमा गराउनाले रानी मरेपछि, वैराग्यवान् भएर आफ्नो पुत्रलाई राज्य दिएर, आफू साधु बनेर, पोपहरूको पोल खोल्न थाल्यो । त्यसैको शाखारूप ‘चारवाक’ र ‘आभाणक’ मत पनि आएको थियो । तिनीहरूले यस प्रकारसँग श्लोक बनाएका छन्—
पशुश्चेन्निहतः स्वर्गं ज्योतिष्टोमे गमिष्यति । स्वपिता यजमानेन तत्र कथं न हिंस्यते ॥१॥
मृतानामिह जन्तूनां श्राद्धं चेत्तृप्तिकारणम् । गच्छतामिह जन्तूनां व्यर्थं पाथेयकल्पनम् ॥२॥
—सर्वदर्शनसंग्रह (चारवाक दर्शन, श्लोक ४-५) ॥
यदि मारेर अग्निमा होम गर्नाले पशु स्वर्गमा जान्छ भने त, यजमान आफ्नो पिता आदिलाई मारेर स्वर्गमा किन पठाउँदैन ॥१॥ यदि मरेका मनुष्यहरूको तृप्तिको लागि श्राद्ध र तर्पण हुन्छ भने त, विदेशमा जानेहरूका लागि बाटाखर्च खान-पिउनको लागि भनेर, पोको पारेर लैजानु व्यर्थ छ । किनभने जब मृतकलाई श्राद्ध, तर्पणले अन्नजल पुग्दछ भने त, जिउँदै परदेश रहेका वा बाटामा जाँदै गरेकाका लागि घरमा भान्छामा पकाइएको खाना थालीमा पस्केर अंखराभरी जल लिएर परदेशी वा बटुवाको नाममा राखिदिनाले किन पुग्न सक्दैन ? जब जिउँदा दूर देश अथवा दश हात पर बसेकालाई दिएको पुग्दैन भने त, झनै मरेकाहरूलाई दिएको त कुनै प्रकारले पनि पुग्न सक्दैन ॥२॥
उनीहरूका यस्ता युक्तिसिद्ध उपदेशहरूलाई मान्न थाले र उनीहरूको मत बढ्न थाल्यो । जब थुप्रै राजा र धनीमानीहरू उनका मतमा भए तब पोपजी पनि उनैतिर झुके, किनभने यिनीहरूलाई जता गजबका गफाडी मिल्दछन्, उतै जान थाले । धमाधम जैन बन्दै गए । जैनमा पनि अरू थुप्रै प्रकारको पोपलीला छ, सो १२औं समुल्लासमा लेख्नेछु । थुप्रैले यिनीहरूका मतलाई स्वीकार गरे परन्तु कतिले त जुन पर्वत, काशी, कन्नौज, पश्चिम, दक्षिण देशवासीहरू थिए, उनीहरूले जैनहरूको मतलाई स्वीकार गरेका थिएनन् । ती जैनीहरूले वेदको अर्थलाई नजानेर बाहिरियाका पोपलीलाको भ्रान्तिले वेदमाथि मानेर, वेहरूको पनि निन्दा गर्न थाले । यसको पठनपाठन, यज्ञोपवीतादि र ब्रह्मचर्यादि नियमहरूलाई पनि नाश गरे । जहाँ जति पुस्तक वेदादिका पाए, नष्ट गरे । आर्यहरूमाथि थुप्रै राजसत्ता पनि चलाए र दुःख दिए । जब तिनीहरूलाई भय, शङ्का रहेन, तब आफ्ना मतवाला गृहस्थ र साधुहरूको प्रतिष्ठा र वेदमार्गीहरूलाई अपमान र पक्षपातसँग दण्ड पनि दिन थाले । साथै आफूहरू ऐश-आराम र घमण्डमा आएर, फुल्न थाले । मै हूँ भन्दै डुल्न-फिर्न थाले । ऋषभदेवदेखि लिएर महावीर-पर्यन्त आफ्ना तीर्थङ्करहरूका ठूला-ठूला मूर्तिहरू बनाएर पूजा गर्न थाले, अर्थात् पाषाणादि मूर्तिपूजाको जड जैनीहरूबाट चल्यो । परमेश्वरलाई मान्न न्यून हुन थाल्यो, सबै पाषाणादि मूर्तिपूजामा लागे । यस्तो तीन सय वर्ष पर्यन्तसम्म आर्यावर्त्तमा जैनहरूको राज रह्यो । प्रायः आर्यहरू उनैमा मिलेर शूद्रप्राय वेदार्थ-ज्ञानदेखि शून्य हुन गएका थिए । यो कुरो अनुमानले कोई साढे दुई हजार वर्ष व्यतीत भयो होला ।
बाईस सय वर्ष भयो कि एक ‘शङ्कराचार्य’ द्रविणदेशोत्पन्न ब्राह्मण ब्रह्मचर्यबाट व्याकरणादि सबै शास्त्रहरूलाई पढेर सोच्न लागे कि अहह ! सत्य आस्तिक वेदको मत छुट्नु र जैन नास्तिक मत चल्नु, ठूलो नै हानिको कुरा भएको छ, यसलाई हटाउनुपर्दछ । शङ्कराचार्यले शास्त्र त पढेकै थिए । परन्तु जैन मतका पुस्तक पनि पढेका थिए र तिनीहरूका युक्ति पनि एकदम प्रबल थिए । उनले विचार गरे कि यिनीहरूलाई कसरी हटाउने ? निश्चय भयो कि उपदेश र शास्त्रार्थ गरेमा त पक्कै पनि यिनीहरू हट्नेछन् । यस्तो विचार गरेर उज्जैनमा आए । वहाँ त्यो समयमा ‘सुधन्वा’ नाम गरेका राजा थिए, जसले जैनीहरूको ग्रन्थ र केही संस्कृत पनि पढेका थिए । त्यहाँ गएर शङ्कराचार्यले वेदको उपदेश गर्न लागे र राजासँग मिलेर भने कि तपाईंले संस्कृत र जैनीहरूका पनि ग्रन्थ पढ्नुभएको छ, जैन मतलाई मान्नुहुन्छ, यसैले म तपाईसँग भन्दछु कि जैनीहरूका पण्डितहरूसँग मेरो शास्त्रार्थ गराउँनुहोस्, यस प्रतिज्ञामा कि— ‘जसले हार्नेछ उसले जित्नेवालाको मतलाई स्वीकार गर्ने र तपाईंले पनि जित्नेवालाको मतलाई स्वीकार गर्नुहोला ।’
यद्यपि सुधन्वा जैन मतमा थिए तथापि संस्कृत ग्रन्थ पढ्नाले उनको आँखा केही खुलेको भने थियो । त्यसैले उनी एकदमै पशु थिएनन् । किनभने जो विद्वान् हुन्छ, त्यसले सत्य र असत्यको परीक्षा गरेर सत्यलाई मान्दछ र असत्यलाई छोड्दछ । जबसम्म सुधन्वा राजालाई ठूला विद्वान् उपदेशक मिलेका थिएनन्, तबसम्म सन्देहमा थिए कि यिनीहरूमा कुन चाहिं सत्य हो र कुन चाहिं असत्य हो ? जब शङ्कराचार्यको यस्तो कुरा सुने, एकदमै प्रसन्नता हुँदै भने कि मैले शास्त्रार्थ गराएर सत्याऽसत्यको निर्णय अवश्य गराउँनेछु । जैनीहरूका पण्डितहरूलाई टाढा-टाढादेखि बोलाएर सभा गराए । त्यसमा शङ्कराचार्यको वेदमत र जैनीहरूको वेदविरुद्ध मत थियो । अर्थात् शङ्गकराचार्यको पक्ष वेदमतको स्थापना र जैनीहरूको खण्डन; जैनीहरूको आफ्नो मतको स्थापना र वेदको खण्डन पक्ष थियो । शास्त्रार्थ कयौं दिनसम्म भयो । जैनीहरूको मत चाहिं यो थियो कि— ‘सृष्टिको कर्ता अनादि ईश्वर कोई होइन; यो जगत् र जीव अनादि हो, यी दुइटैको उत्पत्ति र नाश कहिल्यै हुँदैन ।’ यसदेखि विरुद्ध शङ्कराचार्यको मत थियो कि— ‘अनादि सिद्ध परमात्मा नै जगत्को कर्ता हो; यो जगत् र जीव झुटो हो; किनभने उसै परमेश्वरले आफ्नो मायाले जगत् बनायो; वही धारण र प्रलयकर्ता हो; र यो जीव र प्रपञ्च स्वप्नवत् छ; परमेश्वर आफै नै सबै रूप हुँदै लीला गरिरहेको छ ।’
धेरै दिनसम्म शास्त्रार्थ भैरह्यो । परन्तु अन्तमा युक्ति र प्रमाणबाट जैनीहरूको मत खण्डित र शङ्कराचार्यको मत अखण्डित रह्यो । तब ती जैनीहरूका पण्डित र सुधन्वा राजाले वेदमतलाई स्वीकार गरे, जैनमतलाई छोडिदिए । पुनः ठूलो हल्ला भयो र सुधन्वाले आफ्ना मित्र राजाहरूलाई पत्र लेखेर शास्त्रार्थ गराए । परन्तु जैनीहरूको पराजयको समय हुनाले पराजित हुँदै गए । पश्चात् शङ्कराचार्यलाई सर्वत्र आर्यावर्तमा घुम्नको लागि प्रबन्ध सुधन्वादि राजाहरूले गरिदिए र उनको रक्षाको लागि साथमा नोकर-चाकर पनि राखिदिए । त्यसै समयबाट सबैको यज्ञोपवीत हुन थाल्यो र वेदहरूको पठनपाठन पनि चल्यो । दश वर्षको भित्रमा सर्वत्र आर्यावर्तमा घुमेर जैनीहरूको खण्डन र वेदहरूको मण्डन गरे । परन्तु शङ्कराचार्यको समयमा ‘जैन-विध्वंस’ अर्थात् जति पनि मूर्तिहरू जैनीहरूका फुटेका निस्कन्छन्, ती सबै शङ्कराचार्यको समयमा फुटेका थिए । फेरि जति नफुटेका निस्कन्छन्, ती जैनीहरूले भूमिमा गाडिदिएका थिए ताकि कसैले नफुटालून् भनेर । तिनै अझैसम्म पनि कहीं कतै भूमिबाट निस्कन्छन् । शङ्कराचार्यको पूर्व शैवमत पनि केही थोरै मात्रमा थियो, त्यसको पनि खण्डन गरे । वाममार्गीहरूको खण्डन गरे । त्यो समयमा यस देशमा धन थुप्रै थियो र स्वदेशभक्ति पनि थियो । जैनीहरूका मन्दिर शङ्कराचार्य र सुधन्वाले फुटालेका थिएनन् तर तिनैमा वेदादिको पाठशाला बनाउने इच्छा भने गरेका थिए ।
जब वेदमतको स्थापना भैसक्यो, र विद्या-प्रचार गर्नको लागि भनेर विचार गर्दै थिए, त्यसैमा दुई जना बाहिरबाट वेदमत र भित्रबाट कट्टर जैन थिए, अर्थात् कपटमुनि थिए, शङ्कराचार्य उनीहरूमाथि अति प्रसन्न थिए, ती दुवै जनाले अवसर हेरेर शङ्कराचार्यलाई यस्तो विषयुक्त वस्तु ख्वाइदिए कि उनको भोक मन्द हुन गयो । पश्चात् शरीरमा थुप्रै घाउ-खटिरा आएर ६ महिनाको भित्रमा नै शरीर छुटेर गयो । तब सबै निरुत्साहित हुन पुगे र जुन विद्याको प्रचार हुन गैरहेको थियो, त्यो पनि हुन पाएन ।
जुन-जुन उनले शारीरक-भाष्यादि बनाएका थिए, त्यसको प्रचार शङ्कराचार्यका शिष्यहरूले गर्न थाले । अर्थात् जुन जैनीहरूको खण्डनको लागि ‘ब्रह्म सत्य, जगत् मिथ्या र जीव ब्रह्मको एकता’ कथन गरेका थिए, त्यसको उपदेश गर्न लागे । दक्षिणमा शृङ्गेरी, पूर्वमा भूगोवर्धन, उत्तरमा जोशीमठ र द्वारिकामा सारदामठ बाँधेर शङ्कराचार्यका शिष्यहरू महन्त बनेर र श्रीमान् हुँदै आनन्द गर्न थाले, किनभने शङ्कराचार्यको पश्चात् उनका शिष्यहरूको ठूलो प्रतिष्ठा हुन थाल्यो ।
अब यसमा विचार गर्नु पर्दछ कि ‘जीव ब्रह्मको एकता, जगत् मिथ्या’ शङ्कराचार्यको निज मत थियो भने त त्यो राम्रो मत होइन, र यदि जैनीहरूको खण्डनको लागि त्यस मतलाई स्वीकार गरेका भए त, केही राम्रो हो ।
अद्वैतवादको समीक्षा (११.५)
नवीन वेदान्तीहरूको मत यस्तो छ—
प्रश्न— जगत् स्वप्नवत्, रस्सी (डोरी) मा सर्प, सिपीमा चाँदी, मृगतृष्णिकामा जल, गन्धर्वनगर, इन्द्रजालवत् यो संसार झुट्टो हो । एक ब्रह्म नै साँचो हो ।
सिद्धान्ती— ‘झुट्टो’ तिमी कसलाई भन्दछौ ?
नवीन वेदान्ती— जुन वस्तु होइन तर प्रतीत हुन्छ ।
सिद्धान्ती— जुन वस्तु नै होइन, त्यसको प्रतीति कसरी हुन सक्दछ ?
नवीन वेदान्ती— अध्यारोपबाट ।
सिद्धान्ती— अध्यारोप कसलाई भन्दछौ ?
नवीन वेदान्ती— ‘वस्तुन्यवस्त्वारोपणमध्यासः’
—तुलना (सदानन्दविरचित वेदान्तसार खण्ड ६) ॥
‘अध्यारोपापवादाभ्यां निष्प्रपञ्चं प्रपञ्च्यते’ ।
—विद्यारण्यविरचित (अनुभूत्रिपकाश अध्याय १/श्लोक १८) ॥
पदार्थ कुनै अर्को हुन्छ, त्यसमा अन्य वस्तुको आरोपण गर्नु अध्यास, अध्यारोप; र त्यसको निराकरण गर्नुलाई अपवाद भनिन्छ । हामीले यी दुइटैमा प्रपञ्चरहित ब्रह्ममा प्रपञ्चरूप जगत् विस्तार गर्दछौं ।
सिद्धान्ती— तिमी रस्सी (डोरी) लाई वस्तु र सर्पलाई अवस्तु मानेर यस भ्रमजालमा परेका छौ । के सर्प वस्तु होइन ? यदि भन्दछौ कि रस्सीमा छैन त देशान्तरमा, र त्यसको संस्कारमात्र हृदयमा हुन्छ । फेरि त्यो सर्प पनि अवस्तु रहेन । त्यसरी नै स्थाणुमा पुरुष, सिपीमा चाँदी आदिको व्यवस्था सम्झनुपर्दछ । र स्वप्नमा पनि जसको भान हुन्छ, त्यो देशान्तरमा हुन्छ र त्यसको संस्कार आत्मामा पनि हुन्छ । त्यसैले त्यो स्वप्न पनि वस्तुमा अवस्तुको आरोपणकै समान होइन ।
नवीन वेदान्ती— जसलाई कहिल्यै देखेको छैन, सुनेको छैन, जस्तै कि आफ्नो शिर काटिएको छ र आफू रोइरहेको छ, जलको धारा माथिरतिर गैरहेको छ, जुन कहिल्यै भएको थिएन, त्यो सत्य कसरी हुनसक्दछ ?
सिद्धान्ती— यस दृष्टान्तले पनि तिम्रो पक्षलाई सिद्ध गर्दैन, किनभने बिना देखे सुने संस्कार बन्दैन । संस्कारको बिना स्मृति र स्मृतिको बिना साक्षात् अनुभव हुँदैन । जब कसैबाट सुन्यो वा देख्यो कि अमुकको शिर काटिएको र उसका भाइ तथा बाउ आदिलाई लडाईंमा प्रत्यक्ष रुँदै देख्यो र फोहराको जल माथि चढ्दै गरेको देख्यो वा सुन्यो त्यसको संस्कार उसको आत्मामा हुन्छ । जब यो जागृतको पदार्थदेखि अलग भएर हेर्दछ; तब आफ्नो आत्मामा उनै पदार्थहरूको, जसलाई देखेको सुनेको थियो, देख्दछ । जब आफूमा नै देख्दछ तब जान्नु आफ्नो शिर काटिएको, आफै रोएको र माथि जाँदै गरेको जलको धारालाई देख्दछ । यो पनि वस्तुमा अवस्तुको आरोपणकै सदृश होइन, किन्तु जसरी नक्शा बनाउने वालाले पूर्व दृष्ट, श्रुत वा गरिएकाहरूलाई आत्मादेखि निकालेर कागजमा लेखिदिन्छ अथवा प्रतिबिम्बलाई उतार्नेवाला बिम्बलाई देखेर, आत्मामा आकृतिलाई बसाएर, बराबर लेखेर दिन्छ ।
हो ! यति त हो कि कहिलेकाहिं स्वप्नमा स्मरणयुक्त प्रतीति जस्तो कि आफ्नो अध्यापकलाई देख्दछ र कहिले धेरै काल देख्नाले र सुन्नाले अतीतको ज्ञानलाई साक्षात्कार गर्दछ, तब स्मरण रहँदैन कि जुन मैले त्यस समयमा देखें, सुनें वा गरेको थिएँ त्यसैलाई देख्छु, सुन्छु वा गर्दछु । जस्तो जागृतमा त्यसले स्मरण गर्दछ, त्यस्तो स्वप्नमा नियमपूर्वक हुँदैन । हेर ! जन्मान्धलाई रूपको स्वप्न आउँदैन । त्यसैले तिम्रो अध्यास र आरोपको लक्षण झुट्टो हो, र जो वेदान्तीहरू ‘विवर्त्तवाद’ अर्थात् रस्सीमा सर्पादिको भान हुनुको दृष्टान्त, ब्रह्ममा जगत्को भान हुनमा दिन्छन्, त्यो पनि ठीक होइन ।
नवीन वेदान्ती— अधिष्ठानको बिना अध्यस्त प्रतीत हुँदैन । जस्तै रस्सी नभएमा त सर्पको पनि भान हुन सक्दैन । जसरी रस्सीमा सर्प तीनै कालमा हुँदैन परन्तु अन्धकार, केही प्रकाशको मेलमा अकस्मात् रस्सीलाई देख्नाले सर्पको भ्रम भएर काँप्दछ । जब त्यसलाई दीप आदिले हेर्दछ, उत्निखेरै भ्रम र भय निवृत्त हुन जान्छ । त्यसरी नै ब्रह्ममा जुन जगत्को मिथ्या प्रतीति भएको छ, त्यसको निवृत्ति र ब्रह्मको प्रतीति, जस्तो कि सर्पको निवृत्ति र रस्सीको प्रतीति हुनेगर्दछ ।
सिद्धान्ती— यी वेदान्तीहरूसँग सोध्नुपर्दछ कि ब्रह्ममा जगत्को भान कसलाई भयो ?
नवीन वेदान्ती— जीवलाई ।
सिद्धान्ती— जीव कहाँबाट भयो ?
नवीन वेदान्ती— अज्ञानबाट ।
सिद्धान्ती— अज्ञान कहाँबाट भयो र कहाँ रहन्छ ?
नवीन वेदान्ती— अज्ञान अनादि र ब्रह्ममा रहन्छ ।
सिद्धान्ती— ब्रह्ममा ब्रह्मको अज्ञान भयो वा कुनै अन्यको ? र त्यो अज्ञान कसलाई भयो ?
नवीन वेदान्ती— चिदाभासलाई ।
सिद्धान्ती— चिदाभासको स्वरूप के हो ?
नवीन वेदान्ती— ब्रह्म । ब्रह्मलाई ब्रह्मको अज्ञान अर्थात् आफ्नो स्वरूपलाई आफैले नै भुल्दछ ।
सिद्धान्ती— उसले भुल्नमा निमित्त के छ ?
नवीन वेदान्ती— अविद्या ।
सिद्धान्ती— अविद्या सर्वव्यापी सर्वज्ञको गुण हो कि अल्पज्ञको ?
नवीन वेदान्ती— अल्पज्ञको ।
सिद्धान्ती— जुन तिम्रो मतमा बिना एक अनन्त सर्वज्ञ चेतनको बाहेक दोस्रो कुनै चेतन छ कि छैन ? अल्पज्ञ कहाँबाट आयो ? हो, जुन अल्पज्ञ चेतन चाहिं ब्रह्मदेखि भिन्न मान्दछौ भने त ठीक हो । जब एक ठेगानामा ब्रह्मलाई आफ्नो स्वरूपको अज्ञान हुन्छ भने त सर्वत्र उसलाई अज्ञान फैलन जानेछ । जसरी शरीरमा पिलोको पीडाले सबै शरीरभरिका अवयवहरूलाई निकम्मा गराइदिन्छ, यसै प्रकार ब्रह्म पनि एकदेशमा अज्ञानी र क्लेशयुक्त हुन्छ भने त सबै ब्रह्म अज्ञानी र पीडाको अनुभवयुक्त हुन जान्छ ।
नवीन वेदान्ती— यो सबै उपाधिको कर्म हो, ब्रह्मको होइन ।
सिद्धान्ती— उपाधि जड हो कि चेतन ? र सत्य हो कि असत्य ?
नवीन वेदान्ती— अनिर्वचनीय छ । अर्थात् जसलाई जड हो कि चेतन, सत्य वा असत्य भन्न सकिंदैन ।
सिद्धान्ती— यो तिमीले भन्नु ‘वदतो व्याघातः’ कै तुल्य छ किनभने भन्दछौ अविद्या छ जसलाई जड, चेतन, सत्, असत् भन्न सकिंदैन । यो त यस्तो कुरो भयो कि जस्तै सुनमा पित्तल मिलेको हुन्छ, त्यसलाई सुँदारकहाँ लगेर परीक्षा गराओस् कि सुन हो कि पित्तल । तब यही भन्नेछ कि यसलाई हामीले न त सुन न त पित्तलै भन्न सक्दछौं किन्तु यसमा दुइटै धातु मिसिएको छ ।
नवीन वेदान्ती— हेर ! जसरी घटाकाश, मठाकाश, मेघाकाश र महदाकाशोपाधि अर्थात् घडा, घर र मेघको हुनाले भिन्न-भिन्न प्रतीत हुन्छ, वास्तवमा महदाकाश नै हो; यसरी नै माया, अविद्या, समष्टि, व्यष्टि र अन्तःकरणहरूको उपाधिहरूबाट ब्रह्म अज्ञानीहरूलाई पृथक्-पृथक् प्रतीत भैरहेको छ; वास्तवमा एक नै हो । हेर ! अग्रिम प्रमाणमा के भनेको छ—
अग्निर्यथैको भुवनं प्रविष्टो रूपं रूपं प्रतिरूपो बभूव ।
एकस्तथा सर्वभूतान्तरात्मा रूपं रूपं प्रतिरूपो बहिश्च ॥
—कठोपनिषद् (वल्ली ५/मन्त्र ९) ॥
जसरी अग्नि लामो, चौडा, गोलो, सानो, ठूलो पदार्थहरूमा व्यापक भएर तदाकार देखिन्छ र ती आकृतिवाला पदार्थहरूदेखि पृथक् हुन्छ, त्यसरी नै सर्वव्यापक परमात्मा अन्तःकरणहरूमा व्यापक भएर अन्तःकरणाऽऽकार भैरहेको छ परन्तु ती देखि अलग छ ।
सिद्धान्ती— यो पनि तिमीले भनेको व्यर्थ हो । किनभने जसरी घट, मठ, मेघहरूलाई पृथक् मान्दछौ र आकाशलाई भिन्न मान्दछौ, त्यसरी नै कारणकार्यरूप जगत् र जीवलाई ब्रह्मदेखि र ब्रह्मलाई यिनीहरूदेखि भिन्न मान ?
नवीन वेदान्ती— जसरी अग्नि सबैमा प्रविष्ट भएर देख्नमा तदाकार रहन्छ, यसै प्रकार परमात्मा जड र जीवमा व्यापक भएर जड र जीवाकारयुक्त अज्ञानीहरूलाई देखिन्छ । वास्तवमा ब्रह्म न त जड न त जीव हो । जसरी हजार जलका भुँड्का राखिएको हुन्छ, तिनमा सूर्यको हजार प्रतिबिम्ब देखिन्छ, वस्तुतः सूर्य एउटै हुन्छ । भुँड्काहरू नष्ट हुँदामा, जल चल्नाले वा फैलनाले सूर्य नष्ट हुँदैन, न त चल्छ न त फैलन्छ; यसै प्रकार अन्तःकरणहरूमा ब्रह्मको आभास जसलाई चिदाभास भन्दछन्, परेको छ । जबसम्म अन्तःकरण हुन्छ, तबसम्म जीव हुन्छ । जबसम्म अन्तःकरण ज्ञानबाट नष्ट हुन्छ तब जीव ब्रह्मस्वरूप हुन्छ, यस चिदाभासलाई आफ्नो ब्रह्मस्वरूपको अज्ञान-कर्ता-भोक्ता, सुखी-दुःखी, पापी-पुण्यात्मा, जन्म-मरण आफूमा आरोपित गर्दछ— तबसम्म संसारका बन्धनहरूबाट छुट्दैन ।
सिद्धान्ती— यो दृष्टान्त तिम्रो व्यर्थ छ । किनभने सूर्य आकारवाला, जलका भुँड्का पनि आकारवाला हुन् । सूर्य जल-भुँड्कादेखि भिन्न र जल-भुँड्का सूर्यदेखि भिन्न हुन्, तब नै प्रतिबिम्ब पर्दछ । यदि निराकार हुन्थे भने त तिनीहरूको प्रतिबिम्ब कहिल्यै हुन्थेन । साथै जसरी परमेश्वर निराकार, सर्वत्र आकाशवत् व्यापक हुनाले ब्रह्मदेखि कुनै पदार्थ वा पदार्थदेखि ब्रह्म पृथक् हुन सक्दैन र व्याप्यव्यापक सम्बन्धले एक पनि हुन सक्दैनन् । अर्थात् अन्वयव्यतिरेकभावबाट हेर्नाले व्याप्यव्यापक मिलेका र सदा पृथक रहन्छन् । यदि एक हुन्थे भने त आफूमा व्याप्यव्यापकभाव सम्बन्ध कहिल्यै घट्न सक्दैन । सो बृहदारण्यकको अन्तर्यामी ब्राह्मण (अ.३/ब्रा.७/कं.३-२३) मा स्पष्ट लेखिएको छ । र ब्रह्मको आभास पनि हुन सक्दैन, किनभने बिना आकारको आभास हुन असम्भव छ ।
जुन अन्तःकरणोपाधिबाट ब्रह्मलाई जीव मान्दछौ, सो तिम्रो कुरो बालकको समान छ, किनभने अन्तःकरण चलायमान, खण्ड-खण्ड र ब्रह्म अचल र अखण्ड छ । यदि तिमी ब्रह्म र जीवलाई पृथक्-पृथक् मान्दैनौ भने त यसको उत्तर देऊ कि जहाँ-जहाँ अन्तःकरण चल्दै जानेछ, त्यहाँ-त्यहाँको ब्रह्म अज्ञानी र जुन-जुन देशलाई छोड्नेछ, त्यहाँको ब्रह्म ज्ञानी हुँदै जान्छ कि जाँदैन ? जसरी छाता प्रकाशको बीचमा जहाँ-जहाँ जान्छ त्यहाँको प्रकाश आवरणयुक्त र जहाँ-जहाँबाट हट्दछ त्यहाँ-त्यहाँको प्रकाश आवरणरहित हुन्छ, त्यसरी नै अन्तःकरण ब्रह्मलाई क्षण-क्षणमा ज्ञानी, अज्ञानी, बुद्ध, मुक्त गर्दै जानेछ । अखण्ड ब्रह्मको एकदेशमा आवरणको प्रभाव सर्वदेशमा हुनाले सबै ब्रह्म अज्ञानी हुन जानेछ, किनभने त्यो चेतन हो ।
र मथुरामा अन्तःकरणस्थ जुन ब्रह्मले जुन वस्तु देख्यो त्यसको स्मरण उसै अन्तःकरणस्थले काशीमा हुन सक्दैन । किनभने—
‘अन्यदृष्टमन्यो न स्मरतीति न्यायात्’ ॥ —योगदर्शन (विभूतिपाद सूत्र १४ व्यासभाष्य) ॥
एउटाले देखेको स्मरण अर्कैलाई हुँदैन । जुन चिदाभासले मथुरामा देख्यो त्यही चिदाभास काशीमा रहँदैन, किन्तु जुन मथुरास्थ अन्तःकरणको प्रकाशक हो, त्यो काशीस्थ ब्रह्म हुँदैन । यदि ब्रह्म नै जीव हो, पृथक् होइन भने त; सबै जीव सर्वज्ञ हुनुपर्दछ । यदि ब्रह्मको प्रतिबिम्ब पृथक् हो भने त ‘प्रत्यभिज्ञा’ अर्थात् पूर्व दृष्ट, श्रुतको ज्ञान कसैलाई हुनसक्ने छैन । यदि भन्दछौ कि ब्रह्म एक हो त्यसैले स्मरण हुन्छ भने त, एक ठेगाना अज्ञानको दुःख हुनाले सबै ब्रह्मलाई अज्ञान वा दुःख हुनुपर्दछ हैन त । र यस्ता दृष्टान्तहरूले नित्य-शुद्ध-बुद्ध ब्रह्मलाई तिमीले अशुद्ध, अज्ञानी र बद्ध गरिदिएका छौ, र अखण्डलाई खण्ड गरिदियौ ।
नवीन वेदान्ती— निराकारको पनि आभास हुन्छ, जस्तै कि दर्पण वा जलादिमा आकाशको आभास पर्दछ । त्यो नीलो अथवा कुनै अन्य प्रकारले गम्भीर गहिरो देखिन्छ, ब्रह्मको पनि सबै अन्तःकरणहरूमा आभास पर्दछ ।
सिद्धान्ती— जब आकाशमा रूप नै छैन भने त त्यसलाई आँखाले कसैले पनि देख्न सक्दैन । जुन पदार्थ देखिंदैन, त्यो दर्पण र जलादिमा कसरी देखिन्छ ? गहिरो वा घुर्मैलो साकार वस्तु देखिन्छ, निराकार होइन ।
नवीन वेदान्ती— त्यसो हो त फेरि जुन यो माथि नीलोजस्तो देखिन्छ, त्यही आदर्श वा जलमा भान हुन्छ, त्यो के पदार्थ हो ?
सिद्धान्ती— त्यो पृथ्वीदेखि उडेको जलका कण, पृथ्वी र अग्निको त्रसरेणु हो । जहाँबाट वर्षा हुन्छ, त्यहाँ जल नभए त वर्षा कहाँबाट हुने ? यसैले जुन दूर-दूर त्रिपालको समान देखिन्छ, त्यो जलको चक्रको हो । जसरी कुहिरो टाढाबाट घनाकार देखिन्छ र निकटबाट पातलो र सेतोजस्तो पनि देखिन्छ, त्यस्तै आकाशमा जल देखिन्छ ।
नवीन वेदान्ती— के हाम्रा रस्सी, सर्प र स्वप्नादिको दृष्टान्त मिथ्या हुन् त ?
सिद्धान्ती— होइन । तिम्रो समझ मिथ्या हो, सो मैले पूर्व लेखिसकें । मात्र यति भन कि प्रथम अज्ञान कसलाई हुन्छ ?
नवीन वेदान्ती— ब्रह्मलाई ।
सिद्धान्ती— ब्रह्म अल्पज्ञ हो कि सर्वज्ञ ?
नवीन वेदान्ती— न सर्वज्ञ र न त अल्पज्ञ । किनभने सर्वज्ञता र अल्पज्ञता उपाधिसहितमा हुन्छ ।
सिद्धान्ती— उपाधिदेखि सहित को हो ?
नवीन वेदान्ती— ब्रह्म ।
सिद्धान्ती— त ब्रह्म नै सर्वज्ञ र अल्पज्ञ भयो । त्यसो भए तिमीले सर्वज्ञ र अल्पज्ञलाई किन निषेध गरेका थियौ ? यदि भन्दछौ कि उपाधि कल्पित अर्थात् मिथ्या हो भने त ‘कल्पक’ अर्थात् कल्पना गर्नेवाला को हो ?
नवीन वेदान्ती— जीव ब्रह्म हो कि अन्य ?
सिद्धान्ती— अन्य हो । किनभने यदि ब्रह्मस्वरूप हो भने त जसले मिथ्या कल्पना गर्यो त्यो ब्रह्म नै हुन सक्दैन । जसको कल्पना मिथ्या छ, त्यो साँचो कहिले हुन सक्दछ र ?
नवीन वेदान्ती— हामीले सत्य र असत्यलाई झुटो मान्दछौं र वाणीले बोल्नु पनि मिथ्या नै हो ।
सिद्धान्ती— जब तिमी झुटो बोल्ने र मान्नेवाला हौ भने त झुट्टे किन होइनौ ?
नवीन वेदान्ती— हो, झुटो र साँचो हामीमा नै कल्पित छन् र हामी दुइटाको साक्षी अधिष्ठान हौं ।
सिद्धान्ती— जब तिमी साँचो र झुटोको आधार भयौ भने त साहूकार र चोर कै सदृश तिमी भयौ । यसबाट तिमी प्रामाणिक पनि रहेनौ । किनभने प्रामाणिक त्यो हुन्छ, जसले सर्वदा सत्य मान्दछ, सत्य बोल्दछ, सत्य गर्दछ; झुट मान्दैन, झुट बोल्दैन, झुटो गर्दैन । जब तिमी आफ्नो कुरालाई आफैले झुट्टो गर्दछौ भने त तिमी अनाप्त मिथ्यावादी हौ ।
नवीन वेदान्ती— अनादि माया जुन कि ब्रह्मको आश्रय र ब्रह्मकै आवरण गर्दछ, त्यसलाई मान्दछौ कि मान्दैनौ ?
सिद्धान्ती— मान्दैनौं । किनभने तिमीले मायाको अर्थ यस्तो गर्दछौ कि जुन वस्तु छैन र भास्दछ भने त, यस कुरालाई त्यसले मान्दछ जसको हृदयको आँखो फुटेको छ । किनभने जुन वस्तु छँदैछैन त्यसको भासमान हुनु सर्वथा असम्भव छ, जसरी बन्ध्याको पुत्रको प्रतिबिम्ब कहिल्यै पनि हुन सक्दैन । र यो ‘सन्मूलाः सोम्येमाः प्रजाः’ (प्रपा.६/खं.८/प्रवाक ४) इत्यादि छान्दोग्य उपनिषद्को वचनदेखि विरुद्ध भन्दछौ ?
नवीन वेदान्ती— के तिमी वसिष्ठ, शङ्कराचार्य आदि र निश्चलदास पर्यन्त भन्दा पनि ठूला पण्डित हौ, उनीहरूले जे लेखेका छन्, विचार गरेर लेखेका छन् ? उनीहरू तिमीभन्दा धेरै ठूला पण्डित थिए ।
सिद्धान्ती— तिमीले के देख्छौ ?
नवीन वेदान्ती— मैले त वसिष्ठ, शङ्कराचार्य र निश्चलदास आदिलाई अधिक देख्छु ।
सिद्धान्ती— तिमी विद्वान् हौ कि अविद्वान् ।
नवीन वेदान्ती— म पनि केही विद्वान् छु ।
सिद्धान्ती— त्यसो भए आऊ वसिष्ठ, शङ्कराचार्य आदि र निश्चलदासको पक्षलाई हाम्रो सामुन्ने स्थापना गर, हामी खण्डन गर्दछौं । जसको पक्ष सिद्ध हुन्छ त्यही ठूलो हुनेछ । यदि उनीहरूतिर तिम्रो कुरो अखण्डनीय हुन्थ्यो भने त तिमी उनीहरूका युक्तिहरू लिएर हाम्रो कुराको खण्डन किन गर्न सक्देनौ ? तब नै तिम्रो र उनीहरूको कुरो माननीय हुनेछ । अनुमान छ कि शङ्कराचार्य आदिले त जैन मतको खण्डन गर्नको लागि नै यो मत स्वीकार गरेका हुन् कि, किनभने देश-कालको अनुकूल आफ्नो पक्षलाई सिद्ध गर्नको लागि थुप्रै स्वार्थी विद्वान् आफ्नो आत्माको ज्ञानको विरुद्ध पनि गर्ने गर्दछन् । र जुन यी कुराहरूलाई अर्थात् जीव ईश्वरको एकता, जगत् मिथ्या आदि व्यवहार साँचो नै मान्दथे भने त उनीहरूको कुरा साँचो हुन सक्दैन ।
र निश्चलदासको पाण्डित्य हेर यस्तो छ ‘जीवो ब्रह्माऽभिन्नश्चेतन-त्वात्’ ‘वृत्तिप्रभाकर’ (२/९) मा जीव ब्रह्मको एकताको लागि अनुमान लेखेका छन् कि ‘चेतन हुनाले जीव ब्रह्मदेखि अलग हो’ । यो एकदमै थोरै समझ भएको पुरुषको सदृश कुरो हो । किनभने साधर्म्यमात्रले एक दोस्राको साथ एकता हुँदैन, वैधर्म्य भेदक हुन्छ । जस्तै कसैले भन्दछ कि ‘पृथिवी जलाऽभिन्ना जडत्वात्’ ‘जड हुनाले पृथ्वी जलदेखि अभिन्न छ ।’ जसरी यो वाक्य सङ्गत कहिल्यै हुन सक्दैन, त्यसरी नै निश्चलदासजीको पनि लक्षण व्यर्थ हो । किनभने जुन अल्प, अल्पज्ञता र भ्रान्तिमत्त्वादि धर्म जीवमा ब्रह्मबाट र सर्वगत, सर्वज्ञता र निर्भ्रान्तित्वादि वैधर्म्य ब्रह्ममा जीवदेखि विरुद्ध छ, त्यसैले जीव र ब्रह्म भिन्न-भिन्न हुन् । जसरी गन्धवत्त्व, कठिनत्व आदि भूमिको धर्म, रसवत्त्व, द्रवत्वादि जलको धर्मदेखि विरुद्ध हुनाले पृथ्वी र जल एक होइन, त्यसरी जीव र ब्रह्मको वैधर्म्य हुनाले जीव र ब्रह्म न कहिल्यै एक थिए, न छन् र न कहिल्यै हुनेछन् । यतिबाट नै निश्चलदासादिलाई बुझ्नुहोस् कि उनीहरूमा कति चाहिं पाण्डित्य थियो ।
र जसले योगवासिष्ठ बनाएको हो, त्यो कुनै आधुनिक वेदान्ती थियो; न वाल्मीकि, न वसिष्ठजी र न त रामचन्द्रले बनाएका वा भनेको नै सुनिएको छ । किनभने उनीहरू सबै वेदानुयायी थिए । वेददेखि विरुद्ध बनाउन सक्दैनथे र न त भन्न सुन्न नै सक्दथे ।
प्रश्न— व्यासजीले जुन शारीरक सूत्र बनाउनुभएको छ, त्यसमा पनि जीव ब्रह्मको एकता देखिन्छ ? हेर—
सम्पद्याऽऽविर्भावः स्वेन शब्दात् ॥१॥
ब्राह्मेण जैमिनिरुपन्यासादिभ्यः ॥२॥ चितितन्मात्रेण तदात्मकत्वादित्यौडुलौमिः ॥३॥
एवमप्युपन्यासात् पूर्वभावादविरोधं वादरायणः ॥४॥ अत एव चानन्याधिपतिः ॥५॥
—वेदान्तशास्त्र (अध्याय ४/पाद ५/सूत्र १, ५-७, ९) ॥
अर्थ— जीव आफ्नो स्व-रूपलाई प्राप्त भएर प्रकट हुन्छ जुन कि पूर्व ब्रह्मस्वरूप थियो, किनभने ‘स्व’ शब्दबाट आफ्नो ब्रह्मस्वरूपको ग्रहण हुन्छ ॥१॥ ‘अयमात्मा अपहतपाप्मा’ [तुलना— छां.उप.(८/७/१)] इत्यादि ‘उपन्यास’ ऐश्वर्यप्राप्ति पर्यन्त हेतुहरूबाट जीव स्थित हुन्छ, यस्तो जैमिनि आचार्यको मत छ ॥२॥ र औडुलोमि आचार्य तदात्मकस्वरूप-निरूपणादि बृहदारण्यक [(३/७/३-२३); (४/५/१३)] को हेतुरूपका वचनहरूले चैतन्यमात्र स्वरूपबाट जीव मुक्तिमा स्थित रहन्छ ॥३॥ व्यासजी यिनै पूर्वोक्त उपन्यासादि ऐश्वर्यप्राप्तिरूप हेतुहरूबाट जीवको ब्रह्मस्वरूप हुनमा अविरोध मान्नुहुन्छ ॥४॥ योगी ऐश्वर्यसहित आफ्नो ब्रह्मस्वरूपलाई प्राप्त भएर ‘अन्य अधिपतिदेखि रहित’ अर्थात् स्वयं आफू, आफ्नो र सबैको अधिपतिरूप ब्रह्मस्वरूपबाट मुक्तिमा स्थित रहन्छ ॥४॥
उत्तर— यी सूत्रहरूको अर्थ त्यस्तो प्रकारको होइन, किन्तु यिनका यथार्थ अर्थ यो हो कि, सुन्नुहोस् ! जबसम्म जीव आफ्नो स्वकीय शुद्धस्वरूलाई प्राप्त, सबै मलहरूदेखि रहित भएर पवित्र हुँदैन, तबसम्म योगले ऐश्वर्यलाई प्राप्त गरेर आफ्नो अन्तर्यामी ब्रह्मलाई प्राप्त गर्दै आनन्दमा स्थित हुन सक्दैन ॥१॥ यसै प्रकार जब पापादिरहित ऐश्वर्ययुक्त योगी हुन्छ तब नै ब्रह्मको साथ मुक्तिको आनन्दलाई भोग्न सक्दछ, यस्तो जैमिनि आचार्यको मत छ ॥२॥ जब अविद्यादि दोषहरूबाट छुटेर शुद्ध चैतन्यमात्र स्वरूपले जीव स्थिर हुन्छ तब नै ‘तदात्मकत्व’ अर्थात् ब्रह्मस्वरूपको साथ सम्बन्धलाई प्राप्त गर्दछ (यस्तो औडुलोमि आचार्यको मत छ) ॥३॥ जब ब्रह्मको साथ ऐश्वर्य र शुद्ध विज्ञानलाई जितेर नै जीवनमुक्त हुन्छ, तब आफ्नो निर्मलज पूर्व स्वरूपलाई प्राप्त गरेर आनन्दित हुन्छ यस्तो व्यासमुनिको मत छ ॥४॥ जब योगीको सत्य सङ्कल्प हुन्छ तब स्वयं परमेश्वरलाई प्राप्त गरेर मुक्तिसुखलाई पाउँछ । वहाँ स्वाधीन स्वतन्त्र रहन्छ । जसरी संसारमा एक प्रधान अर्को अप्रधान हुने गर्दछ, त्यस्तो मुक्तिमा हुँदैन । किन्तु सबै मुक्त जीव एकजस्तै रहन्छन् ॥५॥ यदि यस्तो हुँदैन भने त—
नेतरोनुपपत्तेः ॥१॥ भेदव्यपदेशाच्च ॥२॥
—वेदान्तसूत्र (अध्याय १/पाद १/सूत्र १६-१७) ॥
विशेषणभेदव्यपदेशाभ्यां च नेतरौ ॥३॥ —वेदान्तसूत्र (अध्याय १/पाद २/सूत्र २२) ॥
अस्मिन्नस्य च तद्योगं शास्ति ॥४॥ —वेदान्तसूत्र (अध्याय १/पाद १/सूत्र १९) ॥
अन्तस्तद्धर्मोपदेशात् ॥५॥ भेदव्यपदेशाच्चान्यः ॥६॥
—वेदान्तसूत्र (अध्याय १/पाद १/सूत्र २०, २१,) ॥
गुहां प्रविष्टावात्मानौ हि तद्दर्शनात् ॥७॥ —वेदान्तसूत्र (अध्याय १/पाद २/सूत्र ११) ॥
अनुपपत्तेस्तु न शारीरः ॥८॥ —वेदान्तसूत्र (अध्याय १/पाद २/सूत्र ३) ॥
अन्तर्याम्याधिदैवादिषु तद्धर्मव्यपदेशात् ॥९॥
—वेदान्तसूत्र (अध्याय १/पाद २/सूत्र १८) ॥
शारीरश्चोभयेऽपि हि भेदेनैनमधीयते ॥१०॥
—वेदान्तसूत्र (अध्याय १/पाद २/सूत्र २०) ॥
अर्थ— ब्रह्मदेखि इतर जीव सृष्टिकर्ता होइन । किनभने यस अल्पज्ञ अल्पसामर्थ्यवाला जीवमा सृष्टिकर्तृत्व घट्न सक्दैन, यसैले जीव ब्रह्म होइन ॥१॥
‘रसं ह्ये वायं लब्ध्वानन्दी भवति’ [तैत्तिरीयोपनिषद् (ब्रह्मानन्दवल्ली/अनुवाक ७)] यो उपनिषद्को वचनको ।
जीव र ब्रह्म भिन्न हुन्, किनभने यी दुइटैका भेद प्रतिपादन गरिएको छ । यदि यस्तो हुन्थेन भने त ‘रस’ अर्थात् आनन्दस्वरूप ब्रह्मलाई प्राप्त गरेर जीव आनन्दस्वरूप हुन्छ, यो प्राप्तिविषय ब्रह्म र प्राप्त हुनेवाला जीवको निरूपण घट्न सक्दैन, यसैले जीव र ब्रह्म एक होइन ॥२॥
दिव्यो ह्यमूर्त्तः पुरुषः स बाह्याभ्यन्तरो ह्यजः । अप्राणो ह्यमनाः शुभ्रो ह्यक्षरात्परतः परः ॥
—मुण्डकोपनिषद् (मुण्डक २/खण्ड १/मन्त्र २) ॥
‘दिव्य’ शुद्ध, मूर्तिमत्त्वरहित, सबैमा पूर्ण, बाहिर-भित्र निरन्तर व्यापक, ‘अज’ जन्म-मरण-शरीरधारणादि रहित, श्वास-प्रश्वास, शरीर र मनको सम्बन्धदेखि रहित, प्रकाशस्वरूप इत्यादि परमात्माको विशेषण; र ‘अक्षर’ नाशरहित प्रकृतिदेखि पर अर्थात् सूक्ष्म जीव, त्यसदेखि पनि परमेश्वर पर अर्थात् ब्रह्म सूक्ष्म छ । प्रकृति र जीवहरूदेखि ब्रह्मको भेद प्रतिपादनरूप हेतुबाट प्रकृति र जीवदेखि ब्रह्म भिन्न छ ॥३॥
यसै सर्वव्यापक ब्रह्ममा जीवको योग वा जीवमा ब्रह्मको योग प्रतिपादन गर्नाले जीव र ब्रह्म भिन्न हुन्छ, किनभने योग भिन्न पदार्थहरूको हुने गर्दछ ॥४॥ यस ब्रह्मको अन्तर्यामी आदि धर्म कथन गरिएको छ र जीवको भित्र व्यापक हुनाले व्याप्य जीव व्यापक ब्रह्मदेखि भिन्न हुन्छ, किनभने व्याप्यव्यापक सम्बन्ध पनि भेदमा संघटित हुन्छ ॥५॥ जसरी परमात्मा जीवदेखि भिन्नस्वरूप छ, त्यसरी नै इन्द्रिय, अन्तःकरण, पृथ्वी आदि भूत, दिशा, वायु, सूर्यादि दिव्यगुणहरूको योगले देवतावाच्य विद्वान्हरूदेखि पनि परमात्मा भिन्न छ ॥६॥
‘गुहां प्रविष्टौ सुकृतस्य लोके’ [तुलना- कठोपनिषद् (अ.१/३/१)] इत्यादि उपनिषद्हरूका वचनबाट जीव र परमात्मा भिन्न हो । त्यसरी नै उपनिषद्हरूका थुप्रै ठाउँमा देखाइएको छ ॥७॥
‘शरीरे भवः शारीरः’— शरीरधारी जीव ब्रह्म होइन, किनभने ब्रह्मका गुण, कर्म, स्वभाव जीवमा घट्दैनन् ॥८॥
(अधिदैव) सबै दिव्य मन आदि इन्द्रियादि पदार्थहरू (अधिभूत) पृथिव्यादि भूत (अध्यात्म) सबै जीवहरूमा परमात्मा अन्तर्यामी रूपबाट स्थित छ, किनभने उसै परमात्माको व्यापकत्वादि धर्म सर्वत्र उपनिषदहरूमा व्याख्यात छन् ॥९॥
शरीरधारी जीव ब्रह्म होइन, किनभने ब्रह्मदेखि जीवको भेद स्वरूपबाटै सिद्ध छ ॥१०॥ इत्यादि शारीरक सूत्रले पनि स्वरूपदेखि ब्रह्म र जीवको भेद सिद्ध हुन्छ ।
त्यसरी नै वेदान्तीहरूका उपक्रम र उपसंहार पनि घट्न सक्दैन, किनभने ‘उपक्रम’ अर्थात् आरम्भ ब्रह्मबाट र ‘उपसंसार’ अर्थात् प्रलय पनि ब्रह्ममा नै गर्दछन् । जब दोस्रो कुनै वस्तु मान्दैनन् भने त उत्पत्ति र प्रलय पनि ब्रह्मको धर्म हुन जान्छन् । र उत्पत्ति विनाशरहित ब्रह्मको प्रतिपादन वेदादि सत्यशास्त्रहरूमा गरिएको छ, त्यसले नवीन वेदान्तीहरूमाथि कोप गर्नेछ । किनभने निर्विकार, अपरिणामी, शुद्ध, सनातन, निर्भ्रान्तित्वादि विशेषणयुक्त ब्रह्ममा विकार, उत्पत्ति र अज्ञान आदिको सम्भव कुनै प्रकारले हुन सक्दैन । तथा उपसंहार (प्रलय) को हुँदा पनि ब्रह्म, कारणात्मक जड र जीव बराबर बनिराख्दछन् । यसैले उपक्रम र उपसंहार पनि यी वेदान्तीहरूको ठीक होइन । यसै प्रकारका यी नवीन वेदान्तीहरूका कल्पना भुट्टा हुन् । यस्ता अन्य धेरै अशुद्ध कुराहरू छन् कि जुन शास्त्र र प्रत्यक्षादि प्रमाणहरूदेखि विरुद्ध छन् ।
यसको पश्चात् केही जैनीहरू र केही शङ्कराचार्यका अनुयायीहरूका उपदेशको संस्कार आर्यावर्त्तमा फैलिएको थियो र आपसमा खण्डन-मण्डन पनि चल्दथ्यो । शङ्कराचार्यको तीन सय वर्षको पश्चात् उज्जैन नगरीमा विक्रमादित्य राजा केही प्रतापी भए, जसले सबै राजाहरूको मध्य प्रवृत्त भएको लडाईंलाई मेटाएर शान्ति स्थापना गरे । तत्पश्चात् भर्तृहरि राजा काव्यादि-शास्त्र र अन्यमा पनि केही-केही विद्वान भए, उनले वैराग्यवान् भएर राज्यलाई छोडिदिए । विक्रमादित्यको पाँच सय वर्षको पश्चात्मा राजा भोज भए । उनले थोरै व्याकरण र काव्यालङ्करादिको यति प्रचार गरे कि त्यसको प्रभावले उनको राज्यमा कालिदास जस्तो बाख्रा गोठालो पनि ‘रघुवंश’ काव्यको कर्ता बने । राजा ‘भोज’ जो कसैले राम्रो श्लोक बनाएर लैजान्थे भने त त्यसलाई थुप्रै धन दिएर प्रतिष्ठा गर्दथे । उनीपछाडिका राजाहरू र श्रीमान्हरूले त पढ्न नै छोडिदिए ।
भस्म, रुद्राक्ष, तिलक, माला, कण्ठी आदिको समीक्षा (११.६)
यद्यपि शङ्कराचार्यजीको पूर्व, वाममार्गीहरूको पश्चात् शैव आदि सम्प्रदायस्थ मतवादी पनि देखा परेका थिए, परन्तु तिनीहरूलाई बढी बल मिल्न सकेको थिएन । महाराजा विक्रमादित्यदेखि लिएर शैवहरूको बल बढ्दै आयो । शैवहरूमा पाशुपतादि थुप्रै शाखाहरू पनि भएका थिए, जसरी वाममार्गीहरूमा दश महाविद्यादिका शाखाहरू छन् । मान्छेहरूले शङ्कराचार्यलाई शिवको अवतार माने । उनका अनुयायी संन्यासीहरू पनि शैवमतमा प्रवृत्त हुन गए र वाममार्गीहरूसँग पनि मिल्दै राखे । वाममार्गी— ‘देवी’ जुन शिवकी पत्नी हुन् उनका उपासकहरू, र शैव ‘महादेव’ का उपासकहरू भए । यी दुवैले रुद्राक्ष र भस्मलाई अद्यावधि धारण गर्दछन्, परन्तु जति वाममार्गी वेदविरोधी छन्, त्यति शैव वेदविरोधी छैनन् । यिनीहरूले—
धिग् धिग् कपालं भस्मरुद्राक्षविहीनम् ॥१॥
रुद्राक्षान् कण्ठदेशे दशनपरिमितान्मस्तके विंशती द्वे,
षट् षट् कर्णप्रदेशे करयुगलगतान् द्वादशान्द्वादशैव ।
बाह्वोरिन्दोः कलाभिः पृथगिति गदितमेकमेवं शिखायाम्,
वक्षस्यष्टाऽधिकं यः कलयति शतकं स स्वयं नीलकण्ठः ॥२॥
—तुलना [शिवपुराण (विद्येश्वर संहिता १/अध्याय २५/श्लोक ३७-३८)] ॥
इत्यादि थुप्रै प्रकारका श्लोकहरू बनाए र भन्न थाले कि जसको निधारमा भस्म र कण्ठमा रुद्राक्ष हुँदैन भने त, त्यसलाई धिक्कार छ । ‘तं त्यजेदन्त्यजं यथा’ [तुलना– शिवपुराण (विद्येश्वर संहिता १/अध्याय २३/श्लोक १३)] त्यसलाई चाण्डालकै तुल्य त्याग गरिदिनु पर्दछ ॥१॥ जसले कण्ठमा ३२, शिरमा ४०, कानहरूमा ६-६, करमा १२-१२, भुजामा १६-१६, शिखामा १ र हृदयमा १०८ रुद्राक्ष धारण गर्दछ, त्यो साक्षात् महादेवको सदृश हो ॥२॥ यस्तै शाक्तहरूले पनि मान्दछन् ।
पश्चात् यी वाममार्गीहरू र शैवमार्गीहरूले सम्मति गरेर भग-लिङ्गको स्थापना गरे, जसलाई जलाधारी र शिवलिङ्ग भन्दछन् र त्यसको पूजा गर्न थाले । ती निर्लज्जहरूलाई लज्जा पनि आएन कि यो पामरपनको अर्थात् शर्मको काम हामीले किन गर्दैछौं ? कुनै कविले भनेका छन् कि ‘स्वार्थी दोषं न पश्यति’— [चाणक्यनीति (अध्याय ६/श्लोक ८)] स्वार्थीहरू आफ्नो काम सिद्ध गर्नमा दुष्ट कामलाई पनि श्रेष्ठ मानेर, दोषलाई हेर्दैनन् । त्यही पाषाणादि मूर्ति र योनि-लिङ्गको पूजामा नै धर्म, अर्थ, काम र मोक्ष मान्न लागे । जब राजा भोजको पश्चात् जैनीहरूले आफ्नो-आफ्नो मन्दिरहरूमा मूर्तिस्थापना गर्न र दर्शनको लागि आउन-जान थाले तब त यी पोपहरूका चेला पनि त्यसमा जाने-आउने गर्न थाले र उता पश्चिममा केही दोस्राको मत र यवनहरू आर्यावर्तमा जाने-आउने पनि गर्न थाले । तब पोपहरूले यो श्लोक बनाए—
न वदेद्यावनीं भाषां प्राणैः कण्ठगतैरपि । हस्तिना ताड्यमानोऽपि न गच्छेज्जैनमन्दिरम् ॥
—तुलना [भविष्यपुराण (प्रतिसर्ग पर्व ३/खण्ड ३/अध्याय २८/श्लोक ५३)] ॥
चाहे कति नै दुःख परोस्, प्राण कण्ठगत अर्थात् मृत्युको समय आए तापनि, म्लेच्छ अर्थात् यवनहरूको भाषा मुखले नबोल्नू र उन्मत्त हात्ती दौडँदै मार्नको लागि आइरहेको छ, जैनको मन्दिरमा पस्नाले प्राण बच्न सक्दछ भने पनि जैनको मन्दिरमा प्रवेश नगर्नू । किन्तु जैन मन्दिरमा प्रवेश गरेर बच्न भन्दा हात्तीको सामुन्ने परेर मर्नु निको हुन्छ ।
यस्ता-यस्ता कुरा आफ्ना चेलाहरूलाई उपदेश गर्न लागे । जब उनीहरूसँग कसैले प्रमाण सोध्यो कि तिम्रा मतमा कुनै माननीय ग्रन्थको पनि प्रमाण छ ? तब भन्दथे कि छ । जब तिनीहरूले भन्थे कि देखाओ ? तब मार्कण्डेय पुराणादिको वचन पढेर सुनाउँथे जस्तो कि दुर्गा (चण्डी) पाठमा देवीको वर्णन लेखिएको छ ।
राजा भोजको राज्यमा (११औं शताब्दी) व्यासजीको नामबाट मार्कण्डेय र शिवपुराण कसैले बनाएर तयार गरेको थियो, यसको सूचना राजा भोजलाई हुनाले ती पण्डितहरूलाई हस्तछेदनादि दण्ड दिएर तिनलाई भने कि जो कसैले काव्यादि ग्रन्थ बनाउँछ भने त आफ्नो नामबाट बनाओस्, ऋषि-मुनिहरूको नामबाट होइन । यो कुरो राजा भोजले बनाएको ‘संजीवनी’ नामक इतिहासमा लेखिएको छ जुन कि ग्वालियरको राज्य ‘भिंड’ नामक नगरको तिवाडी ब्राह्मणको घरमा छ, जसलाई लखुनाका रावसाहेब र उनका गुमास्ता रामदयाल चौबेजीले आफ्नै आँखाले देखेका हुन्, त्यसमा स्पष्ट लेखिएको छ कि व्यासजीले चार हजार चार सय र उनका शिष्यहरूले पाँच हजार छ सय अर्थात् जम्मा दश हजार श्लोकको प्रमाण ‘भारत’ बनाएका थिए । त्यही पुस्तक महाराजा विक्रमादित्यको समयमा आएर बीस हजार श्लोकको पाइयो, फेरि महाराज भोज भन्दछन् कि मेरो पिताको समयमा त्यही पुस्तक पच्चीस हजार र मेरो आधा उमेर सम्ममा आइपुग्दा त तीस हजार श्लोकयुक्त ‘महाभारत’ को पुस्तक मिलेको छ । यदि यसरी नै बढ्दै गयो भने त महाभारतको पुस्तक एउटा ऊँटको बोझ जत्तिकै हुन जानेछ र ऋषि-मुनिहरूका नामबाट पुराणादि ग्रन्थ बनाएमा त आर्यावर्त्तीयहरू भ्रमजालमा परेर वैदिकधर्मविहीन भएर भ्रष्ट हुन जानेछन् । यसबाट विदित हुन्छ कि राजा भोजलाई केही-केही मात्रामा वेदहरूको संस्कार थियो । उनैको भोजप्रबन्धमा लेखिएको छ कि—
घट्यैकया क्रोशदशैकमश्वः सुकृत्रिमो गच्छति चारुगत्या ।
वायुं ददाति व्यजनं सुपुष्कलं विना मनुष्येण चलत्यजस्रम् ॥
यस श्लोकले भोज राजाको राज्यमा संस्कार एवं विकासको एउटा नमूना पनि प्रस्तुत गर्दछ ।
राजा भोजको राज्यमा र नजिकै यस्ता शिल्पीहरू बसेका थिए कि जसले घोडाको आकारको एक यान कलायन्त्रयुक्त बनाएका थिए कि जुन एक कच्ची घडीमा एघार कोस र एक घण्टामा साढे सत्ताईस कोस जान्थ्यो । त्यो भूमि र अन्तरिक्षमा पनि चल्दथ्यो । फेरि दोस्रो पङ्खा यस्तो बनाएका थिए कि बिना मनुष्यले चलाए कलायन्त्रको बलले नित्य चलेर पुष्कल वायु दिन्थ्यो । यदि यी दुइटै पदार्थ आजसम्म बनेर रहन्थे भने त यूरोपियन यति अभिमानमा चढ्ने थिएनन् ।
तब पोपजीले आफ्ना चेलाहरूलाई जैनीहरूदेखि रोक्न थाले तर पनि मन्दिरहरूमा जानबाट रोक्न सकेनन् र जैनीहरूका कथामा पनि मान्छेहरू जान थाले । जैनीहरूका पोपहरूले यी पुराणी पोपहरूका चेलाहरूलाई बहकाउन थाले । तब पुराणी पोपहरूले विचार गरे कि यसको कुनै उपाय निकाल्नु पर्दछ, नत्र भने त आफ्ना चेलाहरू जैनी बन्न जानेछन् । पश्चात् पोपहरूले यही सम्मति गरे कि जैनीहरूकै सदृश आफ्ना पनि अवतार, मन्दिर, मूर्ति र कथाका पुस्तकहरू बनाउने । यिनीहरूले जैनीहरूकै चौबीस तीर्थङ्करहरूकै सदृश आफ्ना पनि चौबीस अवतार, मन्दिर र मूर्तिहरू बनाए । फेरि जसरी जैनीहरूका आदि र उत्तर-पुराणादि छन् त्यसरी नै अट्ठाह्र पुराणहरू र उपपुराणहरू बनाउन थाले ।
राजा भोजको डेढ सय वर्षको पश्चात् वैष्णवमतको आरम्भ भयो । एक शठकोप नामक कञ्जर (फिरन्ते) वर्णमा उत्पन्न भएको थियो, उसदेखि थोरै चल्यो । त्यसको पश्चात् मुनिवाहन भंगी कुलोत्पन्न र तेस्रो यावनाचार्य यवनकुलोत्पन्न आचार्य भयो । तत्पश्चात् ब्राह्मण कुलज चौथो रामानुज भए, यिनले आफ्नो मत फैलाए ।
शैवहरूले शिवपुराणादि, शाक्तहरूले देवीभागवतादि, वैष्णवहरूले विष्णुपुराणादि बनाए । त्यस पुस्तकमा आफ्नो नाम यस कारणले राखेनन् कि हाम्रो नामबाट बनायौं भने त कसैले प्रमाण मान्ने छैनन् । त्यसैले व्यास आदि ऋषि-मुनिहरूका नाम राखेर पुराण बनाए । नाम पनि यिनले वास्तवमा नवीन राख्नुपर्थ्यो, परन्तु जस्तै कुनै दरिद्रले आफ्नो छोराको नाम महाराजाधिराज र आधुनिक पदार्थको नाम सनातन राखिदियो भने त के नै आश्चर्य हुन्छ र ? अब यिनीहरूका आपसका जस्ता झगडा छन्, त्यस्तै नै पुराणहरूमा भरेर राखेका छन् ।
हेर ! देवीभागवतमा ‘श्री’ नामा एक देवी स्त्रीलाई श्रीपुरकी स्वामिनी लेखिएको छ, उनैले सबै जगत्लाई बनाइन् र ब्रह्मा, विष्णु जुन महादेवलाई पनि उनैले रचेकी हुन् । जब ती देवीको इच्छा भयो तब उनले आफ्नो हातलाई घसिन् ।
उनको हातबाट छालाको फोका बन्यो । त्यसैबाट ब्रह्माको उत्पत्ति भयो । ब्रह्मासँग देवीले भनिन् कि तैंले मसँग विवाह गर् । ब्रह्माले भने कि तिमी मेरी आमा लाग्छ्यौ, मैले तिमीसँग विवाह गर्न सक्दिन । आमालाई क्रोध चढ्यो, केटालाई भस्म गरिदिइन्, र फेरि हात घसेर उसैप्रकारबाट दोस्रो छोरो उत्पन्न गरेर त्यसको नाम विष्णु राखिन् । विष्णुसँग पनि त्यसरी नै कुरो भनिन् । उनले मानेन्, विष्णुलाई पनि भस्म गरिदिइन् । पुनः उसै प्रकारले तेस्रो छोरो उत्पन्न गरिन्, त्यसको नाम महादेव राखिन्, त्यसरी नै भनिन् कि तैंले मसँग विवाह गर् । महादेवले भने कि तिमीसँग विवाह गर्न सक्दिन, तिमीले दोस्रो स्त्रीको शरीर धारण गर । देवीले त्यसै गरिन् ।
तब महादेवले भने कि यी दुई ठाउँमा केको खरानीको थुप्रो हो ? देवीले भनिन् कि यी दुइटै तिम्रा दाइका हुन्, तिनीहरूले मेरो आज्ञा मानेन्, त्यसैले भस्म गरिदिएँ । महादेवले भने कि म एक्लैले के गर्छु र, यिनीहरूलाई ब्युँताइदेऊ र दुइटी स्त्री उत्पन्न गर, हामी तीनै जनाको विवाह तीनै जनासँग हुनेछ । त्यस्तै नै देवीले गरिन् । फेरि तीनै जनाको साथमा विवाह भयो, वाह रे ! आमासँग विवाह गरेनन् र बहिनीसँग विवाह गरे ! के यसलाई उचित मान्न मिल्छ ? पश्चात् इन्द्रादिलाई उत्पन्न गरे । ब्रह्मा, विष्णु, रुद्र र इन्द्रलाई पालकी उठाउने डोले बनाए, इत्यादि लामा-चौडा मनमानी गफ लेखेका छन् । कसैले उनीसँग सोधून् कि त्यस देवीको शरीर र त्यस श्रीपुरलाई बनाउनेवाला र देवीका माता-पिता को थिए ? भनौला कि देवी अनादि हुन्, त्यसो भए त जुन संयोगजन्य वस्तु हुन्छ, त्यो अनादि कहिल्यै पनि हुन सक्दैन । जो माता-पुत्रको विवाह गर्नमा डराउँछ भने भाइ-बहिनीको विवाहमा कुनचाहिं राम्रो कुरो निक्लन्छ र ? जस्तो यस देवीभागवतमा महादेव, विष्णु र ब्रह्मादिको क्षुद्रता र देवीको चाहिं बडाइ-चडाइ लेखिएको छ, त्यसै प्रकारले शिवपुराणमा देवी आदिको धेरै क्षुद्रता लेखिएको छ । अर्थात् यी सबै महादेवका दास र महादेव सबैका ईश्वर हुन् । जुन ‘रुद्राक्ष’ अर्थात् एक वृक्षको फलको गेडो र खरानी धारण गर्नाले मुक्ति मान्दछन् भने त, खरानीमा लडीबुडी खेल्ने गधा आदि पशु र वनका गेडागुडी आदिको गहना र माला बनाएर धारण गर्नेवाला भील (कुसुण्डा), कञ्जर आदिले मुक्ति पाउनेछन् र सुँगुर, कुकुर, गधा, आदि पशु खरानीमा लडीबुडी खेल्नेहरूको मुक्ति किन हुँदैन ?
प्रश्न— कालाग्निरुद्रोपनिषद्मा भस्म लगाउने विधान लेखिएको छ । के यो झुटो हो ?
‘त्र्या॒युषं ज॒मद॑ग्ने०’ —यजुर्वेद (३/६२) ॥
इत्यादि वेदमन्त्रले पनि भस्म-धारणको विधान र पुराणहरूमा रुद्रको आँखाको अश्रुपातबाट जुन वृक्ष बन्यो त्यसैको नाम रुद्राक्ष हो । यसैले त्यसको धारणमा पुण्य लेखिएको छ । एउटामात्र रुद्राक्ष धारण गरेमा त सबै पापहरूबाट छुटेर स्वर्ग जान्छ र यमराज र नरकको डर हुँदैन ।
उत्तर— कालाग्निरुद्रोपनिषद् कुनै ‘फुस्रा’ मनुष्य अर्थात् खरानी धारण गर्नेवालाले बनाएको हो । किनभने ‘यास्या प्रथमा रेखा सा भूर्लोकः’ इत्यादि वचन त्यसमा अनर्थक छन् । जुन प्रतिदिन हातले बनाएको रेखा हो, त्यो भूलोक वा यसको वाचक कसरी हुन सक्दछ ?
र जुन— त्र्या॒युषं ज॒मद॑ग्नेः क॒श्यप॑स्य त्र्या॒युषम् ॥ —यजुर्वेद (अध्याय ३/मन्त्र ६२) ॥
इत्यादि मन्त्र छन्, ती भस्म वा त्रिपुण्ड्र धारणको वाची होइनन् किन्तु—
चक्षुर्वै जमदग्निर्ऋषिः ॥ —शतपथ ब्राह्मणे (८/१/२/३) ॥
हे परमेश्वर ! मेरो नेत्रको ज्योति (त्र्यायुषम्) तीनगुणा अर्थात् तीन सय वर्ष पर्यन्त रहोस् र मैले पनि यस्तै धर्मको काम गरूँ कि जसबाट दृष्टि-नाश नहोस् ।
हेर त यो कति मूर्खताको कुरा हो कि आँखाको अश्रुपातबाट कहिल्यै वृक्ष उत्पन्न हुन सक्दछ ? के परमेश्वरको सृष्टिक्रमलाई कसैले अन्यथा गर्न सक्दछ ? जस्तो जुन वृक्षको बीज परमात्माले रचेको छ, त्यसैबाट त्यही वृक्ष उत्पन्न हुन सक्दछ, अन्यथाबाट होइन । त्यसैले जति पनि रुद्राक्ष, भस्म, तुलसी, कमलाक्ष, घाँस, चन्दन आदि कण्ठमा धारण गरिन्छ, त्यो सबै जङ्गली पशुवत् मनुष्यको काम हो । यस्ता वाममार्गी र शैवमार्गी धेरै मिथ्याचारी, विरोधी र कर्तव्य कर्मका त्यागी हुन्छन् । यिनीहरूमा जो श्रेष्ठ पुरुष हुन्छ, त्यसले यी सबै कुरालाई विश्वास नगरेर राम्रो कर्म गर्दछ । यदि रुद्राक्ष भस्म-धारणले यमराजका दूत डराउँछन् भने त पुलिसका सिपाही पनि डराउँछन् होला ? जब रुद्राक्ष भस्म-धारण गर्नेवालासित कुकुर, सिंह, सर्प, बिच्छी, माखो र लामखुट्टे आदि पनि डराउँदैनन् भने त न्यायाधीशका गण किन डराउने ?
वैष्णवमतको बारेमा समीक्षा (११.७)
प्रश्न— वाममार्गी र शैव त राम्रा होइनन् परन्तु वैष्णव त राम्रा हुन् ?
उत्तर— यी पनि वेदविरोधी हुनाले ती भन्दा पनि अधिक नराम्रा हुन् ।
प्रश्न— ‘नम॑स्ते रुद्र म॒न्यवे॑’ ॥ ‘शिवाय च शिवतराय च’ ॥
—यजुर्वेद (अध्याय १६/मन्त्र १, ४१) ॥
‘वै॒ष्ण॒वम॑सि॒’ ॥ —यजुर्वेद (अध्याय ५/मन्त्र २१) ॥
‘वाम॒नाय॑ च॒ ॥ ‘ग॒णानां॑ त्वा ग॒णप॑ति हवामहे’ ॥
—यजुर्वेद (अध्याय १६/मन्त्र ३०, १९) ॥
‘भग॑वती॒ भूयाः’ ॥ —अथर्ववेद (काण्ड ९/सूक्त १०/मन्त्र २०) ॥
‘सूर्य आ॒त्मा जग॑तस्त॒स्थुष॑श्च’ ॥ —यजुर्वेद (अध्याय १३/मन्त्र ४६) ॥
इत्यादि वेद प्रमाणहरूबाट शैवादि मत सिद्ध हुन्छन्, पुनः किन खण्डन गर्दछौ ?
उत्तर— यी वचनहरूबाट शैवादि सम्प्रदाय सिद्ध हुँदैनन्, किनभने ‘रुद्र’ परमेश्वर प्राणादि वायु, जीव, अग्नि आदिका नाम हुन् । जो क्रोधकर्ता रुद्र अर्थात् दुष्टहरूलाई रुवाउनेवाला परमात्मालाई नमस्कार गर्नु, प्राण र जाठराग्निलाई अन्न दिनु ।
नम इति अन्ननाम ॥ —निघण्टु (२/७) को वचन हो ॥
जो मङ्गलकारी सबै संसारलाई अत्यन्त कल्याण गर्नेवाला हो, उस परमात्मालाई नमस्कार गर्नुपर्दछ । ‘शिवस्य परमेश्वरस्यायं भक्तः शैवः’ । ‘विष्णोः परमात्मनोऽयं भक्तो वैष्णवः’ । ‘गणपतेः सकलजगत्स्वामिनोऽयं सेवको गाणपतः’ । ‘भगवत्या वाण्या अयं सेवको भागवतः’ । ‘सूर्यस्य चराचरात्मनोऽयं सेवकः सौरः’ यी सबै रुद्र, शिव, विष्णु, गणपति, सूर्यादि परमेश्वरको र भगवती सत्यभाषणयुक्त वाणीको नाम हो । यसमा बिना सम्झे यसरी झगडा मच्चाएका छन्, जस्तै—
एउटा कुनै वैरागीका दुइटा चेला थिए । तिनीहरूले गुरुका पाउ दबाउने गर्दथे । एउटाले दायाँ पाउ र अर्कोले बायाँ पाउको सेवा गर्नको लागि बाँडेका थिए । एक दिन एउटा चेलो कहीं गएको थियो र अर्कोले आफ्नो सेव्यको पाउको सेवा गरिरहेको थियो । यत्तिकैमा गुरुले कोल्टो फेर्यो, तब आफ्नो भागमा अर्को गुरुभाइको पाउ चाहिं पर्न आयो । उसले लाठी लिएर पाउमा बजार्यो । गुरुले भन्यो अरे दुष्ट ! तैंले यो के गरेको ? उसले भन्यो— मेरो खुट्टोमाथि यो अर्को खुट्टो कसरी चढ्यो ? यत्तिकैमा दोस्रो चेलो आइपुग्यो । उसले पनि सेवा गर्न लाग्यो । देख्यो कि खुट्टो सुनिएको छ । गुरुसँग सोध्यो कि यो मेरो सेव्य पाउमा के भयो ? गुरुले सबै वृत्तान्त सुनाइदियो । त्यो पनि मुर्ख न बोली न चाली, चुपचाप लाठी उठाएर जोड्सित दोस्रो पाउमा बजार्यो । गुरुले पुकार्दैराख्यो । फेरि दुइटै चेलाले लाठी लिएर गुरुको पाउलाई पिट्न थाले । बडो पुकार मच्चियो, तब कुनै बुद्धिमान् पुरुष आएर छुट्ट्याइदियो, ती दुइटै मूर्खलाई उपदेश दिए कि “हेर ! यी दुइटै पाउ तिम्रा गुरुका हुन् । दुइटैको सेवा गर्नाले उसैलाई सुख र दुःख दिनाले उसै एकलाई दुःख हुन्छ ।”
जसरी एउटा गुरुको सेवामा चेलाहरूले लीला गरे, त्यस्ता हीन, पामर, महामूर्ख, सम्प्रदायी मान्छेहरूले— परमेश्वरको विष्णु, रुद्रादि सबै नाम छन्, जस्तो कि प्रथम समुल्लासमा लेखेर आइएको छ । तिनलाई नजानेर शाक्त, शैव र वैष्णवादि परस्पर एक दोस्राको नामको निन्दा गर्दछन् ।
तापः पुण्ड्रं तथा नाम माला मन्त्रस्तथैव च । अमी हि पञ्च संस्काराः परमैकान्तहेतवः ॥
—भरद्वाज संहिता परिशिष्ट, (अध्याय २/श्लोक २) रामानुजपटलपद्धति ॥
अत॑प्ततनू॒र्न तदा॒मो अ॑श्नुते ॥ इति श्रुतेः । —ऋग्वेद (मण्डल ९/सूक्त ८३/मन्त्र १) ॥
अर्थात् (तापः) शङ्ख, चक्र, गदा र पद्मका चिह्नहरूलाई अग्निमा तपाएर, भुजाको मूलमा दाग दिएर, दूधको पात्रमा निभाउँछन्, फेरि कसैले त्यस दूधलाई पिउँछन् पनि । अर्थात् त्यसमा केही मात्रामा मनुष्यको शरीरको मांसको अंश पनि आउँछ होला । यस्तो कर्म गर्नाले परमेश्वरलाई प्राप्त गर्ने आशा गर्दछन् र भन्दछन् कि बिना शङ्ख, चक्रादिले शरीर नतपाए त जीव परमेश्वरलाई प्राप्त हुँदैन, किनभने त्यो (आमः) अर्थात् काँचो छ । र जसरी राज्यका कर्मचारीको भेषभूषामा सरकारी चिह्न हुनाले उनीहरूसँग अरू मान्छे डराउँछन्, त्यसरी नै विष्णुका चक्रादि आयुधहरूको चिह्नलाई देखेर यम र यमका गण डराउँछन्, र भन्दछन् कि—
दोहा— बाना बडा दयालका, तिलक छाप अरु माल ।
यम डरपै कालू कहे, भय माने भूपाल ॥ —भक्तमाल निष्ठा ६ ॥
भगवान्को बाना महान् छ । तिलक, छाप र माला धारण गर्ने ठूलो हो । जसदेखि यमराज र राजा पनि डर्दछन् । (पुण्ड्रम्) त्रिशूलको सदृश ललाटमा चित्र निकाल्नु, (नाम) नारायणदास, विष्णुदास, दासशब्दान्त नाम, कमलगट्टा आदिका माला र पाँचौं (मन्त्र) अर्थात्—
ओं नमो नारायणाय ॥१॥
—पद्मपुराण (भाग ६/उत्तरखण्ड अध्याय ७२/श्लोक ११७) ॥
यो यिनीहरूले साधारण मनुष्यको लागि । दोस्रो—
श्रीमन्नारायणचरणं शरणं प्रपद्ये ॥२॥ श्रीमते नारायणाय नमः ॥३॥ —भक्तमाल ॥
इत्यादि मन्त्र धनाढ्य र माननीयहरूका लागि । किनभने यो पनि एक दोकानै ठहरियो ! जस्तो मुख त्यस्तै तिलक ! यी पाँच संस्कारहरूलाई चक्राङ्कितहरूले मुक्तिको हेतु मान्दछन् ।
यी मन्त्रहरूका अर्थ— म नारायणलाई नमस्कार गर्दछु ॥१॥ र म लक्ष्मीयुक्त नारायणको चरणारविन्दको शरणमा प्राप्त हुन्छु ॥२॥ र श्रीयुत नारायणलाई नमस्कार गर्दछु अर्थात् जुन शोभायुक्त नारायण हुन्, उनैलाई मेरो नमस्कार पुगोस् ॥३॥
जसरी वाममार्गीले पाँच मकारलाई मान्दछन्, त्यसरी नै चक्राङ्कितले पाँच संस्कारलाई मान्दछन् जुन वेदको वचन लेखिएको छ त्यसको यस प्रकारको पाठ र अर्थ हो—
प॒वित्रं॑ ते॒ वित॑तं ब्रह्मणस्पते प्र॒भुर्गात्रा॑णि॒ पर्ये॑षि वि॒श्वतः॑ ।
अत॑प्ततनू॒र्न तदा॒मो अ॑श्नुते शृ॒तास॒ इद्वह॑न्त॒स्तत्समा॑शत ॥१॥
तपो॑ष्प॒वित्रं॒ वित॑तं दि॒वस्प॒दे ॥२॥ —ऋग्वेद (मण्डल ९/सूक्त ८३/ मन्त्र १, २) ॥
हे ब्रह्माण्ड र वेदहरूको पालन गर्नेवाला प्रभु सर्वसामर्थ्ययुक्त सर्वशक्तिमान् ! तपाईंले आफ्नो व्याप्तिबाट संसारको सबै अवयवहरूलाई व्याप्त गरेर राख्नुभएको छ । त्यो तपाईंको जुन व्यापक पवित्र स्वरूप छ त्यसलाई ब्रह्मचर्य, सत्यभाषण, शम, दम, योगाभ्यास, जितेन्द्रिय, सत्सङ्गादि तपश्चर्यादेखि रहित जो अपरिपक्व आत्मा अन्तःकरणयुक्त छ, त्यसले तपाईंको स्वरूपलाई प्राप्त गर्दैन र जो पूर्वोक्त तपले शुद्ध छन्, तिनैले यसको आचरण गर्दै त्यस तपाईंको शुद्धस्वरूपलाई राम्रो प्रकारसँग प्राप्त गर्दछन् ॥१॥ जसले प्रकाशस्वरूप परमेश्वरको सृष्टिमा विस्तृत पवित्राचरणरूप तप गर्दछन्, तिनीहरू नै परमात्मालाई प्राप्त गर्नमा योग्य हुन्छन् ॥२॥
अब विचार गर्नुहोस् कि रामानुजीयादि जनहरू यस मन्त्रबाट ‘चक्राङ्कित’ हुनु कुन तरिकाले निकाल्दछन् ? तिनीहरू विद्वान् थिए कि अविद्वान् ? यदि विद्वान् हुन्थे भने त यस्तो असम्भावित अर्थ यस मन्त्रको किन गर्दथे ? किनभने यस मन्त्रमा ‘अतप्ततनूः’ शब्द छ किन्तु ‘अतप्तभुजैकदेशः’ शब्द छैन । जुन ‘अतप्ततनूः’ यो मन्त्र नखशिखाग्रपर्यन्त समुदायको अर्थ हो, यसलाई प्रमाण गरेर अग्निबाटै तपाउनु चक्राङ्कितहरू स्वीकार गर्दछन् भने त, आफ्नो-आफ्नो शरीरलाई भाडमा झोकेर सबै शरीरलाई जलाए पनि यस मन्त्रको अर्थदेखि विरुद्ध हुन्छ, किनभने यस मन्त्रमा सत्यभाषणादि पवित्र कर्म गर्न तप लेखिएको छ ।
ऋतं तपः सत्यं तपो दमस्तपः स्वाध्यायस्तपः ॥
—तैत्तिरीयोपनिषद् (शिक्षावल्ली ९); तैत्तिरीय (आरण्यक १०/अनुवाक ८) ॥
इत्यादि तप भनिन्छ । अर्थात् (ऋतं तपः) यथार्थ शुद्धभाव, सत्य मान्नु, सत्य बोल्नु, सत्य गर्नु, मनलाई अधर्ममा जान नदिनु, बाह्य इन्द्रियहरूलाई अन्यायाचरणमा जानदेखि रोक्नु अर्थात् शरीर, इन्द्रिय र मनबाट शुभ कर्महरूको आचरण गर्नु, वेदादि सत्य विद्याहरूलाई पढ्नु-पढाउनु, वेदानुसार आचरण गर्नु आदि उत्तम धर्मयुक्त कर्महरूको नाम ‘तप’ हो । धातुलाई तताएर छालालाई पोल्नु तप भनिंदैन । हेर ! चक्राङ्कितहरू आफूलाई ठूला वैष्णव मान्दछन्, परन्तु आफ्नो परम्परा र कुकर्मतिर ध्यान दिंदैनन् कि प्रथम यिनीहरूको मूलपुरुष ‘शठकोप’ थियो कि जुन चक्राङ्कितहरूको नै ग्रन्थहरूमा र भक्तमाल ग्रन्थ जुन नाभा डूमले बनाएको हो, त्यसमा—
विक्रीय शूर्पं विचचार योगी ॥ —दिव्यसूरिचरितकाव्य सर्ग २ ॥
इत्यादि वचन लेखिएको छ । अर्थात् शठकोप योगी सुपोलाई बनाएर, बेच्दै हिंड्दथ्यो अर्थात् कञ्जर (घुमन्ता) जातिमा उत्पन्न भएको थियो । जब उसले ब्राह्मणहरूसँग पढ्न वा सुन्न चाह्यो होला, तब ब्राह्मणहरूले तिरस्कार गरे होलान् । त्यसले ब्राह्मणहरूको विरुद्ध सम्प्रदाय तिलक, चक्राङ्क आदि चलायो होला । त्यसको चेलो ‘मुनिवाहन’ जुन कि चाण्डाल वर्णमा उत्पन्न भएको थियो । त्यसको ‘यावनाचार्य’ जुन यवनकुलोत्पन्न थियो, जसको नाम फेरेर कसै-कसैले ‘यामुनाचार्य’ पनि भन्दछन् ।
यिनीहरूको पश्चात् ‘रामानुज’ ब्राह्मणकुलमा उत्पन्न भएर चक्राङ्कित भए । यसको पूर्वमा केही भाषाका ग्रन्थ बनाउने गर्दथे । रामानुजले केही संस्कृत पढेर संस्कृतमा श्लोकबद्ध ग्रन्थ र शारीरक सूत्र र उपनिषद्हरूको टीका शङ्कराचार्यका टीका भन्दा विरुद्ध बनाए, र शङ्कराचार्यको थुप्रै निन्दा पनि गरे । जस्तो शङ्कराचार्यको मत जीव ब्रह्मको एकता, जगत् प्रपञ्च, सबै मिथ्या मायारूप अनित्य छ । यसदेखि विरुद्ध रामानुजको जीव, ब्रह्म र माया तीनवटै नित्य छन् । शङ्कराचार्यको अद्वैत अर्थात् जीव ब्रह्म एक, ब्रह्म एउटै छ, दोस्रो कुनै वस्तु वास्तविक छैन । यहाँ शङ्कराचार्यको मत ब्रह्मदेखि अतिरिक्त जीव र कारण वस्तुलाई नमान्नु, राम्रो होइन । रामानुजको यस अंशमा, जुन कि विशिष्टाद्वैत— जीव र मायासहित परमेश्वर एक छ । यसरी तीनवटैलाई मान्नु र अद्वैत भन्नु सर्वथा व्यर्थ छ । जीवलाई सर्वथा ईश्वरको आधीन परतन्त्र मान्नु, कण्ठी, तिलक, माला, मूर्तिपूजादि पाखण्ड-मत चलाउने आदि नराम्रा कुराहरू चक्राङ्कितमा छन् । जसरी चक्राङ्कित आदि वेदविरोध गर्दछन्, त्यसरी शङ्ककराचार्यका मतले गर्दैनन् ।
मूर्तिपूजाको बारेमा समीक्षा (११.८)
प्रश्न— मूर्तिपूजाको थालनी कहाँबाट भयो ?
उत्तर— जैनीहरूबाट ।
प्रश्न— जैनीहरूले कहाँबाट चलाए ?
उत्तर— आफ्नो मूर्खताबाट ।
प्रश्न— जैनीहरू भन्दछन् कि शान्त ध्यानावस्थित बसेको मूर्ति देखेर आफ्नो जीवको पनि शुभ परिणाम त्यस्तै नै हुन्छ ।
उत्तर— जीव चेतन, मूर्ति जड । के मूर्तिको सदृश जीव पनि जड हुन जान्छ ? यो मूर्तिपूजा त केवल पाखण्ड मत हो, जैनीहरूले चलाएका हुन् । त्यसैले यसको खण्डन १२औं समुल्लासमा गर्नेछौं ।
प्रश्न— शाक्त आदिले मूर्तिहरूमा जैनीहरूका अनुकरण गरेका छैनन्, किनभने जैनीहरूका मूर्तिहरूका सदृश वैष्णवादिका मूर्तिहरू छैनन् ।
उत्तर— हो, यो त ठीक हो । यदि जैनीहरूका तुल्य यिनीहरूले बनाउँथे भने त जैनमतमा मिल्न जान्थे । त्यसैले जैनीका मूर्तिहरूदेखि विरुद्ध बनाए, किनभने जैनसँग विरोध गर्नु यिनीहरूको र यिनीहरूसँग विरोध गर्नु जैनीहरूको मुख्य काम थियो । जसरी जैनीहरूको मूर्ति नाङ्गो ध्यानावस्थित र विरक्त मनुष्यको समान बनाएका छन् । वैष्णवादिले बेसरी शृङ्गारित, उभिएको, स्त्रीको सहित रङ्ग राग भोग विषयासक्ति सहिताकार मूर्तिहरू बनाएका छन् । जैनीहरू धेरै शङ्ख, घण्टा घडियार बजाउँदैनन् । यिनीहरूले ठूलो कोलाहल गर्दछन् । तब नै यी वैष्णवादि पोपहरूका चेला जैनीहरूदेखि बचे र थुप्रैले व्यासादि नामबाट थुप्रै ग्रन्थ बनाए । त्यसको नाम ‘पुराण’ राखेर कथा पनि सुनाउन थाले । र मूर्तिहरू बनाएर, कहीं पहाड जङ्गलमा राखेर आए वा भूमिमा गाडेर आए । फेरि आफ्ना चेलाहरूमा प्रसिद्ध गरे कि— “मलाई स्वप्नमा महादेव, पार्वती, राधा, कृष्ण, सीता, राम वा लक्ष्मी, नारायण, भैरव, हनुमान आदिले भने कि हामी फलानो ठाउँमा छौं । हामीलाई त्यहाँबाट निकालेर ल्याएर मन्दिरमा स्थापना गर, तिमी नै पुजारी भयौ भने त हामीले तिमीलाई मनोवाञ्छित फल दिनेछौं ।” जब ‘आँखाका अन्धा, गाँठका पूरा’ ती मान्छेले सुनेपछि साँचो मानेर त्यससँग भने कि यस्तो त्यो मूर्ति कहाँ छ ? उसले तिनीहरूलाई लिएर गएर देखाइदियो, तब त ती मूर्खहरू त्यस धूर्तका खुट्टामा नुगेर भने कि “तँमाथि यस देवताको ठूलो कृपा छ । हिंड हामीले मन्दिर बनाइदिनेछौं र त्यसमा यिनै देवताको पूजा तैंले गर्ने गरेस्, र हामीहरूले यसको दर्शन गरेर मनोवाञ्छित फल पाउनेछौं ।”
यस प्रकारबाट जब एउटाले गर्यो पुनः सबै पोपहरूले पनि आफ्नो-आफ्नो जीविकार्थ यसै प्रकार कपट-छलबाट मूर्तिहरू स्थापना गरे ।
प्रश्न— परमेश्वर निराकार छ, त्यो ध्यानमा आउन सक्दैन, त्यसैले मूर्तिको हुनु परम आवश्यक छ । अरू केही नगरे पनि मूर्तिको सामुन्ने गएर केहीबेर परमेश्वरको स्मरण गरेर नाम लिन्छौं ।
उत्तर— जब परमेश्वर निराकार छ, तब उसको मूर्ति नै बन्न सक्दैन । जहाँ मूर्तिलाई देख्नाले परमेश्वरको स्मरण हुन्छ भने त परमेश्वरले बनाएको पृथ्वी, जल, अग्नि, वनस्पति आदि रचनायुक्त पृथ्वी, पहाड, हिमालय आदि परमेश्वर-रचित महामूर्तिहरू कि जुन पहाड आदिबाट यी मनुष्यकृत मूर्तिहरू बन्दछन्, यिनीहरूलाई देखेर परमेश्वरको स्मरण किन आउन सक्दैन ? जहाँ कुनै अर्कैलाई हेरेर दोस्रो कसैको स्मरण हुन्छ भने त, जब त्यो सामुन्ने रहँदैन तब परमेश्वरलाई भुल्नेछन् र जब परमेश्वरलाई मनुष्यले यसरी भुल्दछ तबै उसले एकान्त पाएर अन्याय गर्दछ कि यहाँ मलाई कसैले देख्दैन ।
जहाँ मूर्तिलाई नमानेर परमेश्वरलाई व्यापक मानेमा त त्यसले डरले कि मलाई परमेश्वरले देखिरहेको छ, पाप गर्दैन । नामस्मरण मात्रले केही पनि फल हुँदैन । जस्तै कि मिश्री भन्दैमा मुख मीठो र नीम भन्दैमा तीतो हुँदैन, किन्तु त्यसलाई जिब्रोले चाखेमा मात्रै मीठो र तीतोको स्वाद थाहा हुन्छ ।
प्रश्न— के नाम लिनु सर्वथा मिथ्या हो, जुन सर्वत्र पुराणहरूमा नामस्मरणको बडो माहात्म्य लेखिएको छ ?
उत्तर— नाम लिने तिम्रो रीति उत्तम छैन । जुन तरिकाबाट तिमीले नामस्मरण गर्दछौ, त्यो रीति झुटो हो ।
प्रश्न— हाम्रो रीति कस्तो हो ?
उत्तर— वेदविरुद्ध ।
प्रश्न— त्यसो भए अब तपाईंले हामीलाई वेदोक्त नामस्मरणको रीति बताउँनुहोस् ?
उत्तर— नामस्मरण यस प्रकारले गर्नुपर्दछ— जस्तै ‘न्यायकारी’ ईश्वरको नाम हो कि जसरी पक्षपातरहित भएर परमात्मा सबैको यथावत् न्याय गर्दछ, त्यस्ता नामहरूका अर्थहरूलाई आफूमा ग्रहण गरेर न्याययुक्त व्यवहार सर्वदा गर्ने, अन्याय कहिल्यै नगर्ने ।
प्रश्न— हामीले पनि जान्दछौं कि परमेश्वर निराकार छ, परन्तु आफ्ना शिव, विष्णु, गणेश, सूर्य, देवी आदिको शरीर धारण गरेर राम, कृष्णादि अवतार लिनाले उसको मूर्ति बन्दछ, के यो कुरो पनि झुटो हो त ?
उत्तर— हो-हो एकदमै झुटो किनभने—
‘अज एकपात्’
—ऋग्वेद (मण्डल ७/सूक्त ३५/मन्त्र १३); यजुर्वेद (अध्याय ३४/मन्त्र ५३) ॥
‘अकायम्’ —यजुर्वेद (अध्याय ४०/मन्त्र ८) ॥
इत्यादि विशेषणहरूबाट परमेश्वरको जन्म र शरीरधारण रहित वेदमा भनिएको छ, तथा युक्तिले पनि परमेश्वरको अवतार कहिल्यै हुन सक्दैन । किनभने जो आकाशवत् सर्वत्र व्यापक, अनन्त र सुख, दुःख, दृश्यादि गुणरहित छ, त्यो एक सानो वीर्य, गर्भाशय र शरीरमा कसरी आउन सक्दछ ? आउने-जाने त्यो हुन्छ जुन एकदेशी हुन्छ । जो अचल, अदृश्य, जसको बिना एक परमाणु पनि खाली छैन, उसको अवतार भन्नु जान कि बन्ध्याको पुत्रको विवाह गरेर, उसको पौत्रको दर्शन गर्ने कुरो हो ।
प्रश्न— जब परमेश्वर व्यापक छ भने त मूर्तिमा पनि छ । पुनः चाहे कुनै पदार्थमा भावना गरेर पूजा गर्नु राम्रो किन होइन ? हेर—
न काष्ठे विद्यते देवो न पाषाणे न मृण्मये । भावे हि विद्यते देवस्तस्माद्भावो हि कारणम् ॥
—तुलना [गरुडपुराण, धर्मकाण्ड, प्रेतकल्प (अध्याय ३८/श्लोक १३); चाणक्यनीति (८/११)] ॥
परमेश्वर देव न काष्ठ, न पाषाण, न मृत्तिकाबाट बनाएका पदार्थहरूमा छ किन्तु परमेश्वर त भावमा विद्यमान छ । जहाँ भाव गर्यो वहीं परमेश्वर सिद्ध हुन्छ ।
उत्तर— जब व्यापक छ भने त कुनै एक वस्तुमा परमेश्वरको भावना गर्नु, अन्यत्र नगर्नु यो यस्तो कुरो भयो कि जस्तै चक्रवर्ती राजालाई सबै राज्यको सत्ताबाट छुटाएर एक सानो कुटीको स्वामी मान्नु कति ठूलो अपमान हो ! त्यस्तै तिमीले पनि परमेश्वरको अपमान गर्दछौ । जब व्यापक मान्दछौ त वाटिकादेखि पुष्प-पत्र टिपेर किन चढाउँछौ ? चन्दन घसेर किन लगाउँछौ ? धूप किन बाल्दछौ ? शङ्ख, घण्ट, खैंजडी, मञ्जिरा, मृदङ्ग, करतल आदि किन बजाउँछौ ? तिम्रो हातमा छन्, किन जोड्छौ ? शिरमा छन्, किन निहुरन्छौ ? अन्न-जलादिमा छन्, किन नैवेद्य चढाउँछौ ? जलमा छन् किन स्नान गराउँछौ ? किनभने ती सबैमा परमात्मा व्यापक छ । र तिमीले व्यापकको पूजा गर्दछौ कि व्याप्यको ? यदि व्यापकको गर्दछौ भने त पाषाण, काष्ठ आदिमा चन्दन, पुष्पादि किन चढाउँछौ ? र यदि व्याप्यको पूजा गर्दछौ भने त ‘हामी परमेश्वरको पूजा गर्दछौं’ भनेर, यस्तो किन झुटो बोल्दछौ ? ‘हामी पाषाणादिका पुजारी हौं’, यस्तो सत्य किन भन्दैनौ ?
‘भाव’ साँचो हो कि झुटो ? यदि साँचो हो भने त तिम्रो भावको आधीन भएर परमेश्वर बद्ध हुन जानेछ । र तिमी माटोमा सुवर्ण, पाषाणमा हीरा-पन्ना, समुद्रफिंजमा मोती, जलमा घ्यू-दूध, बरफमा दही आदि, धुलोमा पीठो र शक्करको भावना गरेर तिनीहरूलाई किन त्यस्तै बनाउँदैनौ ? दुःखको भावना कसैले गर्दैन, फेरि दुःख किन हुने गर्दछ ? र सुखको भावना गर्दछौ, त्यो किन हुँदैन ? अन्धाले नेत्रको भावना गरेर किन देख्दैन ? मर्ने भावना हुँदैन फेरि किन मान्छे मर्दछन् ? यसैले तिम्रो भावना साँचो होइन । किनभने ‘भावना’ जस्तोमा त्यस्तै भाव गर्नुलाई भनिन्छ । जस्तै अग्निमा अग्नि, जलमा जल जान्नु ‘ज्ञान’ र अन्यथा जान्नु ‘अज्ञान’ हो । यसैले तिमी अभावनालाई भावना र भावनालाई अभावना भन्दछौ ।
प्रश्न— एजी ! जबसम्म वेदमन्त्रहरूले आवाहन गरिंदैन, देवताहरू आउँदैनन् र आवाहन गर्नाले झट्सित आउँछन् र विर्सजन गर्नाले जान्छन् ।
उत्तर— यदि मन्त्रको आवाहन गर्नाले परमेश्वर आउँछ भने त मूर्ति चेतन किन हुँदैन ? र विसर्जन गर्नाले जान्छ भने त त्यो कहाँबाट आउँछ र कहाँ जान्छ ? सुन अन्धाहरू हो ! पूर्ण परमात्मा न आउँछ, न त जान्छ । यदि तिमी मन्त्रले परमेश्वरलाई बोलाउँछौ भने त उनै मन्त्रले आफ्नो मरेको पुत्रको शरीरमा जीवलाई किन बोलाउँदैनौ ? र शत्रुको जीवात्माको विसर्जन गरेर किन मार्न सक्दैनौ ? सुन भाइ ! हे भोलेहरू हो ! यहाँ पोपजीले तिमीलाई ठगेर आफ्नो प्रयोजन सिद्ध गर्दछन् । वेदहरूमा पाषाणादि मूर्तिपूजा र परमेश्वरको आवाहन-विसर्जन गर्नको लागि एक अक्षर पनि लेखिएको छैन ।
प्रश्न— प्राणा इहागच्छन्तु सुखं चिरं तिष्ठन्तु स्वाहा ।
आत्मेहागच्छतु सुखं चिरं तिष्ठतु स्वाहा ।
इन्द्रियाणीहागच्छन्तु सुखं चिरं तिष्ठन्तु स्वाहा ॥ —प्रतिष्ठामयूख ग्रन्थ, तन्त्रग्रन्थ ॥
इत्यादि वेदका मन्त्रहरू छन्, किन भन्दछौ छैनन् ?
उत्तर— अरे भाइ ! अलिकति त आफ्नो बुद्धिलाई काममा लगाऊ । यो सबै कपोलकल्पित वाममार्गीहरूका वेदविरुद्ध तन्त्रग्रन्थहरूका पोपरचित पंक्तिहरू हुन्, वेदवचन होइनन् ।
प्रश्न— के तन्त्र झुटो हो त ?
उत्तर— हो, सर्वथा झुटो हो । जसरी आवाहन, प्राणप्रतिष्ठादि, पाषाण मूर्तिविषयक वेदहरूमा एक मन्त्र पनि छैन, त्यस्तै ‘स्नानं समर्पयामि’ इत्यादि वचन पनि छैन । अर्थात् यति पनि छैन कि ‘पाषाणादिमूर्त्तिं रचयित्वा मन्दिरेषु संस्थाप्य गन्धादिभिरर्चयेत् ।’ पाषाणको मूर्ति बनाएर, मन्दिरमा स्थापन गरेर चन्दन-अक्षतादिले पूजा गर, यस्तो लेशमात्र पनि छैन ।
प्रश्न— यदि वेदहरूमा विधि छैन त खण्डन पनि छैन । र जुन खण्डन छ त ‘प्राप्तौ सत्यां निषेधः’ मूर्तिको हुनाले नै खण्डन सङ्गत हुन सक्दछ ।
उत्तर— विधि त छैन, परन्तु परमेश्वरको स्थानमा कुनै अन्य पदार्थलाई पूजनीय नमान्न र सर्वथा निषेध गरेको छ । के अपूर्वविधि हुँदैन ? सुन ! यो हो—
अ॒न्धन्तमः॒ प्र वि॑शन्ति॒ येऽस॑म्भूतिमु॒पास॑ते ।
ततो॒ भूय॑ऽइव॒ ते तमो॒ यऽउ॒ सम्भू॑त्या र॒ताः ॥१॥ —यजुर्वेद (अध्याय ४०/मन्त्र ९) ॥
न तस्य॑ प्रति॒माऽअ॑स्ति॒ ॥२॥ —यजुर्वेद (अध्याय ३२/मन्त्र ३) ॥
मा चि॑द्न्यद्वि शं॑सत॒ सखाय....॥३॥
—ऋग्वेद (मण्डल ८/सूक्त १/मन्त्र १); सामवेद (मन्त्र २४२) ॥
यद्वाचानभ्युदितं येन वागभ्युद्यते । तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥४॥
यन्मनसा न मनुते येनाहुर्मनो मतम् । तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥५॥
यच्चक्षुषा न पश्यति येन चक्षूँषि पश्यन्ति । तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥६॥
यच्छ्रोत्रेण न शृणोति येन श्रोतमिदं श्रुतम् । तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥७॥
यत्प्राणेन न प्राणिति येन प्राणः प्रणीयते । तदेव ब्रह्म त्वं विद्धि नेदं यदिदमुपासते ॥८॥
—केनोपनिषद् (खण्ड १/ मन्त्र ४-८) ॥
न संदृशे तिष्ठति रूपमस्य न चक्षुषा पश्यति कश्चनैनम् ।
हृदा हृदिस्थं मनसा य एनमेवं विदुरमृतास्ते भवन्ति ॥९॥
—श्वेताश्वतरोपनिषद् (अध्याय ४/मन्त्र २०) ॥
जसले ‘असम्भूति’ अर्थात् अनुत्पन्न अनादि प्रकृति कारणलाई नै, ब्रह्मको स्थानमा उपासना गर्दछन्, तिनीहरू अन्धकार अर्थात् अज्ञान र दुःखसागरमा डुब्दछन् । र ‘सम्भूति’ जो कारणबाट उत्पन्न भएको कार्यरूप पृथ्वी आदि भूत, पाषाण र वृक्षादि अवयव र मनुष्यादिको शरीरको उपासना ब्रह्मको स्थानमा गर्दछन्, तिनीहरू त्यस अन्धकार भन्दा पनि अधिक अन्धकार अर्थात् महामूर्ख चिरकाल पर्यन्त घोर दुःखरूप नरकमा परेर महाक्लेश भोग्दछन् ॥१॥
जो सब जगत्मा व्यापक छ त्यस निराकार परमात्माको प्रतिमा, परिमाण, सादृश्य वा मूर्ति छैन ॥२॥
हे मित्रहरू हो ! प्रभुदेखि भिन्न अरू कसैको शंसन वा स्तुति नगर, अर्थात् परमेश्वरलाई छोडेर अन्य कुनै देवको स्तुति उपादेय छैन ॥३॥
जो वाणीको ‘इदंता’ अर्थात् यो जल हो लिनुहोस्, त्यस्तो विषय होइन, र जसको धारण वा सत्ताबाट वाणीको प्रवृत्ति हुन्छ, उसैलाई ब्रह्म जान र उपासना गर, जुन उसदेखि भिन्न छ, त्यो उपासनीय होइन । अर्थात् जो आफै वाणीले बोल्न सक्दैन, जसबाट शक्ति पाएर वाणीले बोल्नको लागि समर्थ हुन्छ, उसैलाई तैंले ब्रह्म जान्नू, जुन उसदेखि भिन्न छ, त्यो होइन ब्रह्म जसको तैंले उपासना गरेको छस् ॥४॥ जो मनदेखि ‘इयत्ता’ गरेर मननमा आउँदैन, जसले मनलाई जान्दछ, उसै ब्रह्मलाई तिमीले जान र उसैको उपासना गर । जो उसदेखि भिन्न जीव र अन्तःकरण छ, उसको उपासना ब्रह्मको स्थानमा नगर । अर्थात् जो आफै मनले विचार गर्न सक्दैन, जसबाट शक्ति पाएर मनले विचार गर्नमा समर्थ हुन्छ, उसैलाई तैंले ब्रह्म जान्नू, जुन उसदेखि भिन्न छ, त्यो होइन ब्रह्म जसको तैंले उपासना गरेको छस् ॥५॥ जसलाई आँखाले देखिंदैन र जसबाट सबै आँखाले देख्दछ, उसैलाई तिमीले ब्रह्म जान र उसैको उपासना गर, जो उसदेखि भिन्न सूर्य, विद्युत् र अग्नि आदि जड पदार्थहरू छन्, त्यसको उपासना नगर । अर्थात् जो आफै आँखाले देख्न सक्दैन, जसबाट शक्ति पाएर आँखाले देख्दछ, उसैलाई तैंले ब्रह्म जान्नू, जुन उसदेखि भिन्न सूर्य, विद्युत र अग्नि आदि जड पदार्थहरू छन्, त्यो होइन ब्रह्म जसको तैंले उपासना गरेको छस् ॥६॥ जसलाई श्रोत्रले सुन्न सक्दैन र जसबाट श्रोत्रले सुन्दछ, उसैलाई तिमीले ब्रह्म जान र उसैको उपासना गर । उसदेखि भिन्न शब्दादिको उपासना ब्रह्मको स्थानमा नगर । अर्थात् जसलाई कानले आफै सुन्न सक्दैन, जसको शक्ति पाएर कानले सुन्ने गर्दछ, उसैलाई तैंले ब्रह्म जान्नू, जुन उसदेखि भिन्न शब्दादिको उपासना, त्यो ब्रह्म होइन ॥७॥ जो प्राणहरूबाट चलायमान हुँदैन, जसबाट प्राण गमनलाई प्राप्त गर्दछ, उसै ब्रह्मलाई तिमीले जान र उसैको उपासना गर । जुन यो उसदेखि भिन्न वायु छ, त्यसको उपासना नगर । अर्थात् जो प्राणवायुले जीवित हुँदैन, जसबाट शक्ति पाएर प्राणले गति गर्दछ, उसैलाई तैंले ब्रह्म जान्नू, जुन उसदेखि भिन्न छ, त्यो होइन ब्रह्म जसको तैंले उपासना गरेको छस् ॥८॥ यस महिमावान् परमात्माको कुनै रूप दृष्टिको सामुन्ने अडिन सक्दैन, उसलाई कसैका यी भौतिक आँखाले देख्न सक्दैन ॥९॥ इत्यादि थुप्रै निषेध वचन छन् ।
निषेध प्राप्त र अप्राप्तको पनि हुन्छ । ‘प्राप्त’ को— जस्तै कोही कहीं बसेको छ, उसलाई त्यहाँबाट उठाइदिनु । ‘अप्राप्त’ को— जस्तै हे पुत्र ! तैंले चोरी कहिल्यै नगरेस्, इनारमा नखस्नु, दुष्टहरूको सङ्ग नगर्नु, विद्याहीन नरहनु, इत्यादि अप्राप्तको पनि निषेध हुन्छ । सो मनुष्यको ज्ञानमा अप्राप्त, परमेश्वरको ज्ञानमा प्राप्तको निषेध गरेको छ । त्यसैले पाषाणादि मूर्तिपूजा गर्न अत्यन्त निषिद्ध छ ।
प्रश्न— मूर्तिपूजामा पुण्य छैन त पाप पनि छैन ?
उत्तर— कर्म दुई प्रकारको नै हुन्छ— विहित=जुन कर्तव्यताबाट वेदमा सत्यभाषणादि प्रतिपादित छ । दोस्रो निषिद्ध=जुन अकर्तव्यताबाट मिथ्याभाषणादि वेदमा निषिद्ध छ । जसरी विहितको अनुष्ठान गर्नु त्यो धर्म, त्यसलाई नगर्नु अधर्म हो, त्यसरी नै निषिद्ध कर्मलाई गर्नु अधर्म र नगर्नु धर्म हो । जब वेदमा निषिद्ध मूर्तिपूजादि कर्म तिमीले गर्दछौ, तब पापी किन होइनौ ?
प्रश्न— हेर ! वेद अनादि हुन् । त्यो समयमा मूर्तिको के काम थियो ? किनभने पहिला त देवता प्रत्यक्ष थिए । यो रीति त पछिबाट तन्त्र र पुराणहरूदेखि चलेको हो । जब मनुष्यको ज्ञान र सामर्थ्य न्यून हुन गयो, परमेश्वरलाई ध्यानमा ल्याउन सकिंदैन, मूर्तिको ध्यान गर्न सकिन्छ, यस कारण अज्ञानीहरूका लागि मूर्तिपूजा हो । किनभने सिंढी-सिंढीबाट चढेर भवनमा पुगिन्छ । पहिलो सिंढी छोडेर माथि जान चाहेमा त जान सकिन्न, त्यसैले मूर्ति प्रथम सिंढी हो । यसलाई पूज्दा-पूज्दै जब ज्ञानी हुन्छ र अन्तःकरण पवित्र हुनेछ, तब परमात्माको ध्यान गर्न सक्नेछ । जसरी निशानाबाजले प्रथम स्थूलमा बाण, गोली वा गोला मार्दा-मार्दा पश्चात् सूक्ष्म निशानामाथि पनि मार्न सक्दछ । त्यसरी नै स्थूल मूर्तिको पूजा गर्दा-गर्दै सूक्ष्म ब्रह्मलाई पनि प्राप्त हुन्छ । जसरी केटीहरूले खेलौनाको खेल तबसम्म गर्दछन्, जबसम्म साँचो पतिलाई प्राप्त गर्दैनन्, इत्यादि प्रकारबाट मूर्तिपूजा गर्न दुष्ट काम होइन ।
उत्तर— जब वेदविहित धर्म र वेदविरुद्धाचरणमा अधर्म छ भने त तिमीले भन्दा पनि मूर्तिपूजा अधर्म ठहरियो । जुन ग्रन्थ वेददेखि विरुद्ध छन्, तिनीहरूको प्रमाण गर्नु जान कि नास्तिक हुनु हो । सुन—
नास्तिको वेदनिन्दकः ॥१॥ —मनुस्मृति (अध्याय २/श्लोक ११) ॥
या वेदब्राह्याः स्मृतयो याश्च काश्च कुदृष्टयः ।
सर्वास्ता निष्फलाः प्रेत्य तमोनिष्ठा हि ताः स्मृताः ॥२॥
उत्पद्यन्ते च्यवन्ते च यान्यतोऽन्यानि कानिचित् ।
तान्यर्वाक्कालिकतया निष्फलान्यनृतानि च ॥३॥
—मनुस्मृति (अध्याय १२/श्लोक ९५-९६) ॥
मनुजी भन्नहुन्छ जसले वेदहरूको ‘निन्दा’ अर्थात् अपमान, त्याग, विरुद्धाचरण गर्दछ, त्यसलाई ‘नास्तिक’ भन्दछन् ॥१॥ जुन ग्रन्थ वेदबाह्य, कुत्सित पुरुषहरूले बनाए, संसारलाई दुःखसागरमा डुबाउनेवाला हो, ती सबै निष्फल, असत्य, अन्धकाररूप, यस लोक र परलोकमा दुःखदायक हुन्छ ॥२॥ जति पनि यी वेदहरूदेखि विरुद्ध ग्रन्थ उत्पन्न हुन्छन्, ती आधुनिक हुनाले शीघ्र नष्ट हुन जान्छन् । तिनीहरूलाई मान्नु निष्फल र झुट्टो हो ॥३॥
यसै प्रकारबाट ब्रह्मादेखि लिएर जैमिनी मुनि पर्यन्तको मत छ कि वेदविरुद्धलाई मान्न हुँदैन, किन्तु वेदानुकूल कै आचरण गर्नु धर्म हो । किनभने वेद सत्य अर्थको प्रतिपादक हो, यसदेखि विरुद्ध जति पनि तन्त्र र पुराणहरू छन्, ती वेदविरुद्ध हुनाले झुट्टा हुन्, ती वेददेखि विरुद्ध चल्दछन् । तिनमा बताइएको मूर्तिपूजा पनि अधर्मरूप हो । मनुष्यको ज्ञान जडको पूजाले बढ्न सक्दैन किन्तु जे-जति ज्ञान छ, त्यो पनि नष्ट हुन जान्छ । यसैले ज्ञानीहरूको सेवा-सङ्गबाट ज्ञान बढ्दछ, पाषाणादिबाट होइन । के पाषाणादि मूर्तिपूजाबाट परमेश्वरलाई ध्यानमा कहिल्यै ल्याउन सक्दछ ? होइन-होइन । मूर्तिपूजा सिंढी होइन, किन्तु एउटा ठूलो खाल्डो हो, जसमा खसेर चकनाचूर हुन जान्छ । त्यस खाल्डोबाट निक्लन सक्दैन, किन्तु त्यसैमा मर्न पुग्दछ । हो, साना धार्मिक विद्वान्हरूदेखि लिएर परम विद्वान् योगीको सङ्गबाट सद्विद्या र सत्यभाषणादि परमेश्वरको प्राप्तिको सिंढीहरू हुन्, जसरी माथि घरमा जानको लागि निःश्रेणी हुन्छ । किन्तु मूर्तिपूजा गर्दा-गर्दै ज्ञानी त कोही भएनन्, प्रत्युत सबै मूर्तिपूजक अज्ञानी रहेर, मनुष्य जन्मलाई व्यर्थै गवाँए, थुप्रै मरेर गए र जति अब छन् र हुनेछन्, तिनीहरू पनि मनुष्य जन्मको धर्म, अर्थ, काम र मोक्षको प्राप्तिरूप फलहरूबाट विमुख भएर निरर्थ नष्ट हुन जानेछन् । मूर्तिपूजा ब्रह्मको प्राप्तिमा स्थूल लक्ष्यवत् होइन, किन्तु धार्मिक विद्वान् र सृष्टिविद्या हो । यसलाई बढाउँदै-बढाउँदै लगेर ब्रह्मलाई पनि पाउँछ । र मूर्ति खैलौनाको खेलवत् होइन, किन्तु प्रथम अक्षराभ्यास सुशिक्षाको हुनु, खेलौनाको खेलवत् ब्रह्मको प्राप्तिको साधन हो । सुन्नुहोस् ! जब राम्रो शिक्षा र विद्यालाई प्राप्त गर्नेछ, तब सच्चा स्वामी परमात्मालाई पनि प्राप्त गर्नेछ ।
प्रश्न— साकारमा मन स्थिर हुन्छ र निराकारमा स्थिर हुन कठिन छ, त्यसैले मूर्तिपूजा रहनुपर्दछ ।
उत्तर— साकारमा मन स्थिर कहिल्यै पनि हुन सक्दैन । किनभने त्यसलाई मनले झट ग्रहण गरेर त्यसको एक-एक अवयवमा घुम्दछ र दोस्रोमा दौडन जान्छ । र निराकार परमात्माको ग्रहणमा यावत्सामर्थ्य मन अत्यन्त दौडन्छ, तर पनि अन्त पाउँदैन । निरवयव हुनाले चञ्चल पनि रहँदैन किन्तु उसैको गुण-कर्म-स्वभावको विचार गर्दागर्दै आनन्दमा मग्न भएर स्थिर हुन जान्छ । यदि साकारमा स्थिर हुन्थ्यो भने त सबै जगत्को मन स्थिर हुन जान्थ्यो, किनभने जगत्मा मनुष्य, स्त्री, पुत्र, धन, मित्र आदि साकारमा फसिराख्दछ, परन्तु कसैको मन स्थिर हुँदैन, जबसम्म निराकारमा मन लगाउँदैन, किनभने त्यो निरवयव हुनाले उसमा मन स्थिर हुन जान्छ । त्यसैले मूर्तिपूजा गर्नु अधर्म हो ।
दोस्रो— त्यसमा करोडौं रुपैयाँ मन्दिरहरूमा व्यय गरेर दरिद्र हुन जान्छन् र त्यसमा प्रमाद हुन्छ ।
तेस्रो— स्त्री-पुरुषहरूको मन्दिरमा मेला हुनाले व्यभिचार, लडाईं-बखेडा र रोग उत्पन्न हुन्छन् ।
चौथो— त्यसैलाई धर्म, अर्थ, काम र मुक्तिको साधन मानेर पुरुषार्थरहित भएर मनुष्यजन्म व्यर्थै गवाउँछन् ।
पाँचौं— नाना प्रकारको विरुद्धस्वरूप-नाम-चरित्रयुक्त मूर्तिहरूका पुजारीहरूका ऐक्यमत नष्ट भएर, विरुद्धमतमा चलेर, आपसमा फुट बढाएर, देशको नाश गर्दछन् ।
छैटौं— त्यसैको भरोसामा शत्रुको पराजय र आफ्नो विजय मानेर बसिराख्दछन् । त्यसको पराजय भएर राज्य, स्वातन्त्र्य र धनको सुख उनका शत्रुका स्वाधीन हुन जान्छ । आफू पराधीन भाडाका टट्टू र कुमालेको गधाको तुल्य शत्रुहरूको वशमा परेर अनेकविध दुःख पाउँछन् ।
सातौं— जब कसैले कसैसँग भन्दछ कि हामी तेरो बस्ने आसनमा ढुङ्गा राखिदिन्छौं, तब त त्यो क्रोधित हुँदै पिट्न जाइलाग्नेछ, त्यसरी नै जुन परमेश्वरको उपासनाको स्थान हृदय र नाममा पाषाणादि मूर्तिहरू राख्दछन्, तिनको सत्यानाश परमेश्वरले किन नगर्ने ?
आठौं— भ्रान्त भएर मन्दिर-मन्दिर देश-देशान्तरमा घुम्दा-घुम्दा दुःख पाउँछन्, धर्म, संसार र परमार्थको कामलाई नष्ट गर्दछन्, चोर आदिबाट पीडित हुन्छन्, ठगहरूदेखि ठगिइराख्दछन् ।
नवौं— दुष्ट पुजारीहरूलाई धन दिन्छन्, तिनीहरूले त्यो धनलाई लगेर वेश्या, परस्त्रीगमन, मद्य, मांसाहार, लडाईं-बखेडाहरूमा व्यय गर्दछन्, जसबाट दाताको सुखको मूल नष्ट भएर दुःख पाउँछन् ।
दशौं— माता-पिता आदि माननीयहरूको अपमान र पाषाणादि मूर्तिहरूलाई मान गरेर कृतघ्न हुन जान्छन् ।
एघारौं— ती मूर्तिहरूलाई कसैले फुटाल्छ या चोरले लैजाँदा तब हा-हा गरेर रुन्छन् ।
बाह्रौं— पुजारी परस्त्रीहरूको सङ्ग र पुजारिन् परपुरुषहरूको सङ्गबाट प्रायः दूषित भएर स्त्री-पुरुषको प्रेमको आनन्दलाई हातबाट धोएर बस्दछन् ।
तेह्रौं— स्वामी-सेवकको आज्ञा पालन यथावत् नहुनाले, आपसमा विरुद्ध भएर नष्ट-भ्रष्ट हुन जान्छन् ।
चौधौं— जडको ध्यान गर्नेवालाको आत्मा पनि जडबुद्धि हुन जान्छ, किनभने ध्येयको जडत्व धर्म अन्तःकरणद्वारा आत्मामा अवश्य आउँछ ।
पन्ध्रौं— परमेश्वरले पुष्पादि सुगन्ध, वायु-जलको दुर्गन्ध निवारण र आरोग्यताको लागि बनाएको हो, त्यसलाई पुजारीले टिपेर नष्ट गरिदिन्छन्, पूर्ण सुगन्धको समयसम्म त्यसको सुगन्ध हुन्छ, त्यसको नाश मध्यमा नै गरिदिन्छन् । पुष्पादि मैलोको साथमा मिलेर-सडेर उल्टो दुर्गन्ध उत्पन्न गर्दछ । यसैले मूर्तिपूजा गर्नमा पाप हुन्छ । इत्यादि पापहरूको मूलकारण पाषाणादि मूर्तिपूजा पनि हो ।
यस्ता-यस्ता अनेक मूर्तिपूजा गर्दामा दोष आउँछन् । त्यसैले सर्वथा पाषाणादि मूर्तिपूजा सबै जनाको लागि त्यक्तव्य छ । फेरि जसले पाषाणमय मूर्तिपूजा गरेका थिए, गर्दछन् र गर्नेछन्, तिनीहरू पूर्वोक्त दोषहरूबाट नबचे, नबच्दछन् र न त बच्ने नै छन् ।
प्रश्न— कुनै प्रकारको मूर्तिपूजा गर्न हुन्छ कि हुँदैन र जुन हाम्रो आर्यावर्तमा ‘पञ्चदेवपूजा’ शब्द प्राचीनकालदेखि चलेर आएको छ, त्यसको यही ‘पञ्चायतनपूजा’— जुन कि शिव, विष्णु, अम्बिका, गणेश र सूर्यको मूर्ति बनाएर पूज्दछन्— यही नै पञ्चायतनपूजा हो कि होइन ?
उत्तर— कुनै प्रकारको मूर्तिपूजा नगर्न, किन्तु ‘मूर्तिमान्’ जो तल लेखिएका छन्, उनीहरूको ‘पूजा’ अर्थात् सत्कार गर्नुपर्दछ । त्यो पञ्चदेवपूजा, पञ्चायतनपूजा शब्द धेरै राम्रो अर्थवाला थियो, परन्तु मूढहरूले त्यसको सदर्थलाई छोडेर, असत्य अर्थ पक्डेका छन् । जो आजभोलि शिवादि पाँचैको मूर्तिहरू बनाएर पूज्दछन्, त्यसको खण्डन त माथि गरिसकेको छु । यो साँच्चो ‘पञ्चायतन’ वेदोक्त र वेदानुकूलोक्त देवपूजा र मूर्तिपूजा हो, सुन—
मा [नो॑] वधीः पि॒त॒रं मोत मात॒र॒म् ॥१॥ — यजुर्वेद (अध्याय १६/ मन्त्र १५) ॥
आ॒चा॒र्य उप॒नय॑मानो.....ब्रह्मचा॒रिण॑मिच्छते ॥२॥
—अथर्ववेद (काण्ड ११/सूक्त ५/ मन्त्र ३-१७) ॥
अति॑थिर्गृ॒हानुप॒गच्छे॑त् ॥३॥ —अथर्ववेद [तुलना- (काण्ड ११/सूक्त ५/ मन्त्र ३-१७)] ॥
अर्च॑त॒ प्रार्च॑त॒ प्रिय॑मेधासो॒ अर्च॑त ॥४॥ —ऋग्वेद (मण्डल ८/सूक्त ६९/मन्त्र ८) ॥
त्वमेव प्रत्यक्षं ब्रह्मासि त्वामेव प्रत्यक्षं ब्रह्म वदिष्यामि ॥५॥ —तैत्तिरीयोपनिषद् (१/१) ॥
कतम एको देव इति स ब्रह्म त्यदित्याचक्षते ॥६॥
—शतपथ ब्राह्मणे (कां.१४/प्रपा.५/ब्रा.७/कं.१०) ॥
मातृदेवो भव पितृदेवो भव आचार्यदेवो भव अतिथिदेवो भव ॥७॥
—तैत्तिरीयोपनिषद् (शीक्षा वल्ली/अनुवाक ११) ॥
पितृभिर्भ्रातृभिश्चैताः पतिभिर्देवरैस्तथा ।
पूज्या भूषयितव्याश्च बहुकल्याणमीप्सुभिः ॥८॥ —मनुस्मृति (अध्याय ३/श्लोक ५५) ॥
पूज्यो देववत्पतिः ॥९॥ —मनुस्मृति [तुलना– (अध्याय ५/श्लोक १५४)] ॥
प्रथम ‘माता’ मूर्तिमती पूजनीय देवता अर्थात् सन्तानहरूबाट, तन-मन-धनले, वा सेवा गरेर मातालाई प्रसन्न राख्नु, हिंसा अर्थात् ताडना कहिल्यै नगर्नु । दोस्रो ‘पिता’ सत्कर्तव्य देव हुन् । उनको पनि माताकै समान सेवा सुश्रुषा गर्नु ॥१॥ तेस्रो ‘आचार्य’ जसले विद्या दिन्छ, उसको तन-मनले सेवा गर्नु ॥२॥ चौथो ‘अतिथि’ जो विद्वान् धार्मिक, निष्कपटी, सबैको उन्नति चाहनेवाला, जगत्मा भ्रमण गर्दै, सत्य उपदेशले सबैलाई सुख पुर्याउँछ, त्यसको सेवा गर्नु ॥३॥ पाँचौं स्त्रीको लागि ‘पति’ र पुरुषको लागि ‘स्वपत्नी’ पूजनीय छ ॥४॥ यी पाँच मूर्तिमान् देव जसका सङ्गबाट मनुष्यदेहको उत्पत्ति, पालन, सत्यशिक्षा, विद्या र सत्योपदेशको प्राप्ति हुने गर्दछ । यिनीहरू नै परमेश्वरको प्राप्ति हुने सिंढी हुन् । यिनीहरूको सेवा नगरेर जसले पाषाणादि मूर्ति पूज्दछन्, ती अतिव पामर, नरकगामी हुन् ।
प्रश्न— माता-पिता आदिको सेवा गर्ने र मूर्तिपूजा पनि गर्ने, तब कुनै दोष त हुँदैन होलानि ?
उत्तर— पाषाणादि मूर्तिपूजा सर्वथा छोड्न र मातादि मूर्तिमान्हरूको सेवा गर्नमा नै कल्याण छ । बडो अनर्थको कुरो हो कि साक्षात् माता आदि प्रत्यक्ष सुखदायक देवहरूलाई छोडेर अदेव पाषाणादिमा शिर निहुराउन कसरी स्वीकार गरे । मूढहरूले यसको लागि स्वीकार गरेका हुन् कि यदि माता-पितादिको सामुन्ने नैवेद्य वा भेट-पूजा गर्यौं भने त स्वयं खानेछन् र भेटी पूजा पनि उनीहरूले लिनेछन् । हाम्रो मुख वा हातमा पर्नेछैन । यसैले पाषाणादि मूर्ति बनाएर, त्यसको अगाडि नैवेद्य राखेर, टंटन घण्टा पूँपूँ शङ्ख बजाएर, औंलो देखाउँदै ‘त्वमङ्गुष्ठं गृहाण, भोजनं पदार्थं वाऽहं ग्रहीष्यामि’ जस्ता कोही कसैलाई छलेर वा चिढाएर कि तँ घण्टा लिएर औंलो देखाएस्, त्यसको अगाडिका सबै पदार्थ ल्याएर आफै भोग्ने, त्यस्तै लीला यी ‘पुजारीहरू’ अर्थात् पूजाको नाममा सत्कर्मका शत्रुहरूको हो । मूढहरूलाई चटक-मटक, चलक-झलक देखाएर, मूर्तिहरूलाई चमक-दमक पार्दै, आफै वेश्या, भँडुवा वा ठगहरूको तुल्य बन्ठनेर विचार गर्दछ कि निबुर्द्धि अनाथहरूको माललाई हात साफ पार्दै मोज गर्दछन् । यदि कुनै धार्मिक राजा हुन्थ्यो भने त यी पाषाणप्रियहरूलाई ढुङ्गा फोर्न, घर बनाउन आदि काममा लगाएर खान-पिनको व्यवस्था तथा निर्वाहको बाटो गरिदिने थियो ।
प्रश्न— जसरी स्त्री आदिको पाषाणादि मूर्ति देख्नाले कामोत्पत्ति हुन्छ, त्यस्तै वितराग शान्तको मूर्ति देख्नाले वैराग्य र शान्तिको प्राप्ति किन हुँदैन ?
उत्तर— हुन सक्दैन । किनभने त्यो मूर्तिको जडत्व धर्म आत्मामा आउनाले विचारशक्ति घट्न जान्छ । विवेकको बिना न वैराग्य, वैराग्यको बिना विज्ञान, र विज्ञानको बिना शान्ति हुँदैन । अरू जे-जति हुन्छ सो उनको सङ्ग, उपदेश र उनको इतिहासादिलाई देख्नाले हुने गर्दछ, किनभने जसको गुण वा दोष नजानेर त्यसको मूर्तिमात्र देख्नाले प्रीति नै हुँदैन । प्रीति हुनुको कारण गुणज्ञान हो । यस्ता मूर्तिपूजा आदि नराम्रा कारणहरूले गर्दा नै आर्यावर्तमा निकम्मा, पुजारी, भिक्षुक, अल्छी पुरुषार्थरहित करोडौं मनुष्य भएका छन् । ती मूढ हुनाले सबै संसारमा मूढता उनैले फैलाएका हुन् । झुट-छल पनि धेरै फैलिएको छ ।
प्रश्न— हेर ! काशीमा ‘औरङ्गजेब’ बादशाहलाई ‘लाटभैरव’ आदिले बडो चमत्कार देखाएका थिए । जब मुसलमान त्यसलाई फोर्नको लागि जाइलागे, तोपको गोलाले हाने, तब ठूला-ठूला बारुला र अरिङ्गाल निस्केर, मुसलमानका सबै फौजलाई व्याकुल पारेर भगाइदिए ।
उत्तर— यो पाषाणको चमत्कार होइन । किन्तु त्यहाँ बारुला र अरिङ्गालको गोलो थियो होला । तिनको स्वभाव हुन्छ कि, जब कसैले तिनलाई छेड्दछ भने टोक्न जाइलाग्दछन् । र जुन दूधको धाराको चमत्कार भन्छौ भने त, त्यो पुजारीको लीला थियो ।
प्रश्न— हेर ! महादेवले म्लेच्छलाई दर्शन नदिनको लागि कूपमा र वेणीमाधव एक ब्राह्मणको घरमा गएर लुके । के यो पनि चमत्कार होइन त ?
उत्तर— जसका रक्षक भनाउँदा कालभैरव, लाटभैरव आदि भूत-प्रेत र गरुड आदि गणहरूले मुसलमानसँग लडेर किन हटाउन सकेनन् ? जब महादेव र विष्णुले पुराणहरूमा अनेक त्रिपुरासुर आदि बडा भयङ्कर दुष्टहरूलाई भस्म गरिदिए भने जाबो मुसलमानको फौजलाई किन भस्म गरेनन् ? यसबाट यही सद्धि हुन्छ कि त्यो बिचरा पाषाण के लड्थ्यो-लडाउँथ्यो ? जब मुसलमान मन्दिर र मूर्तिहरू फुटाल्दै काशीको नजिक आए, तब पुजारीहरूले त्यस पाषाणको लिङ्गलाई कूपमा (कुवामा) हालेर वेणीमाधवलाई ब्राह्मणको घरमा लुकाइदिए । जब काशीमा कालभैरवको डरको मारे यमदूत जाँदैनन्, प्रलयमा पनि काशीको नाश हुन दिंदैनन् भने त, म्लेच्छहरूका दूत किन नडराउने ? र आफ्ना राजाको मन्दिरको नाश किन हुन दिए ? यो सबै पोपलीला हो ।
गयाश्राद्धको बारेमा समीक्षा (११.९)
प्रश्न— गयामा श्राद्ध गर्नाले पितृहरूका पाप पखालिएर श्राद्धको पुण्यको प्रभावले पितृ स्वर्गमा जान्छन् र पितृले आफ्नो हात निकालेर पिण्ड लिन्छन्, के यो पनि झुटो कुरो हो त ?
उत्तर— सर्वथा झुटो हो । जुन वहाँ पिण्ड दिनाको त्यहीखालको प्रभाव हुन्छ भने त जुन पण्डाहरूलाई पितृहरूको सुखको लागि लाखौं रुपैयाँ दिन्छन्, त्यसको व्यय गयावालाले वेश्यागमनादि पापमा व्यय गर्दछन्, त्यो पाप किन छुट्दैन ? र हात निक्लेर पिण्ड-पानी लिएको आजकाल कहीं पनि देखिंदैन, बिना पण्डाहरूको हात बाहेक । यहाँ यस्तो गरेका हुन् कि कुनै धूर्तले जमिनमा गुफा बनाएर एक जना मनुष्यलाई बसाल्यो । त्यसको मुखमा कुश बिच्छाएर पिण्ड दियो होला र त्यस मनुष्यले उठायो होला । कुनै ‘आँखाको अन्धो गाँठको पूरा’ लाई ठगे होलान्, यसमा कुनै आश्चर्य छैन । त्यसरी नै वैजनाथलाई रावणले ल्याएको थियो, यो कुरो पनि मिथ्या हो ।
प्रश्न— हेर ! कलकत्ताकी ‘काली’ र ‘कामाक्षा’ आदि देवीलाई लाखौं मनुष्यहरूले मान्दछन्, के यो चमत्कार होइन त ?
उत्तर— केही पनि होइन । यी अन्धाहरू भेडाको बथानझैं एकको पछाडि अर्को हिंड्दछन्, कुवा-खाल्डोमा खस्दछन्, हट्न सक्दैनन् । त्यसरी नै एक मूर्खको पछाडि अर्को हिंडेर मूर्तिपूजारूपी खाल्डोमा फसेर दुःख पाउँछन् ।
जगन्नाथ तीर्थको बारेमा समीक्षा (११.१०)
प्रश्न— लौ त नि यसलाई त जान देऊ, परन्तु ‘जगन्नाथ’ मा प्रत्यक्ष चमत्कार छ । एक कलेवर बदलिने समयमा चन्दनको काठ समुद्रमा स्वयमेव आउँछ । चुलोमा माथि-माथि सात वटा कसौंडी राख्नाले माथि-माथिको पहिला-पहिला पाक्दछ । यदि कसैले जगन्नाथको प्रसाद खाएन भने त कुष्ठरोग हुन्छ र रथ आफै चल्दछ, पापीलाई दर्शन हुँदैन । ‘इन्द्रदमन’ को राज्यमा देवताहरूले मन्दिर बनाएका हुन् । कलेवर बदलिने समयमा एक राजा, एक पण्डा, एक सिकर्मी मर्ने आदि चमत्कारहरूलाई पनि तिमीले झुट्टो भन्न सक्नेछैनौ ।
उत्तर— जसले बाह्र वर्ष पर्यन्त जगन्नाथको पूजा गरेको थियो, त्यो विरक्त हुँदै मथुरामा आएको थियो, त्यसले मलाई भेटेको थियो । मैले ती सबै कुराको उत्तर सोधेको थिएँ, उनले यी सबै कुराहरू झुट्टा हुन् भने । किन्तु विचार गर्दा पनि यो निश्चय हुन्छ कि, जब कलेवर बदलिने समय आउँछ, तब डुँगामा चन्दनको काठ लगेर समुद्रमा हाल्दछन् । ती काठहरू समुद्रको छालले गर्दाखेरि किनारा लाग्दछन् । त्यसलाई ल्याएर मूर्तिकारहरूले मूर्ति बनाउँछन् । जब भान्छा बनाउँछन् तब फाटक बन्ध गरेर बिना भान्छेहरू बाहेक अरू कसैलाई जान र हेर्न दिंदैनन् । भूमिमा चारैतिर ६ र माझमा एक चक्राकार चुलो बनाउँछन् । ती कसौंडीहरूको पिंधमा घ्यू, माटो र खरानी लगाएर ६ चुलोमा चामलको कनिका पकाएर, त्यसका तल माझेर, यो माझको कसौंडीमा उत्ति वेलै चामल हालेर, ६ वटै चुलाको मुख फलामको तावोले बन्ध गरेर, दर्शन गर्नेवाला जुनचाहिं धनाढ्य हुन्छ, त्यसलाई बोलाएर देखाउँछन् । माथि-माथिको कसौंडीबाट भात निकालेर, कनिका भएको भातलाई देखाउँदै, तलको काँचो भातलाई निकालेर देखाउँदै तिनीहरूलाई भन्दछन् कि “केही कसौंडीको पनि लागि राख ।” ‘आँखाका अन्धा गाँठका पूरा’ ले, रुपैयाँ-असर्फी राख्दछन् र कसै-कसैले मासिक रूपमा पनि दिने गर्दछन् ।
शूद्र नीच जनहरूले मन्दिरमा नैवेद्य ल्याउँछन् । जब नैवेद्य चढाइसकिन्छ तब ती शूद्रहरूले जूठो हालिदिन्छन् । पश्चात् जो कसैले रुपैयाँ दिएर कसौंडी लिन्छ, उसको घर कसौंडी पुर्याइदिन्छन् र गरीब गृहस्थ र साधु सन्तहरूलाई लिएर शूद्र र अन्त्यज पर्यन्तलाई एकै पङ्क्तिमा बसालेर, जूठो भोजन गराउँछन् । जब त्यो पङ्क्ति उठ्दछ, तब-तब उनै पात-टपरीमा दोस्रालाई बसाल्दै जान्छन् । महा अनाचार छ । फेरि थुप्रै मान्छेहरू वहाँ जाँदाखेरि त्यहाँको जूठो नखाएर आफैले पकाएर खाएर आउँछन्, धेरैले प्रसाद पनि खाँदैनन्, तिनीहरूलाई कुनै कुष्ठरोग लाग्दैन । फेरि उस जगन्नाथपुरीमा पनि थुप्रै कुष्ठीहरू छन्, नित्यप्रति जूठो खाँदा पनि रोग छुटेको छैन ।
र यो जगन्नाथमा वाममार्गीहरूले भैरवीचक्र बनाएका छन्, किनभने ‘सुभद्रा’ श्रीकृष्ण र बलदेवकी बहिनी पर्दछिन् । उनैलाई दुइटै भाइहरूको बीचमा स्त्री र माताको स्थानमा पारेर बसाएका छन् । यदि भैरवीचक्र हुन्थेन भने त यो कुरो कहिल्यै पनि हुन सक्थेन ।
फेरि रथको पाङ्ग्राको साथमा कला बनाएका छन् । जब त्यसलाई सीधा घुमाउँछन् तब त्यो सीधा घुम्दछ, तब रथ हिंड्दछ । जब मेलाको बीचमा पुग्दछ त्यत्ति वेलै काँटीलाई उल्टो घुमाइदिन्छन्, जसको कारणले रथ रोकिन्छ । पुजारीहरू पुकार्दछन्— “दान चढाओ, पुण्य गर, जसबाट जगन्नाथ प्रसन्न भएर रथ चलाउनेछन्, आफ्नो धर्म रहोस् ।” जबसम्म भेटी आउने-जाने भैराख्दछ, तबसम्म यस्तै पुकार्दैराख्दछन् । जब पूरा आइसक्दछ, तब एक व्रजवासी राम्रो दोसल्ला ओढेर अगाडि उभिएर हात जोड्दै स्तुति गर्दछ कि– “हे जगन्नाथ स्वामिन् ! तपाईं कृपा गरेर रथलाई चलाउनुहोस्, हाम्रो धर्म राख्नुहोस्” इत्यादि भन्दै साष्टाङ्ग दण्डवत् प्रणाम गरेर रथमा चढ्दछ । ठीक त्यति वेलै काँटीलाई सीधा घुमाइदिन्छन् र जय-जयकारको शब्द बोल्दै, हजारौं मनुष्यले डोरी तान्दछन्, अनि रथ चल्न थाल्दछ ।
जब थुप्रै मान्छेहरू दर्शनको लागि जान्छन्, तब यति ठूलो मन्दिर छ कि जसमा दिनमा अँधेरो रहन्छ र दीप जलाउन पर्दछ । ती मूर्तिहरूको अगाडि, खिचेर लगाउने परदा दुवैतिर रहन्छ । पण्डा-पुजारी भित्र उभिइराखेका हुन्छन् । जब बगलवालाले परदा खिच्दछ, तुरुन्तै मूर्ति छेकिन्छ । तब सबै पण्डा र पुजारी पुकार्दछन् कि “तिमीले भेटी चढाऊ, तिम्रा पाप छुट्नेछन्, तब दर्शन हुनेछ । छिट्टो गर ।” ती बिचरा भोला मनुष्य धूर्तहरूका हातबाट लुटिन्छन् र झट परदा दोस्रोले खिचिदिन्छ, तब दर्शन हुन्छ । तब जय शब्द बोलेर प्रसन्न हुँदै धक्का खाएर तिरस्कृत हुँदै हिंड्दछन् ।
‘इन्द्रदमन’ वही हो कि जसका कुलका अझैसम्म कलकत्तामा छन् । त्यो धनाढ्य राजा र देवीको उपासक थियो । उसले लाखौं रुपैयाँ खर्च गरेर मन्दिर बनाएको थियो । यस कारणले कि आर्यावर्त्तको भोजनको बखेडा यस रीतिबाट छुटोस् । परन्तु ती मूर्खले कहिले छोड्ने ? ‘देवता’ मान त ती कारीगरहरूलाई जुन शिल्पीहरूले मन्दिर बनाए ।
राजा, पण्डा र सिकर्मी त्यो समयमा मर्दैनन्, परन्तु वहाँ प्रधान रहन्छन् । सानालाई दुःख दिन्छन् होला । उनीहरूले– सम्मति गरेर उसै समय अर्थात् कलेवर बदल्ने वेलामा ती तीनै उपस्थित रहन्छन् । मूर्तिको हृदय (छाती) मा भित्रपट्टि खाली छ । त्यसमा एउटा सुनको सम्पुटमा एक शालिग्राम राख्दछन् कि जसलाई प्रतिदिन धोएर चरणामृत बनाउँछन्, त्यसमा रात्रिको शयन आरतीमा ती मान्छेहरूले— विषको तेजाब लपेटिदिए होलान् । त्यसलाई धोएर उनै तीन जनालाई ख्वाइदिए होलान् । जसले गर्दा ती तीनै जना मरे होलान् । मरे भनेर यस प्रकारले भोजनभट्टहरूले प्रसिद्ध गरे होलान् कि जगन्नाथजी आफ्नो शरीर बदल्ने वेलामा तीनै जना भक्तहरूलाई पनि साथैमा लिएर गए । यस्ता झुट्टा कुरा पराय धन ठग्नको लागि धेरै हुने गर्दछ ।
रामेश्वरको बारेमा समीक्षा (११.११)
प्रश्न— जुन रामेश्वरमा गङ्गोत्तरीको जल चढाउने समयमा लिङ्ग बढ्दछ, के यो कुरो पनि झुटो हो त ?
उत्तर— एकदमै झुटो हो । किनभने त्यस मन्दिरमा पनि दिनमा अँधेरो रहन्छ । दीप रात-दिन जलिराखेको हुन्छ । जब जलको धारा छोड्दछन्, तब त्यस जलमा बिजुलीको समान दीपको प्रतिबिम्ब चम्कन्छ, अरू केही पनि होइन । न पाषाण घट्छ, न बढ्छ, जत्तिको तत्ति रहन्छ । यस्तो लीला गरेर बिचरा निबुर्द्धिहरूलाई ठग्दछन् ।
प्रश्न— रामेश्वरलाई रामचन्द्रले स्थापना गरेका हुन् । यदि मूर्तिपूजा वेदविरुद्ध हुन्थ्यो भने त ‘रामचन्द्रले’ मूर्तिस्थापन किन गर्थे र वाल्मीकिजीले रामायणमा किन लेख्थे ?
उत्तर— रामचन्द्रको समयमा त्यस लिङ्ग वा मन्दिरको नाम निशान पनि थिएन, किन्तु यो ठीक हो कि दक्षिण देशस्थ ‘राम’ राजाले मन्दिर बनाएर, लिङ्गको नाम ‘रामेश्वर’ राखिदिएका हुन् । जब रामचन्द्रजी सीताजीलाई लिएर हनुमान आदिको साथ लङ्का हिंडे, आकाशमार्गमा विमानमा बसेर अयोध्या आउँदै थिए, तब सीताजीसँग भन्दछन् कि—
अत्र पूर्वं महादेवः प्रसादमकरोद्विभुः । सेतुबन्ध इति विख्यातम् ॥
—वाल्मीकि रामायण, लङ्काकाण्ड-युद्धकाण्ड (सर्ग १२३/श्लोक २०, २१) ॥
हे सीते ! तिम्रो वियोगले म व्याकुल भएर घुम्दथें र यसै स्थानमा चातुर्मास गरेको थिएँ र परमेश्वरको उपासना ध्यान पनि गर्दथें । उनै जो सर्वत्र विभु व्यापक महान् देवहरूका देव ‘महादेव’ परमात्मा हुन्, उनैको कृपाले हामीलाई सबै सामाग्री यहाँ प्राप्त भयो । फेरि हेर ! यो सेतु हामीले बाँधेर लङ्कामा आएर, त्यस रावणलाई मारेर, तिमीलाई लिएर आयौं ॥ यसको सिवाय वहाँ वाल्मीकिले अन्य केही पनि लेखेनन् ।
कालियकन्त, सोमनाथ आदिको समीक्षा (११.१२)
प्रश्न— ‘रङ्ग है कालियाकन्त को । जिसने हुक्का पिलाया सन्त को’ ॥ दक्षिणमा एक कालियाकन्तको मूर्ति छ । त्यसले अझैसम्म पनि हुक्का पिउने गर्दछ । यदि मूर्तिपूजा झुटो हुन्थ्यो भने त यो चमत्कार पनि झुटो बनोस् ।
उत्तर— झुट्टो-झुट्टो-झुट्टो । यो सबै पोपलीला हो । किनभने त्यो, मूर्तिको मुखभित्र प्वाल छ होला । त्यसको छिद्र पृष्ठमा निकालेर, भित्ताको पारी, दोस्रो घरको कोठामा नल जोडेर लगाएको छ होला । जब पुजारीले हुक्का भरेर, चिलम लगाउँदै मुखको नलीमा जोडाएर, परदा लगाएर बाहिर निस्कन्छ होला, ठीक त्यति वेला पछाडिको मान्छेले मुखले नलीबाट सर्को तान्दछ होला, यतातिर हुक्का गडगड गरेर आवाज गर्दछ होला । दोस्रो छिद्र नाक र मुखको साथमा लागेको छ होला । जब पछाडि फुँक मार्दछ, तब नाक र मुखको छिद्रबाट धुवाँ निक्लन्छ होला । त्यस समयमा थुप्रै मूढहरूबाट धनादि पदार्थ लुटेर धनरहित गर्दछन् होला ।
प्रश्न— हेर ! डाकोरजीको मूर्ति द्वारिकादेखि भगतको साथमा आयो । एक सवा रत्तीको सुनमा कयौं मनको मूर्ति तौलियो । के यो पनि चमत्कार होइन ?
उत्तर— होइन । त्यो भक्तले मूर्तिलाई चोरेर ल्यायो होला र सवा रत्तीको बराबर मूर्तिको तुलना, कुनै गँजडी मान्छेले गफ हाँकिदियो होला ।
प्रश्न— हेर ! सोमनाथजी पृथ्वीदेखि माथि रहन्थे र उनको बडो चमत्कार थियो, के यो पनि मिथ्या कुरो हो ?
उत्तर— हो मिथ्या हो । किनभने त्यो फलामबाट बनेको मूर्ति थियो । तल माथि चुम्बक पाषाण लगाएर राखेका थिए । त्यसको आकर्षणले गर्दा त्यो मूर्ति बिना आधार भुण्डिन्थ्यो । जब महमूद-गजनी आएर लड्यो, तब यो चमत्कार भयो कि त्यसको मन्दिर भत्काइयो र पुजारी भक्तहरूको दुदर्शा भयो, र लाखौं फौज दश हजार फौजसँग पराजित भएर भागेर गए । जुन पोप-पुजारी पूजा, पुरश्चरण, स्तुति, प्रार्थना गर्दथे कि “महादेव ! यस म्लेच्छलाई तैंले मारिदे, हाम्रो रक्षा गर”, आफ्ना चेला राजाहरूलाई सम्झाउँथे कि “तपाईं निश्चिन्त रहनुहोस् । महादेवजीले भैरव अथवा वीरभद्रलाई पठाइदिनेछन् । उनीहरूले सबै म्लेच्छलाई मारेर अन्धो बनाइदिनेछन् । अहिले हाम्रा देवता प्रसिद्ध हुनेछन् । हनुमान, दुर्गा र भैरवले सपनामा भनेका छन् कि हामी सबै काम गरिदिनेछौं ।” ती बिचरा भोले राजा र क्षत्रिय पोपहरूले बहकाउनाले विश्वासमा परे ।
कति नै ज्योतिषी पोपहरूले भने कि अहिले तिमीले चढाई गर्ने मुहूर्त्त निस्केको छैन । एउटाले आठौं चन्द्रमा बतायो । अर्कोले योगिनी सामुन्ने देखायो, इत्यादि बहकावटमा रहे ।
जब म्लेच्छहरूको फौजले आएर घेरा हाले, तब दुर्दशाले अत्तालिएर भागे । कयौं पोप-पुजारी र उनका चेला पक्राउमा परे । पुजारीहरूले हात जोडेर यो पनि भन्न भ्याए कि तीन करोड रुपैयाँ लेल, मन्दिर र मूर्ति नफुटाल । मुसलमानहरूले भने कि “हामी ‘बुत्परस्त’ होइनौं किन्तु ‘बुतशिकन्’ अर्थात् मूर्तिपूजक होइनौं, किन्तु मूर्तिभञ्जक हौं अर्थात् फुटाल्नेवाला हौं ।” गएर मन्दिर भज्यात्तै फुटालिदिए । जब माथिको छत भत्कियो, तब चुम्बक पाषाण पृथक् हुनाले मूर्ति तल खस्यो । जब मूर्ति फुटाले सुनिन्छ कि अट्ठाह्र करोडको रत्न निस्कियो । जब पुजारी र पोपमाथि डण्डा र कोर्रा बर्सियो, तब रुन लागे । मुसलमानले भने कि कोष बताओ । डरको मारे तुरुन्तै भनिदिए । ती सबै चीज लिएर लुटपाट गर्दै पोपका चेलाहरूलाई ‘दास’ बेगारी बनाएर, पिस्नसम्म पिसाएर, घाँस काट्न लगाए, मल-मूत्रादि उठाउन पनि लगाएर चना खानको लागि दिए ।
हाय ! किन ढुङ्गाको मूर्तिलाई पूजा गरेर सत्यानाशलाई प्राप्त भए ? किन परमेश्वरको भक्ति गरेनन्, जसले म्लेच्छहरूका दाँत भाँचिदिन्थे र आफ्नो विजय गर्थे । हेर ! जति मूर्तिहरू थिए, त्यति शूरवीरहरूको पूजा गर्दथे भने तापनि यिनीहरूको कति रक्षा हुने थियो ? पुजारीहरूले यति भक्ति पाषाणहरूको गरे कि– परन्तु मूर्तिले एउटाको पनि उनको शिरमा उडेर चोट पुर्याउन सकेन । यदि कुनै एउटा शूरवीरको पनि मूर्तिकै सदृश सेवा गरेको भए त, त्यसले आफ्नो सेवकको यथाशक्ति बचाउ अवश्य गर्ने थियो र शत्रुलाई मार्नेथियो ।
द्वारका ज्वालामुखी आदिको समीक्षा (११.१३)
प्रश्न— द्वारकाजीका ‘रणछोडजी’ को जसले ‘नर्सीमेहता’ लाई हुण्डी पठाइदिएर उसको ऋण चुक्ता गरिदिए, इत्यादि कुरो पनि झुटो हो त ?
उत्तर— कुनै साहुकारले रुपैयाँ दियो होला । कुनैले झुट्टो नाम उडाइदियो होला कि श्रीकृष्णले पठाए भनेर । जब संवत् १९१४ को वर्षमा तोपहरू चलाएर मन्दिर-मूर्तिहरू अंग्रेजहरूले उडाइदिएका थिए, तब मूर्ति कहाँ गएको थियो ? प्रत्युत बाघेर जनहरूले जति वीरतासँग लडे, शत्रुहरूलाई मारे, परन्तु मूर्तिले एउटा माखाको खुट्टा जत्तिलाई पनि भाँच्न सकेन । यदि कोही श्रीकृष्णको सदृश हुन्थ्यो भने त, यिनीहरूको धुलो काडिदिन्थे र यी भाग्ने थिए । जहाँ कि उसको रक्षकले नै मार खान्छ भने त, त्यसको शरणागत किन नपिटिने ?
प्रश्न— ज्वालामुखी त प्रत्यक्ष देवी हुन्, सबैलाई खान्छिन् र प्रसाद दिएमा त आधा खाइदिन्छिन् र आधा छोडिदिन्छिन् । मुसलमान बादशाहहरूले उनीमाथि जलको नहर छोडेर फलामको ताओ जडाइदिएका थिए तर पनि ज्वाला निभेन र रोकिएन पनि । त्यस्तै हिंगलाज पनि आधी रातको सवारी गरेर पहाडमा देखिन्छिन्, पहाडमा गर्जना गराउँदछिन् । चन्द्रकूप बोल्दछ र योनियन्त्रबाट निस्कन सकेमा पुनर्जन्म हुँदैन । ठूमरा बाँध्नाले पूरा महापुरुष हुन्छ । जबसम्म हिंगलाज गएर आउँदैन, तबसम्म आधा महापुरुष भनिन्छ, इत्यादि सबै कुराहरू के मान्नयोग्य छैन ?
उत्तर— छैन । किनभने त्यो ज्वालामुखी पहाडभित्रबाट आगो=लावा निस्कन्छ । त्यसमा पुजारी पोपहरूको विचित्र लीला छ । जसरी झान्नलाई तताएको चम्चाको घ्यूमा ज्वाला आउँछ, अलग गर्नाले वा फुँक मार्नाले निभ्दछ, थोरै घ्यूलाई खाइदिन्छ, शेष छोडेर गएकै समान त्यहाँ पनि हुन्छ । जसरी चुलाको ज्वालामा जे हालिन्छ त्यो भस्म हुन जान्छ, जङ्गल वा घरमा लाग्न गएमा सबैलाई खाइदिन्छ, यसभन्दा त्यहाँ के विशेष छ र ? बिना एक मन्दिर, कुण्ड र यता-उता नल रचनाको । हिंगलाजमा न कुनै सवारी हुन्छ, र जे-जति हुन्छ, त्यो सबै पोप-पुजारीहरूको लीला बाहेक केही पनि होइन । एक जल र दल्दलको कुण्ड बनाएर राखेका छन्, जसको तलतिरबाट पानीको फकुन्टाहरू उठ्दछन् । त्यसैलाई सुफलयात्रा हुनु मूढहरूले मान्दछन् । योनिको यन्त्र पोपजीले धन हर्नको लागि बनाएर राखेका छन्, र ठूमरे=जन्तर पनि उसै प्रकारको पोपलीलाको करामत हो । उसबाट महापुरुष हुन्छ भने त एक पशुमाथि ठूमरेको बोझ लदाइदिएमा के त्यो महापुरुष बन्छ त ? महापुरुष त ठूला उत्तम धर्मयुक्त पुरुषार्थबाट हुने गर्दछ ।
प्रश्न—अमृतसरको तलाउ अमृतरूप, एक रीठाको फल आधा मीठो, एक भित्ता निहुरन्छ र ढल्दैन, रेवालसरमा बेडा तर्दछन्, अमरनाथमा आफै लिङ्ग बन्दछ, हिमालयदेखि परेवाका जोडी आएर सबैलाई दर्शन दिएर जान्छन्, के यी सबै कुरालाई पनि मान्न योग्य छैन ?
उत्तर— छैन । उस तलाउको नाममात्र अमृतसर हो । जब कुनै बखतमा जङ्गल थियो होला, त्यति वेला त्यसको जल मीठो थियो होला । यसैले त्यसको नाम अमृतसर राखे होलान् । यदि अमृत हुन्थ्यो भने त पुराणीहरूले मानेझैं कोई किन मर्दथे ? भित्ताको बनावट यस्तो होला कि नुग्छ पनि र ढल्दैन पनि । रीठाको कुरो कुनै लेखौडाले अथवा गफाडीले गफ हाँकिदिएको होला । रेवालसरमा बेडा तैराउने कुनै कारीगरी छ होला । अमरनाथमा बरफको पहाड बन्दछ भने, जल जमेर सानो लिङ्ग बन्नु कुनचाहिं आश्चर्यको कुरो भयो ? र परेवाका जोडा पालित होलान्, पहाडको आडबाट पोपजीले छोडिदिन्छन् होला । देखाएर पैसा हडप्छन् होला ।
हरिद्वार, बदरीनारायण, पशुपतिनाथ आदिको समीक्षा (११.१४)
प्रश्न— ‘हरिद्वार’ स्वर्गको द्वार, ‘हरकी पीढी’ मा स्नान गरे त पाप छुटेर जान्छन्, ‘तपोवन’ मा रहँनाले तपस्वी हुन्छ । ‘देवप्रयाग’, गङ्गोत्तरीमा ‘गोमुख’, उत्तरकाशीमा ‘गुप्तकाशी’, ‘त्रियुगीनारायण’ को दर्शन हुन्छ । ‘केदार’ र ‘बद्रीनारायण’ को पूजा ६ महिनासम्म मनुष्यले र ६ महिनासम्म देवताले गर्दछन् । महादेवको मुख नेपालमा पशुपतिनाथ; मलद्वार केदारमा, तुङ्गनाथमा घुँडा अनि अमरनाथमा पैताला । यिनीहरूको दर्शन-पर्शन-स्नान गर्नाले मुक्ति मिल्दछ । वहाँ केदारनाथ र बद्रीनाथबाट स्वर्गमा जान चाहे त जान सकिन्छ, इत्यादि कुराहरू कस्तो हो ?
उत्तर— हरिद्वार उत्तर पहाडहरूमा जानको लागि एउटा मार्गको आरम्भ हो । ‘हरकी पीढी’ एक स्नानको लागि कुण्डको सिंढीहरूलाई बनाइएको छ । साँच्चै भनौं भने त ‘हाडपीढी’ हो, किनभने देश-देशान्तरहरूका मृतकका हाडखोरहरू त्यसमा तैरिराखेको हुन्छ । पाप कहिल्यै छुट्न सक्दैन बिना भोगे, अथवा कटिंदैनन् । ‘तपोवन’ जब थियो तब थियो होला, अहिले त ‘भिक्षुकवन’ हो । ‘तपोवन’ मा जानाले, रहँनाले, तप हुँदैन, किन्तु तप त गर्नाले हुन्छ, किनभने वहाँ थुप्रै दोकानदार झुट बोल्नेहरू पनि रहन्छन् । ‘हिमवतः प्रभवति गङ्गा’ पहाडको माथिबाट जल खस्दछ । गोमुखको आकार पोपलीलाबाट बनाएका होलान् र त्यही पहाड पोपको स्वर्ग हो । वहाँ उत्तरकाशी आदि स्थान ध्यानीहरूका लागि राम्रो हो, परन्तु दोकान्दारीहरूका लागि त्यहाँ पनि दोकानै हो । देवप्रयाग पुराणका गफाडीहरूको लीला हो, अर्थात् जहाँ अलखनन्दा र गङ्गा मिलेकी छन्, यसैले वहाँ देवता बस्दछन्, यस्तो गफ नमार्ने भने त त्यहाँ को जाने र कसले पैसा दिने ? गुप्तकाशी त छैन, त्यो त प्रसिद्ध काशी हो । तीन युगको धूनी त देखिंदैन परन्तु पोपहरूका दश-बीस पिंढीको होला, जस्तै जोगीहरूको धूनी र पार्सीहरूको अग्यारी सदैव जलिरहन्छ । तप्तकुण्ड पनि पहाडको भित्र हुनाले उष्मा गर्मी हुन्छ, त्यसमा तपेर जल आउँछ । त्यसको नजिकै दोस्रो कुण्डमा माथिको जल वा जहाँ तातो छैन, वहाँको जल आउँछ । यसैले चीसो हुन्छ । केदारनाथको स्थान— त्यो भूमि पर्यटनको लागि अति राम्रो छ, परन्तु वहाँ पनि एउटा जमेको ढुङ्गामाथि पोप वा पोपका चेलाहरूले मन्दिर बनाएर राखेका छन् । वहाँ महन्त-पुजारी-पण्डाले आँखाका ‘अन्धा गाँठका पूरासँगबाट’ मालमत्ता लिएर विषयानन्द गर्दछन् । त्यसरी नै ‘बद्रीनारायण’ मा पनि ठग-विद्यावाले थुप्रै बसेका छन् । रावलजी नाम गरेका त्यहाँका मुख्य ठगदार हुन् । एउटी स्त्रीलाई छोडेर थुप्रै रखौटी बटुलेर राखेका छन् । पशुपतिनाथ एउटा मन्दिर र पञ्चमुखी मूर्तिको नाम महादेव राखेका छन् । जब कसैले सोध्दैन तब पोपलीला बलवती हुन्छ । परन्तु अरू तीर्थका जति धूर्त धनहरे हुन्छन्, त्यस्ता पहाडीहरू चाहिं हुँदैनन् । भूमि बडो रमणीय र पवित्र छ ।
प्रश्न— विन्ध्याचलमा ‘विन्ध्येश्वरी काली अष्टभुजा’ प्रत्यक्ष सत्य हो । विन्ध्येश्वरीले तीन समयमा तीन रूप फेर्दछिन् र उनको बारभित्र माखा कत्ति पनि हुँदैनन् । प्रयाग तीर्थराज वहाँ टाउको मुडाएर सिद्ध, गङ्गा-जमुनाको सङ्गममा स्नान गर्नाले इच्छा सिद्धि हुन्छ । त्यस्तै अयोध्या कयौं पटक उडेर सबै बस्तीसहित स्वर्गमा गयो । मथुरा सबै तीर्थहरूमा अधिक, वृन्दावन लीलास्थान र गोवर्द्धन व्रजयात्रा बडो भाग्यले मिल्दछ । सूर्यग्रहणमा कुरुक्षेत्रमा लाखौं मान्छे जाने-आउने गर्दछन्, के यी सबै कुराहरू अन्यथा हो त ?
उत्तर— प्रत्यक्ष त आँखाले तीनवटै मूर्तिहरू देखिन्छन्, पाषाणका मूर्तिहरू हुन् । र तीन कालमा तीन प्रकारको रूप हुनाको कारण पुजारीहरूको वस्त्र आभूषण पहिराउने चतुराईको कला हो र माखाहरू हजारौं-लाखौं हुन्छन्, मैले आफ्नै आँखाले देखेको छु । प्रयागमा कुनै हजाम श्लोक बनाउनेवाला थियो होला अथवा पोपजीलाई केही दिएर टाउको मुडाउने माहात्म्य बनाए वा बनाउन लगाए होलान् । प्रयागमा स्नान गरेर कोही पनि स्वर्ग गएको त देखिएको छैन, किन्तु घर फर्कंदै गरेका देखिन्छन् । अथवा यदि कुनै वहाँ डुबेर मर्यो भने त त्यसको जीव पनि आकाशमा वायुको साथमा घुमेर त्यहीं जन्म लिन्छ होला । तीर्थराज पनि नाम पोपहरूले राखेका हुन् । जडमा राजा-प्रजाभाव कहिल्यै हुन सक्दैन । यो बडो असम्भवको कुरो छ कि अयोध्या नगरी, बस्ती, कुकुर, गधा, पोडे, च्यामे, चोर सहित तीन पटक स्वर्गमा गयो । स्वर्गमा त गएको छैन, वहींको वहीं छ, परन्तु पोपजीको मुख-गफ्फौडामा अयोध्या स्वर्गमा उडेर गयो । यो गफ्फौडा शब्दरूप उड्दै फिरिरहन्छ । यस्तै नै नैमिषारण्य आदिको पनि पोपलीला जान्नू । ‘मथुरा तीनै लोकदेखि निरालो’ त होइन, परन्तु त्यसमा तीन जन्तु बडा लीलाधारी छन् कि जसले गर्दा जल, स्थल र अन्तरिक्षमा कसैलाई सुख मिल्न कठिन छ । एक त चौबे जो कोही त्यहाँ स्नान गर्न जान्छ त्यसलाई दक्षिणाले लुटेर आफ्नो बनाउन उभिएर कराइरहेको हुन्छ “ल्याऊ यजमान ! भाङ्ग, चिलम पिऔं र लड्डु खाऔं ।” दोस्रो पानीमा कछुवाले मार्नैं आँट्दछन्, जसले गर्दा घाटमा स्नान गर्न पनि कठिन हुन्छ । तेस्रो आकाशमाथि रातो मुख भएका बाँदर पगडी, टोपी, गहना, जुत्तासम्म पनि छोड्दैनन्, लुछ्न आउँछन्, धकेलेर खसाल्नै आँट्छन्, र यी तीनै थरी पोप र पोपका चेलाहरूमा पूजनीय छन् । चना आदि अन्न कछुवा, बाँदरलाई चना गुँड आदि र चौबेलाई दक्षिणा र लड्डुहरूले उनका सेवकले सेवा गर्दछन् । वृन्दावन जब थियो तब थियो, अहिले त वेश्यावनवत् लल्ला-लल्ली र गुरु-चेली आदिको लीला फैलिरहेको छ । त्यसरी नै दीपमालिकाको मेला, गोवर्द्धन र व्रजयात्रामा पनि पोपहरूको स्वार्थसिद्ध भएको छ । कुरुक्षेत्रमा पनि त्यही जीविकाको लीला सम्झनु । यिनीहरूमा जो कोही धार्मिक परोपकारी पुरुष छन्, यस पोपलीलाबाट पृथक् हुन जान्छन् ।
प्रश्न— यी मूर्तिपूजा र तीर्थ सनातनदेखि चलेर आएको छ, झुटो कसरी हुनसक्दछ ?
उत्तर— तिमीले सनातन कसलाई भन्दछौ ? जुन सदादेखि चलेर आएको छ । यदि यो सदादेखि हुन्थ्यो भने त वेद र ब्राह्मणादि ऋषिमुनिकृत पुस्तकहरूमा यिनीहरूको नाम किन छैन ? यो मूर्तिपूजा पच्चीस सय-तीन हजार वर्षको यतातिरबाट वाममार्गी र जैनीहरूले चलाएका हुन् । प्रथम आर्यावर्त्तमा थिएन । र यी तीर्थ पनि थिएनन् । जब जैनीहरूले गिरनार, पालिटाना, शिखर, शत्रुञ्जय र आबू आदि तीर्थ बनाए, उनकै अनुकूल यिनीहरूले पनि बनाए । यदि कसैले यिनको आरम्भको परीक्षा गर्न चाहन्छ भने ती पण्डाहरूको पुरानो भन्दा पुरानो बहीखाता, ताम्रपत्र, भुजपत्र, गुठीका अभिलेख आदि हेर्नुहोस्, तब निश्चय हुन जानेछ कि यी सबै तीर्थ पाँच सय अथवा हजार वर्षको यतादेखि बनेका हुन् । हजार वर्ष भन्दा उताको लेख कसैसँग छैन र निकाल्न पनि सकदैनन् । यसैले यी सबै आधुनिक हुन् ।
प्रश्न— जुन-जुन तीर्थ वा नामको माहात्म्य अर्थात् जस्तै ‘अन्यक्षेत्रे कृतं पापं काशीक्षेत्रे विनश्यति’ (काशीमाहात्म्य, काशीखण्ड) इत्यादि कुरो साँचो हो कि होइन ?
उत्तर— साँचो होइन । किनभने यदि पाप छुट्थ्यो भने त दरिद्रहरूलाई धन, राज; अन्धाहरूलाई आँखा मिल्थ्यो ! कुष्ठ रोगीहरूको रोग निको हुने थियो; यस्तो हुँदैन । यसैले पाप वा पुण्य कसैको पनि छुट्दैन ।
प्रश्न— हेर ! नेपालको मुक्तिनाथमा तीर्थयात्रीहरूको कत्रो भीड लाग्दछ । चारधाम गररे आयो तर मुक्तिनाथ गएन भने त मुक्ति मिल्दैन । कालीमा शालिग्राम पाइन्छ । शालिग्राममा विष्णुको चक्र प्रत्यक्ष देखिन्छ, के यो पनि झुटो हो त ?
उत्तर— हो, झुटो हो । मुक्तिनाथमा गएर मुक्त भएका त कोही देखिंदैनन्, उल्टो त्यहाँको सिरेटोले हानेर, उकालो चढ्दा दम बढेर र शीतले कठांग्रिएर थला पर्दै बिरामी भएर घर फर्कंदै गरेका धेरै देखिन्छन् । शालिग्रामको कुरा भूगोलको बनावटले गर्दा नदीका तीरमा फलामे ढुङ्गा पाइन्छन् । जसको बनावटमा धातु मिसिएकोले गर्दा त्यसलाई फोर्दाखेरि टुक्रामा चक्र पर्दछ । वैष्णवमतका प्रभावका कारण विष्णुको चक्र भनेर मान्दछन् ।
मांसाहार एवं बलि प्रथाको निषेध (११.१५)
प्रश्न— फेरि, नेपालका अधिकांश माई शब्दान्त भएका शक्तिपीठहरू जस्तै— मनकामना माई, गढी माई, विन्ध्यवासिनी माई, चुरिया माई, कालिका माई, पाथीभरा इत्यादि र छब्दी वराह, ढोर वराह, ताल वराह जस्ता वराहक्षेत्रको कत्रो महिमा छ । मेडो लिएर आउँछु भनेर भाकल गर्यो भने त मनोवाञ्छित फल मिल्दछ । विभिन्न कोतहरू लगायत दशैंको अष्टमी र नवमीमा शक्तिपीठ र घर-घरमा दुर्गाको स्थापना गरेर पशु-पक्षीको बलि दिन्छन् । के यसको फल र परम्परा पनि झुटो हो त ?
उत्तर— एकदमै भुटो हो ! जति पनि शक्तिपीठहरू, कोतहरू र वराहक्षेत्र छन्, ती सबैमा वाममार्गीहरूको विशेष प्रभाव परेको छ । विशेष गरेर दुर्गापाठ र तन्त्रग्रन्थहरूको असर हो । अर्थसहित वेदहरूलाई पढ्ने विद्वान् छँदैछैनन् भन्दा पनि हुन्छ । जीवहिंसाको आशा राखेर भाकल गर्नु र दशैंको काटमारको परम्परा कुनै प्रकारले पनि धर्म होइन । लाखौं निर्दोष पशु-पक्षीको बलि चढाएर रगतले शक्तिपीठ, कोत र आँगन रगताम्य पारेर दुर्गन्धित भैराखेको हुन्छ । यो मात्रै ढुङ्गो रातो पेट तातो गर्ने प्रपञ्च हो । मनोवाञ्छित फल पाएको त देखिंदैन, बरु कङ्गाल बन्दै गएका भने कयौं देखिन्छन् । परमेश्वरसँग सम्बद्ध कुनै पनि धर्मानुष्ठानको नाममा जीवहिंसा नगर्नको लागि वेदको स्पष्ट आदेश छ । हेर—
अघ्न्या॒ यज॑मानस्य प॒शून् पा॑हि ॥१॥ —यजुर्वेद (अध्याय १/मन्त्र १) ॥
रा॒ज॒सूयं॑ वाज॒पेय॑मग्निष्टो॒मस्तद॑ध्व॒रः ।
अ॒र्का॒श्व॒मे॒धावुच्छि॑ष्टे जी॒वब॑र्हिर्म॒दिन्त॑मः ॥२॥ —अथर्ववेद (काण्ड ११/सूक्त ७/मन्त्र ७) ॥
व्री॒हिम॑त्तं॒ यव॑मत्त॒मथो॒ माष॒मथो॒ तिल॑म् ।
ए॒ष वां॑ भा॒गो निहि॑तो रत्न॒धेया॑य दन्तौ॒ मा हिं॑सिष्टं पि॒तरं॑ मा॒तरं॑ च ॥३॥
—अथर्ववेद (काण्ड ६/सूक्त १४०/मन्त्र २) ॥ 

न कि देवा इनीमसि न क्या योपयामसि । मन्त्रश्रुत्यं चरामसि ॥४॥
—सामवेद (पूर्वाचिक/दशती ९/खण्ड २), (मन्त्र १७६) ॥
अर्थ— हे मनुष्यहरू हो ! पशु ‘अघ्न्य’ हुन्, अर्थात् कहिल्यै पनि मार्न योग्य छैनन्, पशुहरूको सदैव रक्षा गर ॥१॥ राजसूय, वाजपेय, अग्निष्टोम, अर्कमेध, अश्वमेध आदि सबै ‘अध्वर’ अर्थात् हिंसारहित यज्ञ हुन् । जसले प्राणीमात्रको लागि वृद्धि र सुख-शान्तिको प्रकाश छर्दछ ॥२॥ हे दाँतका दुइटै पंक्तिहरू हो ! भात खाओ, जौ खाओ, मास खाओ र तिल खाओ । यी अनाज तिम्रा लागि नै बनेका हुन् । यसैबाट तिम्रो शरीरमा रस-रुधिर-मांस-मेदस्-अस्थि-मज्जा-वीर्यरूपी सात धातुहरूको निर्माण हुनेछ । तिनीहरूलाई नमार जो माता-पिता बन्ने योग्यता राख्दछन् ॥३॥ हे देवहरू हो ! हामीले हिंसा गर्दैनौं, न त त्यस्तो कुनै अनुष्ठान नै गर्दछौं जसले अरूलाई हानि पुर्याओस्, न त कुनै धर्म विरुद्ध कार्य गर्दछौं, किन्तु वेद मन्त्रको आदेश अनुसार धर्माचरण गर्दछौं ॥४॥
यहाँ यी माथि मन्त्रहरूमा सम्पूर्ण यज्ञलाई ‘अघ्न्य’, ‘अध्वर’, ‘मा हिंसिष्टम्’, ‘इनीमसि’ भनिएको छ । जसको एकमात्र सर्वसम्मत अर्थ “हिंसारहित यज्ञ” हो । अतः स्पष्ट छ कि वेदले कुनै पनि धार्मिक अनुष्ठानको कार्यमा पशुवधको आज्ञा दिएको छैन । साथै मनुष्यलाई मांसाहारदेखि सर्वथा दूर रहनको लागि आदेश गर्दछ ।
त्यसै गरी प्रक्षिप्त भागलाई छोडेर ‘मनुस्मृति’ प्रामाण्य छँदैछ । साथै यो ग्रन्थ महत्त्वपूर्ण दस्तावेज पनि हो । अतः मनुस्मृतिले हत्या, हिंसा अथवा मांस भक्षणको लागि जघन्य अपराध मान्दै पूर्णरूपले निषेध गर्दछ ।
योऽहिंसकानि भूतानि हिनस्त्यात्मसुखेच्छया ।
स जीवंश्च मृतश्चैव न क्वचित्सुखमेधते ॥ —मनुस्मृत (अध्याय ५/श्लोक ४५) ॥
अर्थ— (यः) जो व्यक्ति (आत्मसुख+इच्छया) आफ्नो सुखको इच्छाले (अहिंसकानि भूतानि) कहिल्यै पनि नमार्न योग्य प्राणीहरूको (हिनस्ति) हत्या गर्दछ (सः) त्यसले (जीवन् च मृतः) जिउँदो हुँदाखेरि र मरेपछि पनि (क्वचित् सुखं न एधते) कहीं पनि सुख प्राप्त गर्दैन ॥
नाकृत्वा प्राणिनां हिंसा मांसमुत्पद्यते क्वचित् ।
न च प्राणिवधः स्वर्ग्यस्तस्मान्मांसं विवर्जयेत् ॥ —मनुस्मृत (अध्याय ५/श्लोक ४८) ॥
अर्थ— (प्राणिनां हिंसाम् अकृत्वा क्वचित् मांसं न उत्पद्यते) प्राणीहरूको बिना हिंसा नगरी कहिल्यै पनि मासु प्राप्त हुँदैन (च) र (प्राणिवधः) जीवहरूको हत्या गर्नु (न स्वर्ग्यः) सुखदायक हुँदैन (तस्मात्) त्यस कारण (मांसं विवर्जयेत्) मासु खानु हुँदैन ॥
समुत्पत्तिं च मांसस्य वधबन्धौ च देहिनाम् ।
प्रसमीक्ष्य निवर्तेत सर्वमांसस्य भक्षणात् ॥ —मनुस्मृत (अध्याय ५/श्लोक ४९) ॥
अर्थ— (च) र (मांसस्य समसत्पत्तिम्) मासुको उत्पत्ति जसरी हुने गर्दछ त्यसमा (देहिनां वध-बन्धौ) प्राणीहरूको हत्या र बन्धनको कष्टलाई (प्रसमीक्ष्य) देखेर (सर्वमांसस्य भक्षणात्) सबै प्रकारका मांस भक्षणदेखि (निवर्तेत) दूर रहोस् ॥
अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ।
संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः ॥ —मनुस्मृत (अध्याय ५/श्लोक ५१) ॥
अर्थ— (अनुन्ता) मार्नको लागि आज्ञा दिनेवाला (विशसिता) मासुलाई काट्नेवाला (निहन्ता) पशुलाई मार्नेवाला (क्रय-विक्रयी) पशुलाई मार्नको लागि मोल लिने र बेच्नेवाला (संस्कर्ता) पकाउनेवाला (उपहर्ता) पस्किनेवाला (च) र (खादकः) खानेवाला (इति घातकाः) यी सबै हत्यारा र पापी हुन् ।
यसरी हिंसा अथवा बलि प्रथा कुनै हालतले पनि धर्म नभएको कुरा शास्त्रले बताउँछ भने जो यसका पक्षधर बनेर चलन चलाए ती अवश्य पनि आफ्नो स्वार्थ पूर्ति गर्ने धूर्त नै हुन् ।
गङ्गास्नानको समीक्षा (११.१६)
प्रश्न—
गङ्गा गङ्गेति यो ब्रूयाद्योजनानां शतैरपि । मुच्यते सर्वपापेभ्यो विष्णुलोकं स गच्छति ॥१॥
—ब्रह्मपुराण अध्याय (१७५/श्लोक ८२); पद्मपुराण उत्तरखण्ड (अध्याय २३/श्लोक २) ॥
हरिर्हरति पापानि हरिरित्यक्षरद्वयम् ॥२॥
—पद्मपुराण उत्तरखण्ड (अध्याय ७२/श्लोक १२) ॥
प्रातःकाले शिवं दृष्ट्वा निशिपापं विनश्यति । आजन्मकृतं मध्याह्ने सायाह्ने सप्तजन्मनाम् ॥३॥
—यी सबै पोपपुराणहरूका श्लोक हुन् (तीर्थदर्पण पण्डाअर्पण-परिच्छेद २) ॥
जसले सयकडौं-हजारौं कोस दूरबाट पनि गङ्गा-गङ्गा भन्छ भने त, त्यसका सबै पापहरू नष्ट भएर त्यो विष्णुलोक अर्थात् वैकुण्ठमा जान्छ ॥१॥ ‘हरि’ यस दुई अक्षरको नामोच्चारणले सबै पापहरूलाई हरण गर्दछ, त्यसरी नै राम, कृष्ण, शिव, भगवती आदि नाम माहात्म्य छ ॥२॥ र जुन मनुष्य प्रातःकालमा ‘शिव’ अर्थात् लिङ्ग वा उसको मूर्तिको दर्शन गरेमा त रात्रिमा गरेको, मध्याह्नको दर्शनमा जन्मभरिको, सायङ्कालमा दर्शन गर्नाले सातै जन्महरूको पाप छुट्दछन् ॥३॥ यो दर्शनमाहात्म्य के झुटो हुनेछ ?
उत्तर— मिथ्या हुनमा के शङ्का ? किनभने गङ्गा वा हरे, राम, कृष्ण, नारायण, शिव र भगवती नामस्मरणले पाप कहिल्यै पनि छुट्दैन । यदि छुट्थ्यो भने त कोही पनि दुःखी हुन्थेनन् । र पाप गर्नबाट कोही पनि डराउने थिएनन्, जसरी आजभोलि पोपलीलामा पापको बढोत्तरी भैरहेको छ । किनभने मूढहरूलाई विश्वास छ कि हामीले पाप गरेर, नामस्मरण वा तीर्थयात्रा गर्यौं भने त पापहरूको निवृत्ति हुन जानेछ । यसै विश्वासमा पाप गरेर यस लोक र परलोकको नाश गर्दछन् । र गरेको पापलाई भोग्नै पर्दछ ।
नामस्मरण र तीर्थ शब्दको व्याख्या (११.१७)
प्रश्न— त्यसो भए कुनै तीर्थ र नामस्मरण सत्य हो कि होइन त ?
उत्तर— सत्य हो । वेदादि शास्त्रहरूलाई पढ्नु-पढाउनु, धार्मिक विद्वान्हरूको सङ्ग; परोपकार, धर्मानुष्ठान, योगाभ्यास, निर्वैर, निष्कपटता, सत्यभाषण, सत्य मान्नु, सत्य गर्नु; ब्रह्मचर्य; आचार्य, अतिथि, माता, पिताको सेवा; परमेश्वरको स्तुति-प्रार्थना-उपासना; शान्ति, जितेन्द्रियता, सुशीलता, धर्मयुक्तपुरुषार्थ, ज्ञान-विज्ञान आदि शुभगुण-कर्म दुःखहरूबाट तार्ने हुनाले तीर्थ हुन् । र जुन जल-स्थलमय छन्, ती तीर्थ कहिल्यै हुन सक्दैनन् । किनभने ‘जना यैस्तरन्ति तानि तीर्थानि’ मनुष्यले जसलाई गरेर दुःखबाट तर्दछ त्यसको नाम ‘तीर्थ’ हो । जल-स्थल तार्नेवाला होइनन्, किन्तु डुबाएर मार्नेवाला हुन् । प्रत्युत डुँगा आदिको नाम ‘तीर्थ’ हुन सक्दछ, किनभने उसबाट ताल, नदी र समुद्र आदि तर्ने गरिन्छ ।
समानतीर्थे वासी ॥१॥ —पाणिनीय अष्टाध्यायी (अध्याय ४/पाद ४/सूत्र १०७) ॥
नम॒स्तीर्थ्याय॑ च॒ ॥२॥ —यो यजुर्वेद (अध्याय १६/मन्त्र ४२) को वचन हो ॥
जो ब्रह्मचारी एक आचार्यसँग र एक शास्त्रलाई साथ-साथ पढ्दछ भने, ती सबै ‘सतीर्थ्य’ अर्थात् समानतीर्थसेवी हुन्छन् ॥१॥
जो वेदादि-शास्त्र र सत्यभाषणादि धर्म-लक्षणहरूमा साधु हुन्छ, त्यसलाई अन्नादि पदार्थ दिनु र उसबाट विद्या लिनु इत्यादिलाई ‘तीर्थ’ भन्दछन् ॥२॥
‘नामस्मरण’ यसलाई भन्दछन् कि— यस्य॒ नाम॑ म॒हद्यशः॑ ॥
—यजुर्वेद (अध्याय ३२/मन्त्र ३) ॥
परमेश्वरको काम ठूलो ‘यश’ अर्थात् धर्मयुक्त कामहरूलाई गर्नु हो । जसरी ब्रह्म, परमेश्वर, ईश्वर, न्यायकारी, दयालु, सर्वशक्तिमान् आदि नाम परमेश्वरका गुण-कर्म-स्वभावबाट हुन्छन् । जसरी ‘ब्रह्म’ सबैभन्दा ठूलो, ‘परमेश्वर’ ईश्वरहरूको पनि ईश्वर, ‘ईश्वर’ सामर्थ्ययुक्त, ‘न्यायकारी’ कहिल्यै अन्याय गर्दैन, ‘दयालु’ सबैमाथि कृपादृष्टि राख्दछ, ‘सर्वशक्तिमान्’ आफ्नो सामर्थ्यबाट नै सबै जगत्को उत्पत्ति-स्थिति-प्रलय गर्दछ, सहायता कसैको लिंदैन, ‘ब्रह्मा’ विविध जगत्को पदार्थहरू बनाउनेवाला, ‘विष्णु’ सबैमा व्यापक भएर रक्षा गर्दछ, ‘महादेव’ सबै देवहरूको देव, ‘रुद्र’ प्रलय गराउनेवाला आदि नामहरूको अर्थलाई आफूमा धारण गर्ने । अर्थात् ठूला कामबाट ठूलै होस्, समर्थहरूमा पनि समर्थ होस्, सामर्थ्यलाई बढाउँदै जाओस्, अधर्म कहिल्यै नगरोस्, सबैमाथि दया राखोस्, सबै प्रकारका साधनहरूलाई समर्थ गरोस्, शिल्पविद्याबाट नाना प्रकारका पदार्थहरूलाई बनाओस्, सबै संसारमा आफ्नो आत्माकै तुल्य सुख-दुःख सम्झोस्, सबैको रक्षा गरोस्, विद्वान्हरूमा पनि विद्वान् होस्, दुष्ट कर्मको प्रलय र दुष्ट कर्म गर्नेहरूका लागि प्रयत्नले दण्ड र सज्जनहरूको रक्षा गरोस् । यस प्रकार परमेश्वरको नामहरूको अर्थ जानेर परमेश्वरको गुण-कर्म-स्वभावको अनुकूल आफ्नो गुण-कर्म-स्वभावलाई ढाल्दै लैजानु नै परमेश्वरको नामस्मरण हो ।
गुरु माहात्म्यको समीक्षा (११.१८)
प्रश्न— गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः । गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः ॥
—गुरुगीता माहात्म्य प्रकरण श्लोक १९ ॥
इत्यादि गुरुमाहात्म्य त साँचो हो ? गुरुको गोडा धोएर पानी खानु, तथा जस्तो आज्ञा गुरुले गर्दछन् त्यस्तै पालन गर्ने, गुरु लोभी छ भने त वामनको समान, क्रोधी छ भने त नरसिंहको सदृश, मोही छ भने त रामको तुल्य र कामी छ भने त कृष्णकै समान गुरुलाई जान्नु । चाहे गुरुजीले कस्तै पाप गरे तापनि अश्रद्धा नगर्नु, सन्त वा गुरुको दर्शनलाई जानेमा त पाइला-पाइलामा अश्वमेधको फल पाइन्छ, यो कुरो ठीक हो कि होइन ?
उत्तर— ठीक होइन । ब्रह्मा, विष्णु, महेश्वर र परब्रह्म परमेश्वरका नाम हुन् । उसको तुल्य गुरु कहिल्यै हुन सक्दैन । यो गुरुमाहात्म्य गुरुगीता पनि एउटा ठूलो पोपलीला हो । गुरु त माता, पिता, आचार्य र अतिथि हुन्छन् । उनको सेवा गर्नु, उनीहरूबाट विद्या-शिक्षा लिनु-दिनु, शिष्य र गुरुको काम हो । परन्तु जुन गुरु लोभी, क्रोधी, मोही र कामी हुन्छ भने त त्यसलाई सर्वथा छोडिदिनु, शिक्षा गर्नु, सहज शिक्षाले पनि नमानेमा त ‘अर्घ्यपाद्य’ अर्थात् ताडना दण्ड प्राणहरणसम्म पनि गर्नमा केही दोष छैन । जुन विद्यादि सद्गुणहरूमा गुरुत्व छैन, झुट-मुट कण्ठी, तिलक, वेदविरुद्ध मन्त्रोपदेश गर्नेवाला, त्यो गुरुमात्रै हैन किन्तु गोठालो जस्तो हो । जसरी गोठालाले आफ्ना भेंडा-बाख्रादेखि दूध आदिले प्रयोजन सिद्ध गर्दछ, त्यसरी नै शिष्यहरूका, चेला-चेलीहरूका धन हरण गरेर आफ्नो प्रयोजन सिद्ध गर्दछन् । ती—
दोहा— गुरु लोभी चेला लालची, दोनों खेलें दाव ।
भवसागर में डूबते, बैठ पत्थर की नाव ॥
गुरु सम्झन्छ कि चेला-चेलीले केही न केही दिनेछन् र चेलाले सम्झन्छ कि झुटो सपथ र पापबाट छुटाइदिन्छन् आदि लालचमा दुइटै कपटमुनि भवसागरको दुःखमा डुब्दछन्, जसरी ढुङ्गाको डुँगामा बस्नेहरू समुद्रमा डुबेर मर्दछन् । यस्ता गुरु र चेलाहरूको मुखमा धुलो-खरानी परोस् । तिनीहरूको साथमा कोही नलागून् । जो लाग्दछन् तिनीहरू दुःखसागरमा पर्नेछन् । जसरी पोपलीला पुजारी-पुराणीहरूले चलाए, त्यसै गरी नै यी गोठालाका गुरुहरूले पनि लीला मच्चाएका छन् । यो सबै काम स्वार्थीहरूको हो । जो परमार्थीहरू हुन्छन्, आफूले दुःख पाएर पनि जगत्को उपकार गर्न छोड्दैनन् । र गुरु माहात्म्य तथा गुरुगीता आदि पनि यिनै लोभी, कुकर्मी गुरुहरूले बनाएका हुन् ।
अट्ठाह्र पुराणहरूको समीक्षा (११.१९)
प्रश्न— अष्टादशपुराणानां कर्त्ता सत्यवती सतुः ॥१॥
—स्कन्दपुराण, रेवाखण्ड (अध्याय १/श्लोक १३) ॥
इतिहासपुराणाभ्यां वेदार्थमुपबृंहयेत् ॥२॥
—महाभारत, आदिपर्व (अध्याय १/श्लोक २६७) ॥
पुराणानि खिलानि च ॥३॥ —मनुस्मृति (अध्याय ३/श्लोक २३२) ॥
इतिहासपुराणः पञ्चमो वेदानां वेदः ॥४॥
—छान्दोग्योपनिषद् (अध्याय ७/खण्ड १/प्रपाठक ४) ॥
दशमेऽहनि किंचित्पुराणमाचक्षीत ॥५॥
—तुलना–[शतपथ ब्राह्मणे (१३/३/१/१३)] ॥
पुराणविद्या वेदः ॥६॥ —सूत्रम् [तुलना–(शतपथ ब्राह्मणे १३/३/१/१३)] ॥
अट्ठाह्र पुराणहरूका कर्ता व्यासजी हुन् । व्यासवचनलाई प्रमाण अवश्य मान्नुपर्दछ ॥१॥ इतिहास, महाभारत, अट्ठाह्र पुराणहरूबाट वेदहरूको अर्थ पढोस्-पढाओस्, किनभने इतिहास र पुराण वेदहरूकै अर्थ र अनुकूल छन् ॥२॥ पितृकर्ममा पुराण र ‘खिल’ भाग अर्थात् हरिवंशको कथा सुन्नु ॥३॥ इतिहास र पुराणलाई पञ्चमवेद भन्दछन् ॥४॥ अश्वमेधको समाप्तिमा दशौं दिन थोरै मात्र भए पनि पुराणको कथा सुन्नुपर्दछ ॥५॥ पुराणविद्या वेदार्थलाई जनाउने भएकैले वेद हुन् ॥६॥
इत्यादि प्रमाणहरूबाट पुराणहरूको प्रमाण र यिनका प्रमाणबाट मूर्तिपूजा र तीर्थहरूको पनि प्रमाण हुन्छ, किनभने पुराणहरूमा मूर्तिपूजा र तीर्थहरूको विधान गरिएको छ ।
उत्तर— यदि अट्ठाह्र पुराणहरूका कर्ता व्यासजी हुन्थे भने त, तिनमा त्यति विघ्न झुटो गफ हुन्थेनन् । किनभने शारीरकसूत्र, योगशास्त्रका भाष्य आदि व्यासोक्त ग्रन्थहरूलाई हेर्नाले विदित हुन्छ कि व्यासजी कति ठूला विद्वान्, सत्यवादी, धार्मिक र योगी थिए । उनले यस्ता मिथ्या कथा कहिल्यै पनि लेख्ने थिएनन् । र यसबाट यही सिद्ध हुन्छ कि जुन सम्प्रदायीहरूका परस्पर विरोधीहरूले भागवतादि नवीन कपोलकल्पित ग्रन्थ बनाएका हुन्, त्यसमा व्यासजीका गुणहरूको लेशमात्र पनि थिएन । र वेदशास्त्रविरुद्ध असत्यवाद लेख्न व्यासजी सदृश विद्वान्हरूको काम पनि होइन, किन्तु यी काम विरोधी, स्वार्थी, अविद्वान् पामरहरूको हो । इतिहास र पुराण नाम भागवत शिवपुराणादिको होइन, किन्तु—
ब्राह्मणानीतिहासान् पुराणानि कल्पान् गाथानाराशंसीरिति ॥
—यो ब्राह्मणग्रन्थ र सूत्रहरूको वचन हो ॥
—तैत्तिरीय आरण्यक (२/९); आश्वलायन गृह्यसूत्र (३/३/१) ॥
ऐतरेय, शतपथ, साम र गोपथ ब्राह्मण ग्रन्थहरूकै इतिहास, पुराण, कल्प, गाथा र नाराशंसी यी पाँच नाम हुन् । (इतिहास) जस्तै जनक र याज्ञवल्क्यको संवाद । (पुराण) जगदुत्पत्ति आदिको वर्णन आख्यान । (कल्प) वेद शब्दहरूका सामर्थ्यको वर्णन, अर्थ निरूपण गर्नु । (गाथा) कसैको दृष्टान्त दार्ष्टान्तरूप कथा प्रसङ्ग बताउनु । (नाराशंसी) मनुष्यको प्रशंसनीय वा अप्रशंसनीय कर्महरूको कथन गर्नु । यिनैबाट वेदार्थको बोध हुन्छ ।
‘पितृकर्म’ अर्थात् ज्ञानीहरूका प्रसङ्गमा केही सुन्नु, अश्वमेधको अन्तमा पनि यिनैलाई सुन्नु भनेर लेखिएको छ । किनभने जुन व्यासकृत ग्रन्थहरू छन्, तिनीहरूलाई सुन्नु-सुनाउनु व्यासजीको जन्मको पश्चात् हुन सक्दछ, पूर्व होइन । जब व्यासजीको जन्म नै भएको थिएन तबदेखि नै वेदार्थलाई पढ्ने-पढाउने सुन्ने-सुनाउने गर्दथे । यसैले सबैभन्दा प्राचीन ब्राह्मण-ग्रन्थहरूमा नै यी सबै घटना हुन सक्दछन् । यी श्रीमद्भागवत, शिवपुराणादि मिथ्यावाद दूषित ग्रन्थहरूमा घट्न सक्दैन । जब व्यासजीले वेद पढे र पढाएर वेदार्थ फैलाए, यसैले उनको नाम ‘वेदव्यास’ भयो । किनभने व्यास भन्दछन् वारपारको मध्ये रेखालाई; अर्थात् ऋग्वेदको आरम्भदेखि लिएर अथर्ववेदको पार पर्यन्त चारै वेद पढेका थिए र शुकदेव तथा जैमिनि आदि शिष्यहरूलाई पढाएका पनि थिए । नत्रभने उनको जन्मको नाम ‘कृष्णद्वैपायन’ थियो । कसैले यस्तो भन्दछन् कि “वेदहरूलाई व्यासजीले जम्मा गरे” यो कुरो झुट्टा हो । किनभने व्यासजीका पिता, पितामह, प्रपितामह; पराशर, शक्ति र वशिष्ठ; फेरि ब्रह्मा आदिले पनि चारै वेदहरू पढ्ने गर्दथे, यो कुरो कुन प्रकारले घट्न सक्थ्यो ?
शिवपुराणको समीक्षा (११.२०)
प्रश्न— पुराणहरूमा सबै कुरो झुट्टो छ कि कुनै-कुनै साँचो पनि छ ?
उत्तर— धेरै कुराहरू झुट्टा छन् र कोई ‘घुणाक्षरन्याय’ बाट साँचो पनि छ । जति साँचो छ त्यो वेदादि सत्य शास्त्रहरूको र जति झुटो छ त्यो सबै पोपहरूका पुराणरूपी घरको हो । जस्तै शिवपुराणमा शैवहरूले शिवलाई परमेश्वर मानेर विष्णु, ब्रह्मा, इन्द्र, गणेश र सूर्यादिलाई उनका दास ठहर्याएका छन् । वैष्णवहरूले विष्णुपुराण आदिमा विष्णुलाई परमात्मा माने र शिव आदिलाई विष्णुका दास । देवीभागवतमा देवी परमेश्वरी र शिव, विष्णु आदिलाई उनका किङ्कर बनाए । ‘गणेशखण्ड’ मा गणेशलाई ईश्वर र शेष सबैलाई दास बनाए । जहाँ यस्तो कुरो यी सम्प्रदायी पोपहरूको नभए कसको हो त ? एउटा मनुष्यले बनाउँदामा यस्तो परस्पर विरुद्ध कुरा हुँदैन भने त, विद्वान्ले बनाएकोमा त झनै कहिल्यै पनि हुन सक्दैन । यिनमा एउटा कुरालाई साँचो मानेमा दोस्रो झुटो हुन्छ र दोस्रो साँचो मानेमा अन्य झुट्टो हुन्छ । शिवपुराणवालाहरूले शिवबाट, विष्णुपुराणवालाहरूले विष्णुबाट, देवीपुराणवालाहरूले देवीबाट, गणेशखण्डवालाहरूले गणेशबाट, सूर्यपुराणवालाहरूले सूर्यबाट र वायुपुराणवालाहरूले वायुबाट सृष्टिको उत्पत्ति-प्रलय लेखेर पुनः एक-एकले एक-एक जुन जगत्को कारण लेखे, त्यसको उत्पत्ति एक-एकबाट लेखे । कसैले सोधोस् कि जुन जगत्को उत्पत्ति-स्थिति-प्रलय गर्नेवाला हो, त्यो उत्पन्न र जो उत्पन्न हुन्छ, त्यो सृष्टिको कारण कहिल्यै हुन सक्दछ कि सक्दैन ? तब सिवाय चुप रहनको उपरान्त केही भन्न सक्दैनन् । र यी सबैका शरीरको उत्पत्ति पनि त्यहींबाटै भयो होला, फेरि आफै सृष्टि-पदार्थ र परिच्छिन्न भएर संसारको उत्पत्तिको कर्ता कुन तरिकाले हुन सक्दछन् ? र उत्पत्ति पनि विलक्षण-विलक्षण प्रकारले मानेका छन् जुन चाहिं कि सर्वथा असम्भव छ । जस्तै—
‘शिवपुराणमा’ शिवले इच्छा गरे कि मैले सृष्टि गरूँ, तब एक ‘नारायण’ जलाशयलाई उत्पन्न गरेर उसको नाभिबाट कमल, कमलबाट ब्रह्मा उत्पन्न भए । उनले देखे कि सबै जलमय छ । जलको अञ्जलि उठाएर हेर्दै जलमै पछारिदिए । त्यसबाट एक फकुण्टो र फकुण्टोबाट एउटा पुरुष बन्यो । त्यसले ब्रह्मालाई भन्यो कि ‘हे पुत्र ! सृष्टि गर ।’ ब्रह्माले उसलाई भने कि “म तेरो पुत्र होइन किन्तु तँ मेरो पुत्र होस् ।” उनीहरूमा विवाद भयो र दिव्यसहस्र-वर्षपर्यन्त दुइटै जलमा लड्दैराखे । तब महादेवले विचार गरे कि जसलाई सृष्टि गर्नको लागि पठाएको थिएँ, ती दुवै जना आपसमा लडिराखेका छन् । तब ती दुवै जनाको माझबाट एक तेजोमय लिङ्ग उत्पन्न भयो र त्यो शीघ्र आकाशमा गयो । त्यसलाई देखेर दुवै साश्चर्य भए । विचार गरे कि यसको आदि-अन्त थाहा पाउनुपर्यो । जसले आदि-अन्तको थाहा शीघ्र लिएर आउछ त्यो पिता र जो ढिलो आउँछ त्यो पुत्र हुनेछ । विष्णु कूर्मको स्वरूप धारण गरेर तलतिर लागे र ब्रह्मा हाँसको स्वरूप धारण गरेर माथितिर उडे । दुइटै मनोवेगले चले । दिव्यसहस्रवर्षपर्यन्त दुइटै लाग्दै रहे तर पनि त्यसको अन्त पाएनन् । तब तलबाट माथितिर विष्णु र माथिबाट तलतिर ब्रह्मा लागे । ब्रह्माले विचारे कि यदि उनले अन्तको साँध ल्याएको भए त म पुत्र बन्न पर्नेछ । यस्तै कुरा सोचिरहेकै थिए कि उसै समयमा एक गाई र एक केतकीको वृक्ष माथितिरबाट उत्रेर आए । तिनीहरूलाई ब्रह्माले सोधे कि “तिमीहरू कहाँबाट आउँदै छौ ?” उनीहरूले भने “हामी हजार वर्षदेखि यस लिङ्गको आधारदेखि आइरहेका छौं ।” ब्रह्माले सोधे कि “यस लिङ्गको थाहा छ कि छैन ?” उनीहरूले भने “थाहा छैन” । ब्रह्माले उनीहरूलाई भने कि “तिमीहरू मेरो साथमा हिंड र यस्तो साक्षी देऊ कि मैले यस लिङ्गको शिरमा दूधको धारा वर्षाउँथे र वृक्षले भन्नू कि मैले फूल वर्षाउँथे, यसरी साक्षी दिन्छौ भने म तिमीहरू दुवैलाई ठेगानामा लिएर जानेछु ।” उनीहरूले भने कि “हामी त यस्तो झुट्टो साक्षी दिंदैनौं ।” तब ब्रह्माले कुपित भएर भने— “यदि साक्षी दिंदैनौ भने त अहिले भर्खरै मैले भस्म गरिदिन्छु ।” तब दुइटैले डराएर भने— “तपाईंले जस्तो भन्नुहुन्छ, त्यस्तै साक्षी दिन्छौं ।” तब तीनै जना तलतिर लागे । विष्णु पहिला नै आइसकेका थिए, ब्रह्मा पनि आइपुगे । विष्णुसँग सोधे “तपाईंले थाहा ल्याउनुभयो कि ल्याउनुभएन ?” तब विष्णुले भने “मैले त पाइन ।” ब्रह्माले भने “मैले त खोजेर ल्याएको छु ।” विष्णुले सोधे “साक्षी देखाऊ ?” तब गाई र वृक्षले साक्षी दिए कि— “हामी दुवै लिङ्गको शिरमा थियौं ।” तब लिङ्गदेखि शब्द निस्कियो र श्राप दियो “जुन कारणले तिमीहरूले झुटो बोल्यौ, त्यसैले तिम्रो फूल मलाई र अन्य देवतालाई जगत्मा कहीं पनि चढ्नेछैन र जो कसैले चढायो भने त त्यसको अवश्य सत्यानाश हुनेछ ।” गाईलाई श्राप दिए कि “जुन मुखले तिमीले झुट्टो बोल्यौ, त्यसै मुखले विष्ठा खानेछौ । तिम्रो मुखको पूजा कसैले गर्नेछैन, किन्तु पुछारको गर्नेछन् ।” र विष्णुलाई वर दिए कि जसबाट “तिमीले सत्य बोल्यौ, त्यसैले तिम्रो पूजा सर्वत्र हुनेछ ।” र ब्रह्मालाई श्राप दिए कि जसबाट “तिमीले मिथ्या बोल्यौ, त्यसैले तिम्रो पूजा संसारमा कहीं पनि हुनेछैन ।” पुनः दुवैले लिङ्गको स्तुति गरे । त्यसदेखि प्रसन्न भएर लिङ्गबाट एउटा जटाजूट मूर्ति निस्किएर आयो र भन्यो कि “तिमीलाई मैले सृष्टि गर्नको लागि पठाएको थिएँ, झगडामा किन लागिराख्यौ ?” ब्रह्मा र विष्णुले भने कि “हामीले बिना सामाग्रीको कहाँबाट सृष्टि गर्ने ।” तब महादेवले आफ्नो जटाबाट भस्मको गोला निकालेर दिंदै “जाओ, यसैबाट सबै सृष्टि बनाओ” इत्यादि ।
कसैले यी पुराणहरू बनाउनेवाला पोपहरूसँग गएर सोध्नु कि जब सृष्टितत्त्व र पञ्चमहाभूत थिएन भने त ब्रह्मा, विष्णु, महादेवको शरीर, जल, कमल, लिङ्ग, गाई, केतकीको वृक्ष र भस्म तिम्रा बाबाको घरबाट आएर खसे ?
त्यसरी नै ‘भागवत’ मा विष्णुको नाभिबाट कमल, कमलबाट ब्रह्मा र ब्रह्माको दाहिने खुट्टाको बुढी औंलोबाट स्वायंभुव र बायाँ बुढी औंलाबाट सत्यरूपा रानी, निधारबाट रुद्र र मरीचि आदि दश पुत्र, उनीहरूबाट दक्ष प्रजापति, उनकी तेह्र छोरीहरूको विवाह कश्यपसँग, ती मध्येमा दितिबाट दैत्य, दनुबाट दानव, अदितिबाट आदित्य, विनताबाट पक्षी, कद्रूबाट सर्प, सरमाबाट कुकुर, स्याल आदि र अन्य स्त्रीहरूबाट हात्ती, घोडा, ऊँट, गधा, भैंसी, घाँस, फूस र काँडादार वृक्ष उत्पन्न भए ।
वाह रे ! भागवतलाई बनाउनेवाला लालभुजक्कड ? तिमीहरूलाई यस्तो मिथ्या कुराहरू लेख्नमा लाज शर्म पनि आएन । जहाँ ! स्त्री-पुरुषको रजवीर्यबाट मनुष्य त बन्दछन् नै परन्तु परमेश्वरको सृष्टिक्रमको विरुद्ध पक्षी, सर्प कहिल्यै उत्पन्न हुन सक्दैनन् । हात्ती, ऊँट, सिंहहरू स्थित हुनको लागि अवकाश स्त्रीको गर्भाशयमा हुन सक्दछ ? र सिंह आदि उत्पन्न भएर आफ्ना बाउ-आमालाई किन खाएनन् ? इत्यादि झुट्टा कुराहरूलाई अन्धा पोप र भित्र-बाहिरको आँखा फुटेका उनका चेलाले सुन्छन् र मान्छन् । यी मनुष्य हुन् कि अन्य ? यी भागवतादि पुराणहरूलाई बनाउनेवालाहरू जन्मदैनन्, गर्भमा नै नष्ट हुन्छन् वा जन्मेर उसै समय मर्दछन् । किनभने यी पोपहरूदेखि बच्थे भने त आर्यावर्त्त देश दुःखहरूबाट बच्ने थियो ।
प्रश्न— यी कुराहरूमा विरोध आउन सक्दैन । किनभने ‘जसको विवाह उसैको गीत’ । जब विष्णुको स्तुति गर्न लागे, तब विष्णुलाई परमेश्वर अन्यहरूलाई दास, जब शिवको गुण गाउन लागे, तब शिवलाई परमात्मा अन्यहरूलाई किङ्कर बनाए । र परमेश्वरको मायामा सबै बन्न सक्दछ । मनुष्यदेखि पशु आदि र पशु आदिदेखि मनुष्यादिको उत्पत्ति परमेश्वरले गर्न सक्दछ । हेर ! बिना कारण आफ्नो मायाले सबै सृष्टि खडा गरिदिएको छ । उसमा कुनचाहिं कुरो अघटित छ ? जे गर्न चाहन्छ, त्यो सबै गर्न सक्दछ ।
उत्तर— अरे भोले ! विवाहमा जसको गीत गाउँछन्, त्यसलाई सबै भन्दा ठूलो र अरू साना वा निन्दा अथवा त्यसलाई सबैको बाउ त बनाउँदैनन् नि ? भन पोपजी ! तिमी भाट र खुशामदी चारणहरू भन्दा बढीचढी गफाडी ह्वौ कि होइनौ ? कि जसको पछि लाग्ने; उसैलाई सबै भन्दा ठूलो बनाउने र जोसँग विरोध गर्ने उसैलाई पछारेर तल पार्ने । तिमीलाई सत्य र धर्मदेखि के प्रयोजन, किन्तु तिमीलाई त आफ्नो स्वार्थबटार्नमा नै काम छ । माया मनुष्यमा हुन सक्दछ । जुन कि छली-कपटी हुन्छ, त्यसैलाई ‘मायावी’ भन्दछन् । परमेश्वरमा छल-कपटादि दोष नहुनाले, उसलाई मायावी भन्न सकिंदैन । जुन आदि सृष्टिमा कश्यप र कश्यपकी स्त्रीहरूबाट पशु, पक्षी, सर्प, वृक्षादि भएका हुन्थे भने त आजभोलि पनि त्यसरी नै किन सन्तान हुँदैनन् ? सृष्टिक्रम जुन पहिला लेखेर आएको छु त्यही ठीक हो । र अनुमान हुन्छ कि पोपजी यहींबाट धोका खाएर बके होलान्—
तस्मात् काश्यप्य इमाः प्रजाः ॥ —तुलना [शतपथ ब्राह्मणे (७/४/१/५)] ॥
शतपथब्राह्मणमा यो लेखिएको छ कि यो सबै सृष्टि ‘कश्यप’ बाट बनाइएको हो ।
कश्यपः कस्मात् पश्यको भवतीति ॥ —निरुक्त [(अ.२/खं.१); तुलना– तै.आ.(१/८)]॥
सृष्टिकर्ता परमेश्वरको नाम ‘कश्यप’ यस कारणले हो कि ‘पश्यक’ अर्थात् ‘पश्यतीति पश्यः, पश्य एव पश्यकः’ जो निर्भ्रम भएर चराचर जगत्, सबै जीव र यिनका कर्म, सकल विद्याहरूलाई यथावत् देख्दछ र ‘आद्यन्तविपर्ययश्च’ यस महाभाष्य (३/१/२३) को वचन अनुसार आदिको अक्षर अन्त र अन्तको वर्ण आदिमा आउनाले ‘पश्यक’ बाट ‘कश्यप’ बन्न गएको हो । यसको अर्थ नजानेर भाङ्गको लोहोटा चढाएर आफ्नो जन्म सृष्टिविरुद्ध कथन गर्नमा नष्ट गरे ।
मार्कण्डेयपुराणको समीक्षा (११.२१)
वैष्णवीचक्रभिन्नस्य रुधिरस्रावसम्भवैः । सहस्रो जगद्व्याप्तं तत्प्रमाणैर्महासुरैः॥
—मार्कण्डेयपुराण, दुर्गासप्तशती (अध्याय ८/श्लोक ४८) ॥
जसरी ‘मार्कण्डेयपुराण’ को दुर्गाशप्तशती पाठमा देवताहरूको शरीरदेखि तेज निस्किएर देवी बनिन्, उनले ‘महिषासुर’ लाई मारिन् । ‘रक्तबीज’ को शरीरबाट एक थोपा रगत भूमिमा पर्नाले उसकै सदृश रक्तबीजहरू उत्पन्न हुनाले सबै जगत्मा रक्तबीज भरिन जानु, रुधिरको (रगतको) नदी बग्नु आदि गफौडा थुप्रै लेखेका छन् । जब रक्तबीजदेखि सबै जगत् भरिन गएको थियो भने त देवीको सिंह र देवी कहाँ बसेकी थिइन् ? यदि भन्दछौ कि देवीदेखि टाढा-टाढा रक्तबीज थिए र जहाँ सबै जगत् रक्तबीजले भरिएको थिएन ? र सबै जङ्गली पशु, समुद्रका माछाहरू, पक्षी, वृक्ष आदि कहाँ रहेका थिए ? यहाँ यही निश्चय जान्नु कि दुर्गापाठ बनाउनेवालाको घरमा स्थित थिए होलान् । ल हेर्नुहोस् ! कस्तो असम्भव कथाको गफ भाङ्गको नशामा उडाए, जसको कुनै ठौर न ठेगाना ।
भागवतपुराणको समीक्षा (११.२२)
जसलाई ‘श्रीभद्भागवत’ भन्दछन्, त्यसको लीला सुन्नुहोस् । ब्रह्माजीलाई नारायणले चतुःश्लोकी भागवतको उपदेश गरेका छन्—
ज्ञानं परमगुह्यं मे यद्विज्ञानसमन्वितम् । सरहस्यं तदङ्गञ्च गृहाण गदितं मया ॥
—भागवतपुराण (स्कन्ध २/अध्याय ९/श्लोक ३०) ॥
जब भागवतको मूल नै झुटो छ त त्यसको वृक्ष झुटो किन हुँदैन ?
हे ब्रह्माजी ! तपाईंले मेरो परमगुह्य ज्ञान जुन विज्ञान र रहस्ययुक्त एवं धर्मार्थ, काम, मोक्षको अङ्ग साधन हो, त्यसलाई मदेखि ग्रहण गर्नुहोस् ॥ जब विज्ञानयुक्त ज्ञान भने त ‘परम’ अर्थात् ज्ञानको विशेषण राख्न व्यर्थ छ र गुह्य विशेषणले रहस्य पनि पुनरुक्त भयो । जब मूल श्लोक नै अनर्थक छ भने त ग्रन्थ अनर्थक किन छैन ? जब भागवतको मूल नै झुटो छ भने त त्यसको वृक्ष झुटो किन नहोला ?
ब्रह्माजीलाई वर दिए कि—
भवान् कल्पविकल्पेषु न विमुह्यति कर्हिचित् ॥
—भागवतपुराण (स्कन्ध २/अध्याय ९/श्लोक ३६)॥
तपाईं ‘कल्प’ सृष्टि र विकल्प ‘प्रलय’ मा मोहलाई कहिल्यै प्राप्त हुनुहुन्न, यस्तो लेखेर पुनः दशमस्कन्धमा मोहित भएर वत्सहरण गरे । यी दुइटामा एउटा कुरो साँचो, अर्कोचाहिं झुटो । यस्तो भएर दुइटै कुरो झुट्टो भयो । जब वैकुण्ठमा राग, द्वेष, क्रोध, ईर्ष्या, दुःख छैन भने त सनकादिहरूलाई वैकुण्ठको द्वारमा क्रोध किन भयो ? यदि त्यहाँ क्रोध हुन्छ भने त त्यो स्वर्ग नै होइन । जब जय, विजय, द्वारपाल थिए । स्वामीको आज्ञा पालनी अवश्य थियो । उनीहरूले सनकादिहरूलाई रोक्दामा के अपराध भयो ? यसमाथि बिना अपराध श्राप लाग्न सक्दैन । जब श्राप लाग्यो कि तिमीहरू पृथ्वीमा झर, यस्तो भन्नाले यहाँ यो सिद्ध हुन्छ कि वहाँ पृथ्वी रहेनछ । आकाश, वायु, अग्नि र जल होला । यदि यस्तो हो भने त द्वार, मन्दिर र जल कसको आधारमा थियो ? पुनः जय, विजयले सनकादिहरूको स्तुति गरे कि “महाराज ! पुनः हामी वैकुण्ठमा कहिले आउनेछौ ?” सनकादिले तिनीहरूलाई भने कि “यदि प्रेमले नारायणको भक्ति गर्यौ भने त सातौं जन्ममा र विरोधले भक्ति गर्यौ भने त तेस्रो जन्ममा वैकुण्ठमा प्राप्त हुनेछौ ।” यहाँ विचार गर्नुपर्दछ कि, जय, विजय नारायणका नोकर थिए । उनको रक्षा र सहायता गर्न नारायणको कर्तव्य काम थियो । जसले आफ्नो नोकरहरूलाई बिना अपराध दुःख दिन्छ भने, आफ्नो स्वामीले तिनीहरूलाई दण्ड दिंदैन भने त आफ्ना नोकरको दुर्दशा जो कसैले पनि गर्नेछन् । नारायणलाई उचित थियो कि जय, विजयको सत्कार गरेर सनकादिहरूलाई मजासँग दण्ड दिनु, किनभने उनीहरूले भित्र जानको लागि किन हठ गरे ? र नोकरहरूँग किन लडे, किन श्राप दिए ? यिनको बदलामा सनकादिहरूलाई पृथ्वीमा झारिदिनु नारायणको न्याय हुन्थ्यो । जब यतिको अन्धेर नारायणको घरमा नै छ भने त, उसको सेवक जो कि वैष्णव भन्दछन्, तिनको जति दुर्दशा हुन्छ त्यो थोरै हो ।
पुनः ती दुई ‘हिरण्याक्ष’ र ‘हिरण्यकशिपु’ भएर उत्पन्न भए । तिनी मध्येमा हिरण्याक्षलाई वराहले मारे । त्यसको कथा यसरी लेखिएको छ कि त्यसले पृथ्वीलाई गुन्द्रीकै समान लपेटेर, शिरानी बनाएर सुत्यो । विष्णुले वराहको स्वरूप धारण गरेर, त्यसको शिरको तलबाट पृथ्वीलाई आफ्नो दाह्रामा धारण गरे । त्यो उठ्यो र दुइटैको भयङ्कर लडाईं भयो । वराहले हिरण्याक्षलाई मारिदिए । यी पोपहरूसँग कसैले सोध्नु कि पृथ्वी गोलो छ कि गुन्द्रीजस्तो ? तब केही भन्न सक्ने छैनन् । किनभने पौराणिकहरू भूगोलविद्याका शत्रु हुन् । भला, जब पृथ्वीलाई बेरेर शिरानी बनायो भने आफू के माथि सुत्यो ? र वराहजीले के माथि खुट्टा राखेर दौडंदै आए ? र फेरि पृथ्वीलाई त वराहजीले मुखमा राखे फेरि दुइटै के माथि उभिएर लडे ? वहाँ कतै बस्ने ठाउँ पनि थिएन । किन्तु भागवतादि पुराण बनाउनेवाला पोपजीको छातीमाथि उभिएर लडे होलान् ? र फेरि त्यो समयमा पोपजी के माथि सुत्यो होला ? यो कुरा— ‘गफाडीको घरमा गफ्फी आए, भन गफाडीजी’ जब मिथ्यावादीहरूका घरमा अर्का गफाडीहरू आउँछन्, फेरि गफ मार्नमा केको कमी, यसै प्रकारको हो ।
अब रह्यो हिरण्यकशिपु, त्यसको छोरो जुन ‘प्रह्लाद’ थियो, त्यो भक्त भएको थियो । उसको बाउले पढ्नको लागि गुरुकहाँ पठाउँथ्यो । तब त्यसले अध्यापकसँग भन्थ्यो “मेरो पाटीमा राम-राम लेखिदेऊ ।” जब उसको बाउले छोराको यस्तो कुरो सुन्यो, उसले भन्यो कि “तैंले हाम्रो शत्रुको भजन किन गर्दछस् ।” छोराले मानेन । त्यसलाई बाँधेर भिरबाट खसालिदियो, कुवामा हालिदियो, परन्तु छोरालाई केही पनि भएन । तब बाउले एउटा फलामको खाँबोलाई आगोमा तताएर छोरालाई भन्यो कि यदि तेरो इष्टदेव ‘राम’ साँचो हो भने त तैंले यस खाँबोलाई समाएमा पनि जल्नेछैनस् । प्रह्लाद समाउनको लागि हिंड्यो । मनमा शङ्का उठ्यो जल्नबाट बँच्छु कि बँच्दिन ? नारायणले त्यस खाँबोमा साना-साना कमिलाको पङ्क्ति बनाए । प्रह्लादलाई निश्चय भयो, झट् गएर खाँबोलाई समाइदियो । खाँबो फाट्यो, त्यसबाट नृसिंह निक्लिए । हिरण्यकशिपुलाई समातेर छातीमा नङ्ग्राले चिरेर मारिदिए । र तब प्रह्लादलाई चाट्न थाले । प्रह्लादलाई भने “वर माग ।” उसले पिताको सद्गति हुनको लागि वर माग्यो । नृसिंहले वर दिए “तेरा एक्काईस पुस्ता सद्गतिलाई प्राप्त भए” । हेर्नुहोस् ! यो पनि दोस्रो गफाडीको भाइ झन गफाडी । कुनै भागवत वाँचने वा सुन्नेहरूलाई समातेर माथिबाट खसालेमा त कसैले बचाउन सक्दैन, किन्तु चक्नाचूर भएर मर्नेछन् । प्रह्लादलाई उसको बाउले पढ्नको लागि पठाउँथ्यो के नराम्रो काम गरेको थियो ? र त्यो प्रह्लाद मूर्ख पढ्न छोडेर आफू वैरागी हुन चाहन्थ्यो । जहाँ आगो बलिरहेको खाँबोमा कमिला र प्रह्लाद जलेनन्, यस कुरालाई जसले साँचो मान्दछ त्यसलाई पनि तातो खाँबोको साथमा लगाइदिनुपर्दछ । यदि यो पनि पोलिएन भने त जान्नु कि प्रह्लाद पनि पोलिएन होला । र नृसिंह पनि किन पोलिएन ? प्रथम तेस्रो जन्ममा वैकुण्ठमा आउने वर सनकादि मुनिहरूको थियो । के त्यसलाई तिम्रो नारायणले भुल्यो ? भागवतको रीति अनुसार ब्रह्मा, प्रजापति, कश्यप, हिरण्याक्ष र हिरण्यकशिपु चौथो पुस्तामा आउँछन् । एक्काईस पुस्ता प्रह्लादको हुँदै भएन, पुनः “एक्काईस पुस्ताले सद्गति पाए” भन्नु कति प्रमादको कुरा हो ! र फेरि तिनै हिरण्याक्ष-हिरण्यकशिपु, रावण-कुम्भकर्ण, पुनः शिशुपाल-दन्तवक्त्र बनेर उत्पन्न भए भने त नृसिंहको वर चाहिं कहाँ उडेर गयो ? यस्ता प्रमादका कुराहरू प्रमादीले नै गर्दछन्, सुनाउँछन् र मान्दछन्, विद्वान्ले होइन ।
र अक्रूरजी— रथेन वायुवेगेन । —भागवतपुराण (स्कं.१०/३९/३८) ॥
उषित्वा रथमास्थाय प्रययौ नन्दगोकुलम् ॥
—भागवतपुराण (स्कं.१०/३८/१) ॥
रथेन गोकुलं प्राप्तः सूर्यश्चास्तगिरिं नृप ॥
—भागवतपुराण (स्कं.१०/३८/२४) ॥
अक्रूरजी कंसले पठाउनाले वायुको समान दौडने घोडाको रथमा बसेर सूर्योदयमा हिंडे र चार मीलमात्र टाढा रहेको गोकुलमा सूर्यास्तको समयमा पुगे । सायद घोडाले भागवत बनाउनेवालाको परिक्रमा गरिराखे होलान् ? वा मार्ग भुलेर भागवत बनाउनेवालाको घरमा घोडा, सारथि र अक्रूरजी सुते होलान ?
पूतनाको शरीर ६ कोस चौडा र धेरै लामो लेखिएको छ । मथुरा र गोकुलको बीचमा त्यसलाई मारेर श्रीकृष्णले सुताइदिए । यदि यस्तै हो भने त मथुरा र गोकुल दुइटै दबिएर यस पोपजीको घर पनि दबिन पुग्यो होला ।
‘अजामिल’ को कथा कति उटपट्याङ्सँग लेखिएको छ— बाउलाई नारदले भनेपछि आफ्नो छोराको नाम ‘नारायण’ राखेको थियो । मर्ने वेलामा आफ्नो छोराको नाम लिएर पुकार्यो । बीचमा नारायण दौडिए । के नारायणले उसको अन्तःकरणको भावलाई जान्दैनथे कि आफ्नो छोरालाई पुकारेको हो, मलाई होइन । यदि नाम साँच्चैको माहात्म्य हो भने त आजभोलि पनि नारायणको स्मरण गर्नेहरूका दुःख छुटाउनको लागि किन आउँदैनन् ? यदि यो कुरो साँच्चै हो भने त कारागारका कैदीहरू नारायण-नारायण गरेर किन छुट्दैनन् ?
यसरी नै ज्योतिषशास्त्रसँग विरुद्ध सुमेरुको परिमाण लेखिएको छ । प्रियव्रतको रथको चक्रको लीकबाट समुद्र बन्यो । उनन्पचास कोटि योजन पृथ्वी छ, इत्यादि मिथ्या कुराहरूको भागवतमा केही पारावार छैन ।
भागवत वेदव्यासको रचना होइन भन्ने कुरा प्रष्टसँग बुझ्न सकिन्छ, हेर्नुहोस् यिनको आपसको झगडाको कथा—
भगवत्या कालिकायास्तु महात्म्यं यत्र वर्ण्यते, नानादैत्यवधोपेतं तद्वै भागवतं विदुः ।
कलौ किञ्चिद्दुरात्मानो धूर्ता वैष्णवमानिनः, अन्यद्भागवतं नाम कल्पयिष्यन्ति मानवाः ॥
—स्कन्दपुराण ॥
अर्थात् जुन ग्रन्थमा भगवती कालीको माहात्म्यको वर्णन छ तथा उनीद्वारा मारिएका नाना दैत्यहरूको उल्लेख गरिएको छ, त्यसैलाई नै भागवत भनेर जान्नुपर्दछ । कलियुगमा कुनै धूर्त तथा दुरात्मा वैष्णवहरूले अर्कै ग्रन्थलाई बनाएर त्यसलाई भागवतको नामले प्रसिद्ध गरिदिएका छन् ॥ यो स्कन्द पुराणको श्लोकले वैष्णवहरू तथा शाक्तहरूमा विद्यमान द्वेषको कुरालाई नै सिद्ध गर्दछ ।
फेरि भागवतमा व्यासपुत्र शुकदेवले भागवतको कथा राजा परीक्षित्लाई सात दिनसम्म सुनाएका थिए भनेर बताइएको छ, यो कुरो पूर्णरूपले झुटो सावित हुन्छ, ल हेर्नुहोस् महाभारतमा के लेखेको छ—
अन्तर्हितं प्रभावं तु दर्शयित्वा शुकस्तदा । गुणान् संत्यज्य शब्दादीन् पदमभ्यगमत् परम् ॥
—महाभारत शान्तिपर्व, [मोक्षधर्म पर्व (अध्याय ३३३/श्लोक २६-२७)] ॥
शुकदेवले महाभारतको युद्ध भन्दा पूर्व नै मोक्षलाई प्राप्त गरिसकेको कुरा यस अध्याय ३३३ को प्रसंगमा सन्दर्भसहित अध्यायले बताइरहेको छ । त्यसैको अंश यो श्लोक हो । जहाँ कि परीक्षित्को जन्म हुँदा शुकदेवको देहवसान भैसकेको थियो । कुन तरिकाले परीक्षितले शुकदेवबाट भागवतको कथा सुने आफै बुझ्नुहोस् । कथाको प्रसंग सोध्नेवाला परीक्षित्पुत्र राजा जनमेजय र शुकदेवको समयको अन्तर थोरैमा पनि ७०-८० वर्षको देखिन्छ । त्यस कारण यो भागवत पूर्णरूपले झुट्टा ठहरिन्छ ।
र यो भागवत ‘बोबदेव’ ले बनाएको हो, जसको दाइ ‘जयदेव’ ले ‘गीतगोविन्द’ बनाएको थियो । बोबदेव देवगिरिका राजा हिमाद्रिको सभासद् थियो । यसको जन्म तेह्रौं शताब्दीमा भएको थियो । उसले हेर्नुहोस् यो श्लोक आफूले बनाएको कुरा ‘हिमाद्रि’ मा लेखेको छ कि ‘श्रीमद्भागवत’ मैले बनाएको हुँ, त्यस लेखको तीन पत्र हामीसँग थियो । त्यस मध्येमा एक पत्र हराएको छ । त्यस पत्रमा श्लोकहरूको जुन आशय थियो त्यस आशयको हामीले दुई श्लोक बनाएर तल लेखेका छौं । जो कसैलाई हेर्ने इच्छा छ भने, त्यो हिमाद्री ग्रन्थमा हेर्नुहोला । श्लोक—
हिमाद्रेः सचिवस्यार्थे सूचना क्रियतेऽधुना । स्कन्धाऽध्यायकथानां च यत्प्रमाणं समासत ॥१॥
श्रीमद्भागवतं नाम पुराणं च मयेरितम् । विदुषा बोबदेवेन श्रीकृष्णस्य यशोन्वितम् ॥२॥
यसै प्रकारको नष्टपत्रमा श्लोक थिए । अर्थात् राजाको सचिव हिमाद्रिले बोबदेव पण्डितसँग भने कि “मलाई तिमीले बनाएको श्रीमदभागवतको सम्पूर्ण कथा सुन्नको लागि अवकाश छैन, त्यसैले तिमीले संक्षेपमा श्लोकबद्ध सूचीपत्र बनाउनू, जसलाई हेरेर मैले श्रीमद्भागवतको कथा संक्षेपले जान्न सकूँ ।” सो तल लेखिएको सूचीपत्र उसै बोबदेवले बनाएको हो । त्यस मध्येमा त्यस नष्टपत्रमा १० श्लोक हराएका छन्, अब एघारौं श्लोकबाट लेख्दछु । यी तल लेखिएका श्लोक जति सबै बोबदेवले बनाएको हो । ती श्लोहकरू—
बोधयन्तीति हि प्राहुः श्रीमद्भागवतं पुनः । पञ्च प्रश्नाः शौनकस्य सूतस्यात्रोत्तरं त्रिषु ॥११॥
प्रश्नावतारयोश्चैव व्यासस्य निर्वृतिः कृतात् । नारदस्यात्र हेतूक्तिः प्रतीत्यर्थं स्वजन्म च ॥१२॥
सुप्तघ्न द्रौण्यभिभवस्तदस्त्रात्पाण्डवा वनम् । भीष्मस्य स्वपदप्राप्तिः कृष्णस्य द्वारकागमः ॥१३॥
श्रोतुः परीक्षितो जन्म धृतराष्ट्रस्य निर्गमः । कृष्णमर्त्यत्यागसूचा ततः पार्थमहापथः ॥१४॥
इत्यष्टादशभिः पादैरध्यायार्थः क्रमात् स्मृतः । स्वपरप्रतिबन्धोनं स्फीतं राज्यं जहौ नृपः ॥१५॥
इति वै राज्ञो दार्ढ्योक्तौ प्रोक्ता द्रौणिजयादयः ।
इति प्रथमः स्कन्धः ॥१॥
इत्यादि बाह्र स्कन्धहरूका सूचीपत्र यसै प्रकारले बोबदेव पण्डितले बनाएर हिमाद्रि सचिवलाई दिए । जसले यसलाई विस्तारसँग हेर्न चाहन्छ, त्यो बोबदेवले बनाएको हिमाद्रि ग्रन्थमा हेर्नुहोला । यसै प्रकार अन्य पुराणहरूको लीला पनि उन्नाईस-बीस-एक्काईस कै हाराहारिमा एक-दोस्रादेखि बढेरै छन् ।
हेर ! श्रीकृष्णको इतिहास महाभारतमा अत्युत्तम छ । उनको गुण, कर्म, स्वभाव, चरित्र आप्त पुरुषहरूको सदृश छ । जसमा कुनै अधर्मको आचरण श्रीकृष्णले जन्मेदेखि मरणपर्यन्त नराम्रो काम गरेका भए, यस्तो लेखिएको छैन । र भागवतमा दूध, दही, नौनीको चोरी, कुब्जादासीसँग समागम, परस्त्रीहरूसँग रासमण्डल, क्रीडा आदि मिथ्या दोष श्रीकृष्णमा लगाएका छन् । यसलाई पढेर-पढाएर सुनेर-सुनाएर अन्य मतवालाहरूले श्रीकृष्णजीको धेरै निन्दा गर्दछन् । यदि यो भागवत हुन्थेन भने त श्रीकृष्णजीको सदृश महात्माहरूको झुटो निन्दा किन हुन्थ्यो ?
शिवपुराणमा बाह्र ज्योतिर्लिङ्ग लेखिएका छन् । त्यसको कथा सर्वथा असम्भव छ । नाम राखिएको छ ज्योतिर्लिङ्ग र जसमा प्रकाशको लेशमात्र पनि छैन । रात्रिमा बिना दीप जलाए लिङ्ग पनि अँधेरोमा देखिंदैन, यो सबै लीला पोपजीकै हुन् ।
प्रश्न— जब वेद पढ्नमा सामर्थ्य रहेन तब स्मृति, जब स्मृतिलाई पढ्नमा बुद्धि रहेन तब शास्त्र, जब शास्त्र पढ्नलाई क्षमता रहेन तब पुराण बनाए, केवल स्त्री-शूद्रहरूका लागि, किनभने यिनीहरूलाई वेद पढ्न-सुन्नको अधिकार छैन ।
उत्तर— यो कुरो मिथ्या हो । किनभने सामर्थ्य पढ्ने-पढाउने गर्नाले नै हुन्छ र वेद पढ्न-सुन्नको अधिकार सबैलाई छ । हेर ! गार्गी, आदि स्त्रीहरू र छान्दोग्य (प्रपाठक ४/खण्ड २/प्रवाक २) मा जनश्रुति शूद्रले पनि वेद ‘रैक्वमुनि’ सँग पढेको थियो । र यजुर्वेदको २६ छब्बीसौं अध्यायको दोस्रो मन्त्रमा स्पष्टसँग लेखिएको छ कि—
यथे॒मा वाचं॑ कल्या॒णीमा॒वदा॑नि॒ जने॑भ्यः ।
ब्र॒ह्म॒रा॒ज॒न्या॒भ्या शूद्राय॒ चार्या॑य च॒ स्वाय॒ चार॑णाय च ॥
हे मनुष्यहरू हो ! म ईश्वर (यथा) जसरी (ब्रह्मराजन्याभ्याम्) ब्राह्मण, क्षत्रिय (अर्याय) वैश्य (शूद्राय) शूद्र (च) र (स्वाय) आफ्ना स्त्री, सेवक आदि (च) र (अरणाय) उत्तम लक्षणयुक्त प्राप्त भएका अन्त्यजका लागि (च) पनि (जनेभ्यः) यी उक्त सबै मनुष्यको लागि (इह) यस संसारमा (इमाम्) यस प्रकट भएको (कल्याणीम्) सुख दिने (वाचम्) चारै वेदरूप वाणीलाई उपदेश गर्दछु, त्यसरी नै तिमीहरूले पनि राम्रोसँग उपदेश गर ।
अर्थ— जुन प्रकार कल्याण गर्नेवाला यस दिव्य वेदवाणीलाई हामी (मन्त्रद्रष्टा ऋषि) ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, प्रिय, अप्रिय जनहरू एवं सम्पूर्ण जनहरूको लागि उपदेश गरेको छ, उसै प्रकार हे मनुष्यहरू हो ! तिमीहरूले पनि उपदेश गर ।
वेदहरूको पढ्ने सुन्ने अधिकार मनुष्यमात्रलाई छ भन्ने कुरा जुन माथि स्पष्टसँग यजुर्वेदले बतायो ।
यस्तो कुरालाई नबुझिकन पुनः त्यस्ता-त्यस्ता पुराणदि मिथ्याग्रन्थ बनाएर, मान्छेहरूलाई सत्यग्रन्थबाट विमुख राखेर, जालमा फसाएर, आफ्नो प्रयोजनलाई फत्ते गर्दछन्, तिनीहरू महापापी किन होइनन् ?
हेर्नुहोस् त ! पुराणकारले कस्तो-कस्तो कुचक्र चलाएका छन् कि स्त्री र शूद्रले त वेद पढ्न र सुन्न पनि हुँदैन रे, यो सरासर मानवीयताको विरुद्ध सत्य विद्याको क्षेत्रमा घाँटी रेट्ने काम हो कि होइन त ? नपत्याए हेर्नुहोस् त धूर्तहरूले पुराणमा वेद प्रति कस्तो तगारो हालेका छन्—
स्त्रीशूद्रद्विजबन्धूनां न वेद श्रवणमतम् ॥
—देवी भागवत पुराण (स्कन्ध १/अध्याय ३/श्लोक २१) ॥
अर्थ—स्त्रीहरू, शूद्रहरू तथा भ्रष्ट द्विज्जातिहरूलाई वेद-श्रवणको अधिकार छैन ।
स्त्रीशूद्रद्विजबंधूनामं त्रयी न श्रुतिगोचरा । कर्मश्रेयसिमूढानां श्रेय भवेदिह ॥
—भागवत पुराण (स्कन्ध १/अध्याय ४/श्लोक २५) ॥
अर्थ— स्त्री, शूद्र र पतित भ्रष्ट द्विज्जाति यी तीनैथरी वेद-श्रवणका अधिकारी होइनन् । त्यस कारण तिनीहरू कल्याणकारी शास्त्रोक्त कर्महरूको आचरणमा भुलेर बस्ने गर्दछन् ।
स्त्रीशूद्रयोः स्नानजाप्यं वेदोक्तविधिविवर्जिम् ॥
—ब्रह्म पुराण (अध्याय ६७/श्लोक १९) ॥
अर्थ— स्त्री र शूद्रले वेदोक्त विधिबाट स्नान र जप गर्नको लागि वर्जित गरिएको छ ।
स्त्रीशूद्राणां समीपे तु ये वेदाध्ययने रताः ।
तेषां पापफलं वक्ष्ये शृणुष्व सुसमाहितः ॥
—नारद पुराण (अध्याय १५/श्लोक १००) ॥
अर्थ— जसले स्त्रीहरू र शूद्रहरूको नजिकमा वेदाध्ययन गर्दछ, तिनीहरूका पापको फललाई बताउँछु ।
त्यसै गरी हेर्नुहोस् ! ग्रहहरूका चक्र कस्तो चलाएका छन् कि जसले विद्याहीन मनुष्यहरूलाई असाध्यै ग्रसित गरेको छ ।
‘आ कृ॒ष्णेन॒ रज॑सा॒०’ ॥१॥ यो सूर्यको मन्त्र । —यजुर्वेद (३३/४३) ॥
‘इ॒मं दे॑वाऽअसप॒त्न सु॑वध्यम्०’ ॥२॥ यो चन्द्रको मन्त्र । —यजुर्वेद (९/४०) ॥
‘अ॒ग्निर्मू॒र्द्धा दि॒वः क॒कुत्पतिः॑०’ ॥३॥ यो मङ्गलको मन्त्र । —यजुर्वेद (३/१२) ॥
‘उद्बु॑ध्यस्वाग्ने॒०’ ॥४॥ यो बुधको मन्त्र । —यजुर्वेद (१५/५४) ॥
‘बृह॑स्पते॒ अति॒यद॒र्यो०’ ॥५॥ यो बृहस्पतिको मन्त्र । —यजुर्वेद (२६/३) ॥
‘शु॒क्रमन्ध॑सः॒०’ ॥६॥ यो शुक्रको मन्त्र । —यजुर्वेद (१९/७२) ॥
‘शन्नो॑ दे॒वीर॒भिष्ट॑य०’ ॥७॥ यो शनिको मन्त्र । —यजुर्वेद (३६/१२) ॥
‘कया॑ नश्चि॒त्र॒ आ भु॑व०’ ॥८॥ यो राहुको मन्त्र । —यजुर्वेद (२७/३९) ॥
‘के॒तुं कृ॒ण्वन्न॑के॒तवे॒०’ ॥९॥ यसलाई केतुको कण्डिका भन्छन् । —यजुर्वेद (२९/३७) ॥
यहाँ बुझ्नुपर्ने कुरा नबुझेर गलत अर्थ पक्डेका छन् वास्तवमा (आ कृष्णे.) यो सूर्य र भूमिको आकर्षण ॥१॥ दोस्रो– राजगुण विधायक ॥२॥ तेस्रो– अग्नि ॥३॥ चौथो– यजमान ॥४॥ पाँचौं– विद्वान् ॥५॥ छैटौं– वीर्य, अन्न ॥६॥ सातौं– जल, प्राण र परमेश्वर ॥७॥ आठौं– मित्र ॥८॥ नवौं– ज्ञान ग्रहणका विधायक मन्त्र हुन् ॥९॥ ग्रहहरूका वाचक होइनन् । अर्थ नजानेर भ्रमजालमा परेका छन् ।
सूर्यादि नवग्रहपूजाको समीक्षा (११.२३)
प्रश्न— ग्रहहरूको फल हुन्छ कि हुँदैन ?
उत्तर— जस्तो पोपलीलाको छ, त्यस्तो हुँदैन । किन्तु जसरी सूर्य-चन्द्रमाको किरणद्वारा उष्णता-शीतता अथवा ऋतुवत्कालचक्रको सम्बन्धमात्रले आफ्नो प्रकृतिको अनुकूल-प्रतिकूल सुख-दुःखको निमित्त हुन्छन् । परन्तु जुन पोपलीलावालाहरूले भन्दछन् “सुन महाराज ! सेठजी ! यजमानहरू ! तिम्रा आज आठौं चन्द्र-सूर्यादि ग्रह क्रूर घरमा आएका छन् । साढे दुई वर्ष शनिश्चरको दशा शुरू भएको छ । तिमीलाई ठूलो विघ्न पर्नेछ । घर-द्वार छोडेर परदेशमा घुमाउनेछ । परन्तु यदि तिमीले ग्रहहरूको दान, जप, पाठ, पूजा गरायौ भने त दुःखबाट बच्न सक्नेछौ ।” तिनीहरूलाई भन्नुपर्दछ कि “सुन पोपजीहरू हो ! तिम्रो र ग्रहहरूको के सम्बन्ध छ ? ग्रह के वस्तु हो ।”
पोपजी— दैवाधीनं जगत्सर्वं मन्त्राधीनाश्च देवताः ।
ते मन्त्रा ब्राह्मणाधीनास्तस्माद् ब्राह्मणदैवतम् ॥
हेर ! प्रमाण कस्तो छ । देवताहरूको आधीनमा सबै जगत्, मन्त्रहरूको आधीनमा सबै देवता र ती मन्त्रहरू सबै ब्राह्मणका आधीनमा छन्, त्यसैले ब्राह्मणलाई ‘देवता’ भन्दछन् । किनभने चाहेमा उस देवतालाई मन्त्रको बलले बोलाएर, प्रसन्न गरेर, सिद्धि गराउनको लागि हाम्रो नै अधिकार छ, यदि हामीमा मन्त्रशक्ति हुँदैनथ्यो भने त तिमीहरू जस्ता नास्तिकले हामीहरूलाई संसारमा रहन दिने थिएनौ ।
सत्यवादी— जति चोर, डाँकू, कुकर्मीहरू छन्, तिनीहरू पनि तिम्रा देवताकै आधीनमा होलान् ? देवताले नै उनीहरूबाट दुष्ट काम गराउँछन् होला ? यदि यस्तै हो भने त तिम्रा देवता र राक्षसमा केही भेद रहेन । यदि तिम्रा आधीनमा मन्त्र छन् भने, तिमीले जे चाहन्छौ त्यही गर्न सक्दछौ, ती मन्त्रबाट देवताहरूलाई वशमा गरेर राजा र राज्यको कोष उठाएर लगेर, आफ्नो घरको भण्डारमा भरेर, आनन्दले बसेर किन भोग्दैनौ ? घर-घरमा शनिश्चरादिको तैल आदिको छायादान लिनको लागि मरिहत्ते गरेर किन फिर्दछौ ? र जसलाई तिमीले कुबेर मान्दछौ उसलाई वशमा गरेर चाहे जति धन लिने गर । बिचारा गरीबहरूलाई किन लुट्दछौ ?
तिमीलाई दान दिनाले ग्रह प्रसन्न, नदिनाले अप्रसन्न हुन्छन् भने त, हामीलाई सूर्यादि ग्रहहरूका प्रसन्नता-अप्रसन्नता प्रत्यक्ष देखाऊ । जसलाई आठौं सूर्य चन्द्र र अर्काको तेस्रो छ भने, ती दुइटैलाई ज्येष्ठको महिनामा बिना जुत्ता लगाएर तातेको भूमिमा हिंड्न लगाउनू । जसमाथि प्रसन्न छन् त्यसको खुट्टा र शरीर जल्दैन अनि जसमाथि क्रोधित छन् उसको जल्नुपर्दछ । तथा पौष-माघको महिनामा दुइटैलाई नाङ्गो पारेर पौर्णमासीको रात्रिभर मैदानमा राख्नू । एउटालाई शीत लाग्यो अर्कोलाई लागेन भने त जान्नु कि ग्रह क्रूर र सौम्य दृष्टिवाला हुन्छन् । फेरि, के ग्रह तिम्रा सम्बन्धी हुन् ? र तिम्रो हुलाक वा तार उनीहरूसँग आउने-जाने गर्दछ ? अथवा तिमी उनीहरूकहाँ वा उनीहरू तिमीकहाँ आउने-जाने गर्दछन् ?
यदि तिमीमा मन्त्रशक्ति छ भने त तिमी स्वयं राजा वा धनाढ्य किन बन्दैनौ ? वा शत्रुहरूलाई किन आफ्नो वशमा गर्दैनौ ? नास्तिक त्यो हुन्छ, जसले वेद र ईश्वरको आज्ञा, वेदविरुद्ध पोपलीला चलाउँछ । जसलाई ग्रह लागेको छ त्यसले तिमीलाई दान नदेओस्, उसैले ग्रहदान भोगेमा त के चिन्ता हुन्छ ? यदि तिमीले भनौला कि हुँदैन, हामीलाई नै दान दिनाले ग्रह प्रसन्न हुन्छन्, अन्यलाई दिनाले होइन, त्यसो भए सबै ग्रहहरूको ठेक्का तिमीले लिएका छौ त ? यदि ठेक्कै लिएका छौ भने त सुर्यादिलाई आफ्नो घरमा बोलाएर जलेर मर ।
साँचो त यो हो कि सूर्यादि लोकहरू जड हुन् । तिनले न कसैलाई दुःख न कसैलाई सुख दिनको लागि चेष्टा गर्न सक्दछन् किन्तु जति तिमी ग्रहदानोपजीवि छौ, ती सबै तिमी ग्रहका मूर्तिहरू हौ, किनभने ‘ग्रह’ शब्दको अर्थ पनि तिमीमा नै घटित हुन्छ । ‘ये गृह्णन्ति ते ग्रहाः’ जसले ग्रहण गर्दछ, त्यसको नाम ‘ग्रह’ हो । जबसम्म तिम्रा चरण राजा, रईस, सेठ, साहूकार र दरिद्रहरूका घरमा पुग्दैनन्, तबसम्म कसैलाई ग्रहको स्मरण पनि हुँदैन । जब तिमी साक्षात् सूर्य-शनैश्चरादि मूर्तिमान् क्रूर रूप धारण गरेर उनीमाथि गएर चढ्दछौ, तब बिना ग्रहण नगरी उनीहरूलाई छोड्दैनौ र जो कोही तिम्रा ग्रासमा आउँदैन, त्यसको निन्दा नास्तिकादि शब्दबाट गर्ने गर्दछौ ।
पोपजी— हेर ! ज्योतिषको प्रत्यक्ष फल । आकाशमा रहनेवाला सूर्य, चन्द्र, राहु, केतुको संयोगरूप ‘ग्रहण’ लाई हामीले पहिले नै बताउने गर्दछौं । जसरी यो प्रत्यक्ष हुन्छ, त्यसरी नै ग्रहहरूको फल पनि प्रत्यक्ष हुन जान्छ । हेर ! धनाढ्य, दरिद्र, रङ्क, सुखी, दुःखी ग्रहहरूबाट नै हुने गर्दछन् ।
सत्यवादी— जुन यो ग्रहणरूप प्रत्यक्ष फल हो त्यो गणितविद्याको हो, फलितको होइन । जुन गणितविद्या हो त्यो साँचो हो र फलितविद्या स्वाभाविक सम्बन्धजन्यलाई छोडेर बाँकी झुटो हो । जसरी अनुलोम-प्रतिलोम घुम्नेवाला पृथ्वी र चन्द्रको गणितबाट स्पष्ट विदित हुन्छ कि अमुक समयमा, अमुक देशमा, अमुक अवयवमा सूर्यको वा चन्द्रमाको ग्रहण हुनेछ । जस्तै—
छादयत्यर्कमिन्दुर्विधुं भूमिभाः ॥ —ग्रहलाघव चन्द्रग्रहणधिकार (४/४) ॥
यो [ग्रहलाघव ?] को वचन र यसै प्रकार ‘सूर्यसिद्धान्तादि’ मा पनि छ । अर्थात् जब सूर्य र भूमिको मध्यमा चन्द्रमा आउँछ तब ‘सूर्यग्रहण’ र जब सूर्य र चन्द्रमाको बीचमा भूमि आउँछ तब ‘चन्द्रग्रहण’ हुने गर्दछ । अर्थात् चन्द्रको छायाँ पृथ्वीमा र पृथ्वीको छायाँ चन्द्रमामा पर्दछ । सूर्य प्रकाशरूप हुनाले उसको सम्मुख छायाँ कसैको पर्दैन किन्तु जसरी प्रकाशमान सूर्य वा दीपले देहादिको उल्टो छायाँ पर्दछ, त्यस्तै ग्रहणमा पनि सम्झनु ।
जति धनाढ्य, दरिद्र, राजा, रङ्क हुन्छन्, ती सबै आ-आफ्ना कर्मले हुने गर्दछन्, ग्रहहरूले होइन । थुप्रै ज्योतिषीहरूले आफ्नो छोराछोरीको विवाह ग्रहहरूको गणितको अनुसारले गर्दछन्, पुनः उनीहरूमा विरोध वा विधवा अथवा मृतस्त्री पुरुष हुन जान्छन् । यदि फल साँचो हुन्थ्यो भने त यस्तो किन हुन्थ्यो ? त्यसैले कर्मको गति साँचो र ग्रहहरूको गति सुख-दुःख भोगमा कारण होइन । भला, ग्रह आकाशमा र पृथ्वी पनि आकाशमा धेरै टाढाको दूरिमा छ, यिनको सम्बन्ध कर्ता र कर्महरूको साथ साक्षात् छैन । कर्म र कर्मका फलको कर्ता-भोक्ता जीव, र कर्मको फलाई भोगाउनेवाला परमात्मा हो । यदि तिमीले ग्रहहरूको फललाई मान्दछौ भने त यसको उत्तर देऊ कि जुन क्षणमा एक मनुष्यको जन्म हुन्छ जसलाई तिमीले ‘ध्रुवात्रुटि मानेर जन्मपत्र बनाउँछौ, त्यसै समयमा पृथ्वीमा दोस्रोको जन्म हुन्छ कि हुँदैन ? यदि भन्दछौ कि हुँदैन तब झुट र यदि भन्दछौ कि हुन्छ तब त एक चक्रवर्तीको सदृश भूगोलमा दोस्रो चक्रवर्ती राजा किन हुँदैन ? हो, यति भन्न सक्दछौ कि यो लीला हाम्रो पेट भर्नको लागि हो तब कसैले मान्न पनि सक्लान् ।
गरुडपुराणको समीक्षा (११.२४)
प्रश्न— के गरुडपुराण पनि झुटो हो त ?
उत्तर— हो, असत्य हो ।
प्रश्न— फेरि मरेका जीवको के गति हुन्छ ?
उत्तर— जस्ता उसका कर्म छन् ।
प्रश्न— जो यमराज राजा, चित्रगुप्त मन्त्री, उसका बडा भयङ्कर गण कोइलाको पर्वतकै तुल्य शरीर भएकाले जीवलाई समातेर लैजान्छन् । पाप-पुण्यको अनुसार नरक-स्वर्गमा हाल्दछन् । त्यसको लागि दान, पुण्य, श्राद्ध, तर्पण, गोदानादि वैतरणी नदी तर्नको लागि गर्दछन् । यी सबै कुरा कसरी झुट्टो हुन सक्दछन् त ?
उत्तर— यी सबै कुराहरू पोपलीलाको गफौडा हो । यदि अन्यत्रका जीव त्यहाँ जान्छन्, तिनीहरूका धर्मराज, चित्रगुप्त आदिले न्याय गर्दछन् भने त, ती यमलोकका जीवले पाप गरेमा त दोस्रो यमलोक हुने मान्नुपर्दछ कि त्यहाँका न्यायाधीशले यिनीहरूको न्याय गरोस् र पर्वतकै समान यमगणहरूको शरीर हुन्छ भने त किन देखिंदैनन् ? र मर्नेवाला जीवलाई लिनको लागि सानो द्वारमा तिनीहरूको एउटा औंलो पनि पस्न सक्दैन र सडक-गल्लीमा किन रोकिंदैनन् । यदि भन्दछौ कि उनीहरूले सूक्ष्म देह पनि धारण गर्न सक्दछन् भने त, प्रथम पर्वतवत् शरीरका ठूला-ठूला हाड पोपजी बिना आफ्नो घरको कहाँ राख्नेछन् ? जब वनमा डडेलो लाग्दछ, तब साना-साना कमिलादि जीवहरूको शरीर छुट्दछ । तिनीहरूलाई समात्नको लागि असंख्य यमका गण आउँछन् भने त, त्यहाँ अन्धकार हुनुपर्ने हो, र जब आपसमा जीवहरूलाई समात्नको लागि दौडनेछन्, तब उनका शरीर ठोक्किएर जसरी पहाडका बडा-बडा चट्टान फुटेर भुइँमा खस्दछन्, त्यसरी नै यमगणका बडा-बडा अवयव गरुडपुराणलाई वाँचन गर्नेवालाको आँगनमा खसे भने त दबेर मर्नेछन्, वा घरको ढोका थुनियो अथवा सडक रोकियो भने त कसरी निक्लेर हिंड्सक्नेछन् ? श्राद्ध, तर्पण, पिण्डप्रदान ती मरेका जीवहरूलाई त पुग्न सक्दैन, किन्तु मृतकरूका प्रतिनिधि पोपजीको घर, उदर र हातमा पुग्नजान्छ । जुन वैतरणीको लागि भनेर गोदान लिन्छन्, त्यो त पोपजीको घरमा अथवा कसाई आदिको घरमा पुग्दछ । वैतरणीमा गाई त जाँदैन, पुनः कसको पुछार समातेर तर्नेछ ? र हात त यहीं जलाइदिए अथवा गाडिदिए, पुछारलाई कसरी समात्नेछ ? यहाँ एउटा जाटको दृष्टान्त यस कुरामा उपयुक्त हुन्छ—
एउटा जाट थियो । त्यसको घरमा बीस सेर दूध दिने एउटी गाई थिइन् । दूध बडो स्वादिष्ट थियो । कहिलेकाहीं पोपजीको मुखमा पनि पर्दथ्यो । त्यसको पुरोहितले यही ध्यान लगाइराखेको थियो कि जब जाटको बूढो बाउ मर्न लाग्नेछ, तब त्यो गाईलाई लिएर सङ्कल्प गराउनेछु । दैवयोगले त्यसको बाउको मरणको समय पनि आयो । घाँटी घ्यारघ्यार हुँदाहुँदै बोली बन्द भयो र खाटबाट उतारेर तल भुइँमा सुताए । थुप्रै जाटका सम्बन्धीहरू उपस्थित भएका थिए । त्यसै मौकामा पोपजीले पुकारे “ल यजमान ! बाउको हातबाट गोदान गराऊ ।” जाटले १० रुपैयाँ निकाल्यो, पिताको हातमा राखेर भन्यो— “सङ्कल्प पढ्नुहोस् !” पोपजीले भने— “वाह ! बाउ फेरि-फेरि मरिराख्दछ र ? साक्षात् गाई नै ल्याऊ, त्यसले दूध पनि देओस् बूढी पनि नहोस् र सबै प्रकारले उत्तम होस् ।”
जाट— हाम्री मात्र एउटी गाई छन्, त्यसको बिना हाम्रा बालबच्चाको निर्वाह हुन सक्दैन, त्यसलाई मैले दिन्न । ल २० रुपैयाँ लिनुहोस् र पढ्नुहोस् सङ्कल्प । तपाईंले अर्कै गाई लिए हुन्छ ।
पोपजी— वाह जी वाह ! तिमीले आफ्नो जन्म दिने बाउ भन्दा पनि गाईलाई ठूलो मान्यौ ? आफ्नो पितालाई वैतरणीमा डुबाएर, दुःख दिन चाहन्छौ ? तिमी छोरो भएको धन्य रहेछौ ! तब त पोपजीको कुरातिर सबै जना कुटुम्बीहरू हुन गए । किनभने ती सबै जनालाई पहिलेदेखिबाटै पोपजीले मन्तरेर राखेको थियो र त्यति वेलै पनि इशारा गरिदियो । सबै जना एकैतिर खनिएर त्यस गाईको दान उसै पोपजीलाई जुटाइदिए । त्यति वेला जाटले केही पनि भन्न सकेन । त्यसको बाउ मर्यो । पोपजी गाई, बाच्छो र दूध दुहुने गौवा समेत लिएर घरमा गएर, गाई-बाच्छोलाई गोठमा बाँधेर, गौवालाई भित्र राखेर, यजमानको घरमा फर्केर आयो, अनि बूढाको लाशलाई श्मशानमा लगेर दाह संस्कार गरे । श्मशानघाटमा पनि केही-केही पोपलीला चलायो । पश्चात् दशगात्र सपिण्डी गर्न आदिमा पनि त्यसलाई मुडुल्याइदिए । महाब्राह्मणहरूले पनि लुटे, भोका-अगस्तिहरूले पनि थुप्रै माल पेटमा हाले, जब सबैथोक सकियो तब जाटले अरू कसै-कसैको घरबाट दूध मागी-जोगी गरेर निर्वाह गर्यो । चौधौं दिनको बिहानै जाट पोपजीको घरमा पुग्यो । देख्यो गाई दुहेर, गौवाभरी दूध लिएर, पोपजीको उठ्ने तयारी हुँदै थियो । यत्तिकैमा जाट पुग्यो । पोपजीले भने आऊ बस !
जाटजी— तपाईं पनि यहाँ आउनुहोस् ।
पोपजी— ल म दूध राखेर आउँछु ।
जाटजी— होइन, दूधको गौवै समेत लिएर यहाँ आउनुहोस् । पोपजी उसको नजिक गएर, गौवा सामुन्ने राखेर बसे ।
जाटजी— तपाईं बडो झुट्टो हुनुहुँदोरहेछ ।
पोपजी— के झुटो गरें र ?
जाटजी— गाई केको लागि लिनुभएको थियो ?
पोपजी— तिम्रो बाउको वैतरणी तार्नको लागि ।
जाटजी— फेरि तपाईंले वैतरणीको किनारामा किन पुर्याउनु भएन ? हामी तपाईंको भरोसामा बस्यौं । न जाँने मेरो बाउले वैतरणीको कति गोता खाए होलान् ?
पोपजी— होइन-होइन, वहाँ यस दानको पुण्यको प्रभावले अर्की गाई बनिसकिन् । तिम्रो बाउलाई पार गराइदिसकें ।
जाटजी— वैतरणी नदी यहाँबाट कति टाढा र कतापट्टि छ ?
पोपजी— अनुमान तीस करोड कोस टाढा छ । किनभने उनन्पचास कोटि योजन पृथ्वी छ र दक्षिण नैर्ऋत दिशामा वैतरणी नदी छ ।
जाटजी— यति टाढाबाट तपाईंको चिट्ठी वा तारको समाचार गएको भए, त्यसको उत्तर त पक्कै आएको छ होलानि कि पुण्यकी गाई बनिन्, अमुकको पितालाई वैतरणी पारी तराइदियौं, देखाउनुहोस् ?
पोपजी— हामीसँग ‘गरुडपुराण’ को लेख बाहेक अरू हुलाक वा तारसारको दोस्रो माध्यम छैन ।
जाटजी— यस गरुडपुराणलाई हामीले कसरी साँचो मान्ने ?
पोपजी— जसरी सबैले मान्दै आएकाछन् ।
जाटजी— यो पुस्तक तपाईंका पुर्खाहरूले तपाईंको जीविकाको लागि बनाएका हुन् । किनभने पितालाई बिना आफ्नो पुत्रको अरू कोही प्रिय हुँदैन । जब मेरो पिताले मलाई चिट्ठी-पत्र वा तार पठाउनेछन् तबै मैले वैतरणीको किनारामा गाईलाई पुर्याइदिनेछु र उनलाई पारी तारेर, पुनः गाईलाई घरमा ल्याएर दूधलाई मैले र मेरो बालबच्चाले पिउनेछौं, दिनुहोस् मलाई ! दूधको गौवा, गाई र बाच्छो लिएर जाटजी आफ्नो घर लाग्न थाले ।
पोपजी— तिमीले दान दिएर फिर्ता लिन्छौ, तिम्रो सत्यानाश हुन जानेछ ।
जाटजी— चुप लाग ! नत्र भने तेह्र दिनसम्म दूधको बिना जति दुःख हामीले पाएका छौं, त्यसको सबै कसर निकाल्नेछु । तब पोपजी चुप लागे र जाटजी तीनै चीज लिएर घर पुगे ।
जब यस्तै जाटजी जस्ता पुरुषहरू भए त पोपलीला संसारमा चल्ने थिएन । जुन गरुडपुराणीहरूले भन्दछन् कि दशगात्रको पिण्डबाट दश अङ्ग, सपिण्डी गर्नाले शरीरको साथ जीवको मेल भएर, औंलोमात्रको शरीर बनेर पश्चात् यमलोकमा जान्छ भने त मर्ने वेलामा यमदूतहरूको आउनु व्यर्थ हुन्छ । त्रयोदशाहको पश्चात् आउनुपर्दछ । यदि शरीर बन्दछ भने त आफ्ना स्त्री, सन्तान र मित्रहरूको मोहले किन आउँदैन ?
प्रश्न— स्वर्गमा केही पनि मिल्दैन, जे दान गरेको छ, त्यही वहाँ पाइँन्छ । त्यसैले सबै कुरो दान गर्नुपर्दछ ।
उत्तर— त्यस्तो तिम्रो स्वर्ग भन्दा त यहीं राम्रो भयो नि, जसमा धर्मशालाहरू छन्, मान्छेहरूले दान दिन्छन्, इष्ट-मित्र र जातिमा निमन्त्रणाहरू भैराख्दछ, राम्रा-राम्रा वस्त्रहरू पाइँन्छन्, तिमीले भनेको प्रमाणिक स्वर्गमा केही पनि पाइँदैन । यस्तो निर्दयी, कृपण, कङ्गाल स्वर्गमा पोपजी नै गएर नराम्रो बनून्, वहाँ भला मनुष्यको के काम ?
प्रश्न— गरुडपुराण आदिमा दशगात्र, एकादशाह, द्वादशाह, सपिण्डी कर्म, मासिक, ऊनमासिक, गयाश्राद्ध आदि क्रिया लेखिएको छ, के यी सबै असत्य हो त ?
उत्तर— हो, अवश्य मिथ्या हो । किनभने वेदहरूमा यी कर्महरूको विधान कतै पनि छैन । यसैले अकर्तव्य हो र मृतक जीवको सम्बन्ध पूर्व सम्बन्धीहरूको साथमा केही पनि रहँदैन, न त यी जिउँदा सम्बन्धीहरूको त्यस मृतकसँग सम्बन्ध रहन्छ । त्यस जीवले आफ्नो कर्मको अनुसार जन्म धारण गर्दछ ।
प्रश्न— यदि तिम्रो भनाइले यमलोक र यम छैन भने त मरेर जीव कहाँ जान्छ र यिनीहरूको न्याय कसले गर्दछ ?
उत्तर— तिम्रो गरुडपुराणले भनेको त मिथ्या र अप्रमाण हो । वेदका अज्ञानी र उपदेश नहुनाले यस्तो गरे, परन्तु जुन वेदोक्त प्रमाण यो हो कि—
यमेन ॥ —ऋग्वेदः (१०/१४/८; १/१६३/२); अथर्ववेदः (१८/२/११, २१) ॥
वायुना ॥ —अथर्ववेदः (४/३९/४; २०/१४१/२) ॥
सत्यराजन् ॥ —यजुर्वेदः (२०/४); ऋग्वेदः (१०/१४; ४) ॥
इत्यादि वेदवचनबाट निश्चय हुन्छ कि ‘यम’ नाम वायुको हो, शरीर छेडेर ‘वायु’ को साथ अन्तरिक्षमा जीव रहन्छ, र जो सत्यकर्ता पक्षपातरहित परमात्मा ‘धर्मराज’ हो, वही सबैका न्यायकर्ता हुन् ।
प्रश्न— अहिलेसम्म गरिंदै आएको अन्त्येष्टिकर्म ठीक हो कि होइन ? तेह्र दिनसम्म किरिया बस्ने चलन वेदविहित हो कि वेदविरुद्ध ?
उत्तर— ‘अन्त्येष्टि’ कर्म त्यसलाई भन्दछन् कि जुन मृतक शरीरको अन्तको संस्कार हो, चिता वा वेदीमा दाह गरिसकेपछि त्यस भस्म शरीरको लागि कुनै पनि अन्य संस्कार गर्नुपर्दैन । यसैलाई नरमेध, पुरुषमेध, नरयाग, पुरुषयाग पनि भन्दछन् ।
भस्मा॑न्त॒ शरी॑रम् ॥१॥ —यजुर्वेद (अध्याय ४०/मन्त्र १५) ॥
निषेकादिश्मशानान्तो मन्त्रैर्यस्योदितो विधिः ॥२॥ —मनुस्मृति (अध्याय २/श्लोक १६) ॥
अर्थ— यस शरीरको संस्कार (भस्मान्तम्) अर्थात् भस्म गर्ने पर्यन्त मात्रै हो ॥१॥ शरीरको आरम्भ ऋतुदान र अन्तमा श्मशान अर्थात् मृतक कर्म हो ॥२॥
प्रश्न— मरेपछाडि जीव कहाँ जान्छ ?
उत्तर— यमालयमा ।
प्रश्न— यमालय कसलाई भन्दछन् ?
उत्तर— वाय्वालयलाई ।
प्रश्न— वाय्वालय कसलाई भन्दछन् ?
उत्तर— अन्तरिक्षलाई, जुन कि खुला शून्य छ ।
प्रश्न— के गरुडपुराण आदिमा यमलोक लेखिएको छ त्यो झुटो हो ?
उत्तर— अवश्य मिथ्या हो ।
प्रश्न— पुनः संसारले किन मान्दछन् त ?
उत्तर— वेदका अज्ञानी र उपदेश नहुनाले । जुन यमको कथा लेखेका छन्, त्यो सबै मिथ्या हो, किनभने ‘यम’ यतिका पदार्थहरूको नाम हो—
षळिद् य॒मा ऋष॑यो देव॒जा इति ॥१॥ —ऋग्वेद (मण्डल १/सूक्त १६४/मन्त्र १५) ॥
श॒केम॑ वा॒जिनो॒ यम॑म् ॥२॥ —ऋग्वेद (मण्डल २/सूक्त ५/मन्त्र १) ॥
य॒माय॑ जुहुता ह॒विः । य॒मं ह॑ यज्ञो ग॑च्छत्य॒ग्निदू॑तो अरं॑कृतः ॥३॥
—ऋग्वेद (मण्डल १०/सूक्त १४/मन्त्र १३) ॥
य॒मः सूयमा॑नो विष्णुः॑ सम्भ्रि॒यमाणो वा॒युः पू॒यमा॑नः ॥४॥
—यजुर्वेद (अध्याय ८/मन्त्र ५७) ॥
वा॒जिनं॒ यम॑म् ॥५॥ —ऋग्वेद (मण्डल ८/सूक्त २४/मन्त्र २२) ॥
य॒मं मा॑त॒रिश्वा॑नमाहुः ॥६॥ —ऋग्वेद (मण्डल १/सूक्त १६४/मन्त्र ४६) ॥
अर्थ- यहाँ ऋतुहरूको नाम यम हो ॥१॥
यहाँ परमेश्वरको नाम यम हो ॥२॥
यहाँ अग्निको नाम यम हो ॥३॥
यहाँ वायु, विद्युत, सूर्यको नाम यम हो ॥४॥
यहाँ पनि वेगशाली हुनाको कारणले वायुको नाम यम हो ॥५॥
यहाँ परमेश्वरको नाम यम हो ॥६॥
इत्यादि पदार्थहरूको नाम ‘यम’ हो ।
यस भन्दा अगाडि मृतकको लागि केही पनि कर्म कर्तव्य रहँदैन, किनभने माथिको (भस्मान्त शरीरम्) यजुर्वेदको मन्त्रको प्रमाणबाट स्पष्ट भैसकेको छ कि दाहकर्म र अस्थिसञ्चयनदेखि पृथक् मृतकको लागि दोस्रो कुनै पनि कर्म-कर्तव्य बाँकी रहँदैन । हो, यदि त्यो सम्पन्न छ भने त जिउँदैमा, वा मरेपछि उसका सम्बन्धीले वेदविद्या वेदोक्त धर्मको प्रचार, अनाथपालन, वेदोक्त धर्मोपदेशको प्रवृत्तिको लागि चाहे जतिनै धन प्रदान गरोस्, धेरै राम्रो कुरा हुनेछ । यसैले पुराण आदिको कल्पना सबै झुटो हो ।
प्रश्न— श्राद्धको फल उसका पूर्वजहरूलाई पुग्दछ कि पुग्दैन ?
उत्तर— श्राद्धको फल उसका पूर्वजहरूलाई पुग्न सक्दैन किनभने उसका पितृहरू विदित छैनन् कि उनीहरू कुन लोकमा छन् । यस सिद्धान्तलाई स्वीकार गर्दाखेरि दानको फल निष्फल छ ।
प्रश्न— आफू जीवित छँदा गरेको कर्मको फल मिल्ने र मरेपछि दोस्राले गरिदिएको नमिल्ने हो त ?
उत्तर— हो, जिउँदो हुँदाखेरिको त्यो जीवको आफ्नो कर्म हो र कर्म कर्ताको साथमा रहन्छ नष्ट हुँदैन, परन्तु मृतकको श्राद्ध दोस्रो मान्छेको कर्म हो र जब उसको सम्बन्ध पूर्णतया संसारबाट टुटिसकेपछि गरिएको हुन्छ, त्यसैले निष्फल छ र सत्य शास्त्रमा पनि यस्तै लेखिएको छ ।
कर्ताको यस संसारबाट पूर्णतया नाता टुटिसकेपछि कुनै दोस्रो मान्छेले गरिदिएको कर्म मृतकको जीवात्मालाई प्राप्त हुँदैन । कर्ता आफैले गरेको पाप-पुण्यको फल देहबाट प्राण छुट्नासाथ ईश्वरले व्यवस्था गरेको नियमभित्र पर्दछ र ईश्वरले उसलाई तुरुन्तै दिन्छ, त्यस कारणले कसैको पनि पार्थिव शरीरको दाहसंस्कारपछि मृतकको जीवात्माको लागि भनेर गरिने दान-पुण्य निष्फल एवं व्यर्थ देखिन्छ । गीता (२/२२) कै वचन अनुसार पनि जीवात्माले देहान्त हुनासाथ तुरुन्तै अर्को चोला फेर्ने हुनाले दोस्रो मान्छेले गरिदिएको दान-दक्षिणा र पिण्ड-पानी त्यसले प्राप्त गर्दैन ।
फेरि यसको अतिरिक्त यदि यो मान्यौं कि पितृहरूलाई हाम्रो दान या प्रार्थनाले राम्रो लाभ हुन पुग्यो भने त यो पनि मान्नुपर्दछ कि उसका शत्रुले श्राप दिन्छन् अथवा उसका छोराले उसको नामबाट छल गर्दछन्, त्यसको प्रभाव पनि अवश्य हुन्छ । यसबाट के सिद्ध हुन्छ भने हाम्रो प्रार्थनाले स्वर्ग र श्रापले नरकमा पटक-पटक आउन-जान पर्नेछ । उसलाई पुण्यको फल मिल्नुपर्दछ, पापको होइन । कारण कि जुन समयमा त्यो व्यक्ति मर्यो त्यत्ति बेलै पापको फल पनि अवश्य निश्चित भयो होला, त्यसैले श्रापको प्रभाव पनि हुन सक्दैन । ऊ मरेपछि दोस्रो मान्छेले गरिदिने कर्म चाहिं उसका लागि पूर्णतया निष्फल हो ।
उपहू॑ताः पि॒तरः॑ सो॒म्यासो॑ बर्हि॒ष्ये॒षु नि॒धिषु॑ प्रि॒येषु॑ ।
तऽआग॑तमन्तु॒ तऽइ॒ह श्रु॑वन्त्वधि॑ब्रुवन्त॒ ते॒ऽवन्त्व॒स्मान् ॥
—यजुर्वेद (अध्याय १९/मन्त्र ५७) ॥
शब्दार्थ— (सोम्यासः) चन्द्रमाकै तुल्य शान्त, शम, दम आदि गुणहरूले युक्त (पितरः) माता, पिता, पितामह आदि पालकजन (बर्हिष्येषु) आसनमाथि बस्नको लागि र (प्रियेषु निधिषु) प्रिय कोशहरूमाथि तिनको सेवन गर्नको लागि (उपहूताः) आमन्त्रित गरिन्छ । हामीद्वारा बोलाइएपछि (ते आगमन्तु) उहाँहरू यहाँ आऊन् (ते इह श्रुवन्तु) यहाँ आएर उनीहरूले हाम्रा कुरा सुनून् (ते अधि ब्रुवन्तु) उनीहरूले हामीलाई उपदेश गरून् र (ते अस्मान् अवन्तु) उनीहरूले हाम्रो रक्षा गरून् ।
भावार्थ— पितर (पितृ) शब्द ‘पा रक्षणे’ धातुबाट सिद्ध हुन्छ । जो पालन र रक्षण गर्नमा समर्थ हुन्छ त्यसलाई पितर (पितृ) भन्दछन् । प्रस्तुत मन्त्रमा पितृहरूको सम्बन्धमा निम्न कुराहरू बताइएको छ ।
पितृहरूलाई आसनमा बस्नको लागि र कोशहरूको उपभोगगर्नको लागि भनेर निमन्त्रित गरिन्छ । हामीद्वारा आमन्त्रित ती पितृहरू—
(क) हामीहरूका नजिक आऊन् ।
(ख) यहाँ आएर हाम्रा कुराहरू सुनून् ।
(ग) हामीहरूलाई अधिकारपूर्वक उपदेश गरून्
(घ) र हाम्रो रक्षा गरून् ।
आउनु, सुन्नु, उपदेश गर्नु र रक्षा गर्नु यी कुराहरू जीवितमा मात्रै घट्न सक्दछ मरेकाहरूमा होइन, अतः सिद्ध भयो कि पितृ जीवित हुन्छन् । चारै वेदहरूमा कहीं पनि कुनै पनि मन्त्रमा मृतक पितृको अथवा मरेकाको लागि श्राद्ध गर्नको लागि भनेर विधान छैन । मृतक-श्राद्ध अवैदिक, कपोलकल्पित र तर्करहित छ ।
जिउँदा मूर्तिमान् पितृहरूको श्रद्धाले सेवा, सुश्रूषा, पुरुषार्थ वा पदार्थहरूद्वारा तृप्ति गराउनुलाई श्राद्ध र तर्पण भनिन्छ । यही वेदादि शास्त्रोक्त विधि र वचन हो ।
दान र पात्रको लक्षण एवं समीक्षा (११.२५)
प्रश्न— तिम्रो भनाइले त गोदानादि दान कसैलाई नदिने, र न केही दानपुण्य नै गर्ने, यस्तो सिद्ध हुन्छ ।
उत्तर— यस्तो तिमीले भन्नु सर्वथा व्यर्थ छ । किनभने सुपात्रहरूलाई, परोपकारीहरूलाई परोपकारार्थ सुन, चाँदी, हीरा, मोती, माणिक, अन्न, जल, वस्त्र, गाई आदि दान गर्न अवश्य उचित हुन्छ किन्तु कुपात्रहरूलाई कहिल्यै दिन हुँदैन ।
प्रश्न— ‘कुपात्र’ र ‘सुपात्र’ को लक्षण के हो ?
उत्तर— जो छली, कपटी, स्वार्थी, विषयी, काम, क्रोध, लोभ, मोहले युक्त, परहानि गर्नेवाला, लम्पट, मिथ्यावादी, अविद्वान्, कुसङ्गी, अल्छी, जो कुनै दाता हुन्छ, उसकहाँ बारम्बार माग्ने, धर्ना दिने, नाइँ भन्दा पनि हठ गरेर माग्दै जाने, सन्तोष नगर्ने, नदिएर त्यसको निन्दा, श्राप, गालिगलौज गर्ने, धेरै पटक सेवा गर्ने र एक पटक नगर्दामा त उसको शत्रु बन्ने, बाहिरबाट साधुको वेश बनाएर मान्छेहरूलाई बहकाएर ठग्ने र आफूसँग पदार्थ हुँदा पनि मसँग केही छैन भन्ने, सबैको खुशामद गर्ने, रात-दिन भीक माग्नमा नै प्रवृत्त रहँने, निमन्त्रण दिंदामा असाध्यै भाङ्ग आदि मादक द्रव्य पिएर धेरै खाने, मस्त भएर बहुलाहा वा प्रमादी हुने, सत्य-मार्गको विरोध र झुटो-मार्गलाई आफ्नो प्रयोजनार्थ चलाउने, आफ्ना चेलाहरूलाई आफ्नै सेवाको उपदेश गर्ने, अन्य योग्य पुरुषहरूको सेवालाई होइन, विद्यादि प्रवृत्तिका विरोधी, जगत्को व्यवहार अर्थात् स्त्री, पुरुष, माता, पिता, सन्तान, राजा, प्रजा, इष्टमित्रहरूमा अप्रीति गर्नेखाले यी सबै असत्य हुन्, जगत् पनि मिथ्या हो, इत्यादि दुष्ट उपदेश गर्ने आदि ‘कुपात्रहरूको’ लक्षण हो ।
र जो ब्रह्मचारी, जितेन्द्रिय, वेदादिविद्यापठनपाठनशील, सत्यवादी, परोपकारप्रिय, पुरुषार्थी, उदार, विद्या-धर्मको निरन्तर उन्नति गर्नेवाला, धर्मात्मा, शान्त, निन्दा-स्तुतिमा हर्ष-शोकरहित, निर्भय, उत्साही, योगी, ज्ञानी, सृष्टिक्रम-वेदाज्ञा-ईश्वरको गुण-कर्म-स्वभावानुकूल चल्नेवाला, न्यायको रीतियुक्त, पक्षपातरहित, सत्योपदेश र सत्यशास्त्रहरूलाई पढ्ने-पढाउनेवालाहरूको परीक्षक, कसैको खुशामद नगर्नेवाला, प्रश्नहरूका ठीक-ठीक समाधानकर्ता, आफ्नो आत्माको तुल्य अन्यको पनि सुख-दुःख, हानी-लाभलाई बुझ्नेवाला, अविद्यादि क्लेश-हठ-दुराग्रहाऽभिमानरहित अमृतकै तुल्य अपमान र मानलाई विषकै तुल्य सम्झनेवाला, सन्तोषी, जो कोही प्रीतिले जति दिन्छ त्यतिमा नै प्रसन्न, एक फेर आपत्कालमा मागे पनि, नदिए वा वर्जना गरे पनि दुःख वा नराम्रो चेष्टा नगर्ने, त्यहाँबाट तुरुन्तै हट्ने, त्यसको निन्दा नगर्ने, सुखीको साथ मित्रता, दुःखीमाथि करुणा, पुण्यात्माहरूबाट आनन्द र पापीहरूबाट ‘उपेक्षा’ अर्थात् प्रीति-द्वेषरहित रहने, सत्यमानी, सत्यवादी, सत्यकारी, निष्कपट, ईर्ष्या-द्वेषरहित, गम्भीराशय, सत्पुरुष, धर्मदेखि युक्त र सर्वथा दुष्टाचारदेखि रहित, आफ्नो तन-मन-धनलाई परोपकारमा लगाउनेवाला, पराय सुखको लागि आफ्नो प्राणको पनि समर्पितकर्ता इत्यादि शुभलक्षणयुक्त ‘सुपात्र’ हुन्छन् । परन्तु दुर्भिक्षादि आपत्कालमा, अन्न, वस्त्र र औषधि, पथ्य, स्थानका अधिकारी सबै प्राणीमात्र हुन्छन् ।
प्रश्न— दाता कति प्रकारका हुन्छन् ?
उत्तर— तीन प्रकारका हुन्छन्– उत्तम, मध्यम र निकृष्ट । ‘उत्तम दाता’ त्यसलाई भन्दछन् जो देश, काल र पात्रलाई जानेर, सत्यविद्या धर्मको उन्नतिरूप परोपकार्थ दान दिन्छ । ‘मध्यम’ त्यो हो जसले कीर्ति र स्वार्थको लागि दान गर्दछ । ‘नीच’ त्यो हो कि जसले आफ्ना र परायलाई केही उपकार गर्न सक्दैन, किन्तु वेश्यागमनादि वा भांड-भाटहरू आदिलाई दिन्छ, दिंदाखेरि तिरस्कार अपमानादि पनि गर्दछ, पात्र-कुपात्रको केही पनि भेद जान्दैन, किन्तु ‘सबै अन्न बाह्र पसेरी’ बेच्नेवालाको तुल्य विवाद-लडार्इं, दोस्रा धर्मात्माहरूलाई दुःख दिएर सुखी हुनको लागि दिन्छ, त्यो ‘अधम’ दाता हो । अर्थात् जहाँ परीक्षापूर्वक विद्वान् धर्मात्माहरूको सत्कार गरिन्छ, त्यो ‘उत्तम’ दाता र केही परीक्षा गरोस् वा नगरोस् परन्तु जसमा आफ्नो प्रशंसा हुन्छ त्यसलाई गर्दछ, त्यो ‘मध्यम’ दाता र जसले अन्धाधुन्ध परीक्षारहित निष्फल दान दिने गर्दछ, त्यसलाई ‘नीच’ दाता भन्दछन् ।
प्रश्न— दानको फल यहाँ हुन्छ कि परलोकमा ?
उत्तर— सर्वत्र हुन्छ ।
प्रश्न— स्वयं हुन्छन् कि, कोही फल दिनेवाला छ ?
उत्तर— फल दिनेवाला ईश्वर छ । जसरी कोही चोर-डाँकू स्वयं बन्दीघरमा जाँन चाहँदैन । राजाले उसलाई अवश्य पठाउँछ । धर्मात्माहरूको सुखको सुरक्षा गर्दै, भोगाउँदै, डाँकू आदिदेखि बचाएर उनीहरूलाई सुखमा राख्दछ । त्यसरी नै परमात्माले सबैलाई पाप-पुण्यको दुःख र सुखरूप फलहरूलाई यथावत् भोगाउँदछ ।
एकादशी आदि व्रतहरूको समीक्षा (११.२६)
प्रश्न— जुन यी गरुडपुराणादि ग्रन्थहरू छन्, ‘वेदार्थ’ वा ‘वेद’ को पुष्टि गर्नेवाला हुन् कि होइनन् ?
उत्तर— होइनन्, किन्तु वेदका विरोधी र उल्टो चल्दछन् तथा तन्त्र पनि यस्तैखाले हुन् । जसरी कोही मनुष्य एउटाको मित्र, अरू सबै संसारको शत्रु हुन्छ, त्यस्तै नै पुराण र तन्त्रलाई मान्नेवाला पुरुषको गति हुन्छ, किनभने यी एक अर्कासँग परस्पर विरोध गर्नेवाला ग्रन्थहरू हुन् । यिनीहरूलाई मान्नु कुनै मनुष्यको काम होइन, किन्तु यिनलाई मान्नु त पशुता हो । राम्रोसँग हेर्नुहोस् त ! शिवपुराणमा त्रयोदशी, सोमवार; आदित्यपुराणमा रविवार; चन्द्रखण्डमा सोम ग्रहग्रस्त मङ्गलवार, बुधवार, बृहस्पतिवार; शुक्र, शनैश्चर, राहु, केतुको; वैष्णव एकादशी; वामनको द्वादशी; नृसिंह वा अनन्तको चतुर्दशी; चन्द्रमाको पौर्णमासी; दिक्पालहरूको दशमी; दुर्गाको नवमी; वसुहरूको अष्टमी, मुनिहरूको सप्तमी; कार्त्तिकस्वामीको षष्ठी; नागको पञ्चमी; गणेशको चतुर्थी; गौरीको तृतीया; अश्विनीकुमारहरूको द्वितीया; आद्यादेवीको प्रतिपदा र पितृहरूको अमावस्या; अट्ठाह्र पुराणहरूका रीतिले यी उपवास गर्नुपर्ने दिनहरू हुन् । फेरि पुराणहरूमा सर्वत्र यही लेखिएको छ कि जो मनुष्यले यी वार वा तिथिहरूमा अन्न-पान ग्रहण गरेमा त्यो नरकगामी हुनेछ । अब पोप र पोपजीका चेलाहरूलाई चाहियो कि कुनै पनि वार वा तिथिमा तिनीहरूले भोजन नगरून् किनभने जसले खान-पान गर्दछ त्यो त नरकगामी हुन जानेछ ।
अब ‘निर्णयसिन्धु’ ‘धर्मसिन्धु’ ‘व्रतार्क’ आदि ग्रन्थ जुन प्रमादिहरूले बनाएका छन्, उनैमा एक-एक व्रतको यस्तो दुर्दशा गरेका छन् कि जसरी एकादशीमा शैव दशमीविद्धा, कोही द्वादशीमा एकादशीको व्रत गर्दछन्, अर्थात् वैष्णवानां र स्मार्तानां गरेर अगिल्लो र पछिल्लो दिनलाई मान्ने कस्तो बडो विचित्रको पोपलीला छ कि भोको मर्नमा पनि वाद-विवाद नै गरेका छन् । जसले एकादशीको व्रत चलाएको हो, त्यसमा आफ्नो स्वार्थपन नै छ र दया केही पनि छैन । भन्दछन् कि—
एकादश्यामन्ने पापानि वसन्ति ॥
—पद्मपुराण ब्रह्मखण्ड (अध्याय १५/श्लोक ११) तथा एकादशी माहात्म्य ॥
जति पनि पाप छन्, ती सबै एकादशीको अन्नमा गएर बस्दछन् । यस पोपजीसँग सोध्नुपर्दछ कि कसको पाप गएर त्यसमा बस्दछन् ? तिम्रो वा तिम्रो पिता आदिको ? यदि सबैको सबै पाप एकादशीमा गएर बसेमा त एकादशीको दिन कसैलाई पनि दुःख नहुनुपर्ने हो । यस्तो त हुँदैन किन्तु उल्टो क्षुधा (भोक) आदिले दुःख पाउँछन् । दुःख पापको फल हो । त्यसैले भोकै मर्नु पाप हो । यसको बारेमा बडो ठूलो माहात्म्य बनाएका छन्, जसको कथा वाँचेर धेरैलाई ठग्ने गर्दछन् । त्यसमा एउटा गाथा छ कि—
ब्रह्मलोकमा एउटी वेश्या थिई । त्यसले केही अपराध गरी । त्यसलाई श्राप पर्यो— “तँ पृथ्वीमा झरेस् ।” त्यसले स्तुति गरी कि म पुनः स्वर्गमा कुन उपायले आउन सक्नेछु ? श्रापदाताले भन्यो “जब कुनै वेला एकादशीको व्रतको फल तँलाई कसैले देला तब नै तँ स्वर्गमा आउनेछेस् ।” त्यो विमानसहित कुनै नगरमा खस्दी भई । त्यहाँको राजाले सोध्यो कि “तँ को होस् ?” तब उसले सबै वृत्तान्त सुनाई र भनी कि “जो कसैले आफ्नो एकादशीको फल मलाई अर्पण गरिदिएमा त म फेरि स्वर्गमा जान सक्नेछु ।” राजाले नगरमा खोजी गर्न लगायो । कोही पनि एकादशीको व्रत गर्नेवाला पाइएन । किन्तु कुनै एक दिन कुनै शूद्र स्त्री-पुरुषमा झगडा भएको थियो । क्रोधले गर्दाखेरि स्त्रीचाहिं त्यस दिन र रात भोकी रहेकी थिई । संयोगले त्यो दिन एकादशी परेको थियो । त्यसले भनी कि “मैले एकादशी जानेर त व्रत गरेकी होइन तर अकस्मात् त्यसै दिन भोकी रहँन पुगेकी थिएँ ।” यस्तो कुरा त्यसले राजाका सिपाहीहरूलाई भनी । राजाका सिपाहीले त्यसलाई तुरुन्तै राजाको सामुन्ने लगे । राजाले त्यस शूद्रालाई भने कि “तैंले यस विमानलाई छोइदे ।” त्यसले विमानलाई छोइदिई । हेर ! उत्तिवेलै विमान माथि उड्यो । यो त बिना जाने गरेको एकादशी व्रतको फल भयो, जसले जानेर गर्दछ भने त त्यसको फलको पारावार के होला !!!
वाह रे आँखाका अन्धाहरू हो ! यदि यस्तो कुरो साँच्चै हो भने त हामीले एउटा पानको बिटो जुन कि स्वर्गमा हुँदैन, पठाउन चाहन्छौ । सबै एकादशीवालाले आफ्नो फल देओ । यदि एक पानको बिटो माथि गयो भने त पुनः लाखौं-करोडौं पान वहाँ पठाइदिनेछौं र हामीले पनि एकादशी व्रत गर्नेछौं र यदि यस्तो भएन भने त तिमीहरूलाई यस भोकोपेट मर्नेरूपी आपत्कालदेखि बचाउनेछौं ।
यी २४ चौबीस एकादशीहरूका नाम पृथक्-पृथक् राखेका छन् । कुनैको ‘धनदा’, कुनैको ‘कामदा’, कुनैको ‘पुत्रदा’ र कुनैको ‘निर्जला’ । थुप्रै दरिद्र, थुप्रै कामी र थुप्रै निर्वंशीहरूले एकादशीको व्रत गरेर बूढो भएर मरेर पनि गए, परन्तु तिनलाई धन, कामना र पुत्र प्राप्त भएन । फेरि ज्येष्ठ महिनाको शुक्लपक्षमा कि उष्णताले गर्दा एक मिनट पनि जल पाएन भने त मान्छे आकुल-व्याकुल हुन जान्छ, व्रत गर्नेहरूका लागि महादुःख प्राप्त हुन्छ । विशेष गरेर बङ्गालमा सबै विधवा स्त्रीहरूका लागि एकादशीको दिन बडो दुर्दशा हुने गर्दछ । यी निर्दयी कसाईहरूलाई लेख्ने समयमा कत्ति पनि मनमा दया आएन, नत्र भने त ‘निर्जला’ को नाम ‘सजला’ र पौषको महिनाको एकादशीको नाम ‘निर्जला’ राखिदिएको भए त केही राम्रो हुने थियो । परन्तु यस पोपलाई दयाको के काम ? ‘कोही बाँचोस् कि मरोस् पोपजीको पेट पूरा भरोस् ।’ जहाँसम्म कि गर्भवती वा सद्योविवाहित स्त्री, केटा वा युवा पुरुषहरूले कहिल्यै पनि उपवास गर्नुहुँदैन । परन्तु कसैले गर्नुछ भने त जुन दिन अजीर्ण हुन्छ, भोक लाग्दैन, त्यस दिन शर्वत वा दूध पिएर बस्दा राम्रो हुन्छ । जसले भोक लाग्दा खाँदैनन् र भोक नलाग्दा खाने गर्दछन्, यस्ताखाले दुवै रोगसागरमा गोता खाएर दुःख पाइरहन्छन् । यी प्रमादीहरूले लेखेको-भनेको कुरालाई कसैले पनि प्रमाण नगर्नू ।
अब गुरुशिष्यमन्त्रोपदेश र मतमतान्तरको चरित्रहरूको बारेमा भन्दछु ।
मूर्तिपूजक सम्प्रदायीहरूले प्रश्न गर्दछन् कि वेद अनन्त छ । ऋग्वेदको २१, यजुर्वेदको १०१, सामवेदको १००० र अथर्ववेदको ९ शाखाहरू छन् । यी मध्येका थोरैमात्र शाखा पाइएका छन्, शेष लोप भएर गएका छन् । उनैमा मूर्तिपूजा र तीर्थहरूको प्रमाण थियो होला । यदि हुन्थेन भने त पुराणहरूमा कहाँबाट आउँथ्यो ? जब कार्यलाई देखेर कारणको अनुमान हुने गर्दछ, तब पुराणहरूलाई देखेर मूर्तिपूजामा के शङ्का छ ?
उत्तर— जसरी शाखा जुन वृक्षको हुन्छ उसैको सदृश हुने गर्दछ, विरुद्ध होइन । चाहे शाखा सानो-ठूलो किन नहोस् परन्तु उनमा विरोध हुन सक्दैन । त्यसरी नै जति शाखा पाइएका छन्, जब यिनीहरूमा पाषाणादि-मूर्ति र जल-स्थल-विशेष तीर्थहरूको प्रमाण पाइँदैन भने त, ती लुप्त शाखाहरूमा पनि थिएन । फेरि जो चार वेद पूर्ण पाइएका छन्, तिदेखि विरुद्ध शाखा कहिल्यै पनि हुन सक्दैन र जो तिदेखि विरुद्ध छन्, त्यसलाई शाखा कुनैले पनि सिद्ध गर्न सक्दैन । जब यस्तो कुरा छ भने त ‘पुराण’ वेदहरूका शाखा होइनन् किन्तु सम्प्रदायी मान्छेहरूले परस्पर विरुद्धरूप ग्रन्थ बनाएर राखेका छन् ।
वेदहरूलाई तिमीले परमेश्वरकृत मान्दछौ कि मनुष्यकृत ?
परमेश्वरकृत ।
जब परमेश्वरकृत मान्दछौ भने त ‘आश्वालायनादि’ ऋषि-मुनिहरूको नामबाट प्रसिद्ध ग्रन्थहरूलाई वेद किन मान्दछौ ? जसरी हाँगा र पात देख्नाले पीपल, वर र आँप आदिको रूखको पहिचान हुन्छ, त्यसरी नै ऋषि-मुनिहरूले गरेका वेदाङ्ग, चारै ब्राह्मण, अङ्ग, उपाङ्ग र उपवेद आदिबाट वेदार्थलाई चिनिन्छ । यसैले यी ग्रन्थहरूलाई शाखा मानिएको छ । जो वेददेखि विरुद्ध छन्, त्यसको प्रमाण र अनुकूलको अप्रमाण हुन सक्दैन ।
यदि तिमीले अदृश्य शाखाहरूमा मूर्ति आदिको प्रमाणको कल्पना गर्दछौ भने त, जब कुनैले यस्तो पक्ष गर्नेछ कि लुप्त शाखाहरूमा वर्णाश्रम व्यवस्था उल्टो अर्थात् अन्त्यज र शूद्रको नाम ब्राह्मणादि र ब्राह्मणादिको नाम शूद्र अन्त्यजादि, अगमनीया-गमन, अकर्तव्य कर्तव्य, मिथ्याभाषणादि धर्म, सत्यभाषणादि अधर्म आदि लेखिएको भए त तिमीले उसलाई त्यही उत्तर दिनेछौ जुन हामीले दियौं, अर्थात् वेद र प्रसिद्ध शाखाहरूमा जसरी ब्राह्मणादिका नाम ब्राह्मणादि र शूद्रादिको नाम शूद्रादि लेखिएको छ, त्यस्तै नै अदृष्ट शाखाहरूमा पनि मान्नुपर्दछ, नत्र भने त वर्णाश्रम व्यवस्था आदि सबै अन्यथा हुनजानेछन् ।
जहाँसम्म कि जैमिनी, व्यास र पतञ्जलिको समय पर्यन्तसम्म त सबै शाखा विद्यमान थिए कि थिएनन् ? यदि थिए भने त तिमीले कहिल्यै निषेध गर्न सक्नेछैनौ र यदि भन्दछौ कि थिएन भने त फेरि शाखाहरू हुनाको के प्रमाण छ ? हेर ! जैमिनीले मीमांसामा सबै ‘कर्मकाण्ड’, पतञ्जलि मुनिले योगशास्त्रमा सबै ‘उपासनाकाण्ड’ र व्यासमुनिले शारीरक-सूत्रहरूमा सबै ‘ज्ञानकाण्ड’ वेदानुकूल लेखेका छन् । तिनीहरूमा पाषाणादि-मूर्तिपूजा वा प्रयागादि तीर्थहरूका नामसम्म पनि लेखेनन् । लेखून् पनि कहाँबाट ? कहीं वेदहरूमा हुन्थ्यो भने त बिना लेखे कहिल्यै छोड्ने थिएनन् । यसैले लुप्त शाखाहरूमा पनि यी मूर्तिपूजादिको प्रमाण थिएन ।
यी सबै शाखा वेद होइनन्, किनभने यिनमा ईश्वरकृत वेदहरूको प्रतीक राखेर व्याख्या र संसारी जनहरू आदिका इतिहास लेखिएका छन्, त्यसैले वेदमा यी कहिल्यै हुन सक्दैनन् । वेदहरूमा त केवल मनुष्यहरूलाई विद्याको उपदेश गरिएको छ । कुनै मनुष्यको नाममात्र पनि छैन । यसैले मूर्तिपूजाको सर्वथा खण्डन छ ।
हेर ! मूर्तिपूजाले गर्दा श्रीरामचन्द्र, श्रीकृष्ण, नारायण र शिवादिको बडो निन्दा र उपहास हुन्छ । सबैले जान्दछन् कि उनीहरू ठूला महाराजाधिराज र उनकी स्त्री सीता, तथा रुक्मिणी, लक्ष्मी र पार्वती आदि महारानी थिए, परन्तु जब उनका मूर्तिहरू मन्दिर आदिमा राखेर पुजारीहरूले उनको नामबाट भीक माग्दछन् अर्थात् उनीहरूलाई भिकारी बनाउँछन् कि “आओ महाराज ! राजाजी ! सेठ-साहूकारो ! दर्शन गर्नुहोस्, बस्नुहोस्, चरणामृत लिनुहोस्, केही भेटी चढाउनुहोस्, महाराज ! सीता-राम, कृष्ण-रुक्मिणी वा राधा-कृष्ण, तथा लक्ष्मी-नारायण र महादेव-पार्वतीलाई तीन दिनदेखि ‘बालभोग’ वा ‘राजभोग’ अर्थात् जलपान वा खानपान पनि मिलेको छैन । आज यिनीहरूसँग केही पनि छैन । सीता आदिलाई नथुनी आदि रानीजी वा सेठानीजीले ! बनाइदिनुहोस् । अन्न आदि पठाइदिनु भएमा त रामकृष्णादिलाई भोग लगाउने थियौं । वस्त्र सबै फाटिसके । मन्दिरको कुना सबै खसेको छ । माथिबाट चुहुन्छ र जे-जति थियो, सबै दुष्ट चोरले उठाएर लगे । रहेकोमा केही मुसाले काटिदिए । हेर्नुहोस् ! एक दिन त मुसाले यस्तो अनर्थ पनि गरे कि मूर्तिबाट आँखा पनि निकालिदिएर भागे । अब हामीले चाँदीको आँखा त बनाउन सकेनौं, त्यसैले कौडीको आँखा बनाएर लगाइदिएका छौं ।”
रामलीला र रासमण्डल पनि गराउँछौं, सीता-राम, राधा-कृष्ण नाचिराखेका छन्, राजा र महन्त आदि उनका सेवक आनन्दमा बसेका छन् ! मन्दिरमा सीता, रामादि उभिएका छन् र पुजारी वा महन्तजी आसन वा गद्दी शिरानी लगाएर बस्दछन् । महागर्मीमा पनि ताला लगाएर भित्र बन्ध गरिदिन्छौं र तपाईं सुन्दर वायुमा पलङ्ग बिछाएर सुत्नुहुन्छ । थुप्रै पुजारीहरूले आफ्नो नारायणलाई डब्बामा बन्ध गरेर माथिबाट कपडाले बेरेर घाँटीमा झुण्ड्याउँछन्, जसरी कि वानरीले आफ्नो बच्चालाई घाँटीमा झुण्ड्याउँछे, त्यसरी नै पुजारीहरूका घाँटीमा पनि झुण्डिन्छन् । जब कसैले मूर्तिलाई फुटालिदिन्छन् तब हाय-हाय गरेर छाती पिटेर बक्दछन् कि सीता-रामजी, राधा-कृष्णजी र शिव-पार्वतीलाई दुष्टहरूले फुटाले । अब अर्को मूर्ति मगाउन लगाएर जुन कि राम्रो शिल्पीले संगमरमरको बनाएको होस्, स्थापना गरेर पूज्नु पर्दछ । नारायणलाई बिना घ्यूको भोग लाग्दैन । धेरै नभए पनि थोरै त अवश्य पठाइदिनू । इत्यादि कुराहरू तिनीहरूमाथि पार्दछन् । फेरि रासमण्डल वा रामलीलाको अन्तमा सीता-राम वा राधा-कृष्णबाट भीक मगाउँछन् । जहाँ मेला-ठेला लागेको हुन्छ, वहाँ केटाहरूलाई मुकुट पैह्राएर कन्हैया बनाएर मार्गमा बसाउँदै भीक माग्न लगाउँछन् । इत्यादि कुराहरूमाथि तपाईंहरूले विचार गर्नुहोस् कि कति ठूलो शोकको कुरा छ ! के, भन्नुहोस् त, सीतारामादि यस्तै दरिद्र र भिक्षुक थिए ? यो उनीहरूको उपहास र निन्दा नभए के हो त ? यसले गर्दा हाम्रा माननीय पुरुषहरूको ठूलो निन्दा हुने गर्दछ ।
जुन समयमा यी महापुरुषहरू विद्यमान थिए, उस समय सीता, रुक्मिणी, लक्ष्मी, पार्वतीलाई सडकमा वा कुनै घरमा उभ्याएर पुजारीले भनेमा कि “आओ यिनको दर्शन गर र केही भेटीपूजा राख” तब सीतादिले यी मूर्खहरूको भनाइलाई अवश्यै मान्ने थिएनन् र यस्तो गर्न कहिल्यै पनि दिने थिएनन् । जो कसैले यस्तो उपहास उनको गर्थ्यो भने त, बिना दण्ड दिए त्यसलाई कहिल्यै छोड्थे र ? हो, जब उनीहरूबाट दण्ड पाएनन् तब यिनका कर्महरूले पुजारीहरूलाई थुप्रै मूर्तिविरोधीहरूबाट प्रसादी मिलाइदिए र अहिलै पनि मिल्दैछ र जबसम्म यस कर्मलाई छोड्दैनौ तबसम्म मिल्नेछ पनि । यसमा के सन्देह छ कि जो आर्यावर्त्तको प्रतिदिन महाहानि, पाषाणादि-मूर्तिपूजकहरूको पराजय यिनै कर्महरूबाट हुने गर्दछ, किनभने पापको फल दुःख हो । यिनै पाषाणादि-मूर्तिहरूको विश्वासले थुप्रै हानि भएर गयो । यदि छोड्दैनौ भने त प्रतिदिन अधिक-अधिक हुँदैजानेछ ।
मारण, मोहन, उच्चाटनको साथै वाममार्गको समीक्षा (११.२७)
यिनीहरू मध्येमा वाममार्गी बडो भारी अपराधी छन् । जब तिनीहरूले चेला बनाउँछन् तब साधारणलाई—
दं दुर्गायै नमः । भं भैरवायै नमः । ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे ॥
इत्यादि मन्त्रहरूको उपदेश गरिदिन्छन् र बङ्गालमा विशेष गरेर एकाक्षरी मन्त्रोपदेश गर्दछन्,
जस्तै कि– ह्रीं, श्रीं, क्लीं ॥ —(श्रीकण्ठशिवपण्डितरचित शावरतन्त्र बं.प्रकी.प्र.४४) ॥
इत्यादि । र धनाढ्यहरूलाई पूर्णाभिषेक गर्दछन् ।
यसरी नै दश महाविद्याहरूको मन्त्र— ह्रां ह्रीं ह्रूं वगलामुख्यै फट् स्वाहा ॥
—(शावरतन्त्र ४१) ॥
कहीं-कहीं— हूं फट् स्वाहा ॥ —(कामरत्न तन्त्र, बीजमन्त्र ४) ॥
र मारण, मोहन, उच्चाटन, विद्वेषण, वशीकरण, आदि प्रयोग गर्दछन् । सो मन्त्रबाट त केही पनि हुँदैन, किन्तु क्रियाबाट सबै कुरा गर्दछन् । जब कसैलाई मार्नको लागि प्रयोग गर्दछन्, तब यता गराउनेवालासँग धन लिएर पीठो वा माटाको पुत्ला जसलाई मार्न चाहन्छन्, उसको बनाउँछन् । त्यसको छाती, नाभि, कण्ठमा छुरा प्रवेश गराइदिन्छन् । आँखा, हात, खुट्टामा काँटी ठोकिदिन्छन् । त्यसको माथि भैरव वा दुर्गाको मूर्ति बनाएर, हातमा त्रिशूल राखेर, त्यसको छातीमा लगाउँछन् । एउटा वेदी बनाएर मासु आदिको होम गर्न लाग्दछन् र उता दूत आदि पठाएर त्यसलाई विष आदिले मार्ने उपाय गर्दछन् । यदि आफ्नो पुरश्चरणको बीचमा त्यसलाई मार्न सके भने त आफूलाई भैरव देवीको सिद्धिवाला बताउँछन् । ‘भैरवो भूतनाथश्च’ इत्यादिको पाठ गर्दछन् ।
मारय-मारय, उच्चाटय-उच्चाटय, विद्वेषय-विद्वेषय, छिन्धि-छिन्धि, भिन्धि-भिन्धि, वशीकुरु-वशीकुरु, खादय-खादय, भक्षय-भक्षय, त्रोटय-त्रोटय, नाशय-नाशय, मम शत्रून् वशीकुरु, मम शत्रून् वशीकुरु, हुं फट् स्वाहा ॥ —(कामरत्नतन्त्र, उच्चाटन प्रकरण, मन्त्र ५-७) ॥
इत्यादि मन्त्र जप्दछन्, मद्य भाङ्ग खुब पिउँछन्, मांसादि खान्छन्, भृकुटीको बीचमा सिन्दूरको रेखा कोर्दछन्, कहिलेकाहिं काली आदिको लागि कुनै मान्छेलाई समातेर मारेर होम गरेर त्यसको मासु पनि खान्छन् । यदि कोही भैरवीचक्रमा जान्छ र मद्य-मांस पिउँदैन-खाँदैन भने त त्यसैलाई मारेर होम गरिदिन्छन् । ती मध्येमा जुन ‘अघोरी’ हुन्छ, त्यसले मृतमनुष्यको मासु पनि खान्छ, अजरी-बजरी गर्नेवालाले विष्ठामूत्र पनि खान्छ-पिउँछ ।
एक ‘चोलीमार्ग’ र ‘बीजमार्गी’ पनि हुन्छन् । ‘चोलीमार्गवाले’ एक गुप्त स्थान वा भूमिमा एक स्थान बनाउँछन् । वहाँ सबैकी स्त्रीहरू, पुरुष, केटा, केटी, दिदी, बहिनी, आमा, बुहारी आदि सबै जम्मा भएर सबै जना मिलेर मासु खान्छन्, मदिरा पिउँछन्, एउटी स्त्रीलाई नाङ्गी बनाएर त्यसको गुप्ताङ्गको पूजा सबै पुरुषहरूले मिलेर गर्दछन्, त्यसको नाम दुर्गादेवी राख्दछन् । एउटा पुरुषलाई नाङ्गो बनाएर त्यसको उपस्थ इन्द्रिय (गुप्ताङ्ग) को पूजा सबै स्त्रीहरूले मिलेर गर्दछन् । जब मद्य पिउनसम्म पिएर उन्मत्त हुन्छन्, तब सबै स्त्रीहरूका छातीको वस्त्र जसलाई ‘चोली’ भन्दछन्, एउटा ठूलो माटाको घ्याम्पामा सबै वस्त्र मिलाएर राखेर एक-एक पुरुषले त्यसमा हात हालेर झिक्ने गर्दछन्, जसको हातमा जसको वस्त्र आउँछ— त्यो आमा, दिदी, बहिनी, छोरी र बुहारीको नै किन नहोस्, त्यस समयको लागि त्यो उसकी स्त्री बन्न जान्छे । आपसमा कुकर्म गर्ने र नशा अत्याधिक भएपछि जुत्ता आदिले हानाहान गर्दछन् । जब बिहान मिर्मिरे उज्यालो हुन्छ आफ्ना-आफ्ना घर लाग्दछन् तब आमा आमा, छोरी छोरी, दिदी दिदी, बहिनी बहिनी र बुहारी बुहारी नै हुन जान्छे । र ‘बीजमार्गी’ ले स्त्री-पुरुषको समागम गरेर जलमा वीर्यलाई मिलाएर पिउँछन् । यी पामर यस्ता कर्महरूलाई मुक्तिको साधन मान्दछन् । विद्या, विचार, सज्जनतादिदेखि रहित हुन्छन् ।
शैवमतको समीक्षा (११.२८)
प्रश्न— शैव त राम्रा हुन्छन् ?
उत्तर— राम्रा कहाँबाट हुनु ? ‘जस्तो प्रेतनाथ उस्तै भूतनाथ’ । जसरी वाममार्गीले मन्त्रोपदेशादि गरेर उनका धन हरण गर्दछन्, त्यस्तै शैव पनि ‘ओं नमः शिवाय’ इत्यादि पञ्चाक्षरादि मन्त्रहरूको उपदेश गर्दछन्, रुद्राक्ष भस्म धारण गर्दछन्, माटाको र पाषाणादिको लिङ्ग बनाएर पूज्दछन्, ‘हर-हर’, ‘बं-बं’ र बोकाको जस्तो ‘बड-बड-बड’ शब्द मुखबाट निकाल्दछन् । त्यसको कारण यो भन्दछन् कि ताली बजाउने र बं-बं शब्द बोल्नाले पार्वती प्रसन्न हुन्छिन् र महादेव अप्रसन्न हुन्छन् । किनभने जब भस्मासुरको अगाडिबाट महादेव भागेका थिए तब बं-बं र ठट्टाको तालीहरू बजेको थियो, फेरि गाला बजाउनाले पार्वती अप्रसन्न र महादेव प्रसन्न हुन्छन्, किनभने पार्वतीका पिता दक्षप्रजापतिको टाउको काटेर आगोमा हालेर त्यसको शरीरमा बोकाको टाउको जोडिदिएका थिए । त्यसैको नक्कल बोकाको शब्दकै तुल्य गाला बजाउन मान्दछन् । शिवरात्रि प्रदोषको व्रत गर्दछन्, इत्यादिबाट मुक्ति मान्दछन् । त्यसैले जसरी वाममार्गी भ्रान्त छन्, त्यसै गरी शैव पनि भ्रान्त छन् । यिनीहरूमा विशेष गरेर कनफट्टा, नाथ, गिरी, पुरी, भारती, वन, आरण्य, पर्वत र सागर तथा गृहस्थ पनि शैव हुन्छन् । कोही-कोही ‘दुइटै घोडामाथि चढ्दछन्’ अर्थात् वाम र शैव दुइटै मतलाई मान्दछन् र कति त वैष्णवी पनि रहन्छन् । उनका–
शाक्त-वैष्णवमतको समीक्षा (११.२९)
अन्तः शाक्ता बहिश्शैवाः सभामध्ये च वैष्णवाः । नानारूपधराः कौला विचरन्तीह महीतले ॥
—यो तन्त्रको श्लोक हो (कौलोपनिषत् तथा कुलार्णवतन्त्र एकादश उल्लास) ॥
भित्र ‘शाक्त’ अर्थात् वाममार्गी, बाहिर ‘शैव’ अर्थात् रुद्राक्ष भस्म धारण गर्दछन्, सभामा ‘वैष्णव’ भन्दछन् कि हामी विष्णुका उपासक हौं । यस्ता नाना प्रकारका रूप धारण गरेर वाममार्गीहरू पृथ्वीमा विचरण गरिरहेका छन् ।
प्रश्न— वैष्णवीहरू त राम्रा छन् ?
उत्तर— खाक् राम्रा हुने । जस्ता तिनीहरू, त्यस्तै यिनीहरू पनि छन् । हेर वैष्णवहरूका लीला ! आफूलाई विष्णुका दास मान्दछन् । ती मध्येमा श्री वैष्णव जो कि चक्राङ्कित हुन्छन्, तिनीहरूले आफूलाई सर्वोपरि ठान्दछन्, त्यस्ता केही पनि होइनन् ।
प्रश्न— किन केही पनि होइनौं ? सबैथोक हौं । हेर ! ललाटमा (निधारमा) नारायणको चरणारविन्दको सदृश तिलक र बीचमा पहेंलो रेखा ‘श्री’ हुन्छिन्, यसै कारण हामी ‘श्रीवैष्णव’ हौं भनेर चिन्दछन् । एक नारायणलाई छोडेर अरू कसैलाई मान्दैनौं । महादेवको लिङ्गको दर्शन पनि गर्दैनौं, किनभने हाम्रो ललाटमा श्री विराजमान छिन्, उनी लज्जित हुन्छिन् । आलमन्दारादि स्तोत्रहरूको पाठ गर्दछौं । नारायणको मन्त्र पूर्वक पूजा गर्दछौं, मासु खाँदैनौं, मदिरा पिउँदैनौं, फेरि राम्रा कसरी भएनौं ?
उत्तर— यस तिलकलाई ‘हरिपदाकृति’, यस पहेंलो रेखालाई ‘श्री’ मान्नु व्यर्थ छ, किनभने यो त तिम्रो हातको कारीगरी र ललाटको चित्र हो, जसरी हात्तीको ललाटमा चित्र-विचित्र गर्दछन् । तिम्रो ललाटमा विष्णुको पदको चिह्न कहाँबाट आयो ? के कोही वैकुण्ठमा गएर विष्णुको पैतालाको चिह्न ललाटमा छपाएर आयो ?
विवेकी— फेरि, श्री जड हो कि चेतन ?
वैष्णव— चेतन हो ।
विवेकी— त्यसो भए त यो रेखा जड हुनाले ‘श्री’ होइन । हामीले सोध्छौं कि श्री बनाइएको हो कि बिना बनाइएको ? यदि बिना बनाइएको हो भने त यो श्री होइन, किनभने यसलाई तिमीले नित्य आफ्नो हातले बनाउँछौ फेरि त श्री हुन सक्दैन । जब तिम्रा ललाटमा श्री हुन्छ भने त कयौं वैष्णवहरूका नराम्रा मुख अर्थात् अनुहार किन शोभारहित देखिन्छ ? हेर्दा ललाटमा श्री छ तर घर-घर भीक माग्दछौ र सदावर्त्त लिएर पेट भर्दै किन फिर्दछौ ? यो कुरो सिरडी र निर्लज्जहरूको हो, देख्दा यिनका निधारमा श्री हुन्छ तर महादरिद्रहरूको काम गर्दछन् ।
यी मध्येमा एक ‘परिकाल’ नामको वैष्णव भक्त थियो । त्यसले चोरी-डाँका मारेर, छल-कपट गरेर, पराय धन हरेर, ल्याएका सबै पदार्थ वैष्णवहरूलाई दिएर आफू प्रसन्न हुने गर्दथ्यो । एक बखत त्यसलाई चोरी गर्ने पदार्थ केही पनि मिलेन जसलाई लुटोस् । व्याकुल भएर फिर्दथ्यो । नारायणले सम्झे कि मेरो भक्तले त दुःख पाइरहेको छ । सेठजीको स्वरूप धारण गरेर, औंठी आदि आभूषण पहिरिएर, रथमा बसेर त्यसको सामुन्ने आए । तब त त्यो परिकाल रथको सामुन्ने गयो । सेठलाई भन्यो कि सबै वस्त्र शीघ्र उतार, नत्र भने मारिदिन्छु । नारायणले फुकाल्दा-फुकाल्दै पनि औंठी फुकाल्न बेर लाग्यो । यस्तो हुँदा त्यो परिकालले नारायणको औंलो नै काटेर औंठी लियो । नारायण अत्यन्त प्रसन्न भएर त्यसलाई आफ्नो चतुर्भुज शरीर बनाएर दर्शन दिए । भने कि “तँ मेरो बडो प्रिय भक्त होस्, किनभने सबै धन मारकाट-लुटपाट-चोरी गरेर वैष्णवहरूको सेवा गर्दछस् यसैले तँ धन्य भइस् ।” त्यसले गएर वैष्णवहरूलाई सबै गहना दियो ।
एक पटक त्यो परिकाललाई कुनै साहूले नोकर बनाएर पानीजहाजमा बसाउँदै देशान्तरमा लिएर गयो । वहाँबाट जहाजमा सुपारीका भरी-भरी बोरा लादियो । त्यो परिकालले एउटा सुपारीको दाना लिंदै फुटालेर आधा बनाएर साहूसित भन्यो “यो मेरो आधा गेडो सुपारी जहाजमा राखिदेऊ र कागजमा लेखेर देऊ कि जहाजमा भएको आधा सुपारी परिकालको हो ।” साहूले भन्यो कि “चाहन्छौ भने तिमीले हजारै सुपारी लेल ।” परिकालले भन्यो, “लिन्न । म त्यस्तो अधर्मी होइन, जसले झुट-मुटको लिने । मलाई त आधा मात्रै चाहिन्छ ।” साहू सोझो थियो, लेखेर दियो । जब आफ्नो देशको बन्दरगाहमा जहाज आइपुग्यो, सुपारीका बोरा उतार्नका लागि तयारी भयो, तब परिकालले भन्यो “मेरो आधा सुपारी मलाई देऊ ।” साहूले त्यही आधा गेडो सुपारी निकालेर दिन लाग्यो । तब परिकालले झगडा गर्न थाल्यो “मेरो त पुरै जहाजमा आधा सुपारी छ, आधा-आधा बाँड्नेछु ।” यस कुराको राजपुरुषहरूसम्म झगडा पुग्यो । परिकालले साहूले लेखेर दिएको कागज देखायो कि यसमा आधा सुपारी दिनु भनेर लेखिएको छ । साहूले थुप्रै कुरा भनिराख्यो परन्तु त्यसले मानेन । आखिरमा आधा सुपारी लिएर वैष्णवहरूलाई अर्पण गरिदियो । तब त वैष्णव बडो प्रसन्न भए । अझैसम्म पनि त्यस डाँकू चोर परिकालको मूर्ति मन्दिरहरूमा राख्दछन् । यो कथा भक्तमालमा लेखिएको छ । बुद्धिमान्हरूले विचार गर्नु कि वैष्णव, उनका सेवक र नारायण तीनवटै चोरमण्डली हुन् कि होइनन् ? यद्यपि मतमतान्तरहरूमा केही थोरै मात्रमा राम्रो पनि हुन्छ, तथापि उस मतमा रहेर सर्वथा राम्रो पनि हुन सक्दैन ।
अब जस्तो वैष्णवहरूमा फुट-टुट भिन्न-भिन्न तिलक कण्ठी धारण गर्दछन्— रामानन्दीवालाले बगलमा गोपीचन्दन बीचमा रातो, निमावतवालाले दुइटै पातलो रेखा बीचमा कालो बिन्दु, माधववालाले कालो रेखा, गौड बङ्गालीले कटारीको तुल्य, रामप्रसादवालाले दुइटै चन्द्राकार रेखाको बीचमा एक सेतो गोलो टीका बनाउँछन्, इत्यादि यिनीहरूका कथन विलक्षण-विलक्षण छन् । रामानन्दीले रातो रेखालाई लक्ष्मीको चिह्न र नारायणको हृदयमा श्री, कृष्णचन्द्रजीको हृदयमा राधा विराजमान छिन्, इत्यादि कथन गर्दछन् ।
एउटा कथा भक्तमालमा लेखिएको छ । एक पटक कोही एक मनुष्य वृक्षको तल छहारीमा सुतेको थियो । सुत्दा-सुत्दै मर्यो । माथि हाँगाबाट कागले विष्ठा गरिदियो । त्यो विष्ठा खसेर मृतकको ललाटमा तिलकाकार बन्न गएको थियो । त्यहाँ यमका दूत त्यसलाई लिनको लागि भनेर आए । यत्तिकैमा विष्णुका दूत पनि त्यहाँ आइपुगे । दुइटैले विवाद गर्दथे कि यो हाम्रो स्वामीको आज्ञा हो, हामीले यसलाई यमलोकमा लैजान्छौं । विष्णुका दूतहरूले भने कि “हाम्रो स्वामीको आज्ञा छ कि यसलाई वैकुण्ठमा लैजानको लागि । हेर ! यसको ललाटमा वैष्णवी तिलक छ । तिमीले कसरी लैजान सक्दछौ ?” तब त यमका दूतहरू चुप लागेर फर्किए । विष्णुका दूतले सुखसँग त्यसलाई वैकुण्ठमा लिएर गए । नारायणले त्यसलाई वैकुण्ठमा राखे । हेर ! जब अकस्मात् तिकल बन्न जाँदामा त यस्तो माहात्म्य छ भने त, जसले आफ्नै प्रीतिले हातले तिलक बनाएर लगाउँछन्, ती नरकबाट छुटेर वैकुण्ठमा जान्छन् भने त यसमा के आश्चर्य भयो !! हामीले सोध्छौं कि जाबो सानो तिलक गर्नाले त वैकुण्ठमा जान्छन् भने त पुरै मुखभरी लिप्नाले वा कालोमुख बनाउनाले वा शरीरभरी लिप्नाले वैकुण्ठ भन्दा पनि अगाडि सिधार्छन् कि सिधार्दैनन् ? त्यसैले यी कुराहरू सबै व्यर्थ हुन् ।
अब यिनीहरूमा पनि थुप्रै फुस्रेले मुढाको खलियो लगाएर धूनी ताप्दै, जीउभरी खरानी घस्दै, जट्टा बढाउँदै, सिद्धको वेश धारण गर्दछन् । बकुल्लाको समान ध्यानावस्थित हुन्छन् । गाँजा, भाङ्ग, धतूरो, चरेसको दम लगाउँछन्, राता-राता आँखा बनाएर राख्दछन्; सबैसँग चुट्की-चुट्की अन्न, पीठो, तरकारी, पैसा माग्दछन्, गृहस्थहरूका छोराहरूलाई बहकाएर आफ्ना चेला बनाउँछन् । धेरैजसो मजदूरी-निबेक गर्नेहरू तिनमा हुन्छन् । कसैले विद्या पढ्न खोज्यो भने त त्यसलाई भाँजो हालेर रोकिदिन्छन्, भन्दछन् कि—
पठितव्यं तदपि मर्त्तव्यं दन्तकटाकटेति किं कर्त्तव्यम् ?
सन्तहरूलाई विद्या पढ्नाले के काम ? किनभने विद्या पढ्नेहरू पनि मरेर जान्छन्, फेरि दन्त-बजान किन गर्ने ? साधुहरूले त चारै धाम घुम-फिरेर आउनु, सन्तहरूको सेवा गर्नु, रामजीको भजन गर्नु ।
जो कसैले मूर्ख अविद्याको मूर्तिको दर्शन गरेको छैन भने त यिनै फुस्रेहरूको दर्शन गरेर आए हुन्छ । तिनीहरूका नजिक जो कोही जान्छ, उनलाई बच्चा-बच्ची भन्दछन्, चाहे तिनीहरू फुस्रेका बाउ-आमाकै उमेर समानका किन नहुन् । जस्ता फुस्रेहरू छन्, त्यस्तै रूँखड-सूँखड, गोदडिये र जमातवाला सुतरेसाई, अकाली, कानफट्टा, कानचिरा, जोगी, औघड आदि सबै एकैखाले हुन् ।
एउटा फुस्रेको चेला ‘श्री गणेशाय नमः’ घोक्दा-घोक्दै पँधेरामा पानी भर्नको लागि गयो । त्यहाँ पण्डित बसिराखेको थियो । त्यसले ‘स्रीगनेसाजनमें’ भनेर घोक्दैथियो, पण्डितजीले भने “अरे साधु ! अशुद्ध किन घोक्दैछौ ‘श्री गणेशाय नमः’ यसरी शुद्ध घोक ।” त्यसले झट् लोहोटा भरेर गुरुजीसँग गएर भन्यो कि “ए बम्मन मेरो घोखाइलाई असुद्ध भन्दछ ।” झट् फुस्रे उठ्यो, पँधेरामा गयो, पण्डितसित भन्यो, “तिमीले मेरो चेलालाई बहकाउँछौ ? तिमी गुरुको लंडी के पढेका छौ ? हेर तिमीले एक प्रकारको पाठ जानेका छौ, हामीले तीन प्रकारका जानेका छौं– ‘स्रीगनेसाजन्नमें’ ‘स्रीगनेसायन्नमें’ ‘श्री गनेसाय नमें ।”
पण्डित— सुन साधुजी ! विद्याको कुरो अति कठिन हुन्छ, बिना पढे आउँदैन ।
फुस्रे— जाऊ-जाऊ, सबै विद्वान्लाई हामीले रगड मारिसक्यौं, जसलाई भाङ्गमा घोटेर एक सर्कोमा सबै उडाइदियौं । सन्तहरूको घर ठूलो छ । तिमी बच्चाले के जान्दछौ ?
पण्डित— हेर ! यदि तिमीले विद्या पढेका हुन्थ्यौ भने त यस्तो अपशब्द किन बोल्थ्यौ ? सबै प्रकारको तिमीलाई ज्ञान हुन जान्थ्यो ।
फुस्रे— जाऊ-जाऊ, तिमी हाम्रा गुरु बन्दछौ ? तिम्रा उपदेश हामीले सुन्दैनौं ।
पण्डित— सुन्दछौ कहाँबाट ? बुद्धि नै छैन । उपदेश सुन्न-सम्झनको लागि विद्या चाहिन्छ ।
फुस्रे— जसले सबै वेद-शास्त्रलाई पढ्यो तर सन्तलाई मानेन भने त जान्नु कि त्यसले केही पनि पढेन ।
पण्डित— हो, हामीले सन्तहरूको सेवा गर्दछौं परन्तु तिमीजस्ता हुर्दङ्गालाई होइन । किनभने ‘सन्त’ सज्जन, विद्वान्, धार्मिक, परोपकारी पुरुषहरूलाई भन्दछन् ।
फुस्रे— हेर ! हामी रात दिन नाङ्गै रहन्छौं, धूनी ताप्दछौं, गाँजा-चरेसको सयकडौं दम लगाउँछौं, तीन-तीन लोहोटा भाङ्ग पिउँछौं, गाँजा-भाङ्ग-धतूराको पातको तरकारी बनाएर खान्छौं, सङ्खी र अफिमलाई पनि चट निलिदिन्छौं, नशामा गर्क रात-दिन बेगम रहन्छौं, दुनियाँलाई केही सम्झन्नौं, भीक मागेर भुङ्ग्रे रोटी आगोमा पोलेर खान्छौं, रातभरी यस्तो खोकी उठ्छ, जो नजिकमा सुत्दछ त्यसलाई निद्रा कहिल्यै आउँदैन, इत्यादि सिद्धिहरू र साधूपन हामीमा छ, फेरि तिमीले हाम्रो निन्दा किन गर्दछौ ? चेत बच्चू ! जसले हामीलाई दिक्क पार्दछ, हामीले त्यसलाई भसम गरिदिनेछौं ।
पण्डित— यी सबै लक्षण असाधु, मूर्ख र गवर्गण्डहरूका हुन्, साधुहरूका होइनन् । सुन ! ‘साध्नोति पराणि धर्मकार्याणि स साधुः’ जसले धर्मयुक्त उत्तम काम गर्दछ, सदा परोपकारमा प्रवृत्त रहन्छ, कुनै दुर्गुण जसमा हुँदैन, विद्वान्, सत्योपदेशले सबैको उपकार गर्दछ, त्यसलाई ‘साधु’ भन्दछन् ।
फुस्रे— जाऊ-जाऊ ! तिमीले साधुको कर्म के जान्दछौ ? सन्तहरूको घर ठूलो छ । कुनै सन्तसँग पङ्गा नलेऊ । नत्र भने त हेर ! चिम्टा उठाएर मार्नेछ, टाउको फोरिदिनेछ ।
पण्डित— ए.. हो र.. फुस्रे ! जाऊ आफ्नो आसनमा, मसँग धेरै नरिसाऊ । थाहा छ नि राज्य कस्तो छ ? कसैलाई मार्यौ भने पक्राउमा पर्नेछौ, कारावास भोग्नुपर्नेछ, बेतको लट्ठीको कुटाई खानेछौ वा कसैले तिमीलाई नै मारिदेला, अनि के गर्नेछौ ? यो साधुको लक्षण होइन ।
फुस्रे— निक्ल-निक्ल ! कुन राक्षसको मुख देखियो ?
पण्डित— तिमीले कहिल्यै कुनै महात्माको सङ्ग गरेनौ, नत्र त यस्तो जड मूर्ख हुने थिएनौ ।
फुस्रे— हामी आफै महात्मा हौं । हामीलाई कुनै दोस्राको गर्ज छैन ।
पण्डित— जसको भाग्य फुटेको हुन्छ, तिनको तिम्रो जस्तै बुद्धि र अभिमान हुन्छ ।
फुस्रे गयो आफ्नो आसनमा, र पण्डित गए घर । जब सन्ध्याको आरती भयो । तब त्यस फुस्रेलाई बूढो सम्झेर थुप्रै अरू फुस्रेहरूले ‘डण्डोत-दण्डोत’ भन्दै साष्टाङ्ग गरेर बसे । त्यस फुस्रेले सोध्यो, “अरे रामदासिया ! तैंले के पढेको छस् ?”
रामदास— महाराज ! मैले ‘वेस्नुसहसर नाम’ पढेको छु ।
फुस्रे— “अरे गोविन्ददासिये ! तैंले के पढेको छस् ?”
गोविन्दास— मैले ‘रामसतवराज’ पढेको छु, अमुक फुस्रेसँगबाट । तब रामदासले भन्यो कि “महाराज ! तपाईंले के पढ्नुभएको छ ?”
फुस्रे— मैले गीता पढेको छु ।
रामदास— को सँगबाट ?
फुस्रे— जा छोक्रे ! मैले कसैलाई गुरु बनाउँदिन । हेर ! म ‘परागराज’ मा बस्थें । मलाई अख्खर आउँन्नथो । जब कुनै लामो धोतीवालालाई देख्थें तब गीताको गोटकेमादेखि सोध्थें कि यस कलङ्गीवाला अख्खरको नाम के हो ? यसरी नै सोध्दा-सोध्दै अट्ठाह्र अध्याय गीता रगड मारें । गुरु एउटालाई पनि बनाइन ।
हेर ! यस्ता विद्याका शत्रुहरूलाई अविद्याले घर बनाएर नबसे कहाँ जाने त ?
यिनीहरू बिना नशा, प्रमाद, लड्नु, खानु, सुत्नु, झाँझ पिट्नु, शङ्ख घण्ट बजाउनु, धूनी चिता जलाउनु, नुहाउनु, धुनु, सबै दिशाहरूमा व्यर्थै घुम-फिर गर्नु, सिवाय अन्य केही पनि राम्रो काम गर्दैनन् । बरु कसैले ढुङ्गालाई पगाल्न सक्ला तर यी फुस्रेहरूको आत्मालाई बोध गराउन कठिन छ । किनभने बहुधा तिनीहरू शूद्रवर्ण, निबेकी, किसान, भरिया आदि आफ्नो मजदूरी छोडेर खरानी घसेर रमाउँदै वैरागी, फुस्रा आदि बन्न जान्छन्, तिनीहरूले विद्या वा सत्सङ्ग आदिको महात्म्य बुझ्दैनन् । यी मध्येमा नाथहरूका मन्त्र ‘नमः शिवाय’ । फुस्राहरूको ‘नृसिंहाय नमः’ । रामावतहरूका ‘श्रीरामचन्द्राय नमः’ अथवा ‘सीतारामाभ्यां नमः’ । कृष्णोपासकहरूका ‘श्रीराधाकृष्णाभ्यां नमः’ ‘नमो भगवते वासुदेवाय’ र बङ्गालीहरूका ‘गोविन्दाय नमः’ । यी मन्त्रहरूलाई कानमा फुकिदिए मात्र पनि शिष्य बनाउँछन् र यस्ता-यस्ता शिक्षा दिन्छन् कि, बच्चा ! तुम्बाको मन्त्र पढ—
जल पवितर सथल पवितर और पवितर कुआ । शिव कहे सुन पार्वती तूम्बा पवितर हुआ ॥
—(रामस्नेहधर्मप्रकाश ३९० तूम्बामन्त्र, रामपटल पृष्ठ ३) ॥
कतै, यस्तो योग्यता साधु वा विद्वान् हुन अथवा जगत्को उपकार गर्नको लागि कहिल्यै हुन सक्दछ ? फुस्राले रात-दिन दाउरा, छानो र मुढा जोतेर पोलिराखेका हुन्छन् । एक महिनामा कयौं रुपैयाँको दाउरा फुकिराखेका हुन्छन् । जहाँ एक महिनाको दाउराको मूल्यबाट कम्बलादि वस्त्र लियो भने त शतांश धनबाट आनन्दमा रहन सक्दछन् । यिनीहरूमा यति बुद्धि कहाँबाट पलाउने ? र आफूलाई उसै धूनीमा तपाउनाले नै तपस्वी नाम रोखेका छन् । यदि यस प्रकारबाट तपस्वी होइन्छ भने त जङ्गली मनुष्य यी भन्दा पनि अधिक तपस्वी हुन्छन् । लट्टा पाल्ने, खरानी घस्ने, तिलक लगाउने गर्नाले तपस्वी हुन्छन् भने त सबैले गर्न सक्ने थिए । यिनीहरू बाहिरका त्यागस्वरूपी र भित्रका महासंग्रही हुन्छन् ।
कबीरपन्थको समीक्षा (११.३०)
प्रश्न— कबीरपन्थी त राम्रा हुन्छन् ?
उत्तर— हुँदैनन् ।
प्रश्न— किन राम्रा हुँदैनन् ? पाषाणादि मूर्तिपूजाको खण्डन गर्दछन् । कबीर साहब फूलबाट उत्पन्न भए र अन्तमा पनि फूल नै हुन गए । ब्रह्मा, विष्णु, महादेवको जन्म भएको थिएन, तब पनि कबीर साहब थिए । बडा सिद्ध, जुन कुरालाई वेद, पुराणले पनि जान्दैनन्, त्यस्ता कुरालाई कबीरले जान्दछन् । असाध्यै साँचो बाटो छ, सो कबीरले नै देखाएका हुन् । यिनको मन्त्र ‘सत्यनाम कबीर’ आदि हो ।
उत्तर— पाषाणादिलाई छोडेर पलङ्ग, गद्दी-शिरानी, खराऊ, ‘ज्योति’ अर्थात् दीप आदिलाई पूज्नु पाषाणमूर्ति पूज्नुदेखि न्यून होइनौ । के त्यो फूलको मुजुरा वा थुङ्गामा बस्ने किरो थियो ? जुन फूलबाट उत्पन्न भयो ? र अन्तमा पनि फूल बन्यो ?
यहाँ जुन यो कुरा सुनिन्छ कि, त्यही साँचो हुन सक्दछ कि कोही दर्जी काशीमा बस्दथ्यो । त्यसका छोरा थिएनन् । एक समय रातको केही अँधेरोमा बजार जाँदै थियो, अचानक देख्यो कि सडकको किनारामा फूलको टोकरीभित्र फूलको माझमा त्यसै राति जन्मिएको बालक थियो । त्यसलाई दर्जीले उठाएर लग्यो । लगेर आफ्नी श्रीमतीलाई दियो र पालन-तालन गर्यो । जब हुर्किएर ठूलो भयो त्यसले पनि दर्जीको काम गर्दथ्यो । कुनै पण्डितसँग संस्कृत पढ्न भनेर गयो । पण्डितले त्यसको अपमान गर्यो । भन्यो कि, “मैले दर्जीलाई पढाउँदिन ।” यसै प्रकार कयौं पण्डितहरूकहाँ पुग्यो, परन्तु कसैले त्यसलाई पढाएनन् । तब ऊटपटाङ्ग भाषा बनाएर दर्जी आदि तल्ला वर्गका मान्छेहरूलाई सम्झाउँन थाल्यो । खैंजडी लिएर गाउँथ्यो, भजन बनाउँथ्यो । विशेष गरेर— पण्डित, शास्त्र, वेदहरूको निन्दा गर्ने गर्दथ्यो । केही मूर्ख मान्छेहरू उसको जालमा फसे । जब त्यो मर्यो, त्यसका मान्छेले त्यसलाई सिद्ध बनाइदिए । जुन-जुन उसले जीउँदो हुँदा बनाएको थियो, त्यसलाई त्यसका चेलाले पढ्दै गए । कान थुन्दा जुन शब्द सुनिन्छ त्यसलाई ‘अनहत’ शब्द सिद्धान्त ठहर्याइदिए । मनको वृत्तिलाई ‘सुरति’ भन्दछन् । त्यसलाई त्यस शब्द सुन्नमा लगाउनु, त्यसैलाई सन्त र परमेश्वरको ध्यान भन्दछन् । वहाँ काल पुग्न सक्दैन । बल्छीको तुल्य तिलक र चन्दनादि काठको कण्ठी बाँध्छन् । यसलाई विचार गरेर हेर्नुहोस् कि यसमा आत्माको उन्नति र ज्ञान के बढ्नसक्ला ? यो मत केटाहरूको खेलजस्तो लीला छ ।
नानकपन्थको समीक्षा (११.३१)
प्रश्न— पंजाब देशमा ‘नानकजी’ ले एउटा मार्ग चलाए । किनभने उनले पनि मूर्तिको खण्डन गर्दथे । मुसलमान हुनबाट बचाए । उनी साधु पनि बनेनन् किन्तु गृहस्थ बनिराखे । हेर ! उनले यो मन्त्र उपदेश गरेका छन् कि, यसैबाट विदित हुन्छ कि उनको आशय राम्रो थियो—
ओं सत्यनाम कर्त्ता पुरुष निर्भो निर्वैर अकालमूर्त अजोनि सहभं गुरु प्रसाद जप,
आदि सच, जुगादि सच, है भी सच, नानक होसी भी सच ॥ —जपजी पौडी १ ॥
(ओ३म्) जसको सत्य नाम हो, वही कर्ता, पुरुष, भय र वैररहित ‘अकालमूर्ति’ जो कालमा र जुनिमा आउँदैन, प्रकाशमान छ, उसकै जप गुरुको कृपाबाट गर । त्यो परमात्मा आदिमा साँचो थियो, जुगहरूको आदिमा साँचो, वर्तमानमा साँचो र हुनेछ पनि साँचो ।
उत्तर— नानकजीको आशय त राम्रो थियो, परन्तु विद्या केही पनि थिएन । हो, भाषा त्यस देशको जुन कि गाउँको हो, त्यसलाई जान्दथे । वेदादि शास्त्र र संस्कृत कत्ति पनि जान्दैनथे । यदि जानेका हुन्थे भने त ‘निर्भय’ शब्दलाई ‘निर्भो’ किन लेख्दथे ? र यसको दृष्टान्त उनले बनाएको ‘संस्कृती स्तोत्र’ छ । चाहेका थिए कि मैले पनि संस्कृतमा ‘पाउ राखूँ’ परन्तु बिना पढे संस्कृत कसरी आउन सक्दछ ? हो, ती ग्रामीणहरूको सामुन्ने कि जसले संस्कृत कहिल्यै पनि सुनेका थिएनन् ‘संस्कृती’ बनाएर संस्कृतका पनि पण्डित बन्न गए होलान् । यस्ता कुरा आफ्नो मान, प्रतिष्ठा र आफ्नो प्रख्यातीको इच्छा बिना कहिल्यै गर्ने थिएनन् । उनलाई आफ्नो प्रतिष्ठाको इच्छा अवश्य थियो; नत्र भने त जस्तो भाषा जान्दथे, त्यस्तै भन्दै राख्थे र यो पनि भनिदिने थिए कि मैले संस्कृत पढेको छैन है । जब केही अभिमान थियो त मान-प्रतिष्ठाको लागि केही दंभ पनि गरे होलान् । त्यसैले उनको ग्रन्थमा जहाँ-तहाँ वेदहरूको निन्दा र स्तुति पनि छ, किनभने यदि यस्तो गर्दैनथे भने त उनीसित पनि कसैले वेदको अर्थ सोध्नेथियो; जब आउँदैनथ्यो तब प्रतिष्ठा नष्ट हुन्थ्यो । त्यसैले पहिला नै आफ्ना शिष्यहरूका सामुन्ने कहीं-कहीं वेदहरूको विरुद्ध बोल्दथे र कहीं-कहीं वेदहरूका लागि राम्रो पनि भनेका छन् । किनभने यदि कहीं राम्रो भन्दैनथे भने त मान्छेले उनलाई नास्तिक बनाउने थिए । जस्तै—
वेद पढत ब्रह्मा मरे चारों वेद कहानि । सन्त की महिमा वेद न जानी ॥
—(सुखमनी अष्टपदी ७, पद ८) ॥
ब्रह्मज्ञानी आप परमेश्वर ॥ —सुखमनी अष्टपदी ८, पद ६) ॥
के वेद पढ्नेहरू मरेर गए र नानकजी आदि आफूलाई अमर सम्झँन्थे ? के उनी मरेनन् ? वेद त सबै विद्याहरूको भण्डार हो । परन्तु जसले चारै वेदहरूलाई कहानी भन्दछ, त्यसका सबै कुरा कहानी हुन् । जो मूर्खहरूको नाम सन्त हुन्छ भने, ती बिचराले वेदहरूको महिमा कहिल्यै जान्न सक्दैनन् । यदि नानकजीले वेदहरूको नै मान गर्दथे भने त उनको सम्प्रदाय चल्ने थिएन, न त उनी गुरु नै बन्न सक्ने थिए । किनभने संस्कृत विद्या त पढेका नै थिएनन् भने दोस्रालाई पढाएर शिष्य कसरी बनाउन सक्दथे ?
यो साँचो हो कि जुन समयमा नानकजी पंजाबमा भएका थिए, त्यस समयमा पंजाब संस्कृत-विद्याबाट सर्वथा रहित र मुसलमानहरूबाट पीडित थियो । त्यस समयमा उनले केही मान्छेहरूलाई बचाए । नानकजीको सामुन्ने केही उनका सम्प्रदाय वा धेरै शिष्य भैसकेका थिएनन् । किनभने अविद्वान्हरूमा यो चाल हुन्छ कि मरेपछाडि उनलाई सिद्ध बनाउँछन्, पश्चात् थुप्रै माहात्म्य गरेर ईश्वरकै समान मान्न थाल्दछन् ।
हो ! नानकजी ठूला धनी-मानी पनि थिएनन्, परन्तु उनका चेलाहरूले ‘नानकचन्द्रोदय’ र ‘जन्मशाखी’ आदिमा बडो सिद्ध र ठूला ऐश्वर्यवाला थिए भनेर लेखेका छन् । नानकजी ब्रह्मा आदिसित मिलेर थुप्रै कुराहरू गरे, सबैले यिनलाई मान गरे, नानकजीको विवाहमा थुप्रै घोडा, रथ, हात्ती, सुन, चाँदी, मोती, पन्ना आदि रत्नहरूले सजेका र अमूल्य रत्नहरूको कुनै पारावार थिएन, लेखेका छन् । भला, यो गफौडा नभए के हो त ? यसमा यिनका चेलाहरूको दोष छ, नानकजीको होइन ।
दोस्रो— जो उनको शेषपछि उनका छोराबाट उदासी चले, र रामदास आदिबाट निर्मले । कयौं गद्दीवालाहरूले भाषा बनाएर ग्रन्थमा राखेका छन् । अर्थात् यिनका गुरु गोविन्दसिंहजी दशौं भए । यिनको पछि त्यस ग्रन्थमा कसैले भाषा मिलाएका छैनन्, किन्तु वहाँसम्म जति साना-साना पुस्तक थिए, ती सबैलाई एउटैमा जम्मा गरेर गाता चढाइदिए । यिनीहरूले पनि नानकजीको पछाडि थुप्रै भाषा बनाए । कतिले त नाना प्रकारको पुराणहरूकै मिथ्या कथाकै तुल्य बनाए । परन्तु ‘ब्रह्मज्ञानी तपाईं परमेश्वर’ बनेर त्यसमाथि कर्म उपासना छोडेर यिनका शिष्य झुक्दै आए, यसैले धेरै बिग्रन गयो । नत्र त, नानकजीले केही भक्ति– विशेष गरेर ईश्वरको लेखेका थिए, त्यसलाई अँगाल्दै आएको भए त राम्रो थियो ।
अहिले उदासी भन्दछन् “हामी ठूला”, निर्मले भन्दछन् “हामी ठूला”, अकाली तथा सूतरेसाई भन्दछन् कि “हामी सर्वोपरि हौं ।”
यिनीहरूमा गोविन्दसिंहजी शूरवीर थिए । जुन मुसलमानहरूले उनका पुर्खाहरूलाई धेरै दुःख दिएका थिए, तिनीहरूसित वैर लिन चाहन्थे, परन्तु यिनीसँग केही सामाग्री थिएन र उता मुसलमानहरूको बादशाही प्रज्वलित भैरहेको थियो । यिनले एउटा पुरश्चरण गराए । प्रसिद्धि गरे कि “मलाई देवीले वर र खड्ग दिएकी छन् कि तिमी मुसलमानहरूसँग लड, तिम्रो विजय हुनेछ ।” थुप्रै मान्छेहरू उनका साथी बने र उनले, जसरी वाममार्गीहरूले ‘पञ्च मकार’, चक्राङ्कितहरूले ‘पञ्च संकार’ चलाएका थिए, त्यसरी नै ‘पञ्च ककार’ अर्थात् यिनका पञ्च ककार युद्धका उपयोगी सामाग्री थिए ।
एक– ‘केश’ अर्थात् लामो काललाई राख्नाले लडाईंमा लट्ठी र तलवारबाट केही बचावट हुन सकोस् ।
दोस्रो– ‘कंगण’ जुन शिरमाथि पगडीमा अकालीहरूले राख्दछन् र हातमा ‘कडा’ जसबाट हात र टाउको बच्न सकोस् ।
तेस्रो– ‘काछ’ अर्थात् घुँडादेखि माथि कि जुन एक जाँघे दौडन र कुद्नमा राम्रो हुन्छ, धेरै जसो गरेर अखाडमल्ल (कुस्ती) र नट पनि यसलाई धारण गर्दछन् कि जसबाट शरीरको मर्मस्थल छोपियोस् र अड्काउ नहोस् ।
चौथो– ‘कंगा’ कि जसबाट केश सुध्रन्छ ।
पाँचौं– ‘काचू’ (कृपाण) कि जसबाट शत्रुसँग भेट-भडक्का हुँदामा लडाईंमा काम आओस् ।
यसैले यो रीति गोविन्दसिंहजीले आफ्नो बुद्धिमत्ताबाट त्यस समयको लागि लिएका थिए । अबको यस समयमा त्यसलाई राख्नु खाशै उपयोगी देखिंदैन । परन्तु पहिले जुन युद्धको प्रयोजनको लागि कुराहरू कर्तव्य थिए, तिनलाई आजभोलि धर्मको स्थानमा मानेका छन् ।
मूर्तिपूजा त गर्दैनन् परन्तु उस भन्दा विशेष ग्रन्थको पूजा गर्दछन्, के यो मूर्तिपूजा होइन ? कुनै जड पदार्थको सामुन्ने टाउको निहुराउनु वा त्यसको पूजा गर्नु सबै मूर्तिपूजा हो । जसरी मूर्तिवालाहरूले आफ्नो दोकान जमाएर जीविका ठाडो गरेका छन्, त्यसरी नै यिनीहरूले पनि गरेका छन् । जसरी पुजारीहरूले मूर्तिको दर्शन गराउँछन्, भेटी चढाउन लगाउँछन् । त्यसरी नै नानकपन्थीहरू ग्रन्थको पूजा गर्दछन्-गराउँदछन्, भेटी पनि चढाउन लगाउँछन् । अर्थात् मूर्तिपूजावालाले जति वेदको मान्यता गर्दछन्, त्यति यी ग्रन्थसाहबवालाले गर्दैनन् । हो, यो भन्न सकिन्छ कि यिनीहरूले वेदहरूलाई न त सुने न त देखे, के गरून् ? यदि सुन्न र देख्नमा आएमा त बुद्धिमानीहरू जो कि हठी-दुराग्रही छैनन् सबै सम्प्रदायवाले वेदमतमा आउँछन् । परन्तु यी सबैले भोजनको बखेडा धेरै हटाइदिएका छन् । जसरी यसलाई हटाए, त्यसरी नै विषयासक्ति र दुरभिमानलाई पनि हटाएर वेदमतको उन्नति गरे त, धेरै राम्रो कुरो हो ।
दादूराम, रामस्नेह पन्थको समीक्षा (११.३२)
प्रश्न— दादूपन्थीको मार्ग त राम्रो छ ?
उत्तर— राम्रो त वेदमार्ग हो, जसलाई समाउन सक्यौ भने त समाऊ, नत्र त सदा गोता खाइराख्ने छौ । यिनको मतमा दादूजीको जन्म गुजरातमा भएको थियो । पुनः जयपुर नजिकै ‘आमेर’ मा बस्दथे । तेलीको काम गर्दथे । ईश्वरको सृष्टिको विचित्र लीला छ कि दादूजी पनि पुजिन लागे । तब वेदादि शास्त्रहरूका सबै कुरालाई छोडेर ‘दादूराम-दादूराम’ मा नै मुक्ति मान्न थाले । जब सत्योपदेशक हुँदैन तब यस्ता-यस्ता नै बखेडा निस्कने गर्दछन् ।
थोरैमात्र दिन भएको छ कि एक ‘रामस्नेही’ मत शाहपुरबाट चलेको छ । ती सबैले वेदोक्त धर्मलाई छोडेर ‘राम-राम’ पुकारी राखेका छन् । उसैमा ज्ञान, ध्यान, मुक्ति मानेका छन् । परन्तु जब भोक लाग्दछ, ‘रामनाम’ बाट रोटी निस्कँदैन, किनभने खानपान आदि त गृहस्थहरूका घरमा नै मिल्दछ । तिनीहरूले पनि मूर्तिपूजालाई धिक्कार्दछन् परन्तु आफू स्वयं मूर्ति बन्दैछन् । स्त्रीहरूका सङ्गमा धेरै रहन्छन्, किनभने, रामजी-रामकीको बिना आनन्द नै मिल्न सक्दैन ।
अब थोरै विशेष रामस्नेही मतको विषयमा लेख्दछु—
एक ‘रामाचरण’ नामक साधु भएको छ, जसको मत मुख्य गरेर ‘शाहपुरा’ स्थान मेवाडबाट चलेको छ । तिनीहरू ‘राम-राम’ गर्नलाई नै परममन्त्र र यसैलाई सिद्धान्त मान्दछन् । यिनीहरूको एउटा ग्रन्थ कि जसमा सन्तदासजी आदिका वाणी छन्, यस्तो लेख्दछन्—
उनीहरूका वचन—
भरम रोग तब ही मिट्या, रट्या निरंजन राइ ।
तब जम का कागज फट्या, कट्या करम तब जाइ ॥ —(सुमरणको अङ्ग १७) ॥
अब बुद्धिमानीहरूले विचार गर्नुहोस् कि ‘राम-राम’ गर्नाले भ्रम जो कि अज्ञान हो, वा यमराजको पापानुकूल शासन अथवा गरिएको कर्म कहिल्यै छुट्न सक्दछ कि सक्दैन ? यो केवल मनुष्यलाई पापमा फसाउनु र मनुष्य जन्मलाई नष्ट गरिदिनु हो । अब यिनका जुन मुख्य गुरु थियो ‘रामचरण’, त्यसका वचनहरू—
महमा नांव प्रताप की, सुणौ सरवण चित लाइ । रामचरण रसना रटौ, क्रम सकल झड जाइ ॥१॥
जिन जिन सुमिर्या नांव कूं, सो सब उतर्या पार । रांमचरण जो बीसर्या, सो ही जम के द्वार ॥२॥
रांम विना सब झूठ बतायो ॥
रांम भजत छूट्या सब क्रम्मा । चंद अरु सूर देइ परकम्मा ।
रांम कहे तिन कूं भै नाहीं । तीन लोक में कीरतिं गाहीं ॥
रांम रटत जम जोर न लागै ॥
रांम नाम लिष पथर तराई । भगति हेति औतार ही धरही ॥
ऊंच नीच कुल भेद बिचारै । सो तो जनम आपणो हारै ॥
सन्तां कै कुल दीसै नाहीं । रांम रांम कह रांम सम्हांहीं ॥
ऐसो कुण जो कीरति गावै । हरि हरिजन कौ पार न पावै ॥
रांम संतां का अन्त न आवै । आप आपकी बुद्धि सम गावै ॥ —(नामप्रताप) ॥
अब यिनका खण्डन—
प्रथम त रामचरण आदिको ग्रन्थ हेर्नाले विदित हुन्छ कि यो ग्रामीण एक सीधा सादा मनुष्य थियो । न त्यसले केही पढेको थियो, नत्र भने त यस्तो गपडचौथ किन लेख्थ्यो ? यो केवल यिनीहरूको भ्रम हो कि राम-राम भन्नाले कर्म छुटेर जान्छ । केवल यिनीहरू आफ्नो र अर्काको जन्म नष्ट गर्दछन् ।
जमको भय त बडो भारी छ, परन्तु राजसिपाही, चोर, डाँकू, व्याघ्र, सर्प, बिच्छी र लामखुट्टे आदिको भय कहिल्यै छुट्दैन । चाहे रात दिन राम-राम गरे पनि, केही पनि हुने छैन । जसरी ‘चिनी-चिनी’ भन्दैमा मुख मीठो हुँदैन, त्यसरी नै सत्यभाषणादि धर्म गरे बिना राम-राम गर्नाले केही पनि हुँदैन, र यदि राम-राम गर्दा, यिनका रामले सुन्दैन भने त जन्म-भरी भने पनि सुन्ने छैन र यदि सुन्दछ भने त दोस्रो पटक पनि राम-राम भन्न व्यर्थ छ । यिनीहरूले आफ्नो पेट भर्न र अरूको जन्म पनि नष्ट गर्नको लागि एउटा पाखण्ड ठड्याएका छन् । अझै हामीले बडो आश्चर्य सुनेका छौं र देखेका छौं कि नाम त राखेका छन् ‘रामस्नेही’ र कामचाहिं गर्दछन् राँडीस्नेहीको, जहाँ हेर वहाँ राँडी नै राँडीले सन्तहरूलाई घेरिरहेका छन् । यदि यस्ता-यस्ता पाखण्ड चल्दैनथ्यो भने त आर्यावर्त्त देशको दुर्दशा किन हुन्थ्यो ? यिनीहरूले आफ्ना चेलाहरूलाई जूठो ख्वाउँछन्, स्त्रीहरू लम्पसार परेर दण्डवत् प्रणाम गर्दछन् । एकान्तमा पनि स्त्रीहरूका र साधुहरूका लीला चलिराखेको हुन्छ ।
अब यिनको दोस्रो शाखा ‘खेडापा’ ग्राम मारवाड देशबाट चलेको छ । त्यसको इतिहास— एउटा रामदास नामक जातिको अधम बडो चलाख थियो । त्यसका दुइटी श्रीमतीहरू थिए । त्यो प्रथम धेरै दिनसम्म अघौड बनेर कुकुरहरूको साथमा खाइरह्यो । पछि वामी कूण्डापन्थी । फेरि पछि ‘रामदेव’ को कामडिया बन्यो । आफ्नी दुइटै स्त्रीहरूको साथमा गाउँथ्यो । यसरी घुम्दा-घुम्दै ‘सीथल’ मा अधमको गुरु ‘रामदास’ थियो, उसलाई भेट्यो । उसले त्यसलाई ‘रामदेव’ को पन्थ बताएर आफ्नो चेला बनायो । त्यस रामदासले खेडापा ग्राममा आफ्नो ठाउँ बनायो र यसको मत यता चल्यो, उता शाहपुरामा रामचरणको मत चल्यो । त्यसको पनि इतिहास यस्तो सुनिएको छ कि त्यो जयपुरको बनियां थियो । त्यसले ‘दांतडा’ ग्राममा एक साधुको वेष लियो र उसलाई गुरु बनायो र शाहपुरमा आएर आफ्नो अड्डा जमायो । भोले मनुष्यहरूमा पाखण्डको जरो छिटो गाडिन्छ, गाडियो । यी सबैमा माथिको रामचरणको वचनको प्रमाणले चेला बनाएर उच-नीचको केही भेद छैन । ब्राह्मणमदेखि लिएर अन्त्यज पर्यन्त यसमा चेला बन्दछन् । अहिले पनि कूंडापन्थीबाटै छन्, किनभने माटाको आरीमा नै खान्छन् र साधुहरूको जूठो पनि खान्छन्, वेद धर्मबाट, माता, पितालाई संसारको व्यवहारबाट बहकाएर छुटाउँदै चेला बनाउँछन् र राम नामको महामन्त्र मान्दछन्; र यसैलाई ‘छुच्छम’ वेद पनि भन्दछन् । राम-राम भन्नाले अनन्त जन्महरूको पाप छुटेर जान्छन्, यसको बिना मुक्ति कसैको हुँदैन ।
जसले श्वास र प्रश्वासको साथमा राम-राम भन्न सिकाउँछ, त्यसलाई सत्यगुरु भन्दछन् र सत्यगुरुलाई परमेश्वर भन्दा पनि ठूलो मान्दछन् र त्यसको मूर्तिको ध्यान गर्दछन् । साधुका चरण धोएर पिउँछन् । जब गुरुदेखि चेला टाढा हुन्छ तब गुरुको नङ र दारीका रउँ आफूसँग राख्दछन् । त्यसको चरणामृत नित्य लिन्छन्, रामदास र हररामदासको वाणीको पुस्तकलाई वेद भन्दा पनि अधिक मान्दछन् । त्यसको परिक्रमा र आठ दण्डवत् प्रणाम गर्दछन् र यदि गुरु समीपमा छ भने त गुरुलाई दण्डवत् प्रणाम गर्दछन् । स्त्री वा पुरुषलाई ‘राम-राम’ एकैसरी उपदेश गर्दछन्, नामस्मरणबाट कल्याण मान्दछन्, र पढ्नमा पाप सम्झँन्छन् । उनीहरूको साखी—
पंडताइ पाने पडी, ओ पूरब लो पाप । राम-राम सुमर्यां विनां, रइग्यौ रीतो आप ॥१॥
वेद पुराण पढे पढ गीता, रांमभजन बिन रइ गए रीता ॥२॥
यस्ता-यस्ता पुस्तक बनाएका छन् । स्त्रीलाई पतिको सेवामा पाप र गुरु-साधुको सेवामा धर्म बताउँछन् । वर्णाश्रमलाई मान्दैनन् । जो ब्राह्मण रामस्नेही छैन भने त नीच, र चाण्डाल रामस्नेही भएमा त त्यसलाई उत्तम मान्दछन् ।
अहिले ईश्वरको अवतार मान्दैनन् र रामचरणको वचन जुन माथि लेखेर आइयो कि—
भगति हेति औतार ही धरही ॥
सन्तहरूको हित अवतारलाई पनि मान्दछन्, इत्यादि पाखण्ड-प्रपञ्च यिनको जति छ, सो सबै आर्यावर्त्त देशको अहितकारक हो । यतिबाटै बुद्धिमान्हरूले धेरै कुराहरू बुझ्नेछन् ।
Comments
Post a Comment