समुल्लास ११ भाग २
गोकुलिये गोस्वामीमतको समीक्षा (११.३३)
प्रश्न— गोकुलिये गोसांईहरूको मत त अति राम्रो छ । हेर ! कस्तो ऐश्वर्य भोग्दछन् । के यो ऐश्वर्य लीलाको बिना हुनसक्दछ ?
उत्तर— यो ऐश्वर्य गृहस्थहरूको हो, गोसांईहरूको केही पनि होइन ।
प्रश्न— वाह-वाह ! गोसांईहरूका प्रतापले भएको हो । किनभने यस्तो ऐश्वर्य अरूलाई किन मिल्दैन ?
उत्तर— अर्काले पनि यस्तै छल प्रपञ्च रचेमा त ऐश्वर्य मिल्नमा के सन्देह छ र ? यदि यिनीहरू भन्दा अधिक धूर्तता गरे त अधिक ऐश्वर्य हुन पनि सक्दछ ।
प्रश्न— वाह जी वाह ! यसमा के धूर्तता छ ? सबै गोलोकको लीला हो ।
उत्तर— गोलोकको लीला होइन किन्तु गोसांईहरूको लीला हो । यदि गोलोकको लीला हो भने त गोलोक पनि यस्तै होला ।
यो मत ‘तैलङ्ग’ देशबाट चलेको हो । किनभने एउटा तैलङ्गी लक्ष्मणभट्ट नामक ब्राह्मण विवाह गरेर कुनै कारणले माता, पिता र स्त्रीलाई छोडेर काशीमा गएर त्यसले संन्यास लिएको थियो र झुटो बोलेको थियो कि मेरो विवाह भएको छैन । दैवयोगले त्यसका माता, पिता र स्त्रीले सुने कि काशीमा गएर संन्यासी भएको छ अरे । त्यसका माता, पिता र स्त्री काशीमा पुगेर जसले उसलाई संन्यास दिएको थियो, त्यसलाई भने कि “हाम्रो पुत्रलाई किन संन्यासी बनाइस् ? हेर ! यसकी यो युवती स्त्री हो ।” स्त्रीले भनी कि “यदि मेरो पतिलाई मसँग पठाउँदैनौ भने मलाई पनि संन्यासिनी बनाइदेऊ ।” तब त त्यसलाई बोलाएर भने कि “तँ त बडो मिथ्यावादी रहेछस् । संन्यास छोडेर गृहाश्रम गर; किनभने तैंले झुटो बोलेर संन्यास लिएको छस् ।” त्यसले पुनः त्यस्तै गर्यो । संन्यास छोडेर जोईपोइ मिलेर हिंडे ।
हेर ! यस मतको मूल नै झुट-कपटबाट चलेको छ । जब तैलङ्ग देशमा गए, त्यसलाई आफ्नो जातिमा कसैले लिएनन् । वहाँबाट निक्लेर घुम्न थाले । ‘चरणार्गढ’ जुन कि काशीको नजिक पर्दछ, जाँदाजाँदै त्यसैको नजिक ‘चम्पारण्य’ नामक जङ्गलमा पुगे । त्यहाँ कुनै एउटा केटोलाई जङ्गलमा छोडेर चारैतिरबाट टाडा-टाढा आगो सल्काएर छोडिदिएको थियो । किनभने छोड्नेवालाले पनि यो सम्झेको थियो कि— आगो लगाइन भने त अहिल्यै कुनै जनावरले मार्नेछ । लक्षमणभट्ट र उसकी स्त्रीले त्यस केटालाई लिएर आफ्नो पुत्र बनाए । फेरि काशीमा गएर बसे । जब केटो ठूलो हुँदै गयो तब त्यसका आमा-बाउको शरीर छुट्यो । काशीमा बाल्यवस्थादेखि युवावस्थासम्म केही पढ्दै पनि गर्यो, फेरि एक विष्णुस्वामीको मन्दिरमा चेला बन्यो । त्यहाँ केही खटपट परेको हुनाले त्यो फेरि काशीमा गयो र संन्यास लियो । फेरि कुनै त्यस्तै नै जातिबहिष्कृत ब्राह्मण काशीमा बस्दथ्यो । त्यसकी छोरी युवती थिई । त्यसले केटालाई भन्यो “तैंले संन्यासलाई छोडेर मेरी छोरीसित विवाह गरेर घरजम बसा ।” त्यसै गर्यो । जसको बाउले जस्तो लीला गरेको थियो त्यस्तै पुत्रले पनि किन नगर्ने ? त्यस स्त्रीलाई लिएर वहीं गयो जहाँ प्रथम विष्णुस्वामीको मन्दिरमा चेला भएको थियो । विवाह गरेको हुनाले त्यहाँबाट त्यसलाई निकालिदिए । फेरि ब्रजदेशमा जहाँ कि अविद्याले घर बनाएर राखेको छ, गएर आफ्नो प्रपञ्च अनेक प्रकारको छल-युक्तिहरू फैलाउन थाल्यो र भन्न थाल्यो कि मसँग कृष्णले भनेका छन् कि “जो गोलोकदेखि ‘दैवीजीव’ मर्त्यलोकमा आएका छन्, तिनीहरूलाई ब्रह्मसम्बन्ध आदिले पवित्र गरेर गोलोकमा पठाउनू ।” इत्यादि प्रलोभनका कुरा बताएर थोरै मान्छेहरू अर्थात् ८४ चौरासी वैष्णव बनायो र
श्रीकृष्णः शरणं मम ॥१॥
यो मन्त्र दरिद्रहरूका लागि बनायो ।
दोस्रो— क्लीं कृष्णाय गोपीजनवल्लभाय स्वाहा ॥२॥
—हेर्नुहोस् (गोपालसहस्रनाम तथा पद्मपुराण ६/उत्तर खण्ड/अध्याय ७२/श्लोक १२२) ॥
यी दुई साधारण मन्त्र हुन्, परन्तु अगाडिको यो निम्नोक्तलाई ब्रह्मसम्बन्ध र समर्पणको मन्त्र भन्दछन्—
श्रीकृष्णः शरणं मम सहस्रपरिवत्सरमितकालजातकृष्णवियोगजनित तापक्लेशानन्त-
तिरोभावोऽहं भगवते कृष्णाय देहेन्द्रियप्राणान्तःकरणतद्धर्मांश्च दारगारपुत्राप्त-वित्तेहपराण्यात्मना सह समर्प्पयामि दासोऽहं कृष्ण तवास्मि ॥
यस मन्त्रको उपदेश गरेर शिष्यहरूलाई समर्पण गराउँछन् । ‘कलीं कृष्णायेति’— यो ‘क्लीं’ तन्त्र ग्रन्थकै हो । यसबाट विदित हुन्छ कि यो वल्लभ मत पनि वाममार्गीहरूकै भेद हो । त्यसैले स्त्रीसङ्ग गोसांईहरू बहुधा गर्दछन् । ‘गोपीवल्लभेति’— के कृष्ण गोपीहरूकै मात्र प्रिय थिए, अन्यका होइनन् ? स्त्रीहरूका प्रिय त्यो हुन्छ जो ‘स्त्रैण’ अर्थात् स्त्री भोगमा फसेको छ । के श्रीकृष्णजी यस्तै थिए ?
अब ‘सहस्रपरिवत्सरेति’— सहस्र वर्षहरूको गणना व्यर्थ छ, किनभने वल्लभ र उसका शिष्य कोही सर्वज्ञ होइनन् । कृष्णको वियोग सहस्र वर्षदेखि भयो र आज अहिलेको वल्लभको मत त्यति वेला थिएन । अर्थात् न त वल्लभ जन्मेको थियो, उसको पूर्व आफ्ना दैवी जीवहरूको उद्धार गर्नको लागि किन आएन ?
‘ताप’ र ‘क्लेश’ यी दुइटै पर्यायवाची शब्द हुन् । यी मध्येमा एकको ग्रहण गर्न उचित थियो, दुइटाको होइन । ‘अनन्त’ शब्दको पाठ गर्न व्यर्थ छ, किनभने जहाँ अनन्त शब्द छ भने त ‘सहस्र’ को पाठ गर्न हुँदैन र यदि अनन्तकालदेखि हो भने ‘तिरोहित’ अर्थात् आच्छादित रहन्छ, उसको मुक्तिको लागि वल्लभको हुनु व्यर्थ छ, किनभने अनन्तको अन्त हुँदैन ।
भला ! देहेन्द्रिय, प्राणान्तःकरण र उसको धर्म, स्त्री, पुत्र, प्राप्तधनको अर्पण कृष्णलाई किन गर्ने ? किनभने कृष्ण पूर्णकाम हुनाले कसैको देहादिको इच्छा गर्न सक्दैनन् र देहादिलाई अर्पण गर्नु पनि हुन सक्दैन, किनभने देहादिको अर्पणले नखशिखाग्रपर्यन्त देह भनिन्छ । त्यसमा जे-जति राम्रो-नराम्रो वस्तु छ, मल मूत्रादिलाई पनि कसरी अर्पण गर्न सक्दछौ ? र जुन पाप-पुण्यरूप कर्म हुन्छन्, तिनलाई कृष्णार्पण गर्नाले त्यसका फलभागी पनि कृष्ण नै हुनेछन् अर्थात् नाम त कृष्णको लिन्छन् र अर्पण आफूबाट गराउँछन् । जे-जति देहमा मलमूत्रादि हुन्छ त्यो पनि गोसांईजीलाई किन अर्पण हुँदैन ? ‘के मीठो-मीठो गडप्प र तीतो-तीतो थू’ ? र यो पनि लेखेको छ कि गोसांईजीलाई अर्पण गर्नु अन्य मतवालालाई होइन । यो सबै स्वार्थ-सिन्धुपन र पराय धनादि हर्ने र वेदोक्त धर्म-नाश गर्नको लागि लीला रचेका छन् । हेर्नुहोस् ! यो वल्लभको लीला—
श्रावणस्यामले पक्षे, एकादश्यां महानिशी । साक्षाद्भगवता प्रोक्तं तदक्षरश उच्यते ॥१॥
ब्रह्मसम्बन्धकरणात् सर्वेषां देहजीवयोः । सर्वदोषनिवृत्तिर्हि दोषाः पञ्चविधाः स्मृताः ॥२॥
सहजा देशकालोत्था लोकवेदनिरूपिताः । संयोगजाः स्पर्शजाश्च न मन्तव्याः कदाचन ॥३॥
अन्यथा सर्वदोषाणां न निवृत्तिः कथञ्चन । असमर्पितवस्तूनां तस्माद्वर्ज्जनमाचरेत् ॥४॥
निवेदिभिः समर्प्यैव सर्वं कुर्यादिति स्थितिः । न मतं देवदेवस्य स्वामिभुक्तिसमर्प्पणम् ॥५॥
तस्मादादौ सर्वकार्ये सर्ववस्तुसमर्प्पणम् । दत्तापहारवचनं तथा च सकलं हरेः ॥६॥
न ग्राह्यमिति वाक्यं हि भिन्नमार्गपरं मतम् । सेवकानां यथा लोके व्यवहारः प्रसिध्यति ॥७॥
तथा कार्य्यं समर्प्यैव सर्वेषां ब्रह्मता ततः । गङ्गात्वे गुणदोषाणां गुणदोषादिवर्णनम् ॥८॥
यी श्लोकहरू गोसांईहरूका ‘सिद्धान्तरहस्यादि’ ग्रन्थहरूमा लेखिएका छन् । यही नै गोसांईका मतको मूल तत्त्व हो । भला, यिनीहरूसँग कसैले सोधून् कि श्रीकृष्णको देहान्त भएको केही कम पाँच हजार वर्ष बित्यो । श्रीकृष्ण वल्लभलाई श्रावण मासको आधी रातमा कसरी मिल्न सके ? ॥१॥ जो गोसांईको चेला हुन्छ र गुरुलाई सबै पदार्थको समर्पण गर्दछ, त्यसको शरीर र जीवको सबै दोषहरूको निवृत्ति हुन जान्छ । यही वल्लभको प्रपञ्च नै मूर्खहरूलाई बहकाएर आफ्नो मतमा लैजाने हो । यदि गोसांईका चेला-चेलीहरूका सबै दोष निवृत्त हुन जान्छ भने त रोग-दारिद्र्यादि दुःखहरूबाट किन पीडित रहन्छन् ? र ती दोष पाँच प्रकारका हुन्छन् ॥२॥ एक— सहज दोष अर्थात् जुन ‘स्वाभाविक’ काम-क्रोधादिबाट उत्पन्न हुन्छन् । दोस्रो— कुनै देश, कालमा नाना प्रकारको पाप गरिएको हुन्छ । तेस्रो— लोकमा जसलाई भक्ष्याभक्ष्य भन्दछन् र वेदोक्त जुन कि मिथ्याभाषणादि हुन् । चौथो— ‘संयोगज’ जुन कि नराम्रो सङ्गतबाट अर्थात् चोरी, जारी, माता, भगिनी, कन्या, पुत्रवधू, गुरुपत्नी आदिसँग संयोग गर्नबाट भएको । पाँचौं— ‘स्पर्शज’ अस्पर्शनीयहरूको स्पर्श गर्नबाट भएको । यी पाँच दोषहरूलाई गोसांईहरूका मतवालाले कहिल्यै नमान्ने अर्थात् यथेष्टाचार गर्ने ॥३॥ ‘अरू कुनै प्रकारले दोषहरूको निवृत्ति हुँदैन, बिना गोसांईजीका मतको । यसैले बिना समर्पण गरेको पदार्थहरूलाई गोसांईका चेलाहरूले भोग्दैनन् ।’ त्यसैले यिनका चेलाले आफ्नी स्त्री, कन्या, पुत्रवधू र धनादि पदार्थहरू पनि समर्पित गरिदिन्छन् । परन्तु समर्पणको नियम यो छ कि जबसम्म गोसांईजीको चरणसेवामा समर्पित हुँदैनन् तबसम्म उसको स्वामीले स्वस्त्रीलाई स्पर्श नगर्ने ॥४॥ यसैले गोसांईहरूका चेला समर्पण गरे पश्चात् आफ्नो-आफ्नो पदार्थको भोग गर्दछन्, किनभने स्वामीको भोगको पश्चात् समर्पण हुन सक्दैन ॥५॥ यसैले प्रथम सबै कामहरूमा सबै वस्तुहरूको समर्पण गर्ने । प्रथम गोसांईजीलाई भार्यादि समर्पण गरेर पश्चात् आफूले ग्रहण गर्ने, त्यसै गरी हरिलाई सम्पूर्ण पदार्थ समर्पण गरेर आफूले ग्रहण गर्ने ॥६॥ गोसांईजीको मतदेखि भिन्न मार्गको वाक्यलाई गोसांईका शिष्यले कहिल्यै पनि नसुन्ने, कहिल्यै ग्रहण नगर्ने, यही उनका शिष्यहरूको व्यवहार प्रसिद्ध छ ॥७॥ त्यसरी नै सबै वस्तुहरूको समर्पण गरेर सबैको बीचमा ब्रह्मबुद्धि गर्ने । त्यसपछाडि जसरी गङ्गामा अन्य जल मिलेर गङ्गारूप हुन जान्छ, त्यसरी नै आफ्नो मतमा गुण र अर्काको मतमा दोषको वर्णन गर्ने गरोस् ॥८॥
अब लिनुहोस् कि यो ! गोसांईहरूको मत सबै मतहरूदेखि अधिक आफ्नो प्रयोजन सिद्ध गर्नेवाला हो । भला, गोसांईहरूलाई कसैले सोधोस् कि ब्रह्मको एक लक्षण पनि तिमीले जान्दैनौ भने त शिष्यहरूलाई ब्रह्मसम्बन्ध कसरी गर्न सक्दछौ ? यदि भनौला कि हामी नै ब्रह्म हौं, हाम्रो साथमा सम्बन्ध हुनाले ब्रह्मसम्बन्ध हुन जान्छ । त्यसो भए तिमीमा ब्रह्मको गुण-कर्म-स्वभाव एउटा पनि छैन, पुनः के तिमी केवल भोग-विलासको लागि मात्र ब्रह्म बनेका हौ ?
भला ! शिष्य र शिष्याहरूलाई त तिमीले आफूमा समर्पित गराएर शुद्ध गर्दछौ परन्तु तिमी र तिम्री भार्या, कन्या, पुत्रवधू तथा पुत्रादि असमर्पित रहनाले अशुद्ध रहन गयौ कि गएनौ ? यदि असमर्पित वस्तुलाई अशुद्ध मान्दछौ भने त तिमी अशुद्ध किन होइनौ ? यसैले तिमी र तिम्री भार्या र पुत्रादि अन्यको साथ समर्पित हुनुपर्दछ कि पर्दैन ? यदि भनौला कि पर्दैन तब त अन्यलाई आफ्नो साथ समर्पित किन गर्दछौ ? यसैले तिम्रा लागि यो उचित हुन्छ कि वेदमतलाई मान र प्रपञ्चादि नराम्रा कामहरूलाई छोड, जसबाट यस लोक र परलोकको शुद्धि भएर आनन्द भोग ।
यिनले आफ्ना सम्प्रदायलाई ‘पुष्टि मार्ग’ भन्दछन् अर्थात् खानें-पिउँने, पुष्ट हुनें, सबै स्त्रीहरूसँग यथेष्ट भोग-विलास गर्ने । परन्तु जब भगंदरादि (भिरिङ्गी) रोग लाग्दछ त यही मत साक्षात् नरक मार्ग बन्दछ । बडो आश्चर्यको कुरा छ कि यस्ता-यस्ता पशुवत् क्रीडा गर्नेहरूका पनि मत संसारमा चलिराखेको छ । कहाँसम्म लेखूँ यिनीहरूका सबै लीला यसरी नै शास्त्रविरुद्ध पापवर्द्धक छन् ।
यसै प्रकार मिथ्याजाल रचेर बिचरा भोले-भाले मनुष्यहरूलाई जालमा फसाएर आफूलाई श्रीकृष्ण मान्दै सबैको स्वामी बन्दछन् । यस्तो भन्दछन् कि “जति पनि दैवी जीव गोलोकबाट आएका छन्, तिनीहरूको उद्धार गर्नको लागि हामी लीला पुरुषोत्तम जन्मेका हौं । जबसम्म हाम्रो उपदेश लिंदैनन् तबसम्म गोलोकको प्राप्ति हुँदैन । वहाँ एक श्रीकृष्ण पुरुष र बाँकी सबै स्त्रीहरू छन् ।”
वाह जी वाह ! राम्रो मत रहेछ !! गोसांईहरूका जति चेला छन्, ती सबै गोपिनीहरू बन्न जानेछन् । भला जुन एक पुरुषले दुइटी स्त्री राखेको हुन्छ, त्यसको बडो दुर्दशा हुन्छ भने त जहाँ एक पुरुष र करोडौं स्त्री एकको पछाडि लागेका छन्, त्यसको दुःखको पारै छैन । यदि भनौला कि श्रीकृष्णमा ठूलो सामर्थ्य छ, सबैलाई प्रसन्न गर्दछन् भने त उसकी स्त्री जसलाई स्वामिनीजी भन्दछन्, उसमा पनि श्रीकृष्णकै तुल्य सामर्थ्य छ होला, किनभने त्यो उसकी अर्द्धाङ्गिनी हो । जसरी यहाँ स्त्री पुरुषको कामचेष्टा तुल्य अथवा पुरुष भन्दा स्त्रीको अधिक हुन्छ भने त गोलोकमा किन नहोला ? यदि यस्तो छ भने त अन्य स्त्रीहरू र स्वामिनीजीको अत्यन्त लडाईं पनि हुन्छ होला, किनभने सपत्नीभावको जरो धेरै नराम्रो हुन्छ । पुनः गोलोक स्वर्गको बदला नरकवत् भयो होला, अथवा जसरी धेरै स्त्रीगामी पुरुष भगन्दरादि रोगहरूले पीडित रहन्छ, त्यस्तै गोलोकमा पनि छ होला । यस्तो गोलोक भन्दा त मर्त्यलोक नै राम्रो छ ।
हेर ! जसरी यहाँ गोसांईजी आफूलाई कृष्ण मान्दछन्, थुप्रै स्त्रीहको सङ्गले भगन्दर प्रमेहादि रोगहरूले पीडित छन् भने त अहिले जसका स्वरूप ‘गोसांई’ पीडित हुन्छन् भने त गोलोकका स्वामी श्रीकृष्ण यी रोगहरूबाट पीडित किन छैनन् होला ? र यदि छैनन् भने त उनका स्वरूप गोसांई किन पीडित हुन्छन् ?
प्रश्न— मर्त्यलोकमा लीलावतार धारण गर्नाले रोग-दोष हुन्छ, गोलोकमा हुँदैन, किनभने वहाँ रोग-दोष छैन ।
उत्तर— ‘भोगे रोगभयम्’ [भर्तृहरि वैराग्यशतक, श्लोक ३३] जहाँ भोग हुन्छ, त्यहाँ रोग अवश्य हुन्छ । र श्रीकृष्णका करोडौं-करोड स्त्रीहरूका सन्तान हुन्छन् कि हुँदैनन् ? यदि हुन्छन् भने त छोरा-छोरा मात्रै हुन्छन् कि छोरी-छोरी ? अथवा दुइटै ? जति छोरीहरू हुन्छन् तिनको विवाह कोसित हुन्छ होला ? किनभने वहाँ दोस्रो कोही पुरुष छैन, यदि दोस्रो छ भने त तिम्रो प्रतिज्ञा-हानि हुन गयो, र केटाहरूको विवाह कहाँ हुन्छ होला ? अथवा घरैमा विवाह गर्दछन् ? अन्यका छोराहरू छन् भने पनि तिम्रो प्रतिज्ञा ‘गोलोकमा एउटै मात्र श्रीकृष्ण पुरुष’ नष्ट हुन जानेछ र यदि सन्तान हुँदै-हुँदैनन् भने त कृष्ण अथवा उनकी स्त्रीहरूका शरीरमा वीर्यहीनता वा बन्ध्यापन दोष हुनेछ । त्यो गोलोक के हो, जान दिल्लीको बादशाहकी स्वास्नीहरूको सेना !
फेरि गोसांईहरू तन-मन-धन आफूमा अर्पण शिष्य र शिष्याहरूलाई गराउँदछन् । जुन शरीर हो त्यो विवाहित स्त्री र पतिलाई समर्पण हुन जान्छ र मन पनि फेरि दोस्रो पुरुषलाई समर्पण हुन सक्दैन, यदि हुन सक्दछ भने त त्यो स्त्री दुई पतिवाली भएर व्यभिचारिणीमा गनिन्छे । र जुन नखशिखाग्रशरीर गुसांईजीलाई अर्पण हो भने त त्यसमा उत्पन्न भएका धातु, मल, मूत्रादि पनि गुसांईजीलाई अर्पण भैसक्यो र धनको अर्पण यसको लागि गर्दछन् कि कमाउने चेला भोग्ने गोसांई । जति गोसांई छन्, ती अहिलेसम्म तैलङ्गको जातिमा छैनन्, जो कसैले यिनलाई छोरी दिन्छ, त्यो पनि जातिबाह्य भएर भ्रष्ट हुन जान्छ, किनभने यी जातिबाट पतित गरिएका र विद्याहीन रात-दिन प्रमादमा रहन्छन् ।
फेरि हेर ! जब कोही यिनलाई बोलाएर आदर पूर्वक स्वागत-सत्कार (पधरावनी) गर्दछन् भने, तब गएर चुपचाप काठको पुतलीझैं बस्दछन्, न बोल्नु न चाल्नु । किनभने बोलोस् तब नै जब मूर्ख हुँदैन । ‘मूर्खाणां बलं मौनम्’ मूर्खहरूको बल मौनमा हुन्छ, यदि बोल्यो भने त त्यसको पोल खोलिन्छ, परन्तु स्त्रीहरूतिर खुब ताकिराख्दछ, जसलाई गोसांईजीले हेरे त्यो स्त्री, उसको पति, भाइ, बन्धु, माता, पिता बडो प्रसन्न हुन्छन् । सबै स्त्रीहरूले गोडा छुन्छन् । जसमाथि गोसांईजीको मन लाग्छ त्यसको हात गोडाको औंलाले दबाउँछ । त्यो स्त्री र त्यसका सम्बन्धीहरूले आफ्नो धन्यभाग सम्झन्छन् र त्यसका पति आदिले त्यस स्त्रीलाई भन्दछन् कि तँ गोसांईजीको चरणसेवामा जा । र जहाँ कहीं त्यसका पति आदि प्रसन्न हुँदैनन्, वहाँ दूतिनी कुटिनीहरूबाट काम सिद्ध गर्दछन् । साँच्चै सौध्छौ भने त यस्ता काम गर्ने गराउनेवाला उनका मन्दिर र उनैसँग भँडुवापन गर्नेवाला धेरै छन् ।
अब यिनीहरूको दक्षिणाको लीला अर्थात् भेटी यसरी माग्दछन् कि— गोसांईजीलाई, बुहारीजीलाई, लालाजीलाई, छोरीजीलाई, मुखियाजीलाई, बाहिरीयाजीलाई, गवैयाजीलाई, ठाकुरजीलाई भेटी ल्याऊ भन्दै, यी सात दोकानबाट खुब माल मार्दछन् । जब कुनै उनको सेवक मर्न लाग्दछ तब त्यसको छातीमा गोडो छुवाएर, जे मिल्दछ त्यो गासांईले लिन्छन् । के यो महाब्राह्मण र कर्टियाको, मुर्दावलीको दान होइन ? कसै-कसैले विवाहमा पनि गोसांईलाई बोलाउँछन् र केटा-केटीको पाणिग्रहण गराउँछन्, कोही-कोही सेवक जब ‘केशरिया स्नान’ अर्थात् गोसांईजीको शरीरमा स्त्रीहरूले केशरको उबटन (लेपन) लगाएर एउटा ठूलो भाँडामा पट्टा लगाएर गोसांईजीलाई स्त्री-पुरुषले मिलेर स्नान गराउँछन्, परन्तु विशेष गरेर स्त्रीले स्नान गराउँछन् । पुनः जब गोसांईजी पिताम्बर पहिरेर खराऊमा खुट्टा राखेर बाहिर निस्कन्छन् र धोती उसैमा पट्किदिन्छन् । त्यस जलको आचमन उसका सेवकले गर्दछन्, र राम्रो मसालेदार पान बिडी गोसांईजीलाई दिन्छन् । त्यसलाई चबाएर केही निल्छन्, शेष एक चाँदीको कटौरामा उसका सेवकले मुख अगाडि राखिदिन्छन्, त्यसैमा वकलिदिन्छन् । त्यसको पनि प्रसादी बाँडिन्छ जसलाई ‘खाश प्रसादी’ भन्दछन् ।
अब विचार गर्नुहोस् कि यिनीहरू कस्ता खालका मनुष्य हुन् ? जुन मूढता र अनाचर हुन्छ भने त यतिमात्रै होला र ! थुप्रैका समर्पण लिन्छन् । त्यस मध्येमा कतिले त वैष्णवहरूका हातबाट मात्रै खान्छन् अन्यको होइन । कतिले त आफ्नै हातले मात्र बनाएको खान्छन्, दाउरो र दाबिलो समेत पनि धुन्छन् परन्तु पीठो, गुँड, चिनी, घ्यू आदि धोए बिना स्पर्श बिग्रन जान्छ । के गरून् बिचराले ! यदि यिनलाई धोएमा त पदार्थ नै गुमाउनु पर्दछ । तिनीहरू भन्दछन् कि हामीले ठाकुरजीको रङ्ग, राग, भोगमा थुप्रै धन लगाइदिन्छौं, परन्तु ती रङ्ग, राग, भोग आफैले गर्दछन् र साँच्चै भनौं भने त त्यहाँ बडा-बडा अनर्थ हुन्छन् । अर्थात् होलीको समयमा पिच्कारी भरेर स्त्रीहरूका अस्पर्शनीय अवयवहरूमा मार्दछन् र रसविक्रय ब्राह्मणको लागि निषिद्ध कर्म हो त्यसलाई पनि गर्दछन् ।
प्रश्न— गुसांईजी रोटी, दाल, कढी, भात, मठरी, लड्डु आदि बेच्दैनन् किन्तु आफ्ना नोकर-चाकरहरूलाई पत्तल (दुना र टपरीमा) बाँडिदिन्छन्, तिनीहरूले बेच्दछन्, गोसांईजीले होइन ।
उत्तर— यदि गोसांईजीले उनीहरूलाई मासिक तलबको रूपमा पैसा दिने हो भने त तिनीहरूले पत्तल नै किन लिन्थे ? गोसांईजी आफ्ना नोकरहरूको हात दाल-भात आदि नोकरीको बदलामा बेच्दछन् र तिनीहरूले बाहिर बेच्दछन् । यदि गोसांईजीले बाहिर बेच्थे भने त नोकर जो ब्राह्मणादि छन्, तिनीहरू त रसविक्रय दोषबाट बच्ने थिए, एक्लै गोसांईजी मात्रै रसविक्रयको पापमा फस्ने थिए । प्रथम आफू फसे र अन्यलाई पनि फसाए, कहीं-कहीं नाथद्वारा आदिमा गोसांईजीले पनि बेच्दछन् । रसविक्रय गर्नु नीचहरूको काम हो, उत्तमहरूको होइन । यस्ता-यस्ता मान्छेहरूले यस आर्यावर्त्तको अधोगति गरिदिएका छन् ।
स्वामी नारायणमतको समीक्षा (११.३४)
प्रश्न— “स्वामीनारायणको” मत कस्तो छ ?
उत्तर— ‘यादृशी शीतला देवी, तादृशो वाहन खरः’ जस्तो धनहरणादिमा गोसांई लीला छ, त्यस्तै नै स्वामीनारायणको पनि छ ।
जुन ‘सहजानन्द’ अयोध्याको नजिक एउटा ग्राममा जन्मेको थियो, त्यो ब्रह्मचारी बनेर गुजरात, काठियावाड, कच्छभुज आदि देशहरूमा फिर्दथ्यो । उसले देख्यो कि यो देश मूर्ख र भोला छ, जसरी चाहे पनि यिनीहरूलाई आफ्नो मतमा झुकाउनु पर्दछ । त्यसले दुई चार शिष्य बनायो । तिनीहरूले आपसमा सम्मति गरेर प्रसिद्ध गरे कि सहजानन्द नारायणको अवतार बडो सिद्ध छ , चतुर्भुज बनेर दर्शन पनि दिन्छ ।
एक पटक काठियावाडमा कुनै ‘काठी’ अर्थात् जसको नाम ‘दादाखाचर’ थियो । गढ्डाको भूमिया (जमिन्दार) थियो । त्यसलाई शिष्यहरूले भने कि “तिमीले चतुर्भुज नारायणको दर्शन गर्न चाहन्छौ भने त हामी सहजानन्दजीसँग प्रार्थना गरौं ?” त्यसले भन्यो– “अति राम्रो कुरो हो ।” त्यो भोला मान्छे थियो । एउटा कोठरीमा सहजानन्द मुकुट धारण गरेर शङ्ख-चक्र आफ्नो हातमा माथितिर धारण गर्यो र एक दोस्रो मान्छेले उसको पछाडि उभिएर गदा-पद्म आफ्नो हातमा लिएर सहजानन्दको बाहुला भन्दा अगाडि हात निकालेर चतुर्भुजको तुल्य बन-ठन गरेर देखाए । दादाखाचरसँग उनका चेलाहरूले सम्झाउँदै भने कि “एक पटक आँखा उघारेर हेर्नू अनि तुरुन्तै आँखा चिम्लिहाल्नू र यतातिर निस्किहाल्नू । यदि धेरैबेरसम्म हेरिराख्यौ भने त नारायणले कोप गर्नेछन् ।” अर्थात् चेलाहरूको मनमा त थियो कि हाम्रो कपटको परीक्षा नगरोस् । ती शिष्यहरूले त्यसलाई त्यो बनिबनाउ ठाउँमा लगे, त्यो सहजानन्द कारीगरीका सामाग्रीले सजिसजाउ र चम्कँदो रेशमी वस्त्र धारण गरेर बसेको थियो । अँधेरो कोठरीमा उभिएको थियो । त्यसका चेलाहरूले अचानक लालटेनले कोठा उज्यालो पारे । दादाखाचरले आँखा उघारेर हेर्दा त चतुर्भुज मूर्तिको रूपमा देख्यो, चेलाहरूले तुरुन्तै बत्ती छेकिदिए । ती सबै निहुरेर नमस्कार गर्दै दोस्रोतिरबाट बाहिर निस्किए र त्यसै वेला आवाज सुनाए कि “तिमी धन्य भाग्य भयौ । अब तिमी चाहिं महाराजको चेला बन ।” त्यसले– “हुन्छ म बन्छु” भन्यो । जबसम्म फर्केर दोस्रो स्थानमा पुग्दा त वस्त्र बदलेर सहजानन्द आफ्नो गद्दीमा बसिराखेको थियो । तब चेलाहरूले उसलाई भने कि “हेर ! अब दोस्रो स्वरूप धारण गरेर यहाँ बस्नुभएको छ ।”
त्यो दादाखाचर यिनको जालमा फस्न पुग्यो । त्यहींदेखि यिनको मतको जरो गाडिन पुग्यो किनभने त्यो एउटा ठूलो भूमिया (जमिन्दार) थियो । त्यहीं आफ्नो जरो गडायो । पुनः यता-उति घुम्दै पनि रह्यो, सबैलाई उपदेश गर्दथ्यो, थुप्रैलाई साधु पनि बनायो । कहिलेकाहिं साधुको कण्ठको नाडीलाई मलेर मूर्छित पनि पारिदिन्थ्यो र सबैसँग भन्दथ्यो कि मैले यिनलाई समाधि चढाइदिएको छु । यस्ता-यस्ता धूर्ततामा काठिवाडका भोले मान्छेरू त्यसको पेचमा फस्न गए । जब त्यो मर्यो तब त्यसका चेलाहरूले थुप्रै पाखण्ड फैलाए ।
यसमा यो दृष्टान्त उचित हुनेछ कि— जस्तै एउटा चोरी गर्दागर्दै रङ्गेहात पक्रियो । न्यायाधीशले त्यसको नाक काट्नको लागि दण्ड सुनाए । जब त्यसको नाक काटियो तब त्यो धूर्त नाच्न, गाउन र हाँस्न थाल्यो । मान्छेहरूले सोधे कि “तँ किन हाँसेको छस् ?” त्यसले भन्यो— “कसैलाई भन्न हुँदैन !” फेरि मान्छेहरूले सोधे— “यस्तो कुनचाहिं कुरो छ ?” त्यसले भन्यो— “बडो भारी आश्चर्यको कुरो छ, मैले यस्तो त कहिल्यै देखेको थिइनँ ।” मान्छेहरूले भने— “भन्-भन् ! के कुरो हो ?” त्यसले भन्यो “मेरो सामुन्ने साक्षात् चतुर्भुज नारायण उभिनुभएको छ । मैले देखेर बडो प्रसन्न हुँदै नाच्ने-गाउने र आफ्नो भाग्यलाई धन्यवाद दिएको छु कि मैले नारायणको साक्षात् दर्शन गरिरहेको छु ।” मान्छेहरूले भन्नथाले— “हामीलाई किन दर्शन भएको छैन ?” त्यसले भन्यो कि— “नाकले छेकिरहेको छ । यदि नाक कटायौ भने त नारायणलाई देख्नेछौ, नत्र भने देख्दैनौ ।” ती मध्येमा एउटा मूर्खले अठोट गर्यो कि नाक बरु गए जाओस्, परन्तु नारायणको दर्शन अवश्य गर्नुपर्दछ । उसले भन्यो कि “मेरो पनि नाक काटिदेओ, नारायणलाई देखाइदेओ ।” त्यसले उसको नाक काटेर भन्यो कि “तैंले पनि मैले जस्तै गर्, नत्र भने त यहाँ तेरो र मेरो उपहास हुनेछ ।” उसले पनि कुरो बुझ्यो कि अब काटिएको नाक त फर्केर आउँदैन, यस्तै गर्नु ठीक छ, उसले पनि त्यसै गरी नाच्न, गाउन, कुद्न र हाँस्न थाल्यो अनि भन्न थाल्यो कि— “मैले पनि नारायणलाई देखें ।” यस्तै हुँदाहुँदै एक हजार मनुष्यको झुण्ड बन्यो, बडो कोलाहल भयो, आफ्नो सम्प्रदायको नाम ‘नारायणदर्शी’ राखे । यो कुरो कुनै मूर्ख राजाले सुन्यो, अनि तिनीहरूलाई बोलायो । जब राजा तिनीहरूका पासमा गयो तब त तिनीहरू धेरै नाच्न, कुद्न र हाँस्न थाले । तब राजाले सोध्यो कि “यस्तो के कुरो हो ?” तिनीहरूले भने कि “साक्षात् नारायण हामीले देखेका छौं ।”
राजा— मैले किन देख्दिन त ?
नारायणदर्शी— जबसम्म नाक हुन्छ तबसम्म देखिंदैन र जब नाक कटाउनेछौ, तब नारायणलाई प्रत्यक्ष देख्नेछौ । राजाले विचार्यो ठीक छ । ज्योतिषीजी ! मुहूर्त्त निकाल्नुहोस् । “जो हुकुम ! दशमीको दिन प्रातःकाल आठ बजे नाक कटाउने र नारायणको दर्शन गर्नको लागि शुभ मुहूर्त्त छ ।”
वाह रे पोपजी ! आफ्नो ठेलीमा नाक काट्ने-कटाउने मुहूर्त्त पनि लेखिदियौ ।
जब राजाको इच्छा भयो र ती हजारौंलाई पङ्क्तिमा राखेर खुशी पार्न लागे तब त ती सबै प्रसन्न भएर नाच्न, कुद्न र गाउन थाले । यो कुरो राजाका सल्लाहाकार, मन्त्री आदि र कोही बुद्धि भएकाहरूलाई राम्रो लागेन । राजाको एउटा चार पिंढीको ९० वर्षको बूढो मन्त्री थियो । त्यसलाई गएर आफ्नो पलाँतिले जुन कि यतिखेर मन्त्री थियो, यो कुरो सुनायो । तब त्यस वृद्धले भन्यो कि— “तिनीहरू धूर्त हुन् । तैंले मलाई राजाकहाँ लैजा ।” पलाँतिले लिएर गयो । बस्दाखेरि राजाले ती नाक कटुवाहरूको कुरो बडो हर्षित भएर सुनाए । वृद्ध मन्त्रीले भने कि— “सुन्नुहोस् महाराज ! यस्तो शीघ्रता गर्नु हुँदैन । बिना परीक्षा गरे पश्चाताप हुन्छ ।”
राजा— के यी हजारौं मान्छेले झुटो बोल्दछन् ?
वृद्ध मन्त्री— झुटो भन या साँचो, बिना परीक्षाको साँचो-झुटो कसरी भन्न सकिन्छ ?
राजा— परीक्षा कुन प्रकारले गर्ने त ?
वृद्ध मन्त्री— विद्या, सृष्टिक्रम प्रत्यक्षादि प्रमाणहरूबाट ।
राजा— जसलाई पढिएकै छैन, त्यसको परीक्षा कसरी गर्ने ?
वृद्ध मन्त्री— विद्वान्हरूको सङ्गले ज्ञानको वृद्धि गरेर ।
राजा— यदि विद्वान् पाइएनन् भने त ?
वृद्ध मन्त्री— पुरुषार्थीलाई कुनै कुरो दुर्लभ छैन ।
राजा— त्यसो भए तपाईंले नै भन्नुहोस् अब के गर्ने ?
वृद्ध मन्त्री— म बूढो भएँ र घरमा बसिराख्दछु अब धेरै समय बाँच्दिन पनि । म प्रथम परीक्षा गरेर लिन्छु, तत्पश्चात् जस्तो उचित सम्झनुहुन्छ त्यस्तै गर्नुहोला ।
राजा— धेरै राम्रो कुरो हो । ज्योतिषीजी ! वृद्ध मन्त्रीको लागि मुहूर्त्त निकाल्नुहोस् ।
ज्योतिषी— जो महाराजको आज्ञा । यही शुक्ल पञ्चमी १० बजेको मुहूर्त्त राम्रो छ । जब पञ्चमी आयो राजाजीकहाँ आएर आठ बजे बूढो मन्त्रीले राजाजीलाई भने कि “हजार दुई हजार सेना लिएर हिंड्नुपर्दछ ।”
राजा— वहाँ सेनाको के काम छ ?
वृद्ध मन्त्री — तपाईंलाई राज्य व्यवहारको बारेमा जानकारी छैन । जस्तो मैले भन्दछु त्यस्तै गर्नुहोला ।
राजा— हुन्छ, जाओ भाइ ! सेनालाई तयार गर । साढे नौ बजे सवारी गरेर राजाले सबैलाई लिएर गयो । यिनीहरूलाई देखेर ती नाच्न, गाउन, कुद्न र हाँस्न थाले । राजा गएर बसे । उनीहरूको महन्त जसले यो सम्प्रदाय चलाएको थियो, जसको प्रथम नाक काटिएको थियो, त्यसलाई बोलाएर भने कि “आज हाम्रा वृद्ध मन्त्रीलाई नारायणको दर्शन गराओ ।” त्यसले भन्यो— “हुन्छ ।”
दश बजेको समय आयो तब एउटा थाली मनुष्यको नाकको तल समातेर राखे । त्यसले धारिलो चक्कू लिएर नाक काटेर थालीमा फ्याँकिदियो र रुधिर (रगत) बग्न थाल्यो । वृद्धको मुख बिग्रियो । त्यस धूर्तले वृद्धको कानमा मन्त्रोपदेश गर्यो कि “तपाईं पनि हाँसेर सबैलाई भन्नुहोस् कि मैले नारायण देखें । काटिएको नाक अब फेरि आउनेछैन । यदि यस्तो भनेनौ भने त तिम्रो धेरै ठट्टा हुनेछ,” यस्तो भनेर त्यो पन्छियो । वृद्धाले गम्छा लिएर काटिएको नाकलाई छोपे । जब वृद्धासँग राजाले सोधे कि “भन्नुहोस् ! नारायण देख्नुभएको छ कि छैन ?” वृद्धाले राजाको कानमा भने कि “केही पनि देखिंदैन, वृथा यस धूर्तले हजारौं मनुष्यलाई बिगार्यो ।” राजाले वृद्धासँग सोधे— “अब के गर्नुपर्दछ ?” वृद्धाले भने— “यिनलाई समातेर कठिन दण्ड दिनुपर्दछ । जबसम्म बाँच्दछन् तबसम्म बन्दीघरमा राख्ने र त्यस दुष्टलाई जसले यी सबैलाई बिगार्यो, गधामाथि चढाएर बडो दुर्दशाको साथमा मार्नुपर्दछ ।” जब राजा र वृद्धाले कानमा कुरागर्न लागे तब तिनीहरू डरको मारे भाग्नको लागि तयारी गर्न थाले, परन्तु चारैतिर राजाका फौजले घेरा हालेर राखेको थियो, भाग्न सकेनन् । राजाले आज्ञा दिए कि “सबैलाई समातेर साङ्लाले बाँध र यस दुष्टको मुखमा कालो मोसो दलेर, गधामाथि चढाएर, यसको कण्ठमा च्यातिएका जुत्ताको माला भिराएर, सर्वत्र घुमाएर, केटाहरूले धुलो-खरानी यसको जीउमाथि खन्याएर, चोक-चोकमा जुत्ताले पिट्दै, कुकुरहरूबाट टोकाउँदै मार्नू । यदि यस्तो गरिएन भने त पुनः अर्कोले पनि यस्तो काम गर्नदेखि डराउने छैन ।”
जब यस्तो भयो तब नाककट्टेका सम्प्रदाय बन्द भए । यस्तै प्रकारको वेदविरोधी सबै सम्प्रदायहरूको लीला छ ।
यी स्वामीनारायणवाले धनहरे अर्काको धन हर्नमा बडो चतुर छन्, छल-कपटयुक्त काम गर्दछन् । कतिले त मूर्खहरूलाई बहकाउनको लागि मर्ने वेलासम्म पनि झुटो कथेर भन्दछन् कि— “सेतो घोडामाथि बसेर सहजानन्दजी मलाई लिनको लागि आउनुभएको छ नित्य यस मन्दिरमा आउनुहुन्छ ।”
जब मेला लाग्दछ तब मन्दिरमा पुजारी रहन्छ र तलपट्टि दोकान हुन्छ । मन्दिरदेखि दोकानसम्म (छिद्र) प्वाल राख्दछन् । जो कसैले नरिवल चढाउँछ, त्यसैलाई छिद्रको मार्फत दोकानमा फ्याँक्दछन्, अर्थात् यसै प्रकारले एउटा नरिवल दिनमा हजारौं पटक बिक्दछ । यसरी नै सबै पदार्थहरूलाई बेच्दछन् ।
जुन जातिको साधु हुन्छ, त्यसबाट त्यही काम गराउँछन् । जस्तै नापित (हजाम) हो भने नापितको काम, कुमाले हो भने कुमालेको, शिल्पी हो भने शिल्पको, बनिया हो भने बनियाको काम लिन्छन् । आफ्ना चेलामाथि अनेक प्रकारको कर बाँधिदिन्छन् । लाखौं करोडौं रुपैयाँ ठगेर एकत्र गर्दछन् र गर्दैजान्छन् । जो गद्दीमा बस्दछ, त्यो गृहस्थ विवाह गर्दछ, आभूषणादि पहिरन्छ । जहाँ कहीं पधरावनी (स्वागत-सत्कार) हुन्छ, वहाँ गोकुलियेकै समान गोसांईजी, बहूजी आदिको नामबाट भेटीपूजा लिन्छन् । आफूलाई ‘सत्सङ्गी’ र अन्य मतवालालाई ‘कुसङ्गी’ भन्दछन् । आफ्ना सिवाय अर्का कस्तै नै उत्तम धार्मिक पुरुष किन नहोस्, त्यसको मान्य सेवा गर्दैनन्, अन्यको सेवामा पाप गन्दछन् ।
प्रसिद्धिमा यिनका साधुले स्त्रीको मुख हेर्दैनन्, परन्तु गुप्त के लीला हुन्छ होला, यसको प्रसिद्धि सर्वत्र न्यून भएको छ । कहीं-कहीं साधुहरूको परस्त्री गमनादिको लीला प्रसिद्ध भएको छ र यिनीहरूमा जो-जो ठूला-ठूला छन्, ती जब मर्दछन् तब तिनलाई गुप्त कुवामा फ्याँकेर प्रसिद्धि गर्दछन् कि अमुक महाराज त, सदेह वैकुण्ठमा जानुभयो । सहजानन्दजी आएर लिएर जानुभयो । हामीले धेरै प्रार्थना गर्यौं कि— “महाराज ! यिनलाई नलैजानुहोस्, किनभने यी महात्मा यहाँ रहँदामै राम्रो हुन्छ ।” सहजानन्दजीले भन्नुभयो कि— “हुँदैन, अब यिनको वैकुण्ठमा अति आवश्यकता छ, त्यसैले लैजान्छु ।” हामीले आफ्नै आँखाले सहजानन्दजीलाई र विमानलाई देख्यौं तथा जो मर्नेवाला थिए विमानमा बसाए, माथि उडाएर पुष्पको वर्षा गर्दै लगे ।
र जब कोही साधु बिरामी हुन्छ, बाँच्ने आशा हुँदैन, तब भन्दछ कि— “म भोलिको रातमा वैकुण्ठमा जानेछु ।” सुनिएको छ कि जसको त्यस रातमा प्राण छुट्दैन र मूर्छित परेको हुन्छ, तर पनि कुवामा लगेर फ्याँकिदिन्छन् किनभने यदि त्यस रातमा न फ्याँके त झुट हुन जान्छ, यसैले यस्तो काम गर्दा होलान् ।
यसरी नै जब गोकुलिया गोसांई मर्दछ तब उसका चेलाले भन्दछन् कि— “गोसांईजी लीला विस्तार गरेर जानुभयो ।” जुन यी गोसांई, स्वामीनारायणवालाहरूको उपदेश गर्ने मन्त्र एउटै नै ‘श्रीकृष्णः शरणं मम’ छ, यसको अर्थ यस्तो गर्दछन् कि “श्रीकृष्ण मेरो शरण छन्, अर्थात् म श्रीकृष्णको शरणागत छु ।” परन्तु यसको अर्थ “श्रीकृष्ण मेरो शरणलाई प्राप्त अर्थात् शरणागत होऊन्” यस्तो पनि हुन सक्दछ । यी सबै जति मत छन्, ती विद्याहीन हुनाले ऊटपटाङ्ग शास्त्रविरुद्ध वाक्यरचना गर्दछन् । किनभने यिनीहरूलाई विद्याको नियमको जानकारी छैन ।
माध्व, लिङ्ग, चक्राङ्कित, ब्राह्मप्रार्थना समाज आदिको समीक्षा (११.३५)
प्रश्न— माध्व मत त राम्रो छ ?
उत्तर— जस्ता अन्य छन्, त्यस्तै यो पनि हो, किनभने यी पनि चक्राङ्कित हुन्छन् । यिनमा चक्राङ्कितदेखि यति विशेष छ कि रामानुजीय एक पटक चक्राङ्कित हुन्छन् र माध्व— वर्ष-वर्षमा पटक-पटक चक्राङ्कित हुँदै जान्छन् । चक्राङ्कितले निधारमा पहेंलो रेखा र माध्वले कालो रेखा लगाउँछन् । एउटा माध्व पण्डितसँग कुनै एक महात्माको सवांद भएको थियो ।
महात्मा— तिमीले यो कालो रेखा र चन्द्राकार तिलक किन लगायौ ?
शास्त्री— यसलाई लगाउनाले हामी वैकुण्ठमा जानेछौं र श्रीकृष्णको स्वरूप पनि श्याम थियो, यसैले हामीले कालो तिलक लगाउँछौं ।
महात्मा— जब कालो रेखा र तिलक लगाउँदा मात्रैमा वैकुण्ठमा जान्छौ भने त मुखभरी कालो पोतेमा त कहाँ जान्छौ ? के वैकुण्ठ भन्दा पनि पर जान्छौ ? र जस्तो श्रीकृष्णको सबै शरीर कालो थियो, त्यस्तै तिमीले पनि पूरै शरीर कालो गर्ने गर, तब श्रीकृष्णको सादृश्य हुन सक्दछौ । यसैले यो मत पनि पूर्व मतहरूकै सदृश छ ।
प्रश्न— लिङ्गाङ्कितको मत कस्तो छ ?
उत्तर— जस्तो चक्राङ्कितको । तिनीहरू पनि लिङ्गाङ्कित हुन्छन् । सिवाय महादेवको अरू कसैलाई मान्दैनन्, जसरी चक्राङ्कितले नारायणदेखि अतिरिक्त दोस्रोलाई मान्दैनन् । यिनीहरूमा विशेष यो छ कि लिङ्गाङ्कित पाषाणको एउटा लिङ्ग सुन अथवा चाँदीमा मढेर घाँटीमा झुण्ड्याउँछन् । जब पानी पिउँछन् तब त्यसलाई देखाएर पिउने गर्दछन् । यिनको पनि मन्त्र शैवको तुल्य रहन्छ ।
अब ब्राह्मसमाज र प्रार्थनासमाजको गुणदोषको कथन—
प्रश्न— ‘ब्राह्मसमाज’ र ‘प्रार्थनासमाज’ राम्रा छन् कि छैनन् ?
उत्तर— यिनीहरूमा केही कुराहरू राम्रा र धेरै कुराहरू नराम्रा छन् ।
प्रश्न— ‘ब्राह्मसमाज’ र ‘प्रार्थनासमाज’ सबै भन्दा राम्रा छन् किनभने यिनका नियम अति राम्रा छन् ।
उत्तर— नियम सर्वांशमा राम्रो छैन । किनभने वेदविद्याहीन मान्छेहरूको कल्पना सर्वथा सत्य कसरी हुन सक्दछ र ? जे-जति ब्राह्मसमाज र प्रार्थनासमाजीहरूले ईसाई मतमा मिसिनाले थोरै मनुष्यहरूलाई बचाए, केही मूर्तिपूजालाई हटाए, अन्य ग्रन्थहरूका जालबाट पनि केही बचाए, इत्यादि राम्रा कुराहरू हुन् । परन्तु—
१— यिनीहरूमा स्वदेशभक्ति अति न्यून छ । ईसाईहरूको आचरण धेरै लिएका छन् । खानपान विवाहादिका नियम पनि फेरेका छन् ।
२— आफ्नो देशको प्रशंसा वा पूर्वजहरूको बडाइ गर्नु त टाढा रह्यो, त्यसको बदलामा पेटभरी निन्दा गर्दछन् । व्याख्यानहरूमा ईसाई आदि अंग्रेजहरूको प्रशंसा भर पेट गर्दछन् । ब्रह्मादि महर्षिहरूको नाम पनि लिंदैनन्, प्रत्युत यस्तो भन्दछन् कि बिना अंग्रेजहरूको, सृष्टिमा आज पर्यन्त कोही पनि विद्वान् भएको छैन । आर्यावर्त्तीय मान्छेहरू सदादेखि मूर्ख बन्दै आएका छन् । यिनीहरूको उन्नति कहिल्यै भएन ।
३— वेदादिकहरूको प्रतिष्ठा त टाढा रह्यो परन्तु निन्दा गर्नबाट पनि पृथक् रहँदैनन् । ब्राह्मसमाजको उद्देश्यको पुस्तकमा साधुको संख्यामा ‘ईसा’ ‘मूसा’ ‘मुहम्मद’ ‘नानक’ र ‘चैतन्य’ लेखेका छन् । कुनै ऋषि-महर्षिका नाम पनि लेखेनन् । यसैबाट जान्न सकिन्छ कि यिनीहरू, जसका नाम लेखेका छन्, उनैका मतानुसारी मत-वाला हुन् ।
भला, जब आर्यावर्त्तमा जन्मिएका छन् आर्यावर्त्त देशको अन्न-जल खाए-पिए, अहिले पनि खाने-पिउने गर्दछन्; आफ्ना माता, पिता, पितामहादिको मार्गलाई छोडेर अर्कै विदेशीको मतमा अधिक झुक्न जानु, ब्राह्मसमाजी र प्रार्थनासमाजीहरूको एतद्देशस्थ संस्कृत-विद्यादेखि रहित आफूलाई विद्वान् प्रकाशित गर्नु, अंग्रेजी भाषा पढेर पण्डिताभिमानी हुँदै झटिति एक मत चलाउनमा प्रवृत्त भएका, मनुष्यहरूको स्थिर र वृद्धिकारक काम कसरी हुन सक्दछ ?
४— अंग्रेज, यवन, अन्त्यजादिसँग पनि खानपिनमा भेद राखेनन् । यिनीहरूले यही सम्झे होलान् कि खानपिन र जाति भेद तोड्नाले हामी र हाम्रो देश सुध्रनेछ, परन्तु यस्तो कुराले सुधार त कहाँ हुने, उल्टो बिग्रन जान्छ ।
५— प्रश्न— जातिभेद ईश्वरकृत हो कि मनुष्यकृत ?
उत्तर— ईश्वरकृत र मनुष्यकृत पनि जातिभेद छ ।
प्रश्न— कुनचाहिं ईश्वरकृत र कुनचाहिं मनुष्यकृत हो ?
उत्तर— मनुष्य, पशु, पक्षी, वृक्ष, जलजन्तु आदि जातिहरू परमेश्वरकृत हुन् । जस्तै पशुहरूमा गाई, घोडा, हात्ती आदि जातिहरू; वृक्षहरूमा पीपल, वर, आँप आदि; पक्षीहरूमा हाँस, काग, बकुल्लो आदि; जलजन्तुहरूमा माछा, गोही आदि जातिभेद हुन्, त्यसरी नै मनुष्यहरूमा ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, अन्त्यज जातिभेद ईश्वरकृत हो । परन्तु मनुष्यहरूमा ब्राह्मणादिलाई सामान्य जातिमा होइन किन्तु सामान्य-विशेषात्मक जातिमा गन्दछन् । जसरी पूर्व वर्णाश्रम व्यवस्थामा लेखेर आएको छु, त्यसरी नै गुण, कर्म, स्वभावले वर्णव्यवस्था मान्नु अवश्य हो । यसमा मनुष्यकृतत्व उनका गुण, कर्म, स्वभावदेखि पूर्वोक्तानुसार ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्रादि वर्णहरूको व्यवस्था परीक्षापूर्वक गर्नु राजा र विद्वान्हरूको काम हो ।
भोजनभेद पनि ईश्वरकृत र मनुष्यकृत पनि छ । जस्तै सिंह मांसाहारी र अर्ना भैंसी घाँसादिको आहार गर्दछन्, यो ईश्वरकृत; र देश-काल-वस्तु भेदले भोजनभेद मनुष्यकृत हो ।
प्रश्न— हेर ! यूरोपियनहरू मुंडा जुत्ता, कोट-पतलुन लगाउँछन्, होटलमा सबै साथमा बसेर खान्छन्, यसैले उनीहरूको बढोत्तरी हुँदै गैरहेको छ ।
उत्तर— यो तिम्रो भुल हो । किनभने मुसलमान, अन्त्यजहरूले सबैको हातको खान्छन्, पुनः उनीहरूको उन्नति किन हुँदैन ? जहाँ यूरोपियनहरूले बाल्यवस्थामा विवाह नगर्नु, केटा-केटीलाई विद्या र सुशिक्षा गर्नु-गराउनु, स्वयंवर विवाह हुनु, घटिया मान्छेहरूको उपदेश हुँदैन, उनीहरू विद्वानी भएर जस कसैको पाखण्डमा फस्दैनन्, जे गर्दछन् सबैले परस्पर विचार र सभाबाट निश्चित गरेर गर्दछन्, आफ्ना स्वजातिको उन्नतिको लागि तन-मन-धन व्यय गर्दछन्, आलस्यलाई छोडेर उद्योग गर्ने गर्दछन् । हेर ! आफ्ना देशमा बनेको जुत्तालाई कार्यालय र कचहरीमा जान दिन्छन्, यहाँको देशी जुत्तालाई मान्यता दिंदैनन् । यतिबाटै सम्झनु कि आफ्नो देशमा बनेको जुत्ताको पनि कति प्रतिष्ठा गर्दछन्, त्यति त अन्य देशस्थ मनुष्यलाई पनि गर्दैनन् । हेर ! सय वर्ष भन्दा केही बढी भयो यूरोपियनहरू यस देशमा आएको, परन्तु आजसम्म पनि उनीहरू बाक्लो लुगा लगाउँछन् जस्तो कि आफ्नो देशमा हुँदा लगाउँथे, त्यसलाई छोडेका छैनन् । र तिमी मध्येमा धेरैले उनीहरूको अनुकरण गर्यौ, यसैले तिमी निर्बुद्धि र उनीहरू बुद्धिमान् ठहरिन्छन् । अनुकरण गर्नु बुद्धिमान्हरूको काम होइन । र जो जुन काममा रहन्छ, त्यसले खटेर यथोचित पूरा गर्दछ । आज्ञानुवर्त्ती बराबर रहन्छन् । आफ्ना देशवासीलाई व्यापार आदिमा सहायता गर्दछन्, इत्यादि गुणहरू र राम्रा-राम्रा कर्मले उन्नति हुन्छ । मुंडा जुत्ता, कोट, पतलुन, होटलमा खाने आदि साधारण र नराम्रो कामले बढेका होइनन् ।
र यिनमा जातिभेद पनि छ । हेर ! जब कुनै यूरोपियन चाहे जति नै ठूलो अधिकारमा प्रतिष्ठित होस्, कुनै अन्य देश, अन्य मत-वालाकी छोरी वा यूरोपियन केटी अन्य-देशवालासँग विवाह गर्दछे भने, उसै समय त्यसको निमन्त्रण, साथमा बसेर खान र विवाह आदि लाई अन्यजनहरूले बन्ध गरिदिन्छन् । यो जातिभेद नभए के हो त ? र तिमी भोलाहरूलाई भन्दछौ कि हामीमा जातिभेद छँदैछैन । तिमी आफ्नो मूर्खताले मानिहाल्दछौ पनि । त्यसैले जे गर्नुछ, त्यसलाई सोच-विचार गरेर गर्नुपर्दछ, जसमा पुनः पश्चाताप गर्न नपरोस् ।
हेर ! वैद्य र औषधिको आवश्यकता रोगीको लागि हो, निरोगीको लागि होइन । विद्यावान् निरोग र विद्यारहित अविद्यारोगले ग्रसित रहन्छ । त्यस रोगलाई छुटाउनको लागि सत्यविद्या र सत्योपदेश आवश्यक हुन्छ । तिनीहरूलाई अविद्याले गर्दा यो रोग बसेको छ कि खान-पिनमा नै धर्म रहन्छ र जान्छ पनि । जब कसैलाई खान-पिनमा अनाचार गरेको देख्दछन् तब भन्दछन् र जान्दछन् कि त्यो धर्मभ्रष्ट हुन गयो, त्यसको पासमा नबस्ने र त्यसको कुरो नसुन्ने तथा त्यो भएको ठाउँमा अरू नबस्ने गर्दछन् । अब भन कि तिम्रो विद्या स्वार्थको लागि हो कि अथवा परमार्थको लागि हो ? परमार्थ त तबै हुन्छ कि जब तिम्रो विद्याले ती अज्ञानीहरूलाई लाभ पुग्दछ । यदि भनौला कि उनीहरूले लिंदैनन् त हामीले के गर्ने ? यो तिम्रो दोष हो । उनीहरूको होइन, किनभने यदि तिमीले आफ्नो आचरण राम्रो राख्थ्यौ भने त तिमीसित प्रेम गरेर उपकृत हुन्थे; सो तिमीले हजारौंको उपकार नाश गरेर आफ्नै मात्र सुख खोज्यौ, सो तिमीलाई यो ठूलो अपराध लाग्यो, किनभने परोपकार गर्नु धर्म र परहानि गर्नुलाई अधर्म भन्दछन् । यसै कारण विद्वान्ले यथायोग्य व्यवहार गरेर अज्ञानीहरूलाई दुःख सागरबाट तार्नको लागि डुँगारूप हुनुपर्दछ । सर्वथा मूर्खको सदृश कर्म गर्न हुँदैन, किन्तु जसमा उनको र आफ्नो उन्नति हुन्छ, त्यसै कर्मलाई गर्न उचित हुन्छ ।
प्रश्न— हामीले कुनै पुस्तकलाई ईश्वरप्रणीत वा सर्वांश सत्य मान्दैनौं किनभने मनुष्यको बुद्धि निर्भ्रान्त हुँदैन, यसैले उनले बनाएका ग्रन्थ सबै भ्रान्त हुन्छन् । यसैले हामी सबैसँगबाट ‘सत्य’ ग्रहण गर्दछौं र ‘असत्य’ लाई छोडिदिन्छौं । चाहे सत्य वेदमा, बाइबलमा, कुरानमा र अन्य कसैको ग्रन्थमा नै किन नहोस्, हामीलाई ग्राह्य छ, असत्य कसैको होइन ।
उत्तर— जुन कुराबाट तिमी सत्यग्राही हुन चाहन्छौ, त्यसै कुराबाट असत्यग्राही पनि ठहरिन्छौ, किनभने जब सबै मनुष्य भ्रान्तिरहित हुन सक्दैन भने त तिमी पनि मनुष्य हुनाले भ्रान्तिसहित भयौ । जब भ्रान्तिसहितको वचन प्रमाण सर्वांशमा हुँदैन भने त तिम्रो वचनको पनि हुँदैन । फेरि तिम्रो वचनमाथि पनि सर्वथा विश्वास गर्न हुँदैन । जब यस्तो छ भने त विषयुक्त अन्नको समान त्यागको योग्य छ । फेरि तिम्रा व्याख्यान पुस्तक बनाएको प्रमाण कसैले गर्न भएन ।
‘चले तो चौबेजी छब्बे बनने को, गाँठ के दो खोकर दुबे बन गये ।’
तिमी सर्वज्ञ होइनौ, जस्तै कि अन्य मनुष्य सर्वज्ञ छैनन् । कदाचित् भ्रमले असत्यलाई ग्रहण गरेर सत्यलाई छोडि पनि दिन्छौ होला । यसैले सर्वज्ञको वचनको सहाय हामी अल्पज्ञलाई अवश्य हुनुपर्दछ । जस्तो कि वेदको व्याख्यानमा लेखेर आएको छु, त्यस्तै तिमीले अवश्य मान्नुपर्दछ । नत्र भने त यतो भ्रष्टः र ततो भ्रष्टः हुन जानु हो ।
जब सर्वसत्य वेदहरूमा प्राप्त हुन्छन्, जसमा असत्य केही पनि छैन, यिनको ग्रहण गर्नमा शङ्का गर्नु आफ्नो र पराई हानिमात्र गर्नु हो । यसै कुराले गर्दा तिमीलाई आर्यावर्त्तीयहरू आफ्नो सम्झदैनन् र तिमी आर्यावर्त्तको उन्नतिको कारण पनि हुन सकेनौ, किनभने तिमी “सबै घरमा भिक्षुक” ठहरियौ । तिमीले सम्झ्यौ कि यस कुराले हामीहरू आफ्नो र पराय उपकार गर्न सक्नेछौं, सो गर्न सक्दैनौ । जस्तै कि कसैका दुइटै आमा-बाउले सबै संसारका छोराहरूलाई पालन गर्न लागे भने, सबैको पालन गर्न त असम्भव छ किन्तु त्यस कुराबाट आफ्नो छोरालाई नष्ट गर्न पुग्दछन्, त्यस्तै तिमीहरूको गति छ ।
भला ! वेदादिकलाई माने बिना तिमी आफ्नो वचनहरूको सत्यता र असत्यताको परीक्षा र आर्यावर्त्तको उन्नति पनि कहिल्यै गर्न सक्दछौ ? जुन देशलाई रोग लागेको छ, त्यसको औषधि तिमीसँग छैन । र यूरोपियनहरू तिम्रो अपेक्षा गर्दैनन् र आर्यहरू तिमीलाई अन्य मतिहरूकै सदृश सम्झन्छन् । अझै पनि सम्झेर वेदादिको मान्यबाट देशोन्नति गर्न लाग्यौ भने त राम्रो हुनेछ ।
जुन तिमीले भन्दछौ कि सबै सत्य परमेश्वरबाटै प्रकाशित हुन्छ, पुनः ऋषिहरूको आत्माहरूमा ईश्वरबाट प्रकाशित भएको सत्यार्थ वेदहरूलाई किन मान्दैनौ ? हो, यही कारण हो कि तिमीहरूले वेद पढेनौ र न त पढ्नको लागि इच्छा गर्दछौ । कसरी तिमीलाई वेदोक्त ज्ञान हुन सक्दछ त ?
६— दोस्रो जगत्को उपादान कारणको बिना जगत्को उत्पत्ति र जीवको पनि उत्पन्न मान्दछौ, जस्तो ईसाई र मुसलमान आदि मान्दछन् । यसको उत्तर सृष्ट्युत्पत्ति र जीवेश्वरको व्याख्यामा हेर्नुहोला । कारणको बिना कार्यको हुन सर्वथा असम्भव र उत्पन्न वस्तुको नाश नहुन पनि त्यस्तै असम्भव छ ।
७— एउटा तिम्रो यो पनि दोष छ, जहाँ पश्चाताप र प्रार्थनाले पापहरूको निवृत्ति हुने कुरा मान्दछौ । यसै कुराबाट जगत्मा धेरै पाप बढ्न गएको छ । किनभने पुराणीहरू तीर्थादि यात्राबाट; जैनीहरू नवकार मन्त्र, जप र तीर्थादिबाट; ईसाईहरू ईसाको विश्वासबाट; मुसलमानहरू ‘तौबाः’ गर्नबाट पाप छुटेर जानु बिना भोगको मान्दछन् । यसले गर्दा पापदेखि भय नभएर पापहरूमा प्रवृत्ति धेरै भैरहेको छ । यस कुरामा ब्राह्म र प्रार्थनासमाजी पनि पुराणी आदिकै समान छन् । यदि वेदहरूलाई मान्थे त बिना भोगको पाप-पुण्यको निवृत्ति नहुनाले पापदेखि डराउँथे र धर्ममा सदा प्रवृत्त रहन्थे । यदि भोगको बिना निवृत्ति मानेमा त ईश्वर अन्यायकारी हुन्छ ।
८— जुन तिमीले जीवको अनन्त उन्नति मान्दछौ, सो कहिल्यै हुन सक्दैन, किनभने ससीम जीवको गुण-कर्म-स्वभावको फल पनि ससीम नै हुन अवश्य छ ।
प्रश्न— परमेश्वर दयालु छ, ससीम कर्महरूको फल अनन्त दिने छ ।
उत्तर— यस्तो गरेमा त परमेश्वरको न्याय नष्ट हुन जान्छ र सत्कर्महरूको उन्नति पनि कसैले गर्नेछैन, किनभने थोरैमात्र पनि सत्कर्महरूको अनन्त फल परमेश्वरले दिनेछ । र प्रश्चाताप वा प्रार्थनाबाट चाहे जतिसुकै होस् छुटेर जानेछन्, यस्तो कुराले धर्मको हानि र पाप-कर्महरूको वृद्धि हुन्छ ।
आर्यसमाजको विषय (११.३६)
प्रश्न— हामी ‘स्वाभाविक’ ज्ञानलाई वेद भन्दा ठूलो मान्दछौ, ‘नैमित्तिक’ लाई होइन । किनभने जुन स्वाभाविक ज्ञान परमेश्वरदत्त हामीमा हुँदैनथ्यो भने त वेदहरूलाई पनि कसरी पढ्न-पढाउन सम्झन-सम्झाउन सक्थ्यौं । यसैले हामीहरूको मत अति राम्रो छ ।
उत्तर— यो तिम्रो कुरो निरर्थक छ । किनभने जुन कसैले दिएको ज्ञान हुन्छ, त्यो स्वाभाविक हुँदैन । जुन स्वाभाविक हुन्छ, त्यो ‘सहज ज्ञान’ हुन्छ र न त त्यो घट-बढ नै हुन्छ । त्यसैले उन्नति कसैले गर्न सक्दैन । किनभने जङ्गली मनुष्यमा पनि स्वाभाविक ज्ञान हुन्छ, किन उनीहरूले आफ्नो उन्नति गर्न सक्दैनन् ? र जुन नैमित्तिक ज्ञान हो, त्यही उन्नतिको कारण हो । हेर ! तिमी हामी बाल्यवस्थामा कर्त्तव्याकर्त्तव्य र धर्माधर्म केही पनि ठीक-ठीक जान्दैनथ्यौं । जब हामीले विद्वान्हरूसँग पढ्यौं, तब नै कर्त्तव्याकर्त्तव्य र धर्माधर्मलाई सम्झन लाग्यौं । यसैले स्वाभाविक ज्ञानलाई सर्वोपरि मान्न ठीक होइन ।
९— जुन तिमीहरूले पूर्व र पुनर्जन्म मानेका छैनौ, त्यो चाहिं ईसाई-मुसलमानहरूबाट लियौ होला । यसको पनि उत्तर पुनर्जन्मको व्याख्याबाट सम्झनु । यति बुझ कि जीव ‘शाश्वत’ अर्थात् नित्य हो र उसको कर्म पनि प्रवाहरूपबाट नित्य छ । कर्म र कर्मवान्को नित्य सम्बन्ध हुन्छ । के त्यो जीव कहीं निकम्मा बसिराखेको थियो ? वा रहने छ ? र परमेश्वर पनि निकम्मा रहने तिम्रो भनाइले देखिन्छ । पूर्वापर जन्म नमान्नाले ‘कृतहानि’ र ‘अकृताभ्यागम’ ‘नैर्घण्य’ र ‘वैषम्य’ दोष पनि ईश्वरमा आउँछन्, किनभने जन्म हुँदैन भने त पाप-पुण्यको फल-भोगको हानि हुन जान्छ । किनभने जुन प्रकारले दोस्रोलाई सुख-दुःख, हानि-लाभ पुर्याइएको हुन्छ, त्यस्तो उसको फल बिना शरीर धारण नगरीकन हुँदैन । दोस्रो— पूर्वजन्मको पाप-पुण्यको बिना सुख-दुःखको प्राप्ति यस जन्ममा कसरी हुन सक्दछ ? यदि पूर्वजन्मको पाप-पुण्यानुसार हुँदैन भने त परमेश्वर अन्यायकारी र बिना भोग गरी नाशकै समान कर्मको फल हुन जान्छ, यसैले यो पनि कुरो तिमीहरूको राम्रो होइन ।
१०— र एक यो कि ईश्वरको बाहेक दिव्य गुणवाला पदार्थहरू र विद्वान्हरूलाई पनि देव नमान्नु ठीक होइन । किनभने परमेश्वर महादेव, र यदि देव हुँदैनथ्यो भने त सबै देवहरूका स्वामी ‘महादेव’ कसरी भनिन्थे ?
११— एक अग्निहोत्रादि परोपकारक कर्महरूलाई कर्तव्य नसम्झनु राम्रो होइन ।
१२— ऋषि-महर्षिले गरेका उपकारहरूलाई नमानेर ईसा आदिको पछि झुक्नु राम्रो होइन ।
१३— र बिना कारण विद्या वेदहरूको, अन्य कार्य विद्याहरूको प्रवृत्ति मान्नु सर्वथा असम्भव छ ।
१४— र जुन विद्याको चिह्न ‘यज्ञोपवीत’ र ‘शिखालाई’ छोडेर मुसलमान-ईसाईहरूको सदृश बनेर बस्नु व्यर्थ छ । जब पतलुन आदि वस्त्र लगाउँछौ र ‘तक्मा’ को इच्छा गर्दछौ भने त के यज्ञोपवीत आदिको धेरै भार हुन गएको थियो ?
१५— र ब्रह्मादेखि लिएर पछि-पछि आर्यावर्तमा थुप्रै विद्वान् भएका छन्, उनीहरूको प्रशंसा नगरेर यूरोपियनको नै स्तुतिमा उत्रिनु, यसलाई पक्षपात र खुशामदको बिना के भन्न सकिन्छ ?
१६— र बीजाङ्कुरकै समान जड-चेतनलाई योगबाट जीवोत्पत्ति मान्नु, उत्पत्तिको पूर्व जीवतत्त्वलाई नमान्नु र उत्पन्नको नाश नमान्नु पूर्वापर विरुद्ध हो । यदि उत्पत्तिको पूर्व चेतन र जड वस्तु थिएन भने त जीव कहाँबाट आए र संयोग कसको भयो ? यदि यी दुइटैलाई सनातन् मान्दछौ भने त ठीक हो परन्तु सृष्टिको पूर्व ईश्वरको बिना दोस्रो कुनै तत्त्वलाई नमान्नु, यो तिम्रो पक्ष व्यर्थ हुन जान्छ ।
यसैले यदि उन्नति गर्न चाहन्छौ भने त ‘आर्यसमाज’ को साथ मिलेर यसको उद्देश्यानुसार आचरण गर्न स्वीकार गर, नत्र भने त केही पनि हातमा लाग्नेछैन, किनभने हामी तपाईंका लागि अति उचित यो हुन्छ कि जुन देशको पदार्थहरूले शरीर बन्यो, अहिले पनि पालन भैरहेको छ, अगाडि पनि हुनेछ, यसको उन्नति तन-मन-धनले सबै जना मिलेर प्रीतिले गरौं । यसै कारण जसरी आर्यसमाज आर्यावर्त देशको उन्नतिको कारण हो, त्यस्तो दोस्रो हुन सक्दैन । यदि यस समाजलाई यथावत उन्नति दिएमा त अति राम्रो कुरो हुनेछ, किनभने समाजको सौभाग्य बढाउने समुदायको काम हो, एउटाको होइन ।
तन्त्रादि विषयक प्रश्नोत्तरहरू (११.३७)
प्रश्न— तपाईंले सबैको खण्डन गर्दै आउनुभएको छ परन्तु आफ्नो-आफ्नो धर्ममा सबै ठीक छन् । खण्डन कसैको गर्नहुँदैन । यदि गर्नुहुन्छ त तपाईंले यिनीहरूका भन्दा विशेष के चाहिं बताउनुहुन्छ ? यदि बताउनुहुन्छ भने त के तपाईं भन्दा अधिक जान्ने वा तुल्य अरू कोही पुरुष थिएनन् ? र न छन् ? यस्तो अभिमान गर्नु तपाईंलाई उचित हुँदैन, किनभने परमात्माको सृष्टिमा एक-एक भन्दा अधिक, तुल्य र न्यून धेरै छन् । कसैले घमण्ड गर्नु उचित हुँदैन ।
उत्तर— धर्म एक हुन्छ कि अनेक ? यदि भन्दछौ कि अनेक हुन्छन् तब त एक-दोस्रासँग विरुद्ध हुन्छन् कि अविरुद्ध ? यदि भन्दछौ कि विरुद्ध हुन्छन् तब त एकको बिना दोस्रो धर्म हुन सक्दैन र यदि भन्दछौ कि अविरुद्ध हुन्छन् तब त पृथक्-पृथक् हुन व्यर्थ छ । त्यसैले धर्म र अधर्म एउटै हो, अनेक होइन, यही मैले विशेष भन्दछु कि जस्तै सबै सम्प्रदायहरूका उपदेशकहरूलाई कोही राजाले एक ठाउँमा जम्मा गराएमा त एक हजार भन्दा थोरै हुँदैनन् होला, परन्तु यिनका मुख्य भाग हेर्यौं भने त पुराणी, किरानी, जैनी र कुरानी चार मात्रै छन्, किनभने यी चारैमा सबै सम्प्रदाय आउँछन् । कुनै राजाले उनीहरूको सभा गराएर त्यसमा कोही एक जना जिज्ञासु बनेर प्रथम वाममार्गीसँग सोधोस्— “हे महाराज ! मैले आजसम्म न कोही गुरु र न त कुनै धर्मलाई ग्रहण गरेको छु, मलाई भन्नुहोस् ! सबै धर्म भन्दा उत्तम धर्म कसको छ ? जसलाई मैले ग्रहण गरूँ ?”
वाममार्गी— हाम्रो छ ।
जिज्ञासु— यी नौ सय उनान्सय कस्ता छन् ?
वाममार्गी— सबै झुट्टा र नरकगामी हुन्, किनभने ‘कौलात्परतरं नहि’ (हेर्नुहोस्-कुलार्णव २/८) हाम्रो धर्मदेखि पर कुनै धर्म छैन ।
जिज्ञासु— तपाईंको धर्म के हो ?
वाममार्गी— भगवतीलाई मान्नु, मद्य-मांसादि पञ्च मकारहरूको सेवन, रुद्रयामल आदि चौसट्ठी तन्त्रहरूलाई मान्नु इत्यादि । यदि तिमीले मुक्तिको इच्छा गर्दछौ भने त हाम्रो चेला बन ।
जिज्ञासु— ल हुन्छ, म अरूको पनि दर्शन गरेर र सोधेर आउँछु । पश्चात् जसलाई चाहन्छु उसैको बन्नेछु ।
वाममार्गी— अरे ! किन भ्रान्तिमा परेका छौ । यिनीहरूले तिमीलाई बहकाएर आफ्नो जालमा फसाउनेछन् । कसैसित नजाऊ । हाम्रै चेला बन, नत्र पछुताउन पर्ला ।
जिज्ञासु— ल तनि हेरेर आउँछु । अगाडि बढेर त्यसरी नै शैवसँग सोध्यो उसले पनि यस्तै उत्तर दियो । यति विशेष भन्यो कि— “बिना शिव, रुद्राक्ष, भस्म धारण र लिङ्गार्चनले मुक्ति कहिल्यै पनि हुँदैन ।” त्यसले उसलाई छोडेर नवीन वेदान्तीहरूसित गयो ।
जिज्ञासु—भन्नुहोस् महाराज ! तपाईंको धर्म के हो ?
वेदान्ती— हामीले धर्माऽधर्म केही पनि मान्दैनौं । हामी साक्षात् ब्रह्म हौं । हामीमा धर्माऽधर्म कहाँ हुन्छ ? यो जगत् सबै मिथ्या हो । यदि ज्ञानी शुद्ध चेतन हुन चाहन्छौ भने त तिमीले पनि आफूलाई ब्रह्म मान, जीवभावलाई छोड, नित्यमुक्त हुनेछौ ।
जिज्ञासु— यदि तिमी ब्रह्म नित्य मुक्त हौ भने त ब्रह्मको गुण-कर्म-स्वभाव तिमीमा किन छैन त ? र शरीरमा किन बाँधिएका छौ ?
वेदान्ती— तिमीलाई शरीर देखिएको छ, त्यसैले तिमी भ्रान्त छौ । हामीलाई केही पनि देखिंदैन बिना ब्रह्मको ।
जिज्ञासु— तिमी देख्नेवाला को र कसलाई देख्दछौ ?
वेदान्ती— देख्नेवाला ब्रह्म र ब्रह्मलाई ब्रह्मले देख्दछ ।
जिज्ञासु— के दुइटा ब्रह्म छन् ?
वेदान्ती— होइन, आफूले आफैलाई देख्दछ ।
जिज्ञासु— के कोही आफ्नो काँधमा आफै चढ्न सक्दछ ? तिम्रो कुरोमा केही दम छैन, यो त बहुलाहपनको कुरो हो ।
त्यसले अगाडि बढेर जैनीहरूसित गएर सोध्यो । उनीहरूले पनि यस्तै भने परन्तु यति विशेष भने कि— “जिण धर्म को बिना सबै धर्म खोटो, जगत्को कर्ता अनादि ईश्वर कोही होइन, जगत् अनादि कालदेखि जस्ताको तस्तै बनिराखेको छ र बनिरहनेछ । आऊ, तिमी हाम्रो चेला बन, किनभने हामी ‘सम्यक्त्वी’ अर्थात् सबै प्रकारबाट ठीक छौ, उत्तम कुरालाई मान्दछौं । जैनमार्गदेखि भिन्न सबै मिथ्यात्वी हुन् ।”
अगाडि बढेर ईसाईसँग सोध्यो । त्यसले वाममार्गीको तुल्य सबै प्रश्न उत्तर गर्यो । यति विशेष बतायो कि— “सबै मनुष्य पापी छन्, आफ्नो सामर्थ्यबाट पाप छुट्दैन । बिना ईसामाथि विश्वासले पवित्र भएर मुक्तिलाई पाउन सक्दैन । ईसाले सबैको प्रायश्चित्तको लागि आफ्नो ज्यान दिएर दया प्रकाशित गेरका छन् । तिमी हाम्रो नै चेला बन ।”
जिज्ञासुले सुनेर मौलवी साहबसित गयो । उनीसित पनि यस्तै प्रश्नोत्तर गर्यो । यति विशेष भने कि— “लाशरीक खुदा, उसका पैगम्बर र कुरानशरीफलाई बिना माने कसैले निजात पाउन सक्दैन । जसले यस मजहबलाई मान्दैन, त्यो दोजखी र काफिर हो, वाजिबुल्कत्ल हो ।”
जिज्ञासुले सुनेर वैष्णवसित गयो । त्यसरी नै संवाद भयो । यति विशेष भन्यो कि— “हाम्रो निधारमा तिलकछाप देखेर यमराज डराउँछ ।” जिज्ञासुले मनमनै सम्झ्यो कि जब लामखुट्टे, माखा, पुलिसका सिपाही, चोर, डाँकू र शत्रु डराउँदैनन् भने त यमराजका गण किन डराउने ?
फेरि अगाडि बढ्दा त सबै मतवालाहरूले आफ्नो-आफ्नोको साँचो भने । कोही हाम्रा कबीर साँचा, कोही हाम्रा नानक साँचा, कोही दादू, कोही वल्लभ, कोही सहजानन्द, कोही माध्व आदिलाई ठूला र अवतार बताउने सुने । हजारौंसित सोधेर, उनीहरूको परस्पर विरोध देखेर, विशेष निश्चय गर्यो, यिनीहरूमा कोही पनि गुरु गराउन योग्य छैन । किनभने एक-एकको झुटमा नौ सय उनान्सय साक्षी बने । जस्तो झुटो दोकान्दार वा वेश्या र भँडुवा आदि आफ्नो-आफ्नो वस्तुको राम्रो र अर्काको नराम्रो गर्दछन्, त्यस्तै यी छन्, यस्तो जान—
तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत् । समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम् ॥१॥
तस्मै स विद्वानुपसन्नाय सम्यक्प्रशान्तचित्ताय शमान्विताय ।
येनाक्षरं पुरुषं वेद सत्यं प्रोवाच तां तत्त्वतो ब्रह्मविद्याम् ॥२॥
—मुण्डकोपनिषद् (मुण्डक १/खण्ड २/मन्त्र १२-१३) ॥
उस सत्यको विज्ञानार्थ त्यो ‘समित्पाणि’ अर्थात् हात जोडेर अरिक्तहस्त भएर वेदवित् ब्रह्मनिष्ठ परमात्मालाई जान्नको लागि गुरुकहाँ जाओस् । यी पाखण्डीहरूको जालमा नपरोस् ॥१॥ जब यस्तो जिज्ञासु विद्वान्कहाँ जान्छ, त्यस शान्तचित्त, जितेन्द्रिय, समीप-प्राप्त जिज्ञासुलाई यथार्थ ब्रह्मविद्याको गुण-कर्म-स्वभावको उपदेश गरोस् र जुन-जुन साधनबाट त्यो श्रोता धर्मार्थ, काम, मोक्ष र परमात्मालाई जान्न सकोस्, त्यस्तो शिक्षा गरोस् ॥२॥
जब यस्तो पुरुषकहाँ गएर भन्यो कि महाराज ! अब यी सम्प्रदायीहरूका बखेडाले मेरो चित्त भ्रान्त भएको छ, किनभने यदि यिनीहरू मध्येमा कुनै एकको चेला बनें भने त नौ सय उनान्सय जनासँग विरोधी हुनुपर्नेछ । जसका नौ सय उनान्सय शत्रु र एक मित्र हुन्छ, त्यसलाई सुख कहिल्यै पनि हुन सक्दैन । यसैले तपाईंले मलाई उपदेश दिनुहोस्, जसलाई मैले ग्रहण गरूँ ।
आप्तविद्वान्— यी सबै मत अविद्याजन्य विद्याविरोधी हुन् । मूर्ख, पामर र जङ्गली मनुष्यहरूलाई बहकाएर आफ्नो जालमा फसाएर आफ्नो प्रयोजन सिद्ध गर्दछन् । ती बिचरा आफ्नो मनुष्य जन्मको फलदेखि रहित भएर आफ्नो मनुष्य जन्म व्यर्थै गुमाउँछन् । हेर ! जुन कुरामा यी सबै जना एक मत हुन्छन्, त्यो वेदमत ग्राह्य छ र जसमा परस्पर विरोध हुन्छ, त्यो कल्पित, झुटो, अधर्म, अग्राह्य हुन्छ ।
जिज्ञासु— यसको परीक्षा कसरी गर्ने ?
आप्तविद्वान्— तिमी गएर यी-यी कुराहरूलाई सोध । सबैको एक सम्मति हुनेछ । तब जिज्ञासुले ती हजार मण्डलीको माझमा उभिएर भन्यो कि— “सबै जनाले सुन्नुहोस् ! सत्यभाषणमा धर्म हुन्छ कि मिथ्यामा ?” सबैले एक स्वर गरेर भने कि “सत्यभाषणमा धर्म र असत्यभाषणमा अधर्म हुन्छ ।” “त्यसै गरी विद्या पढ्न, ब्रह्मचर्य गर्न, पूर्ण युवावस्थामा विवाह, सत्सङ्ग, पुरुषार्थ, सत्य व्यवहार आदिमा धर्म; र अविद्या ग्रहण, ब्रह्मचर्य नगर्ने, व्यभिचार गर्ने, कुसङ्ग, आलस्य, असत्य व्यवहार, छल, कपट, हिंसा, परहानि गर्ने आदि कर्महरूमा ?” सबैले एकमत भएर एकै स्वरमा स्वर मिलाएर भने कि “विद्यादिको ग्रहणमा धर्म र अविद्यादिको ग्रहणमा अधर्म ।” तब जिज्ञासुले सबैसँग भन्यो कि— “तिमीहरू यसै प्रकारले सबै जना एकमत भएर सत्यधर्मको उन्नति र मिथ्यामार्गको हानि किन गर्दैनौ ?” ती सबैले भने— “यदि हामीले यस्तो गर्यौं भने त हामीलाई कसले सोध्ने ? हाम्रा चेलाहरू हाम्रा आज्ञामा रहने छैनन्, जीविका नष्ट हुन जानेछ, फेरि जुन आनन्द हामीले गरेर बसेका छौं, सो हातबाट फुत्कने छ । यसैले हामी जान्दछौ तर पनि आफ्नो-आफ्नो मतको उपदेश र आग्रह गर्दै जान्छौं । किनभने ‘रोटी खाइये शक्कर से और दुनियाँ ठगिये मक्कर से’ यस्तो कुरो छ । हेर ! संसारमा सीधा-सच्चा मनुष्यलाई कसैले सोध्दैन । जसले जे-जति ढोङ्गीबाजी र धूर्तता गर्दछ त्यसैले पदार्थ पाउँछ ।”
जिज्ञासु— जुन तिमीले यस्तो पाखण्ड मत चलाएर अन्य मनुष्यहरूलाई ठग्दछौ, तिमीलाई राजाले दण्ड किन दिंदैन ?
मत-वाला— हामीले राजालाई पनि आफ्नो चेला बनाएका छौं । हामीले पक्का प्रबन्ध गरेका छौं, छुट्ने छैन ।
जिज्ञासु— जब तिमी छलले अन्य मनुष्यहरूलाई ठगेर, उनको हानि गर्दछौ, परमेश्वरको सामुन्ने के उत्तर दिनेछौ ? र घोर नरकमा पर्नेछौ, छोटो जीवनको लागि यति ठूलो अपराध गर्न किन छोड्दैनौ ?
मत-वाला— जे त होला । नरक र परमेश्वरको दण्ड जब होला तब होला, अहिले त आनन्द गर्दछौं । हामीलाई प्रसन्नताले धन दिन्छन्, बलात्कार गरेर लिंदैनौं, फेरि राजाले दण्ड किन दिने ?
जिज्ञासु— जसरी कसैले बालकलाई फुस्लाएर धनादि पदार्थ हर्दछ, जस्तो उसलाई दण्ड मिल्दछ, त्यस्तो तिमीलाई किन मिल्दैन ? किनभने—
अज्ञो भवति वै बालः पिता भवति मन्त्रदः ॥ —मनुस्मृति (अध्याय २/श्लोक १५३) ॥
जो ज्ञानरहित हुन्छ, त्यो ‘बालक’ र जसले ज्ञान दिन्छ, त्यो ‘पिता’ र ‘वृद्ध’ का नामले चिनिन्छ । जो बुद्धिमान् विद्वान् हुन्छ, त्यो त तिम्रो कुरामा फस्दैन, किन्तु अज्ञानी जुन बालकको सदृश हुन्छ, तिनलाई ठग्नाले तिमीलाई राजदण्ड अवश्य हुनुपर्दछ ।
मत-वाला— जब राजा र प्रजा सबै हाम्रो मतमा छन् भने त हामीलाई दण्ड दिनेवाला कुन हुन्छ ? जब यस्तो व्यवस्था हुनेछ तब यी कुराहरूलाई छाडेर अर्को व्यवस्था गर्नेछौं ।
जिज्ञासु— जुन तिमीले बसि-बसि व्यर्थ माल मार्दछौ भने त विद्याभ्यास गरेर गृहस्थहरूका छोरा-छोरीलाई पढाएमा त तिम्रो र गृहस्थहरूको कल्याण हुनेछ ।
मत-वाला— यदि हामीले बाल्यवस्थादेखि लिएर मरणसम्मको सुखलाई छोडिदिने, बाल्यावस्थादेखि युवावस्थासम्म विद्या पढ्नमा, पश्चात् पढाउनमा र उपदेश गर्नमा जन्मभरि परिश्रम गर्नमा, हामीलाई के प्रयोजन ? हामीलाई त यत्तिकैमा लाखौं रुपैयाँ मिल्दछ, चैन गर्दछौं, त्यसलाई किन छोड्ने ?
जिज्ञासु— यसको परिणाम त नराम्रो हुन्छ, हेर ! तिमीलाई ठूलो रोग लाग्नेछ, शीघ्र मर्नेछौ, बुद्धिमान्हरूमा निन्दित हुन्छौ, फेरि पनि किन बुझ्दैनौ ?
मत-वाला— अरे भाइ !
टका धर्मष्टका कर्म टका हि परमं पदम् ।
यस्य गृहे टका नास्ति हा ! टकां टकटकायते ॥१॥
आना अंशकलाः प्रोक्ता रूप्योऽसौ भगवान् स्वयम् ।
अतस्तं सर्वं इच्छन्ति रूप्यं हि गुण्वत्तमम् ॥२॥
तिमी केटा हौ, संसारको कुरो तिमीलाई थाहा छैन, हेर ! पैसाको बिना धर्म, पैसाको बिना कर्म, पैसाको बिना परमपद हुँदैन, जसको घरमा पैसा छैन, त्यो हाय ! पैसा-पैसा गर्दा-गर्दै उत्तम पदार्थहरूलाई टक-टक हेरिराख्दछ कि हाय ! मसँग पैसा हुन्थ्यो भने त उत्तम पदार्थहरूलाई भोग्ने थिएँ ॥१॥ किनभने सबैले सोह्र कलायुक्त अदृश्य भगवान्को कथन-श्रवण गर्दछन्, सो त देखिंदैन, परन्तु सोह्र आना र पैसा कौडीरूप अंश कलायुक्त जुन रुपैयाँ हो, त्यही साक्षात् भगवान् हो । त्यसैले सबै जना रुपैयाँको खोजिमा लागेका छन्, किनभने सबैका काम रुपैयाँबाटै सिद्ध हुन्छन् ॥२॥
जिज्ञासु— ठीक छ, तिमीभित्रको लीला बल्ल बाहिर निस्कियो । तिमीले जति यो पाखण्ड खडा गरेका छौ, त्यो सबै आफ्नो सुखको लागि गरेका हौ, परन्तु यसबाट जगत्को नाश हुन्छ । किनभने जसरी सत्योपदेशबाट संसारलाई लाभ पुग्दछ, त्यसरी नै असत्योपदेशबाट हानि पुग्दछ । जब तिमीलाई धनको नै प्रयोजन थियो भने त नोकरी व्यापार गरेर धन किन कमाउँदैनौ ?
मत-वाला— त्यसमा परिश्रम र हानि पनि हुन्छ, परन्तु यसमा हानि कहिल्यै हुँदैन, लाभैलाभ हुन्छ । हेर ! तुलसी चरणामृत दिएर, कण्ठी बाँधेर, चेला मुडेर, जन्मभरिको पशु हुन जान्छ, चाहे जस्तै बोझ लादौं ।
जिज्ञासु— यी मान्छेहरू तिमीलाई थुप्रै धन केका लागि दिन्छन् ?
मत-वााला— धर्म, स्वर्ग र मुक्तिको अर्थ ।
जिज्ञासु— जब तिमी नै मुक्त छैनौ, न त मुक्तिको स्वरूप वा साधनलाई जान्दछौ भने त तिम्रो सेवा गर्नेहरूलाई के मिल्नेछ ?
मत-वाला— के यस लोकमा मिल्दछ ? मिल्दैन; किन्तु परलोकमा मिल्दछ । जति यी मान्छेहरूले हामीलाई दिन्छन् वा सेवा गर्दछन्, त्यो सबै मरेपछाडि यिनीहरूलाई मिल्दछ ।
जिज्ञासु— यिनीहरूले दिएको त पाउँछन् कि पाउँदैनन्, तिमी लिनेवालालाई के मिल्छ ? नरक वा अन्य केही ?
मत-वाला— हामीले भजन गर्दछौं । यसको सुख हामीलाई मिल्नेछ ।
जिज्ञासु— तिम्रो भजन त पैसाकै लागि हो । त्यो सबै पैसा यहीं रहनेछ, र जुन मांसपिण्डलाई यहाँ पाल्दछौ, त्यो भस्म हुनेछ । यदि तिमीले ईश्वरको भजन गर्दथ्यौ भने त तिम्रो आत्मा पनि पवित्र हुने थियो ।
मत-वाला— के हामी अशुद्ध छौं ?
जिज्ञासु— भित्रका बडो मैला छौ ।
मत-वाला— तिमीले कसरी जान्यौ ?
जिज्ञासु— तिम्रो चाल-चलनबाट ।
मत-वाला— महात्माहरूका व्यवहार हात्तीकै दाँतको समान हुन्छ । जसरी हात्तीको दाँत खानको लागि भिन्नै र देखाउनको लागि भिन्नै, त्यसरी नै भित्रबाट हामी पवित्र छौं बाहिरबाट लीलामात्र गर्दछौं ।
जिज्ञासु— यदि तिमी भित्रबाट शुद्ध हुन्थ्यौ भने त बाहिरको काम पनि शुद्ध हुन्थ्यो, त्यसैले भित्रबाट पनि मैला छौ ।
मत-वाला— हामी चाहे जस्तासुकै हौं परन्तु हाम्रा चेला त ठीक छन् ।
जिज्ञासु— जस्ता तिमी गुरु छौ, त्यस्तै तिम्रा चेला पनि होलान् ।
मत-वाला— एकमत कहिल्यै हुन सक्दैन, किनभने मनुष्यको गुण-कर्म-स्वभाव भिन्न-भिन्न हुन्छ ।
जिज्ञासु— यदि बाल्यवस्थामा एक समान शिक्षा दिइन्छ, सत्यभाषणादि धर्मको ग्रहण र मिथ्याभाषणादि अधर्मको त्याग गरेमा त एकमत अवश्य हुन सकिन्छ । र दुई मत अर्थात् धर्मात्मा र अधर्मात्मा सदा रहन्छन्, तिनीहरू रहून् । परन्तु धर्मात्मा अधिक हुनाले र अधर्मी न्यून हुनाले संसारमा सुख बढ्दछ र जब अधर्मी अधिक हुन जान्छन् तब दुःख बढ्दछ । जब सबै विद्वान्हरूले एकैखाले उपदेश गरेमा त एकमत हुनमा कत्ति पनि विलम्ब हुँदैन ।
मत-वाला— आजभोलि ‘कलियुग’ छ, सत्ययुगको कुरा नगर ।
जिज्ञासु— ‘कलियुग’ नाम कालको हो । काल निष्क्रिय हुनाले केही धर्मार्थ गर्नको लागि साधक-बाधक हुँदैन, तिमीहरू नै कलियुगका मूर्तिहरू बनिरहेका छौ । यदि मनुष्य नै सत्ययुग-कलियुग हुँदैन भने त कोही पनि संसारमा धर्मात्मा हुन्थेनन् । यी सबै सङ्गको गुण-दोष हो, स्वाभाविक होइन ।
यति भनेर आप्तसँग गयो । उनीसँग भन्यो कि महाराज ! तिमीले मेरो उद्धार गर्यौ, नत्र भने त म पनि कसैको जालमा फसेर नष्ट हुन जान्थें, अब मैले पनि यी पाखण्डीहरूको खण्डन र वेदोक्त सत्य-मतको मण्डन गर्नेछु ।
आप्त— यही नै सबै मनुष्यहरूको, विशेष गरेर विद्वान् र संन्यासीहरूको काम हो कि मनुष्यलाई सत्यको मण्डन र असत्यको खण्डन पढाउने-सुनाउने गरेर सत्योपदेशबाट उपकार पुर्याउनु पर्दछ ।
ब्रह्मचारी एवं संन्यासीको समीक्षा (११.३८)
प्रश्न— ‘ब्रह्मचारी’, ‘संन्यासी’ त ठीक छन् ?
उत्तर— यी आश्रम त ठीक हुन् । परन्तु आजभोलि यिनमा पनि धेरै गडबडी चलेको छ । कतिले नाम ‘ब्रह्माचरी’ राखेर, जटा बढाएर झुट-मुट सिद्धाई गर्दछन्, जप पुरश्चरणादिमा फसिराख्दछन्, विद्या पढ्नको लागि नाम पनि लिंदैनन् कि जुन हेतुबाट ‘ब्रह्मचारी’ नाम हुन्छ, त्यस ‘ब्रह्म’ अर्थात् वेद पढ्नमा कत्ति पनि परिश्रम गर्दैनन् । ती ‘ब्रह्मचारी’ बाख्राको घाँटीमा झुण्डिएका लुर्कानजस्तै निरर्थक हुन् । र जो त्यस्ता ‘संन्यासी’— विद्याहीन, दण्ड लिएर, भिक्षा माग्दै फिर्दछन्, कत्ति पनि वेदमार्गको उन्नति गर्दैनन्, सानै अवस्थामा संन्यास लिएर घुम्दछन्, विद्याभ्यासलाई छोडिदिन्छन् । यस्ता ब्रह्मचारी र संन्यासी यता-उता जल, स्थल, पाषाणादि मूर्तिहरूको दर्शन, पूजन गर्दै-फिर्दै, विद्या जानेर पनि मौन रहन्छन्, एकान्त देशमा यथेष्ट खाएर-पिएर सुतिराख्दछन्, र ईर्ष्या-द्वेषमा फसेर निन्दा-कुचेष्टा गर्दै निर्वाह गर्दछन्, काषाय वस्त्र र दण्ड-ग्रहणमात्रले आफूलाई कृतकृत्य सम्झन्छन्, आफूलाई सर्वोत्कृष्ट जानेर उत्तम काम गर्दैनन्, यस्ता ‘संन्यासी’ पनि जगत्मा व्यर्थै वास गर्दछन् । र जसले सब जगत्को हित साध्छन्, ती ठीक छन् ।
प्रश्न— गिरी, पुरी, भारती, आदि गोसांईहरू त ठीक छन् ! किनभने मण्डली बाँधेर यता-उता घुम्दछन्, सयकडौं साधुहरूलाई आनन्द गराउँछन्, सर्वत्र अद्वैतमतको उपदेश गर्दछन्, र कतिले त पढ्ने-पढाउने पनि गर्दछन् यसैले तिनीहरू राम्रा छन् होला ।
उत्तर— यी सबै दश नाम पछिबाट कल्पित गरिएका हुन्, सनातन होइनन् । यिनका मण्डलीहरू केवल भोजनार्थी हुन् । थुप्रै साधुहरू भोजनको लागि नै मण्डलीहरूमा रहन्छन् । दम्भी पनि हुन्छन्, किनभने एउटालाई महन्त बनाएर, सायङ्कालमा एक महन्त जुन कि तिनीहरूमा प्रधान हुन्छ, त्यो गद्दीमा बस्दछ । सबै ब्राह्मण र साधु उभिएर हातमा पुष्प लिंदै—
नारायणं पद्मभवं वसिष्ठं शक्तिं च तत्पुत्रपराशरं च । व्यासं शुकं गौडपदं महान्तम् ॥
—हेर्नुहोस् पुष्पाञ्जलि ॥
इत्यादि श्लोक पढेर हर-हर भन्दै, त्यसमाथि पुष्प वर्षा गर्दै, साष्टाङ्ग नमस्कार गर्दछन् । जो कसैले यस्तो गर्दैन, उसलाई त्यहाँ रहँन पनि कठिन हुन्छ । यो दम्भ संसारलाई देखाउनको लागि गर्दछन्, जसबाट जगत्मा प्रतिष्ठा भएर माल मिलोस् ।
कति मठधारी त गृस्थ भएर पनि संन्यासको अभिमान मात्र गर्दछन्, कर्म केही पनि गर्दैनन् । संन्यासको त्यही कर्म हो, जुन पाँचौं समुल्लासमा विस्तारसँग लेखेर आएँ, त्यसलाई नगरेर व्यर्थै समय गवाउँछन् । यदि कसैले राम्रो उपदेश गरेमा पनि विरोधी हुन्छन् । बहुधा यिनीहरू भस्म, रुद्राक्ष धारण गर्दछन् र कसै-कसैले शैव तथा वैष्णव सम्प्रदायको अभिमान राख्दछन् र जब कहिलेकाहिं शास्त्रार्थ चल्दछ भने, तब त आफ्नो मतको अर्थात् शङ्कराचार्योक्तको स्थापन र चक्राङ्कित आदिको खण्डनमा प्रवृत्त रहन्छन् । वेदमार्गको उन्नति र यावत्पाखण्ड मार्ग जति छन् तावत्को खण्डनमा प्रवृत्त हुँदैनन् । यी संन्यासीहरूले यस्तो सम्झन्छन् कि हामीलाई खण्डन-मण्डनसित के प्रयोजन ? हामी त महात्मा हौं, यस्ता जनहरू पनि संसारमा भाररूप नै हुन् ।
जब यस्ता हुनाले, तब नै वेदमार्गविरोधी वाममार्गादि सम्प्रदायी, ईसाई, मुसलमान, जैनी आदि बढ्न पुगे, अहिले पनि बढिराखेका छन् र यिनको नाश हुँदै गैरहेको छ तापनि यिनका आँखा खुल्दैन ! खुलोस् पनि कहाँबाट ? जे-जति उनका मनमा परोपकार-बुद्धि र कर्तव्यकर्म गर्नमा उत्साह हुन्थ्यो ! किन्तु यिनीहरू आफ्नो प्रतिष्ठा खान-पिउनको सामुन्ने अन्य अधिक केही सम्झदैनन् र संसारको निन्दादेखि अति डराउँछन् । पुनः (लोकैषणा) अर्थात् लोकमा प्रतिष्ठा, (वित्तैषणा) धन बढाउनमा तत्पर हुँदै विषयभोग, (पुत्रैषणा) पुत्रवत् शिष्यमाथि मोहित हुनु, यी तीन एषणाहरूलाई त्याग गर्न उचित छ । जब एषणा नै छुट्दैन भने, पुनः संन्यास कसरी हुन सक्दछ ? अर्थात् पक्षपातरहित वेदमार्गोपदेशबाट जगत्को कल्याण गर्नमा अहर्निश प्रवृत्त रहनु संन्यासीहरूको मुख्य काम हो । जब आफ्नो-आफ्नो अधिकारको कर्महरूलाई गर्दैनन् भने, पुनः संन्यासादि नाम धारण गर्नु व्यर्थ छ । नत्र त जसरी गृहस्थ व्यवहार, स्वार्थमा परिश्रम गर्दछन्, संन्यासी पनि भए किन्तु जसले उनीहरू भन्दा अधिक परिश्रम परोपकार गर्नमा तत्पर रहन्छ, तब नै सबै आश्रम उन्नतिमा रहन्छन् ।
हेर ! तिम्रो सामुन्ने पाखण्ड-मत बढ्दै गएका छन् । ईसाई-मुसलमानसम्म बनिराखेका छन् । तिमीबाट आफ्नो घरको रक्षा र अर्कालाई मिलाउन बन्न सक्दैन । तब नै बन्छ, जब तिमीले पनि गर्न चाहन्छौ ! जबसम्म वर्तमान र भविष्यत्मा संन्यासी उन्नतिशील हुँदैनन्, तबसम्म आर्यावर्त र अन्य देशस्थ मनुष्यहरूको वृद्धि हुँदैन । जब वृद्धिको कारण वेदादि शास्त्रहरूको पठन-पाठन, ब्रह्मचर्यादि आश्रमहरूको यथावत् अनुष्ठान, सत्योपदेश हुन्छन्, तब नै देशोन्नति हुने गर्दछ ।
चेत राख ! थुप्रै पाखण्डका कुराहरू तिमीलाई साँचो लाग्न सक्दछ । जसरी कोही साधु वा दोकान्दारले पुत्र प्राप्त गराइदिने सिद्धि बताउँछन् तब त्यसकहाँ थुप्रै स्त्रीहरू जान्छन्, सबैले पुत्र माग्दछन्, र बाबाजीले सबैलाई पुत्र हुने आशीर्वाद दिन्छ । ती मध्येमा जस-जसलाई पुत्र हुन्छ तिनीहरूले सम्झन्छन् कि बाबाजीको वचनले भयो । जब तिनीहरूसँग कसैले सोधोस् कि सुँगुर्नी, कुकुर्नी, गधीनी र कुखुरी आदि पशु र पक्षीहरूका कच्चा-बच्चा कुन बाबाजीको वरले हुने गर्दछन् ? तब केही पनि उत्तर दिन सक्ने छैनन् ! जो कसैले भन्दछ कि छोरालाई जीउँदै राख्न सक्दछु त आफै किन मरेर जान्छ ?
कति धूर्तहरूले त यस्तो माया रच्दछन कि ठूला-ठूला बुद्धिमानीहरू पनि धोका खान पुग्दछन्, जस्तै धनसारीका ठग । यिनीहरू पाँच-सात जना मिलेर अनि टाढा-टाढा देशमा जान्छन् । जुन चाहिं शरीरले डिलडालमा राम्रो देखिन्छ, त्यसैलाई सिद्ध बनाउँछन् । जुन नगर वा ग्राममा धनाढ्य हुन्छन्, त्यसको समीप जङ्गलमा त्यो सिद्धलाई बसाउँछन् । उसका साधक नगरमा गएर अञ्जान बन्दै जो कसैसँग सोध्छन्— “तिमीले यस्ता महात्मालाई यहाँ कतै देख्यौ ?” त्यो महात्मा को हो र कस्तो छ ?
साधक— बडो सिद्ध पुरुष छन् । मनको कुरो बताइदिन्छन् । जे मुखले भन्छन्, त्यो भएरै छाड्छ । ठूलो योगीराज हुन् । उनको दर्शनको लागि हामीले आफ्नो घर-द्वार छोडेर खोज्दैछौं । मैले कसैसँगबाट सुनेको थिएँ कि ती महात्मा यतैतिर आएका छन् ।
गृहस्थ— जब ती महात्मा तिमीलाई मिले भने त हामीलाई पनि बताइदिनु, दर्शन गरेर मनको कुरो सोध्नेछौं ।
यसै प्रकार दिनभरी नगरमा फिर्दै र प्रत्येकलाई त्यस सिद्धको कुरो भनेर रात्रिमा जम्मा भएर सिद्ध-साधक बन्दै खाने-पिउने र सुत्ने गर्दछन् । फेरि पनि प्रातःकाल नगर वा ग्राममा गएर त्यसै प्रकारले दुई-तीन दिन भन्दै फेरि चारै साधकले कुनै एक-एक धनाढ्यसँग भन्दछन् कि— “ती महात्मा मिलेका छन् । तिमीलाई दर्शन गर्ने इच्छा भएमा हिंड ।” ती जब तयार हुन्छन् तब साधकले उनीहरूसँग सोध्छन् कि तिमीले के कुरा सोध्न चाहन्छौ ? हामीलाई भन । कसैले पुत्रको इच्छा गर्दछ, कसैले धनको, कसैले रोग निवारणको र कसैले शत्रुलाई जित्नको लागि । उनीहरूलाई साधकले लैजान्छन् ।
सिद्ध-साधकहरूले जस्तो संकेत गरेका हुन्छन् अर्थात् जसलाई धनको इच्छा छ उसको दाहिनेतिर, जसलाई पुत्रको इच्छा छ उसलाई सम्मुख, जसलाई रोग निवारणको इच्छा छ उसलाई बायाँतिर, र जसको शत्रुलाई जित्ने इच्छा छ उसलाई पछाडितिरबाट लगेर सामुन्नेवालाको माझमा बसाउँछन् । जब नमस्कार गर्दछन्, उसै समयमा त्यो सिद्ध उनीहरूसँग बोल्दछ कि— “हामीसँग पुत्र राखेका छैनौं, जुन तिमी पुत्रको इच्छा गरेर हामीकहाँ आयौ ?” यसै प्रकार धनवालालाई “तिमी धनको इच्छा गरेर आयौ ? फकिरहरूसँग धन कहाँ राखिएको हुन्छ ?” रोगवालासँग— “तिमी रोग छुटाउनको आशाले आयौ ? हामी वैद्य होइनौं, जाऊ कुनै वैद्यकहाँ ।”
परन्तु जब त्यसको पिता रोगी छ भने त उसका साधक बूढी औंलो, आमा रोगी भएमा त चोर औंलो, भाइ रोगी भएमा त माझी औंलो, स्त्री रोगी भएमा त काइँली औंलो, कन्या रोगी भएमा त कान्छी औंलो चलाएर देखाइदिन्छन् । त्यसलाई देखेर त्यो सिद्धले भन्दछ कि तिम्रो पिता रोगी छ, तिम्री आमा बिरामी छन्, तिम्रो भाइ, तिम्रो स्त्री र तिम्रो छोरी रोगी छन् । तब त ती चारै जना मोहित हुन जान्छन् । साधकहरूले उनीहरूलाई भन्दछन्, हेर ! हामीले जस्तो भनेका थियौं त्यस्तै रहेछन् कि रहेनछन् त ?
गृहस्थले भन्दछन्— हो, जस्तो सुनेका थियौं त्यस्तै रहेछन् । तिमीले बडो उपकार गर्यौ र हाम्रो ठूलो भाग्य रहेछ कि, यस्ता महाराजको दर्शन मिल्यो ।
साधकहरूले भन्दछन् कि यी महात्मा यहाँ धेरै दिन बस्दैनन् । जे-जति आशीर्वाद लिनु छ राम्रोसँग सेवा गर ।
ती गृहस्थहरू प्रशंसा गर्दै घरतिर लाग्दछन् । साधक पनि उनका साथैमा जान्छन्, किनभने मार्गमा कसैले उनीहरूको पाखण्डको पोल नखोलिदिऊन् । ती धनाढ्यहरूको कोही आफ्ना मित्र मिल्दा पनि त्यसको प्रशंसा सुनाउँछन् । यसै प्रकार जो-जो साधकहरूसँग जान्छन् तिनीहरूका वृत्तान्त सबै बताइदिन्छन् ।
जब नगरमा हल्ला हुन्छ तब थुप्रै मनुष्यको जमात गएर सोधे कि महाराज ! मेरो मनको वृत्तान्त भनिदिनुहोस्, तब सिद्धजी चुपचाप हुन्छ र भन्दछ कि मलाई दिक्क नपार । उसका साधकले पनि सबैसँग भन्न लाग्दछन्— “यदि तिमीले धेरै दिक्क पार्यौ भने त छोडेर जानेछन् ।” ती मध्येमा सबै भन्दा ठूलो जो हुन्छ त्यसले साधकलाई बोलाएर सोध्न लगाउँछन् कि “मेरो मनको कुरा भनेमा मात्र मैले मान्नेछु ।” साधकले सोध्यो “के कुरा हो ?” धनाढ्यले बतायो । त्यसलाई उसै प्रकारको संकेतले लगेर बसाए । उसले तुरुन्तै भनिदियो । कुरो तुरुन्तै भिडमा फैलियो र सबै सम्झे कि अहो ! बडो सिद्ध पुरुष रहेछ । कोहीले मिठाई, कोहीले पैसा, कोहीले रुपैयाँ, कोहीले अशर्फी, कोहीले लुगा र कोहीले सिधा-सामाग्री दिन थाले । फेरि जबसम्म मानिराखे तबसम्म लुट्दैराखे र कुनै ‘आँखाको अन्धो गाँठको पूरा’ लाई पुत्र हुने आशीर्वाद दिएर हजारौं रुपैयाँ लिएर भन्यो कि तिम्रो साँचो भक्ति भयो भने त पुत्र हुनेछ ।
यस प्रकारका धेरै ठग हुन्छन्, जसको विद्वान्ले मात्रै परीक्षा गर्न सक्दछ अरू कसैले पनि सक्दैनन् । त्यसैले वेदादि विद्या पढ्नु, सत्सङ्ग गर्नुपर्दछ जसबाट कसैले उसलाई ठगाइमा फसाउन नसकोस्, अरूलाई पनि बचाउन सकोस् । किनभने मनुष्यको आँखा भनेको विद्या नै हो । बिना विद्या शिक्षाले ज्ञान हुँदैन । जसले बाल्यावस्थादेखि नै उत्तम शिक्षा पाउँछ, त्यही मनुष्य विद्वान् हुन्छ । जो कुसङ्गी हुन्छन्, ती दुष्ट, पापी, महामूर्ख भएर बडो दुःख पाउँछन् । त्यसैले ज्ञानलाई विशेष भनिएको छ कि जसले जान्दछ, त्यसैलाई मान्दछन् ।
न वेत्ति यो यस्य गुणप्रकर्षं स तस्य निन्दां सततं करोति ।
यथा किराती करिकुम्भजाता मुक्ताः परित्यज्य विभर्ति गुञ्जाः ॥
—चाणक्यनीति (अध्याय ११/श्लोक ८) ॥
यो कुनै कविको श्लोक हो । जसले कसैको गुणलाई चिन्दैन, त्यसले उसको निरन्तर निन्दामात्रै गर्दछ, जसरी जङ्गली भीलले गजमुक्ताहरूलाई छोडेर गुञ्जाको हार पहिरन्छ, त्यसरी नै जो पुरुष विद्वान्, ज्ञानी, धार्मिक, सत्पुरुषहरूको सङ्गी, योगी, पुरुषार्थी, जितेन्द्रिय, सुशील हुन्छ, त्यही धर्मार्थ, काम, मोक्षलाई प्राप्त गरेर यस जन्म र परजन्ममा सदा आनन्दले रहन्छ ।
यहाँ आर्यावर्तनिवासी मान्छेहरूका मतको विषयमा संक्षेपबाट लेखियो । यसको अगाडि जुन थोरै मात्र आर्यराजाहरूको इतिहास फेला परेको छ, त्यसलाई सबै सज्जनहरूको जानकारीको लागि यहाँ प्रकाशित गरिएको छ ।
अब थोरै आर्यावर्त्तीय राजवंशको जसमा श्रीमान् महाराजा ‘युधिष्ठिर’ देखि लिएर महाराजा ‘यशपाल’ सम्मको इतिहास लेख्दछु । र श्रीमान् महाराजा ‘स्वायंभुव मनुजी’ देखि लिएर महाराज ‘युधिष्ठिर’ सम्मको इतिहास महाभारतादिमा लेखिएको नै छ र यसबाट सबै सज्जनहरूले त्यहाँ भन्दा यताको केही इतिहासको वर्तमान विदित हुनेछ ।
यद्यपि यो विषय “विद्यार्थी सम्मिलित ‘हरिश्चन्द्रचन्द्रिका’ र ‘मोहनचन्द्रिका” जुन कि पाक्षिकपत्र श्री ‘नाथद्वारे’ बाट निस्किएको थियो । जुन राजपूताना देश मेवाड राज उदयपुर चित्तौडगढ सबैलाई विदित छ, यो त्यसबाट मैले अनुवाद गरेको हुँ । यदि यसरी नै हाम्रा आर्य सज्जनहरूले इतिहास र विद्या-पुस्तकहरूको खोज गरेर प्रकाश गरेमा त देशलाई ठूलो लाभ हुनेछ । उस पत्र सम्पादकले— आफ्नो मित्रबाट एक प्राचीन पुस्तक जुन कि विक्रम संवत् १७८२ (सत्र सय बयासी) मा लेखिएको थियो, त्यसबाट उक्त पत्रका सम्पादक महाशयले ग्रहण गरेर विक्रम संवत् १९३९ मार्गशीर्ष शुक्ल र कृष्णपक्ष १९-२० किरण अर्थात् आफ्ना दुई पाक्षिक पत्रहरूमा छापेका छन् । सो निम्न लिखित प्रमाण जान्नुहोस् ।
आर्यावर्त्तदेशीय राजवंशावली (११.३९)
इन्द्रप्रस्थमा आर्यहरूले श्रीमन्महाराज ‘यशपाल’ पर्यन्त राज्य गरे । जसमा श्रीमन्महाराज ‘युधिष्ठिर’ देखि महाराज ‘यशपाल’ सम्मको वंश अर्थात् पुस्ता अनुमान १२४ (एक सय चौबीस), वर्ष ४१५७, महिना ९, दिन १४ समय भएको छ । यसको विवरण—
राजा शक वर्ष महिना दिन
आर्यराजा १२४ ४१५७ ९ १४
श्रीमान्महाराज युधिष्ठिरादि वंश अनुमान पिंढी ३०, वर्ष १७७०, महिना ११, दिन २२ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. राजा युधिष्ठिर ३६ ८ २५
२. राजा परीक्षित ६० ० ०
३. राजा जनमेजय ८४ ७ २३
४. राजा अश्वमेध ८२ ८ २२
५. द्वितीयराम ८८ २ ८
६. छत्रमल ८१ ११ २७
७. चित्ररथ ७५ ३ १८
८. दुष्टशैल्य ७५ १० २४
९. राजा उग्रसेन ७८ ७ २१
१०. राजा शूरसेन ७८ ७ २१
११. भुवनपति ६९ ५ ५
१२. रणजीत ६५ १० ४
१३. ऋक्षक ६४ ७ ४
१४. सुखदेव ६२ ० २४
१५. नरहरिदेव ५१ १० २
१६. सुचिरथ ४२ ११ २
१७. शूरसेन (दोस्रो) ५८ १० ८
१८. पर्वतसेन ५५ ८ १०
१९. मेधावी ५२ १० १०
२०. सोनचीर ५० ८ २१
२१. भीमदेव ४७ ९ २०
२२. नृहरिदेव ४५ ११ २३
२३. पूर्णमल ४४ ८ ७
२४. करदवी ४४ १० ८
२५. अलंमिक ५० ११ ८
२६. उदयपाल ३८ ९ ०
२७. दुवनमल ४० १० २६
२८. दमात ३२ ० ०
२९. भीमपाल ५८ ५ ८
३०. क्षेमक ४८ ११ ११
राजा क्षेमकका प्रधान विश्रवाले क्षेमक राजालाई मारेर राज्य गरे । पिंढी १४, वर्ष ५००, महिना ३, दिन १६ यिनको विस्तार—
आर्याराजा वर्ष महिना दिन
१. विश्रवा १७ ३ २९
२. पुरसेनी ४२ ८ २१
३. वीरसेनी ५२ १० ७
४. अनङ्गशायी ४७ ८ २३
५. हरिजित ३५ ९ १७
६. परमसेनी ४४ २ २३
७. सुखपाताल ३० २ २१
८. कद्रुत ४२ ९ २४
९. सज्ज ३२ २ १४
१०. अमरचूड २७ ३ १६
११. अमीपाल २२ ११ २५
१२. दशरथ २५ ४ १२
१३. वीरसाल ३१ ८ ११
१४. वीरसालसेन ४७ ० १४
राजा वीरसालसेनलाई वीर महा प्रधानले मारेर राज्य गरे । वंश १६, वर्ष ४४५, महिना ५, दिन ३ यिनको विस्तार—
आर्याराजा वर्ष महिना दिन
१. राजा वीरमहा ३५ १० ८
२. अजितसिंह २७ ७ १९
३. सर्वदत्त २८ ३ १०
४. भुवनपति १५ ४ १०
५. वीरसेन २१ २ १३
६. महीपाल ४० ८ ७
७. शत्रुसाल २६ ४ ३
८. संघराज १७ २ १०
९. तेजपाल २८ ११ १०
१०. माणिकचन्द ३७ ७ २१
११. कामसेनी ४२ ५ १०
१२. शत्रुमर्दन ८ ११ १३
१३. जीवनलोक २८ ९ १७
१४. हरिराव २६ १० २९
१५. वीरसेन (दोस्रो) ३५ २ २०
१६. आदित्यकेतु २३ ११ १३
राजा आदित्यकेतु मगधदेशका राजालाई ‘धन्धर’ नामक राजा प्रयागकाले मारेर राज्य गरे । वंश पिंढी ९, वर्ष ३७४, महिना ११, दिन २६ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. राजा धन्धर ४२ ७ २४
२. महर्षी ४१ २ २९
३. सनरच्ची ५० १० १९
४. महायुद्ध २० ३ ८
५. दुरनाथ २८ ५ २५
६. जीवनराज ४५ २ ५
७. रूद्रसेन ४७ ४ २८
८. आरीलक ५२ १० ८
९. राजपाल ३६ ० ०
राजा राजपाललाई सामन्त महानपालले मारेर राज्य गरे । पिंढी १, वर्ष १४, महिना ०, दिन ०, यिनको विस्तार छैन ।
राजा महानपालको राज्यमा राजा विक्रमादित्यले ‘अवन्तिका’ (उज्जैन) बाट आक्रमण गरेर राजा महानपाललाई मारेर राज्य गरे । पिंढी १, वर्ष ९३, महिना ०, दिन ०, यिनको विस्तार छैन ।
राजा विक्रमादित्यलाई शालिवाहनका उमराव समुद्रपाल योगी पैठणकाले मारेर राज्य गरे । पिंढी १६, वर्ष ३७२, महिना ४, दिन १७ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. समुद्रपाल ५४ २ २०
२. चन्द्रपाल ३६ ५ ४
३. सहायपाल ११ ४ ११
४. देवपाल २७ १ २८
५. नरसिंहपाल १८ ० २०
६. सामपाल २७ १ १७
७. रघुपाल २२ ३ २५
८. गोविन्दपाल २७ १ १७
९. अमृतपाल ३६ १० १३
१०. बलीपाल १२ ५ २७
११. महीपाल १३ ८ ४
१२. हरीपाल १४ ८ ४
१३. सीसपाल ११ १० १३
१४. मदनपाल १७ १० १९
१५. कर्मपाल १६ २ २
१६. विक्रमपाल २४ ११ १३
राजा विक्रमपालले पश्चिम दिशाको राजा (मलुखचन्द बोहरा थियो) यी माथि आक्रमण गरेर मैदानमा लडाईं गरे, त्यस लडाईंमा मलुखचन्दले विक्रमपाललाई मारेर इन्द्रप्रस्थको राज्य गरे । पिंढी १०, वर्ष १९१, महिना १, दिन १६ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. मलुखचन्द ५४ २ १०
२. विक्रमचन्द १२ ७ १२
३. अमीनचन्द १० ० ५
४. रामचन्द १३ ११ ८
५. हरिचन्द २४ ९ २४
६. कल्याणचन्द १० ५ ४
७. भीमचन्द १६ २ ९
८. लोवचन्द २६ ३ २२
९. गोविन्दचन्द ३१ ७ १२
१०.रानीपद्ममावती १ ० ०
रानी पद्मावती मरिन् । यिनको पुत्र पनि कोही थिएन । यसैले सबै मुत्सद्दीहरूले सल्लाह गरेर हरिप्रेम वैरागीलाई गद्दीमा बसालेर मुत्सद्दी राज्य गर्न लागे । पिंढी ४, वर्ष ५०, महिना ०, दिन २१ हरिप्रेमको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. हरिप्रेम ७ ५ १६
२. गोविन्दप्रेम २० २ ८
३. गोपालप्रेम १५ ७ २८
४. महाबाहु ६ ८ २९
राजा महाबाहुले राज्य छोडेर वनमा तपश्चर्या गर्नको लागि गए, यो कुरो बङ्गालको राजा आधीसेनले सुनेर इन्द्रप्रस्थमा आएर आफैले राज्य गर्न थाले । पिंढी १२, वर्ष १५१, महिना ११, दिन २ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. राजा आधीसेन १८ ५ २१
२. विलावलसेन १२ ४ २
३. केशवसेन १५ ७ १२
४. माधसेन १२ ४ २
५. मयूरसेन २० ११ २७
६. भीमसेन ५ १० ९
७. कल्याणसेन ४ ८ २१
८. हरीसेन १२ ० २५
९. क्षेमसेन ८ ११ १५
१०. नारायणसेन २ २ २९
११. लक्ष्मीसेन २६ १० ०
१२. दामोदरसेन ११ ५ १९
राजा दामोदरसेनले आफ्नो उमरावलाई असाध्यै दुःख दिए, यसैले राजाका उमराव दीपसिंहले सेना मिलाएर राजाको साथमा लडाईं गरे, त्यस लडाईंमा राजालाई मारेर दीपसिंह आफैले राज्य गर्न लागे । पिंढी ६, वर्ष १०७, महिना ६, दिन २२ यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. दीपसिंह १७ १ २६
२. राजसिंह १४ ५ ०
३. रणसिंह ९ ८ ११
४. नरसिंह ४५ ० १५
५. हरिसिंह १३ २ २९
६. जीवनसिंह ८ ० १
राजा जीवनसिंहले केही कारणले गर्दा आफ्ना सबै सेना उत्तर दिशामा पठाइदिए । यो समाचार पृथ्वीराज चह्वाण वैराटका राजाले सुनेर जीवनसिंहमाथि आक्रमण गरेर आए र लडाईंमा जीवनसिंहलाई मारेर इन्द्रप्रस्थको राज्य गरे* । पिंढी ५, वर्ष ८६, महिना ०, दिन २० यिनको विस्तार—
आर्यराजा वर्ष महिना दिन
१. पृथ्वीराज १२ २ १९
२. अभयपाल १४ ५ १७
३. दुर्जनपाल ११ ४ १४
४. उदयपाल ११ ७ ३
५. यशपाल २६ ४ २७
राजा यशपालमाथि सुल्तान शहाबुद्दीन गौरी गढ गजनीबाट चढाई गरेर आए र राजा यशपाललाई प्रयागको किल्लामा विक्रम संवत् १२४९ सालमा पक्रेर कैद गरे । पश्चात् ‘इन्द्रप्रस्थ’ अर्थात् आधुनिक दिल्लीको राज्य आफै (सुल्तान शहाबुद्दीन) ले गर्न थाले । पिंढी ५३, वर्ष ७४५, महिना १, दिन १७, यिनको विस्तार थुप्रै इतिहासका पुस्तकहरूमा विस्तारपूर्वक लेखिएका छन्, त्यसैले यहाँ अधिक लेखिएन ।
* यसभन्दा अगाडि र इतिहासहरूमा यस प्रकार छ कि महाराज पृथ्वीराजमाथि सुल्तान शहाबुद्दीन गौरीले आक्रमण गरेर आयो र कयौं पटक हार खाएर फर्कियो । अन्तमा विक्रम संवत् १२४९ मा आपसको फुटको कारण महाराज पृथ्वीराजलाई जितेर, अन्धो बनाइदिएर आफ्नो देशमा गयो । पश्चात् दिल्ली (इन्द्रप्रस्थ) को राज्य आफैले गर्न थाल्यो— मुसलमानहरूको राज्य पिंढी ४५, वर्ष ६१३ रह्यो । —पण्डित लेखराम आर्यपथिकद्वारा पञ्चम संस्करणमा लिखित टिप्पणी ॥
यस भन्दा अगाडि बौद्ध-जैन मतको विषयमा लेखिनेछ ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिनिर्मिते सत्यार्थप्रकाशे
सुभाषाविभूषित आर्य्यावर्त्तीयमतखण्डनमण्डनविषय
एकादशः समुल्लासः सम्पूर्णः ॥११॥
Comments
Post a Comment