पहिलो समुल्लास





(१) पहिलो समुल्लास
ईश्वरका नामहरूको व्याख्या (१.१)
ओ३म् । शन्नो॑ मि॒त्रः शं वरु॑णः॒ शन्नो॑ भवत्वर्य॒मा । शन्न॒ऽइन्द्रो॒ बृह॒स्पतिः॒ श॒न्नो॒ विष्णु॑रुरुक्र॒मः । नमो॒ ब्रह्म॑णे॒ नम॑स्ते वायो॒ त्वमे॒व प्र॒त्यक्षं॒ ब्रह्मा॑सि । त्वामे॒व प्र॒त्यक्षं॒ ब्रह्म॑ वदिष्यामि ऋ॒तं॒ व॑दिष्यामि॒ स॒त्यं व॑दिष्यामि । तन्माम॑वतु॒ तद्व॒क्तार॑मवतु । अव॑तु॒ माम् । अव॑तु॒ व॒क्तार॑म् ।
ओ३म् शान्ति॒श्शान्ति॒श्शान्तिः॑ ॥१॥           
—तैत्तिरीय आरण्यक (प्रपाठक ७/अनुवाक १) ॥
अर्थ(ओ३म्) जुन यो ओंकार शब्द छ त्यो परमेश्वरको सर्वोत्तम नाम हो, किनभने यसमा जुन अ, म् तीन अक्षर छन् ती मिलेर एक ‘ओ३म्’ समुदाय बनेको छ । यस एक नामबाट परमेश्वरको थुप्रै नाम आउँछ, जस्तै– कारबाट विराट्, अग्नि र विश्वादि । कारबाट हिरण्यगर्भ, वायु र तैजसादि । कारबाट ईश्वर, आदित्य र प्रज्ञादि नामहरूको वाचक र ग्राहक हो । उसलाई यसरी नै वेदादि सत्यशास्त्रमा स्पष्टसँग व्याख्यान गरेको छ कि जहाँ प्रकरणानुकूल यी सबै नाम परमेश्वरका नै हुन् । 
प्रश्न— परमेश्वरदेखि भिन्न अर्थहरूको वाचक विराट् आदि किन होइन ? ब्रह्माण्ड, पृथिव्यादि भूत, मनुष्य, विद्वान् र वैद्यकशास्त्रमा सुठो आदि औषधिहरूको पनि यही नाम लेखिएको छ ।
उत्तर— छन्, परन्तु परमात्माका पनि हुन् ।
प्रश्न— केवल देवताहरूको ग्रहण यी नामबाट गर्दछौ कि गर्दैनौ ?
उत्तर— तपाईंले ग्रहण गर्नामा के प्रमाण छ ?
प्रश्न— देव सबै प्रसिद्ध र तिनीहरू उत्तम पनि छन्, त्यसैले म तिनीहरूको ग्रहण गर्दछु ।
उत्तर—के परमेश्वर अप्रसिद्ध र उसभन्दा कोही उत्तम पनि छन् ? पुनः यी नामहरू परमेश्वरको पनि किन मान्दैनौ ? जब परमेश्वर अप्रसिद्ध र उसको तुल्य कोही छैन भने उसभन्दा उत्तम अरू कोही कसरी हुनसक्दछ र ? यसबाट तपाईंले भनेको यो कुरो सत्य हुँदैन । किनकि तपाईंले यति भन्दैमा थुप्रै दोषहरू पनि आउँछन्, जस्तै— ‘उपस्थितंपरित्यज्याऽनुपस्थितं याचत इति बाधितन्यायः’ कसैले कसैको लागि भोजनको पदार्थ राखेर भन्यो कि तपाईंले भोजन गर्नुहोस् र उसले त्यसलाई छोडेर अप्राप्त भोजनको लागि जहाँ तहीं भ्रमण गर्दछ भने त्यो त बुद्धिमानी ठहरिंदैन । किनभने त्यो उपस्थित नाम समीप प्राप्त भएको पदार्थलाई छोडेर अनुपस्थित अर्थात् अप्राप्त पदार्थको लागि श्रम गर्दछ । यसबाट त्यो बुद्धिमान् होइन यस्तै तपाईंको कथन भयो । किनकि तपाईं ती विराट् आदि नामहरूका जुन प्रसिद्ध प्रमाणसिद्ध परमेश्वर र ब्रह्माण्डादि उपस्थित अर्थहरूको परित्याग गरेर असम्भव र अनुपस्थित देवादिको ग्रहणमा श्रम गर्नुहुन्छ, यसमा कुनै पनि प्रमाण र युक्ति छैन । यदि तपाईंले यस्तो भन्न खोज्नुभयो भने जहाँ जसको प्रकरण छ, त्यहाँ उसैको ग्रहण गर्नु योग्य हुन्छ, जस्तो कसैले कसैसँग भन्यो कि ‘हे भृत्य ! त्वं सैन्धवमानय’ अर्थात् तैंले सैन्धव लिएर आइज । तब त्यसले समय अर्थात् प्रकरणलाई विचार गर्नु आवश्यक छ, किनभने सैन्धव नाम दुई पदार्थको हुन्छ, एउटा घोडा र अर्को लवणको । यदि गमनको समय छ भने त घोडा र भोजनको काल भए त लवणलाई ल्याउन उचित हुन्छ । यदि गमनसमयमा लवण र भोजनसमयमा घोडा लग्यो भने त त्यसको स्वामी त्यसमाथि क्रुद्ध भएर भन्नेछ कि “तँ निर्बुद्धि पुरुष होस् । गमनसमयमा लवण र भोजनकालमा घोडा ल्याउनको के प्रयोजन थियो ? तँ प्रकरणवित् छैनस्, नत्रभने जुन समयमा जसलाई ल्याउनुपर्ने थियो त्यसैलाई ल्याउँथिस् । जुन तैंले प्रकरण-विचार गर्नु आवश्यक थियो त्यो तैंले गरिनस्, यसैले तँ मूर्ख होस्, मलाई छोडेर जा ।” यसबाट के सिद्ध हुन्छ भने जहाँ जसको प्रकरण गर्न उचित हुन्छ त्यहाँ त्यसै अर्थको ग्रहण गर्न उचित हुन्छ । यसरी नै हामी र तपाईंहरूले मान्नु र गर्नु पनि पर्दछ ।
अथ मन्त्रार्थः
ओं खं ब्रह्म॑ ॥१॥                     —यजुर्वेद (अध्याय ४०/मन्त्र १७) ॥
हेर्नुहोस् वेदहरूमा यस्ता-यस्ता प्रकरणहरूमा ‘ओम्’ आदि परमेश्वरका नाम छन् ।
ओमित्येतदक्षरमुद्गीथमुपासीत ॥२॥ —छान्दोग्योपनिषद् (अध्याय १/खण्ड १/मन्त्र १) ॥
ओमित्येतदक्षरमिद सर्वं तस्योपव्याख्यानम् ॥३॥           —माण्डूक्य उपनिषत् (१/१) ॥
सर्वे वेदा यत्पदमामनन्ति तपांसिसर्वाणि च यद्वदन्ति ।
यदिच्छन्तो ब्रह्मचर्यं चरन्ति तत्ते पदं संग्रहेण ब्रवीम्योमित्येतत् ॥४॥
—कठोपनिषदि (वल्ली २/मन्त्र १५) ॥
प्रशासितारं सर्वेषामणीयांसमणोरपि । रुक्माभं स्वप्नधीगम्यं विद्यात्तं पुरुषं परम् ॥५॥
एतमग्निं वदन्त्येके मनुमन्ये प्रजापतिम् । इन्द्रमेके परे प्राणमपरे ब्रह्म शाश्वतम् ॥६॥      
—मनुस्मृति (अध्याय १२/श्लोक १२२-१२३) ॥
स ब्रह्मा स विष्णुः स रुद्रस्स शिवस्सोऽक्षरस्सपरमः स्वराट् ।
स इन्द्रस्स कालाग्निस्स चन्द्रमाः ॥७॥       —कैवल्य उपनिषत् (खण्ड १/ मन्त्र ८) ॥
इन्द्रं॑मि॒त्रं वरु॑णम॒ग्निमा॑हु॒रथो॑ दि॒व्यस्स सु॑प॒र्णो ग॒रुत्मा॑न् ।
एकं॒ सद्विप्रा॑ बहु॒धा व॑दन्त्य॒ग्निं य॒मं मा॑त॒रिश्वा॑नमाहुः ॥८॥
—ऋग्वेद (मण्डल १/सूक्त १६४/मन्त्र ४६) ॥
सु॒पर्णं विप्राः॑ क॒वयो॒ वचो॑भि॒रेकं॒ सन्तं॑ बहुधा क॑ल्पयन्ति ॥९॥
—ऋग्वेद (मण्डल १०/सूक्त११४/मन्त्र ५) ॥
भूर॑सि॒ भूमि॑र॒स्यदि॑तिरसि वि॒श्वधा॑या॒ विश्व॑स्य॒ भुव॑नस्य ध॒र्त्री ।
पृ॒थि॒वीं य॑च्छ पृ॒थि॒वीं दृ॑ह पृथि॒वीं मा हि॑सीः पुरुषञ्जगत् ॥१०॥
—यजुर्वेद (अध्याय १३/मन्त्र १८) ॥
इन्द्रो मह्ना रोदसी पप्रथच्छव इन्द्रः सूर्य्यमरोचयत् ।
इन्द्रे ह विश्वा भुवनानि येमिर इन्द्रे स्वानास इन्दवः ॥११॥
—सामवेद [उ./अध्याय १६/(प्रपाठक ७/त्रिक ८/मन्त्र २), (मन्त्र १५८८)] ॥
प्रा॒णाय॒ नमो॒ यस्य॒ सर्व॑मि॒दं वशे॑ ।
यो भू॒तः सर्व॑स्येश्व॒रो यस्मि॒न्त्सर्वं॒ प्रति॑ष्ठितम् ॥१२॥
—अथर्ववेद (काण्ड ११/सूक्त ४/ मन्त्र १) ॥
अर्थ— यहाँ यी प्रमाणहरूलाई लेख्नको तात्पर्य यही हो कि जुन यस्तै-यस्तै प्रकरणहरूमा ओङ्कारादि नामहरूबाट परमात्माको ग्रहण हुन्छ लेखेर आएको छु । तथा परमेश्वरको कुनै पनि नाम अनर्थक छैन, जसरी लोकमा दरिद्री आदिको धनपति नाम हुन्छन् । यसबाट यही सिद्ध हुन्छ कि कहीं गौणिक, कहीं कार्मिक र कहीं स्वाभाविक अर्थको वाचक हो ।
‘ओम्’ आदि नाम सार्थक हुन् । जस्तै— (ओं खं०) ‘अवतीत्योम्, आकाशमिव व्यापकत्वात् खम्, सर्वेभ्यो बृहत्वाद् ब्रह्म’ रक्षा गर्नाले ‘ओम्,’ आकाशवत् व्यापक हुनाले ‘खम्’, सबैभन्दा विशाल (ठूलो) हुनाले ईश्वरको नाम ‘ब्रह्म’ हो ॥१॥
(ओमित्येत.) ‘ओ३म्’ जसको नाम छ र जो कहिल्यै पनि नष्ट हुँदैन, उसैको उपासना गर्न योग्य छ, अन्यको होइन ॥२॥
(ओमित्येत.) सबै वेदादि शास्त्रहरूमा परमेश्वरको प्रधान र निज नाम ‘ओ३म्’ लाई भनेको छ, अन्य सबै गौणिक नाम हुन् ॥३॥
(सर्वे वेदा.) किनभने सबै वेद सबै धर्मानुष्ठानरूप तपश्चरण जसको कथन र मान्य गर्दै र जसको प्राप्तिको इच्छा गर्दै ब्रह्मचर्याश्रम गर्दछन् उसकै नाम ‘ओ३म्’ हो ॥४॥
(प्रशासिता.) जसले सबैलाई शिक्षा दिने सूक्ष्मभन्दा पनि सूक्ष्म, स्वप्रकाशस्वरूप, समाधिस्थ बुद्धिले जान्नयोग्य छ, उसैलाई परमपुरुष जान्नुपर्दछ ॥५॥
र स्वप्रकाश हुनाले ‘अग्नि’, विज्ञानस्वरूप हुनाले ‘मनु’ र सबैको पालन गर्नाले ‘प्रजापति’ परमैश्वर्यतावाला हुनाले ‘इन्द्र’, सबैका जीवनमूल हुनाले ‘प्राण’ र निरन्तर व्यापक हुनाले परमेश्वरको नाम ‘ब्रह्म’ हो ॥६॥
(स ब्रह्मा स विष्णु.) सबै जगत्‌लाई बनाउनाले ‘ब्रह्मा’, सर्वत्र व्यापक हुनाले विष्णु, दुष्टलाई दण्ड दिएर रुवाउनाले ‘रुद्र’, मङ्गलमय र सबैका कल्याणकर्ता हुनाले ‘शिव’, ‘यः सर्वमश्नुते न क्षरति न विनश्यति तदक्षरम्’ ।१। ‘यः स्वयं राजते स स्वराट्’ ।२। ‘योऽग्निरिव कालः कलयिता प्रलयकर्ता स कालाग्निरीश्वरः’ ।३। (अक्षर) जो सर्वत्र व्याप्त र अविनाशी, (स्वराट्) स्वयं प्रकाशस्वरूप र (कालाग्नि) प्रलयमा सबैका काल र कालका पनि काल हुन्, यसैले गर्दा परमेश्वरको नाम ‘कालाग्नि’ भयो ॥७॥
(इन्द्रं मित्रं.) जुन एक, अद्वितीय, सत्य ब्रह्म वस्तु छ, उसैको इन्द्र, मित्र, वरुण, अग्नि, सुपर्ण, मातरिश्वा आदि सबै नाम उसैका हुन् । ‘द्युषु शुद्धेषु पदार्थेषु भवो दिव्यः’, ‘शोभनानि पर्णानि पालनानि पूर्णानि कर्माणि वा यस्य सः सुपर्णः, यो गुर्वात्मा स गरुत्मान् यो मातरिश्वा वायुरिव बलवान् स मातरिश्वा’ । (दिव्य) जुन प्रकृत्यादि दिव्य पदार्थहरूमा व्याप्त, (सुपर्ण) जसको उत्तम पालन र पूर्ण कर्म छन्, (गरुत्मान्) जसको आत्मा अर्थात् स्वरूप महान् छ, (मातरिश्वा) जो वायुको समान अनन्त बलवान् छ, यसैले परमात्माको ‘दिव्य’, ‘सुपर्ण, गरुत्मान्’‘मातरिश्वा’ यी नाम हुन् । अर्थात् श्रेष्ठ पालनकर्ता अद्वितीय सत् रूपमा रहेको एउटै परमेश्वरका विभिन्न गुणहरू र रूपको सम्बन्धमा विद्वान्‌हरूले विभिन्न दृष्टिकोणबाट व्याख्या गर्दछन् । शेष नामहरूको अर्थ अगाडि लेख्नेछौं ॥८-९॥
(भूमिरसि.) ‘भवन्ति भूतानि यस्यां सा भूमिः’ जसमा सबै भूत प्राणी हुन्छन्, यसैले ईश्वरको नाम ‘भूमि’ हो । शेष नामहरूको अर्थ अगाडि लेख्नेछु ॥१०॥
(इन्द्रो मह्ना.) यसमा ‘इन्द्र’ परमेश्वरको नै नाम हो, यसैले यो प्रमाण लेखिएको छ ॥११॥
(प्राणाय.) जसरी प्राणको वशमा सबै शरीर र इन्द्रियहरू हुन्छन्, त्यसरी नै परमेश्वरको वशमा सबै जगत् रहन्छ ॥१२॥
इत्यादि प्रमाणहरूको अर्थलाई ठीक-ठीक जान्नाले यी नामहरूबाट परमेश्वरको नै ग्रहण हुन्छ, किनभने ‘ओ३म्’‘अग्न्यादि’ नामहरूको मुख्य अर्थले परमेश्वरको नै ग्रहण हुन्छ । जस्तो कि व्याकरण, निरुक्त, ब्राह्मण सूत्रादि ऋषि-मुनिहरूका व्याख्यानबाट परमेश्वरको ग्रहण देखिनमा आउँछ त्यसैलाई ग्रहण गर्नु सबैको योग्य छ, परन्तु ‘ओ३म्’ यो त केवल परमात्माको नै नाम हो र अग्नि आदि नामहरूबाट परमेश्वरको ग्रहणमा प्रकरण र विशेषण नियमकारक छन् । यसबाट के सिद्ध हुन्छ भने जहाँ-जहाँ स्तुति, प्रार्थना, उपासना, सर्वज्ञ, व्यापक, शुद्ध, सनातन, सृष्टिकर्ता आदि विशेषण लेखिएका छन् त्यहीं-त्यहीं यिनै नामबाट परमेश्वरको ग्रहण हुन्छ र जहाँ-जहाँ यस्ता प्रकरणहरू छन् कि—
ततो॑ वि॒राड॑जायत वि॒राजो॒ अधि॒ पुरु॑षः ॥          —यजुर्वेद (अध्याय ३१/मन्त्र ५) ॥
श्रोत्रा॑द्वा॒युश्च॑ प्रा॒णश्च॒ मुखा॑द॒ग्निर॑जायत ॥        —यजुर्वेद (अध्याय ३१/मन्त्र १२) ॥
तेन॑ दे॒वा अ॑यजन्त ॥                      —यजुर्वेद (अध्याय ३१/मन्त्र ९) ॥
प॒श्चाद्भूमिम॒थो॑ पुरः ॥                      —यजुर्वेद (अध्याय ३१/मन्त्र ५) ॥
तस्माद्वा एतस्मादात्मन आकाशः सम्भूतः । आकाशाद्वायुः । वायोरग्निः । अग्नेरापः ।
अद्भ्यः पृथिवी । पृथिव्या ओषधयः । ओषधिभ्योऽन्नम् । अन्नाद्रेतः । रेतसः पुरुषः ।
स वा एष पुरुषोऽन्नरसमयः ॥ —यो तैत्तिरीयोपनिषद् (वल्ली २/अनुवाक १) को वचन हो ॥
यस्तो प्रकरणहरूमा विराट्, पुरुष, देव, आकाश, वायु, अग्नि, जल, भूमि आदि नाम लौकिक पदार्थहरूका हुन्छन् । किनभने जहाँ-जहाँ उत्पत्ति, स्थिति, प्रलय, अल्पज्ञ, जड, दृश्य आदि विशेषण लेखिएको भए पनि त्यहाँ-त्यहाँ परमेश्वरको ग्रहण हुँदैन । त्यो उत्पत्ति आदि व्यवहारदेखि पृथक् छ र उपरोक्त मन्त्रहरूमा उत्पत्ति आदि व्यवहार छन् । त्यसैले यहाँ विराट् आदि नामहरूबाट परमात्माको ग्रहण नभएर संसारी पदार्थहरूको ग्रहण हुन्छ । किन्तु जहाँ-जहाँ सर्वज्ञादि विशेषण होस्, त्यहाँ-त्यहाँ परमात्मा र जहाँ-जहाँ इच्छा, द्वेष, प्रयत्न, सुख, दुःख र अल्पज्ञादि विशेषण छ भने, त्यहाँ-त्यहाँ जीवको ग्रहण हुन्छ । यस्तो सर्वत्र सम्झिनुपर्दछ । किनभने परमेश्वरको जन्म-मरण कहिल्यै पनि हुँदैन । यसबाट विराट् आदि नाम र जन्मादि विशेषणहरूदेखि जगत्‌को जड र जीवादि पदार्थहरूको ग्रहण गर्नु उचित हुन्छ, परमेश्वरको होइन । अब जुन प्रकारले विराट् आदि नामबाट परमेश्वरको ग्रहण हुन्छ, त्यसलाई यस प्रकारसँग तल लेखिएको प्रमाणहरू जान ।
ओङ्कारको अर्थ (१.३)
‘वि’ उपसर्गपूर्वक (राजृ दीप्तौ) यस धातुबाट क्विप् प्रत्यय गर्नाले विराट् शब्द सिद्ध हुन्छ । ‘यो विविधं नाम चराऽचरं जगद्राजयति प्रकाशयति स विराट्’ विविध अर्थात् जसले बहु प्रकारको जगत्‌लाई प्रकाशित गर्दछ, यसबाट ‘विराट्’ नामले परमेश्वरको ग्रहण हुन्छ ।
(अञ्चु गतिपूजनयोः) (अग्, अगि, इण् गत्यर्थक) धातु हुन्, यिनैबाट ‘अग्नि’ शब्द सिद्ध भएको छ । ‘गतेस्त्रयोऽर्थाः— ज्ञानं गमनं प्राप्तिश्चेति, पूजनं नाम सत्कारः’ । ‘योऽञ्चति, अच्यतेऽगत्यङ्गतीति वा सोऽयमग्निः’ जो ज्ञानस्वरूप, सर्वज्ञ, जान्ने, प्राप्ति हुने र पूजा गर्न योग्य छ, यसबाट परमेश्वरको नाम ‘अग्नि’ हो ।
(विश प्रवेशने) यस धातुबाट ‘विश्व’ शब्द सिद्ध हुन्छ । ‘विशन्ति प्रविष्टानि सर्वाण्याकाशादीनि भूतानि यस्मिन् यो वाऽऽकाशादिषु सर्वेषु भूतेषु प्रविष्टः स विश्व ईश्वरः’ जसमा आकाशादि सबै भूत प्रवेश गरिरहेका छन् अथवा जो यिनमा व्याप्त भएर प्रविष्ट भैरहेछ, यसैले उस परमेश्वरको नाम ‘विश्व’ हो । इत्यादि नामहरूको ग्रहण अकारमात्राले हुन्छ ।
‘ज्योतिर्वै हिरण्यं तेजो वै हिरण्यम् ।’                    —इत्यैतरेयशतपथब्राह्मणे ॥
‘यो हिरण्यानां सूर्यादीनां तेजसां गर्भ उत्पत्तिनिमित्तमधिकरणं स हिरण्यगर्भः’ जसमा सूर्यादि तेज भएका लोक उत्पन्न भएर जसको आधारले रहन्छन् अथवा जो सूर्यादि तेजः स्वरूप पदार्थहरूको गर्भ नाम, उत्पत्ति र निवासस्थान हो, यसबाट उस परमेश्वरको नाम ‘हिरण्यगर्भ’ हो । यसमा यजुर्वेदको मन्त्रको प्रमाण—
हि॒रण्य॒ग॒र्भः सम॑वर्त्त॒ताग्रे॑ भू॒तस्य॑ जा॒तः पति॒रेक॑ आसीत् ।
स दा॑धार पृथि॒वीं द्यामु॒तेमां कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम ॥
—यजुर्वेद (अध्याय १३/मन्त्र ४) ॥
इत्यादि स्थलहरूमा ‘हिरण्यगर्भ’ बाट परमेश्वरको नै ग्रहण हुन्छ ।
(वा गतिगन्धनयोः) यस धातुबाट ‘वायु’ शब्द सिद्ध हुन्छ । (गन्धनं हिंसनम्) ‘यो वाति चराऽचरञ्जगद्धरति बलिनां बलिष्ठः स वायुः’ जसले चराऽचर जगत्‌को धारण, जीवन र प्रलय गर्दछ र सबै बलवान्‌हरू भन्दा बलवान् छ, यसैले ईश्वरको नाम ‘वायु’ भयो ।
(तिज निशाने) यस धातुबाट ‘तेजः’ र यसलाई तद्धित गर्नाले ‘तैजस’ शब्द सिद्ध हुन्छ । जो स्वयं आफू प्रकाश र सूर्यादि तेजस्वी लोकहरूलाई प्रकाश गर्दछ यसैले ईश्वरको नाम ‘तैजस’ भयो । इत्यादि नामार्थ उकारबाट ग्रहण हुन्छन् ।
(ईश ऐश्वर्ये) यस धातुबाट ‘ईश्वर’ शब्द सिद्ध हुन्छ । ‘य ईष्टे सर्वैश्वर्यवान् वर्त्तते स ईश्वरः’ जसको सत्य, विचारशील, ज्ञान र अनन्त ऐश्वर्य छ, यसैले उस परमात्माको नाम ‘ईश्वर’ भयो ।
(दो अवखण्डने)=‘अवखण्डनं नाम विनाशः’ यस धातुबाट ‘अदिति’ र यसलाई तद्धित गर्नाले ‘आदित्य’ शब्द सिद्ध हुन्छ । ‘न विद्यते विनाशो यस्य सोऽयमदितिः, अदितिरेव आदित्यः’ जसको विनाश कहिल्यै हुँदैन त्यही ‘आदित्य’ संज्ञा ईश्वरको हो ।
(ज्ञा अवबोधने) ‘प्र’ पूर्वक यस धातुबाट ‘प्रज्ञ’ र यसलाई तद्धित गर्नाले ‘प्राज्ञ’ शब्द सिद्ध हुन्छ । ‘यः प्रकृष्टतया चराऽचरस्य जगतो व्यवहारं जानाति स प्रज्ञः प्रज्ञ एव प्राज्ञः’ जो निर्भ्रान्त ज्ञानयुक्त सबै चराऽचर जगत्‌को व्यवहारलाई यथावत जान्दछ यसैले ‘प्राज्ञ’ ईश्वरको नाम भयो । इत्यादि नामार्थ कारबाट गृहीत हुन्छन् । जसरी एक-एक मात्राबाट तीन-तीन अर्थ यहाँ व्याख्यात गरिएको छ त्यसरी नै अन्य नामार्थ पनि ओङ्कारबाट जान्न सकिन्छ ।
जुन (शन्नो मित्रः शं वरुणः) यस मन्त्रमा मित्रादि नाम छन् ती पनि परमेश्वरको नाम हुन्, किनभने स्तुति, प्रार्थना, उपासना श्रेष्ठकै नै गरिन्छ । श्रेष्ठ त्यसलाई भन्दछन् जो आफ्नो गुण, कर्म, स्वभाव र सत्य-सत्य व्यवहारहरूमा सबैभन्दा अधिक होस् । ती सबैमा पनि जुन अत्यन्त श्रेष्ठ छ त्यसैलाई परमेश्वर भन्दछन् । जसको तुल्य न कोही भए, न कोही छन् र न कोही हुनेछन् । जब तुल्य नै छैनन् भने अधिकतर हुने त कुरै भएन ? जस्तै परमेश्वरको सत्य, न्याय, दया, सर्वसामर्थ्य र सर्वज्ञत्वादि अनन्त गुण छन्, यस्तो अन्य कुनै जड वा जीव पदार्थको छैनन् । जुन पदार्थ सत्य हो, त्यसको गुण, कर्म, स्वभाव पनि सत्य नै हुन्छ । त्यसैले सबै मनुष्यको योग्य छ कि परमेश्वरको नै स्तुति, प्रार्थना र उपासना गर, यसदेखि भिन्नको कदापि नगर । किनभने ब्रह्मा, विष्णु, महादेव पूर्वज महाशय विद्वान्, दैत्य-दानवादि निकृष्ट मनुष्य र अन्य साधारण मनुष्यहरूले पनि परमेश्वरमा नै विश्वास गरेर, उसैको स्तुति, प्रार्थना र उपासना गरे, उसदेखि भिन्नकोलाई होइन । यस्तो हामी सबैले गर्न योग्य छ । यसको विशेष विचार उपासना र मुक्तिको विषयमा गरिने छ ।
प्रश्न— मित्रादि नामहरूले सखा र इन्द्रादि देवहरूको प्रसिद्ध व्यवहार देख्नाले उनैको ग्रहण गर्नुपर्दछ ।
उत्तर— यहाँ उनीहरूको ग्रहण गर्नु योग्य छैन, किनभने जो मनुष्य कसैको मित्र हुन्छ, वही अन्यको शत्रु र कसैदेखि उदासीन पनि देखिनमा आउँछ । यसबाट मुख्यार्थमा सखा आदिको ग्रहण हुन सक्दैन, किन्तु जसरी परमेश्वर सबै जगत्‌को निश्चित मित्र, न कसैको शत्रु न कसैको उदासीन हो, यसदेखि भिन्न कोही पनि जीव यस प्रकारको कहिल्यै पनि हुन सक्दैन । त्यसैले परमात्माकै ग्रहण यहाँ हुन्छ । हो, गौंण अर्थमा मित्रादि शब्दबाट सुहृदादि मनुष्यको ग्रहण हुन्छ ।
(ञिमिदा स्नेहने) ‘अस्माद धातोरौणादिकः क्त्र प्रत्ययः ।’ यस धातुबाट औणादिक ‘क्त्र’ प्रत्ययको हुनाले ‘मित्र’ शब्द सिद्ध हुन्छ । ‘मेदते मिद्यते, स्निह्यति स्निह्यते वा स मित्रः’ जो सबैसँग स्नेह गर्दछ र सबैले प्रीति गर्न योग्य छ, त्यो परमेश्वर सबैको साँच्चो ‘मित्र’ हो, यसैले परमेश्वरको नाम ‘मित्र’ हो ।
(वृञ् वरणे, वर ईप्सायाम्) यी धातुहरूबाट उणादि ‘उनन्’ प्रत्यय हुनाले ‘वरुण’ शब्द सिद्ध हुन्छ । ‘यः सर्वान् शिष्टान् मुमुक्षून्धर्मात्मनो वृणोत्यथवा यः शिष्टैर्मुमुक्षुभिर्धर्मात्मभिर्व्रियते वर्य्यते वा स वरुणः परमेश्वरः’ जो आप्तयोगी, विद्वान्, मुक्तको इच्छा गर्नेवाला मुक्त र धर्मात्माहरूको स्वीकारकर्ता, अथवा जो शिष्ट, मुमुक्षु, मुक्त र धर्मात्माहरूदेखि ग्रहण गरिन्छ त्यो ‘वरुण’ नामयुक्त ईश्वर हो । अथवा ‘वरुणो नाम वरः श्रेष्ठः’ जसको लागि सबै श्रेष्ठ छ, यसैले ‘वरुण’ परमेश्वरको नाम हो ।
(ऋ गतिप्रापणयोः) यस धातुबाट ‘यत्’ प्रत्यय गर्नाले ‘अर्य्य’ शब्द सिद्ध हुन्छ र ‘अर्य्य’ पूर्वक (माङ् माने) यस धातुबाट ‘कनिन्’ प्रत्यय हुनाले ‘अर्य्यमा’ शब्द सिद्ध हुन्छ । ‘योऽर्य्यान स्वामिनो न्यायाधीशान् मिमीते मान्यान् करोति सोऽर्यमा’ जसले सत्य न्याय गराउने मनुष्यका मान्य र पाप तथा पुण्य गर्नेहरूको पाप र पुण्यको फलको यथावत् सत्य-सत्य नियमकर्ता हुन्, त्यसैले उस परमेश्वरको नाम ‘अर्यमा’ भयो ।
(इदि परमैश्वर्ये) यस धातुबाट ‘रन्’ प्रत्यय गर्नाले ‘इन्द्र’ शब्द सिद्ध हुन्छ । ‘य इन्दति परमैश्वर्यवान् भवति स इन्द्रः परमेश्वरः’ जो अखिल ऐश्वर्ययुक्त छ, त्यसैले परमात्माको नाम ‘इन्द्र’ सिद्ध भयो ।
‘बृहत्’ शब्दपूर्वक (पा रक्षणे) यस धातुबाट ‘डति’ प्रत्यय, बृहत्को तकारको लोप र सुडागम हुनाले ‘बृहस्पति’ शब्द सिद्ध हुन्छ । ‘यो बृहतामाकाशादीनां पतिः स्वामी पालयिता स बृहस्पतिः’ जो ठूलोदेखि पनि ठूलो र विशाल आकाशादि ब्रह्माण्डहरूको स्वामी हो, यसैबाट परमेश्वरको नाम ‘बृहस्पति’ भयो ।
(विष्लृ व्याप्तौ) यस धातुबाट ‘नु’ प्रत्यय भएर ‘विष्णु’ शब्द सिद्ध भएको छ । ‘वेवेष्टि व्याप्नोति चराऽचरं जगत् स विष्णुः परमात्मा’ चर र अचररूप जगत्‌मा व्यापक हुनाले परमात्माको नाम ‘विष्णु’ भयो ।
‘उरुर्महान् क्रमः पराक्रमो यस्य स उरुक्रमः’ अनन्त फराक्रमयुक्त हुनाले परमात्माको नाम ‘उरुक्रम’ हो । जो परमात्मा (उरुक्रमः) महापराक्रमयुक्त (मित्रः) सबैको सुहृत् अविरोधी हो, त्यो (शम्) सुखकारक, त्यो (वरुणः) सर्वोत्तम (शम्) सुखस्वरूप, त्यो (अर्यमा) (शम्) सुखप्रचारक, त्यो (इन्द्रः) (शम्) सकल ऐश्वर्यदायक, त्यो (बृहस्पतिः) सबैको अधिष्ठाता (शम्) विद्याप्रद र (विष्णुः) जो सबैमा व्यापक परमेश्वर हो, त्यो (नः) हाम्रो कल्याणकारक (भवतु) होस् ।
(वायो ते ब्रह्मणे नमोऽस्तु) ‘बृह, बृहि वृद्धौ’ यी धातुहरूबाट ‘ब्रह्म’ शब्द सिद्ध भएको छ । जो सबैका माथि विराजमान, सबै भन्दा ठूला, अनन्त-बलयुक्त परमात्मा हुन्, उस ब्रह्मलाई हामी नमस्कार गर्दछौं । हे परमेश्वर ! (त्वमेव प्रत्यक्षं ब्रह्मासि) तपाईं नै अन्तर्यामीरूपले प्रत्यक्ष ब्रह्म हुनुहुन्छ (त्वामेव प्रत्यक्षं ब्रह्म वदिष्यामि) मैले तपाईंलाई नै प्रत्यक्ष ब्रह्म भन्नेछु, किनभने तपाईं सबै ठाउँमा व्याप्त भएर सबैलाई नित्य नै प्राप्त हुनुहुन्छ (ऋतं वदिष्यामि) जो तपाईंको वेदस्थ यथार्थ आज्ञा हो, त्यसैको म सबैका लागि उपदेश र आचरण पनि गर्नेछु । (सत्यं वदिष्यामि) सत्य बोलूँ, सत्य मानूँ र सत्य नै गर्नेछु, (तन्मामवतु) सो तपाईंले मेरो रक्षा गर्नुहोस् (तद्वक्तारमवतु) सो तपाईंले म आप्त सत्यवक्ताको रक्षा गर्नुहोस् कि जसबाट तपाईंको आज्ञामा मेरो बुद्धि स्थिर भएर, विरुद्ध कहिल्यै पनि नजाओस् । किनभने जुन तपाईंको आज्ञा हो, त्यही धर्म र जो त्यसदेखि विरुद्ध हुन्छ, त्यही अधर्म हो । (अवतु मामवतु वक्तारम्) यो दोस्रो पटक पाठ अधिकार्थको लागि हो । जसरी ‘कश्चित् कञ्चित् प्रति वदति त्वं ग्रामं गच्छ गच्छ’ यसमा दुई पटक क्रियाको उच्चारणले तँ शीघ्र नै ग्राममा जा यस्तो सिद्ध हुन्छ । यसरी नै यहाँ पनि तपाईं मेरो रक्षा अर्थात् धर्ममा सुनिश्चित र अधर्मदेखि घृणा सदा गरूँ यस्तो कृपा ममाथि गर्नुहोस्, मैले तपाईंको ठूलो उपकार मान्नेछु (ओ३म् शान्तिश्शान्तिश्शान्तिः) यसमा तीन पटक शान्तिपाठको प्रयोजन यो हो कि त्रिविधताप अर्थात् यस संसारमा तीन प्रकारका दुःख छन्—
   पहिलो ‘आध्यात्मिक’ जुन आत्मा, शरीरमा अविद्या, राग, द्वेष, मूर्खता र ज्वर पीडादिबाट हुन्छ ।
   दोस्रो ‘आधिभौतिक’ जुन शत्रु, व्याघ्र र सर्पादिबाट प्राप्त हुन्छ ।
   तेस्रो ‘आधिदैविक’ अर्थात् जुन अतिवृष्टि, अवृष्टि, अतिशीत, अति उष्णता, मन र इन्द्रियहरूको अशान्तिले हुन्छ ।
यी तीन प्रकारका क्लेशहरूदेखि तपाईंले हामीलाई दूर गरेर कल्याणकारक कर्ममा सदा प्रवृत्त राख्नुहोस् । किनभने तपाईं नै कल्याणस्वरूप, सब संसारको कल्याणकर्ता र धार्मिक मुमुक्षुहरूका कल्याणका दाता हुनुहुन्छ । यसैले तपाईं स्वयं आफ्नो करुणाले सबै जीवहरूको हृदयमा प्रकाशित हुनुहोस् कि जसबाट सबै जीव धर्मको आचरण र अधर्मलाई छोडेर परमानन्दलाई प्राप्त होऊन् र दुःखदेखि पृथक् रहून् ।
‘सूर्य्य॑ऽआ॒त्मा जग॑तस्त॒स्थुष॑श्च’ यस यजुर्वेद (१३/४६) को वचनबाट जुन जगत् नाम प्राणी, चेतन र जङ्गम अर्थात् जो चल्दछन्-फिर्दछन्, ‘तस्थुषः’ अप्राणी अर्थात् स्थावर जड अर्थात् पृथ्वी आदि हुन्, ती सबैका आत्मा हुनाले स्वप्रकाशरूप सबैको प्रकाश गर्ने हुनाले परमेश्वरको नाम ‘सूर्य’ भयो ।
(अत सातत्यगमने) यस धातुबाट ‘आत्मा’ शब्द सिद्ध भएको छ । ‘योऽतति व्याप्नोति स आत्मा’ जो सब जीवादि जगत्‌मा निरन्तर व्यापक भैरहेको छ । ‘परश्चासावात्मा च य आत्मभ्यो जीवेभ्यः सूक्ष्मेभ्यः परोऽतिसूक्ष्मः स परमात्मा’ जुन सबै जीवादिदेखि उत्कृष्ट र जीव, प्रकृति तथा आकाश भन्दा पनि अतिसूक्ष्म र सबै जीवहरूको अन्तर्यामी आत्मा हो, यसैले ईश्वरको नाम ‘परमात्मा’ हो ।
सामर्थ्यवालेको नाम ‘ईश्वर’ हो । ‘य ईश्वरेषु समर्थेषु परमः श्रेष्ठः स परमेश्वरः’ जो ईश्वरहरूमा अर्थात् समर्थहरूमा समर्थ, जसको तुल्य अरू कोही पनि छैनन्, उसको नाम ‘परमेश्वर’ हो ।
(षुञ् अभिषवे, षूङ् प्राणिगर्भविमोचने) यी धातुहरूबाट ‘सविता’ शब्द सिद्ध हुन्छ । ‘अभिषवः प्राणिगर्भविमोचनं चोत्पादनम् । यश्चराचरं जगत् सुनोति सूते वोत्पादयति स सविता परमेश्वरः’ जसले सबै जगत्‌को उत्पत्ति गर्दछ, त्यसैले परमेश्वको नाम ‘सविता’ हो ।
(दिवु क्रीडाविजिगीषाव्यवहारद्युतिस्तुतिमोदमस्वप्नकान्तिगतिषु) यस धातुबाट ‘देव’ शब्द सिद्ध हुन्छ । (क्रीडा) जो शुद्ध जगत्‌लाई क्रीडा गराउने (विजिगीषा) धार्मिकहरूलाई जिताउने इच्छायुक्त (व्यवहार) सबैलाई चेष्टाको साधनोपसाधनहरूको दाता (द्युति) स्वयंप्रकाशस्वरूप सबका प्रकाशक (स्तुति) प्रशंसाको योग्य (मोद) आफू आनन्दस्वरूप र अरूलाई आनन्द दिनेवाला (मद) मदोन्मत्तहरूलाई ताड्नेवाला (स्वप्न) सबैको शयनार्थ रात्रि र प्रलयलाई गराउनेवाला (कान्ति) कामनाको योग्य र (गति) ज्ञानस्वरूप हुनुहुन्छ, यसैले परमेश्वरको नाम ‘देव’ हो । अथवा ‘यो दीव्यति क्रीडति स देवः’ जो आफ्नो स्वरूपले आफै नै क्रीडा गर्दछ अथवा कसैको सहायको बिना क्रीडावत् सहज स्वभावबाट सब जगत्‌लाई बनाउँछ वा सबै क्रीडाहरूको आधार हो । ‘विजिगीषते स देवः’ जो सबैलाई जित्नेवाला, स्वयं अजेय अर्थात् जसलाई कसैले पनि जित्न सक्दैन । ‘व्यवहारयति स देवः’ जो न्याय र अन्यायरूपी व्यवहारलाई जान्ने र उपदेष्टा । ‘यश्चराचरं जगत् द्योतयति’ जो सबका प्रकाशक । ‘यः स्तुयते स देवः’ जो सबै मनुष्यहरूका प्रशंसाका योग्य र निन्दाको योग्य न हो । ‘यो मोदयति स देवः’ जो स्वयं आनन्दस्वरूप र अरूलाई आनन्द गराउँछ, जसलाई दुःखको लेश पनि न हो । ‘यो माद्ययति स देवः’ जो सदा हर्षित, शोकदेखि रहित र अरूलाई हर्षित गराउनेवाला र दुःखदेखि पृथक् राख्नेवाला । ‘यः स्वापयति स देवः’ जो प्रलयको समय अव्यक्तमा सबै जीवहरूलाई सुताउँछ । ‘यः कामयते काम्यते वा स देवः’ जसको सबै सत्य काम र जसको प्राप्तिको कामना सबै शिष्टले गर्दछन् । ‘यो गच्छति गम्यते वा स देवः’ जो सबैमा प्राप्त र जान्नयोग्य छ, यसैले परमेश्वरको नाम ‘देव’ हो ।
(कुवि आच्छादने) यस धातुबाट ‘कुबेर’ शब्द सिद्ध हुन्छ । ‘य सर्वं कुम्बति स्वव्याप्त्याच्छादयति स कुबेरो जगदीश्वरः’ जो आफ्नो व्याप्तिले सबैको आच्छादन गर्दछ, यसैले परमेश्वरको नाम ‘कुबेर’ हो ।
(पृथु विस्तारे) यस धातुबाट ‘पृथिवी’ शब्द सिद्ध हुन्छ । ‘यः पर्थति सर्वं जगविस्तृणाति तस्मात् स पृथिवी’ जो सब विस्तृत जगत्‌को विस्तार गर्नेवाला हो, यसैले गर्दा ईश्वरको नाम ‘पृथ्वी’ भयो ।
(जल घातने) यस धातुबाट ‘जल’ शब्द सिद्ध हुन्छ । ‘जलति घातयति दुष्टान्, सङ्घातयति—अव्यक्तपरमाण्वादीन् तद् ब्रह्म जलम्’ जो दुष्टहरूको ताडन र अव्यक्त तथा परमाणुहरूको अन्योऽन्य संयोग वा वियोग गर्दछ, त्यो परमात्मालाई ‘जल’ संज्ञक भन्दछन् । ‘यद्वा यज्जनयति लाति सकलं जगत् तद्ब्रह्म जलम्’ अथवा जो सबैका जनक र सबै सुख दिनेवाला हुन्, यसैले पनि परमात्माको नाम ‘जल’ हो ।
(काशृ दीप्तौ) यस धातुबाट ‘आकाश’ शब्द सिद्ध हुन्छ । ‘यः सर्वतः सर्वं जगत् प्रकाशयति स आकाशः’ जो सबैतिरबाट सब जगत्‌को प्रकाशक हो, यसैले उस परमात्माको नाम ‘आकाश’ भएको हो ।
(अद भक्षणे) यस धातुबाट ‘अन्न’ शब्द सिद्ध हुन्छ ।
अद्यतेऽत्ति च भूतानि तस्मादन्नं तदुच्यते ॥                     —तैत्तिरीयो उपनिषद् (२/२) ॥
अहमन्नमहमन्नमहमन्नम् ।
अहमन्नादोऽहमन्नादोऽहमन्नादः ॥                     —तैत्तिरीयो उपनिषद् (३/१०) ॥
अत्ता चराऽचरग्रहणात् ॥
—वेदान्त सूत्र (१/२/९) ॥ यो व्यासमुनिकृत शारीरक सूत्र हो ॥
जो सबैलाई भित्र राख्न, सबैलाई ग्रहण गर्नयोग्य, चराचर जगत्‌को ग्रहण गर्नेवाला हो, यसबाट ईश्वरका ‘अन्न’ ‘अन्नाद’‘अत्ता’ नाम हुन्, र जुन यसमा तीन पटक पाठ छ त्यो आदरको लागि प्रयोग भएको हो । जसरी अञ्जीरको फलमा कृमि उत्पन्न भएर उसैमा रहन्छन् र नष्ट हुन्छन् त्यसरी नै परमेश्वरको बीचमा सब जगत्‌को अवस्था छ ।
(वस निवासे) यस धातुबाट ‘वसु’ शब्द सिद्ध भएको छ । ‘वसन्ति भूतानि यस्मिन्नथवा यः सर्वेषु भूतेषु वसति स वसुरीश्वरः’ जसमा सब आकाशादि भूत बस्दछन् र जो सबैमा वास गरिहेको छ, यसैले उस परमेश्वरको नाम ‘वसु’ हो ।
(रुदिर् अश्रुविमोचने) रुदेर्णिलोपश्च यस णिजन्त धातुबाट ‘रुद्र’ शब्द सिद्ध हुन्छ । ‘यो रोदयत्यन्यायकारिणो जनान् स रुद्रः’ जो दुष्ट कर्म गर्नेहरूलाई रुवाउँछ, यसबाट परमेश्वरको नाम ‘रुद्र’ भयो ।
यन्मनसा ध्यायति तद्वाचा वदति यद्वाचा वदति तत् कर्मणा करोति यत् कर्मणा करोति तदभिसम्पद्यते ॥     —[श.ब्रा.(कां.१४/प्रपा.६/ब्रा.२/कं.७)] यो यजुर्वेदको ब्राह्मणको वचन हो ।
जीव जसको मनले ध्यान गर्दछ उसलाई वाणीले बोल्दछ, जसलाई वाणीले बोल्दछ त्यसलाई कर्मले गर्दछ, जसलाई गर्दछ उसैलाई प्राप्त गर्दछ । यसबाट के सिद्ध हुन्छ भने जुन जीव जस्तो कर्म गर्दछ, त्यस्तै नै फल पाउँछ । जब दुष्ट कर्म गर्नेवाला, ईश्वरको व्यवस्थाले दुःखरूप फल पाउँछ तब रुन्छ र यसै प्रकार ईश्वरले तिनलाई रुवाउँछ, त्यसैले परमेश्वरको नाम ‘रुद्र’ भयो ।
आपो नारा इति प्रोक्ता आपो वै नरसूनवः । ता यदस्यायनं पूर्वं तेन नारायणः स्मृतः ॥
             —मनुस्मृति (अध्याय १/१० श्लोक) ॥
जल, प्राण र जीवहरूको नाम पनि नार हो, ती अयन अर्थात् निवासस्थान हुन् जसका, यसैले सबै जीवहरूमा व्यापक परमात्माको नाम ‘नारायण’ हो ।
(चदि आह्लादे) यस धातुबाट ‘चन्द्र’ शब्द सिद्ध हुन्छ । ‘यश्चन्दति चन्दयति वा स चन्द्रः’ जो आनन्दस्वरूप र सबैलाई आनन्द दिनेवाला हो, यसैले ईश्वरको नाम ‘चन्द्र’ भयो ।
(मगि गत्यर्थक) धातुबाट ‘मङ्गेरलच्’ (उ.सू. ५/७०) यस सूत्रबाट ‘मङ्गल’ शब्द सिद्ध भएको छ । ‘यो मङ्गति मङ्गयति वा स मङ्गलः’ जो स्वयं मङ्गलस्वरूप र जीवहरूको मङ्गलको कारण हो, यसैले उस परमेश्वरको नाम ‘मङ्गल’ भयो ।
(बुध अवगमने) यस धातुबाट ‘बुध’ शब्द सिद्ध हुन्छ । ‘यो बुध्यते बोध्येत वा सः बुधः’ जो स्वयं बोधस्वरूप र सबै जीवहरूको बोधको कारण हो, यसैले उस परमेश्वरको नाम ‘बुध’ हो । ‘बृहस्पति’ शब्दको अर्थ गरिसकिएको छ ।
(ईशुचिर् पूतीभावे) यस धातुबाट ‘शुक्र’ शब्द सिद्ध भयो । ‘यः शुच्यति शोचयति वा स शुक्रः’ जो अत्यन्त पवित्र र जसको सङ्गले जीव पनि पवित्र हुन्छ, यसैले ईश्वरको नाम ‘शुक्र’ भयो ।
(चर गतिभक्षणयोः) यस धातुबाट ‘शनैस्’ अव्यय उपपद लगाएर ‘शनैश्चर’ शब्द सिद्ध हुन गयो । ‘यः शनैश्चरति स शनैश्चरः’ जो सबैमा सहजले प्राप्त धैर्यवान् हो, यसैले उस परमेश्वरको नाम ‘शनैश्चर’ भयो ।
(रह त्यागे) यस धातुबाट ‘राहु’ शब्द सिद्ध हुन्छ । ‘यो रहति परित्यजति दुष्टान् राहयति त्याजयति स राहुरीश्वरः’ जो एकान्तस्वरूप जसको स्वरूपमा दोस्रो पदार्थको संयुक्त छैन, जो दुष्टलाई छोड्ने र अन्यलाई छोडाउनेवाला हो, यसैले परमेश्वरको नाम ‘राहु’ हो ।
(कित निवासे रोगापनयने च) यस धातुबाट ‘केतु’ शब्द सिद्ध हुन्छ । ‘यश्चिकेतति चिकित्सति वा स केतुरीश्वरः’ जो सब जगत्‌को निवासस्थान, सब रोगहरूदेखि रहित मुमुक्षुहरूलाई मुक्ति समयमा सब रोगदेखि छुटाउँदछ, यसैले परमेश्वरको नाम ‘केतु’ हो ।
(यज देवपूजासङ्गतिकरणदानेषु) यस धातुबाट ‘यज्ञ’ शब्द सिद्ध हुन्छ । ‘यज्ञो वै विष्णुः’— यो ब्राह्मणग्रन्थको वचन हो [शतपथ ब्राह्मण (१/१/२/१३); गोपथ ब्राह्मण उत्तरभाग (प्रपा.४/कं.६)]‘यो यजति विद्वद्भिरिज्यते वा स यज्ञः’ जसले सबै जगत्‌को पदार्थहरूलाई संयुक्त गर्दछ र सबै विद्वान्‌हरूको पूज्य हो, र ब्रह्मादेखि लिएर सबै ऋषि-मुनिहरूको पूज्य थियो, छ र हुनेछ, यसैले परमात्माको नाम ‘यज्ञ’ हो, किनभने ऊ सर्वत्र व्यापक छ ।
(हु दानाऽदनयोः, आदाने चेत्येके) यस धातुबाट ‘होता’ शब्द सिद्ध भएको छ । ‘यो जुहोति स होता’ जो सबै जीवहरूलाई दिन योग्य पदार्थहरूको दाता र ग्रहण गर्न योग्य हो, यसैले ईश्वरको नाम ‘होता’ भयो ।
(बन्ध बन्धने) यसबाट ‘बन्धु’ शब्द बनेको छ । ‘यः स्वस्मिन् चराचरं जगत् बध्नाति बन्धुवद्धर्मात्मनां सुखाय सहायो वा वर्त्तते स बन्धुः’ जसले आफूमा सबै लोक-लोकान्तरहरूलाई नियमले बद्ध गरेर राख्दछ र सहोदरको समान सहायक हुन्छ, यसैले आफ्नो-आफ्नो परिधि वा नियमको उल्लङ्घन गर्न सक्दैनन् । जसरी भ्राता भाइहरूको सहायकारी हुन्छ, त्यसरी नै परमेश्वर पनि पृथिव्यादि लोकहरूको धारण, रक्षण र सुख दिनाले ‘बन्धु’ संज्ञक हो ।
(पा रक्षणे) यस धातुबाट ‘पिता’ शब्द सिद्ध भएको छ । ‘यः पाति सर्वान् स पिता’ जो सबैको रक्षक जस्तै पिता आफ्नो सन्तानमाथि सदा कृपालु भएर उन्नति चाहन्छ, त्यसरी नै परमेश्वर सबै जीवहरूको उन्नति चाहन्छ, यसबाट ईश्वरको नाम ‘पिता’ हो ।
‘यः पितॄणां पिता स पितामहः’ जो पिताहरूको पनि पिता हो, यसैले परमेश्वरको नाम ‘पितामह’ हो ।
‘यः पितामहानां पिता स प्रपितामहः’ जो पिताहरूको पितृको पिता हो, यसबाट परमेश्वरको नाम ‘प्रपितामह’ हो ।
(माङ् माने शब्दे च) यसबाट ‘माता’ शब्द सिद्ध हुन्छ । ‘यो मिमीते मानयति सर्वाञ्जीवान् स माता’ जसरी पूर्णकृपायुक्त जननी आफ्ना सन्तानहरूको सुख र उन्नति चाहन्छिन्, त्यसरी नै परमेश्वरले पनि सबैको बढोत्तरी चाहन्छ, यसैले परमेश्वरको नाम ‘माता’ हो ।
(चर गतिभक्षणयोः) आङ् पूर्वक यस धातुबाट ‘आचार्य’ शब्द सिद्ध हुन्छ । ‘यः आचारं ग्राहयति सर्वा विद्या बोधयति स आचार्य ईश्वरः’ जो सत्य आचारको ग्रहण गर्नेवाला र सबै विद्याहरूको प्राप्तिको हेतु भएर सबै विद्या प्राप्त गराउँदछ, यसैले परमेश्वरको नाम ‘आचार्य’ भयो ।
(गॄ शब्दे) यस धातुबाट ‘गुरु’ शब्द बनेर आएको छ । ‘यो धर्म्यान् शब्दान् गृणात्युपदिशति स गुरुः स पूर्वेषामपि गुरुः कालेनानवच्छेदात् ।’ यो योगशास्त्रको सूत्र (१/२६) हो । जो सत्यधर्मप्रतिपादक, सकल, विद्यायुक्त वेदहरूको उपदेश गर्दछ, जो सृष्टिको आदिमा अग्नि, वायु, आदित्य, अङ्गिरा र ब्रह्मादि गुरुहरूको पनि गुरु र जसको नाश कहिल्यै हुँदैन, यसैले परब्रह्मको नाम ‘गुरु’ हो ।
(अज गतिक्षेपणयोः जनी प्रादुर्भावे) यी धातुहरूबाट ‘अज’ शब्द बनेको छ । ‘योऽजति सृष्टिं प्रति सर्वान् प्रकृत्यादीन् पदार्थान् प्रक्षिपति जनयति कदाचिन्न जायते सोऽजः’ जो सबै प्रकृतिको अवयव आकाशादि भूत परमाणुहरूलाई यथायोग्य मिलाउँछ, शरीरको साथमा जीवको सम्बन्ध गरेर जन्म दिन्छ र स्वयं कहिल्यै जन्म लिंदैन, यसैले ईश्वरको नाम ‘अज’ हो ।
(वृह बृहि वृद्धौ) यी धातुहरूबाट ‘ब्रह्मा’ शब्द सिद्ध हुन्छ । ‘योऽखिलं जगन्निर्माणेन बर्हति वर्द्धयति स ब्रह्मा’ जसले सम्पूर्ण जगत्‌लाई रचेर बढाउँछ, यसैले उस परमेश्वरको नाम ‘ब्रह्मा’ हो ।
सत्यं ज्ञानमनन्तं ब्रह्म’ यो तैत्तिरीय उपनिषद् (२/१) को वचन हो । ‘सन्तीति सन्तस्तेषु सत्सु साधु तत्सत्यम् । यज्जानाति चराऽचरं जगत्तज्ज्ञानम् । न विद्यतेऽन्तोऽवधिर्मर्यादा यस्य तदनन्तम् । सर्वेभ्यो बृहत्त्वाद् ब्रह्म’ जो पदार्थ हुन् तिनलाई सत् भन्दछन् । तिनमा साधु हुनाले परमेश्वरको नाम सत्य भयो । जसले सबैलाई जान्दछ, यसैले परमेश्वरको नाम ‘ज्ञान’ भयो । जसको अन्त अवधि मर्यादा यति लामो-चौडा, सानो या ठूलो छ, यस्तो परिमाण छैन, त्यसैले परमेश्वरको नाम ‘अनन्त’ भयो । जो सबै भन्दा ठूलो भएकैले परमेश्वरको सत्य, ज्ञान र अनन्त नाम छन् ।
(डुदाञ् दाने) आङ्पूर्वक यस धातुबाट ‘आदि’ शब्द र नञ्पूर्वक ‘अनादि’ शब्द सिद्ध हुन्छ । ‘यस्मात् पूर्वं नास्ति परं चास्ति स आदिरित्युच्ते ।’ (महाभाष्य १/१/५/२०) ‘न विद्यते आदिः कारणं यस्य सोऽनादिरीश्वरः’ जसको पूर्व केही नहोस् र परे होस्, त्यसलाई ‘आदि’ भन्दछन्, जसको आदिकारण कोही पनि छैन, यसैले परमेश्वरको नाम ‘अनादि’ हो ।
(टुनदि समृद्धौ) आङ् पूर्वक यस धातुबाट ‘आनन्द’ शब्द बन्दछ । ‘आनन्दन्ति सर्वे मुक्ता यस्मिन् यद्वा यः सर्वाञ्जीवानानन्दयति स आनन्दः’ जो आनन्दस्वरूप, जसमा सबै मुक्त जीव आनन्दलाई प्राप्त गर्दछन् र सबै धर्मात्मा जीवहरूलाई आनन्दयुक्त गर्दछ, यसैले उस परमेश्वरको नाम ‘आनन्द’ भयो ।
(अस भुवि) यस धातुबाट ‘सत्’ शब्द सिद्ध हुन्छ । ‘यदस्ति त्रिषु कालेषु न बाध्यते तत्सद् ब्रह्म’ जो सदा वर्तमान अर्थात् भूत, भविष्यत्, वर्तमान कालहरूमा जसको बाध नहोस्, उस परमेश्वरलाई ‘सत्’ भन्दछन् ।
(चिती संज्ञाने) यस धातुबाट ‘चित्’ शब्द सिद्ध हुन्छ । ‘यश्चेतति चेतयति संज्ञापयति सर्वान् सज्जनान् योगिनस्तच्चित्परं ब्रह्म’ जो चेतनस्वरूप सबै जीवलाई चेताउने र सत्याऽसत्यलाई जनाउनेवाला हो, यसैले उस परमात्माको नाम ‘चित्’ हो । यी तीनै शब्दहरूको विशेषण हुनाले परमेश्वरको नामलाई ‘सच्चिदानन्दस्वरूप’ भन्दछन् ।
नित्य— ‘यो ध्रुवोऽचलोऽविनाशी स नित्यः ।’ जो निश्चल अविनाशी हो, सो ‘नित्य’ शब्दवाच्य ईश्वर हो ।
(शुन्ध शुद्धौ) यसबाट ‘शुद्ध’ शब्द सिद्ध हुन्छ । ‘यः शुन्धति सर्वान् शोधयति वा स शुद्ध ईश्वरः’ जो स्वयं पवित्र सब अशुद्धिहरूदेखि पृथक् र सबैलाई शुद्ध गराउनेवाला हो, यसैले ईश्वरको नाम ‘शुद्ध’ भयो ।
(बुध अवगमने) यस धातुबाट ‘क्त’ प्रत्यय हुनाले ‘बुद्ध’ शब्द सिद्ध हुन्छ । ‘यो बुद्धवान् सदैव ज्ञाताऽस्ति स बुद्धो जगदीश्वरः’ जो सदा सबैलाई जान्दछ, यसबाट ईश्वरको नाम ‘बुद्ध’ भयो ।
(मुच्लृ मोचने) यस धातुबाट ‘मुक्त’ शब्द सिद्ध हुन्छ । ‘यो मुञ्चति मोचयति वा मुमुक्षून् स मुक्तो जगदीश्वरः’ जो सर्वदा अशुद्धिहरूदेखि अलग र सबै मुमुक्षुहरूलाई क्लेशबाट छुटाइदिन्छ, यसैले परमात्माको नाम ‘मुक्त’ हो । ‘अत एव नित्यशुद्धबुद्धमुक्तस्वभावो जगदीश्वरः’ यसै कारणले परमेश्वरको स्वभाव नित्य, शुद्ध, बुद्ध र मुक्त छ ।
निर् आङ् पूर्वक (डुकृञ् करणे) यस धातुबाट ‘निराकार’ शब्द सिद्ध हुन्छ । ‘निर्गत आकारात्स निराकारः’ जसको आकार केही पनि छैन र कहिल्यै पनि शरीर धारण गर्दैन, यसैले परमेश्वरको नाम ‘निराकार’ हो ।
(अञ्जू व्यक्तिम्लक्षणकान्तिगतिषु) यस धातुबाट ‘अञ्जन’ शब्द बनेको छ र निर् उपसर्गको योगबाट ‘निरञ्जनः’ शब्द सिद्ध हुन्छ । ‘अञ्जनं व्यक्तिर्म्लक्षणं कुकाम इन्द्रियैः प्राप्तिश्चेत्यस्माद्यो निर्गतः पृथग्भूतः स निरञ्जनः’ जो व्यक्ति अर्थात् आकृति, म्लेच्छाचार, दुष्टकामना र चक्षुरादि इन्द्रियादि विषयहरूको पथदेखि पृथक् छ, यसैले ईश्वरको नाम ‘निरञ्जन’ भयो ।
(गण संख्याने) यस धातुबाट ‘गण’ शब्द सिद्ध हुन्छ । यसभन्दा अगाडि ‘ईश’ वा ‘पति’ शब्द राख्नाले ‘गणेश’‘गणपति’ शब्द सिद्ध हुन्छ । ‘ये प्रकृत्यादयो जडा जीवाश्च गण्यन्ते संख्यायन्ते तेषामीशः स्वामी पतिः पालको वा’ जो प्रकृत्यादि जड र सब जीव प्रख्यात पदार्थहरूका स्वामी वा पालन गर्नेवाला हुन्, यसैले ईश्वरको नाम ‘गणेश’‘गणपति’ हो ।
‘यो विश्वमीष्टे स विश्वेश्वरः’ जो संसारको अधिष्ठाता हो, उस परमेश्वरको नाम ‘विश्वेश्वर’ हो ।
‘यः कूटेऽनेकविधव्यवहारे स्वस्वरूपेणैव तिष्ठति स कूटस्थः परमेश्वरः’ जो सबै व्यवहारहरूमा व्याप्त र सबै व्यवहारहरूको आधार भएर पनि कुनै व्यवहारमा आफ्नो स्वरूपलाई फेर्दैन, यसैले परमेश्वरको नाम ‘कूटस्थ’ हो ।
जति ‘देव’ शब्दको अर्थ लेखियो उतिनै ‘देवी’ शब्दको पनि छन् । परमेश्वरको तीनै लिङ्गहरूको नाम छन्, जस्तै— ‘ब्रह्म चितिरीश्वरश्चेति’ जब ईश्वरको विशेषण हुनेछ तब ‘देव’, जब चितिको हुँदा तब ‘देवी’ यसैले ईश्वरको नाम ‘देवी’ हो ।
(शक्लृ शक्तौ) यस धातुबाट ‘शक्ति’ शब्द बनेको छ । ‘यः सर्वं जगत् कर्तुं शक्नोति स शक्तिः’ जो सबै जगत् बनाउनमा समर्थ छ, यसैले परमेश्वरको नाम ‘शक्ति’ भयो ।
(श्रिञ् सेवायाम्) यस धातुबाट ‘श्री’ शब्द सिद्ध हुन्छ । ‘यः श्रीयते सेव्यते सर्वेण जगता विद्वद्भिर्योगिभिश्च स श्रीरीश्वरः’ जसको सेवन सब जगत्, विद्वान् र योगीजन गर्दछन्, उस परमात्माको नाम ‘श्री’ हो ।
(लक्ष दर्शनाङ्कनयोः) यस धातुबाट ‘लक्ष्मी’ शब्द सिद्ध हुन्छ । ‘यो लक्षयति पश्यत्यङ्कते चिह्नयति चराचरं जगदथवा वेदैराप्तैर्योगिभिश्च यो लक्ष्यते स लक्ष्मीः सर्वप्रियेश्वरः’ जसले सबै चराचर जगत्‌लाई देख्दछ, चिह्नित अर्थात् दृश्य बनाउँछ, जस्तै शरीरको नेत्र, नासिकादि र वृक्षका पत्र, पुष्प, फल, मूल, पृथ्वी जलको कृष्ण, रक्त, श्वेत, मृत्तिका, पाषाण, चन्द्र-सूर्यादि चिह्न बनाउँछ, तथा सबैलाई देख्दछ, सबै शोभाहरूको पनि शोभा हो र जो वेदादि शास्त्र, धार्मिक विद्वान् योगीहरूको लागि लक्ष्य अर्थात् हेर्न योग्य हो, यसैले उस परमेश्वरको नाम ‘लक्ष्मी’ हो ।
(सृ गतौ) यस धातुबाट ‘सरस्’ अनि यसमा मतुप् ङीप् प्रत्यय हुनाले ‘सरस्वती’ शब्द सिद्ध हुन्छ । ‘सरो विविधं ज्ञानं विद्यते यस्यां चितौ सा सरस्वती’ जसलाई विविध विज्ञान, शब्द, अर्थ, सम्बन्ध प्रयोगको ज्ञान यथावत् हुन्छ, यसैले उस परमेश्वरको नाम ‘सरस्वती’ हो ।
‘सर्वाः शक्तयो विद्यन्ते यस्मिन् स सर्वशक्तिमानीश्वरः’ जसले आफ्नो कार्य गर्नमा कसै अन्यको सहायताको इच्छा लेशमात्र पनि गर्दैन, आफ्नै सामर्थ्यले आफ्नो सबै काम पूरा गर्दछ, यसैले उस परमात्माको नाम ‘सर्वशक्तिमान्’ हो ।
(णीञ् प्रापणे) यस धातुबाट ‘न्याय’ शब्द सिद्ध हुन्छ । ‘प्रमाणैरर्थपरीक्षणं न्यायः’ (वा.भा. १/१/१) यो वचन न्यायसूत्रमाथि वात्स्यायनमुनिकृत भाष्यको हो । ‘पक्षपातराहित्याचरणं न्यायः’ जुन प्रत्यक्षादि प्रमाणहरूको परीक्षाबाट सत्य-सत्य सिद्ध भएको हो, तथा पक्षपातरहित धर्मरूप आचरणलाई न्याय भन्दछन् । ‘न्यायं कर्तुं शीलमस्य स न्यायकारीश्वरः’ जसको न्याय अर्थात् पक्षपातरहित धर्म गर्नु नै स्वभाव हो, यसैले ईश्वरको नाम ‘न्यायकारी’ हो ।
(दय दानगतिरक्षणहिंसादानेषु) यस धातुबाट ‘दया’ शब्द सिद्ध हुन्छ । ‘दयते ददाति जानाति गच्छति रक्षति हिनस्ति यया सा दया, बह्वी दया विद्यते यस्य स दयालुः परमेश्वरः’ जो अभयका दाता, सत्याऽसत्य सर्व-विद्यालाई जान्ने, सब सज्जनहरूको रक्षा गर्ने र दुष्टलाई यथायोग्य दण्ड दिनेवाला हुन्, यसैले परमात्माको नाम ‘दयालु’ हो ।
‘द्वयोर्भावो द्वाभ्यामितं सा द्विता, द्वीतं वा, सैव तदेव वा द्वैतम्, न विद्यते द्वैतं द्वितीयेश्वरभावो यस्मिंस्तदद्वैतम् ।’ अर्थात् ‘सजातीयविजातीयस्वगतभेदशून्यं ब्रह्म’— दुईको हुनु, दुइटैले युक्त हुनु त्यो द्विता वा द्वीत अथवा द्वैत, अर्थात् जुन यसदेखि रहित छन् । सजातीय जस्तै मनुष्यको सजातीय दोस्रो मनुष्य हुन्छ, विजातीय जस्तै मनुष्यदेखि भिन्न जाति भएका वृक्ष, पाषाणादि । स्वगत अर्थात् जस्तो शरीरमा आँखा, नाक, कान आदि अवयवहरूको भेद हुन्छ, त्यसरी नै दोस्रा स्वजातीय ईश्वर, विजातीय ईश्वर वा आफ्नो आत्मामा तत्त्वान्तर वस्तुहरूदेखि रहित एक परमेश्वर हो, यसैले परमात्माको नाम ‘अद्वैत’ भयो ।
‘गुण्यन्ते ये ते गुणा वा यैर्गुणयन्ति ते गुणाः, यो गुणेभ्यो निर्गतः स निर्गुण ईश्वरः’ जति सत्त्व, रज, तम, रूप, रस, स्पर्श, गन्धादि जडका गुण, अविद्या, अल्पज्ञता, राग, द्वेष र अविद्यादि क्लेश जीवका गुण हुन् तिदेखि जो पृथक् छ । यसमा ‘अशब्दमस्पर्शमरूपमव्ययम्’ (कठोपनिषद् १/३/१५) इत्यादि उपनिषद्का प्रमाणहरू छन् । जो शब्द, स्पर्श, रूपादि गुणरहित छ, यसैले परमात्माको नाम ‘निर्गुण’ हो ।
‘यो गुणैः सह वर्त्तते स सगुणः’ जो सबैका ज्ञान, सर्वसुख, पवित्रता, अनन्तबलादि गुणले युक्त छ, यसैले परमेश्वरको नाम ‘सगुण’ हो । जसरी पृथ्वी गन्धादि गुणले ‘सगुण’ र इच्छादि गुणले रहित हुनाले ‘निर्गुण’ भयो, त्यसरी नै जगत् र जीवको गुणहरूदेखि पृथक् हुनाले परमेश्वर ‘निर्गुण’ र सर्वज्ञादि गुणले सहित हुनाले ‘सगुण’ हो । अर्थात् यस्तो कुनै पनि पदार्थ छैन जुन सगुण र निर्गुणताबाट पृथक् होस् । जसरी चेतन गुणदेखि पृथक् हुनाले जड पदार्थ निर्गुण र आफ्नो गुणले सहित हुनाले सगुण, त्यसरी नै जड गुणदेखि पृथक् हुनाले जीव ‘निर्गुण’ र इच्छादि आफ्नो गुणले सहित हुनाले ‘सगुण’ । यसरी नै परमेश्वरमा पनि सम्झनु पर्दछ ।
‘अन्तर्यन्तुं नियन्तुं शीलं यस्य सोऽयमन्तर्यामी’ जो सब प्राणी र अप्राणीरूप जगत्‌को भित्र व्यापक भएर सबैको नियम गर्दछ, यसैले उस परमेश्वरको नाम ‘अन्तर्यामी’ हो ।
‘यो धर्म्मे राजते स धर्मराजः’ जो धर्ममा नै प्रकाशमान र अधर्मदेखि रहित, धर्मको नै प्रकाश गर्दछ, यसैले परमेश्वरको नाम ‘धर्मराज’ हो ।
(यमु उपरमे) यस धातुबाट ‘यम’ शब्द बनेको छ । ‘यः सर्वान् प्राणिनो नियच्छति स यमः’ जसले सबै प्राणीहरूको कर्मफल दिनको लागि व्यवस्था गर्दछ र सबै अन्यायदेखि पृथक् रहन्छ, यसैले परमात्माको नाम ‘यम’ हो ।
(भज सेवायाम्) यस धातुबाट ‘भग’ यसबाट मतुप् हुनाले ‘भगवान्’ शब्द सिद्ध हुन्छ । ‘भगः सकलैश्वर्य्यं सेवनं वा विद्यते यस्य स भगवान्’ जो समग्र ऐश्वर्यले युक्त वा भज्नयोग्य हो, यसैले ईश्वरको नाम ‘भगवान्’ भयो ।
(मन ज्ञाने) यस धातुबाट ‘मनु’ शब्द बन्दछ । ‘यो मन्यते स मनुः’ जो मनु अर्थात् विज्ञानशील र मान्नयोग्य छ, यसैले ईश्वरको नाम ‘मनु’ हो ।
(पॄ पालनपूरणयोः) यस धातुबाट ‘पुरुष’ शब्द सिद्ध भएको छ । ‘यः स्वव्याप्त्या चराऽचरं जगत् पृणाति पूरयति वा स पुरुषः’ जो सब जगत्‌मा पूर्ण भैरहेको छ, यसैले उस परमेश्वरको नाम ‘पुरुष’ हो ।
(डुभृञ् धारणपोषणयोः) ‘विश्व’ पूर्वक यस धातुबाट ‘विश्वम्भर’ शब्द सिद्ध हुन्छ । ‘यो विश्वं बिभर्ति धरति पुष्णाति वा स विश्वम्भरो जगदीश्वरः’ जसले जगत्‌को धारण र पोषण गर्दछ, यसैले परमेश्वरको नाम ‘विश्वम्भर’ हो ।
(कल संख्याने) यस धातुबाट ‘काल’ शब्द बनेको छ । ‘कलयति संख्याति सर्वान् पदार्थान् स कालः’ जो जगत्‌को सबै पदार्थ र जीवहरूको संख्या गर्दछ, यसैले परमेश्वरको नाम ‘काल’ हो ।
(शिष्लृ विशेषणे) यस धातुबाट ‘शेष’ शब्द सिद्ध हुन्छ । ‘यः शिष्यते स शेषः’ जो उत्पत्ति र प्रलयबाट शेष अर्थात् बाँकी रहन्छ, यसैले परमात्माको नाम ‘शेष’ हो ।
(आप्लृ व्याप्तौ) यस धातुबाट ‘आप्त’ शब्द सिद्ध हुन्छ । ‘यः सर्वान् धर्मात्मन आप्नोति वा सर्वैर्धर्मात्मभिराप्यते छलादिरहितः स आप्तः’ जो सत्योपदेशक सकलविद्यायुक्त, सब धर्मात्माहरूलाई प्राप्त हुन्छ र धर्मात्माहरूदेखि प्राप्त हुन योग्य, छल-कपटादिदेखि रहित छ, यसैले परमात्माको नाम ‘आप्त’ हो ।
(डुकृञ् करणे) ‘शम्’ पूर्वक यस धातुबाट ‘शङ्कर’ शब्द सिद्ध भएको छ । ‘यः शं कल्याणं सुखं करोति स शङ्करः’ जो कल्याण अर्थात् सुखलाई गराउने हुन्, यसैले ‘शङ्कर’ नाम ईश्वरको हो ।
‘महत्’ शब्द पूर्वक ‘देव’ शब्दबाट ‘महादेव’ शब्द सिद्ध हुन्छ । ‘यो महतां देवः स महादेवः’ जो महान् देवहरूका देव अर्थात् विद्वान्‌हरूका पनि विद्वान्, सूर्यादि पदार्थहरूका प्रकाशक हुन्, यसैले परमात्माको नाम ‘महादेव’ हो ।
(प्रीञ् तर्पणे कान्तौ च) यस धातुबाट ‘प्रिय’ शब्द सिद्ध हुन्छ । ‘यः प्रणाति प्रीयते वा स प्रियः’ जसले सबै धर्मात्माहरू, मुमुक्षुहरू र शिष्टहरूलाई प्रसन्न गराउँछ र सबैको कामनाको योग्य हो, यसैले ईश्वरको नाम ‘प्रिय’ हो ।
(भू सत्तायाम्) ‘स्वयं’ पूर्वक यस धातुबाट ‘स्वयम्भू’ शब्द सिद्ध हुन्छ । ‘यः स्वयं भवति स स्वयम्भूरीश्वरः’ जो आफूबाट आफै छ, कसैबाट कहिल्यै उत्पन्न भएको छैन, यसैले परमात्माको नाम ‘स्वयम्भू’ हो ।
(कु शब्दे) यस धातुबाट ‘कवि’ शब्द सिद्ध हुन्छ । ‘यः कौति शब्दयति सर्वा विद्याः स कविरीश्वरः’ जो वेदद्वारा सबै विद्याहरूको उपदेष्टा र वेत्ता हो, यसैले परमेश्वरको नाम ‘कवि’ भयो ।
(शिवु कल्याणे) यस धातुबाट ‘शिव’ शब्द सिद्ध हुन्छ । ‘बहुलमेतन्निदर्शनम्’ (धातुपाठे चुरादिगणे) यसबाट ‘शिव’ धातु मानिन्छ । जो कल्याणस्वरूप र कल्याणलाई गराउने हो, यसैले परमात्माको नाम ‘शिव’ हो ।
यी सय नामहरू परमेश्वरका लेखिएका छन् । परन्तु यिदेखि भिन्न परमात्माको असंख्य नाम छन् । किनभने जसरी परमेश्वरको अनन्त गुण, कर्म, स्वभाव छन्, त्यसरी नै उसका अनन्त नाम पनि छन् । ती मध्येबाट प्रत्येक गुण, कर्म र स्वभावको एक-एक नाम छ । यो मैले लेख्नु समुद्रको अगाडि थोपोजस्तै हो । किनभने वेदादि शास्त्रमा परमात्माको असंख्य गुण, कर्म, स्वभाव व्याख्यात गरिएको छ, तिनलाई अध्ययन र अध्यापन गराउनाले सबैलाई बोध हुन सक्दछ र अन्य पदार्थको ज्ञान पनि तिनैलाई पूरा हुन सक्दछ, जसले वेदादि शास्त्रहरूलाई पढ्दछन् ।
मङ्गलाचरणको समीक्षा (१.४)
प्रश्न— जसरी अन्य ग्रन्थकारहरूले लेखको आदि, मध्य र अन्तमा मङ्गलाचरण गर्दछन् त्यस्तो तपाईंले त केही पनि न लेख्नु न गर्नु नै भयो ?
उत्तर— यस्तो गर्नु हामीलाई योग्य छैन । किनभने जो आदि, मध्य र अन्तमा मङ्गल गर्दछ भने उसको ग्रन्थमा आदि, मध्य र मध्य तथा अन्तको बीचमा जे जति लेखेको होला, त्यो सबै अमङ्गल नै रहनेछ । यसैले— ‘मङ्गलाचरणं शिष्टाचारात् फलदर्शनाच्छ्रुतितश्चेति’ यो सांख्यशास्त्र (५/१) को वचन हो । यसको यो अभिप्राय हो कि जो न्याय, पक्षपातरहित, सत्य, वेदोक्त ईश्वरको आज्ञा हो उसैको यथावत् सर्वत्र र सदा आचरण गर्नुलाई नै मङ्गलाचरण भन्दछन् । ग्रन्थको आरम्भदेखि लिएर समाप्तिपर्यन्त सत्याचार गर्नु नै मङ्गलाचरण हो, न कि कहीं मङ्गल र कहीं अमङ्गल लेख्नु । हेर्नुहोस् महाशय महर्षिहरूको लेखलाई—
यान्यनवद्यानि कर्माणि तानि सेवितव्यानि, नो इतराणि ॥ —यो तैत्तिरीयोपनिषद् (१/११) को वचन हो ।
हे सन्तानहरू हो ! जो ‘अनवद्य’ अनिन्दनीय अर्थात् धर्मयुक्त कर्म छन्, तिनैलाई तिमीले गर्न योग्य छ, अधर्मयुक्तलाई होइन ।
यसैले जो आधुनिक ग्रन्थ वा टीकाकारहरूको ‘श्रीगणेशाय नमः’, ‘सीतारामाभ्यां नमः’, ‘राधाकृष्णाभ्यां नमः’, ‘श्रीगुरुचरणारविन्दाभ्यां नमः’, ‘हनुमते नमः’, ‘दुर्गायै नमः’, ‘वटुकाय नमः’, भैरवाय नमः’, ‘शिवाय नमः’, ‘सरस्वत्यै नमः’, ‘नारायणाय नमः’ इत्यादि लेख देख्नमा आएका छन्, यिनलाई बुद्धिमानी जनहरू वेद र शास्त्रहरूको विरुद्ध हुनाले मिथ्या नै सम्झन्छन् । किनभने वेद र ऋषि, मुनिहरूको ग्रन्थमा कहीं पनि यस्तो मङ्गलाचरण देख्नमा आउँदैन र आर्ष ग्रन्थहरूमा ‘ओ३म्’ तथा ‘अथ’ शब्द त देखिनमा आएको छ । हेर्नुहोस्—
‘अथ शब्दानुशासनम्’ । अथेत्ययं शब्दोऽधिकारार्थः प्रयुज्यते ।
—व्याकरण महाभाष्य (पस्पशाह्निक) ॥
‘अथातो धर्मजिज्ञासा’ । अथेत्यानन्तर्ये वेदाध्ययनानन्तरम् ।     
—यो पूर्वमीमांसा (१/१/१) ॥
‘अथातो धर्मं व्याख्यास्यामः’ ।
अथेति धर्मकथनानन्तरं धर्मलक्षणं विशेषेण व्याख्यास्यामः ।
                        —यो वैशेषिक दर्शन (१/१/१) ॥
‘अथ योगानुशासनम्’ । अथेत्ययमधिकारार्थः ।
—यो योगशास्त्रको वचन (१/१) ॥
‘अथ त्रिविधदुःखात्यन्तनिवृत्तिरत्यन्तपुरुषार्थः’ ।
सांसारिकविषयभोगानन्तरं त्रिविधदुःखात्यन्तनिवृत्त्यर्थः प्रयत्नः कर्त्तव्यः ।
—यो सांख्यशास्त्रको वचन हो ।
‘अथातो ब्रह्मजिज्ञासा’ । चतुष्टयसाधनसंपत्त्यनन्तरं ब्रह्म जिज्ञास्यम् ।
—यो वेदान्तसूत्र हो (१/१/१) ॥
‘ओमित्येतदक्षरमुद्गीथमुपासीत’ ।
—यो छान्दोग्योपनिषद् (१/१/१) को वचन हो ॥
‘ओमित्येतदक्षरमिद सर्वं तस्योपव्याख्यानम्’ ।
—यो माण्डूक्योपनिषद्को शुरूको वचन हो ॥
यसरी नै अन्य ऋषि-मुनिहरूको ग्रन्थहरूमा ‘ओ३म्’‘अथ’ शब्द लेखिएका छन्, त्यसरी नै (अग्नि, इट्, अग्नि, ये त्रिषप्ताः परियन्ति) यी शब्द चारै वेदहरूको आदिमा लेखिएका छन् । ‘श्रीगणेशाय नमः’ इत्यादि शब्द कहीं पनि छैन, र जो वैदिक जनहरू वेदको आरम्भमा ‘हरिः ओम्’ भनेर लेख्दछन् र पढ्दछन्, यो पौराणिक र तान्त्रिक जनहरूको मिथ्या कल्पनाबाट सिकेका हुन् । केवल ओङ्कारको पाठ त ऋषि-मुनिहरूका ग्रन्थहरूमा देखिन आएको छ; ‘हरि’ शब्द आदिमा कहीं पनि छैन । यसैले ‘ओ३म्’ वा ‘अथ’ शब्द नै ग्रन्थको आदिमा लेख्नुपर्दछ । यो मैले किञ्चिनमात्र ईश्वरको विषयमा लेखें अब यस भन्दा अगाडि शिक्षाको विषयमा लेख्ने छु ।

इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषित ईश्वरनामविषये
प्रथमः समुल्लासः सम्पूर्णः ॥१॥

Comments

Popular posts from this blog

समुल्लास ११ भाग १

चौधौं समुल्लास

समुल्लास ११ भाग २