दशौं समुल्लास
(१०) दशौं समुल्लास
आचार-अनाचार र भक्ष्य-अभक्ष्यको विषयमा व्याख्या
आचार र अनाचारको विषयमा वर्णन (१०.१)
अब आचार अर्थात् जुन धर्मयुक्त कर्महरूको आचरण, सुशीलता, सत्पुरुषहरूको सङ्ग र सद्विद्याको ग्रहणमा रुचि आदि ‘आचार’ र यसदेखि विपरीतलाई ‘अनाचार’ भन्दछन्, यसको बारेमा लेखिन्छ—
विद्वद्भिः सेवितः सद्भिर्नित्यमद्वेषरागिभिः । हृदयेनाभ्यनुज्ञातो यो धर्मस्तन्निबोधत ॥१॥
कामात्मता न प्रशस्ता न चैवेहास्त्यकामता । काम्यो हि वेदाधिगमः कर्मयोगश्च वैदिकः ॥२॥
सङ्कल्पमूलः कामो वै यज्ञाः सङ्कल्पसम्भवाः । व्रतानि यमधर्माश्च सर्वे सङ्कल्पजाः स्मृताः ॥३॥
अकामस्य क्रिया काचिद् दृश्यते नेह कर्हिचित् । यद्यद्धि कुरुते किञ्चित् तत्तत्कामस्य चेष्टितम् ॥४॥
वेदोऽखिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् । आचारश्चैव साधूनामात्मनस्तुष्टिरेव च ॥५॥
सर्वन्तु समवेक्ष्येदं निखिलं ज्ञानचक्षुषा । श्रुतिप्रामाण्यतो विद्वान् स्वधर्मे निविशेत वै ॥६॥
श्रुतिस्मृत्युदितं धर्ममनुतिष्ठन् हि मानवः । इह कीर्त्तिमवाप्नोति प्रेत्य चानुत्तमं सुखम् ॥७॥
श्रुतिस्तु वेदो विज्ञेयो धर्मशास्त्रं तु वै स्मृतिः । ते सर्वार्थेष्वमीमांस्ये ताभ्यां धर्मो हि निर्बभौ ॥८॥
योऽवमन्येत ते मूले हेतुशास्त्राश्रयाद् द्विजः । स साधुभिर्बहिष्कार्यो नास्तिको वेदनिन्दकः ॥९॥
वेदः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः । एतच्चतुर्विधं प्राहुः साक्षाद्धर्मस्य लक्षणम् ॥१०॥
अर्थकामेष्वसक्तानां धर्मज्ञानं विधीयते । धर्मं जिज्ञासमानानां प्रमाणं परमं श्रुतिः ॥११॥
वैदिकैः कर्मभिः पुण्यैर्निषेकादिर्द्विजन्मनाम् । कार्य्यः शरीरसंस्कारः पावनः प्रेत्य चेह च ॥१२॥
केशान्तः षोडशे वर्षे ब्राह्मणस्य विधीयते । राजन्यबन्धोर्द्वाविंशे वैश्यस्य द्व्यधिके ततः ॥१३॥
—मनुस्मृति (अध्याय २/श्लोक १-४, ६, ८-१३, २६, ६५) ॥
मनुष्यहरूले सदा यस कुरामा ध्यान दिनुपर्दछ कि जसको सेवन राग-द्वेष रहित विद्वान्हरूले नित्य गरून्, जसलाई ‘हृदय’ अर्थात् आत्माले सत्य-कर्तव्यलाई जानोस्, त्यही धर्म नै माननीय र करणीय सम्झोस् ॥१॥ किनभने यस संसारमा अत्यन्त कामात्मता र निष्कामता श्रेष्ठ हुँदैन । वेदार्थ-ज्ञान र वेदोक्त-कर्म यी सबै कामनाबाट नै सिद्ध हुन्छन् ॥२॥ यदि कसैले भन्दछ कि म निरिच्छ र निष्काम हूँ, वा हुन जाऊँ, यस्तो कुरो कहिल्यै हुन सक्दैन । किनभने सबै ‘काम’ अर्थात् यज्ञ, सत्यभाषणादि-व्रत, यम, नियमरूपी धर्म सबै सङ्कल्पबाट नै बन्दछन् ॥३॥ किनभने जुन-जुन हस्त, पाद, नेत्र, मन आदि चलाइन्छ, ती सबै कामनाबाट नै चल्दछन् । यदि इच्छा हुँदैन भने त आँखा चिम्लनु र खोल्नु पनि हुँदैनथ्यो ॥४॥ यसैले सम्पूर्ण वेद, मनुस्मृति तथा ऋषिप्रणीत शास्त्र, सत्पुरुषहरूको आचार र जुन-जुन कर्ममा आफ्नो आत्मा प्रसन्न रहन्छ अर्थात् भय, शङ्का, लज्जा जसमा हुँदैन, ती कर्महरूको सेवन गर्न उचित हुन्छ । हेर ! जब कुनै मनुष्य मिथ्याभाषण, चोरी आदिको इच्छा गर्दछ भने त्यति वेलै उसको आत्मामा भय, शङ्का, लज्जा उत्पन्न अवश्य हुन्छ, त्यसैले त्यो कर्म गर्नयोग्य होइन भन्ने थाहा लाग्दछ ॥५॥ मनुष्य सम्पूर्ण शास्त्र, वेद, सत्पुरुषहरूको आचार, आफ्नो आत्माको अविरुद्ध राम्रो तरहले विचार गरेर ज्ञाननेत्र उघार्दै श्रुति-प्रमाणबाट स्वात्मानुकूल धर्ममा प्रवेश गरोस् ॥६॥ किनभने जो मनुष्यले वेदोक्त धर्म र जो वेदसँग अविरुद्ध स्मृत्युक्त धर्मको अनुष्ठान गर्दछ, त्यसले यस लोकमा कीर्ति र मरेपछि पनि सर्वोत्तम सुखलाई प्राप्त गर्दछ ॥७॥ ‘श्रुति’ वेद र ‘स्मृति’ धर्मशास्त्रलाई भन्दछन्, यिनीहरूबाट सबै कर्त्तव्याऽकर्त्तव्यको निश्चय गर्नुपर्दछ ॥८॥ जो कसैले वेद र वेदानुकूल आप्तग्रन्थहरूको अपमान गर्दछ भने, त्यसलाई श्रेष्ठ जनहरूले जातिबाह्य गरिदिनु । किनभने जसले वेदको निन्दा गर्दछ भने त त्यही ‘नास्तिक’ हो भन्ने जान्नु ॥९॥ यसैले वेद, स्मृति, सत्पुरुषहरूको आचार र आफ्नो आत्माको ज्ञानदेखि अविरुद्ध प्रियाचरण, यी चार धर्मका ‘लक्षण’ अर्थात् यिनैबाट धर्म लक्षित हुन्छ ॥१०॥ परन्तु जो द्रव्यहरूको लोभमा र ‘काम’ अर्थात् विषयसेवामा फसेको छैन, त्यसैलाई धर्मको ज्ञान हुन्छ । जसले धर्मलाई जान्ने इच्छा गर्दछ, उसको लागि वेद नै परम प्रमाण हो ॥११॥ त्यसैले सबै मनुष्यलाई यो उचित छ कि वेदोक्त पुण्यरूप कर्महरूले ब्राह्मण, क्षत्रिय, वैश्यले आफ्ना सन्तानहरूको निषेकादि संस्कार गरोस्, जसले यस जन्म वा परजन्मलाई पवित्र गर्दछ ॥१२॥ ब्राह्मण वर्णका सोह्रौं, क्षत्रियका बाईसौं र वैश्यका चौबीसौं वर्षमा ‘केशान्त-कर्म’ र मुण्डन गर्नुपर्दछ, अर्थात् यस विधिको पश्चात् केवल शिखा राखेर अन्य दारी, जुँगा र कपाल सदा फाल्दै राख्नुपर्दछ अर्थात् कहिल्यै नराख्नु, र शीतप्रधान देशमा आफ्नो वास र कामाचार छ भने, चाहे पञ्चकेश राखोस् र जहाँ अति उष्ण देश छ भने त सबै शिखा-सहित पनि छेदन गराउनुपर्दछ, किनभने शिरमा कपाल रहनाले उष्णता अधिक हुन्छ र त्यसले गर्दा बुद्धि कम हुन जान्छ । दारी-जुँगा राख्नाले खान-पान राम्रोसँग हुँदैन र उच्छिष्ट पनि रउँहरूमा रहन जान्छ ॥१३॥
इन्द्रियाणां विचरतां विषयेष्वपहारिषु । संयमे यत्नमातिष्ठेद्विद्वान्यन्तेव वाजिनाम् ॥१॥
इन्द्रियाणां प्रसङ्गेन दोषमृच्छत्यसंशयम् । सन्नियम्य तु तान्येव ततः सिद्धिं नियच्छति ॥२॥
न जातु कामः कामानामुपभोगेन शाम्यति । हविषा कृष्णवर्त्मेव भूय एवाभिवर्द्धते ॥३॥
वेदास्त्यागश्च यज्ञाश्च नियमाश्च तपांसि च । न विप्रदुष्टभावस्य सिद्धिं गच्छन्ति कर्हिचित् ॥४॥
वशे कृत्वेन्द्रियग्रामं संयम्य च मनस्तथा । सर्वान् संसाधयेदर्थानक्षिण्वन् योगतस्तनुम् ॥५॥
श्रुत्वा स्पृष्ट्वा च दृष्ट्वा च भुक्त्वा घ्रात्वा च यो नरः । न हृष्यति ग्लायति वा स विज्ञेयो जितेन्द्रियः ॥६॥
नापृष्टः कस्यचिद् ब्रूयान्न चान्यायेन पृच्छतः । जानन्नपि हि मेधावी जडवल्लोक आचरेत् ॥७॥
वित्तं बन्धुर्वयः कर्म विद्या भवति पञ्चमी । एतानि मान्यस्थानानि गरीयो यद्यदुत्तरम् ॥८॥
अज्ञो भवति वै बालः पिता भवति मन्त्रदः । अज्ञं हि बालमित्याहुः पितेत्येव तु मन्त्रदम् ॥९॥
न हायनैर्न पलितैर्न वित्तेन न बन्धुभिः । ऋषयश्चक्रिरे धर्मं योऽनूचानः स नो महान् ॥१०॥
विप्राणां ज्ञानतो ज्यैष्ठ्यं क्षत्रियाणां तु वीर्यतः । वैश्यानां धान्यधनतः शूद्राणामेव जन्मतः ॥११॥
न तेन वृद्धो भवति येनास्य पलितं शिरः । यो वै युवाप्यधीयानस्तं देवाः स्थविरं विदुः ॥१२॥
यथा काष्ठमयो हस्ती यथा चर्ममयो मृगः । यश्च विप्रोऽनधीयानस्त्रयस्ते नाम विभ्रति ॥१३॥
अहिंसयैव भूतानां कार्यं श्रेयोऽनुशासनम् । वाक् चैव मधुरा श्लक्ष्णा प्रयोज्या धर्ममिच्छता ॥१४॥
—मनुस्मृति (अध्याय २/श्लोक ८८,९३,९४,९७,९८,१००,११०,१३६,१५३-१५७,१५९) ॥
मनुष्यको यही मुख्य आचार हो कि जुन इन्द्रियहरू चित्तलाई हरण गर्नेवाला विषयहरूमा प्रवृत्त गराउँछ, त्यसलाई रोक्नमा प्रयत्न गरोस् । जसरी घोडालाई सारथिले रोकेर शुद्ध मार्गमा चलाउँछ, यस प्रकार यिनलाई आफ्नो वशमा गरेर अधर्ममार्गबाट हटाएर धर्ममार्गमा सदा चलाउने गरोस् ॥१॥ किनभने इन्द्रिहरूलाई विषयासक्ति र अधर्ममा लगाउनाले मनुष्य निश्चित दोषलाई प्राप्त गर्दछ । र जब यिनलाई जितेर धर्ममा लगाउँछ तबै अभीष्ट सिद्धिलाई प्राप्त गर्दछ ॥२॥ यो निश्चय हो कि अग्निमा इन्धन र घ्यू हाल्नाले बढ्दै जान्छ, त्यसरी नै कामहरूको उपभोगले काम शान्त कहिल्यै हुँदैन, किन्तु झन-झन बढ्दै जान्छ, यसैले विषयासक्त मनुष्य कहिल्यै पनि बन्नुहुँदैन ॥३॥ जो अजितेन्द्रिय पुरुष हुन्छ, त्यसलाई ‘विप्रदुष्ट’ भन्दछन् । त्यस्तोले गर्नाले न त वेदज्ञान, नत त्याग, नत यज्ञ, नत नियम र नत धर्माचरणले नै सिद्धिलाई प्राप्त गर्दछन्, किन्तु यी सबै कुरा जितेन्द्रिय, धार्मिक जनहरूलाई नै सिद्ध हुन्छ ॥४॥ यसैले पाँच कर्म, पाँच ज्ञानेन्द्रिय र एघारौं मनलाई आफ्नो वशमा गरेर युक्ताहारविहार योगले शरीरको रक्षा गर्दै सबै अर्थहरूलाई सिद्ध गरोस् ॥५॥ ‘जितेन्द्रिय’ त्यसलाई भन्दछन् कि जुन स्तुति सुनेर हर्ष र निन्दा सुनेर शोक, राम्रो स्पर्श गरेर सुख र दुष्ट स्पर्श गरेर दुःख, सुन्दर रूप देखेर प्रसन्न र दुष्टरूप देखेर अप्रसन्न, उत्तम भोजन गरेर आनन्दित र निकृष्ट भोजन गरेर दुःखित, सुगन्धमा रुचि र दुर्गन्धमा अरुचि गर्दैन ॥६॥ कहिले बिना सोधे वा अन्यायसँग सोध्नेवालालाई कि जसले कपटले सोध्छ, त्यसलाई उत्तर नदेओस् । तिनीहरूका अगाडि बुद्धिमान् जडजस्तै बनोस् । हो, जो निष्कपट र जिज्ञासु छ भने त उसलाई बिना सोधे उपदेश गरोस् ॥७॥ एक धन, दोस्रो बन्धु कुटुम्ब कुल, तेस्रो अवस्था, चौथो उत्तम कर्म र पाँचौं श्रेष्ठ विद्या, यी पाँच मान्यका स्थान हुन् । परन्तु धन भन्दा उत्तम बन्धु, बन्धु भन्दा अधिक अवस्था, अवस्था भन्दा श्रेष्ठ कर्म र कर्म भन्दा पवित्र विद्यावाला उत्तरोत्तर अधिक माननीय हुन्छ ॥८॥ किनभने चाहे सय वर्षको पनि किन नहोस् परन्तु जुन विद्या, विज्ञानरहित छ, त्यो बालक हो र यदि विद्या, विज्ञानको दाता छ भने, त्यस बालकलाई पनि वृद्ध मान्नुपर्दछ । किनभने सबै शास्त्र आप्त र विद्वान्ले अज्ञानीलाई ‘बालक’ र ज्ञानीलाई ‘पिता’ भन्दछन् ॥९॥ धेरै वर्ष बित्नाले, केश पाक्नाले, अधिक धनले र ठूलो गोलबगालले वृद्ध हुँदैन, किन्तु ऋषि-महात्माहरूको यही निश्चय छ कि हाम्रो बीचमा विद्या, विज्ञानमा जो अधिक हुन्छन्, उनैलाई ‘वृद्ध’ पुरुष भन्दछन् ॥१०॥ ब्राह्मण ज्ञान, क्षत्रिय बल, वैश्य धनधान्य र शूद्र जन्मले अर्थात् अधिक आयुले वृद्ध हुन्छ ॥११॥ शरीरको केश श्वेत हुनाले बुढो हुँदैन, किन्तु जुन युवाले विद्या पढेको छ, उसैलाई विद्वान्हरूले ठूलो मान्दछन् ॥१२॥ र जसले विद्या पढेको छैन, त्यो जस्तै काठको हात्ती, काढिएको छालाको मृग हुन्छ, त्यस्तै अविद्वान् मनुष्य जगत्मा नाममात्रका मनुष्य हुन्छन् ॥१३॥ यसैले विद्या पढेर विद्वान्, धर्मात्मा हुँदै, निर्वैरताले सबै प्राणीहरूलाई कल्याणको उपदेश गरोस् । उपदेशमा वाणी मधुर र कोमल बोलोस् । जो सत्योपदेशले धर्मको वृद्धि र अधर्मको नाश गर्दछन्, ती पुरुष धन्य हुन् ॥१४॥ नित्य स्नान, वस्त्र, अन्न, पान, स्थान सबै शुद्ध राखोस् । किनकि यिनको शुद्ध हुँदामा चित्तको शुद्धि र आरोग्यता प्राप्त गरेर पुरुषार्थ बढ्दछ । शौच त्यति नै गर्नु योग्य हुन्छ कि जतिले मल-दुर्गन्ध दूर हुन जान्छ ।
आचारः परमो धर्मः श्रुत्युक्तः स्मार्त्त एव च ॥ —मनुस्मृति (अध्याय १/श्लोक १०८) ॥
जुन सत्यभाषणादि कर्महरूको आचरणलाई गर्नु हो, त्यही नै वेद र स्मृतिमा भनिएको ‘आचार’ हो ।
मा [नो॑] वधीः पि॒तरं॒ मोत मात॒र॒म् ॥ —यजुर्वेद (अध्याय १६/ मन्त्र १५) ॥
आ॒चार्य्य उप॒नय॑मानो.......ब्रह्म॒चारिण॑मिच्छते ॥
—अथर्ववेद (काण्ड ११/सूक्त ५/मन्त्र ३-१७) ॥
मातृदेवो भव । पितृदेवो भव । आचार्य्यदेवो भव । अतिथिदेवो भव ॥
—तैत्तिरीय (आरण्यक प्र.७/अनु.११);
—तैत्तिरीयोपनिषद् (शीक्षाध्याय/अनुवाक ११/श्लोक २) ॥
माता, पिता, आचार्य र अतिथिको सेवा गर्नुलाई ‘देवपूजा’ भनिन्छ र जुन-जुन कर्मले जगत्को उपकार हुन्छ त्यो-त्यो गर्नु र हानिकारलाई छोड्नु नै मनुष्यको मुख्यकर्म हो । कहिल्यै पनि नास्तिक, लम्पट, विश्वासघाती, चोर, मिथ्यावादी, स्वार्थी, कपटी, छली आदि दुष्ट मनुष्यहरूको सङ्ग नगरोस् । ‘आप्त’ जो सत्यवादी, धर्मात्मा, परोपकारप्रिय जन छन्, उनीहरूको सङ्ग गर्नु ‘श्रेष्ठाचार’ हो ।
प्रश्न— आर्यावर्त्तवासीहरूको आर्यावर्त्त भन्दा भिन्न देशहरूमा जाँदा आचार नष्ट हुन्छ कि हुँदैन ?
उत्तर— यो कुरो झुट्टो हो । जुन भित्र-बाहिरको पवित्रता गर्नुका साथै सत्यभाषणादि आचार गर्नु हो, यो जहाँ कहीं पनि गर्नेछ, आचार र धर्मभ्रष्ट कहिल्यै हुनेछैन । फेरि जो आर्यावर्त्तमा रहेर पनि दुष्टाचार गर्नेछ, त्यही नै धर्मभ्रष्ट र आचारभ्रष्टमा गनिन्छ । यदि यस्तो हुन्थ्यो भने त—
मेरोर्हरेश्च द्वे वर्षे वर्षं हैमवतं ततः । क्रमेणैव समागम्य भारतं वर्षमासदत् ॥१॥
स दृष्ट्वा विविधान् देशान् चीनहूणनिषेवितान् ॥२॥
—यो महाभारत शान्तिपर्व मोक्षधर्ममा व्यास-शुकसंवादको वचन हो ॥
—तु. महाभारत, कलकत्ता मिशन प्रेश संस्करण वि.सं. १८९६ (अध्याय ३२७/श्लोक १४-१५) ॥
अर्थात् एक समयमा व्यासजी आफ्ना पुत्र शुक र शिष्य-सहित ‘पाताल’ अर्थात् जसलाई अहिलेको समयमा ‘अमेरिका’ भन्दछन्, त्यहाँ निवास गर्दथे । शुकाचार्यले पितासँग एक प्रश्न सोधे कि— “आत्मविद्या यति नै हो कि अधिक पनि छ ?” व्यासजीले जाने पनि त्यसको उत्तर दिएनन्, किनभने पूर्व त्यस कुराको उपदेश गरिसकेका थिए । दोस्रालाई साक्षीको लागि आफ्नो पुत्र शुकदेवलाई भने कि— “तँ मिथिलामा गएर यही प्रश्न राजा जनकसँग गर्नु । उनले यसको यथायोग्य उत्तर दिनेछन् ।” पिताको वचन सुनेर शुकाचार्य पातालबाट ‘मिथिला’ तिरको लागि हिंडे । प्रथम ‘मेरु’ अर्थात् हिमालयदेखि ईशान, उत्तर र वायव्य दिशामा जुन देशहरू पर्दछन्, तिनीहरूको नाम हरिवर्ष थियो । अर्थात् हरि भन्दछन् बाँदरलाई, त्यस देशका मनुष्य अझै पनि ‘रक्तमुख’ केही-केही बाँदरकै समान राता आँखा हुन्छन् । जुन देशहरूको नाम यस समयमा ‘यूरोप’ छ, त्यसैलाई संस्कृतमा ‘हरिवर्ष’ भन्दथे । ती देशहरूलाई हेर्दै र जसलाई ‘हूण’ यहूदी पनि भन्दछन्, ती देशहरूलाई हेर्दै ‘चीन’ मा आए । चीनदेखि हिमालय र हिमालयदेखि हिंडेर मिथिलापुरीमा आए ।
फेरि श्रीकृष्ण तथा अर्जुन पातालमा ‘अश्वतरी’ मा अर्थात् जसलाई अग्नियान डुँगा भन्दछन्, त्यसमा बसेर पातालमा गएर महाराजा युधिष्ठिरको यज्ञमा उद्दालक ऋषिलाई लिएर आएका थिए । धृतराष्ट्रको विवाह ‘गान्धार’ जसलाई अहिले अफगानिस्तानको ‘कन्धार’ भन्दछन् वहाँकी राजपुत्रीसँग भएको थियो । माद्री जुन कि पाण्डुकी स्त्री थिइन् ‘ईरान’ की राजाकी कन्या थिइन् र अर्जुनको विवाह पाताल देशमा जसलाई ‘अमेरिका’ भन्दछन् वहाँका राजाकी छोरी उलुपीको साथमा भएको थियो । यदि देशदेशान्तर, द्वीपद्वीपान्तरमा जाँदैनथे भने त यी सबै कुराहरू कसरी हुन सक्दथे ? मनुस्मृतिमा जुन समुद्रमा जाने नौका (डुँगा) माथि ‘कर’ लिनको लागि लेखिएको छ, त्यो पनि आर्यावर्तदेखि द्वीपान्तरमा जानाको कारणले नै हो । र जब महाराज युधिष्ठिरले राजसूय-यज्ञ गरेका थिए, त्यसमा भूगोलका सबै राजाहरूलाई बोलाउन निमन्त्रणा दिनको लागि भीम, अर्जुन, नकुल र सहदेव चारै दिशामा गएका थिए । यदि यसलाई दोष मान्थे भने त कहिल्यै जाँदैनथे । सो प्रथम आर्य जनहरू व्यापार, राजकार्य र भ्रमणको लागि भूगोलको सबै ठाउँमा घुम्दथे । फेरि आजभोलि जुन छुवाछुत र धर्म नष्ट हुने कुराको शङ्का छ, त्यो केवल मूर्खहरूले बहकाउनाले र अज्ञान बढ्नाले गर्दा भएको हो । जो मनुष्य देश-देशान्तर र द्वीप-द्वीपान्तरमा जान-आउनमा शङ्का गर्दैन, ती देश-देशान्तरका अनेकविध मनुष्यहरूको साथ समागम, रीति-भाँति, कला-कौशल देख्नाले ज्ञान बढेर, आफ्नो राज्य र व्यवहारलाई बढाउनाले निर्भय शूरवीर हुँदै राम्रो व्यवहारको ग्रहण र नराम्रा कुराहरूलाई छोड्नमा तत्पर हुँदै, ठूलो ऐश्वर्यलाई प्राप्त गर्दछन् । जहाँ महाभ्रष्ट म्लेच्छकुलोत्पन्न वेश्या आदिको भेटघाटले मात्रै आचारभ्रष्ट धर्महीन हुँदैनन्, किन्तु देश-देशान्तरका उत्तम पुरुषहरूको साथ समागममा दोष मान्नु केवल मूर्खताको कुरा हो ।
हो, यति कारण त हुन्छ कि जो मान्छेहरू मांस मद्यपानी हुन्छन्, तिनका शरीर, वीर्यादि धातु पनि दुर्गन्धादिले दूषित हुन्छन्, यसैले उनको सङ्ग गर्नाले आर्यहरूलाई पनि कतै यी कुलक्षण नलागोस्, यो कुरो त ठीक छ । परन्तु तिनीहरूसँगबाट व्यवहार र गुणग्रहण गर्नमा कुनै पनि दोष हुँदैन, किन्तु उनीहरूका मद्यपानादि दोषहरूलाई छोडेर, गुणहरूलाई ग्रहण गरेमा त केही पनि हानि हुँदैन । जबकी उनीहरूलाई हेर्दा र स्पर्श गर्दा पनि मूर्ख-जनहरूले पाप मान्दछन्, त्यसैले उनीहरूसँग युद्ध कहिल्यै गर्न सक्दैनन्; किनभने युद्धमा उनीहरूलाई हेर्न र स्पर्श गर्न आवश्यक हुन्छ ।
सज्जनहरूले राग, द्वेष, अन्याय, मिथ्याभाषणादि छोडेर; निर्वैर, प्रीति, परोपकार, सज्जनतादिको धारण गर्नु उत्तम आचार हो । साथै यो पनि बुझ्नुपर्दछ कि धर्म हाम्रो आत्मा र कर्तव्यको साथ हुन्छ । जब हामीले राम्रो काम गर्दछौं भने, हामी देश-देशान्तर र द्वीप-द्वीपान्तरमा जानमा कुनै पनि दोष लाग्न सक्दैन । दोष त पापको काम गर्नमा लाग्दछ । हो, यति अवश्य चाहिन्छ कि वेदोक्त-धर्मको निश्चय र पाखण्डमतको खण्डन गर्न अवश्य सिक्नुपर्दछ, जसबाट कसैले हामीलाई झुटो निश्चय गराउन नसकोस् । के देश-देशान्तर र द्वीप-द्वीपान्तरमा राज्य वा व्यापार गरे बिना स्वदेशको उन्नति कहिल्यै हुनसक्दछ ? जब स्वदेशमै स्वदेशीहरूले व्यवहार गर्दछन् र परदेशीले स्वदेशमा व्यवहार वा राज्य गरेमा त सिवाय दारिद्र्य र दुःख बाहेक अरू कुरो हात लाग्दैन । पाखण्डीहरू यस्तो सम्झन्छन् कि हामीले यिनीहरूलाई विद्या पढायौं र देश-देशान्तरमा जाने आज्ञा दियौं भने त यिनीहरू बुद्धिमान् भएर हाम्रो पाखण्ड-जालमा नफस्नाले हाम्रो प्रतिष्ठा र जीविकाको नाश गर्नेछन् । त्यसैले खान-पानमा बखेडा झिक्दछन् कारण कि दोस्रो देशमा जान नसकून् । हो, यति अवश्य चाहिन्छ कि मद्य-मांसादिको ग्रहण नगरून् ।
के सबै बुद्धिमानीहरूले यो निश्चय गरेनन् होलाकि राजपुरुषहरूमा युद्धको समयमा पनि चुलो-चौको लगाएर भान्छा बनाएर खानु, अवश्य पनि पराजयको हेतु हो ? किन्तु जबसम्म क्षत्रियहरू युद्धमा एक हातले रोटी खान्थे, जल पिउँथे र अर्को हातले शत्रुहरूको घोडा, हात्ती, रथमा चढेर वा पैदलै मारिदिंदै जान्थे, आफ्नो विजय गर्नु नै आचार र पराजित हुनु अनाचार हो । यसै मूढताले गर्दा यिनीहरूले चुलो-चौका लगाउँदा लगाउँदै विरोध गर्दा-गर्दै सबै स्वातन्त्र्य, आनन्द, धन, राज्य, विद्या र पुरुषार्थमाथि नै चौको लगाएर बसेका छन् । इच्छा गर्दछन् कि केही पदार्थ मिलेमा त पकाएर खानेथियौं । परन्तु त्यस्तो नहुनाले जान्नु कि देशभरिमै चौको लगाएर सर्वथा नाश गरिदिएका छन् । हो, जहाँ भोजन गरिन्छ उस स्थानलाई धुनु, लिप्नु, बढार्नु, फोहरलाई दूर गर्ने प्रयत्न अवश्य गर्नुपर्दछ, न कि मुसलमान वा ईसाईहरूका झैं भ्रष्ट पाकशाला बनाउनु ।
भक्ष्य र अभक्ष्यको विषयमा वर्णन (१०.२)
प्रश्न— पाक्य र चोखो भनेको के हो ?
उत्तर— ‘पाक्य’ जुन जल आदिमा उसिनेर पकाइन्छ, जस्तै अन्न एवं कन्दमूलादि; र जुन दूध-घ्यूमा पकाइन्छ, त्यसलाई ‘चोखो’ । अर्थात् यो पनि यिनै धूर्तहरूको पाखण्ड हो, किनभने जसमा घ्यू-दूध अधिक हुन्छ, त्यसलाई खाँदामा उदरमा चिल्लो पदार्थ अधिक जाओस्, यसैले यस्तो प्रपञ्च रचेका हुन् । नत्र भने अग्नि वा कालले पाकेको ‘पक्का’ र नपाकेको ‘कच्चा’ हो । जुन पाकेकोलाई खाने र काँचोलाई नखाने यो पनि सर्वत्र ठीक होइन किनभने चना आदि काँचै पनि खाइन्छ ।
प्रश्न— द्विजले आफ्नो हातबाटै खाना बनाएर खाने कि शूद्रको हातले बनाएको खाना खाने ?
उत्तर— शूद्रको हातको खाना खाओस्, किनभने ब्राह्मण, क्षत्रिय, वैश्यवर्णस्थ स्त्रीपुरुष विद्या पढाउनमा, राज्यपालनमा र पशुपालन, खेती र व्यापारको काममा तत्पर रहनुपर्दछ र शूद्रको पात्र (मा) तथा उसको घरमा पकाएको खाना आपत्कालको बिना नखानु । यसमा प्रमाण—
आर्याधिष्ठिता वा शूद्राः संस्कर्त्तारः स्युः ॥
—यो आपस्तम्बको सूत्र (आपस्तम्ब धर्मसूत्र/प्रश्न २/पटल २/खण्ड ३/सूत्र ४) हो ॥
आर्यहरूको घरमा ‘शूद्र’ अर्थात् मूर्ख स्त्री-पुरुषले पाकादिसेवा गरून्, परन्तु तिनीहरू पवित्र शरीर, सफा वस्त्र आदिले रहनुपर्दछ, आर्यहरूको घरमा जब भान्छा बनाऊन्, तब मुखमा लुगा बाँधेर बनाऊन् । किनभने तिनको मुखबाट उच्छिष्ट र निक्लेको श्वासादि पनि अन्नमा नपरोस्, साता-सातामा नखच्छेदन गरून् । सदा स्नान गरेर मात्रै पाक बनाउने गरून् । आर्यहरूलाई ख्वाएर आफूले खाने गरून् ।
प्रश्न— शूद्रले छोएको पाकेको अन्नमा जब दोष लगाउँदछन् भने, झन उसैको हातले बनाएको खाना कसरी खान सकिन्छ त ?
उत्तर— यो कुरो कपोलकल्पित र एकदमै झुट्टो हो । किनभने जसले गुँड, चिनी, घ्यू, दूध, पिसान, शाक, फल, मूल खाए भने त जान्नु कि उनीहरूले सबै जगत्भरिको हातले बनाएको र उच्छिष्ट खाए । किनभने जब शूद्र, चमार, च्यामे, पोडे, मुलमान, ईसाई आदि मान्छेहरू खेतमा ऊखु काट्दछन्, छोडाउँछन्, पेलेर रस निकाल्दछन्, तब मल-मूत्रोत्सर्ग गरेर बिना हात धोए, उनै हातले छुँदै, उठाउँदै, राख्दै, आधा लाँक्रो चुस्दै त्यसैमा मिसाइदिन्छन्, र रस पकाउने वेलामा त्यसै आगोमा रोटी पनि पकाएर खान्छन् । जब चिनी बनाउँछन्, तब पुरानो जुत्ताको जसको तल विष्ठा, मूत्र, गोबर, धुलो लागिराखेको हुन्छ, तिनै जुत्तामा रगड्दछन् । दूधमा आफ्नो घरको उच्छिष्ट पात्रको जल हालिदिन्छन्, त्यसैमा घृतादि राख्दछन् र गहुँ, मकै, कोदो पिस्दाखेरि त्यसरी नै उच्छिष्ट हातले उठाउँछन् र पसीना पनि पीठोमा झर्दछ । शाक, फल, फूल, कन्दमा पनि यस्तै लीला हुनेगर्दछ । जब यी पदार्थहरूलाई खायौ भने त जान कि सबैको हातको खाइयो । खेतीपातीमा जब दलित वर्गले काम गर्दछन् भने, उनीहरूको पनि परिश्रम मिसिन जान्छ । उनैको घट्टामा लगेर हामीले पीठो पिंध्ने गर्दछौं ।
प्रश्न— रस, फल, फूल, कन्द, मूल र अदृष्टमा दोष मानिंदैन ।
उत्तर— वाहजी वाह ! सत्य हो जो यस्तो उत्तर दिंदैनथे भने त के खरानी-माटो खान्थे, गुँड-शक्कर मीठो लाग्ने, दूध-घ्यूले पुष्टि गर्दछ, यसैले यी मतलबसिन्धुले के-के रच्न छोडेनन् ? ए...जुन अदृष्टमा दोष हुँदैन भने त पोडे-च्यामे वा मुसलमान आदिले आफ्नो हातले दोस्रो स्थानमा बनाएर तिमीलाई ल्याएर दिए भने त खान्छौ कि खाँदैनौ ? यदि भनौला खान्नौं तब अदृष्टमा पनि दोष छ । हो, मुसलमान, ईसाई आदि मद्य-मांसहारीहरूको हातको खानमा आर्यलाई पनि मद्य-मांसादि खान-पिनको अपराध पछि लाग्दछ, परन्तु आपसमा आर्यहरूको एक भोजन हुनमा कुनै दोष देखिंदैन । जबसम्म एक मत, एक हानि-लाभ, एक सुख-दुःख परस्पर नमाने, तबसम्म उन्नति हुन एकदमै कठिन छ । परन्तु केवल खान-पिन मात्रै एक हुनाले सुधार हुनसक्दैन, किन्तु जबसम्म नराम्रा कुराहरूलाई छोडिंदैन र राम्रा कुराहरूलाई ग्रहण गरिंदैन, तबसम्म बढोत्तरीको सट्टामा हानि नै हुनेछ ।
विदेशीहरूको आर्यावर्त्तमा राज्य हुनाको कारण— आपसको फुट, मतभेद, ब्रह्मचर्यको सेवन नगर्नु, विद्या नपढ्नु-नपढाउनु, बाल्यावस्थामा अस्वयंवर विवाह, विषयासक्ति, मिथ्याभाषणादि कुलक्षण, वेदविद्याको अप्रचार आदि कुकर्मले गर्दा भएको हो । जब आपसमा भाइ-भाइ लड्दछन्, तब नै तेस्रो विदेशी आएर पञ्च बनेर बस्दछ । के तिमीहरूले महाभारतको कुरा जुन पाँच हजार वर्षको पूर्वमा भएको थियो, त्यसलाई पनि भुल्यौ ? हेर ! महाभारत युद्धमा सबै जनाले सवारीहरूमा नै खाने-पिउने गर्दथे । आपसको फुटले गर्दा कौरव, पाण्डव र यादवहरूको सत्यानाश हुन गयो, त्यो त भयो-भयो परन्तु अहिलेसम्म पनि त्यही रोग पछि लागिरहेको छ । न जाने यो भयङ्कर राक्षस कहिले छुट्नेछ वा आर्यहरूलाई सबै सुखहरूबाट छुटाएर दुःखसागरमा डुबाएर मार्नेछ ? त्यही दुष्ट दुर्योधन गोत्रहत्यारो, स्वदेशविनाशक, नीचको दुष्ट-मार्गमा आर्यहरू अझैसम्म पनि चलेर दुःख बढाइरहेका छन् । परमेश्वरले कृपा गरोस् कि यो महाराजरोग हामी आर्यहरूबाट नष्ट भएर जाओस् ।
भक्ष्याऽभक्ष्य दुई प्रकारको हुन्छ । एक धर्मशास्क्रोत्त, दोस्रो वैद्यकशास्क्रोत्त ॥
जस्तै धर्मशास्त्रमा— अभक्ष्याणि द्विजातीनाममेध्यप्रभवाणि च ॥
—मनुस्मृति (अध्याय ५/श्लोक ५) ॥
‘द्विज’ अर्थात् ब्राह्मण, क्षत्रिय, वैश्य; र शूद्रहरूले मलीन, विष्ठा-मूत्रादिको संसर्गबाट उत्पन्न भएका शाक, फल, मूलादि न खानु ।
वर्जयेन्मधुमांसं च ॥ —मनुस्मृति (अध्याय २/श्लोक १७७) ॥
जसरी अनेक प्रकारको मद्य, गाँजा, भाङ्ग, अफिम आदि जुन-जुन—
बुद्धिं लुम्पति यद् द्रव्यं मदकारी तदुच्यते ॥
—सार्ङ्गधर (प्रथम खण्ड/अध्याय ४/श्लोक २१) ॥
बुद्धिको नाश गर्नेखाले पदार्थहरू हुन्, यिनीहरूको सेवन कहिल्यै नगर्नु र जति अन्न सड्दछ, बिग्रन्छ, दुर्गन्धादिले दूषित हुन्छ, राम्रोसँग नबनेको र मद्यमांसाहारी म्लेच्छ कि जसको शरीर मद्यमांसको परमाणुहरूले नै पूरित हुन्छ, तिनका हातको नखानु । जसमा उपकारक प्राणीहरूको हिंसा अर्थात् जस्तै एक गाईको शरीरबाट दूध, घ्यू, गोरु, गाई उत्पन्न हुनाले एक पुस्तामा केही थोरै चार लाख मनुष्यहरूलाई सुख पुग्दछ, त्यसैले पशुहरूलाई नमार्नु, न त मार्न दिनु ।
जस्तै कुनै गाईले बीस सेर र कुनैले दुई सेर प्रतिदिन दूध दिन्छ भने, त्यसको मध्यभाग एघार सेर प्रत्येक गाईबाट दूध निस्कन्छ । कुनै गाईले अट्ठाह्र र कुनैले ६ महिनासम्म दूध दिन्छन्, यसको मध्यभाग पनि बाह्र महिना भयो । अब प्रत्येक गाईको जन्मभरिको दूधले २४९६० (चौबीस हजार नौ सय साठी) मनुष्य एक पटकमा तृप्त हुन्छन् । उसका ६ बाच्छा र ६ बाच्छी हुन्छन्, ती मध्येमा दुइटा मरे भने पनि दश रहन्छन् । ती मध्येमा पाँच बाच्छीहरूको जन्मभरिको दूधलाई मिलाउँदा १२४८०० (एक लाख चौबीस हजार आठ सय) मनुष्य तृप्त हुन सक्दछन् । अब रहे पाँच गोरु, तिनले पनि जन्मभरिमा ५००० (पाँच हजार) मन अन्न न्यून भन्दा न्यून उत्पन्न गर्दछन् । त्यस अन्नमा प्रत्येक मनुष्यको भोजनार्थ ६० रुपैयाँ भर— तीनपाव (=६० तोला)= अन्न खानाको भाग गर्नाले— २५०००० (साढे दुई लाख) मनुष्यहरूको तृप्ति हुन्छ । दूध र अन्न मिलाएर ३७४८०० (तीन लाख चौहत्तर हजार आठ सय) मनुष्य तृप्त हुन्छन् । दुइटै संख्यालाई मिलाएर एक गाईको एक पुस्तामा ३९९७६० (तीन लाख उनान्सय हजार सात सय साठी) मनुष्य एक पटकमा पालित हुन्छन् र पिंढी-दरपिंढी बढाएर लेखाजोखा गर्यौं भने त असंख्य मनुष्यहरूको पालन हुन्छ ।
यसको अतिरिक्त गाडी, सवारी, भार उठाउने आदि कर्महरूले मनुष्यको ठूलो उपकार हुने गरेको छ । तथा भैंसी गाई भन्दा पनि दूधको मात्रामा अधिक उपकारक हुन्छन्, परन्तु जसरी गोरु उपकारक हुन्छन्, त्यसरी नै राँगा पनि हुन्छन् । परन्तु गाईको दूध-घ्यूले जति बुद्धिवृद्धिले लाभ हुन्छ, त्यति भैंसीको दूध-घ्यूले हुँदैन । त्यसैले मुख्य उपकारक आर्यहरूले गाईलाई मानेका छन्, र जो कोही अन्य विद्वान् हुनेछ, त्यसले पनि यसै प्रकारले बुझ्नेछ ।
बाख्राको दूधबाट २५९२० (पच्चीस हजार नौ सय बीस) मनुष्यहरूको पालन हुन्छ, त्यसरी नै हात्ती, घोडा, ऊँट, भेडा, गधा, खच्चर आदिबाट पनि ठूलो उपकार हुन्छन् । यी पशुहरूलाई मार्नेवालालाई सबै मनुष्यहरूको हत्या गर्नेवाला भनेर जान्नु ।
हेर ! जब आर्यहरूको राज्य थियो, यी पशुहरू मारिन्थेनन्, तब आर्यावर्त्त वा अन्य भूगोल-देशहरूमा अति आनन्दमा मनुष्यादि प्राणी वर्त्तन्थे । किनभने दूध, घ्यू, गोरु आदि पशुहरूको बढोत्तरी हुनाले अन्न, रस पुष्कल प्राप्त हुन्थ्यो । जबदेखि विदेशी मांसाहारी यस देशमा आएर गाई आदि पशुहरूलाई मार्ने मद्याहारी राज्यााऽधिकारी भएका छन्, तबदेखि नै क्रमशः आर्यहरूको दुःख बढ्दै गैरहेको छ । किनभने—
नष्टे मूले नैव फलं न पुष्पम् ॥ —चाणक्यनीति (अध्याय १०/श्लोक १३) ॥
जब वृक्षको मूल नै काटिदिइन्छ भने त फल-फूल कहाँबाट हुने ?
प्रश्न— यदि सबै अहिंसक बने भने त व्याघ्रादि पशु यति बढ्ने छन् कि गाई आदि पशुहरूलाई मारेर खानेछन् । तिम्रो पुरुषार्थलाई व्यर्थ गरिदिने छन् ।
उत्तर— यो राजपुरुषहरूको काम हो कि जो हानिकारक पशु वा मनुष्य हुन्छन्, तिनलाई दण्ड दिने र प्राण पनि वियुक्त गरिदिने ।
प्रश्न— त्यसो भए के तिनीहरूको मासुलाई पनि फ्याँकिदिने त ?
उत्तर— चाहे फ्याँकिदिऊन्, चाहे कुकुर आदि मांसाहारीलाई ख्वाऊन्, वा जलाऊन् । चाहे कुनै मांसाहारीले खाओस् तर पनि संसारको हानि हुँदैन, किन्तु त्यस मनुष्यको स्वभाव मांसाहारी भएर हिंसक हुन सक्दछ । जति हिंसा र चोरी, विश्वासघात छल-कपट आदिले पदार्थहरूलाई प्राप्त गरेर भोग गर्नु ‘अभक्ष्य’ र अहिंसा धर्मादि कर्महरूबाट प्राप्त भोजनादि गर्नु ‘भक्ष्य’ हो । जुन पदार्थहरूले स्वास्थ्य, रोगनाशक, बुद्धि, बल, पराक्रम र आयुको वृद्धि हुन्छ, ती धान, गहुँ, मकै, कोदो, फल, फूल, मूल, कन्द, दूध, घ्यू, मिष्टादि पदार्थहरूको सेवन, ती पदार्थहरूको यथायोग्य पाक मेल गरेर यथोचित समयमा मिताहार भोजन गर्नुलाई ‘भक्ष्य’ भन्दछन् । जति पदार्थ आफ्नो प्रकृतिदेखि विरुद्ध विकार गराउनेखाले छन्, जस-जसको लागि जुन-जुन पदार्थ वैद्यकशास्त्रमा वर्जित गरिएका छन्, त्यस-त्यसको त्याग र जुन-जुन जस-जसको लागि विहित गरिएका छन्, त्यस-त्यसको ग्रहण गर्नु ‘भक्ष्य’ हो ।
प्रश्न— सँगै बसेर एकैसाथ खानमा केही दोष छ कि छैन ?
उत्तर— दोष छ । किनभने एकको साथमा दोस्राको स्वभाव मिल्दैन । जस्तै कुष्ठ रोगी आदिसँग बसेर खाँदामा निरोगी मान्छेको पनि रुधिर बिग्रन्छ, त्यसरी नै अर्कासँग एकै थालीमा खानाले पनि बिगार गर्दछ, सुधार हुन्न । त्यसैले—
नोच्छिष्टं कस्यचिद्दद्यान्नाद्याच्चैव तथान्तरा । न चैवात्यशनं कुर्यान्न चोच्छिष्टः क्वचिद् व्रजेत् ॥
—मनुस्मृति (अध्याय २/श्लोक ५६) ॥
न कसैलाई आफ्नो जूठो दिने र न कसैको जूठो खाने, न अधिक भोजन गर्ने र भोजन पश्चात् हात-मुख नधोइकन जुठै न कतै यता-उति लाग्ने ।
प्रश्न— ‘गुरोरुच्छिष्ट भोजनम्’ यस वाक्यको के अर्थ हुनेछ ?
उत्तर— यसको अर्थ हो कि गुरुको भोजनको पश्चात् जुन पृथक् अन्न शुद्ध स्थित हुन्छ, त्यसको भोजन गर्नु, अर्थात् प्रथम गुरुलाई भोजन गराएपश्चात् शिष्यले भोजन गर्नु ।
प्रश्न— यदि उच्छिष्टमात्रको निषेध हो भने त, मौरीहरूको उच्छिष्ट मह, बाच्छाको उच्छिष्ट दूध र एक ग्रास लिएपछि त आफ्नो पनि उच्छिष्ट हुन जान्छ, यिनलाई पनि नखान पर्ने हो ।
उत्तर— मह भनाइलेमात्र उच्छिष्ट हो, त्यो धेरै औषधिहरूको सार ग्राह्य, बाच्छोले बाहिरको दूध जूठो पार्दछ भित्रको होइन, परन्तु बाच्छोले दूध चुसेपछि पानीले गाईको स्तनलाई धोएर सफा भाँडोमा दुहुनु पर्दछ । फेरि आफ्नो जूठो आफूलाई विकारकारक हुँदैन । विचार गरेर हेर ! स्वभावले यो कुरो सिद्ध छ कि कसैको जूठो कसैले नखाओस्, जसरी आफ्नो मुख, नाक, कान, आँखा, उपस्थ र गुह्य इन्द्रियहरूका मलमूत्रादिको स्पर्शमा घृणा हुँदैन, कुनै दोस्राको मल-मूत्रको स्पर्शमा घृणा हुने गर्दछ । यसैले यो व्यवहार सृष्टिक्रमबाट सिद्ध हुन्छ कि कसैको उच्छिष्ट कसैले नखाओस् ।
प्रश्न— के स्त्री-पुरुष पनि साथमा र उच्छिष्ट नखाने त ?
उत्तर— नखाने । किनभने उनीहरूको पनि शरीरको स्वभाव भिन्न-भिन्न हुन्छ ।
प्रश्न— चाहे ब्राह्मण या चाण्डाल होस्, सबैको हात छालाको हुन्छ र जस्तो रुधिरादि ब्राह्मणको शरीरमा हुन्छ, त्यस्तै चाण्डालको पनि हुन्छ; पुनः पोडे-च्यामेको हातको खानमा के दोष छ ?
उत्तर— दोष छ । किनभने जुन उत्तम पदार्थहरूलाई खानु-पिउनुले ब्राह्मण र ब्राह्मणीको शरीरमा दुर्गन्धादि रहित शुद्ध रज-वीर्य हुन्छ, त्यस्तो चाण्डाल, चाण्डाल्नीको शरीरमा हुँदैन । किनभने चाण्डालको शरीर दुर्गन्धको परमाणुहरूले भरिएको हुन्छ, त्यस्तो ब्राह्मणादिको हुँदैन । यसैले ब्राह्मणादि उत्तम वर्णहरूको हातको खानु र पोडे-च्यामेको होइन । जब कसैले तिमीसँग सोध्ने छ कि जस्तो छालाको शरीर माता, सासू, बहिनी, कन्या, बुहारीको हुन्छ, त्यस्तै आफ्नी स्त्रीको पनि हुन्छ, के त आमा, बहिनीहरू आदिसँग पनि स्वस्त्रीकै समान व्यवहार गर्दछौ ? जसरी उत्तम अन्न हात र मुखले खाइन्छ, त्यसरी नै दुर्गन्ध पनि खान सकिन्छ भने के मल पनि खान्छौ ? यस्तो पनि कतै हुन सक्दछ र ?
प्रश्न— जुन गाईको गोबरले लिपपोत गर्दछौ, त आफ्नो गोबरले किन लिप्दैनौ ? र गोबरले लिपेको चौकामा जानाले चौको अशुद्ध किन हुँदैन ?
उत्तर— गाईको गोबरमा त्यस्तो दुर्गन्ध हुँदैन, जस्तो मान्छेको मलमा हुन्छ । गोबर चिप्लो हुनाले शीघ्र उप्किंदैन, न त लुगा नै बिग्रन्छ, न त मलीन हुन्छ । जस्तो माटोले मैलो पार्दछ, त्यस्तो सुक्का गोबरले पार्दैन । माटो र गोबरले जुन स्थानमा लिपिन्छ, त्यो देख्नमा अति सुन्दर हुन्छ, र जहाँ खाना पकाइन्छ वहाँ भोजनादिबाट घ्यू, मिष्ट र उच्छिष्ट पनि खस्दछ, त्यसबाट माखा, किरा आदि थुप्रै आउँछन् । जब त्यसलाई कुचोले बढारेर लिपिदियो भने वा पक्की घर भएमा त धोइदियो भने त्यो दोष रहँदैन । जस्तो मियाँजीको चुलामा कहीं कोइला, कही खरानी, कहीं दाउरा, कहीं फुटेका हाँडीका टुक्रा, कतै जूठो पत्तल, कहीं हाड-खोर हुनाले हेर्दामा पनि नराम्रो र हजारौं माखा र किराहरूको सल्याङ्बल्याङ्ले भरिएको हुन्छ । यदि गोबरले लिपेको अशुद्ध मान्दछन् भने त चुलामा जूठो कराही, त्यसैको आगोले तमाखू सल्काउने, घरको भित्तामा लेपन गर्ने आदिले मियाँजीको पनि चौको भ्रष्ट हुन जान्छ होला ?
प्रश्न— चौकामा खानु राम्रो कि बाहिर ?
उत्तर— जहाँ राम्रो देखिन्छ, त्यहाँ भोजन गर्नुपर्दछ । परन्तु आवश्यक युद्धादि कर्महरूमा त घोडा आदि यानहरूमा बसी-बसी वा उठी-उठी खान अत्यन्त उचित हुन्छ ।
प्रश्न— के आफ्नै हातको मात्र खाने अरूको हातको नखाने ?
उत्तर— यदि आर्यहरूमा शुद्ध रीतिले बनाउँछन् भने त बराबर सबै आर्यहरूको साथ खानमा कुनै हानि छैन । किनभने जो ब्राह्मणादि वर्णस्थ स्त्री-पुरुष भान्छा तयार गर्ने, चुलो-चौको लिप्ने, भाँडा माँझ्ने, लुगा धुने आदि बखेडामा लागिराखेमा त विद्यादि शुभगुणहरूको वृद्धि कहिल्यै हुँदैन । हेर ! महाराज युधिष्ठिरको राजसूय यज्ञमा भूगोलका राजा, ऋषि-महर्षि आएका थिए । एउटै पाकशालाबाट भोजन गर्ने गर्दथे । जबदेखि ईसाई र मुसलमान आदिको मतमतान्तरमा चल्न थाले, आपसमा वैर-विरोध हुन थाल्यो । उनीहरूले मद्य गोमांसादिलाई खान स्वीकार गरे, त्यही समयदेखि भोजनादिमा बखेडा शुरु भयो । हेर ! काबुल, कन्धार, ईरान, अमेरिका, यूरोप आदिका देशहरूका राजाहरूकी कन्या गान्धारी, माद्री, उलुपी आदिको साथमा आर्यावर्त्तदेशीय राजाहरूले विवाह गर्ने गर्दथे । शकुनि आदि, कौरव-पाण्डवको साथ खाने-पिउने गर्दथे । केही विरोध गर्दैनथे, किनभने त्यो समयमा सर्व-भूगोलमा वेदोक्त एक मत थियो, त्यसैमा सबैको निष्ठा थियो र एक-अर्काको सुख-दुःख हानि-लाभ आपसमा आफ्नो सम्झन्थे, तब नै भूगोलमा सुख थियो । अब त थुप्रै मतवाला हुनाले धेरै दुःख र विरोध बढिरहेको छ । यसको निवारण गर्नु बुद्धिमानीहरूको काम हो । परमात्माले सबैको मनमा सत्य-मतको यस्तो अङ्कुर फुटाओस् कि जसबाट मिथ्या मतले शीघ्र नै प्रलयलाई प्राप्त गरेर जाओस् । यसमा सबै विद्वान्हरूले विचार गरेर विरोधलाई छोडेर अविरुद्धमतको स्वीकारबाट सबै जना मिलेर सबैको हित, कल्याणार्थ आनन्दलाई बढाउँदै जाऊन् ।
यो थोरैमात्र आचार-अनाचार, भक्ष्याऽभक्ष्य विषयमा लेखियो । यस ग्रन्थको पूर्वार्द्ध यसै दशौं समुल्लास पर्यन्तमा पूरा भयो । यी समुल्लासहरूमा विशेष खण्डन-मण्डन यस कारणले लेखिएन कि जबसम्म मनुष्य सत्याऽसत्यको विचारमा कत्ति पनि सामर्थ्य बढाउँदैन तबसम्म स्थूल र सूक्ष्म खण्डनहरूको अभिप्रायलाई बुझ्न सक्दैन । यसैले प्रथम सबैलाई सत्य-शिक्षाको उपदेश गरेर-अब ‘उत्तरार्द्ध’ अर्थात् जसमा चार समुल्लास छन्, तिनमा विशेष खण्डन-मण्डन लेखिनेछ ।
यी चारहरू मध्येमा प्रथम समुल्लासमा आर्यावर्तीय मतमतान्तर, दोस्रोमा जैनीहरूको, तेस्रोमा ईसाईहरूको र चौथोमा मुसलमानहरूको मतमतान्तरको खण्डन-मण्डनको विषयमा लेखिनेछ । र पश्चात् चौधौं समुल्लासको अन्तमा स्वमत पनि देखाइँनेछ । जो कसैले विशेष खण्डन-मण्डन हेर्न चाहन्छ भने, तिनीहरूले यी चार समुल्लासलाई हेर्नू । परन्तु सामान्य गरेर कहीं-कहीं दश समुल्लासहरूमा पनि केही थोरै खण्डन-मण्डन गरिएको छ । यी चौध समुल्लासलाई पक्षपात छोडेर न्यायदृष्टिले हेरेमा, उसको आत्मामा सत्य अर्थको प्रकाश भएर आनन्द हुनेछ । र जसले हठ, दुराग्रह र ईर्ष्याले हेर्दछ-सुन्दछ, त्यसलाई यस ग्रन्थको अभिप्राय यथार्थ विदित हुन असाध्यै कठिन हुनेछ । त्यसैले जो कोही यसलाई यथावत् विचार्दछ त्यो यस ग्रन्थको सुभूषित, र विचार्दैन त्यो यसको अभिप्राय नजानेर गोता खाइरहनेछ । विद्वान्हरूको यही काम हो कि सत्याऽसत्यको निर्णय गरेर सत्यको ग्रहण, असत्यको त्याग गरेर परम आनन्दित हुन्छन् । तिनीहरू नै गुणग्राहक पुरुष विद्वान् भएर धर्म, अर्थ, काम र मोक्षरूपी फलहरूलाई प्राप्त गरेर प्रसन्न रहनेछन् ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते आचाराऽनाचारभक्ष्याऽभक्ष्यविषये
दशमः समुल्लासः सम्पूर्णः ॥१०॥
॥समाप्तोऽयम्पूर्वार्द्धः॥
•
ओ३म्
उत्तरार्द्ध
अनुभूमिका (१)
यो कुरा सिद्ध छ कि पाँच हजार वर्षहरूको पूर्व वेदमतदेखि भिन्न दोस्रो कुनै मत थिएन, किनभने वेदोक्त सबै कुराहरू विद्यासँग अविरुद्ध छन् । वेदहरू प्रति मनुष्यको अप्रवृत्ति हुनाको कारणले महाभारतको युद्ध भयो । यिनैको अप्रवृत्तिले गर्दा अविद्याऽन्धकारको भूगोलमा विस्तृत हुनाले मनुष्यहरूको बुद्धि भ्रमयुक्त हुँदै जसको मनमा जस्तो आयो, त्यस्तै मत चलाउन थाले ।
ती सबै मतहरूमा चार मत अर्थात् जो वेदविरुद्ध पुराणी, जैनी, किरानी र कुरानी सबै मतहरूका मूल हुन्, ती क्रमबाट एकको पछाडि दोस्रो, तेस्रो र चौथो हुँदै गरेर चलेका हुन् । अहिले यी चारैका शाखाहरू एक हजार भन्दा थोरै छैनन् । यी सबै मतवादीहरू, यिनका चेलाहरू र अन्य सबैलाई परस्पर सत्याऽसत्यको विचार गर्नको लागि अधिक परिश्रम गर्न नपरोस् भनेर यो ग्रन्थ बनाइएको छ । जुन-जुन यसमा सत्य-मतको मण्डन र असत्य मतको खण्डन लेखिएको छ । त्यसको सबैलाई जानकारी दिनको लागि नै प्रयोजन सम्झिएका छौं । यसमा जस्तो मेरो बुद्धि, जति मेरो विद्या र जति यी चारै मतहरूका मूल ग्रन्थलाई हेर्नाले बोध भएको छ, त्यसलाई सबैको अगाडि निवेदित गरिदिन मैले उत्तम सम्झेको छु, किनभने विज्ञान गुप्त भएकाको पुनर्मिलन हुन सहज छैन । पक्षपातलाई छोडेर यसलाई हेर्नाले सत्याऽसत्य मत सबैलाई विदित हुने नै छ । पश्चात् सबैले आफ्नो-आफ्नो समझ अनुसार सत्य मतको ग्रहण गर्न र असत्य मतको त्याग गर्न सहज हुनेछ । यिनीहरू मध्येमा जुन पुराणादि ग्रन्थहरूबाट शाखा-शाखान्तररूप मत आर्यावर्त देशहरूमा चलेका छन्, तिनीहरूको संक्षेपले गुण-दोष यस ११औं समुल्लासमा देखाइँनेछ ।
यस मेरो कर्मले यदि उपकार नमाने त विरोध पनि नगर्नू । किनभने मेरो तात्पर्य कसैको हानि वा विरोध गर्नको लागि होइन किन्तु सत्याऽसत्यको निर्णय गर्न-गराउनको लागि हो । यसै प्रकारबाट सबै मनुष्यहरू न्यायदृष्टिले चल्न अति उचित हुन्छ । मनुष्य-जन्मको प्रयोजन सत्याऽसत्यको निर्णय गर्न-गराउनको लागि नै हो, न कि वादविवाद, विरोध गर्न-गराउनको लागि ।
यसै मतमतान्तरको विवादले जगत्मा जति-जति अनिष्ट फल भए, हुन्छन् र हुनेछन्, तिनलाई पक्षपातरहित विद्वज्जनले जान्न सक्दछन् । जबसम्म यस मनुष्य जातिमा परस्पर मिथ्या मतमतान्तरको विरुद्धवाद छुट्नेछैन, तबसम्म अन्योऽन्यलाई आनन्द हुनेछैन । यदि हामी सबै मनुष्य र विशेष विद्वज्जन ईर्ष्याद्वेष छोडेर सत्याऽसत्यको निर्णय गरेर सत्यको ग्रहण र असत्यको त्याग गर्न-गराउन चाहेमा त हाम्रो लागि यो कुरो असाध्य होइन ।
यो निश्चय हो कि तिनै विद्वान्हरूको विरोधले गर्दा नै सबैलाई विरोध-जालमा फसाएर राखेको छ । यदि तिनीहरू आफ्नो प्रयोजनमा नफसेर सबैको प्रयोजनलाई सिद्ध गर्न चाहेमा त अहिल्यै ऐक्यमत हुनुपर्दछ । यस्तो हुनको लागि युक्ति यसै ग्रन्थको पूर्तिमा लेख्नेछु ।
सर्वशक्तिमान् परमात्मा एक मतमा प्रवृत्त हुनको लागि उत्साह सबै मनुष्यहरूको आत्माहरूमा प्रकाशित गरोस् ।
॥ अलमतिविस्तरेण विपश्चिद्वरशिरोमणिषु ॥
॥ इत्यनुभूमिका ॥
•
—दयानन्द सरस्वती
Comments
Post a Comment