भुमिका
॥ ओ३म् ॥
अथ सत्यार्थप्रकाशविषयकश्लोकाः
श्रीयुक्तदयानन्दसरस्वतीस्वामिविरचितः
दयाया आनन्दो विलसति परस्वात्मविदितः,
सरस्वत्यस्यान्ते निवसति मुदा सत्यशरणा ।
तदाख्यातिर्यस्य प्रकटितगुणा राष्ट्रिपरमा,
सको दान्तः शान्तो विदितविदितो वेद्यविदितः ॥१॥
सत्यार्थप्रकाशाय ग्रन्थस्तेनैव निर्मितः ।
वेदादिसत्यशास्त्राणां प्रमाणैर्गुणसंयुतः ॥२॥
विशेषभागीह वृणोति यो हितं,
प्रियोऽत्र विद्यां सुकरोति तात्त्विकीम् ।
अशेषदुःखात्तु विमुच्य विद्यया,
स मोक्षमाप्नोति न कामकामुकः ॥३॥
न ततः फलमस्ति हितं विदुषो,
ह्यधिकं परमं सुलभन्नु पदम् ।
लभते सुयतो भवतीह सुखी,
कपटी सुसुखी भविता न सदा ॥४॥
धर्मात्मा विजयी स शास्त्रशरणो विज्ञानविद्यावरो–
ऽधर्मेणैव हतो विकारसहितोऽधर्मस्सुदुःखप्रदः ।
येनाऽसौ विधिवाक्यमानमननात् पाखण्डखण्डः कृत–
स्सत्यं यो विदधाति शास्त्रविहितन्धन्योऽस्तु तादृग्घि सः ॥५॥
•
॥ओ३म्॥
भूमिका
जुन समयमा मैले यो ग्रन्थ ‘सत्यार्थप्रकाश’ बनाएको थिएँ, त्यस समय र त्यस भन्दा पूर्व संस्कृतभाषण गर्ने, पठन-पाठनमा संस्कृत नै बोल्ने र जन्मभूमिको भाषा पनि गुजराती हुनाको कारणले मलाई यस भाषाको विशेष परिज्ञान थिएन, यसैले भाषा अशुद्ध बन्न गएको थियो । अहिले भाषा बोल्न र लेख्नको लागि जानिसकेको छु । त्यसैले यस ग्रन्थलाई भाषा व्याकरणानुसार शुद्ध गरेर दोस्रो पटक छपाइएको छ । विशेष गरेर यस पटकमा यसको भाषा पूर्व भन्दा उत्तम हुन गएको छ । कहीं-कहीं शब्द, वाक्य रचनाको भेद हुन गएको छ सो गर्न उचित थियो, किनभने यसको भेद गरे बिना भाषाको परिपाटी सुधार्न कठिन थियो, परन्तु अर्थको भेद गरिएको छैन, बरू बढी लेखिएको छ । हो, जुन प्रथम छप्नमा कहीं-कहीं भुल रहन गएको थियो, त्यसलाई निकाल्दै शोध गरेर ठीक-ठीक गरिएको छ ।
यो ग्रन्थ चौध (१४) समुल्लास अर्थात् चौध विभागहरूमा रचना गरिएको छ । यसमा १० समुल्लास पूर्वार्द्ध र ४ समुल्लास उत्तरार्ध गरेर बनेको छ, परन्तु अन्त्यका दुई समुल्लास र पश्चात् स्वसिद्धान्त कुनै कारणवश प्रथममा छाप्न सकिएको थिएन, अहिले त्यो पनि छपाइएको छ ।
१— पहिलो समुल्लासमा ईश्वरको ओंकाराऽऽदि नामहरूको व्याख्या छ ।
२— दोस्रो समुल्लासमा सन्तानहरूको लागि शिक्षाको बारेमा बताइएको छ ।
३— तेस्रो समुल्लासमा ब्रह्मचर्य, पठनपाठनव्यवस्था, सत्याऽसत्य ग्रन्थहरूका नाम र पढ्न-
पढाउनको लागि रीति बताइएको छ ।
४— चौथो समुल्लासमा विवाह र गृहाश्रमको व्यवहारको बारेमा बताइएको छ ।
५— पाँचौं समुल्लासमा वानप्रस्थ र संन्यासाश्रमको विधि बताइएको छ ।
६— छैटौं समुल्लासमा राजधर्मको बारेमा बताइएको छ ।
७— सातौं समुल्लासमा वेद र ईश्वरको बारेमा बताइएको छ ।
८— आठौं समुल्लासमा जगत्को उत्पत्ति, स्थिति र प्रलयको विषय छ ।
९— नवौं समुल्लासमा विद्या, अविद्या, बन्ध र मोक्षको विषयमा छ ।
१०— दशौं समुल्लासमा आचार, अनाचार र भक्ष्याभक्ष्यको विषयमा छ ।
११— एघारौं समुल्लासमा आर्यावर्तीय मत मतान्तरको खण्डन-मण्डनको विषय छ ।
१२— बाह्रौं समुल्लासमा चारवाक, बौद्ध र जैनमतको विषयको बारेमा छ ।
१३— तेह्रौं समुल्लासमा ईसाई मतको विषयको बारेमा छ ।
१४— चौधौं समुल्लासमा मुसलमानहरूको मतको विषयको बारेमा छ ।
र चौधौं समुल्लासको अन्तमा आर्यहरूको सनातन वेदविहित मतको विशेषतः व्याख्या लेखिएको छ, जसलाई मैले पनि यथावत् मान्दछु ।
मैले यस ग्रन्थलाई बनाउनुको मुख्य प्रयोजन सत्य-सत्य अर्थको प्रकाश गर्नु हो, अर्थात् जुन सत्य हो त्यस सत्यलाई र जुन मिथ्या हो त्यस मिथ्यालाई नै प्रतिपादन गर्नु सत्य अर्थको प्रकाश सम्झेको छु । त्यसलाई सत्य भनिंदैन जहाँ सत्यको स्थानमा असत्य र असत्यको स्थानमा सत्यको प्रकाश गरिन्छ । किन्तु जुन पदार्थ जस्तो छ त्यसलाई त्यस्तै भन्नु, लेख्नु र मान्नुलाई सत्य भनिन्छ । जुन मनुष्य पक्षपाती हुन्छ, त्यो आफ्नो असत्यलाई पनि सत्य र दोस्रो विरोधी मतवालाको सत्यलाई पनि असत्य सिद्ध गर्नमा प्रवृत्त हुन्छ, यसैले त्यो सत्य मतलाई प्राप्त हुन सक्दैन । यसैले विद्वान् आप्तहरूको यही मुख्य काम हो कि उपदेश वा लेखद्वारा सबै मनुष्यहरूको सामुन्ने सत्याऽसत्यको स्वरूप समर्पित गरिदेओस्, पश्चात् उनीहरू स्वयंले आफ्नो हिताहित सम्झेर सत्यार्थलाई ग्रहण र मिथ्यार्थको परित्याग गरेर सदा आनन्दमा रहून् । मनुष्यको आत्मा सत्याऽसत्यलाई जान्नेवाला छ तथापि आफ्नो प्रयोजनको सिद्धि, हठ, दुराग्रह र अविद्यादि दोषहरूबाट सत्यलाई छोडेर असत्यमा झुक्न जान्छ । परन्तु यस ग्रन्थमा त्यस्तो कुनै कुरो राखिएको छैन र नत कसैको मन दुखाउनु वा कसैको हानिमा तात्पर्य छ, किन्तु जसबाट मनुष्य जातिको उन्नति र उपकार हुन्छ, सत्याऽसत्यलाई मनुष्यले जानेर सत्यको ग्रहण र असत्यको परित्याग गरून्, किनभने सत्योपदेशको बिना अन्य कुनै पनि मनुष्य जातिको उन्नतिको कारण छैन ।
यस ग्रन्थमा जहाँ भुल-चुकले अथवा शोधन तथा छाप्नमा भुल-चुक रहन गएमा, त्यसलाई विज्ञजनहरूले विदित गराइदिएमा जस्तो त्यहाँ सत्य हुनेछ त्यस्तै गरिदिनेछौं । र जो कसैले पक्षपातले अन्यथा शङ्का वा खण्डन मण्डन गर्नेछ, त्यसको कुरामा ध्यान दिइने छैन । हो, यदि त्यो मनुष्यमात्रको हितैषी भएर केही जनाइदिएमा त्यसलाई सत्य-सत्य बुझिएमा त्यसको मतलाई संगृहीत गरिनेछ ।
यद्यपि आजभोलि थुप्रै विद्वान् प्रत्येक मतहरूमा छन्, तिनीहरू पक्षपातलाई छोडेर सर्वतन्त्र सिद्धान्त अर्थात् जुन-जुन कुरा सबैको अनुकूल सबैमा सत्य हुन्छ, त्यसको ग्रहण र जो एक दोस्रासँग विरुद्ध कुराहरू छन्, त्यसको त्याग गरेर परस्पर प्रीतिले चल्ने र चलाउने गरेमा त जगत्को पूर्ण हित हुनेछ । किनभने विद्वान्हरूको विरोधले अविद्वान्हरूमा विरोध बढेर अनेकविध दुःखको वृद्धि र सुखको हानि हुन जान्छ । यस हानिले, जुन कि स्वार्थी मनुष्यहरूलाई प्रिय छ, सबै मनुष्यहरूलाई दुःखसागरमा डुबाइदिएको छ । यी मध्येबाट जो कोही सार्वजनिक हित लक्ष्यमा लागेर प्रवृत्त हुन्छ, त्यससँग स्वार्थीहरू विरोध गर्नमा तत्पर भएर अनेक प्रकारको विघ्न गर्दछन् । परन्तु ‘सत्यमेव जयति नानृतं सत्येन पन्था विततो देवयानः ।’ अर्थात् सर्वदा सत्यको विजय र असत्यको पराजय र सत्यबाटै विद्वान्हरूको मार्ग विस्तृत हुन्छ । यस दृढ निश्चयको आलम्बनबाट आप्त जनहरू परोपकार गर्नमा उदासीन भएर कहिल्यै सत्यार्थप्रकाश गर्नको लागि हट्दैनन् । यो ठूलो दृढ निश्चय हो कि ‘यत्तदग्रे विषमिव परिणामेऽमृतोपमम् ।’ यो गीताको वचन हो । यसको अभिप्राय यो हो कि जुन-जुन विद्या र धर्मप्राप्तिका कर्म छन्, ती प्रथम गर्नमा विषकै तुल्य र पश्चात् अमृतको सदृश हुन्छन् । यस्तै कुराहरूलाई चित्तमा राखेर मैले यस ग्रन्थको रचना गरेको छु । श्रोता वा पाठकगण पनि प्रथम प्रेमले हेरेर यस ग्रन्थको सत्य-सत्य तात्पर्य जानेर यथेष्ठ मनन गरून् ।
यसमा यो अभिप्राय राखिएको छ कि जुन-जुन सबै मतहरूमा सत्य-सत्य कुराहरू छन्, ती-ती सबैमा अविरुद्ध हुनाले त्यसलाई स्वीकार गरेर, जुन-जुन मतमतान्तरहरूमा मिथ्या कुरा छन्, त्यस-त्यसको खण्डन गरिएको छ । यसमा यो अभिप्राय राखिएको छ कि सबै मतमतान्तरहरूका गुप्त वा प्रकट नराम्रा कुराहरूको प्रकाश गरेर विद्वान् अविद्वान् सबै साधारण मनुष्यहरूको सामुन्ने राखेको छु, सबैको सबैसँग विचार मथेर परस्पर प्रेमी हुँदै एक सत्य मतस्थ बन्न सकौं ।
यद्यपि म आर्यावर्त्त देशमा जन्में र बस्दछु, तथापि जसरी यस देशको मतमतान्तरहरूको झुट्टा कुराको पक्षपात नगरेर याथातथ्य प्रकाश गर्दछु, त्यसरी नै दोस्रा देशस्थ वा मतवालाहरूको साथ पनि गर्दछु । जसरी स्वदेशीहरूका साथ मनुष्योन्नतिको विषयमा लाग्दछु, त्यसरी नै विदेशीहरूका साथ पनि तथा सबै सज्जनहरूले पनि लागि पर्न योग्य छ । किनभने म पनि कुनै एकको पक्षपाती हुन्थें भने त जसरी आजभोलिका स्वमतको स्तुति, मण्डन र प्रचार गर्दछन् र दोस्राको मतको निन्दा, हानि र बन्ध गर्नमा तत्पर हुन्छन्, त्यस्तै म पनि हुन्थें, परन्तु यस्ता कुरा मनुष्यपनदेखि बहिः छ । किनभने जसरी पशु बलवान् भएर निर्बलहरूलाई दुःख दिन्छन् र मार्दछन् पनि, जब मनुष्य शरीर पाएर त्यस्तै कर्म गर्दछन् भने त ती मनुष्य स्वभावयुक्त होइनन्, किन्तु पशुवत् हुन् । र जसले बलवान् भएर निर्बलहरूको रक्षा गर्दछ त्यसैलाई मनुष्य भन्दछन् र जसले स्वार्थवश भएर परहानिमात्र गरिराख्दछ, त्यसलाई जान्नु कि पशुको पनि दाजु हो ।
अब आर्यावर्तीहरूको विषयमा विशेष गरेर एघारौं समुल्लाससम्म लेखेको छु । यी समुल्लासहरूमा जुन कि सत्यमत प्रकाशित गरिएको छ, त्यो वेदोक्त हुनाले मलाई सर्वथा मन्तव्य छ र जुन नवीन पुराण तन्त्रादि ग्रन्थोक्त कुराहरूको खण्डन गरिएको छ, त्यो त्यक्तव्य छ ।
यद्यपि जुन बाह्रौं समुल्लासमा चारवाकको मत लेखिएको छ, त्यो यस समयमा क्षीणाऽस्त जस्तो छ र यो चारवाक बौद्ध जैनसँग धेरै सम्बन्ध अनीश्वरवादादिमा राख्दछ । यो चारवाक सबै भन्दा ठूलो नास्तिक हो । त्यसको चेष्टालाई रोक्न आवश्यक छ, किनभने जुन मिथ्या कुरो रोकिएन भने त संसारमा थुप्रै अर्नथ प्रवृत्त हुन जान्छ ।
चारवाकको जुन मत हो, त्यो बौद्ध र जैनको मत हो, त्यो पनि बाह्रौं समुल्लासमा संक्षेपबाट लेखिएको छ । र बौद्ध तथा जैनीहरूको मतले पनि चारवाकको मतको साथ मेल राख्दछ र केही थोरै कुरामा मात्रै भेद छ, र जैनी पनि धेरै अंशमा चारवाक र बौद्धहरूको साथ मेल राख्दछ र थोरै कुरामा मात्र भेद छ । यसैले जैनीहरूको भिन्न शाखा गन्ने गरिन्छ । त्यो भेद बाह्रौं समुल्लासमा लेखिदिएको छु । यथायोग्य वहीं नै हेरेर सम्झनू । जे यसको भिन्न छ, सो-सो बाह्रौं समुल्लासमा देखाइएको छ । बौद्ध र जैनको मतको विषय पनि लेखिएको छ ।
यी मध्येमा बौद्धहरूको दीपवंशादि प्राचीन ग्रन्थहरूमा बौद्धमत संग्रह ‘सर्वदर्शनसंग्रह’ मा देखाइएको छ, त्यसैबाट लिएर यहाँ लेखिएको छ र जैनीहरूका निम्नलिखित सिद्धान्तका पुस्तकहरू छन् । ती मध्येबाट—
४ चार मूलसूत्र, जस्तै—
१–आवश्यकसूत्र, २–विशेष आवश्यकसूत्र, ३–दशवैकालिकसूत्र, र ४–पाक्षिकसूत्र ।
११ एघार अङ्ग, जस्तै—
१–आचारांगसूत्र, २–सुयडांगसूत्र, ३–ठाणांगसूत्र, ४–समवायांगसूत्र, ५–भगवतीसूत्र,
६–ज्ञाताधर्मकथासूत्र, ७–उपासकदशासूत्र, ८–अन्तगडदशासूत्र, ९–अनुत्तरोववाईसूत्र, १०–विपाकसूत्र, र ११–प्रश्नव्याकरणसूत्र ।
१२ बाह्र उपाङ्ग, जस्तै—
१–उववाईयसूत्र, २–रायपसेनीसूत्र, ३–जीवाभिगमसूत्र, ४–पन्नगणासूत्र,
५–जम्बूद्वीपपण्णतिसूत्र,
६–चन्दपन्नतिसूत्र, ७–सूरियपण्णतिसूत्र, ८–निरीयावलिकासूत्र, ९–कप्पियासूत्र,
१०–कपवडीसयासूत्र, ११–पुप्पियासूत्र, र १२–पुप्पचूलियासूत्र ।
५ पाँच कल्पसूत्र, जस्तै—
१–उत्तराध्ययनसूत्र, २–निशीथसूत्र, ३–कल्पसूत्र, ४–व्यवहारसूत्र, र ५–जीतकल्पसूत्र ।
६ छ छेद, जस्तै—
१–महानिशीथबृहद्वाचनासूत्र, २–महानिशीथलघुवाचनासूत्र, ३–मध्यमवाचनासूत्र
४–पिण्डनिरुक्तिसूत्र,
५–औघनिरुक्तिसूत्र, र ६–पर्य्यूषणासूत्र ।
१० दश पयन्नासूत्र, जस्तै—
१–चतुस्सरणसूत्र, २–पञ्चखाणसूत्र, ३–तदुलवैयालिकसूत्र, ४–भक्तिपरिज्ञानसूत्र,
५–महाप्रत्याख्यानसूत्र, ६–चन्दाविजयसूत्र, ७–गणीविजयसूत्र, ८–मरणसमाधिसूत्र,
९–देवेन्द्रस्तवनसूत्र, र १०–संसारसूत्र तथा नन्दीसूत्र, साथै अनुयोगोद्धारसूत्र पनि प्रमाणिक मान्दछन् ।
५ पञ्चाङ्ग, जस्तै—
१–पूर्व सबै ग्रन्थहरूका टीका, २–निरुक्ति, ३–चरणी, ४–भाष्य । यी चार अवयव र यी सबै मूल मिलाएर पञ्चाङ्ग भन्दछन् ।
यिनीहरूमा ढूंढियाले अवयवहरूलाई मान्दैनन् र यी देखि भिन्न पनि अनेक ग्रन्थहरू छन् कि जसलाई जैनीहरूले मान्दछन् । यिनीहरूको विशेष मतमाथि विचार बाह्रौं समुल्लासमा हेर्नुहोला ।
जैनीहरूका ग्रन्थहरूमा लाखौं पुनरुक्त दोष छन् र यिनको यो पनि स्वभाव हो कि आफ्ना ग्रन्थ दोस्रो मतवालाको हातमा छ वा छापिएको छ भने त कुनै-कुनैले त्यस ग्रन्थलाई अप्रमाण पनि गर्दछन्, यो कुरो यिनीहरूको मिथ्या हो । किनभने जसलाई कसैले मान्दछ, कसैले मान्दैन, यसैले त्यो ग्रन्थ जैनमतदेखि बाहिर हुन सक्दैन । हो, जसलाई कसैले मान्दैन र न कहिल्यै कुनै जैनीले मानेको होस्, तब नै अग्राह्य हुन सक्दछ । परन्तु यस्तो कुनै पनि ग्रन्थ छैन कि जसलाई जैनीले मान्दैन । यसैले जसले जुन ग्रन्थलाई मान्दछ होला उस ग्रन्थस्थ विषयक खण्डन मण्डन पनि उसैको लागि सम्झनुपर्दछ । परन्तु कति त यस्ता पनि छन् कि त्यस ग्रन्थलाई मान्दछन् र जान्दछन् तर पनि सभा वा संवादमा मुख फेर्दछन् । यसै हेतुले जैनीहरूले आफ्ना ग्रन्थहरूलाई लुकाएर राख्दछन् । दोस्रो मतस्थलाई दिंदैनन्, सुनाउँदैनन् र पढाउँदैनन्, यसैले कि त्यसभित्र असम्भव कुराहरू लेखिएका छन् जसको कुनै पनि उत्तर जैनीहरूले दिन सक्दैनन् । झुट्टो कुरालाई छोडिदिनु नै उत्तर हुन्छ ।
तेह्रौं समुल्लासमा ईसाईहरूको मतको बारेमा लेखिएको छ । यिनीहरूले बाइबललाई आफ्नो धर्म-पुस्तक मान्दछन् । यिनीहरूका विशेष समाचार उसै तेह्रौं समुल्लासमा हेर्नुहोला र चौधौं समुल्लासमा मुसलमानहरूको मत-विषयको बारेमा लेखिएको छ । यिनीहरूले कुरानलाई आफ्नो मतको मूल पुस्तक मान्दछन् । यिनीहरूका पनि विशेष व्यवहार चौधौं समुल्लासमा हेर्नुहोला र यस भन्दा अगाडि वैदिकमतको विषयमा लेखिएको छ ।
जो कसैले यस ग्रन्थकर्ताको तात्पर्यलाई विरुद्ध मनसायले हेर्नेछ त्यसलाई चाहिं केही पनि अभिप्राय विदित हुनेछैन, किनभने वाक्यार्थबोधमा चार कारण हुन्छन्— आकांक्षा, योग्यता, आसत्ति र तात्पर्य । जब यी चारै कुराहरूमा ध्यान दिएर, जुन मनुष्यले ग्रन्थलाई हेर्दछ, तब नै त्यसलाई ग्रन्थको अभिप्राय यथायोग्य विदित हुनेछ—
‘आकांक्षा’ कुनै विषयमाथि वक्ताको र वाक्यस्थ पदहरूको आकांक्षा परस्पर हुने गर्दछ ।
‘योग्यता’ त्यसलाई भनिन्छ कि जसबाट जे हुन सक्दछ, जस्तै जलले सिञ्चनु ।
‘आसत्ति’ जुन पदको साथ जसको सम्बन्ध हुन्छ, त्यसैको समीप त्यस पदलाई बोल्नु अथवा लेख्नु ।
‘तात्पर्य’ जसको लागि वक्ताले शब्दोच्चारण वा लेख गरेको हुन्छ, त्यसको साथ त्यस वचन वा लेखलाई युक्त गर्नु ।
थुप्रै हठी-दुराग्रही मनुष्य हुन्छन् कि जसले वक्ताको अभिप्राय भन्दा विरुद्ध कल्पना गर्दछन्, विशेष गरेर मतवादीहरू । किनभने मतको आग्रहले गर्दा उनको बुद्धि अन्धकारमा फसेर नष्ट हुन जान्छ । यसैले जसरी मैले पुराण, जैनीहरूका ग्रन्थ, बाइबल र कुरानलाई प्रथम नै विकारदृष्टिले नहेरेर ती भित्रबाट गुणहरूको ग्रहण र दोषहरूको त्याग तथा अन्य मनुष्य जातिको उन्नतिको लागि प्रयत्न गर्दछु, त्यस्तै सबैले गर्न योग्य छ ।
यी मतहरूको थोरै-थोरै मात्र दोष प्रकाशित गरिएको छ, जसलाई देखेर मनुष्यहरूले सत्याऽसत्य मतको निर्णय गर्न सक्नेछन् र सत्यको ग्रहण र असत्यको त्याग गर्न गराउँनमा समर्थ बन्नेछन्, किनभने एक मनुष्य जातिमा बहकाएर, विरुद्ध बुद्धि गराएर, एक-अर्कालाई शत्रु बनाएर, लडाएर मार्न विद्वान्हरूको स्वभावदेखि बहिः हो ।
यद्यपि यस ग्रन्थलाई देखेर अविद्वान्हरूले अन्यथा विचार्नेछन्, तथापि बुद्धिमानीहरूले यथायोग्य यसको अभिप्रायलाई बुझ्नेछन्, यसैले मैले आफ्नो परिश्रमलाई सफल सम्झेको छु र आफ्नो अभिप्राय सबै सज्जनहरूका सामुन्ने राखेको छु । यसलाई देखेर-देखाएर मेरो परिश्रमलाई सफल गर्नुहोस् । र यसै प्रकारले पक्षपात नगरिकन सत्यार्थको प्रकाश गर्नमा म वा सबै महाशयहरूको मुख्य कर्तव्य कर्म हो ।
सर्वात्मा सर्वान्तर्यामी सच्चिदानन्द परमात्मा आफ्नो कृपाले यस आशयलाई विस्तृत र चिरस्थायी गरून् ।
॥ अलमतिविस्तरेण बुद्धिमद्वरशिरोमणिषु ॥
॥ इति भूमिका ॥
स्थानः महाराणाजीको उदयपुर 
भाद्रपद, शुक्लपक्ष विक्रम संवत् १९३९
—(स्वामी) दयानन्द सरस्वती
•
ओ३म्
सत्यार्थप्रकाश
Comments
Post a Comment