नवौं समुल्लास
विद्या-अविद्याको विषय (९.१)
वि॒द्यां चाऽवि॑द्यां च॒ यस्तद्वेदो॒भय॑ सह । अवि॑द्यया मृ॒त्युं॒ ती॒र्त्वा वि॒द्यया॒ऽमृत॑मश्नुते ॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र १४) ॥
जो मनुष्य विद्या र अविद्याको स्वरूपलाई सँगसँगै नै जान्दछ, त्यो ‘अविद्या’ अर्थात् कर्मोपासनाले मृत्युदेखि तरेर ‘विद्या’ अर्थात् ज्ञानले मोक्षलाई प्राप्त गर्दछ । अविद्याको लक्षण—
अनित्याशुचिदुःखानात्मसु नित्यशुचिसुखात्मख्यातिरविद्या ॥
—यो योगसूत्र (साधनपाद २/सूत्र ५) को वचन हो ॥
जुन ‘अनित्य’ संसार र देहादिमा, नित्य- अर्थात् जुन कार्य जगत् देखिन्छ सुनिन्छ, सदा रहनेछ, सदादेखि छ र योगबलले उनै देवहरूको शरीर सदा रहन्छ- त्यस्तो विपरीत बुद्धि हुनु, अविद्याको प्रथम भाग हो । ‘अशुचि’ अर्थात् मलमय स्त्र्यादिको र मिथ्याभाषण, चोरी आदि अपवित्रमा पवित्र बुद्धि छन् दोस्रो भाग हो । अत्यन्त विषयसेवनरूपी ‘दुःख’ मा सुखबुद्धि हुनु आदि तेस्रो भाग हो । ‘अनात्मा’ मा आत्मबुद्धि गर्नु अविद्याको चौथो भाग हो । यस चार प्रकारको विपरीत ज्ञानलाई ‘अविद्या’ भन्दछन् । यसको विपरीत अर्थात् अनित्यमा अनित्य र नित्यमा नित्य, अपवित्रमा अपवित्र र पवित्रमा पवित्र, दुःखमा दुःख र सुखमा सुख, अनात्मामा अनात्मा र आत्मामा आत्माको ज्ञान हुनु विद्या हो । अर्थात् ‘वेत्ति यथावत् तत्त्वं पदार्थस्वरूपं यया सा विद्या, यया तत्त्वस्वरूपं न जानाति भ्रमादन्यस्मिन्नन्यन्निश्चिनोति साऽविद्या’ जसबाट पदार्थको यथार्थ स्वरूपको बोध हुन्छ त्यो ‘विद्या’ र जसबाट तत्त्वस्वरूप जान्न नसकियोस्, अन्यमा अन्य बुद्धि हुन्छ भने त, त्यसलाई ‘अविद्या’ भनिन्छ । अर्थात् कर्म र उपासना ‘अविद्या’ यस कारणले हो कि यो बाह्य र अन्तर्क्रियाविशेषको नाम हो, ज्ञानविशेषको होइन । यसलै मन्त्रमा भनिएको छ कि बिना शुद्ध कर्म र परमेश्वरको उपासना नगरिकन मृत्यु दुःखबाट कसैले पनि पार पाउन सक्दैन । अर्थात् पवित्र कर्म, पवित्रोपासना र पवित्र ज्ञानबाट नै मुक्ति र अपवित्र मिथ्याभाषाणादि कर्म, पाषाणमूर्त्त्यादिको उपासना र मिथ्याज्ञानले बन्ध हुन्छ । कुनै पनि मनुष्य क्षणमात्र पनि कर्म, उपासना र ज्ञानबाट रहित हुँदैन । यसैले धर्मयुक्त सत्यभाषणादि कर्म गर्नु र मिथ्याभाषणादि अधर्मलाई छोडिदिनु नै ‘मुक्ति’ को साधन हो ।
प्रश्न— मुक्ति कसलाई प्राप्त हुँदैन ?
उत्तर— जो बद्ध छ ।
प्रश्न— बद्ध को छ ?
उत्तर— जुन अधर्म अज्ञानमा फसेको जीव छ ।
प्रश्न— बन्ध र मोक्ष स्वभावबाट हुन्छ कि निमित्तबाट ?
उत्तर— निमित्तबाट । किनभने स्वभावबाट हुन्थ्यो भने त बन्ध र मुक्तिको निवृत्ति कहिल्यै पनि हुने थिएन ।
प्रश्न— न निरोधो न चोत्पत्तिर्न बद्धो न च साधकः । न मुमुक्षुर्न वै मुक्तिरित्येषा परमार्थता ॥
—यो माण्डूक्योपनिषदमा श्लोक छ, (गौडपादीयकारिका/प्रकरण २/काण्ड ३२) ॥
जीव ब्रह्म हुनाले वस्तुतः जीवको ‘निरोध’ अर्थात् न कहिल्यै आवरणमा आयो, न जन्म लिन्छ, न बाँधिएको छ र न ‘साधक’ अर्थात् न केही साधना गर्नेवाला हो, न छुट्नको लागि इच्छा गर्दछ र न कहिल्यै यसको मुक्ति छ । किनभने जब परमार्थबाट बन्ध नै छैन भने त मुक्ति कता ?
उत्तर— यो नवीन वेदान्तीहरूले भनेको कुरो सत्य होइन । किनभने जीवको स्वरूप अल्प हुनाले आवरणमा आउँछ, शरीरको साथ प्रकट हुने रूप जन्म लिन्छ, पापरूपी कर्मको फल-भोगरूपी बन्धनमा फस्दछ, त्यसबाट छुट्नको लागि साधन गर्दछ, दुःखबाट छुट्नको लागि इच्छा गर्दछ र दुःखहरूबाट छुटेर परमानन्द परमेश्वरलाई प्राप्त गरेर मुक्तिलाई पनि भोग्दछ ।
प्रश्न— यी सबै धर्म देह र अन्तःकरणका हुन्, जीवको होइन । किनभने जीव त पाप-पुण्यदेखि रहित साक्षीमात्र हो । शीतोष्णादि शरीरादिको धर्म हो, क्षुधा-तृषा प्राणको र हर्ष-शोक मनको धर्म हो, आत्मा निर्लेप छ ।
उत्तर— देह र अन्तःकरण जड हुन्, तिनलाई शीतोष्णको प्राप्ति र भोग हुँदैन, जस्तै ढुङ्गालाई शीत र उष्णको भान वा भोग हुँदैन । जो चेतन मनुष्यादि प्राणी त्यसलाई स्पर्श गर्दछ उसैलाई शीत-उष्णको भान र भोग हुन्छ । त्यसै गरी प्राण पनि जड हो, न त्यसलाई भोक र तिर्खा, किन्तु प्राणवाला जीवलाई क्षुधा-तृषा (भोक-तिर्खा) लाग्दछ । त्यसै गरी मन पनि जड हो, न यसलाई हर्ष र शोक हुन सक्दछ, किन्तु मनबाट हर्ष-शोक, सुख-दुःखको भोग जीवले गर्दछ । जसरी बहिष्करण श्रोत्रादि इन्द्रियहरूबाट राम्रा-नराम्रा शब्दादि विषयहरूको ग्रहण गरेर जीव सुखी-दुःखी हुन्छ, त्यसरी नै ‘अन्तःकरण’ अर्थात् मन, बुद्धि, चित्त, अहङ्कारबाट सङ्कल्प, विकल्प, निश्चय, स्मरण र अभिमान गर्नेवाला जीव हो । जसरी तलवार आदि कुनै शस्त्रले कसैलाई मार्ने वा रक्षा गर्नेवाला दण्ड र मान्यको भागी कर्मको कर्ता हुन्छ, तलवार हुँदैन, त्यसरी नै देहेन्द्रिय, अन्तःकरण र प्राणरूप साधनहरूबाट राम्रा-नराम्रा कर्महरूको कर्ता जीव सुख-दुःखको भोक्ता हो । जीव कर्महरूको साक्षी होइन, किन्तु कर्ताको हो । कर्महरूको साक्षी त एक परमात्मा हो । जुन कर्मलाई गर्नेवाला जीव हो, वही कर्महरूमा लिप्त हुन्छ; त्यो ईश्वर साक्षी हुँदैन ।
प्रश्न— जीव ब्रह्मको प्रतिबिम्ब हो । जसरी दर्पणको टुट्न-फुट्नाले बिम्बको केही हानि हुँदैन, यसै प्रकार अन्तःकरणमा ब्रह्मको प्रतिबिम्ब जीव तबसम्म हुन्छ कि जबसम्म त्यो अन्तःकरणोपाधि हुन्छ । जब अन्तःकरण नष्ट भयो, तब त्यो जीव मुक्त हो ।
उत्तर— यो बालकपनको कुरो हो । किनभने प्रतिबिम्ब साकारको साकारमा हुन्छ । जसरी मुख र दर्पण आकारवाला हुन् र पृथक् पनि छन् । यदि पृथक् नभएमा त प्रतिबिम्ब हुनसक्दैन । ब्रह्म निराकार, सर्वव्यापक हुनाले उसको प्रतिबिम्ब हुन सक्दैन ।
प्रश्न— हेर ! गम्भीर स्वच्छ स्थिर जलमा निराकार र व्यापक आकाशको आभास हुन्छ । यसै प्रकार स्वच्छ अन्तःकरणमा परमात्माको आभास हुन्छ । त्यसैले यसलाई ‘चिदाभास’ भन्दछन् ।
उत्तर— यो बालबुद्धिको मिथ्या प्रलाप हो । किनभने आकाश दृश्य नै होइन, त्यसलाई आँखाले कसैले पनि देख्नसक्दैन । जब आकाशमा भएको स्थूल वायुलाई त आँखाले देख्न सक्दैन भने आकाशलाई कसरी देख्न सक्दछ ?
प्रश्न— यो जुन माथितिर नीलो र घुर्मैलो (तुवाँलोजस्तो) देखिन्छ त्यो आकाश हो कि होइन ?
उत्तर— होइन ।
प्रश्न— त्यसो भए के हो त ?
उत्तर— अलग-अलग पृथ्वी, जल र अग्निको त्रसरेणु देखिन्छ । त्यसमा जुन नीलो देखिन्छ त्यसले अधिक जल जुन वर्षाउँछ सो नील, जुन घुर्मैलो देखिन्छ त्यो पृथ्वीदेखि धुलो उडेर वायुमा घुमिराख्दछ त्यही देखिन्छ, र त्यसैको प्रतिबिम्ब जल वा दर्पणमा देखापर्दछ; आकाशको कहिल्यै होइन ।
प्रश्न— जसरी घटाकाश, मठाकाश, मेघाकाश र महदाकाशको भेद व्यवहारमा हुन्छन्, त्यसरी नै ब्रह्मको ब्रह्माण्ड र अन्तःकरण उपाधिको भेदले ईश्वर र जीव नाम हुन्छ । जब घटादि नष्ट हुनजान्छ तब महाकाश नै भनिन्छ ।
उत्तर— यो कुरो पनि अविद्वान्हरूको हो । किनभने आकाश कहिल्यै छिन्न-भिन्न हुँदैन । व्यवहारमा पनि ‘घैंटो ल्याऊ’ इत्यादि व्यवहार हुन्छ, कसैले भन्दैन कि घैंटाको आकाश ल्याऊ । त्यसैले यो कुरो ठीक होइन ।
प्रश्न— जसरी समुद्रका माझमा माछा, कीरा र आकाशको माझमा पक्षी आदि घुम्दछन्, त्यसरी नै चिदाकाश ब्रह्ममा सबै अन्तःकरण घुम्दछन् । ती स्वयं त जड हुन्, परन्तु सर्वव्यापक परमात्माको सत्ताले जस्तो कि अग्निदेखि फलाम, त्यस्तै चेतन भैरहेका छन् । जस्तै तिनीहरू हिंड्दा-डुल्दा (चलायमान) हुन् र आकाश तथा ब्रह्म स्थिर छ, त्यसरी नै जीवलाई ब्रह्म मान्नमा कुनै पनि दोष आउँदैन ।
उत्तर— तिम्रो यो दृष्टान्त पनि सत्य होइन, किनभने जो सर्वव्यापी ब्रह्म सबै अन्तःकरणहरूमा प्रकाशमान भएर जीव हुन्थ्यो भने त सर्वज्ञादि गुण उसमा हुन्छ कि हुँदैन ? यदि भन्दछौ कि आवरण हुनाले सर्वज्ञता हुँदैन, तब भन कि ब्रह्म आवृत र खण्डित वा अखण्डित हो ? यदि भन्दछौ कि अखण्डित हो तब बीचमा कुनै पर्दा हुन सक्दैन । जब पर्दा छैन भने त सर्वज्ञता किन होइन ? यदि भन्दछौ कि आफ्नो स्वरूपलाई भुलेर अन्तःकरणमा ब्रह्म फस्न गयो तब त ब्रह्म नित्य मुक्त भएन । फेरि ब्रह्म अन्तःकरणको साथ हिंड्दछ वा हिंड्दैन ? तब यस्तो भनौला कि हिंड्दैन । जब स्वयं चल्दैन तब अन्तःकरण जति-जति पूर्व प्राप्त देश छोड्दै जान्छ र अगाडि-अगाडि जहाँ-जहाँ सर्कंदै जानेछ, त्यहाँ-त्यहाँको ब्रह्म भ्रान्त, अज्ञानी हुँदै जानेछ र जति-जति छोड्दै जानेछ, त्यहाँ-त्यहाँको ज्ञानी, पवित्र र मुक्त हुँदै जानेछ । एवं प्रकारले सर्वत्र सृष्टिका ब्रह्मलाई अन्तःकरणले बिगार्नेछ र बन्ध-मुक्ति पनि क्षण-क्षणमा हुन जानेछ । जुन तिमीले भने अनुसार प्रमाण हुन्थ्यो भने त कुनै जीवलाई पूर्व देखे-सुनेको स्मरण हुने थिएन । किनभने जुन ब्रह्मले देख्यो त्यो पृथक् रह्यो र दोस्रो देशमा दोस्रै ब्रह्मको सम्बन्ध हुनेछ । जसरी फलाममा अग्निको नै दाह प्रकाश हो फलामको होइन, त्यसरी नै चेतनता अन्तःकरणमा ब्रह्मको हो आफ्नो होइन, तब ब्रह्म नै कर्ता, भोक्ता, बद्ध र मुक्त हुन जानेछ । त्यसैले जीव सबै पृथक्-पृथक् हुन् । ब्रह्म जीव वा जीव ब्रह्म एक कहिल्यै हुँदैन, सदा पृथक्-पृथक् छन् ।
प्रश्न— यो सबै अध्यारोपमात्रै हो । अर्थात् अन्य वस्तुमा अन्य वस्तुको स्थापन गर्नुलाई ‘अध्यारोप’ भनिन्छ, त्यसरी नै ब्रह्म वस्तुमा सबै जगत् र यसको व्यवहारको अध्यारोप गर्नाले जिज्ञासुलाई बोध गराउन हुन्छ, वास्तवमा सबै ब्रह्म नै हो ।
(प्रतिप्रश्न) प्रश्न— अध्यारोपलाई गर्नेवाला को हो ?
उत्तर— जीव ।
प्रश्न— जीव कसलाई भन्दछन् ?
उत्तर— अन्तःकरणावच्छिन्न चेतनलाई ।
प्रश्न— अन्तःकरणावच्छिन्न चेतनदेखि दोस्रै हो कि त्यही ब्रह्म हो ?
उत्तर— त्यही ब्रह्म हो ।
प्रश्न— के त्यसो भए ब्रह्मले नै आफूमा जगत्को झुटो कल्पना गर्यो त ?
उत्तर— हो, ब्रह्मलाई यसबाट के हानि छ र ?
प्रश्न— जसले मिथ्या कल्पना गर्दछ, के त्यो झुटो हुँदैन र ?
उत्तर— हुँदैन । किनभने जुन मन, वाणीले कल्पित वा कथित हुन्छ, त्यो सबै झुटो हो ।
प्रश्न— फेरि मन, वाणीले झुटो कल्पना गर्ने र मिथ्या बोल्नेवाला ब्रह्म कल्पित र मिथ्यावादी भयो कि भएन ?
उत्तर— भयो, मलाई इष्टापत्ति छ ।
वाह रे झुट्टा वेदान्तीहरू ! तिमीले सत्यस्वरूप, सत्यकाम, सत्यसङ्कल्प परमात्मालाई मिथ्याचारी बनाइदियौ । के यो तिम्रो दुर्गतिको कारण होइन ? कुन उपनिषद्, सूत्र वा वेदमा लेखिएको छ कि परमेश्वर मिथ्यासङ्कल्प र मिथ्यावादी हो ? किनकि जस्तै कुनै ‘चोरले उल्टै न्यायाधीशलाई दण्ड दिने’ अर्थात् ‘चोरले न्यायाधीशलाई दण्ड’ यो कथा तिमीमा घट्दछ । न्यायाधीशले चोरलाई दण्ड दिनु त उचित हो । परन्तु चोरले न्यायाधीशलाई दण्ड दिनु यो कुरो विपरीत हो । त्यसरी नै तिमी मिथ्यासङ्कल्प र मिथ्यावादी भएर त्यही आफ्नो दोष ब्रह्ममा व्यर्थै लगाउँछौ । यदि ब्रह्म मिथ्याज्ञानी, मिथ्यावादी र मिथ्याकारी हुन्छ भने त सबै अनन्त ब्रह्म त्यस्तै हुन जानेछ, किनभने त्यो एक रस छ, सत्यस्वरूप, सत्यमानी, सत्यवादी र सत्यकारी छ । यी सबै दोष तिम्रा आफ्ना हुन्, ब्रह्मको होइन । जसलाई तिमी विद्या भन्दछौ त्यो अविद्या र झुटो अध्यारोप हो, किनभने आफू ब्रह्म नहुँदा पनि आफूलाई ब्रह्म र ब्रह्मलाई जीव मान्नु यो अविद्या र मिथ्याज्ञान नभए के हो त ? जो सर्वव्यापक छ त्यो परिच्छिन्न अज्ञान र बन्धमा कहिल्यै गिर्दैन, किनभने अज्ञान परिच्छिन्न, एकदेशी, अल्प, अल्पज्ञ जीवमा हुन्छ, सर्वज्ञ सर्वव्यापी ब्रह्ममा होइन ।
बन्ध र मुक्तिको विषयमा वर्णन (९.२)
प्रश्न— मुक्ति कसलाई भन्दछन् ?
उत्तर— मुञ्चन्ति पृथग्भवन्ति जना यस्यां सा मुक्तिः मुक्ति नाम हो छुटेर जानुको ।
प्रश्न— कसबाट छुटेर जानु ?
उत्तर— जसबाट छुट्नको इच्छा सबै जीवले गर्दछन् ।
प्रश्न— कसबाट छुट्नको लागि इच्छा गर्दछन् ?
उत्तर— जसबाट छुट्न चाहन्छन् ।
प्रश्न— कसबाट छुट्न चाहन्छन् ?
उत्तर— दुःखबाट ।
प्रश्न— छुटेर कसलाई प्राप्त गर्दछन् र कहाँ रहन्छन् ?
उत्तर— सुखलाई प्राप्त गरेर ब्रह्ममा रहन्छन् ।
प्रश्न— मुक्ति र बन्ध कुन-कुन कुराले हुन्छ ?
उत्तर— परमेश्वरको आज्ञा पालन गर्नाले, अधर्म, अविद्या, कुसङ्ग, कुसंस्कार, नराम्रा दुर्व्यसनीदेखि अलग रहनु र सत्यभाषण, परोपकार, विद्या, पक्षपातरहित न्याय-धर्मको वृद्धि गर्ने, पूर्वोक्त प्रकारबाट परमेश्वरको स्तुति, प्रार्थना र ‘उपासना’ को अर्थात् योगाभ्यास गर्नु; विद्या पढ्ने-पढाउने र धर्मले पुरुषार्थ गरेर ज्ञानको उन्नति गर्नु; सबै भन्दा उत्तम साधनहरूलाई गर्नु, जे-जति गरिन्छ त्यो सबै पक्षपातरहित न्यायधर्मानुसार नै गर्ने, इत्यादि साधनहरूबाट ‘मुक्ति’ र यीदेखि विपरीत ईश्वराज्ञाभङ्ग गर्नु आदि कामबाट ‘बन्ध’ हुन्छ ।
प्रश्न— मुक्तिमा जीवको लय हुन्छ कि विद्यमान रहन्छ ?
उत्तर— विद्यमान रहन्छ ।
प्रश्न— कहाँ रहन्छ ?
उत्तर— ब्रह्ममा ।
प्रश्न— ब्रह्म कहाँ छ र त्यो मुक्त जीव एक ठेगानमा रहन्छ कि स्वेच्छाचारी भएर सर्वत्र विचरण गर्दछ ?
उत्तर— जुन ब्रह्म सर्वत्र पूर्ण छ, उसैमा मुक्त जीव ‘अव्याहतगति’ अर्थात् त्यसलाई कहीं रोकावट हुँदैन, विज्ञान आनन्दपूर्वक स्वतन्त्र विचर्दछ ।
प्रश्न— मुक्त जीवहरूको स्थूल शरीर रहन्छ कि रहँदैन ?
उत्तर— रहँदैन ।
प्रश्न— फेरि त्यसले सुख र आनन्दलाई कसरी भोग गर्दछ त ?
उत्तर— त्यसका सत्य-सङ्कल्पादि स्वाभाविक गुण-सामर्थ्य सबै रहन्छन्, त्यसको भौतिकसङ्ग रहँदैन । जस्तै—
शृण्वन् श्रोत्रं भवति, स्पर्शयन् त्वग्भवति, पश्यन् चक्षुर्भवति, रसयन् रसना भवति, जिघ्रन् घ्राणं भवति, मन्वानो मनो भवति, बोधयन् बुद्धिर्भवति, चेतयँश्चित्तम्भवत्यहङ्कुर्वाणोऽहङ्कारो भवति ॥
—(तुलना)—शतपथ ब्राह्मण काण्ड १४ (३/२/१७) ॥
—छान्दोग्योपनिषद् (प्रपाठक ८/खण्ड १२/प्रवाक ४-५) ॥
मोक्षमा भौतिक शरीर वा इन्द्रियहरूका गोलक जीवको साथमा रहँदैन, किन्तु आफ्ना स्वभाविक शुद्ध गुण रहन्छन् । जब सुन्न चाहन्छ तब श्रोत्र, जब स्पर्श गर्न चाहन्छ तब त्वचा, जब हेर्ने सङ्कल्प गर्दछ तब चक्षु, स्वादको अर्थमा रसना, गन्धको अर्थमा घ्राण, सङ्कल्प-विकल्प गर्दाखेरि मन, निश्चय गर्नको लागि बुद्धि, स्मरण गर्नको लागि चित्त र अहङ्कार गर्नको लागि अहङ्काररूप आफ्नो स्वशक्तिबाट जीवात्मा मुक्तिमा हुन जान्छ र सङ्कल्प इच्छामात्र शरीर हुन्छ । जसरी शरीरको आधारमा रहेर इन्द्रियहरूका गोलकद्वारा जीवले स्वकार्य गर्दछ, त्यसैरी नै आफ्नो शक्तिले मुक्तिमा सबै आनन्दलाई भोग गर्दछ ।
प्रश्न— उसको शक्ति कस्तो प्रकारको र कति छन् ?
उत्तर— मुख्य एक प्रकारको शक्ति छ । परन्तु बल, पराक्रम, आकर्षण, प्रेरणा, गति, भीषण, विवेचन, क्रिया, उत्साह, स्मरण, निश्चय, इच्छा, प्रेम, द्वेष, संयोग, विभाग, संयोजक, विभाजक, श्रवण, स्पर्शन, दर्शन, स्वादन र गन्धग्रहण तथा ज्ञान यी २४ प्रकारको सामर्थ्ययुक्त जीव हो । यसैबाट मुक्तिमा पनि आनन्दको प्राप्ति भोग गर्दछ । यदि मुक्तिमा जीवको लय हुन्थ्यो भने त मुक्तिको सुखलाई कसले भोग्ने ? र जसले जीवको लयलाई मान्दछन्, तिनीहरू जीवको नाशलाई नै मुक्ति सम्झन्छन्, तिनीहरू महामूढ हुन् । किनभने मुक्ति जीवको यो हो कि दुःखहरूबाट छुटेर आनन्दस्वरूप, सर्वव्यापक, अनन्त परमेश्वरमा जीवहरू आनन्दले रहनु । हेर वेदान्त शारीरक सूत्रहरूमा—
अभावं बादरिराह ह्येवम् ॥ —वेदान्तशास्त्र (अध्याय ४/पाद ४/सूत्र १०) ॥
जो बादरि व्यासजीका पिता हुन्, उनले मुक्तिमा जीव र उसको साथ मनको भाव मान्दछन् । अर्थात् जीव र मनको लय पराशरजीले मान्दैनन्, त्यसरी नै—
भावं जैमिनिर्विकल्पामननात् ॥ —वेदान्तशास्त्र (अध्याय ४/पाद ४/सूत्र ११) ॥
र जैमिनि आचार्य मुक्त पुरुषको मनको समान सूक्ष्म शरीर, इन्द्रियहरू, प्राण आदिको पनि विद्यमान मान्दछन्, अभाव होइन ।
द्वादशाहवदुभयविधं बादरायणोऽतः ॥ —वेदान्तशास्त्र (अध्याय ४/पाद ४/सूत्र १२) ॥
व्यास मुनि मुक्तिमा भाव र अभाव दुइटै मान्दछन् । अर्थात् दोष अविद्यादि क्लेशादिको अभाव र जीव, अन्तःकरण, आनन्द, प्राण, इन्द्रियहरूको शुद्ध भाव रहन्छ अर्थात् शुद्ध सामर्थ्ययुक्त जीव मुक्तिमा बनिराख्दछ । अपवित्रता, पापाचरण, दुःख, अज्ञानादिको अभाव मान्दछन् ।
यदा पञ्चावतिष्ठन्ते ज्ञानानि मनसा सह । बुद्धिश्च न विचेष्टते तामाहुः परमां गतिम् ॥
—कठोपनिषद् (अध्याय २/वल्ली ३/मन्त्र १०) ॥
जब शुद्ध मनको साथ पाँच ज्ञानेन्द्रिय जीवको साथमा रहन्छन् र बुद्धिको निश्चय स्थिर हुन्छ, त्यसैलाई ‘परमगति’ अर्थात् मोक्ष भन्दछन् ।
य आत्मा अपहतपाप्मा विजरो विमृत्युर्विशोकोऽविजिघत्सोऽपिपासः सत्यकामः सत्यसङ्कल्पः सोऽन्वेष्टव्यः स विजिज्ञासितव्यः सर्वांश्च लोकानाप्नोति सर्वांश्च कामान् यस्तमात्मानमनुविद्य विजानातीति ॥ —छान्दोग्योपनिषद् (अध्याय ८/खण्ड ७/मन्त्र १) ॥
स वा एष एतेन दैवेन चक्षुषा मनसैतान् कामान् पश्यन् रमते ।
य एते ब्रह्मलोके तं वा एतं देवा आत्मानमुपासते तस्मात्तेषा सर्वे च लोका आत्ताः सर्वे च कामाः स सर्वांश्च लोकानाप्नोति सर्वांश्च कामान् यस्तमात्मानमनुविद्य विजानातीति ॥
—छान्दोग्योपनिषद् (अध्याय ८/खण्ड १२/मन्त्र ५, ६) ॥
मघवन्मर्त्यं वा इद शरीरमात्तं मृत्युना तदस्याऽमृतस्याऽशरीरस्यात्मनोऽधिष्ठानमात्तो वै सशरीरः प्रियाप्रियाभ्यां न वै सशरीरस्य सतः प्रियाप्रिययोरपहतिरस्त्यशरीरं वाव सन्तं न प्रियाप्रिये स्पृशतः ॥ —छान्दोग्योपनिषद् (अध्याय ८/खण्ड १२/मन्त्र १) ॥
जो परमात्मा अपहतपाप्मा, सर्व-पाप, जरा, मृत्यु, शोक, क्षुधा, पिपासादेखि रहित, सत्यकाम, सत्यसङ्कल्प छ, उसको खोजी र उसलाई जान्नको लागि इच्छा गर्नुपर्दछ । उस परमात्माको सम्बन्धले मुक्त जीव सबै लोकहरू सबै कामहरूलाई प्राप्त गर्दछ, उस परमात्मालाई जानेर मोक्षको साधन र आफूलाई शुद्ध गर्न जान्दछ ॥ सो यस्तो मुक्तिलाई प्राप्त जीव शुद्ध दिव्य नेत्र शुद्ध मनले कामहरूलाई देख्दै, प्राप्त भएर रमण गर्दछ ॥ जुन यी ब्रह्मलोक अर्थात् दर्शनीय परमात्मामा स्थित भएर सुखलाई भोग्दछन् र यसै परमात्माका जुन कि सबैको अन्तर्यामी आत्मा हो, उसैको उपासना मुक्तिलाई प्राप्ति गर्नेवाला विद्वान्हरूले गर्दछन्, उसैबाट उनीहरूलाई सबै लोक र सबै काम प्राप्त हुन्छन्, अर्थात् जुन-जुन सङ्कल्प गर्दछन्, त्यो-त्यो लोक र त्यही-त्यही काम प्राप्त गर्दछन् र ती मुक्त जीव स्थूल शरीर छोडेर सङ्कल्पमय शरीरले आकाशमा परमेश्वरमा विर्चदछन् । किनभने जो शरीरवाला हुन्छन्, तिनीहरू सांसारिक दुःखले रहित हुन सक्दैनन् ॥ जसरी इन्द्रसँग प्रजापतिले भनेका छन् कि- हे परमपूजित धनयुक्त पुरुष ! यो स्थूल शरीर मरणधर्मी छ, जसरी सिंहको मुखमा बाख्रो हुन्छ, त्यसरी नै यो शरीर मृत्युको मुखको बीचमा छ । उक्त शरीर यस ‘मरण र शरीररहित’ जीवात्माको निवासस्थान हो । यसैले यो जीव सुख र दुःखदेखि सदा ग्रसित रहन्छ । किनभने शरीरसहित जीवको सांसारिक प्रसन्नता-अप्रसन्नताको निवृत्ति हुँदैन, र जो शरीररहित मुक्त जीवात्मा ब्रह्ममा रहन्छ, जसलाई सांसारिक सुख-दुःखको स्पर्श पनि हुँदैन किन्तु सदा आनन्दमा रहन्छ ।
प्रश्न— जीव मुक्तिलाई प्राप्त गरेर पुनः जन्म-मरणरूप दुःखमा कहिल्यै आउँछ कि आउँदैन ? किनकि—
न च पुनरावर्त्तते न च पुनरावर्त्तत इति ॥१॥
—छान्दोग्योपनिषद् (अध्याय ८/खण्ड १५/मन्त्र १) ॥
अनावृत्तिः शब्दादनावृत्तिः शब्दात् ॥२॥
—शारीरक सूत्र, वेदान्तशास्त्र (अध्याय ४/पाद ४/सूत्र २२) ॥
यद् गत्वा न निवर्त्तन्ते तद्धाम परमं मम ॥३॥
—भगवद्गीता (अध्याय १५/श्लोक ६) ॥
त्यसपछि फर्कंदैन अर्थात् आवागमनदेखि मुक्त हुन्छ ॥१॥ ब्रह्मलोकलाई प्राप्त गरेको मुक्तात्माको पुनः आगमन हुँदैन ॥२॥ जुन परमपदलाई प्राप्त गरेर मनुष्य फर्केर संसारमा आउँदैन, त्यही मेरो धाम हो ॥३॥ इत्यादि वचनहरूबाट विदित हुन्छ कि मुक्ति त्यही हो कि जसबाट निवृत्त भएर पुनः संसारमा कहिल्यै आउँदैन ।
उत्तर— यो कुरो ठीक होइन । किनभने वेदमा यस कुराको निषेध गरिएको छ—
कस्य॑ नू॒नं क॑त॒मस्या॒मृता॑नां॒ मना॑महे॒ चारु॑ दे॒वस्य॒ नाम॑ ।
को नो॑ म॒ह्या अदि॑तये॒ पुन॑र्दात् पि॒तरं॑ च दृ॒शेयं॑ मा॒तरं॑ च ॥१॥
अ॒ग्नेर्व॒यं प्र॑थ॒मस्या॒मृता॑नां॒ मना॑महे॒ चारु॑ दे॒वस्य॒ नाम॑ ।
स नो॑ म॒ह्या अदि॑तये॒ पुन॑र्दात् पि॒तरं॑ च दृ॒शेयं॑ मा॒तरं च ॥२॥
—ऋग्वेद (मण्डल १/सूक्त २४/मन्त्र १-२) ॥
इदानीमिव सर्वत्र नात्यन्तोच्छेदः ॥३॥ —सांख्यशास्त्र सूत्र (अध्याय १/सूत्र १५९) ॥
अर्थ— [प्रश्न— हामीहरूले कसको नाम पवित्र जानौं ? को नाशरहित पदार्थहरूको मध्यमा वर्तमान देव सदा प्रकाशस्वरूप छ, हामीहरूलाई मुक्तिको सुख भोगाएर पुनः यस संसारमा जन्म दिन्छ र माता तथा पिताको दर्शन गराउँदछ ? ॥१॥
उत्तर— हामीले यस स्वप्रकाशस्वरूप, अनादि, सदामुक्त परमात्माको नाम पवित्र जानौं, जसले हामीलाई मुक्तिमा आनन्द भोगाएर पृथ्वीमा पुनः माता-पिताको सम्बन्धमा जन्म दिएर माता-पिताको दर्शन गराउँदछ । त्यही परमात्माले यस प्रकार मुक्तिको व्यवस्था गर्दछ र ऊ सबैको स्वामी हो ॥२॥
जसरी यस समयमा बन्ध मुक्त जीवहरू छन्, त्यसरी नै सर्वदा रहन्छन् । अत्यन्त विच्छेद बन्ध वा मुक्ति कहिल्यै हुँदैन, किन्तु बन्ध र मुक्ति सदा रहँदैन ॥३॥]
प्रश्न— तदत्यन्तविमोक्षोऽपवर्गः ॥
दुःखजन्मप्रवृत्तिदोषमिथ्याज्ञानानामुत्तरोत्तरापाये तदनन्तरापायादपवर्गः ॥
—न्यायसूत्र (अध्याय १/आह्निक १/सूत्र २२ ,२) ॥
जब दुःखको अत्यन्त विच्छेद हुन्छ, त्यसैलाई ‘मुक्ति’ भनिन्छ ।
किनभने जब मिथ्या ज्ञान, अविद्या, लोभादि दोष, विषय दुष्ट-व्यसनहरूमा प्रवृत्ति, जन्म र दुःखको उत्तर-उत्तरहरू छुट्नाले पूर्व-पूर्वको निवृत्ति हुनाले नै ‘मोक्ष’ हो, जुन चाहिं सदा-सर्वदा बनिरहन्छ ।
उत्तर— यो आवश्यक छैन कि अत्यन्त शब्द अत्यन्ताभावको नै नाम होओस् । जसरी ‘अत्यन्तं दुःखमत्यन्तं सुखं चास्य वर्त्तते’ धेरै दुःख र धेरै सुख यस मनुष्यलाई छ । यसबाट विदित हुन्छ कि यसलाई धेरै दुःख वा सुख छ । यसै प्रकारले यहाँ पनि ‘अत्यन्त’ शब्दको अर्थ यसरी नै जान्नुपर्दछ ।
प्रश्न— यदि मुक्तिबाट पनि जीव फेरि आउँछ भने त त्यो कति समयसम्म मुक्तिमा रहन्छ ?
उत्तर— ते ब्रह्मलोके ह परान्तकाले परामृतात् परिमुच्यन्ति सर्वे ॥
—तुलना [तै.आ. (प्रपा.१०/अनु.३/ऋचा २२); मुण्डकोपनिषद् (मु.३/ख.२/मं.६)] ॥
ती मुक्त जीव मुक्तिमा प्राप्त भएर ब्रह्ममा आनन्दलाई तबसम्म भोगेर पुनः महाकल्पको पश्चात् मुक्ति-सुखलाई छोडेर संसारमा आउँछन् ।
यसको संख्या यो हो कि— त्रिचालीस लाख बीस हजार वर्षहरूको एक ‘चतुर्युगी’, दुई हजार चतुर्युगीहरूको एक ‘अहोरात्र’, यस्ता तीस अहोरात्रको एक ‘महिना’, यस्तै बाह्र महिनाको एक ‘वर्ष’, यस्तै शत-वर्षहरूको ‘परान्तकाल’ हुन्छ । यसलाई गणितको रीतिबाट यथावत् सम्झनुहोस् । यति समय मुक्तिमा सुख भोग्नको लागि हो ।
प्रश्न— सबै संसार र ग्रन्थकारहरूको यही मत छ कि जसबाट पुनः जन्म-मरणमा कहिल्यै नआओस् ।
उत्तर— यस्तो कुरो कहिल्यै हुन सक्दैन । किनभने प्रथम त जीवको सामर्थ्य, शरीरादि पदार्थ र साधन परिमित छन्, पुनः त्यसको फल अनन्त कसरी हुन सक्दछ ? अनन्त आनन्दलाई भोग्ने असीम सामर्थ्य, कर्म र साधन जीवमा छैन, यसैले अनन्त सुख भोग्न सक्दैन । जसका साधन अनित्य छन्, तिनीहरूका फल नित्य कहिल्यै हुन सक्दैनन् । यदि मुक्तिबाट कोही पनि जीव फर्केर आएनन् भने त संसारको ‘उच्छेद’ अर्थात् जीव निश्शेष हुनुपर्ने हो ।
प्रश्न— जति जीव मुक्त हुन्छन्, ईश्वरले त्यति नै नयाँ उत्पन्न गरेर संसारमा राखिदिन्छ, यसैले निश्शेष हुँदैनन् ।
उत्तर— यदि यस्तो भएमा त जीव अनित्य हुन जानेछ । किनभने जसको उत्पत्ति हुन्छ, त्यसको नाश अवश्य हुन्छ । फेरि तिम्रो मतानुसार मुक्ति पाएर पनि विनष्ट हुन जानेछन् । मुक्ति अनित्य हुन गयो । साथै मुक्तिको स्थानमा बडो भीडम्भाड हुने भयो । किनभने त्यहाँ आगम अधिक र व्यय केही पनि नहुनाले बढोत्तरीको पारावार रहनेछैन ।
र दुःखको अनुभवको बिना सुख केही पनि हुनसक्ने छैन । जस्तै कटु भएन भने त मधुर कहाँ ? जहाँ मधुर भएन भने त कटु केलाई भन्ने ? किनभने एक स्वादको एक रसको विरुद्ध हुनाले दुइटैको परीक्षा हुन्छ । जस्तै कुनै मनुष्यले मीठो मधुर नै खाँदै-पिउँदै गएमा, त्यसलाई त्यस्तो सुख हुँदैन, जस्तो सबै प्रकारका रसहरू भोग्नेवालालाई हुन्छ ।
यदि ईश्वरले अन्तवाला कर्महरूको अनन्त फल दियो भने त, उसको न्याय प्रणाली नष्ट हुन जान्छ । त्यस कारण जसले जति भार उठाउन सक्दछ, त्यति नै उसलाई बोकाउन बुद्धिमानीहरूको काम हो । जसरी एक मन भारी उठाउन सक्नेको टाउकामाथि दस मनको भारी बोकाइदियो भने त त्यो बोकाइदिनेवालाको निन्दा हुन्छ, त्यसरी नै अल्पज्ञ अल्प-सामर्थ्यवाले जीवमाथि अनन्त सुखको भारी बोकाउनु, ईश्वरको लागि ठीक होइन ।
यदि परमेश्वरले नयाँ जीव उत्पन्न गर्दछ भने त जुन कारणले उत्पन्न हुन्छन्, त्यो चक्र चुक्न जानेछ । किनभने चाहे जतिसुकै नै ठूलो धनकोश होस्, परन्तु जसमा व्ययमात्रै छ आय छैन भने त कहिले न कहिले यो टाट पल्टिन जाने छ । त्यसैले यही व्यवस्था ठीक छ कि मुक्तिमा जानु, वहाँबाट आउनु नै राम्रो हो । के थोरै कारागार भन्दा ‘जन्म कैद’ वा ‘कालापानी’ अथवा ‘फांसी’ लाई कसैले राम्रो मान्ला र ? जब वहाँदेखि आउनु नै छैन भने त ‘जन्म-कारागार’ भन्दा यति नै अन्तर भयो कि वहाँ परिश्रम गर्न पर्दैन, र ब्रह्ममा लय हुनु समुद्रमा डुबेर मर्नु हो ।
प्रश्न— जसरी परमेश्वर नित्यमुक्त, पूर्ण-सुखी छ, त्यसरी नै जीव पनि नित्यमुक्त र सुखी रह्यो भने त कुनै पनि दोष आउने छैन ।
उत्तर— परमेश्वर अनन्त स्वरूप, सामर्थ्य, गुण, कर्म, स्वभाववाला छ, यसैले ऊ कहिल्यै पनि अविद्या र दुःख बन्धनमा गिर्न सक्दैन । जीव मुक्त भएर पनि शुद्धस्वरूप, अल्पज्ञ र परिमित गुण-कर्म-स्वभाववाला रहन्छ, परमेश्वरको सदृश कहिल्यै हुन सक्दैन ।
प्रश्न— जब यस्तो हो भने त; मुक्ति पनि जन्म-मरणको सदृश भयो । यसको लागि परिश्रम गर्नु व्यर्थ छ ।
उत्तर— मुक्ति, जन्म-मरणको सदृश होइन । किनभने जबसम्म ३६,००० (छत्तीस हजार) पटक उत्पत्ति र प्रलयको जति समय हुन्छ, त्यति नै समय पर्यन्त मुक्तिको आनन्दमा रहनु, दुःख नहुनु, के सानो कुरा हो त ? जब आज खान्छौ-पिउँछौ, भोलि फेरि भोक लाग्नेवाला छ, पुनः यसको उपाय किन गर्दछौ ? जब क्षुधा, तृषा, क्षुद्र धन, राज्य, प्रतिष्ठा, स्त्री, सन्तान आदिको लागि उपाय गर्नु आवश्यक छ भने त, मुक्तिको लागि किन नगर्ने ? जसरी मर्न अवश्य पर्नेछ, तापनि जीवनको उपाय गर्ने गरिन्छ, त्यसरी नै मुक्तिबाट फर्केर जन्ममा आउनुनै छ, तथापि यसको उपाय गर्न अत्यावश्यक छ ?
प्रश्न— मुक्तिका के-के साधन छन् ?
उत्तर— केही साधन त प्रथममै लेखेर आएको छु परन्तु विशेष उपाय यिनीहरू हुन्— जसले मुक्ति चाहन्छ त्यो ‘जीवनमुक्त’ अर्थात् जुन मिथ्याभाषणादि पाप-कर्महरूको फल दुःख हो, त्यसलाई छोडेर सुखरूप फललाई दिनेवाला सत्यभाषणादि धर्माचरण अवश्य गरोस् । जो-कसैले दुःखलाई छोड्न र सुखलाई प्राप्त गर्न चाहन्छ, त्यसले अधर्मलाई छोडेर धर्म अवश्य गर्नु । किनभने दुःखको पापाचरण र सुखको धर्माचरण मूल कारण हो ।
प्रथम साधन— सत्पुरुषहरूको सङ्गले ‘विवेक’ अर्थात् सत्याऽसत्य, धर्माऽधर्म, कर्त्तव्याऽकर्त्तव्यको निश्चय अवश्य गरोस्, पृथक्-पृथक् जानोस् र ‘शरीर’ अर्थात् जीव पञ्चकोशहरूको विवेचन गरोस् । एक ‘अन्नमय’ जुन त्वचादेखि लिएर अस्थिपर्यन्तको समुदाय पृथ्वीमय छ । दोस्रो— ‘प्राणमय’ जसमा ‘प्राण’ अर्थात् जुन भित्रबाट बाहिर जान्छ, ‘अपान’ जुन बाहिरबाट भित्र आउँछ, ‘समान’ जुन नाभिस्थ हुँदै सर्वत्र शरीरमा रस पुर्याउँछ, ‘उदान’ जसबाट कण्ठस्थ अन्न-पान खिचिएर आउँछ र बल-पराक्र हुन्छ, ‘व्यान’ जसबाट सबै शरीरमा चेष्टा आदि कर्म जीवले गर्दछ । तेस्रो— ‘मनोमय’ जसमा मनको साथ अहङ्कार, वाक्, पाद, पाणि, पायु र उपस्थ गरेर पाँच कर्म इन्द्रियहरू हुन् । चौथो— ‘विज्ञानमय’ जसमा बुद्धि, चित्त, श्रोत्र, त्वचा, नेत्र, जिह्वा र नासिका यी पाँच ज्ञानेन्द्रियहरू, जसबाट जीवले ज्ञानादि व्यवहार गर्दछ । पाँचौं— ‘आनन्दमयकोश’ जसमा प्रीति-प्रसन्नता, न्यून आनन्द, अधिकानन्द, आनन्द र साधारण कारणरूप प्रकृति हो । यिनैलाई ‘पाँच कोष’ भनिन्छ । यिनैदेखि जीवले सबै प्रकारको कर्म, उपासना र ज्ञानादि व्यवहारहरू गर्दछ । तीन अवस्था छन्— पहिलो ‘जागृत’ दोस्रो ‘स्वप्न’ र तेस्रो ‘सुषुप्ति’ अवस्था भनिन्छ । तीन शरीर छन्— पहिलो ‘स्थूल’ जुन यो देखिन्छ । दोस्रो— पाँच प्राण, पाँच ज्ञानेन्द्रिय, पाँच सूक्ष्म-भूत र मन तथा बुद्धि यिनै सत्र तत्त्वको समुदायलाई ‘सूक्ष्मशरीर’ भनिन्छ । यही सूक्ष्म शरीर जन्ममरणादिमा पनि जीवको साथमा रहन्छ । यसका दुई भेद छन्— पहिलो ‘भौतिक’ अर्थात् जुन सूक्ष्म-भूतहरूको अंशले बनेको छ । दोस्रो ‘स्वाभाविक’ जुन जीवको स्वाभाविक गुण रूप हो । यो दोस्रो ‘अभौतिक’ शरीर मुक्तिमा पनि रहन्छ । यसैबाट जीवले मुक्तिमा सुखलाई भोग्दछ । तेस्रो कारण— जसमा ‘सुषुप्ति’ अर्थात् गाढा निद्रा हुन्छ, त्यो प्रकृतिरूप हुनाले सर्वत्र विभु र सबै जीवहरूको लागि एक हो । चौथो ‘तुरीय’ शरीर त्यसलाई भनिन्छ— जसमा समाधिबाट परमात्माको आनन्दरूपमा मग्न जीव हुन्छन् । यसै समाधि संस्कारजन्य शुद्ध शरीरको पराक्रम मुक्तिमा पनि यथावत् सहायक रहन्छ । यी सबै कोष, अवस्थाहरूदेखि जीव पृथक् छ । किनभने जब मृत्यु हुन्छ, तब कोहीले भन्दछन् कि जीव निक्लेर गयो । किनभने यही जीव सबैको प्रेरक, सबैको धर्ता, साक्षी, कर्ता, भोक्ताको नामले चिनिन्छ । यदि कसैले भन्दछ कि जीव कर्ता-भोक्ता होइन, तब त्यसलाई जान्नु कि त्यो अज्ञानी, अविवेकी हो । किनभने बिना जीवको यी जति पनि सबै जड पदार्थहरू छन्, यिनीहरूलाई सुख-दुःखको भोग वा पाप-पुण्य-कर्तृत्व कहिल्यै हुन सक्दैन । हो, यिनको सम्बन्धले गर्दा जीव पाप-पुण्यहरूको कर्ता र सुख-दुःखको भोक्ता हुन्छ । जब इन्द्रियहरू अर्थहरूमा, मन इन्द्रियहरूमा र आत्मा मनको साथ संयुक्त भएर प्राणलाई प्रेरणा गरेर राम्रा-नराम्रा कर्महरूमा लगाउँछ, तब नै त्यो बहिर्मुख हुन जान्छ । त्यसै वेला भित्रबाट आनन्द, उत्साह, निर्भयता र नराम्रा कर्महरूमा, भय, शङ्का, लज्जा उत्पन्न हुन्छ, त्यो अन्तर्यामी परमात्माको शिक्षा हो । जो-कसैले यस शिक्षाको अनुकूल वर्त्तन्छ, त्यो मुक्तिजन्य सुखलाई प्राप्त हुन्छ, र जो विपरीत वर्त्तन्छ, त्यो बन्धजन्य दुःख भोग्दछ ।
दोस्रो साधन— ‘वैराग्य’ अर्थात् जसले विवेकद्वारा सत्याऽसत्यलाई जानेको छ, त्यसबाट सत्याचरणको ग्रहण र असत्याचरणको त्याग गर्नु, विवेक यो हो— जुन पृथ्वीदेखि लिएर परमेश्वर-पर्यन्त पदार्थहरूको गुण, कर्म, स्वभावले जानेर— त्यसको आज्ञा-पालन र उपासनामा तत्पर हुनु, त्यसदेखि विरुद्ध नचल्नु, सृष्टिबाट उपकार लिनु विवेक भनिन्छ ।
तत्पश्चात् तेस्रो साधन— ‘षट्क सम्पत्ति’ अर्थात् ६ प्रकारको कर्म गर्नु । एक— ‘शम’ जसबाट आफ्नो आत्मा र अन्तःकरणलाई अधर्माचरणदेखि हटाएर, धर्माचरणमा सदा-सर्वदा प्रवृत्त राख्नु । दोस्रो— ‘दम’ जसबाट श्रोत्रादि इन्द्रियहरू र शरीरका व्यभिचारादि नराम्रा कर्मदेखि हटाएर, जितेन्द्रियत्वादी शुभ कर्महरूमा प्रवृत्त राख्नु । तेस्रो— ‘उपरति’ जसबाट दुष्टकर्म गर्ने पुरुषहरूदेखि सदा-सर्वदा टाढा रहनु । चौथो— ‘तितिक्षा’ चाहे निन्दा, स्तुति, हानि, लाभ कति नै किन नहोस्, परन्तु हर्ष-शोकलाई छोडेर मुक्ति-साधनहरूमा सदा लागिरहनु । पाँचौं— ‘श्रद्धा’ जुन वेदादि सत्य शास्त्र र यिनको बोधले पूर्ण आप्त विद्वान् सत्योपदेष्टा महाशयहरूको वचनमा विश्वास गर्नु । छैटौं— ‘समाधान’ चित्तको एकाग्रता; यी ६ मिलेर एक साधन तेस्रो भनिन्छ ।
चौथो— ‘मुमुक्षुत्व’ अर्थात् जसरी क्षुधा-तृषातुरलाई सिवाय अन्न-जलको दोस्रो केही पनि राम्रो लाग्दैन, त्यसरी नै बिना मुक्तिको साधन र मुक्ति बाहेक, दोस्रामा प्रीति नहुनु; यी चार साधन र चार ‘अनुबन्ध’ अर्थात् साधनहरूको पश्चात् यी कर्म गर्नुपर्ने हुन्छ— यिनीहरूमा जुन पुरुष यी चार साधनले युक्त हुन्छ, त्यही नै मोक्षको ‘अधिकारी’ हुन्छ । दोस्रो— ‘सम्बन्ध’ ब्रह्मको प्राप्तिरूप मुक्ति प्रतिपाद्य र वेदादि-शास्त्र-प्रतिपादकलाई यथावत् बुझेर अन्वित गर्नु । तेस्रो— ‘विषयी’ सबै शास्त्रहरूको प्रतिपादन-विषय ब्रह्म उसको प्राप्तिरूप विषयवाला पुरुषको नाम विषयी हो । चौथो— ‘प्रयोजन’ सबै दुःखहरूको निवृत्ति र परमानन्दलाई प्राप्त गरेर मुक्ति-सुखको हुनु, यी चारलाई ‘अनुबन्ध’ भन्दछन् ।
तदनन्तर ‘श्रवणचतुष्टय’ (९.३)
एक— ‘श्रवण’ जब कुनै विद्वान्ले उपदेश गर्दछ तब शान्त, ध्यान दिएर सुन्नु, विशेष गरेर ब्रह्मविद्यालाई सुन्दाखेरि अत्यन्त ध्यान दिनुपर्दछ, किनभने यो सबै विद्याहरूमा सूक्ष्म विद्या हो । सुनेर दोस्रो— ‘मनन’ एकान्त देश (ठाउँ) मा बसेर सुनेको कुरालाई विचार गर्नु, जुन कुरामा शङ्का उठ्दछ पुनः सोध्नु र सुन्दाखेरि पनि वक्ता र श्रोताले उचित सम्झन्छन् भने त सोध्नु र समाधान गर्नु पनि। तेस्रो— ‘निदिध्यासन’ जब सुनेर र मनन गरेर निःसन्देह हुन्छ तब ‘समाधिस्थ’ भएर त्यस कुरालाई ध्यान योगबाट हेर्नु-बुझ्नु कि त्यो जस्तो सुनिएको थियो, विचार गर्दा त्यस्तै छ कि छैन । चौथो– ‘साक्षात्कार’ अर्थात् जस्तो पदार्थको स्वरूप, गुण र स्वभाव हुन्छ, त्यस्तै यथातथ्य जानिलिनुलाई,— ‘श्रवणचतुष्टय’ भन्दछन् ।
सदा तमोगुण अर्थात् क्रोध, मलिनता, आलस्य, प्रमाद आदि; रजोगुण अर्थात् ईर्ष्या, द्वेष, काम, अभिमान, विक्षेप आदि दोषहरूदेखि अलग भएर सत्त्व अर्थात् शान्त प्रकृति, पवित्रता, विद्या, विचार आदि गुणहरूलाई धारण गरोस् । (मैत्री) सुखी जनहरूमा मित्रता, (करुणा) दुःखी जनहरूमाथि दया, (मुदिता) पुण्यात्माहरूदेखि हर्षित हुनु, (उपेक्षा) दुष्टात्माहरूसँग न त प्रीति न त वैर गर्नु ।
नित्यप्रति न्यून भन्दा न्यून दुई घण्टा-पर्यन्त मुमुक्षु अर्थात् मुक्तिको इच्छा गर्नेवालाले ध्यान अवश्य गरोस्, जसबाट भित्रका मन आदि पदार्थ साक्षात्कार हुन सकून् । हेर ! आत्मा चेतनस्वरूप हुनाले नै ज्ञानस्वरूप र मनको साक्षी हुन्छ । किनभने जब मन शान्त, चञ्चल, आनन्दित वा विषादयुक्त हुन्छ भने, त्यसलाई यथावत् देखिन्छ । त्यसरी नै इन्द्रियहरू प्राण आदिको ज्ञाता, पूर्वदृष्टको स्मरणकर्ता र एक कालमा अनेक पदार्थहरूको वेत्ता, धारणाकर्षणकर्ता र सबै भन्दा पृथक् छ । यदि पृथक् हुन्थेन भने त स्वतन्त्र, कर्ता, यिनका प्रेरक, अधिष्ठाता, कहिल्यै हुन सक्थेन ।
अविद्याऽस्मितारागद्वेषाभिनिवेशाः पञ्च क्लेशाः ॥ —योगशास्त्र (पाद २/सूत्र ३) ॥
यी मध्येमा ‘अविद्या’ को स्वरूप भनियो । पृथक् वर्तमान बुद्धिलाई आत्मादेखि भिन्न नसम्झनु ‘अस्मिता’ हो । सुखमा प्रीति ‘राग’ हो । दुःखमा अप्रीति ‘द्वेष’ र सबै प्राणीमात्रलाई यो इच्छा सदैव रहन्छ कि “म सदा शरीरस्थ रहूँ, नमरूँ” मृत्यु दुःखदेखि हुने त्रासलाई ‘अभिनेवेश’ भन्दछन् । यी पाँचै क्लेशहरूलाई योगाभ्यास, विज्ञानले छुटाइदिएपछि ब्रह्मलाई प्राप्त गरेर, मुक्तिको परमानन्दलाई भोग्नुपर्दछ ।
प्रश्न— जस्तो मुक्ति तपाईंले मान्नुहुन्छ, त्यस्तो अन्य कसैले मान्दैन । हेर ! जैनीहरू मोक्षशिला र शिवपुरमा गएर चुपचाप बसिरहनु; ईशाई चौथो आकाश, जसमा विवाह लडाईं बाजा-गाजा वस्त्रादि धारणबाट आनन्द भोग्नु; त्यसरी नै मुसलमान सातौं आकाश; वाममार्गी श्रीपुर; शैवमार्गी कैलाश; विष्णुमार्गी वैकुण्ठ र गोकुलीय गोसाई गोलोक आदिमा गएर उत्तम स्त्री, अन्न, पान, वस्त्र, स्थान आदिलाई प्राप्त गरेर आनन्दमा रहनको लागि मुक्ति मान्दछन् । पौराणिकहरू (सालोक्य) ईश्वरको लोकमा निवास, (सानुज्य) सानो भाइकै सदृश ईश्वरको साथमा रहनु, (सारूप्य) जस्तो उपासनीय देवको आकृति छ, त्यस्तै बन्नु, (सामीप्य) सेवकको समान ईश्वरको समीपमा रहनु, (सायुज्य) ईश्वरसँग संयुक्त हुन जानु; यी चार प्रकारको मुक्ति मान्दछन् । फेरि वेदान्तीहरू ब्रह्ममा लय हुनुलाई मोक्ष मान्दछन् ।
उत्तर— जैनी (१२) बाह्रौं, ईसाई (१३) तेह्रौं र (१४) चौधौं समुल्लासमा मुसलमानहरूको मुक्ति आदि विषय विशेष गरेर लेखिनेछ । जुन वाममार्गी श्रीपुरमा गएर लक्ष्मीकै सदृश स्त्रीहरू, मद्य-मांसादि खानु-पिउनु, रङ्ग-राग भोग गर्नुलाई मान्दछन्, त्यो यहाँको भन्दा केही विशेष भएन, त्यसरी नै महादेव र विष्णुको सदृश आकृतिवाला पार्वती र लक्ष्मीकै सदृश स्त्रीयुक्त भएर आनन्द भोग्नु, यहाँका धनाढ्य राजाहरू भन्दा अधिक, यति नै लेखिन्छ कि “वहाँ रोग नहोला र युवावस्था रहला”, यो तिनीहरूको कुरो मिथ्या हो । किनभने जहाँ भोग, वहाँ रोग, जहाँ रोग वहाँ वृद्धावस्था अवश्य हुन्छ । साथै पौराणिकहरूसँग सोध्नुपर्दछ कि जस्तो तिम्रो चार प्रकारको मुक्ति छ, त्यस्तो त कृमि-कीट-पतङ्ग-पश्वादिलाई पनि स्वतःसिद्ध प्राप्त छ, किनभने यी जति पनि लोक छन् ती सबै ईश्वरका हुन्, यिनैमा सबै जीवहरू रहन्छन्, यसैले ‘सालोक्य’ मुक्ति अनायास नै प्राप्त छ । सामीप्य— ईश्वर सर्वत्र व्याप्त हुनाले सबै उसका समीपमा छन्, यसैले ‘सामीप्य’ मुक्ति स्वतःसिद्ध छ । जीव ईश्वर भन्दा सबै प्रकारले सानो र चेतन हुनाले स्वतः बन्धुवत् छ, यसैले ‘सानुज्य’ मुक्ति पनि बिना प्रयत्नले सिद्ध छ । र सबै जीव सर्वव्यापक परमात्मामा व्याप्य हुनाले संयुक्त छन्, यसबाट ‘सायुज्य’ मुक्ति पनि स्वतःसिद्ध छ । फेरि अन्य साधारण नास्तिकहरू मर्नाले तत्त्वहरूमा तत्त्व मिलेर मुक्ति मान्दछन्, त्यो त कुकुर, गधा आदिलाई पनि प्राप्त छ ।
यी मुक्तिहरू होइनन् किन्तु एक प्रकारको बन्धन हो । किनभने तिनीहरू शिवपुर, मोक्षशिला, चौथो आकाश, सातौं आकाश, श्रीपुर, कैलाश, वैकुण्ठ, गोलोकलाई एकदेशमा स्थान-विशेष मान्दछन् । यदि तिनीहरू ती स्थानदेखि पृथक् भएमा त मुक्ति छुट्नेछ । त्यसैले जसरी १२ ढुङ्गाको भित्र दृष्टि पुगेर बन्ध हुन्छ, त्यसकै समान बन्धनमा हुन्छन् । मुक्ति त त्यो हो कि जहाँ इच्छा हुन्छ त्यहाँ विचरोस्, कही पनि नअड्कियोस् । न भय, न शङ्का, न दुःख हुन्छ । जुन जन्म हो त्यो ‘उत्पत्ति’ र मर्नु ‘प्रलय’ भनिएको छ । समयमा जन्म लिन्छन् ।
प्रश्न— जन्म एक हो कि अनेक ?
उत्तर— अनेक ।
प्रश्न— यदि अनेक हो भने त पूर्व जन्म र मृत्युको कुराको किन स्मरण हुँदैन ?
उत्तर— जीव अल्पज्ञ हो, त्रिकालदर्शी होइन, त्यसैले स्मरण रहँदैन । फेरि जुन मनले ज्ञान गर्दछ, त्यसले पनि एक समयमा दुइटा ज्ञान गर्न सक्दैन । पूर्व जन्मको कुरा त टाढा रहनदिनुहोस्, यसै देहमा जब गर्भमा जीव थियो, शरीर बन्यो, पश्चात् जन्मियो, पाँचौं वर्षदेखि पूर्वसम्मको जे-जे कुरा भए, तिनलाई स्मरण किन गर्न सक्दैन ? र जागृत वा स्वप्नमा थुप्रै व्यवहार प्रत्यक्ष गरेर जब ‘सुषुप्ति’ अर्थात् गाढा निद्रा हुन्छ, तब जागृतादि व्यवहारहरूलाई किन समरण गर्न सक्दैन ? र तिमीसँग कसैले सोधोस् कि बाह्र वर्षको पूर्व तेह्रौं वर्षको पाँचौं महिनाको नवौं दिनको दश बजेर एक मिनट जाँदा तिमीले के गरेका थियौ ? तिम्रो मुख, हात, कान कतापट्टि फर्केका थिए ? र मनमा के विचार थियो ? जब यसै शरीरमा यस्तो हालत छ भने त पूर्व-जन्मको कुराको स्मरणमा शङ्का गर्नु केवल लडकपनको कुरा हुन्छ । साथै जुन स्मरण हुँदैन यसै कारणले नै जीव सुखी छ, नत्र भने त सबै जन्मको दुःखहरूलाई हेर्दाहेर्दै दुःखी भएर मर्ने थियो । यदि कसैले पूर्व र पर जन्मको कुरालाई वर्तमानलाई जान्न चाहेमा पनि जान्न सक्दैन, किनभने जीवको ज्ञान र स्वरूप अल्प छ । यो कुरो ईश्वरको लागि जान्न योग्य हो, जीवको लागि होइन ।
प्रश्न— जब जीवलाई पूर्वको ज्ञान हुँदैन र ईश्वरले त्यसलाई दण्ड दिन्छ भने त जीवको सुधार हुन सक्दैन । किनभने जब तिनीहरूको पापकर्महरूलाई जनाएर दण्ड देओस् अर्थात् तिनलाई ज्ञान होस् कि हामीले अमुक काम गरेका थियौं, त्यसैको यो फल प्राप्त भएको हो, तब नै जीवले ती नराम्रा कामहरूदेखि बच्न सक्दछ ?
उत्तर— तिमीले ज्ञान कति प्रकारको मान्दछौ ?
वादी प्रश्न— प्रत्यक्षादि प्रमाणहरूबाट आठ प्रकारको ।
प्रतिवादी (उत्तर)— त्यसो भए तिमीले जन्मेदेखि लिएर समय-समयमा राज, धन, बुद्धि, विद्या, दारिद्र्य, निर्बुद्धि, मूर्खता आदि सुख-दुःख संसारमा देखेर पूर्व-जन्मको ज्ञान किन गर्दैनौ ? जस्तै एक वैद्य र एक अवैद्यलाई कुनै रोग लाग्यो, त्यसको निदान अर्थात् कारण वैद्यले जान्दछ तर अविद्वान्ले जान्न सक्दैन । उसले वैद्यकविद्या पढेको छ तर दोस्राले पढेको छैन । परन्तु सामान्य ज्वरोखरो हुँदा अवैद्यले पनि यति त जान्न सक्दछ कि मलाई कुनै कुपथ्य भएको छ, जसले गर्दा ज्वरो आएको छ । त्यसरी नै जगत्को विचित्र सुख-दुःख आदिको घट्दो-बढ्दोलाई अवस्था देखेर पूर्वजन्मको अनुमान किन लगाउन सक्दैनौ ? यदि पूर्व जन्मलाई मान्दैनौ भने त परमेश्वर पक्षपाती हुन जान्छ । किनभने बिना पापको दारिद्र्यादि दुःख र बिना पूर्वसञ्चित पुण्यको राज्य, धनाढ्यता र बुद्धि त्यसलाई किन दियो ? र पूर्वजन्मको पाप-पुण्यको अनुसार दुःख-सुखलाई दिनाले परमेश्वर न्यायकारी यथावत् रहन्छ ।
प्रश्न— एक जन्म हुनाले पनि परमेश्वर न्यायकारी हुन सक्दछ । जस्तै सर्वोपरि राजाले जे गर्दछ त्यो न्याय । जसरी मालीले आफ्नो उपवनमा साना र ठूला वृक्ष लगाउँछ, कुनैलाई काट्छ, उखेल्छ र कसैलाई रक्षा गरेर बढाउँछ । जसको जुन वस्तु हो, उसले त्यसलाई चाहे जसरी राखोस् उसको मर्जी । उसमाथि कोही पनि दोस्रो न्याय गर्नेवाला हुँदैन, जसले उसलाई दण्ड दिन सकोस्, ईश्वर वा अरू कसैसँग डराओस् ।
उत्तर— परमात्मा जसको लागि न्याय चाहन्छ गर्दछ, अन्याय कहिल्यै गर्दैन, यसैले ऊ पूजनीय र ठूलो छ । जसले न्यायविरुद्ध गर्दछ, त्यो ईश्वर हुन सक्दैन । जसरी माली युक्तिको बिना सडकमा अथवा अस्थानमा वृक्ष लगाउने, नकाट्न योग्यलाई काट्ने, अयोग्यलाई बढाउने, योग्यलाई नबढाउनाले दूषित हुन्छ, यसै प्रकार बिना कारणको गर्नाले ईश्वरलाई दोष लाग्दछ । परमेश्वरको माथि न्याययुक्त काम गर्नु अवश्य पर्दछ, किनभने ऊ स्वभावदेखि नै पवित्र र न्यायकारी छ । यदि उन्मत्तले काम गर्दछ भने त जगत्को श्रेष्ठ न्यायाधीश भन्दा पनि न्यून र अप्रतिष्ठित हुन जान्छ । के यस जगत्मा बिना योग्यताको उत्तम काम गर्नेलाई प्रतिष्ठा र दुष्ट काम गर्नेलाई बिना दण्ड दिनेवाला निन्दनीय र अप्रतिष्ठित हुँदैन ? यसैले ईश्वर अन्याय गर्दैन र ऊ कसैसँग डराउँदैन ।
प्रश्न— परमात्माले पहिल्यैदेखि नै जसको लागि जति दिनु छ, त्यो विचारेको छ, त्यति नै दिन्छ र जति थोरै गर्नु छ, त्यति नै घटाउँछ ।
उत्तर— उसको विचार जीवहरूको कर्मानुसार हुन्छ, अन्यथा होइन । यदि अन्यथा भयो भने त, त्यही अपराधी अन्यायकारी हुन्छ ।
प्रश्न— ठूला-सानाको एकैखालेजस्तो सुख-दुःख हुन्छ । ठूलालाई ठूलै चिन्ता र सानालाई सानै चिन्ता । जस्तै— कुनै साहूकारको विवाद राजघरानामा लाख रुपैयाँको छ, ऊ आफ्नो घरबाट पालकीमा बसेर कचहरीमा उष्णकालमा जान्छ । बजारमा जाँदै गरेको देखेर अज्ञानीहरूले भन्दछन् कि— “हेर पूर्व जन्मको पाप र पुण्यको प्रत्यक्ष फल भनेको यही हो कि एउटा पालकीमा आनन्दले बसेको छ, र अर्का चाहिं बिना जुत्ताको तल-माथिबाट गर्मीले तपायमान हुँदै पालकीलाई बोकेर लैजाँदैछन् ।” परन्तु बुद्धिमानीहरू यसमा यस्तो जान्दछन् कि जति-जति कचहरी निकट आउँछ, त्यति-त्यति साहूकारलाई ठूलो शोक र सन्देह बढ्दै जान्छ, र डोलेहरूलाई आनन्द हुँदै जान्छ । जब कचहरीमा पुग्दछन् तब सेठजीले यता-उता जाने विचार गर्दछ कि प्राड्विवाक् (=वकिल) कहाँ जाऊँ या इष्टमित्रकहाँ । आज हार्छु कि जित्छु, के होला ? र डोलेहरू तमाखू बनाउँदै खान्छन् र प्रसन्न हुँदै आनन्दमा सुत्दछन् । यदि साहूले जितेमा त केही सुख र हारेमा त सेठजी दुःखसागरमा डुब्नेछन्, डोलेहरू त जस्ताका तस्तै रहन्छन् । यसै प्रकार जब राजा सुन्दर कोमल बिछौनामा सुते पनि निद्रा आउँदैन र मजदुर गिट्टी, ढुङ्गा, बालुवा र माटोमा सुत्दछ, त्यसलाई उत्निखेरै निद्रा लाग्दछ, यस्तै सर्वत्र जान्नु ।
उत्तर— यस्तो बुझाइ अज्ञानीहरूको हो । के कुनै साहूकारलाई भन्ने कि तँ डोले बन् र डोलेहरूलाई भन्ने कि तिमीहरू साहूकार बन, साहूकार कहिल्यै डोले बन्दैन र डोलेहरू साहूकार बन्न चाहन्छन् । यदि सुख-दुःख बराबर हुन्थ्यो भने त आफ्नो-आफ्नो अवस्था छोडेर तल्लो र उपल्लो दुइटैले बन्न चाहँदैनन् । हेर ! एक जीव विद्वान्, पुण्यात्मा, श्रीमान् राजाकी रानीको गर्भमा आउँछ र दोस्रो महादरिद्रकी स्त्रीको गर्भमा आउँछ । एउटालाई गर्भदेखि लिएर सर्वथा सुख र अर्कोलाई सबै प्रकारको दुःख मिल्दछ । एउटा जब जन्मन्छ, तब सुन्दर सुगन्धियुक्त जलादिले स्नान, युक्तिले नाडी-छेदन, दुग्धपानादि यथायोग्य प्राप्त हुन्छ । जब उसले दूध पिउन चाहन्छ, तब उसलाई मिश्री आदि मिलाएर यथेष्ट मिल्दछ । त्यसलाई प्रसन्न राख्नको लागि नोकर-चाकर, खेलौना, सवारी, उत्तम स्थानहरूमा माया-प्रेम र अधिक आनन्द मिल्दछ । अर्को चाहिंको जन्म वनमा हुन्छ, स्नानको लागि जल पनि पाउँदैन, भोक लागेको वेलामा दूध त जहाँसुकै जाओस् उल्टै त्यसले थप्पड अथवा मुड्की पाउँछ । अत्यन्त आर्तस्वरले रुन्छ, कसैले सोध्दैनन्, इत्यादि जीवहरूलाई बिना पुण्य-पापको सुख-दुःख हुनाले परमेश्वरमाथि दोष आउँछ ।
दोस्रो जसरी बिना कर्म नगरिकनै सुख-दुःख मिल्दछ भने त अगाडि स्वर्ग-नरक पनि नहुनुपर्ने हो । किनभने जसरी परमेश्वरले यस समयमा बिना कर्महरूको सुख-दुःख दिएको छ, त्यस्तै मरेपछि पनि जसलाई चाहन्छ स्वर्गमा र जसलाई चाहन्छ नरकमा पठाइदिनेछ । पुनः सबै जीवहरू अधर्मयुक्त हुन जानेछन्, धर्म किन गर्ने ? निनकि धर्मको फल मिल्नमा सन्देह छ । परमेश्वरको हातमा छ । जस्तो उसलाई प्रसन्नता हुनेछ, त्यस्तै गर्यो भने त पाप-कर्महरूमा भय नभएर संसारमा पापको वृद्धि र धर्मको क्षय हुन जानेछ । यसैले पूर्वजन्मको पाप-पुण्यको अनुसार-वर्तमान जन्म र वर्तमान तथा पूर्वजन्मको कर्मानुसार भविष्यत् जन्म निर्धारण हुन्छन् ।
प्रश्न— मनुष्य र अन्य पश्वादिको शरीरमा जीव एकैनास छन् कि भिन्न-भिन्न जातिको ?
उत्तर— जीव एकैनासका छन् । परन्तु पाप-पुण्यको योगले गर्दा मलिन र पवित्र हुन्छन् ।
प्रश्न— मनुष्यको जीव पश्वादिमा र पश्वादिको जीव मनुष्यको शरीरमा र स्त्रीको पुरुषमा, पुरुषको स्त्रीको शरीरमा आउने-जाने गर्दछ कि गर्दैन ?
उत्तर— हो, आउने-जाने गर्दछ ।
प्रश्न— कुन प्रकारले आउने-जाने गर्दछ ?
उत्तर— जब पाप बढ्दछ, पुण्य न्यून हुन्छ, तब मनुष्यको जीव पश्वादि नीच शरीर र जब धर्म अधिक तथा अधर्म न्यून हुन्छ तब ‘देव’ अर्थात् विद्वान्हरूको शरीर मिल्दछ र जब पाप-पुण्य बराबर हुन्छ तब साधारण मनुष्य-जन्म हुन्छ । यसमा पनि पुण्य-पापको उत्तम, मध्यम र निकृष्ट हुनाले मनुष्यादिमा पनि उत्तम, मध्यम र निकृष्ट शरीरादि सामाग्रीवाले हुन्छन्, र जब अधिक पापको फल पश्वादि शरीरमा भोग गर्दछन्, पुनः पाप-पुण्यको तुल्य रहनाले मनुष्य शरीरमा आउँछ र पुण्यको फल भोगेर फेरि पनि मध्यस्थ मनुष्यको शरीरमा आउँछ । जब शरीरबाट निक्लन्छ उसैको नाम ‘मृत्यु’ र शरीरको साथ संयोग हुनाको नाम ‘जन्म’ हो । जब शरीर छोड्दछ तब ‘यमालय’ अर्थात् आकाशस्थ वायुमा रहन्छ । किनभने ‘यमेन’ [ऋग्वेद (१०/१४/८)], ‘वायुना’ [अथर्ववेद (२०/१४१/२)] वेदमा लेखिएको छ कि ‘यम’ नाम वायुको हो, गरुडपुराणको कल्पित यम होइन, यसको विशेष खण्डन-मण्डन एघारौं समुल्लासमा लेख्नेछु । पश्चात् ‘धर्मराज’ अर्थात् परमेश्वरले त्यस जीवको पाप-पुण्यानुसार जन्म दिन्छ ।
त्यो वायु, अन्न, जल अथवा शरीरको छिद्रद्वारा दोस्राको शरीरमा ईश्वरको प्रेरणाले गर्दा प्रविष्ट हुन्छ । त्यो प्रविष्ट हुँदै क्रमशः वीर्यमा गएर, गर्भमा स्थित हुँदै, शरीर धारण गरेर बाहिर आउँछ । यदि स्त्रीको शरीर धारण गर्नयोग्य कर्महरू भएमा त स्त्री, र पुरुषको शरीर धारण गर्नयोग्य कर्महरू भएमा त पुरुषको शरीरमा प्रवेश गर्दछ, र नपुंसक गर्भको स्थिति समय स्त्री-पुरुषको शरीरमा सम्बन्ध गरेर अपुष्ट रज-वीर्यको मिलन हुनाले यस्तो हुन जान्छ । यसै प्रकार नाना प्रकारको जन्म-मरणमा तबसम्म जीव परिराख्दछ कि जबसम्म उत्तम कर्मोपासना-ज्ञानको आश्रय गरेर मुक्ति पाउँदैन । किनभने उत्तम कर्मादि गर्नाले मनुष्यमा उत्तम जन्म र मुक्तिमा महाकल्प पर्यन्त जन्म-मरण-दुःखहरूबाट रहित भएर आनन्दमा रहन्छ ।
प्रश्न— मुक्ति एक जन्ममा हुन्छ कि अनेक जन्ममा ?
उत्तर— अनेक जन्ममा । किनभने—
भिद्यते हृदयग्रन्थिश्छिद्यन्ते सर्वसंशयाः । क्षीयन्ते चास्य कर्माणि तस्मिन्दृष्टे पराऽवरे ॥
—मुण्डकोपनिषद् (मुण्डक २/खण्ड २/मन्त्र ८) ॥
जब यस जीवको हृदयको अविद्या-अज्ञानरूपी गाँठो काटिन्छ, सबै संशय छिन्न हुन्छन् र दुष्ट कर्म क्षयलाई प्राप्त हुन्छ, तबै उस परमात्मा जुन कि आफ्नो आत्माको भित्र र बाहिर व्यापीरहेको छ, उसैमा निवास गर्दछ ।
प्रश्न— मुक्तिमा जीव परमेश्वरमा मिल्दछ कि पृथक् रहन्छ ?
उत्तर— पृथक् रहन्छ । किनभने यदि मिल्यो भने त मुक्तिको सुख कसले भोग्ने र मुक्तिका जति पनि साधन छन्, ती सबै निष्फल हुन जानेछन् । यो मुक्ति त होइन, किन्तु जीवको प्रलय जान्नुपर्दछ । जब जीवले परमेश्वरको आज्ञापालन, उत्तम कर्म, सत्सङ्ग, योगाभ्यास, पूर्वोक्त सबै साधन गर्दछ, उसैले मुक्ति पाउँछ ।
सत्यं ज्ञानमनन्तं ब्रह्म यो वेद निहितं गुहायां परमे व्योमन् ।
सोऽश्नुते सर्वान् कामान् सह ब्रह्मणा विपश्चितेति ॥
—तैत्तिरीयोपनिषद् (ब्रह्मानन्दवल्ली/अनुवाक १) ॥
जुन जीवात्मा आफ्नो बुद्धि र आत्मामा स्थित सत्यज्ञान र अनन्त-आनन्दस्वरूप परमात्मालाई जान्दछ, त्यो उस व्यापकरूप ब्रह्ममा स्थित भएर उस ‘विपश्चित्’ अनन्तविद्यायुक्त ब्रह्मको साथ सबै कामहरूलाई प्राप्त गर्दछ । अर्थात् जुन-जुन आनन्दको कामना गर्दछ, त्यस-त्यस आनन्दलाई प्राप्त गर्दछ, यसैलाई ‘मुक्ति’ भन्दछन् ।
प्रश्न— जसरी शरीरको बिना सांसारिक सुख भोग गर्न सक्दैन, त्यसरी मुक्तिमा बिना शरीर आनन्द कसरी भोग्न सक्दछ ?
उत्तर— यसको समाधान माथि नै गरेर आएको छु, यहाँ यति अधिक भन्दछु कि सुन— जसरी सांसारिक सुख शरीरको आधारले भोग्दछ, त्यसरी नै परमेश्वरको आधारले मुक्तिको आनन्दलाई जीवात्माले भोग्दछ । त्यो मुक्त जीव अनन्त व्यापक ब्रह्ममा स्वच्छन्द घुम्दै, शुद्ध ज्ञानले सबै सृष्टिलाई हेर्दै, अन्य मुक्तहरूसित मिलेर, सृष्टिविद्यालाई क्रमैदेखि हेर्दै, सबै लोक-लोकान्तरहरूमा अर्थात् जति यी लोकहरू देखिन्छन् र देखिंदैनन्, ती सबैमा घुम्दछ । त्यसले सबै पदार्थहरूलाई-जुन कि उसको ज्ञानको सामुन्ने छन्-सबैलाई हेर्दछ । जति ज्ञान अधिक हुन्छ, उसलाई त्यति नै अधिक आनन्द हुन्छ । मुक्तिमा जीवात्मा निर्मल हुनाले पूर्ण ज्ञानी भएर उसलाई सबै सन्निहित पदार्थहरूको भान यथावत् हुन्छ । यही सुखविशेष ‘स्वर्ग’ र विषय-तृष्णामा फसेर दुःखविशेष भोग गर्नुलाई ‘नरक’ भनिन्छ । ‘स्वः’ सुखको नाम हो । ‘स्वः सुखं गच्छति यस्मिन् स स्वर्गः, अतो विपरीतो दुःखभोगो नरक इति’ जुन सांसारिक सुख हो, त्यो ‘सामान्य स्वर्ग’ र जुन परमेश्वरको प्राप्तिबाट आनन्द हुन्छ त्यही ‘विशेष स्वर्ग’ भनिन्छ । सबै जीव स्वभावबाटै सुखप्राप्तिको इच्छा र दुःखको वियोग हुन चाहन्छन्, परन्तु जबसम्म धर्म गर्दैनन् र पाप छोड्दैनन्, तबसम्म तिनीहरूलाई सुखको मिल्नु र दुःखको छुट्नु हुनेछैन । किनभने जसको ‘कारण’ अर्थात् मूल हुन्छ, त्यो कहिल्यै नष्ट हुँदैन । जसरी—
छिन्ने मूले वृक्षो नश्यति तथा पापे क्षीणे दुःखं नश्यति ॥
जसरी मूल काटिन जानाले वृक्ष नष्ट हुन्छ, त्यसरी नै पापलाई छोड्नाले दुःख नष्ट हुन्छ । हेर ! मनुस्मृतिमा पाप र पुण्यको विषयमा धेरै प्रकारको गति लेखिएको छ—
मानसं मनसैवायमुपभुङ्क्ते शुभाऽशुभम् । वाचा वाचा कृतं कर्म कायेनैव च कायिकम् ॥१॥
शरीरजैः कर्मदोषैर्याति स्थावरतां नरः । वाचिकैः पक्षिमृगतां मानसैरन्त्यजातिताम् ॥२॥
यो यदैषां गुणो देहे साकल्येनातिरिच्यते । स तदा तद्गुणप्रायं तं करोति शरीरिणम् ॥३॥
सत्त्वं ज्ञानं तमोऽज्ञानं रागद्वेषौ रजःस्मृतम् । एतद्व्याप्तिमदेतेषां सर्वभूताश्रितं वपुः ॥४॥
तत्र यत्प्रीतिसंयुक्तं किञ्चिदात्मनि लक्षयेत् । प्रशान्तमिव शुद्धाभं सत्त्वं तदुपधारयेत् ॥५॥
यत्तु दुःखसमायुक्तमप्रीतिकरमात्मनः । तद्रजोऽप्रतिघं विद्यात् सततं हारि देहिनाम् ॥६॥
यत्तु स्यान्मोहसंयुक्तमव्यत्तं विषयात्मकम् । अप्रतर्क्यमविज्ञेयं तमस्तदुपधारयेत् ॥७॥
त्रयाणामपि चैतेषां गुणानां यः फलोदयः । अग्र्यो मध्यो जघन्यश्च तं प्रवक्ष्याम्यशेषतः ॥८॥
वेदाभ्यासस्तपो ज्ञानं शौचमिन्द्रियनिग्रहः । धर्मक्रियात्मचिन्ता च सात्त्विकं गुणलक्षणम् ॥९॥
आरम्भरुचिताऽधैर्य्यमसत्कार्यपरिग्रहः । विषयोपसेवा चाजस्रं राजसं गुणलक्षणम् ॥१०॥
लोभः स्वप्नोऽधृतिः क्रौर्यं नास्तिक्यं भिन्नवृत्तिता । याचिष्णुता प्रमादश्च तामसं गुणलक्षणम् ॥११॥
यत्कर्म कृत्वा कुर्वंश्च करिष्यंश्चैव लज्जति । तज्ज्ञेयं विदुषा सर्वं तामसं गुणलक्षणम् ॥१२॥
येनास्मिन्कर्मणा लोके ख्यातिमिच्छति पुष्कलाम् । न च शोचत्यसम्पत्तौ तद्विज्ञेयं तु राजसम् ॥१३॥
यत्सर्वेणेच्छति ज्ञातुं यन्न लज्जति चाचरन् । येन तुष्यति चात्मास्य तत्सत्त्वगुणलक्षम् ॥१४॥
तमसो लक्षणं कामो रजसस्त्वर्थ उच्यते । सत्त्वस्य लक्षणं धर्मः श्रेष्ठ्यमेषां यथोत्तरम् ॥१५॥
—मनुस्मृति (अध्याय १२/श्लोक ८-९, २५-३३, ३५-३८) ॥
मनुष्य यस प्रकार आफ्नो श्रेष्ठ, मध्य र निकृष्ट स्वभावलाई जानेर उत्तम स्वभावको ग्रहण; मध्य र निकृष्टको त्याग गरोस् र यो पनि निश्चय जानोस् कि जुन जीव मनले शुभ वा अशुभ कर्म गर्दछ त्यसलाई मनबाट, वाणीले गरेको वाणी र शरीरबाट गरेको शरीरबाटै सुख-दुःख भोग्दछ ॥१॥ जो नर शरीरबाट चोरी, परस्त्रीगमन, श्रेष्ठहरूलाई मार्ने आदि दुष्ट कर्म गर्दछ, त्यसलाई वृक्षादि स्थावरको जन्म, वाणीबाट गरिएको पाप कर्महरूको लागि पक्षी र मृगादि, तथा मनबाट गरिएको दुष्ट कर्महरूको लागि चाण्डाल आदिको शरीर मिल्दछ ॥२ जुन गुण यी जीवहरूको देहमा अधिकताले रहन्छ, त्यही गुणले उस जीवलाई आफ्नो सदृश गराउँदछ ॥३॥ जब आत्मामा ज्ञान हुन्छ तब ‘सत्त्व’, जब अज्ञान रहन्छ तब ‘तम’, र जब राग-द्वेषमा आत्मा लाग्दछ तब ‘रजोगुण’ जान्नुपर्दछ । यी तीन प्रकृतिका गुण सबै संसारस्थ पदार्थहरूमा व्याप्त भएर रहन्छ ॥४॥ त्यसको विवेक यस प्रकारले गर्नुपर्दछ कि जब आत्मामा प्रसन्नता, मन प्रसन्न, प्रशान्तको सदृश शुद्धभानयुक्त वर्त्तोस्, तब सम्झनु कि सत्त्वगुण प्रधान र रजोगुण तथा तमोगुण अप्रधान छन् ॥५॥ जब आत्मा र मन दुःखसंयुक्त, प्रसन्नतारहित, विषयमा यता-उता गमन-आगमनमा लाग्दछ भने, तब सम्झनु कि रजोगुण प्रधान; सत्त्वगुण र तमोगुण अप्रधान छन् ॥६॥ जब ‘मोह’ अर्थात् सांसारिक पदार्थहरूमा फसेको आत्मा र मन हुन्छ, जब आत्मा र मनमा केही विवेक रहँदैन, विषयहरूमा आसक्त, तर्क-वितर्क-रहित, जान्नयोग्य हुँदैन, तब निश्चय सम्झनुपर्दछ कि यस समयमा ममा तमोगुण प्रधान र सत्त्वगुण तथा रजोगुण अप्रधान छन् ॥७॥ अब यी तीन गुणहरूको उत्तम, मध्यम र निकृष्ट फलोदय हुन्छ, त्यसलाई बताइन्छ ॥८॥ जब सत्त्वगुणको उदय हुन्छ, तब वेदहरूको अभ्यास, धर्मानुष्ठान, ज्ञानको वृद्धि, पवित्रताको इच्छा, इन्द्रियहरूको निग्रह, धर्म-क्रिया र आत्माको चिन्तन हुन्छ, यही सत्त्वगुणको लक्षण हो ॥९॥ जब रजोगुण उदय हुन्छ; सत्त्व र तमोगुणको अस्तभाव हुन्छ, तब आरम्भमा रुचिता, धैर्य त्याग, असत् कर्महरूको ग्रहण, निरन्तर विषयहरूको सेवामा प्रीति हुन्छ, तब सम्झिनु कि रजोगुण प्रधानताले ममा वर्त्तिरहेको छ ॥१०॥ जब तमोगुणको उदय हुन्छ; र दुइटैको आन्तर्भाव हुन्छ, तब अत्यन्त ‘लोभ’ अर्थात् सबै पापहरूको मूल बढ्दछ, अत्यन्त आलस्य र निद्रा, धैर्यको नाश, क्रूरता हुनु, ‘नास्तिक्य’ अर्थात् वेद र ईश्वरमा श्रद्धा नरहनु, भिन्न-भिन्न अन्तःकरणको वृत्ति र एकाग्रताको अभाव, जो कसैसँग ‘याचना’ अर्थात् माग्नु, ‘प्रमाद’ अर्थात् मद्यपानादि दुष्ट व्यसनहरूमा फस्न जानु, तब सम्झिनु कि तमोगुण ममा बढिरहेको छ ॥११॥ यो सबै तमोगुणको लक्षणलाई विद्वान्ले जान्नयोग्य छ कि जब आफ्नो आत्मा जुन कर्म गरेर, गर्दै र गर्नको लागि इच्छाबाट लज्जा, शङ्का र भयलाई प्राप्त हुन्छ, तब जान्नु कि ममा प्रवृद्ध तमोगुण छ ॥१२॥ जुन कर्मले यस लोकमा जीवात्मा पुष्कल प्रसिद्धि चाहन्छ, दरिद्रता हुँदा पनि चारण, भाट आदिलाई दान दिन छोड्दैन, तब सम्झनु कि ममा रजोगुण प्रबल छ ॥१३॥ र जब मनुष्यको आत्मा सबैसँग जान्न चाहन्छ, गुण ग्रहण गर्दै जान्छ, राम्रा कर्ममा लज्जा नगरोस् र जुन कर्मले आत्मा प्रसन्न हुन्छ अर्थात् धर्माचरणमा नै रुचि रहेमा, तब सम्झनु कि ममा सत्त्वगुण प्रबल छ ॥१४॥ तमोगुणको लक्षण काम, रजोगुणको अर्थ-संग्रहको इच्छा र सत्त्वगुणको लक्षण धर्मसेवा गर्नु हो, परन्तु तमोगुण भन्दा रजोगुण र रजोगुण भन्दा सत्त्वगुण श्रेष्ठ हो ॥१७॥ अब जुन-जुन गुणले जुन-जुन गतिमा जीवले प्राप्त गर्दछ, त्यसको बारेमा अगाडि लेखिन्छ—
देवत्वं सात्त्विका यान्ति मनुष्यत्वञ्च राजसाः । तिर्यक्त्वं तामसा नित्यमित्येषा त्रिविधा गतिः ॥१॥
स्थावराः कृमिकीटाश्च मत्स्याः सर्पाश्च कच्छपाः । पशवश्च मृगाश्चैव जघन्या तामसी गतिः ॥२॥
हस्तिनश्च तुरङ्गाश्च शूद्रा म्लेच्छाश्च गर्हिताः । सिंहा व्याघ्रा वराहाश्च मध्यमा तामसी गतिः ॥३॥
चारणाश्च सुपर्णाश्च पुरुषाश्चैव दाम्भिकाः । रक्षांसि च पिशाचाश्च तामसीषूत्तमा गतिः ॥४॥
झल्ला मल्ला नटाश्चैव पुरुषाः शस्त्रवृत्तयः । द्यूतपानप्रसक्ताश्च जघन्या राजसी गतिः ॥५॥
राजानः क्षत्रियाश्चैव राज्ञां चैव पुरोहिताः । वादयुद्धप्रधानाश्च मध्यमा राजसी गतिः ॥६॥
गन्धर्वा गुह्यका यक्षा विबुधानुचराश्च ये । तथैवाप्सरसः सर्वा राजसीषूत्तमा गतिः ॥७॥
तापसा यतयो विप्रा ये च वैमानिका गुणाः । नक्षत्राणि च दैत्याश्च प्रथमा सात्त्विकी गतिः ॥८॥
यज्वान ऋषयो देवा वेदा ज्योतींषि वत्सराः । पितरश्चैव साध्याश्च द्वितीया सात्त्विकी गतिः ॥९॥
ब्रह्मा विश्वसृजो धर्म्मो महानव्यक्तमेव च । उत्तमां सात्त्विकीमेतां गतिमाहुर्मनीषिणः ॥१०॥
इन्द्रियाणां प्रसङ्गेन धर्मस्यासेवनेन च । पापान्संयान्ति संसारानविद्वांसो नराधमाः ॥११॥
—मनुस्मृति (अध्याय १२/श्लोक ४०, ४२-५०, ५२) ॥
जो मनुष्य सात्त्विक छन् तिनीहरू ‘देव’ अर्थात् विद्वान्; जो रजोगुणी हुन्छन् तिनीहरू मध्यम मनुष्य; र जो तमोगुणयुक्त हुन्छन्, तिनीहरूले नीच गतिलाई प्राप्त गर्दछन् ॥१॥ जो अत्यन्त तमोगुणी हुन्छन्, तिनीहरू स्थावर वृक्षादि, कृमि, किरा, माछो, सर्प, कछुवा, पशु र मृगको जन्म प्राप्त गर्दछन् ॥२॥ जो मध्यम तमोगुणी हुन्छन्, तिनीहरू हात्ती, घोडा, शूद्र, म्लेच्छ, निन्दित काम गर्नेहरू, सिंह, व्याघ्र, ‘वराह’ अर्थात् सुँगुरको जन्म प्राप्त गर्दछन् ॥३॥ जो उत्तम तमोगुणी छन्, तिनीहरू ‘चारण’ जसले कविता र मुक्तक एवं शायरी बनाएर मनुष्यहरूको प्रशंसा गर्दछन्, सुन्दर पक्षी र ‘दांभिक’ पुरुष अर्थात् आफ्नो मुखले आफ्नै प्रशंसा गर्नेहरू, ‘राक्षस’ जुन हिंसक, ‘पिशाच’ र अनाचारी अर्थात् मद्यादिका आहारकर्ता र मलिन हुन्छन् । त्यो सबै उत्तम तमोगुणको कर्मको फल हो ॥४॥ ‘झल्ला’ अर्थात् कोदालो आदिले तलाब आदि खन्नेहरू, ‘मल्ला’ अर्थात् डुँगा आदि चलाउनेवालाहरू, ‘नट’ जो बाँस आदि कलामा कुद्ने-चढ्ने-उत्रिने आदि गर्दछन्, शस्त्रधारी भृत्य, द्यूत र मद्यपानमा आसक्त हुनेहरू, यस्तो जन्म नीच रजोगुणको फल हो ॥५॥ जो मध्यम रजोगुणी हुन्छन्, तिनीहरू राजा, क्षत्रियवर्णस्थ राजाहरूका पुरोहित, वादविवाद गर्नेहरू, दूत, प्राड्विवाक (वकिल, बैरिष्टर), युद्ध-विभागका अध्यक्षको जन्म मिल्दछ ॥६॥ जो उत्तम रजोगुणी हुन्छन् तिनीहरू (गन्धर्व) गाइनेहरू, (गुह्यक) वादित्र बजाउनेवालाहरू, (यक्ष) धनाढ्य, विद्वान्हरूका सेवक र ‘अप्सरा’ अर्थात् उत्तम रूपवाली स्त्रीको जन्म पाउँछन् ॥७॥ जो तपस्वी, यति-संन्यासी, वेदपाठी, विमानलाई चलाउनेहरू, ज्योतिषी र ‘दैत्य’ अर्थात् देहपोषक मनुष्य हुन्छन्, तिनलाई प्रथम सत्त्वगुणको कर्मको फल जान्नु ॥८॥ जो मध्यम सत्त्वगुणयुक्त भएर कर्म गर्दछन्, ती जीवहरू यज्ञकर्ता, वेदार्थवित्, विद्वान्, वेद, विद्युत् आदि, र काल-विद्याका ज्ञाता, रक्षक, ज्ञानी र ‘साध्य’ कार्यसिद्धिको लागि सेवन गर्न योग्य अध्यापकको जन्म पाउँछन् ॥९॥ जो उत्तम सत्त्वगुणयुक्त भएर उत्तम कर्म गर्दछन्, तिनीहरू ‘ब्रह्मा’ सबै वेदहरूका वेत्ता, ‘विश्वसृज’ सबै सृष्टिक्रम विद्यालाई जानेर विविध विमानादि यानहरूलाई बनाउनेवाला, धार्मिक, सर्वोत्तम बुद्धियुक्त र अव्यक्तको जन्म र प्रकृतिवशित्व सिद्धिलाई प्राप्त गर्दछन् ॥१०॥ जो इन्द्रियहरूको वशमा भएर विषयी, धर्मलाई छोडेर अधर्म गर्ने अविद्वान् छन्, ती मनुष्यहरूमा अत्यन्तै ‘नीच-जन्म’ नराम्रो-नराम्रो दुःखरूप जन्म पाउँछन् ॥११॥ यस प्रकारले सत्त्व, रज र तमोगुणयुक्त वेगले जुन-जुन प्रकारको कर्म जीवले गर्दछ, त्यस-त्यसलाई त्यसै-त्यसै प्रकारको फल प्राप्त हुन्छ ।
जो मुक्त हुन्छन्, तिनीहरू ‘गुणातीत’ अर्थात् सबै गुणहरूको स्वभावमा नफसेर, महायोगी भएर मुक्तिको साधान गरून् । किनभने—
योगश्चित्तवृत्तिनिरोधः ॥१॥
तदा द्रष्टुः स्वरूपेऽवस्थानम् ॥२॥ —योगशास्त्र सूत्र (समाधिपाद/सूत्र १, ३) ॥
मनुष्य रजोगुण-तमोगुणयुक्त कर्महरूले मनलाई रोकेर, शुद्ध सत्त्वगुणयुक्त हुँदै पश्चात् त्यसको निरोध गरेर ‘एकाग्र’ अर्थात् एक परमात्मा र धर्मयुक्त कर्म यिनको अग्रभागमा चित्तलाई रोकेर राख्नु, ‘निरुद्ध’ अर्थात् सबैतिरबाट मनको वृत्तिलाई रोक्नु ॥१॥ जब चित्त एकाग्र र निरुद्ध हुन्छ तब सबका ‘द्रष्टा’ ईश्वरको स्वरूपमा जीवात्माको स्थिति हुन्छ ॥२॥ इत्यादि साधन मुक्तिको लागि गर्नु । र—
अथ त्रिविधदुःखात्यन्तनिवृत्तिरत्यन्तपुरुषार्थः ॥
—सांख्यशास्त्र सूत्र (अध्याय १/सूत्र १) ॥
जुन ‘आध्यात्मिक’ अर्थात् शरीर-सम्बन्धी पीडा, जुन ‘आधिभौतिक’ अरू प्राणीहरूबाट दुःखी हुनु, ‘आधिदैविक’ जुन अतिवृष्टि, अतिताप, अतिशीत, मन इन्द्रियहरूको चञ्चलताबाट हुन्छ, यस ‘त्रिविध दुःख’ लाई छुटाएर मुक्ति पाउनु ‘अत्यन्त पुरुषार्थ’ हो ।
यसको अगाडि आचार, अनाचार र भक्ष्याऽभक्ष्यको विषयमा लेखिनेछ ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिनिर्मिते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते विद्याऽविद्याबन्धमोक्षविषये
नवमः समुल्लासः सम्पूर्णः ॥९॥
•
Comments
Post a Comment