दोस्रो समुल्लास





बाल-बालिकाको शिक्षा विषय (२.१)
मातृमान् पितृमानाचार्यवान् पुरुषो वेद ।          —यो शतपथ ब्राह्मणको वचन हो ॥
—[तुलना-(श.ब्रा.कां. १४/प्रपा. ५/ब्रा ८/कं. २ ॥ तथा छा.उ.प्रपा. ६/खं. १४)] ॥
वस्तुतः जब जीव तीन उत्तम शिक्षक अर्थात् एक माता, दोस्रो पिता र तेस्रो आचार्य भए भने तब नै मनुष्य ज्ञानवान् हुन्छ । त्यो कुल धन्य ! त्यो सन्तान ठूलो भाग्यवान् ! जसका माता र पिता धार्मिक र विद्वान् हुन्छन् । जति माताबाट सन्तानलाई उपदेश र उपकार पुग्दछ, त्यति अरू कसैबाट हुँदैन । जसरी माताले आफना सन्तानमाथि प्रेम, तिनको हित गर्न चाहन्छिन्, त्यति अन्य कसैले गर्न सक्दैन । यसैले (मातृमान्) अर्थात् ‘प्रशस्ता धार्मिकी विदुषी माता विद्यते यस्य स मातृमान्’ । धन्य ती माता हुन् जो गर्भाधानदेखि लिएर जबसम्म पूरै विद्या नहोस्, तबसम्म सुशीलताको उपदेश गर्दछिन् ।
माता र पिताको अति उचित यो हो कि गर्भाधानको पूर्व, मध्य र पश्चात् दुर्गन्ध, रूक्ष, बुद्धिनाशक नशादि पदार्थहरूलाई छोडेर जसले शान्ति, आरोग्य, बल, बुद्धि, पराक्रम र सुशीलताबाट सभ्यतालाई प्राप्त गरून् त्यस्ता घृत, दुग्ध, मिष्ट, अन्नपान आदि श्रेष्ठ पदार्थहरूको सेवन गरून् कि जसबाट रज-वीर्य पनि दोषदेखि रहित भएर अत्युत्तम गुणयुक्त होस् । जस्तो ऋतुगमनको विधि अर्थात् रजोदर्शनको पाँचौं दिवसदेखि लिएर सोह्रौं दिवससम्म ऋतुदान दिने समय हो । तिनमा प्रथमका चार दिन त्याज्य छन्, रहे १२ दिन, त्यसमा पनि एकादशी र त्रयोदशीलाई छोडेर बाँकी १० रात्रिहरूमा गर्भाधान गर्नु उत्तम हो र रजोदर्शनको दिनदेखि लिएर १६औं रात्रि पश्चात् समागम गर्नुहुँदैन । पुनः जबसम्म ऋतुदानको समय पूर्वोक्त नआओस् तबसम्म र गर्भस्थितिको पश्चात् एक वर्षसम्म संयुक्त नहोऊन् कि जब दुवैको शरीर आरोग्य, परस्पर प्रसन्नता, कुनै प्रकारको शोक नहोओस् । जस्तो चरक र सुश्रुतमा खान-पानको विधान र मनुस्मृतिमा स्त्री-पुरुषको प्रसन्नताको रीति लेखिएको छ, त्यसै प्रकारले गरून् र चलून् । गर्भाधानको पश्चात् स्त्रीले असाध्यै सावधानीका साथ खान-पान गर्नुपर्दछ । पश्चात् एक वर्ष पर्यन्त स्त्री-पुरुषको सङ्ग नगरून् । बुद्धि, बल, रूप, आरोग्य, पराक्रम, शान्ति आदि गुणकारक द्रव्यहरूको नै सेवन स्त्रीले गर्दैराखोस् कि जबसम्म सन्तानको जन्म नहोस् ।
जब जन्म होस् तब राम्रो सुगन्धियुक्त जलले बालकको स्नान, नाडीछेदन गरेर सुगन्धियुक्त घृतादिको होम र स्त्रीलाई पनि स्नान, भोजनको यथायोग्य प्रबन्ध गरियोस् कि जसले बालक र स्त्रीको शरीर क्रमशः आरोग्य र पुष्ट हुँदै जाओस् । यस्तो पदार्थ उसको माता वा धायीआमाले खाऊन् कि जसबाट दूधमा पनि उत्तम गुण प्राप्त होस् । प्रसूताको दूध एक दिन वा ६ दिनसम्म बालकलाई पिलाऊन् । त्यसपछि धायीआमाले पिलाउने गरून् । परन्तु धायीआमालाई उत्तम पदार्थहरूको खान-पान माता-पिताले गराऊन् । जो कोही दरिद्र छन् भने, धायीआमालाई राख्न नसकेमा तिनले गाई वा बाख्राको दूधमा उत्तम औषधि जुन कि बुद्धि, पराक्रम, आरोग्य गराउनेखाले होस् त्यसलाई शुद्ध जलमा भिजाएर, छानेर दूधको समान जल मिलाएर बालकलाई पिलाऊन् । जन्मे पश्चात् बालक र बालककी मातालाई दोस्रो स्थान कि जहाँको वायु शुद्ध होस् त्यस्तो स्थानमा राखून् । सुगन्ध तथा दर्शनीय पदार्थ पनि राखून्, र त्यस देशमा भ्रमण गराउन उचित हुन्छ कि जहाँको वायु शुद्ध होस्, र जहाँ धायीआमा, गाई, बाख्रो आदिको दूध मिल्न नसकोस्, त्यहाँ जस्तो उचित हुन्छ त्यस्तै गर्नु । किनभने प्रसूता स्त्रीको शरीरको अंशबाट बालकको शरीर बन्दछ, यसैले स्त्री प्रसव समयमा निर्बल हुन्छे, त्यस समय उसको दूधमा पनि कम बल हुन्छ, यसैले प्रसूता स्त्रीले दूध न पिलाओस् । दूध रोक्नको लागि स्तनको छिद्रमा ओषधिको लेप गरोस्, जसले गर्दा दूध स्रवित नहोस् । यस्तो गर्नाले द्वितीय महिनामा पुनरपि युवती हुन जान्छे । तबसम्म पुरुष ब्रह्मचर्यले वीर्यको निग्रह राखोस् । यस प्रकार जो स्त्री वा पुरुषले गर्नेछन्, तिनका उत्तम सन्तान, दीर्घायु, बल, पराक्रमको वृद्धि नै भैरहनेछ कि जसबाट सबै सन्तान, उत्तम बल-फराक्रमयुक्त, दीर्घायु, धार्मिक होऊन् । स्त्री योनिसङ्कोच, शोधन र पुरुष वीर्यको स्तम्भन गरून् । पुनः सन्तान जति हुनेछन् तिनीहरू पनि सबै उत्तम हुनेछन् ।
बालकलाई माताले सदा उत्तम शिक्षा गरून्, जसले सन्तान सभ्य बनून् र कुनै अङ्गले कुचेष्टा नगर्न पाऊन् । जब बोल्न थाल्छ तब उसकी माता बालकको जिह्वा जुन प्रकारले कोमल भएर स्पष्ट उच्चारण गर्न सकोस् त्यस्तै उपाय गरून् कि जुन वर्णको स्थान, प्रयत्न अर्थात् जस्तै ‘प’ यसको ओष्ठ स्थान र स्पृष्ट प्रयत्न कि दुवै ओष्ठहरूलाई मिलाएर बोल्नु, यसको बिना शुद्धोच्चारण ह्रस्व, दीर्घ, प्लुत अक्षरहरूलाई ठीक-ठीक बोल्न सक्दैन । मधुर, गम्भीर, सुस्वर, अक्षर, मात्रा, पद, वाक्य, संहिता, अवसान भिन्न-भिन्न श्रवण होओस् । जब उसले केही-केही बोल्न र बुझ्न लागोस् तब सुन्दर वाणी र ठूला, साना, मान्य, पिता, माता, राजा, विद्वान् आदिसँग भाषण, उनीहरूसँग वर्तमान र नजिक बस्ने आदिको पनि शिक्षा गरून् कि जसबाट उनको कतै अयोग्य व्यवहार नहोस् कि सर्वत्र प्रतिष्ठा हुन जाओस् । जसरी सन्तान जितेन्द्रिय, विद्याप्रिय र सत्सङ्गमा रुचि गरोस्, त्यस्तो प्रयत्न गर्दै राखून् । व्यर्थ क्रीडा, रोदन, हास्य, लडाई, हर्ष, शोक, कुनै पदार्थमा लोलुपता, ईर्ष्या, द्वेषादि न गरून् । उपस्थेन्द्रियको स्पर्श बिना निमित्त नगरून्, किनभने यसको स्पर्श र मर्दनले वीर्यको क्षीणता, नपुंसकता, हस्तमा दुर्गन्ध पनि हुन्छ । यसैले उसको स्पर्श नगरून् । सदा सत्यभाषण, शौर्य, धैर्य, प्रसन्नवदन आदि गुणहरूको प्राप्ति जुन प्रकारले हुन्छ गराउने । जब पाँच-पाँच वर्षका छोरा-छोरी हुन्छन् तब देवनागरी अक्षरहरूको अभ्यास गराउने अन्यदेशीय भाषाहरूको अक्षरहरू पनि अभ्यास गराउने । त्यसपछि जसबाट राम्रो शिक्षा, विद्या, धर्म, परमेश्वर, माता, पिता, आचार्य, विद्वान्, अतिथि, राजा, प्रजा, कुटुम्ब, बन्धु, भगिनी, भृत्य आदिसँग कसरी-कसरी चल्नुपर्दछ, यी कुराहरूको मन्त्र, श्लोक, सूत्र, गद्य, पद्य पनि अर्थ सहित कण्ठस्थ गराउने । जसबाट सन्तान कुनै धूर्तको बहकाउमा नआओस् र जो-जो विद्याधर्मविरुद्ध भ्रान्तिजालमा गिराउनेखाले व्यवहार छन्, तिनको पनि उपदेश गर्ने, जसबाट भूत, प्रेत आदि मिथ्या कुराहरूको विश्वास नहोस् ।
भूतप्रेत आदिको निषेध (२.२)
गुरोः प्रेतस्य शिष्यस्तु पितृमेधं समाचरन् । प्रेतहारैः समं तत्र दशरात्रेण शुद्ध्यति ॥
      —मनुस्मृति (अध्याय ५/श्लोक ६५) ॥
अर्थ— जब गुरुको प्राणान्त होस्, तब मृतकशरीर जसको नाम ‘प्रेत’ हो उसको दाह गराउने शिष्य प्रेतहार अर्थात् मृतकलाई उठाउनेहरूका साथ दशौं दिनमा शुद्ध हुन्छ र जब त्यस शरीरको दाह भैसक्यो तब उसको नाम ‘भूत’ हुन्छ अर्थात् त्यो अमुकनामा पुरुष थियो । जति उत्पन्न भएका छन् वर्तमानमा आएर रहँदैन, ती भूतस्थ हुनाले तिनको नाम भूत हो । यस्तो ब्रह्मादेखि लिएर आज पर्यन्तका विद्वान्‌हरूको सिद्धान्त हो । परन्तु जसलाई शङ्का, कुसङ्ग, कुसंस्कार हुन्छ, त्यसलाई भय र शङ्कारूपी भूत, प्रेत, शाकिनी, डाकिनी आदि अनेक भ्रमजाल दुःखदायक हुन्छन् ।
हेर ! जब कोही प्राणी मर्दछ तब उसको जीव पाप-पुण्यको वश भएर परमेश्वरको व्यवस्थाको सुख-दुःखको फल भोग्नको अर्थ जन्मान्तर धारण गर्दछ । के यस अविनाशी परमेश्वरको व्यवस्थालाई कसैले पनि नाश गर्न सक्दछ र ? अज्ञानी जनहरू वैद्यकशास्त्र वा पदार्थविद्यालाई पढ्ने, सुन्ने र विचारदेखि रहित भएर सन्निपातज्वरादि शारीर र उन्मादादि मानस रोगहरूको नाम भूत प्रेतादि राख्दछन् । त्यसको औषधि सेवन र पथ्यादि उचित व्यवहार नगरेर ती धूर्त, पाखण्डी, महामूर्ख अनाचारी, स्वार्थी, भङ्गी, चमार, शूद्र, म्लेच्छादि माथि पनि विश्वासी भएर अनेक प्रकारको ढोङ्ग, छल-कपट र उच्छिष्ट भोजन, डोरी, धागो आदि मिथ्या मन्त्र-यन्त्र बाँध्ने-बँधाउने गर्दछन् । आफ्नो धनको नाश, सन्तान आदिको दुर्दशा र रोगलाई बढाएर दुःख दिइराख्दछन् ।
जब आँखाका अन्धा गाँठका पूरा, ती दुर्बुद्धि पापी स्वार्थीहरूकहाँ गएर सोध्छन् कि “महाराज ! यस केटो, केटी, स्त्री र पुरुषलाई थाहा छैन के भयो ?” तब ती अन्धा र लुच्चा भन्दछन् कि “यसको शरीरमा ठूलो भूत, प्रेत, भैरव, शीतला आदि देवी चढेकी छन् जबसम्म यसको उपाय गर्दैनौ तबसम्म यसले छोड्नेछैन र प्राण पनि लिन सक्दछ । यदि तिमीले भोग अथवा यति भेटी दिन्छौ भने हामी मन्त्र-जप-पुरश्चरणले झारफुक गरेर निकालिदिने छौं ।” तब ती अन्धा र तिनका सम्बन्धीहरूले भन्दछन् कि “महाराज ! चाहे हाम्रो सर्वस्व नै किन नजाओस् परन्तु यिनलाई निको पारिदिनुहोस् ।” तब त तिनको भनेजस्तो हुनेछ । ती धूर्त भन्दछन् “ल यति सामाग्री ल्याओ, यति दक्षिणा, देवताको भेटी र ग्रहदान गराओ ।” मञ्जिरा, मृदङ्ग, डम्फू, थाली लिएर उनका सामुन्ने बजाउँछन्, गाउँछन्, फलाक्न थाल्दछन् र ती मध्येमा एउटा पाखण्डी उन्मत्त हुँदै नाच्दै, काँप्दै र उफ्रँदै भन्न थाल्दछ कि मैले यसको ज्यानै लिन्छु ! तब ती अन्धा त्यस भङ्गी, चमार आदिको पनि खुट्टामा पर्दछन् र भन्दछन् “तपाईंले जे चाहनुहुन्छ त्यही लिनुहोस्, यसलाई बचाइदिनुहोस् ।” तब त्यो धूर्तले भन्दछ कि “म हनुमान हूँ, ल्याओ मिठाई, तेल, सिन्दूर, सवामनको नाङ्लाजत्रो रोटी र रातो-लङ्गोट ।” “म देवी वा भैरव हूँ, ल्याओ पाँच बोतल मद्य, बीस कुखुरा, पाँच पाठी, मिठाई र वस्त्र ।” जब उनीहरूले भन्दछन् कि “जे चाहन्छौ त्यही लेल” तब त्यो बहुलाह झन नाँच्न-कुद्न थाल्दछ । परन्तु जब कुनै विद्वान्‌ले त्यसको भेटी पाँच लात्तो, डण्डा वा लपेटो हानेमा त्यसको हनुमान्, देवी र भैरव झट् प्रसन्न भएर कता भाग्दछ कता, किनभने त्यो केवल धनादि हरण गर्नको लागि प्रयोजनार्थ ढोङ्ग हो ।
चिना-टिप्पन एवं नवग्रहहरूको समीक्षा (२.३)
फेरि जब कुनै ग्रहग्रस्त, ग्रहरूप, ज्योतिर्विदाभासकहाँ गएर भन्दछन् कि— “हे महाराज ! यसलाई के भयो ?” तब तिनीहरूले भन्दछन् कि “यसमाथि सूर्यादि क्रूर ग्रह चढेको छ । यदि तिमीले यिनको शान्ति, पाठ, पूजा, दान गरायौ भने सुखी हुनेछौ, नत्र भने त असाध्यै पीडित र मर्नै पनि बेर हुँदैन ।”
उत्तर— भन्नुहोस् ज्योतिर्वित् ! जस्तो यो पृथ्वी जड छ त्यस्तै नै सूर्यादि लोकहरू छन् । तिनीहरू ताप र प्रकाशादिदेखि भिन्न केही पनि गर्न सक्दैनन्, के यिनीहरू चेतन हुन् ? जो क्रोधित भएर दुःख र शान्त भएर सुख दिन सक्ने ?
प्रश्न— के यस संसारमा राजा-प्रजा सुखी-दुःखी भैराखेका छन्, यो ग्रहको फल होइन र ?
उत्तर— होइन, यी सबै पाप-पुण्यको फल हो ।
प्रश्न— त्यसो भए के ज्योतिषशास्त्र झुटो हो त ?
उत्तर— होइन, जो त्यसमा अङ्क, बीज, रेखागणित विद्या छ, त्यो साँचो हो, जुन फलको लीला छ त्यो सबै झुटो हो ।
प्रश्न— के यो जन्मपत्र (चिना-टिपन) छ सो निष्फल हो त ?
उत्तर— हो, त्यो ‘जन्मपत्र’ होइन किन्तु त्यसको नाम ‘शोकपत्र’ राख्नुपर्दछ । किनभने जब सन्तानको जन्म हुन्छ, तब सबैलाई आनन्द हुन्छ । परन्तु तबसम्म हुन्छ जबसम्म जन्मपत्र बनेर ग्रहहरूको फल सुन्दैनन् । जब पुरोहितले जन्मपत्र बनाउन तिनीहरूलाई भन्दछ तब उसका माता, पिता पुरोहितसँग भन्दछन् कि— “महाराज तपाईंले असाध्यै राम्रो जन्मपत्र बनाउनुहोस्” जो धनाढ्य छ भने त थुप्रै रातो-पहेंलो रेखाहरूले चित्र-विचित्र र निर्धन रहेछ भने त साधारण रीतिबाट जन्मपत्र बनाएर सुनाउन आउँछ । तब उसका आमा-बुबा ज्योतिषीका अगाडि बसेर भन्दछन् कि “यसको जन्मपत्र त राम्रो छ नि ?” ज्योतिषीले भन्दछ “जस्तो छ त्यस्तै म सुनाइदिन्छु, यसको जन्मग्रह एकदमै राम्रो छ र मित्र ग्रह पनि राम्रो छ, जसको फल धनाढ्य र प्रतिष्ठावान्, जुन सभामा गएर बस्नेछ सबैमाथि यसको तेज पर्नेछ, शरीरमा आरोग्य र राज्यमान्य पनि हुनेछ ।” इत्यादि कुराहरू सुनेर पिता आदि भन्दछन् “वाह-वाह ज्योतिषीजी ! तपाई असाध्यै असल हुनुहुन्छ ।” ज्योतिषीले विचार्दछ कि यी कुराले कार्य सिद्ध नहोलाजस्तो छ । तब ज्योतिषी भन्दछ कि “यी ग्रह त एकदमै राम्रा हुन् परन्तु यो ग्रहचाहिं क्रूर हो । अर्थात् फलानो-फलानो ग्रहको योगले ८औं वर्षमा यसको मृत्युयोग छ ।” यस कुरालाई सुनेपछि माता पितादि पुत्रको जन्मको आनन्दलाई बिर्सेर शोकसागरमा डुबेर ज्योतिषीसँग भन्दछन् कि “महाराज ! अब हामीले के गरौं ?” तब ज्योतिषीले भन्दछन् “उपाय गर ।” गृहस्थले सोधे— “के उपाय गर्ने ?” ज्योतिषीले भन्दछ कि “यस्तो-यस्तो दान गर, ग्रहको मन्त्रको जाप गराऊ र नित्य ब्राह्मणलाई भोजन गरायौ भने अनुमान छ कि नवग्रहहरूको विघ्न हट्नेछ । अनुमान शब्द यसको लागि हो कि यदि मरिहाल्यो भने त भन्ने कि हामीले के गरौं, परमेश्वरदेखि माथि कोही पनि छैन, हामीले त धेरै यत्न गर्‍यौं र तिमीले पनि गरायौ, त्यसको कर्म नै यस्तै थियो । यदि बचेको खण्डमा भन्दछन् कि, हेर हाम्रो मन्त्र, देवता र ब्राह्मणको शक्ति कस्तो छ ! तिम्रो छोरालाई बचाइदियो । यहाँ यो कुरा हुनुपर्दछ कि जो यिनको जप, पाठले केही नभएमा दुईगुणा-तीनगुणा रुपैयाँ ती धूर्तहरूसँगबाट लिनुपर्दछ र बचेको खण्डमा पनि लिनुपर्दछ । किनभने जस्तो ज्यातिषीले भन्यो कि “यसको कर्म र परमेश्वरको नियम तोड्नको लागि कसैको पनि सामर्थ्य छैन”, यस्तै गृहस्थले पनि भनोस् कि “यो आफ्नो कर्म र परमेश्वरको नियमबाट बचेको हो तिमीले गर्नाले होइन ।” अब तेस्रा गुरु आदिले पनि पुण्य-दान गराएर आफै लिन्छन् तिनलाई पनि त्यहीखालको उत्तर दिनुपर्दछ, जुन ज्योतिषीलाई दिइएको थियो ।
अब रह्यो शीतला र मन्त्र-तन्त्र आदि । यिनीहरूले पनि यस्तैखालको ढोङ्ग मचाउँदछन् । कसैले भन्दछन् कि “जुन हामीले मन्त्र पढेर डोरो या यन्त्र-जन्तर बनायौं भने त हाम्रा देवता र प्रेतात्मा त्यस मन्त्र-यन्त्र-जन्तरको प्रतापले त्यसलाई कुनै वाधा-विघ्न हुन दिंदैनन् ।” तिनलाई पनि त्यही उत्तर दिनुपर्दछ कि के तिमी मृत्यु, परमेश्वरको नियम र कर्मफलदेखि पनि बचाउन सक्दछौ र ? तिमीले यस्तो गर्दामा पनि कति बच्चाहरू मरेर गएका छन् र तिम्रो घरमा पनि मर्दछन् र के तिमी पनि मरणदेखि बच्न सक्दछौ र ? त्यतिवेला तिनले केही बोल्न सक्ने छैनन् ती धूर्तले बुझ्ने छन् कि अब यहाँ हाम्रो केही वश चल्ने छैन ।
यसबाट यी सबै मिथ्या व्यवहारहरूलाई छोडेर धार्मिक, सब देशको उपकारकर्ता, निष्कपटताबाट सबैलाई विद्या पढाउने, उत्तम विद्वान् जनहरूको प्रत्युपकार गर्नु, जसरी उनीहरूले जगत्‌को उपकार गर्दछन्, यस कामलाई कहिल्यै पनि छोड्नु हुँदैन र जति लीला, रसायन, मारण, मोहन, उच्चाटन, वशीकरण आदि गर्दछन्, तिनीहरूलाई पनि महापामर सम्झनुपर्दछ । इत्यादि मिथ्या कुराहरूको उपदेश बाल्यवस्थामा नै आफ्ना सन्तानको हृदयमा हालिदिनुपर्दछ । जसबाट स्वसन्तान कसैको भ्रमजालमा परेर दुःख पाउनेछैनन् र वीर्यको रक्षामा आनन्द र नाश गर्नमा दुःख प्राप्ति हुने कुरा पनि जनाइदिनुपर्दछ । जस्तो “हेर ! जसको शरीरमा सुरक्षित वीर्य रहन्छ तब उसको आरोग्य, बुद्धि, बल, पराक्रम बढेर थुप्रै सुखहरू प्राप्त हुन्छन् । यसको रक्षणको यही रीति हो कि विषयहरूको कथा, विषयी जनहरूको सङ्ग, विषयहरूको ध्यान, स्त्रीको दर्शन्, एकान्तसेवन, सम्भाषण र स्पर्श आदि कर्मबाट ब्रह्मचारी जन पृथक् रहेर उत्तम शिक्षा, पूर्ण विद्यालाई प्राप्त गर्दछन् । यसरी नै तिमीले उत्तम शिक्षा र पूर्ण विद्यालाई प्राप्त गर । जसको शरीरमा वीर्य हुँदैन त्यो नपुंसक, महाकुलक्षणी र जसलाई प्रमेह रोग हुन्छ तथा दुर्बल, निस्तेज, निबुर्द्धि, उत्साह, साहस, धैर्य, बल, पराक्रमादि गुणहरूदेहि रहित भएर नष्ट हुन जान्छ । यदि तिमी सुशिक्षा, विद्याको ग्रहण र वीर्यको रक्षा गर्नमा यस समयमा चुक्यौ भने त पुनः यस जन्ममा तिमीलाई यस्तो अमूल्य समय प्राप्त हुन सक्दैन । जबसम्म हामी गृहकर्मलाई गर्नेवालाहरू बाँच्दछौं, तबसम्म तिमीले विद्या-ग्रहण र शरीरको बल बढाउनुपर्दछ ।”
यस प्रकारको अन्य शिक्षा पनि माता र पिताले गरून्, यसैले ‘मातृमान् पितृमान्’ शब्दको ग्रहण उक्त वचनमा गरिएको छ । अर्थात् जन्मदेखि पाँचौ वर्षसम्म आमाले, छैटौं देखि आठौं वर्षसम्म पिताले शिक्षा गरून् र नवौं वर्षको आरम्भमा द्विज आफ्नो सन्तानको उपनयन गरेर आचार्यकुलमा अर्थात् जहाँ पूर्ण विद्वान् र पूर्ण विदूषी स्त्री शिक्षा र विद्यादान गराउँदछन्, त्यहाँ केटा र केटीहरूलाई पठाइदिनु । शूद्रादि वर्णले उपनयन नगरिकनै विद्याभ्यासको लागि गुरुकुलमा पठाइदिनु । तिनैका सन्तान विद्वान्, सभ्य र सुशिक्षित हुन्छन्, जसले पढाउनमा लाड्प्यार कहिल्यै गर्दैनन् किन्तु ताडना नै गरिराख्दछन् । यसमा व्याकरण महाभाष्यको प्रमाण छ कि—
सामृतैः पाणिभिर्घ्नन्ति गुरवो विषोक्षितैः । लालनाश्रयिणो दोषास्ताडनाश्रयिणो गुणाः ॥
        —व्याकरण महाभाष्य (८/१/८) ॥
अर्थ— जो माता, पिता र आचार्य सन्तान र शिष्यहरूलाई ताडना गर्दछन्, यो बुझ कि तिनीहरूले आफ्ना सन्तान र शिष्यलाई आफ्नो हातले अमृत पिलाउँदैछन्, र जसले सन्तानहरू वा शिष्यहरूलाई लाड्प्यार गर्दछन् तिनीहरूले आफ्ना सन्तानहरू वा शिष्यहरूलाई विष पिलाएर नष्ट-भ्रष्ट गर्दछन् । किनभने लाडनले सन्तान र शिष्य दोषयुक्त तथा ताडनाले गुणयुक्त हुन्छन् र सन्तान र शिष्यहरू पनि ताडनाले प्रसन्न र लाडनाले अप्रसन्न सदा रहने गरून् । परन्तु माता, पिता तथा अध्यापकहरू ईर्ष्या, द्वेषले ताडन नगरून् किन्तु माथिबाट भय-प्रदान र भित्रबाट कृपादृष्टि राखून् ।
जस्तो अन्य शिक्षाको, त्यस्तै चोरी, जारी, आलस्य, प्रमाद, मादकद्रव्य, मिथ्याभाषण, हिंसा, क्रूरता, ईर्ष्या, द्वेष, मोह आदि दोषहरूलाई छोड्ने र सत्याचारलाई ग्रहण गर्ने शिक्षा गरून् । किनभने जुन पुरुषले जसको सामुन्ने एक पटक चोरी, जारी, मिथ्याभाषणादि कर्म गर्‍यो, उसको प्रतिष्ठा त्यसको सामुन्ने मृत्युपर्यन्त हुँदैन । जस्तो हानि प्रतिज्ञा मिथ्या गर्नेवालाको हुन्छ, त्यस्तै हानि अन्य कसैको हुँदैन । यसैले जोसँग जस्तो प्रतिज्ञा गरिन्छ, त्यसलाई त्यसरी नै पूरा गर्नुपर्दछ, अर्थात् जस्तै कसैले कसैसँग भन्यो कि “म तिमीसँग अथवा तिमी मसँग अमुक समयमा मिल्नेछु वा मिल्नु अथवा अमुक वस्तु अमुक समयमा मैले तिमीलाई दिन्छु” यसलाई त्यसरी नै पूरा गरोस्, नत्रभने उसको प्रतीति कसैले पनि गर्नेछैनन् । यसैले सदा सत्यप्रतिज्ञायुक्त सबैले हुनुपर्दछ । कसैले अभिमान गर्नु राम्रो होइन, किनभने ‘अभिमानः श्रियं हन्ति’ यो कुनै कविको वचन हो । जुन अभिमान अर्थात् अहङ्कार हो, त्यसले सबै शोभा र लक्ष्मीको नाश गरिदिन्छ, त्यसै अभिमान गर्नुहुँदैन ।
छल, कपट, वा कृतघ्नताले आफ्नै हृदय नै दुःखित हुन्छ भने दोस्राको के कथा भन्नु ? छलकपट त्यसलाई भन्दछन् जो भित्र अर्कै र बाहिर अर्कै गर्दछ, अरूलाई मोहमा पारेर अर्काको हानिमा ध्यान नदिंदै स्वप्रयोजन सिद्ध गर्दछ । कृतघ्नता त्यसलाई भन्दछन् कि कसैले गरिदिएको उपकारलाई नमान्ने । क्रोधादि दोष र कटु वचनलाई छोडेर शान्त र मधुर वचन नै बोलोस् र धेरै कुरा नगरोस् । जति बोल्नुपर्दछ त्यसभन्दा न्यून वा अधिक नबोलोस् । ठूलालाई आदर गरोस्, आफू उठेर उनीहरूलाई उच्चासनमा राखोस् । प्रथम सबैलाई नमस्ते भनोस् । उनीहरूको सामुन्ने उत्तमासनमा नबसोस् । सभामा त्यस्तो स्थानमा बसोस् जहाँ आफ्नो योग्यता होस् र दोस्रो कसैले आफूलाई नउठाऊन् । कसैसँग विरोध नगरिकन प्रसन्न हुँदै गुणहरूको ग्रहण र दोषहरूको त्याग गरोस् । सज्जनहरूको सङ्ग र दुष्टहरूको त्याग गर्दै आफ्ना माता, पिता र आचार्यको तन, मनले सेवा गरोस् ।
यान्यस्माक सुचरितानि तानि त्वयोपास्यानि नो इतराणि ॥
                  —यो तैत्तिरीयोपनिषद् (१/११) को वचन हो ॥
यसको यो अभिप्राय हो कि माता, पिता, आचार्यले आफ्नो सन्तान र शिष्यहरूलाई सदा सत्य उपदेश गरून् र यो पनि भनून् कि जुन-जुन हाम्रो धर्मयुक्त कर्म छन्, तिन-तिनको ग्रहण गर र जो-जो दुष्ट कर्म छन्, तिन-तिनलाई त्यागिदिने गर । जे-जेलाई सत्य जान्दछौ त्यस-त्यसको प्रकाश र प्रचार गर । कुनै पाखण्डी, दुष्टाचारी मनुष्यमाथि विश्वास नगर र जुन-जुन उत्तम कर्मको लागि माता-पिता र आचार्यले आज्ञा दिन्छन् त्यस-त्यसको पालन गरोस् । जसरी माता-पिताले धर्म, विद्या, राम्रो आचरणको श्लोक, ‘निघण्टु’, ‘निरुक्त’, ‘अष्टाध्यायी’, अथवा अन्य सूत्र वा वेदमन्त्र कण्ठस्थ गराएका हुन्, तिन-तिनलाई पुनः अर्थ विद्यार्थीहरूलाई विदित गराइदिने गर्नु । जसरी प्रथम समुल्लासमा परमेश्वरको व्याख्यान गरिएको छ, त्यसरी नै मानेर उसको उपासना गरोस् । जुन प्रकारले आरोग्य, विद्या र बल प्राप्त होस् उसै प्रकारले भोजन, छादन र व्यवहार गर्नु-गराउनु अर्थात् जति क्षुधा होस् त्यसभन्दा केही न्यून भोजन गरोस् । मद्य-मांसादिको सेवनदेखि अलग रहोस् । अज्ञात गम्भीर जलमा प्रवेश नगरोस्, किनभने जल-जन्तु वा अन्य कुनै पदार्थबाट दुःख र जसले पौडिन जान्दैन भने डुब्न पनि सक्दछ ।
नवाविज्ञाते जलाशये ।           —यो मनुस्मृति (अध्याय ४/श्लोक १२९) को वचन हो ॥
अविज्ञात जलाशयमा प्रविष्ट भएर स्नानादि नगरोस् ।
दृष्टिपूतं न्यसेत्पादं, वस्त्रपूतं जलं पिबेत् । सत्यपूतां वदेद्वाचं, मनःपूतं समाचरेत् ॥
          —यो मनुस्मृति (अध्याय ६/श्लोक ४६) को वचन हो ॥
अर्थ— दृष्टिलाई तल राख्दै तल-माथिको स्थानलाई हेर्दै हिंडोस्, वस्त्रले छाँनेर जल पियोस्, सत्यले पवित्र गरेर वचन बोलोस्, मनले विचार गरेर आचरण गरोस् ।
माता शत्रुः पिता वैरी, येन बालो न पाठितः । न शोभते सभामध्ये, हंसमध्ये बको यथा ॥
     —यो कुनै कविको वचन हो (चाणक्यनीति २/११ ) ॥
ती माता र पिता आफ्ना सन्तानहरूका पूर्ण शत्रु हुन् कि जसले तिनलाई विद्या प्राप्ति नगराई, ती विद्वान्‌हरूको सभामा त्यसरी नै तिरस्कृत र कुशोभित हुन्छन् जसरी हंसको बथानमा बकुल्लो । यही माता-पिताको कर्तव्यकर्म, परमधर्म र कीर्तिको काम हो कि जो आफ्नो सन्तानलाई तन, मन, धनले विद्या, धर्म, सभ्यता र उत्तम शिक्षायुक्त बनाउनु । यो बालशिक्षामा थोरै मात्र लेखें, यतिबाट नै बुद्धिमान् जनहरूले धेरै बुझ्नेछन् ।

इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते बालशिक्षाविषये
द्वितीयः समुल्लासः सम्पूर्णः ॥२॥

Comments

Popular posts from this blog

समुल्लास ११ भाग १

चौधौं समुल्लास

समुल्लास ११ भाग २