पाँचौं समुल्लास
वानप्रस्थ एवं संन्यास आश्रमको विधि
वानप्रस्थाश्रमको विधि (५.१)
ब्रह्मचर्य्याश्रमं समाप्य गृही भवेत् गृही भूत्वा वनी भवेद्वनी भूत्वा प्रव्रजेत् ॥ —शतपथ ब्राह्मण काण्ड १४ ॥ (तुलना-जाबालोपनिषद् खण्ड ४) ॥
मनुष्यलाई यो उचित छ कि ब्रह्मचर्याश्रम समाप्त गरेर गृहस्थ, गृहस्थ भएपछि वानप्रस्थ र वानप्रस्थ भएर संन्यासी बनोस्, अर्थात् यो अनुक्रमले आश्रमको विधान हो ।
एवं गृहाश्रमे स्थित्वा विधिवत्स्नातको द्विजः । वने वसेत्तु नियतो यथावद्विजितेन्द्रियः ॥१॥
गृहस्थस्तु यदा पश्येद्वलीपलितमात्मनः । अपत्यस्यैव चापत्यं तदारण्यं समाश्रयेत् ॥२॥
संत्यज्य ग्राम्यमाहारं सर्वं चैव परिच्छदम् । पुत्रेषु भार्यां निःक्षिप्य वनं गच्छेत्सहैव वा ॥३॥
अग्निहोत्रं समादाय गृह्यं चाग्निपरिच्छदम् । ग्रामादरण्यं निःसृत्य निवसेन्नियतेन्द्रियः ॥४॥
मुन्यन्नैर्विविधैर्मेध्यैः शाकमूलफलेन वा । एतानेव महायज्ञान्निर्वपेद्विधिपूर्वकम् ॥५॥
—मनुस्मृति (अध्याय ६/श्लोक १-५) ॥
यस प्रकार स्नातक अर्थात् ब्रह्मचर्यपूर्वक गृहाश्रमको कर्ता द्विज अर्थात् ब्राह्मण, क्षत्रिय र वैश्य गृहाश्रममा रहेर निश्चितात्मा र यथावत् इन्द्रियहरूलाई जितेर वनमा पसोस् ॥१॥ परन्तु जब गृहस्थको शिरमा केश फुलेका तथा छाला चाउरी पर्न लागेमा, र नातिहरू ठूल्ठूला हुन थालेमा, तब वनमा पसोस् ॥२॥ ग्रामको आहार, वस्त्रादि सबै उत्तमोत्तम पदार्थहरूलाई छोडेर, पुत्रलाई स्त्रीको जिम्मा लगाएर, वा आफ्नो साथैमा लिएर वनमा पसोस् ॥३॥ साङ्गोपाङ्ग अग्निहोत्रलाई लिएर ग्रामबाट निक्लँदै, दृढेन्द्रिय भएर, अरण्यमा आएर बसोस् ॥४॥ नाना प्रकारको नीवार आदि अन्न, सुन्दर साग, मूल, फल, कन्दादिले पूर्वोक्त पञ्चमहायज्ञहरूलाई गरोस् र त्यसैबाट अतिथि सेवा र आफूले पनि निर्वाह गरोस् ॥५॥
स्वाध्याये नित्ययुक्तः स्याद्दान्तो मैत्रः समाहितः । दाता नित्यमनादाता सर्वभूतानुकम्पकः ॥१॥
अप्रयत्नः सुखार्थेषु ब्रह्मचारी धराशयः । शरणेष्वममश्चैव वृक्षमूलनिकेतनः ॥२॥
—मनुस्मृति (अध्याय ६/श्लोक ८, २६) ॥
स्वाध्याय अर्थात् पढ्न-पढाउनमा नित्ययुक्त, जितात्मा, सबैको मित्र, इन्द्रियहरूको दमनशील, विद्याको दान गर्ने र सबैमाथि दयालु, कसैसँगबाट केही पनि पदार्थ नलियोस्, यस प्रकारले सदा वर्तमान गरोस् ॥१॥ शरीरको सुखको लागि अति प्रयत्न नगर्ने किन्तु ब्रह्मचारी रहने अर्थात् आफ्नी स्त्री साथमा रहे तापनि उनीसँग विषयचेष्टा केही पनि नगरोस्, भूमिमा सुतोस्, आफ्ना आश्रित वा स्वकीय पदार्थमा ममता नगरोस्, वृक्षको मूलमा बसोस् ॥२॥
तपः श्रद्धे ये ह्युपवसन्त्यरण्ये, शान्ता विद्वांसो भैक्षचर्य्यां चरन्तः ।
सूर्य्यद्वारेण ते विरजाः प्रयान्ति, यत्राऽमृतः स पुरुषो ह्यव्ययात्मा ॥
—मुण्डकोपनिषद् (मुण्डक १/खण्ड २/मन्त्र ११) ॥
जो शान्त विद्वानीहरू वनमा तप, धर्मानुष्ठान र सत्यको श्रद्धा गरेर भिक्षाचरण गर्दै वनमा बस्दछन्, जहाँ नाशरहित पूर्ण पुरुष हानिलाभ रहित परमात्मा छन्, वहाँ ती निर्मल भएर प्राणद्वारबाट यस्ता परमात्मालाई प्राप्त गरेर आनन्दित हुन्छन् ।
अ॒भ्याद॑धामि स॒मिध॒मग्ने॑ व्रतपते॒ त्वयि॑ । व्र॒तञ्च॑ श्र॒द्धां चोपै॑मी॒न्धे त्वा॑ दीक्षि॒तो अ॒हम् ॥१॥
—यजुर्वेद (अध्याय २०/मन्त्र २४) ॥
वानप्रस्थलाई उचित यो छ कि— मैले अग्निमा होम गरेर दीक्षित हुँदै व्रत, सत्याचरण र श्रद्धालाई प्राप्त गरूँ– यस्तो इच्छा गरेर वानप्रस्थ होओस्, नाना प्रकारको तपश्चर्या, सत्सङ्ग, योगाभ्यास र सुविचारले ज्ञान र पवित्रतालाई प्राप्त गरोस् । पश्चात् जब संन्यासको ग्रहणको इच्छा भएमा, तब स्त्रीलाई पुत्रको जिम्मा लगाएर, फेरि संन्यास ग्रहण गरोस् ॥१॥
॥ इति संक्षेपेण वानप्रस्थविधिः ॥
•
संन्यास आश्रमको विधि (५.२)
वनेषु च विहृत्यैवं तृत्तीयं भागमायुषः । चतुर्थमायुषो भागं त्यक्त्वा सङ्गान् परिव्रजेत् ॥
—मनुस्मृति (अध्याय ६/श्लोक ३३) ॥
यस प्रकार वनमा आयुको तेस्रो भाग अर्थात् पचासौं वर्षदेखि लिएर पचहत्तरौं वर्ष पर्यन्त वानप्रस्थ भएर, आयुको चौथो भागमा सङ्गहरूलाई छोडेर परिव्राट् अर्थात् संन्यासी बनोस् ।
प्रश्न— गृहस्थाश्रम र वानप्रस्थाश्रम नगरिकन, संन्यासाश्रम गरेमा, त्यसलाई पाप हुन्छ, वा हुँदैन ?
उत्तर— हुन्छ र हुँदैन पनि ।
प्रश्न— यस्तो दुई प्रकारको कुरो किन गर्दछौ ?
उत्तर— दुई प्रकारको होइन । किनभने जो बाल्यवस्थामा विरक्त भएर विषयहरूमा फसेमा त महापापी, र जो फस्दैन त्यो महापुण्यात्मा सत्पुरुष हो ।
यदहरेव विरजेत्तदहरेव प्रव्रजेद्वनाद्वा गृहाद्वा ब्रह्मचर्यादेव प्रव्रजेत् ॥
—यो ब्राह्मणग्रन्थको वचन हो । [तुलना-अथर्ववेदीयजाबालोपनिषद् (खण्ड ४/कं.१)] ॥
जुन दिन वैराग्य प्राप्त हुन्छ, त्यसै दिन घर वा वनबाट संन्यास ग्रहण गरोस् । पहिला संन्यासको पक्षक्रम भनियो र यसमा विकल्प यो दोस्रो पक्ष अर्थात् वानप्रस्थ न गरोस्, गृहस्थाश्रमबाटै सीधै संन्यास ग्रहण गरोस् र तृतीय पक्ष यो हो कि जो पूर्ण विद्वान्, जितेन्द्रिय, विषय-भोगको कामनादेखि रहित, परोपकार गर्ने इच्छाले युक्त पुरुष हो भने त, त्यसले ब्रह्मचर्याश्रमबाटै नै संन्यास लेओस् ।
र वेदहरूमा पनि यतयः (ऋग्वेद ८/६/१८), ब्राह्मणस्य (ऋग्वेद १०/१०९/४), विजानतः (यजुर्वेद ४०/७) इत्यादि पदहरूमा संन्यासको विधान छ, परन्तु—
नाविरतो दुश्चरितान्नाशान्तो नासमाहितः । नाशान्तमानसो वापि प्रज्ञानेनैनमाप्नुयात् ॥
—कठोपनिषद् (अध्याय १/वल्ली २/मन्त्र २४) ॥
जो दुराचारदेखि पृथक् छैन्, जसलाई शान्ति छैन, जसको आत्मा योगी छैन, र जसको मन शान्त छैन, त्यस्तोले संन्यास लिएर पनि प्रज्ञानबाट कबै परमात्मालाई प्राप्त गर्न सक्दैन । यसैले—
यच्छेद्वाङ्मनसी प्राज्ञस्तद्यच्छेद् ज्ञान आत्मनि ।
ज्ञानमात्मनि महति नियच्छेत्तद्यच्छेच्छान्त आत्मनि ॥
—कठोपनिषद् (अध्याय १/वल्ली ३/मं १३) ॥
यसरी संन्यासीले बुद्धिमान् वाणी र मनलाई अधर्मदेखि रोकोस्, उनलाई ज्ञान र आत्मामा लगाओस्, र त्यस ज्ञान स्वात्मालाई विस्तारै परमात्मामा लगाओस् अनि फेरि त्यस विज्ञानलाई विस्तारै-विस्तारै शान्तस्वरूप आत्मामा स्थिर गरोस् ।
परीक्ष्य लोकान् कर्मचितान् ब्राह्मणो निर्वेदमायान्नास्त्यकृतः कृतेन ।
तद्विज्ञानार्थं स गुरुमेवाभिगच्छेत् समित्पाणिः श्रोत्रियं ब्रह्मनिष्ठम् ॥
—मुण्डकोपनिषद् (मुण्डक १/खण्ड २/मन्त्र १२) ॥
सबै लौकिक भोगहरू कर्मबाट संचित भएको देखेर ब्राह्मण अर्थात् संन्यासी वैराग्यलाई प्राप्त गरोस् । किनभने ‘अकृत’ परमात्मा ‘कृत’ अर्थात् केवल कर्मले मात्र प्राप्त हुँदैन, यसैले केही अर्पणको अर्थ हातमा लिएर वेदवित् र परमेश्वरलाई जान्ने त्यस गुरुकहाँ विज्ञानको लागि जाओस्, गएर सबै सन्देहरूको निवृत्ति गरोस् । परन्तु सदा यिनीहरूको सङ्ग छोडिदिनु कि—
अविद्यायामन्तरे वर्त्तमानाः स्वयं धीराः पण्डितम्मन्यमानाः ।
जङ्घन्यमानाः परियन्ति मूढा अन्धेनैव नीयमाना यथान्धाः ॥१॥
अविद्यायां बहुधा वर्त्तमाना वयं कृतार्था इत्यभिमन्यन्ति बालाः ।
यत्कर्मिणो न प्रवेदयन्ति रागात्तेनातुराः क्षीणलोकाश्च्यवन्ते ॥२॥
—मुण्डकोपनिषद् (मुण्डक १/खण्ड २/मन्त्र ८-९)॥
जो अविद्याको भित्र खेलिरहेका हुन्छन्, आफूलाई धीर र पण्डित मान्दछन्, र नीच गतितिर जाने जस्तै अन्धाको पछाडि लागेर अन्धाले दुर्दशालाई प्राप्त गर्दछ, त्यस्तै गरी नै मूढले दुःखलाई प्राप्त गर्दछन् ॥१॥ जो धेरै अविद्यामा रमण गर्नेहरू, बालबुद्धिले हामी त पूर्ण कृतार्थ छौं यस्तो मान्दछन्, जसलाई केवल कर्मकाण्डीहरू रागले मोहित भएर जान्दैनन् र जनाउन पनि सक्दैनन्, तिनीहरू आतुर भएर जन्म मरणरूप दुःखमा पर्दछन् ॥ त्यसैले—
वेदान्तविज्ञानसुनिश्चितार्थाः, संन्यासयोगाद्यतयः शुद्धसत्वाः ।
ते ब्रह्मलोकेषु परान्तकाले, परामृतात्परिमुच्यन्ति सर्वे ॥
—मुण्डकोपनिषद् (मुण्डक ३/खण्ड २/मन्त्र ६) ॥
जुन वेदान्त अर्थात् परमेश्वर प्रतिपादक वेदमन्त्रहरूको अर्थज्ञान र आचारमा राम्रोसँग निश्चित गर्दै संन्यासयोगले शुद्धान्तःकरण संन्यासी हुन्छन्, तिनीहरू परमेश्वरमा मुक्ति-सुखलाई प्राप्त गरेर, भोगको पश्चात् जब मुक्तिमा सुखको अवधि पूरा हुन्छ, तब त्यहाँबाट छुटेर संसारमा आउँछन् । बिना मुक्तिले दुःखको नाश हुँदैन । किनभने—
न वै सशरीरस्य सतः प्रियाप्रिययोरपहतिरस्त्यशरीरं वाव सन्तं न प्रियाप्रिये स्पृशतः ॥
—छान्दोग्योपनिषद् (प्रपाठक ८/खण्ड १२/प्रवाक १) ॥
जो देहधारी छ, त्यो सुख-दुःखको प्राप्तिबाट पृथक् कहिल्यै रहन सक्दैन र जुन शरीररहित जीवात्मा मुक्तिमा सर्वव्यापक परमेश्वरको साथ शुद्ध भएर रहन्छ, तब त्यसलाई सांसारिक सुख-दुःख प्राप्त हुँदैन । यसैले—
लोकैषणायाश्च वित्तैषणायाश्च पुत्रैषणायाश्चोत्थायाथ भैक्षचर्यं चरन्ति ॥
—तुलना (शत.ब्रा.कां. १४/प्रपा. ५/ब्रा. २/कं. १) ॥
लोकमा प्रतिष्ठा वा लाभ, धनले भोग वा मान्य, पुत्रादिको मोहदेखि अलग भएर, संन्यासीहरू भिक्षुक हुँदै रात-दिन मोक्षको साधनहरूमा तत्पर रहन्छन् ।
प्राजापत्यां निरूप्येष्टिं तस्यां सर्ववेदसं हुत्त्वा ब्राह्मणः प्रव्रजेत् ॥१॥
—यजुर्वेदब्राह्मणे ॥ हेर्नुहोस्— न्याय सूत्र (४/१/६२) मा वात्स्यायनको भाष्य) ॥
प्राजापत्यां निरूप्येष्टिं सर्ववेदसदक्षिणाम् ।
आत्मन्यग्नीन्समारोप्य ब्राह्मणः प्रव्रजेद् गृहात् ॥२॥
यो दत्वा सर्वभूतेभ्यः प्रव्रजत्यभयं गृहात् । तस्य तेजोमया लोका भवन्ति ब्रह्मवादिनः ॥३॥
—मनुस्मृति (अध्याय ६/श्लोक ३८-३९) ॥
प्रजापति अर्थात् परमेश्वरको प्राप्तिको अर्थ इष्टि अर्थात् यज्ञ गरेर उसमा यज्ञोपवीत शिखादि चिह्नहरूलाई छोडेर, आहवनीयादि पाँच अग्निहरूको प्राण, अपान, व्यान, उदान र समान यी पाँच प्राणहरूमा आरोपण गरेर ब्राह्मण ब्रह्मवित् घरबाट निक्लेर संन्यासी बनोस् ॥१-२॥ जसले सबै भूत=प्राणीमात्रलाई अभयदान दिएर घरबाट निस्केर संन्यासी बन्दछ, त्यस ब्रह्मवादी अर्थात् परमेश्वरप्रकाशित वेदोक्त धर्मादि विद्याहरूको उपदेश गर्ने संन्यासीको लागि प्रकाशमय अर्थात् मुक्तिको आनन्दस्वरूप लोक प्राप्ति हुन्छ ॥३॥
प्रश्न— संन्यासीहरूको धर्म के हो ?
उत्तर— धर्म त पक्षपातरहित न्यायाचरण, सत्यको ग्रहण, असत्यको परित्याग, वेदोक्त ईश्वरको आज्ञाको पालन, परोपकार, सत्यभाषणादि-लक्षण सबै आश्रमहरूका अर्थात् सबै मनुष्यमात्रको एउटै नै हो, परन्तु संन्यासीको विशेष धर्म यो हो कि—
दृष्टिपूतं न्यसेत्पादं वस्त्रपूतं जलं पिबेत् । सत्यपूतां वदेद्वाचं मनःपूतं समाचरेत् ॥१॥
क्रुद्ध्यन्तं न प्रतिक्रुध्येदाक्रुष्टः कुशलं वदेत् । सप्तद्वारावकीर्णां च न वाचमनृतां वदेत् ॥२॥
अध्यात्मरतिरासीनो निरपेक्षो निरामिषः । आत्मनैव सहायेन सुखार्थी विचरेदिह ॥३॥
क्लृप्तकेशनखश्मश्रुः पात्री दण्डी कुसुम्भवान् । विचरेन्नियतो नित्यं सर्वभूतान्यपीडयन् ॥४॥
इन्द्रियाणां निरोधेन रागद्वेषक्षयेण च । अहिंसया च भूतानाममृतत्वाय कल्पते ॥५॥
दूषितोऽपि चरेद्धर्मं यत्र तत्राश्रमे रतः । समः सर्वेषु भूतेषु न लिङ्गं धर्मकारणम् ॥६॥
फलं कतकवृक्षस्य यद्यप्यम्बुप्रसादकम् । न नामग्रहणादेव तस्य वारि प्रसीदति ॥७॥
प्राणायामा ब्राह्मणस्य त्रयोऽपि विधिवत्कृताः । व्याहृतिप्रणवैर्युक्ता विज्ञेयं परमं तपः॥८॥
दह्यन्ते ध्मायमानानां धातूनां हि यथा मलाः । तथेन्द्रियाणां दह्यन्ते दोषाः प्राणस्य निग्रहात् ॥९॥
प्राणायामैर्दहेद्दोषान् धारणाभिश्च किल्विषम् । प्रत्याहारेण संसर्गान् ध्यानेनानीश्वरान् गुणान् ॥१०॥
उच्चावचेषु भूतेषु दुर्ज्ञेयामकृतात्मभिः । ध्यानयोगेन संपश्येद् गतिमस्यान्तरात्मनः ॥११॥
अहिंसयेन्द्रियासङ्गैर्वैदिकैश्चैव कर्म्मभिः । तपसश्चरणैश्चोग्रैस्साधयन्तीह तत्पदम् ॥१२॥
यदा भावेन भवति सर्वभावेषु निःस्पृहः । तदा सुखमवाप्नोति प्रेत्य चेह च शाश्वतम् ॥१३॥
चतुर्भिरपि चैवैतैर्नित्यमाश्रमिभिर्द्विजैः । दशलक्षणको धर्मः सेवितव्यः प्रयत्नतः ॥१४॥
धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ॥१५॥
अनेन विधिना सर्वास्त्यक्त्वा संगाञ्छनैः शनैः । सर्वद्वन्द्वविनिर्मुक्तो ब्रह्मण्येवावतिष्ठते ॥१६॥
—मनुस्मृति (अध्याय ६/श्लोक ४६, ४८, ४९, ५२, ६०, ६६, ६७, ७०-७३, ७५-८०, ९१, ९२, ८१)॥
जब संन्यासी मार्गमा हिंड्दछ, तब यता-उति नहेरेर, तल पृथ्वीमा दृष्टि राखेर हिंडोस् । सदा वस्त्रले छानेर जल पियोस्, निरन्तर सत्य बोलोस्, सर्वदा मनबाट विचार गरेर सत्यको ग्रहण र असत्यलाई छोडिदेओस् ॥१॥ जब कहीं उपदेश वा संवादादिमा कुनै संन्यासीमाथि क्रोध गरे अथवा निन्दा गरे, त्यसमाथि कहिल्यै पनि क्रोध नगरोस् र सदा उसलाई कल्याणको उपदेश नै गरोस् । मुखमा, दुई नासिकाको, दुई आँखाको र दुई कानको छिद्रहरूमा छरिएर रहेको वाणीलाई, कुनै कारणले पनि मिथ्या कहिल्यै नबोलोस् ॥२॥ आफ्नो आत्मा र परमात्मामा स्थिर, अपेक्षारहित, मद्यमांसादिवर्जित हुँदै आत्माकै सहायदेखि सुखार्थी भएर, यस संसारमा धर्म विद्यालाई बढाउनमा उपदेशको लागि सदा विचरिरहनु ॥३॥ केश, नख, दारी, जुँगालाई छेदन गरोस्, सुन्दर पात्र, दण्ड र कुसुम्भ आदिले रङ्गिएको वस्त्रहरूलाई ग्रहण गरेर निश्चितात्मा, सबै भूत (प्राणी) हरूलाई पीडा नदिइकन सर्वत्र विचरोस् ॥४॥ इन्द्रियहरूलाई अधर्माचरणदेखि रोक्दै, राग-द्वेषलाई छोड्दै, सबै प्राणीहरूसँग निर्वैर वर्त्तेर, मोक्षको लागि सामर्थ्य बढाउने गरोस् ॥५॥ कसैले संसारमा उसलाई दूषित वा भूषित गरे पनि जुन कुनै आश्रममा वर्त्तेको पुरुष अर्थात् संन्यासी सबै प्राणीहरूमा पक्षपातरहित हुँदै, स्वयं धर्मात्मा र अन्यहरूलाई पनि धर्मात्मा बनाउने प्रयत्न गरोस् र यो आफ्नो मनमा निश्चित जानेर कि दण्ड, कमण्डलु र काषायवस्त्र आदि चिह्न धारण धर्मको कारण होइन, सबै मनुष्यादि प्राणीहरूलाई सत्योपदेश र विद्यादानले उन्नति गर्नु संन्यासीको मुख्य कर्म हो ॥६॥ किनभने निर्मली वृक्षको फललाई पिसेर अँखराको जलमा हाल्नाले जलको शोधक हुन्छ, तदपि बिना नहालि त्यसको नामकथनको श्रवणमात्रले अँखराको जल शुद्ध हुँदैन ॥७॥ यसैले ब्राह्मण अर्थात् ब्रह्मवित् संन्यासीले यो उचित छ कि ओङ्कारपूर्वक सप्तव्याहृतिहरूले विधिपूर्वक प्राणायाम जति आफ्नो शक्ति हुन्छ, त्यति गरोस्, परन्तु तीनदेखि न्यून कहिल्यै नगरोस्, यही संन्यासीको परमतप हो ॥८॥ किनभने जसरी अग्निमा तपाउनाले र गलाउनाले धातुहरूको मल नष्ट हुन्छन्, त्यसरी नै प्राणहरूको निग्रहबाट मन आदि इन्द्रियहरूको दोष पनि भस्मीभूत हुन जान्छ ॥९॥ त्यसैले संन्यासीहरू नित्यप्रति प्राणायामहरूबाट आत्मा, अन्तःकरण र इन्द्रियहरूको दोष; धारणाहरूबाट पाप; प्रत्याहारबाट सङ्गदोष; ध्यानबाट अनीश्वरका गुणहरूको अर्थात् हर्ष, शोक र अविद्यादि जीवका दोषहरूलाई भस्मीभूत गरोस् ॥१०॥ यसै ध्यानयोगले जुन अयोगी अविद्वान्हरूको दुःखबाट जान्न योग्य, साना-ठूला पदार्थहरूमा परमात्माको व्याप्ति र आफ्नो आत्मा र अन्तर्यामी परमेश्वरको गतिलाई देखोस् ॥११॥ सबै भूतहरूदेखि निर्वैर, इन्द्रियहरूका दुष्ट विषयहरूको त्याग, वेदोक्त कर्म र अत्युग्रतपश्चरणले यस संसारमा मोक्षपदको पूर्वोक्त संन्यासीले नै सिद्ध गर्न र गराउन सक्दछ, अन्य कुनैले होइन ॥१२॥ जब संन्यासी सबै भावहरूमा अर्थात् पदार्थहरूमा निःस्पृह आकांक्षारहित र सबै बाहिर-भित्रको व्यवहारहरूमा भावले पवित्र हुन्छ, तब नै यस देहमा र मरेपछि पनि सुखलाई प्राप्त गर्दछ ॥१३॥ यसैले ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र संन्यासीहरूलाई योग्य छ कि प्रयत्नले दशलक्षणयुक्त निम्नलिखित धर्मको सेवन नित्य गरोस् ॥१४॥
एक—(धृति) अर्थात् सदा धैर्य राख्नु । दोस्रो—(क्षमा) जुन कि निन्दा-स्तुति, मानाऽपमान, हानि-लाभ आदि दुःखहरूमा पनि सहनशील रहनु । तेस्रो—(दम) मनलाई सदा धर्ममा प्रवृत्त गरेर अधर्मलाई रोकिदिनु अर्थात् अधर्म गर्ने इच्छा कहिल्यै पनि नउठोस् । चौथो—(अस्तेय) चोरीत्याग अर्थात् बिना आज्ञाको छल, कपट, विश्वासघात वा कुनै व्यवहार तथा वेदविरुद्ध उपदेशबाट परपदार्थको ग्रहण गर्नु ‘चोरी’ र यसलाई छोडिदिनु ‘साहुकारी’ भन्दछन् । पाँचौं— (शौच) रागद्वेष पक्षपात छोडेर भित्र, र जल मृत्तिका मार्जन आदिले बाहिरको पवित्रता राखोस् । छैटौं—(इन्द्रियनिग्रह) अर्थात् अधर्माचरणहरूदेखि रोकेर, इन्द्रियहरूलाई धर्ममा नै सदा चलाओस् । सातौं—(धीः) मादकद्रव्य बुद्धिनाशक अन्य-पदार्थ, दुष्टहरूको सङ्ग, आलस्य, प्रमाद आदिलाई छोडेर, श्रेष्ठ पदार्थहरूको सेवन, सत्पुरुषहरूको सङ्ग, योगाभ्यास, धर्माचरण, ब्रह्मचर्य आदि शुभकर्महरूबाट बुद्धिलाई बढाओस्, यसदेखि विपरीत गर्नु अविद्या हो । आठौं—(विद्या) पृथ्वीदेखि लिएर परमेश्वर-पर्यन्त यथार्थज्ञान र तिनबाट यथायोग्य उपकार लेओस् । यस भन्दा विपरीत अविद्या हो । नवौं— (सत्य) जस्तो आत्मामा त्यस्तै मनमा, जस्तो मनमा त्यस्तै वाणीमा र त्यस्तै कर्ममा वर्त्तिनु सत्य, जस्तो जुन पदार्थ छ त्यसलाई त्यस्तै सम्झनु, बोल्नु र गर्नु पनि । तथा दशौं—(अक्रोध) क्रोधादि दोषहरूलाई छोडेर, शान्त्यादि गुण ग्रहण गर्नु नै यी दशौं लक्षण धर्मको हो । यस दशलक्षणयुक्त पक्षपातरहित न्यायाचरण धर्मको सेवन चारै आश्रमकाहरूले गरून् र विशेष काम संन्यासीहरूको यो हो कि यसै वेदोक्त धर्ममा नै आफू चल्नु र अरूलाई पनि सम्झाएर चलाउनु विशेष धर्म हो ॥१५॥ यसै प्रकारले विस्तारै-विस्तारै सबै सङ्गदोषहरूलाई छोडेर, हर्षशोकादि सबै द्वन्द्वदेखि विमुक्त भएर, संन्यासी ब्रह्ममा नै अवस्थित हुन्छ । संन्यासीहरूको मुख्य कर्म यही नै हो कि गृहस्थादि आश्रमहरूलाई सबै प्रकारको व्यवहारहरूको सत्य निश्चय गराएर, अधर्म व्यवहारदेखि छोडाएर, सबै संशयहरूको छेदन गरेर, सत्यधर्मयुक्त व्यवहारमा प्रवृत्त गराओस् ॥१६॥
प्रश्न— संन्यासग्रहण गर्नु ब्राह्मणको मात्रै धर्म हो कि क्षत्रियादिको पनि ?
उत्तर— ब्राह्मणको मात्रै अधिकार हो, किनभने जो सबै वर्णहरूमा पूर्ण विद्वान्, धार्मिक, परोपकारप्रिय मनुष्य हुन्छ, त्यसैको नाम ‘ब्राह्मण’ हो । बिना पूर्णविद्या, धर्म, परमेश्वरको निष्ठा र वैराग्यले संन्यास-ग्रहण गर्नमा संसारको विशेष, उपकार हुन सक्दैन । यसैले लोकश्रुति छ कि ब्राह्मणलाई संन्यासको अधिकार छ, अन्यलाई होइन । यसमा मनुको प्रमाण पनि छ कि—
एष वोऽभिहितो धर्मो ब्राह्मणस्य चतुर्विधः । पुण्योऽक्षयफलः प्रेत्य राजधर्मं निबोधत ॥
—मनुस्मृति (अध्याय ६/९७) ॥
यहाँ मनुमहाराज भन्नुहुन्छ कि हे ऋषिहरू हो ! यो चार प्रकार अर्थात् ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यासाश्रम गर्नु ब्राह्मणको धर्म हो । यहाँ वर्तमानमा पुण्यस्वरूप र शरीर छोडे पश्चात् मुक्तिरूप अक्षय आनन्दलाई दिने संन्यास धर्म नै हो, यसभन्दा अगाडि राजाहरूको धर्म तिमीले मबाट सुन । यसबाट यही सिद्ध हुन्छ कि संन्यासग्रहणको अधिकार मुख्य गरेर ब्राह्मणको हो, र क्षत्रियादिको ब्रह्मचर्याश्रम हो ।
प्रश्न— संन्यास ग्रहणको आवश्यकता के हो ?
उत्तर— जसरी शरीरमा शिरको आवश्यकता छ, त्यसरी नै आश्रमहरूमा संन्यासाश्रमको आवश्यकता छ । किनभने यसको बिना विद्या, धर्म कहिल्यै पनि बढ्न सक्दैन र दोस्रा आश्रमहरूको विद्याग्रहण, गृहकृत्य र तपश्चर्यादिको सम्बन्ध हुनाले अवकाश थोरै मिल्दछ । पक्षपात छोडेर वर्तनु दोस्रा आश्रमहरूमा दुष्कर छ । जसरी संन्यासी सर्वतोमुक्त भएर जगत्को उपकार गर्न सक्दछ, त्यसरी अन्य आश्रमीले गर्न सक्दैन । किनभने संन्यासीलाई जति अवकाश सत्यविद्याबाट पदार्थहरूको विज्ञानको उन्नतिमा मिल्दछ, त्यति अन्य आश्रमकाहरूलाई मिल्दैन । परन्तु जुन ब्रह्मचर्यले संन्यासी भएर जगत्लाई सत्यशिक्षा दिएर जति उन्नति गर्न सक्दछ, त्यति गृहस्थ वा वानप्रस्थ आश्रम गरेर संन्यासाश्रमीले गर्न सक्दैन ।
प्रश्न— संन्यास ग्रहण गर्नु ईश्वरको अभिप्रायदेखि विरुद्ध छ, किनभने ईश्वरको अभिप्राय मनुष्यको बढती गर्नमा नै छ । जब गृहाश्रमले गर्दैन भने त त्यसबाट सन्तान नै हुँदैनन् । यदि संन्यासाश्रम नै मुख्य हो भने, सबै मनुष्यले गरे भने त मनुष्यको मूलच्छेदन हुनजानेछ ।
उत्तर— हेर, विवाह गरेर पनि कतिका सन्तान छैनन्, अथवा भएर पनि शीघ्र नष्ट भएर जान्छन्, फेरि त्यो पनि त ईश्वरको अभिप्रायदेखि विरुद्ध गर्ने भयो नि । तिमीले भनौला कि ‘यत्ने कृते यदि न सिध्यति कोऽत्र दोषः’ यो कुनै कविको वचन हो (पञ्चतन्त्र, मित्रभेद कथा ४/श्लोक २१७) ।
अर्थ— जुन यत्न गर्नाले पनि कार्य सिद्ध नभएमा त त्यसमा कसैको के दोष हुन्छ अर्थात् दोष हुँदैन । हामीले तिमीसँग सोध्छौं कि गृहाश्रममा थुप्रै सन्तान भएर, आपसमा विरुद्धाचारण गरेर लड्दै मरेभने हानि कति ठूलो हुन्छ ? सम्झिनु विरोधबाट लडाईं बढी हुन्छ । जब संन्यासीले एक वेदोक्त धर्मको उपदेशबाट परस्पर प्रीति बढाउनेछ भने त लाखौं मनुष्यलाई बचाउँछ । हजारौं गृहस्थको तुल्य मनुष्यको बढती गराइदिने छ । सबै मनुष्यले संन्यासग्रहण गर्न नै सक्दैनन्, किनभने सबैको विषयासक्ति कहिल्यै पनि छुट्न सक्दैन । जुन-जुन संन्यासीहरूको उपदेशले धार्मिक मनुष्य हुनेछन्, ती सबैलाई जान्नु कि संन्यासीकै पुत्र-तुल्य हुन् ।
प्रश्न— संन्यासीहरू भन्दछन् कि हामीलाई कुनै कर्तव्य छैन । अन्न-वस्त्र लिएर आनन्दमा रहनु, अविद्यारूप संसारमा माथापच्ची किन गर्नु । आफूलाई ब्रह्म मानेर सन्तुष्ट रहनु, कोही आएर सोधेमा त्यसलाई त्यस्तै उपदेश दिनु कि तँ पनि ब्रह्म होस् । तँलाई पाप-पुण्य लाग्दैन, किनभने शीतोष्ण शरीर, क्षुधा-तृष्णा प्राण, र सुख-दुःख मनको धर्म हो । जगत् मिथ्या हो र जगत्को व्यवहार पनि सबै कल्पित अर्थात् झुट्टा हुन्, त्यसैले यिनमा फस्नु बुद्धिमानीहरूको काम होइन । जे-जति पाप-पुण्य हुन्छ, त्यो त देह र इन्द्रियहरूको धर्म हो, आत्माको होइन, इत्यादि उपदेश गर्दछन्, र तपाईंले त अरू नै संन्यासको धर्म बताउनुभयो । अब हामीले कसलाई साँचो मान्ने ।
उत्तर— के तिनीहरूलाई राम्रो कर्म पनि कर्तव्य होइन ? हेर ! ‘वैदिकैश्चैव कर्मभिः’ (मनुस्मृति ६/७५) मनुजीले ‘वैदिक कर्म’, जुन धर्मयुक्त सत्य-कर्म हो, त्यसलाई संन्यासीहरूले पनि अवश्य गर्नुपर्दछ भनेर लेख्नुभएको छ । के खान-पानादि कर्म पनि तिनीहरूले छाड्न सक्दछन् र ? जब यी कर्म छुट्दैनन् भने त उत्तम कर्म छोड्नाले तिनीहरू पतित हुने छैनन् ? जब गृहस्थहरूबाट अन्न-वस्त्रादि लिन्छन् भने र तिनको उपकार गर्दैनन् भने त के तिनीहरू महापापी हुँदैनन् ? जस्तै आँखाले हेर्नु, कानले सुन्नु नहोस् त आँखा र कानको हुनु व्यर्थ छ, त्यसरी नै जो संन्यासी सत्योपदेश र वेदादि-सत्यशास्त्रहरूको विचार-प्रचार गर्दैन भने त तिनीहरू पनि जगत्मा व्यर्थै भाररूप हुन् । फेरि अविद्यारूपी संसारमा माथापच्ची किन गर्नु आदि लेख्दछन् र भन्दछन्, त्यस्ता उपदेश गर्नेहरू नै मिथ्यारूप पापी र पापलाई बढाउनेवाला हुन् । जे-जति शरीरादिबाट कर्म गरिन्छन्, ती सबै आत्माको नै र त्यसको फल भोग्नेवाला पनि आत्मा नै हो । जसले जीवलाई ब्रह्म बताउँछन्, तिनीहरू अविद्यानिद्रामा सुत्दछन् । किनभने ‘जीव’ अल्प, अल्पज्ञ र ‘ब्रह्म’ सर्वव्यापक, सर्वज्ञ हो । ब्रह्म नित्य-शुद्ध-मुक्तस्वभावयुक्त छ, र जीव कहिले बद्ध कहिले मुक्त रहन्छ । ब्रह्म सर्वव्यापक सर्वज्ञ हुनाले भ्रम वा अविद्या कहिल्यै हुन सक्दैन, र जीवलाई कहिले विद्या त कहिले अविद्या हुन्छ । ब्रह्म जन्ममरण दुःखलाई कहिल्यै प्राप्त गर्दैन र जीवले प्राप्त गर्दछ, त्यसैले त्यो उनको उपदेश पूर्ण रूपले मिथ्या हो ।
प्रश्न— “संन्यासी सर्वकर्मविनाशी” र अग्नि तथा धातुको स्पर्श गर्दैनन् । यो कुरो साँचो हो कि होइन ?
उत्तर— साँचो होइन । “सम्यङ् नित्यमास्ते यस्मिन् यद्वा सम्यङ् न्यस्यन्ति दुःखानि कर्माणि येन स संन्यासः, स प्रशस्तो विद्यते यस्य स संन्यासी” जुन ब्रह्म र उसको आज्ञामा उपविष्ट अर्थात् स्थित र जसमा दुष्ट-कर्महरूको त्याग गरियोस् त्यो संन्यास, त्यो उत्तम स्वभाव जसमा हुन्छ, त्यसलाई संन्यासी भनिन्छ । त्यसैले सुकर्मको कर्ता र दुष्ट-कर्महरूको विनाश गर्नेवालालाई नै संन्यासी भन्दछन् ।
प्रश्न— अध्यापन र उपदेश गृहस्थले गर्दछन्, पुनः संन्यासीको के प्रयोजन छ ?
उत्तर— सत्योपदेश सबै आश्रमीले गरून् र सुनून्, परन्तु जति अवकाश र निष्पक्षपातता संन्यासीलाई हुन्छ, त्यति गृहस्थलाई हुँदैन । हो, जो ब्राह्मण छन्, तिनको यही काम हो कि पुरुष पुरुषहरूलाई र स्त्री स्त्रीहरूलाई सत्योपदेश पढाउने गरून् । जति भ्रमणको अवकाश संन्यासीलाई मिल्दछ, त्यति गृहस्थ ब्राह्मणादिकहरूलाई कहिल्यै पनि मिल्न सक्दैन । जब ब्राह्मण वेदविरुद्ध आचरण गर्दछ तब त्यसको नियन्ता संन्यासी नै हुन्छ । त्यसैले पनि संन्यासको हुनु उचित छ ।
प्रश्न— ‘एकरात्रिं वसेद् ग्रामे’ [—तुलना नारदपरिव्राजकोपनिषद् उपदेश (४/१४)] इत्यादि वचनहरूबाट संन्यासीले एक ठाउँमा एक रात्रि मात्र रहनु; अधिक निवास गर्नुहुँदैन ।
उत्तर— यो कुरो थोरै अंशमा त ठीकै हो कि एकै ठाउँमा वास गर्नाले जगत्को उपकार अधिक हुन सक्दैन र स्थानान्तरको पनि अभिमान हुन जान्छ, राग-द्वेष पनि अधिक हुन्छ, परन्तु जो विशेष उपकार एक ठाउँमा रहनाले हुन्छ भने त भैरहोस् । जसरी राजा जनककहाँ चार-चार महिनासम्म पञ्चशिखादि र अन्य संन्यासी कयौं वर्षसम्म निवास गर्दथे । फेरि ‘एकै ठाउँमा मात्र रहन हुँदैन’ यो कुरा आजभोलिका पाखण्डी सम्प्रदायीहरूले बनाएका हुन् । किनभने जो संन्यासी एक ठाउँमा अधिक रह्यो भने त हाम्रो पाखण्ड खण्डित भएर, अधिक बढ्न सक्नेछैन ।
प्रश्न— यतीनां काञ्चनं दद्यात्ताम्बूलं ब्रह्मचारिणाम् । चौराणामभयं दद्यात् स नरो नरकं व्रजेत् ॥
—तुलना [लघु पराशर स्मृति (अध्याय १/श्लोक ५१)] ॥
इत्यादि वचनहरूको अभिप्राय यही हो कि संन्यासीहरूलाई जसले सुवर्ण दान दिन्छ भने त दाताले नरकलाई प्राप्त गर्दछ ।
उत्तर— यो कुरो पनि वर्णाश्रमविरोधी, सम्प्रदायी र स्वार्थसिन्धुवाले पौराणिकहरूले कल्पिएका हुन्, किनभने संन्यासीहरूलाई धन मिल्यो भने त तिनीहरूले हाम्रो खण्डन धेरै गर्न सक्नेछन् र हाम्रो हानि हुनेछ तथा तिनीहरू हाम्रो आधीन पनि रहने छैनन् । जब भिक्षादि-व्यवहार हाम्रो आधीन रहेमा त डराइ रहनेछन् । जब मूर्ख र स्वार्थीलाई दान दिनमा राम्रो सम्झन्छन् भने त विद्वान् र परोपकारी संन्यासीलाई दिनमा केही पनि दोष हुन सक्दैन, हेर—
विविधानि च रत्नानि विविक्तेषूपपादयेत् ॥ —मनुस्मृति (अध्याय ११/श्लोक ६) ॥
नाना प्रकारको रत्न सुवर्णादि धन (विविक्त) अर्थात् संन्यासीहरूलाई देओस् । त्यो बताइएको श्लोक पनि अनर्थक हो । किनभने संन्यासीलाई सुवर्ण दिनाले यजमान नरकमा जान्छ भने चाँदी, मोती, हीरा आदि दिनाले स्वर्गमा जानेछ ।
प्रश्न— यहाँ पण्डितजीले यसको पाठ बोल्न भुले । यहाँ यस्तो छ कि ‘यतिहस्ते धनं दद्यात्’ अर्थात् जसले संन्यासीहरूको हातमा धन दिन्छ, त्यो नरकमा जान्छ ।
उत्तर— यो पनि वचन अविद्वान्ले कपोलकल्पनाले रचेको हो । किनभने जो हातमा दान दिनाले दाता नरकमा जान्छ भने त, धनको कुम्लो पाउमा राखिदिनाले त स्वर्गमा जानेछ । त्यसैले यस्तो कल्पना मान्न योग्य छैन । हो, यो कुरो त हो कि जो संन्यासीले योगक्षेम भन्दा अधिक राख्यो भने त चोरादिदेखि पीडित र मोहित पनि हुनेछ । परन्तु जो विद्वान् हुन्छ, त्यसले अयुक्त व्यवहार पनि गर्दैन, न त मोहमा फस्दछ नै, किनभने त्यो प्रथम गृहाश्रममा अथवा ब्रहमचर्यमा सबै थोक भोगेर आएको अथवा देखिसकेको हुन्छ र जुन ब्रह्मचर्यले युक्त हुन्छ, त्यो पूर्ण वैराग्ययुक्त हुनाले कहीं पनि फस्दैन ।
प्रश्न— मान्छेहरू भन्दछन् कि श्राद्धमा संन्यासी आयो भने वा जिउनार गरायो भने त उसका पितृ भाग्दछन् र नरकमा गिर्दछन् ।
उत्तर— प्रथम त मरेका पितृहरू आउनु र गरिएको श्राद्ध मरेका पितृहरूलाई पुग्नु नै असम्भव छ, यो कुरो वेद र युक्तिविरुद्ध हुनाले मिथ्या हो । फेरि जब आउँदैनन् भने त भाग्नु बन्दै बन्दैन, जब आफ्नो पाप-पुण्यको अनुसार ईश्वरको व्यवस्थाले मरणको पश्चात् जीवले जन्म लिन्छ भने त्यो कसरी आउन सक्दछ र ? त्यसैले यो सबै कुरो पेटार्थी, पुराणी र वैरागीहरूको मिथ्या कल्पना हो । हो, यो त ठीक हो कि जहाँ संन्यासी जान्छन्, त्यहाँ मृत-श्राद्ध गर्नु वेदादि-शास्त्रदेखि विरुद्ध हुनाले पाखण्ड दूर हुनेछ ।
प्रश्न— जसले ब्रह्मचर्यबाट संन्यास लिन्छ, त्यसको निर्वाह कठिनताले हुन्छ र कामलाई रोक्नु पनि अति कठिनता छ, त्यसैले साधक जब गृहाश्रम, वानप्रस्थ हुँदै जब वृद्ध हुन्छ, तब नै संन्यास लिनु राम्रो हुन्छ ।
उत्तर— जसले निर्वाह गर्न सक्दैन, इन्द्रियहरूलाई रोक्न सक्दैन, त्यसले ब्रह्मचर्यबाट संन्यास नलेओस्; परन्तु जसले रोक्न सक्दछ त्यसले किन नलेओस् ? जुन पुरुषले विषयको दोष र वीर्यसंरक्षको गुणलाई जानेको छ, त्यो विषयासक्त कहिल्यै पनि हुन सक्दैन, र त्यसको वीर्य विचाराग्निको इन्धनवत् हुन्छ, अर्थात् त्यसैमा व्यय हुन जान्छ । जसरी वैद्य र औषधिहरूको आवश्यकता रोगीको लागि हो, निरोगीहरूको लागि होइन । त्यसरी नै जुन पुरुष वा स्त्रीलाई विद्या, धर्मवृद्धि र सबै संसारको उपकार गर्नु नै प्रयोजन छ भने, त्यसले विवाह नगरोस् । जसरी पञ्चशिखादि पुरुष र गार्गी आदि स्त्रीहरू भएका थिए । त्यसैले सन्यासीको हुनु अधिकारीहरूको लागि राम्रो हो । फेरि जो अनधिकारीले संन्यास ग्रहण गर्दछ भने आफू पनि डुब्दछ र अरूलाई पनि डुबाउँछ । जसरी ‘सम्राट्’ सर्वोपरि चक्रवर्ती राजा हुन्छ भने, त्यसरी नै ‘परिव्राट्’ संन्यासी हुन्छ । प्रत्युत राजा आफ्नो देश वा सम्बन्धीहरूमा सत्कार पाउँछ, र संन्यासी चाहिं सर्वत्र पूजित हुन्छ ।
विद्वत्त्वं च नृपत्वं च नैव तुल्यं कदाचन । स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते ॥
—यो चाणक्यशतकको श्लोक हो ॥
विद्वान् र राजा कहिल्यै तुल्य हुँदैनन् । किनभने राजाले आफ्नो देशमा मात्रै मान पाउँछ र विद्वान्को सर्वत्र प्रतिष्ठा हुन्छ ॥ त्यसैले विद्या पढ्ने, सुशिक्षा लिने र बलवान् हुने आदिको लागि ब्रह्मचर्य; सबै प्रकारको उत्तम व्यवहार सिद्ध गर्ने अर्थमा गृहस्थ; विचार, ध्यान र ज्ञान बढाउने, र तपश्चर्या गर्नको लागि वानप्रस्थ; र वेदादि-सत्यशास्त्रहरूको प्रचार, धर्म-व्यवहारको ग्रहण र दुष्ट-व्यवहारको त्याग, सत्योपदेश र सबैलाई निःसन्देह गर्नको लागि संन्यास-आश्रम हो । परन्तु जसले यस संन्यासको मुख्य-धर्म सत्योपदेशादि गर्दैनन्, तिनीहरू पतित र नरकगामी हुन् । त्यसैले संन्यासीहरूलाई यो उचित छ कि सदा सत्योपदेश, शङ्कासमाधान, वेदादि-सत्यशास्त्रहरूको अध्यापन र वेदोक्त धर्मको वृद्धिमा प्रयत्न गरेर सबै संसारको उन्नति गर्ने गरोस् ।
प्रश्न— जो संन्यासीदेखि अन्य साधु, वैरागी, गुसाईं आदि छन्, तिनीहरूलाई पनि संन्यासाश्रममा गनिन्छ कि गनिंदैन ?
उत्तर— गनिंदैन, किनभने तिनीहरूमा संन्यासको लक्षण छैन । तिनीहरू वेदविरुद्ध मार्गमा प्रवृत्त भएर वेद भन्दा आफ्ना सम्प्रदायका आचार्यहरूको वचनलाई मान्दछन् र आफ्नै मतको प्रशंसा गर्दछन्, मिथ्या प्रपञ्चमा फसेर आफ्नो स्वार्थको लागि दोस्रालाई आफ्नो-आफ्नो मतमा फसाउँछन् । सुधार गर्नु त टाढाको कुरा, त्यसको बदलामा संसारलाई बहकाएर अधोगतिलाई प्राप्त र आफ्नो प्रयोजन साँध्छन्, त्यसैले यिनलाई संन्यासाश्रममा गनिंदैन । किन्तु यी स्वार्थाश्रमी त पक्कै हुन्, यसमा कुनै सन्देह छैन ।
संन्यासी आफू स्वयं धर्ममा चल्दछ र अरू सबै संसारलाई पनि धर्ममा चलाउँछ । आफू र सबै संसारलाई यसलोक अर्थात् वर्तमान जन्ममा तथा परलोक अर्थात् अर्को जन्ममा स्वर्ग अर्थात् सुख भोग गर्ने-गराउने धर्मात्माजन नै असली संन्यासी र महात्मा हुन् । यो संन्यासको शिक्षा संक्षेपमा लेखियो र यस भन्दा अगाडि राजाप्रजाधर्मको बारेमा लेख्ने छु ।
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते वानप्रस्थसंन्यासाश्रमविषये
पञ्चमः समुल्लासः सम्पूर्णः ॥५॥
Comments
Post a Comment