सातौं समुल्लास





ईश्वर एवं वेद विषयमा विस्तृत व्याख्या (७.१)
ऋ॒चो अ॒क्षरे॑ प॒रमे व्यो॑म॒न् यस्मि॑न्दे॒वा अधि॒ विश्वे॑ निषे॒दुः ।
यस्तन्न वेद॒ किमृ॒चा क॑रिष्यति॒ च इत्तद्वि॒दुस्त इ॒मे समा॑सते ॥१॥
—ऋग्वेद (मण्डल १/सूक्त १६४/मन्त्र ३९) ॥
ई॒शा वा॒स्य॒मि॒द सर्वं॒ यत्किञ्च॒ जग॑त्या॒ञ्जग॑त् ।
तेन॑ त्य॒क्तेन॑ भुञ्जीथा॒ मा गृ॑धः॒ कस्य॑ स्वि॒द्धन॑म् ॥२॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र १) ॥
अ॒हम्भु॑वं॒ वसु॑नः पू॒र्व्यस्पति॑र॒हं धना॑नि॒ सं ज॑यामि॒ शश्व॑तः ।
मां ह॑वन्ते पि॒तरं॒ न ज॒न्तवो॒ऽहं दा॒शुषे॒ वि भजामि॒ भोज॑नम् ॥३॥
—ऋग्वेद (मण्डल १०/सूक्त ४८/मन्त्र १) ॥
अ॒हमिन्द्रो॒ न परा॑ जिग्य॒ इद्धनं॒ न मृ॒त्यवेऽव॑तस्थे॒ कदा॑ च॒न ।
सोम॒मिन्मा॑ सु॒न्वन्तो॑ याचता॒ वसु॒ न मे॑ पूरवः स॒ख्ये रि॑षाथन ॥४॥
—ऋग्वेद (मण्डल १०/सूक्त ४८/मन्त्र ५) ॥
अ॒हं दां॑ गृण॒ते पूर्व्यं॒ वस्व॒हं ब्रह्म॑ कृणवं॒ मह्यं॒ वर्धनम् ।
अ॒हं भु॑वं॒ यज॑मानस्य चोदि॒ताऽय॑ज्वनः साक्षी॒ विश्व॑स्मिन्भरे ॥५॥
—ऋग्वेद (मण्डल १०/सूक्त ४९/मन्त्र १) ॥
हि॒रण्य॒ग॒र्भः सम॑वर्त्त॒ताग्रे॑ भू॒तस्य॑ जा॒तः पति॒रेक॑ऽआसीत् ।
स दा॑धार पृथि॒वीं द्यामु॒तेमां कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम ॥६॥
—यजुर्वेद (अध्याय १३/मन्त्र ४) ॥
(ऋ॒चो अ॒क्षरे॑) यस मन्त्रको अर्थ ब्रह्मचर्याश्रमको शिक्षा (पृष्ठ ६४) मा लेखिसकिएको छ । अर्थात् जो सबै दिव्य गुण-कर्म-स्वभाव-विद्यायुक्त र जसमा पृथ्वी सूर्यादि लोक स्थित छन् र जो आकाशकै समान व्यापक, सबै देवहरूका पनि देव परमेश्वर हो; त्यसलाई जो मनुष्यले जान्दैनन्, मान्दैनन् र उसको ध्यान गर्दैनन् भने, ती नास्तिक र दुःखी हुन्छन् । त्यसैले उसै परमेश्वरलाई जानेर सबै मनुष्य सुखी हुन्छन् ॥१॥

ईश्वरको विषयमा प्रश्नोत्तरहरू (७.२)
प्रश्न— वेदमा ईश्वर अनेक छन्, यस कुरालाई तिमीले मान्दछौ कि मान्दैनौ ?
उत्तर— मान्दैनौं, किनभने चारै वेदहरूमा यस्तो कहीं पनि लेखिएको छैन जसबाट ईश्वर अनेक सिद्ध हुन्छ । किन्तु यो त लेखिएको छ कि ईश्वर एक छ ।
प्रश्न— वेदमा जुन अनेक देवता लेखिएको छ, त्यसको के अभिप्राय हो ?
उत्तर‘देवता’ दिव्य गुणहरूले युक्त हुनाको कारणले भनिएको हो, जस्तै कि पृथ्वी, परन्तु कहीं पनि यसलाई ईश्वर वा उपासनीय मानिएको छैन । हेर ! यसै मन्त्रमा कि ‘जसमा सबै देवता स्थित छन्, त्यो जान्न र उपासना गर्न योग्य ईश्वर हो ।’ यो तिनीहरूको भुल हो जुन देवता शब्दले ईश्वरको ग्रहण गर्दछन् । परमेश्वर देवहरूका पनि देव हुनाले ‘महादेव’ यसैले भनिन्छ कि वही सबै जगत्‌को उत्पत्ति-स्थिति-प्रलयकर्ता, न्यायाधीश, अधिष्ठता हो । ‘त्रयस्त्रिंशत्त्रिंशता०’ [तुलना—यजुर्वेद (अध्याय १४/मन्त्र ३१)] इत्यादि वेदमा प्रमाण छ, यसको व्याख्या (शतपथ कां.१४/प्रपा.५/ब्रा.७/कं.४) मा गरिएको छ कि तेत्तीस देव अर्थात् पृथ्वी, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्यनक्षत्र सबै सृष्टिको निवासस्थान हुनाले आठ ‘वसु’प्राण, अपान, व्यान, उदान, समान, नाग, कूर्म्म, कृकल, देवदत्त, धनञ्जयजीवात्मा यी एघार ‘रुद्र’ यस कारणले भनिन्छ कि जब शरीरलाई छोड्दछौं तब रोदन गराउनेवाला हुन्छन् । वर्षका बाह्र महिनाले सबैका आयु लैजाने हुनाले ती बाह्र महिना नै ‘बाह्र आदित्य’ । परम ऐश्वर्यको हेतु हुनाले बिजुलीको नाम ‘इन्द्र’ । यज्ञलाई ‘प्रजापति’ भन्नाको कारण यो हो कि जसबाट वायु, वृष्टि, जल, औषधिको शुद्धि, विद्वान्‌हरूको सत्कार र नाना प्रकारको शिल्पविद्याबाट प्रजाको पालन हुन्छ । यी तेत्तीस पूर्वोक्त गुणहरूको योगले ‘देव’ भनिन्छ । यिनका स्वामी र सबै भन्दा ठूला हुनाले परमात्मा चौंतीसौं उपास्यदेव शतपथको चौधौं काण्डमा स्पष्टसँग लेखिएको छ । यसै प्रकारले अन्यत्र पनि लेखिएको छ । यदि तिनीहरूले यी शास्त्रलाई हेरेका अथवा अध्ययन गरेका हुन्थे भने त वेदहरूमा अनेक ईश्वर मान्नेरूप भ्रमजालमा गिरेर झुट्टो किन बोल्दथे ? ॥१॥
हे मनुष्यहरू हो ! जे-जति यस संसारमा जगत् छ, त्यस सबैमा नियन्ता व्याप्त भएर रहेको छ, त्यसैलाई ईश्वर जान, उससँग डराउँदै तैंले अन्यायबाट कसैको धनको आकांक्षा नगर्नू । त्यस्तो अन्यायको त्याग र न्यायाचरणरूप धर्मबाट आफ्नो आत्माले आनन्दलाई भोग ॥२॥
ईश्वरले सबैलाई उपदेश गर्दछ कि— हे मनुष्यहरू हो ! म ईश्वर सबैको पूर्व विद्यमान, सबै जगत्‌को पति हूँ । म सनातन जगत्‌कारण र सबै धनलाई विजय गर्नेवाला र दाता हूँ; मलाई नै सबै जीव जसरी पितालाई सन्तानले पुकार्दछन् त्यसरी नै पुकार । म सबैलाई सुख दिन जगत्‌को लागि नाना प्रकारको भोजनहरूको विभाग पालनको लागि गर्दछु ॥३॥
म परमैश्वर्य्यवान् सूर्यकै समान सबै जगत्‌को प्रकाशक हूँ । कहिल्यै पराजयलाई प्राप्त हुन्न र न कहिल्यै मृत्युलाई प्राप्त गर्दछु, म नै जगत्रूप धनको निर्माता हूँ, सबै जगत्‌को उत्पत्ति गराउनेवाला मलाई नै जान; हे जीवहरू हो ! ऐश्वर्य्य प्राप्तिको यत्न गर्दै तिमीहरूले विज्ञानादि धनलाई मसँग माग र तिमीहरू मेरो मित्रतादेखि अलग नहुनू ॥४॥
हे मनुष्यहरू हो ! मैले सत्यभाषणरूप स्तुति गर्ने मनुष्यहरूको लागि सनातन ज्ञानादि धन दिन्छु । म ब्रह्म अर्थात् वेदको प्रकाशक र त्यो वेद यथावत् मेरो वर्णन गर्दछ, त्यस वेदबाट सबैलाई ज्ञान बढाउँछु; म सत्पुरुषको प्रेरक, यज्ञ गर्नेहरूका लागि फलदाता र यस विश्वमा जे-जति छ, ती सबै कार्यलाई बनाउने र धारण गर्नेवाला हूँ, त्यसैले तिमीहरूले मलाई छोडेर कुनै दोस्रालाई मेरो स्थानमा नपूज्नू, नमान्नू र नजान्नू ॥५॥
हि॒रण्य॒ग॒र्भः सम॑वर्त्त॒ताग्रे॑ भू॒तस्य॑ जा॒तः पति॒रेक॑ऽआसीत् ।
स दा॑धार पृथि॒वीं द्यामु॒तेमां कस्मै॑ दे॒वाय॑ ह॒विषा॑ विधेम ॥६॥
—यजुर्वेद (यजुर्वेद १३/मन्त्र ४) ॥
    हे मनुष्यहरू हो ! जो सृष्टिको पूर्व सबै सूर्यादि तेजवाला लोकहरूको उत्पत्ति-स्थान, आधार र जे-जति उत्पन्न भएको थियो, छ र हुनेछ, त्यसको स्वामी थियो, छ र हुनेछ; उसैले पृथ्वीदेखि लिएर सूर्यलोक-पर्य्यन्त सृष्टिलाई बनाएर धारण गरिरहेको छ । उसै सुखस्वरूप परमात्माको नै भक्ति जसरी हामीले गर्दछौं, त्यसरी नै तिमीहरूले पनि गर्ने गर ॥६॥
प्रश्न— तिमी ईश्वर-ईश्वर भन्दछौ, त्यसको सिद्धि कुन प्रकारबाट गर्दछौ ?
    उत्तर— सबै प्रत्यक्षादि प्रमाणहरूबाट ।
    प्रश्न— ईश्वरमा प्रत्यक्ष प्रमाण कहिल्यै पनि घट्न सक्दैन ।
    उत्तरइन्द्रियार्थसन्निकर्षोत्पन्नं ज्ञानमव्यपदेश्यमव्यभिचारि व्यवसायात्मकं प्रत्यक्षम् ॥
 —गौतमकृत न्यायदर्शन (अध्याया १/आह्निक १/सूत्र ४) ॥
जुन कान, छाला, आँखा, जिब्रो, नाक र मनको; शब्द, स्पर्श, रूप, रस, गन्ध, सुख-दुःख, सत्यासत्य विषयहरूको साथमा सम्बन्ध हुनाले ज्ञान उत्पन्न हुन्छ, त्यसैलाई ‘प्रत्यक्ष’ भन्दछन्, परन्तु त्यो निर्भ्रम होस् । अब विचार गर्नुपर्दछ कि इन्द्रियहरू र मनबाट गुणहरूको प्रत्यक्ष हुन्छ गुणीको होइन । जसरी चारै त्वचा आदि इन्द्रियहरूबाट स्पर्श, रूप, रस र गन्धको ज्ञान हुनाले गुणी जो पृथ्वी उसको आत्मायुक्त मनबाट प्रत्यक्ष गरिन्छ, त्यसरी नै यस प्रत्यक्ष सृष्टिमा रचना विशेष आदि ज्ञानादि गुणहरूको प्रत्यक्ष हुनाले परमेश्वरको पनि प्रत्यक्ष हुन्छ । फेरि जब आत्माले मन र मनले इन्द्रियहरूलाई कुनै विषयमा लगाउँदा वा चोरी आदि नराम्रो वा परोपकार आदि राम्रा कुरा गर्दामा जुन क्षणमा आरम्भ गर्दछ, त्यस समय जीवको इच्छा-ज्ञानादि, उसै इच्छित विषयमाथि झुक्दछ । त्यसै क्षणमा आत्माको भित्रबाट गलत काम गर्नमा भय, शङ्का र लज्जा तथा असल काम गर्नमा अभय, निःशङ्कता र आनन्दोत्साह उठ्दछ । त्यो जीवात्माको तर्फबाट नभई परमात्माको तर्फबाट हुन्छ । फेरि जब जीवात्मा शुद्ध भएर शुद्धान्तःकरणले युक्त योगी समाधिस्थ भएर आत्मा र परमात्माको विचार गर्नमा तत्पर रहन्छ, त्यसलाई त्यति वेलै दुइटै प्रत्यक्ष हुन्छन् । जब परमेश्वरको प्रत्यक्ष हुन्छ भने त अनुमानादिबाट परमेश्वरको ज्ञान हुनमा के सन्देह छ र ? किनभने कार्यलाई देखेर कारणको, नियमलाई देखेर नियन्ताको, सृष्टिलाई देखेर स्रष्टाको अनुमान हुन्छ ।
    प्रश्न— ईश्वर व्यापक छ, वा कुनै देश (स्थान) विशेषमा रहन्छ ?
    उत्तर— व्यापक छ । किनभने यदि एकदेशमा रहन्थ्यो भने त सर्वान्तर्यामी, सर्वज्ञ, सर्वनियन्ता, सबैको स्रष्टा, सबैको धर्ता र प्रलयकर्ता हुन सक्दैन । अप्राप्त देशमा कर्ताको क्रियाको हुन असम्भव हुन्छ ।
प्रश्न— परमेश्वर दयालु र न्यायकारी छ, वा छैन ?
उत्तर— छ ।
प्रश्न— यी दुवै गुण परस्पर विरुद्ध छन् । जहाँ न्याय गरे त दया र दया गरे त न्याय चाहिं छुट्दछ । किनभने ‘न्याय’ त्यसलाई भन्दछन् कि जो कर्ताको कर्मको अनुसार न अधिक न न्यून सुख-दुःख पुर्‍याउनु, र ‘दया’ त्यसलाई भन्दछन् जुन अपराधीलाई बिना दण्ड छोडिदिनु ।
    उत्तर— न्याय र दयाको नाममात्रमा नै भेद हो । किनभने जुन न्यायबाट प्रयोजन सिद्ध हुन्छ, त्यही दयाबाट सिद्ध हुन्छ । दण्ड दिनाको प्रयोजन यो हो कि मनुष्य अपराध गर्नबाट बन्ध भएर दुःखलाई प्राप्त नहोस् । त्यसैलाई दया भनिन्छ जसबाट पराय दुःखहरू छुट्दछन्, र जस्तो अर्थ तिमीले दया र न्यायको गर्‍यौ त्यो ठीक होइन, किनभने जसले जति नराम्रो काम गरेको छ, त्यसलाई त्यति नै त्यस्तै दण्ड दिनुपर्दछ, यसैको नाम ‘न्याय’ हो र यदि अपराधीलाई दण्ड दिइएन भने त दयाको नाश हुन जान्छ । किनभने एक अपराधी डाँकूलाई छोडिदिनु भनेको हज्जारौं धर्मात्मा पुरुषहरूलाई दुःख दिनु हो । जब एउटालाई छोड्नाले हजारौं मनुष्यलाई दुःख प्राप्त हुन्छ भने, त्यो दया कुन प्रकारले हुनसक्दछ ? ‘दया’ त्यही हो कि त्यस डाँकूलाई कारागारमा राखेर पाप गर्नबाट बचाउनु, र त्यस डाँकूलाई मारिदिनाले अन्य हजार मनुष्यमाथि दया प्रकाशित हुन्छ ।
प्रश्न— त्यसो भए दया र न्याय दुई शब्द किन भए ? किनभने जब दुइटै शब्दको अर्थ एउटै हो भने त दुइटा शब्द हुनु व्यर्थ छ, कुनै एक शब्द रहन्थ्यो भने त राम्रो हुन्थ्यो । त्यसैले दया र न्यायको एक प्रयोजन होइन ।
    उत्तर— के एक अर्थको अनेक नाम र एक नामको अनेक अर्थ हुँदैनन् ?
    प्रश्न— हुन्छन् ।
    उत्तर— पुनः तिमीलाई शङ्का किन भयो ?
    प्रश्न— संसारमा सुनिन्छ, त्यसैले ।
    उत्तर— संसारमा त साँचो र झुट्टो दुइटै सुन्ने गरिन्छ, त्यसलाई विचारले निश्चय गर्नु आफ्नो काम हो । ईश्वरको पूरै दया त यो हो कि जसले सबै जीवहरूको प्रयोजन सिद्ध गर्नको लागि सबै पदार्थ उत्पन्न गरेर जगत्‌मा दान दिइराखेको छ । यसदेखि भिन्न ठूलो दया दोस्रो कुनचाहिं छ र ? न्यायको फल जगत्‌मा सुख-दुःखको व्यवस्था अधिक-न्यूनताबाट देखाइरहेको छ । यी दुइटामा यतिमात्रै फरक छ कि मनमा सबैलाई सुख गराउने र दुःख छुटाउने इच्छा र क्रिया गर्नु, त्यो ‘दया’ र बाह्य चेष्टा अर्थात् बन्धन-छेदनादि यथायोग्य दण्ड दिनुलाई ‘न्याय’ भनिन्छ । दुइटैको एक प्रयोजन यो हो कि सबैलाई पाप र दुःखहरूबाट पृथक् गराइदिनु ।
प्रश्न— ईश्वर साकार हो कि निराकार ?
    उत्तरनिराकार, किनभने यदि साकार हुन्थ्यो भने त व्यापक हुन सक्दैन । जब व्यापक हुँदैन भने त सर्वज्ञादि गुण पनि हुन सक्दैन, किनभने परिमित वस्तुमा गुण-कर्म-स्वभाव पनि परिमित रहन्छन् तथा गर्मी-जाडो, भोक-प्यास र रोग, दोष, छेदन-भेदन आदिदेखि रहित हुन सक्दैन । यसबाट यो निश्चित हुन्छ कि ईश्वर निराकार हो । यदि साकार हुन्थ्यो भने त त्यसका नाक, कान, आँखा आदि अवयव बनाउनेवाला अर्कै दोस्रो हुनुपर्दछ । किनभने जो संयोगबाट उत्पन्न हुन्छ त्यसलाई संयुक्त गर्नेवाला निराकार चेतन अवश्य चाहिन्छ । यदि कसैले भन्दछ कि ‘ईश्वरले आफैं स्वेच्छाले आफ्नो शरीर बनाएको हो’ तब त यही कुरो सिद्ध हुन्छ कि शरीर बन्न भन्दा पूर्व निराकार थियो । यसैले त्यो परमात्माले कहिल्यै शरीर धारण गर्दैन, तर निराकार भएर सबै जगत्‌लाई सूक्ष्म आकारबाट स्थूलाकार बनाइदिन्छ भन्ने कुराको बोध हुन्छ ।
प्रश्न— ईश्वर सर्वशक्तिमान् हो कि होइन ?
उत्तर— हो, परन्तु ‘सर्वशक्तिमान्’ शब्दको यतिमात्रै अर्थ हो कि ईश्वरले आफ्नो पालन आदि काम गर्नमा कुनै दोस्राको सामर्थ्यको सहायता लिन पर्दैन किन्तु स्वसामर्थ्यबाट नै सबै आफ्नो काम पूरा गर्दछ ।
    प्रश्न— हामीले यस्तो जान्दछौं कि ईश्वरले जे चाहन्छ त्यही गर्दछ ।
    उत्तर— उसले के र कस्तो चाहन्छ ? यदि तिमीले भन्दछौ कि सबै कुरा चाहन्छ र गर्नसक्दछ त हामीले तिमीसँग सोध्छौं कि परमेश्वर आफूलाई मार्न, अनेक ईश्वर बनाउन, स्वयं अविद्वान्, चोरी, पाप गरेर दुःखी पनि हुन सक्दछ ? जसरी यी कामहरू ईश्वरको गुण-कर्म-स्वभावदेखि विरुद्ध छन् तापनि तिम्रो भनाइ अनुसार “उसले सबै कुरो गर्न सक्दछ” यो कहिल्यै पनि घट्न सक्दैन । त्यसैले सर्वशक्तिमान् शब्दको अर्थ जुन हामीले भनेका छौं, त्यही ठीक हो ।
    प्रश्न— परमेश्वर सादि हो कि अनादि ?
    उत्तर— अनादि । अर्थात् जसको आदि कुनै कारण वा समय नहोस्, त्यसलाई ‘अनादि’ भन्दछन्, इत्यादि सबै अर्थ प्रथम समुल्लासमा गरिएको छ, त्यहाँ (पृष्ठ २१ मा) हेर्नुहोस् ।
    प्रश्न— परमेश्वरले के चाहन्छ ?
    उत्तर— सबैको भलाइ र सबैको लागि सुखको इच्छा गर्दछ, परन्तु स्वतन्त्रताको साथ । कसैलाई बिना पाप नगरी पराधीन गर्दैन ।
ईश्वरको स्तुति, प्रार्थना र उपासना (७.३)
    प्रश्न— परमेश्वरको स्तुति, प्रार्थना र उपासना गर्नुपर्दछ कि पर्दैन ?
    उत्तर— गर्नुपर्दछ ।
प्रश्न— के स्तुति आदि गर्नाले ईश्वरले आफ्नो नियमलाई छोडेर स्तुति, प्रार्थना गर्नेहरूलाई पापदेखि छुटाइदिन्छ ?
    उत्तर— होइन ।  
    प्रश्न— त्यसो भए स्तुति, प्रार्थना किन गर्ने ?
    उत्तर— त्यसलाई गर्नुको फल अन्य नै छ ।
    प्रश्न— के हो ?
उत्तर— स्तुतिले ईश्वरमा प्रीति, उसको गुण-कर्म-स्वभावले आफ्नो गुण-कर्म-स्वभावलाई सुधार्नु; प्रार्थनाबाट निरभिमानता, उत्साह र सहायता मिल्नु; उपासनाले परब्रह्मसँग मेल र त्यसको साक्षात्कार हुनु ।
    प्रश्न— यी कुरालाई अझ स्पष्ट गरेर बुझाऊ ।
    उत्तर— जस्तै—
        स पर्य॑गाच्छु॒क्रम॑का॒यम॑व्र॒णम॑स्नावि॒र शु॒द्धमपा॑पविद्धम् ।
        क॒विर्म॑नी॒षी प॑रि॒भूः स्व॑य॒म्भूर्या॑थातथ्य॒तोऽर्था॒न् व्य॒दधाच्छाश्व॒तीभ्यः॒ समा॑भ्यः ॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र ८) ॥
ईश्वरको स्तुति— त्यो परमात्मा सबैमा व्यापक, शीघ्रकारी र अनन्त बलवान् जो शुद्ध, सर्वज्ञ, सबैको अन्तर्यामी, सर्वोपरि विराजमान, सनातन, स्वयंसिद्ध, परमेश्वर आफ्नो जीवरूप सनातन अनादि प्रजालाई आफ्नो सनातन विद्याले यथावत् अर्थहरूको बोध वेदद्वारा गराउँदछ, यो ‘सगुण-स्तुति’ अर्थात् जुन-जुन गुणले सहित परमेश्वरको स्तुति गर्नु त्यो सगुण, र अकाय अर्थात् उसले कहिल्यै पनि शरीर धारण वा जन्म लिंदैन, जसमा छिद्र हुँदैन र जुन नाडी आदि बन्धनमा आउँदैन, र कहिल्यै पापाचरण गर्दैन, जसमा क्लेश, दुःख, अज्ञान कहिल्यै हुँदैन, इत्यादि जुन-जुन राग द्वेषादि गुणहरूदेखि पृथक् मानेर परमेश्वरको स्तुति गर्नु हो, यसलाई ‘निर्गुण-स्तुति’ भनिन्छ । यसको फल यो हो कि जस्तो परमेश्वरको गुण छन् त्यस्तै नै गुण-कर्म-स्वभाव आफ्नो पनि गर्नु । जसरी ऊ न्यायाकारी छ त्यसरी नै आफू पनि न्यायाकारी हुनु । र जसले केवल भाटकै समान परमेश्वरको गुणकीर्तन गर्दै जान्छ तर आफ्नो चरित्रलाई सुधार्दैन, त्यसले स्तुति गर्नु व्यर्थ छ ।
प्रार्थना—
यां मे॒धां दे॑वग॒णाः पि॒तर॑श्चो॒पास॑ते । तया॒ माम॒द्य मे॒धयाऽग्ने॑ मे॒धावि॑नं कुरु॒ स्वाहा॑ ॥१॥
—यजुर्वेद (अध्याय ३२/मन्त्र१४) ॥
तेजो॑ऽसि॒ तेजो॒ मयि॑ धेहि वी॒र्य्यमसि वी॒र्य्यं मयि॑ धेहि॒ । बल॑मसि॒ बलं॒ मयि॑ धे॒हि ।
ओजो॒ऽस्योजो॒ मयि॑ धेहि । म॒न्युर॑सि म॒न्युं मयि॑ धेहि सहो॑ऽसि॒ सहो॒ मयि॑ धेहि ॥२॥
—यजुर्वेद (अध्याय १९/मन्त्र ९) ॥
यज्जाग्र॑तो दू॒रमु॒दैति॒ दैवं॒ तदु॑ सु॒प्तस्य॒ तथै॒वैति॑ ।
दूर॒ङ्ग॒मं ज्योति॑षां॒ ज्योति॒रेकं॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥३॥
येन॒ कर्मा॑ण्य॒पसो॑ मनी॒षिणो॑ य॒ज्ञे कृण्वन्ति॑ वि॒दथे॑षु धीराः॑ ।
यद॑पू॒र्वं य॒क्षम॒न्तः प्र॒जानां॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥४॥
यत्प्र॒ज्ञान॑मु॒त चेतो॒ धृति॑श्च॒ यज्ज्योति॑र॒न्तर॒मृतं॑ प्र॒जासु॑ ।
यस्मा॒न्नऽऋ॒ते किं च॒न कर्म॑ क्रि॒यते॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥५॥
येने॒दं भू॒तं भुव॑नं भवि॒ष्यत्परि॑गृहीतम॒मृते॑न॒ सर्व॑म् ।
येन॑ य॒ज्ञस्ता॒यते॑ स॒प्त हो॑ता॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥६॥
यस्मि॒न्नृचः॒ साम॒ यजू॑षि॒ यस्मि॒न्प्रति॑ष्ठिता रथना॒भावि॑वा॒राः ।
यस्मिँ॑श्चि॒त्तसर्व॒मो॒तं॑ प्र॒जानां॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥७॥
सु॒षा॒र॒थिरश्वा॑निव॒ यन्म॑नु॒ष्या॒न्ने॑नी॒यते॒ऽभीशु॑भिर्वा॒जिन॒ऽइव ।
हृ॒त्प्रति॑ष्ठं॒ यद॑जि॒रं जवि॑ष्ठं॒ तन्मे॒ मनः॑ शि॒वस॑ङ्कल्पमस्तु ॥८॥
—यजुर्वेद (अध्याय ३४/ मन्त्र १-६)
हे ‘अग्ने’ अर्थात् स्वप्रकाशस्वरूप परमेश्वर ! तपाइँको स्वकृपाले जुन बुद्धिको उपासना विद्वान्, ज्ञानी र योगीहरू गर्दछन् त्यसै बुद्धिले युक्त हामीलाई यसै वर्तमान समयमा पनि बुद्धिमान् बनाउनुहोस् ॥१॥ प्रभो ! तपाईं प्रकाशस्वरूप हुनुहुन्छ, कृपा गरेर ममा पनि प्रकाश स्थापन गरिदिनुहोस् । तपाईं अनन्त फराक्रमयुक्त हुनुहुन्छ, ममा कृपा-कटाक्षले पूर्ण पराक्रलाई धारण गराइदिनुहोस् । तपाईं अनन्त बलयुक्त हुनुहुन्छ, त्यसैले ममा पनि बल धारण गराइदिनुहोस् । तपाईं अनन्त सामर्थ्ययुक्त हुनुहुन्छ, मलाई पनि सामर्थ्य दिनुहोस् । तपाईं दुष्ट काम र दुष्टहरूमाथि क्रोधकारी हुनुहुन्छ, मलाई पनि त्यस्तै गराइदिनुहोस् । तपाईं निन्दा, स्तुति र स्वअपराधीहरूलाई सहन गर्नुहुन्छ, कृपा गरेर मलाई पनि त्यस्तै बनाइदिनुहोस् ॥२॥ हे दयानिधे ! तपाईंको कृपाले— ‘जो मेरो मन जागेको अवस्थामा दूर-दूरसम्म जान्छ, दिव्यगुणयुक्त रहन्छ, र फेरि त्यही सुतेको अवस्थामा मेरो मन सुषुप्तिलाई प्राप्त हुन्छ वा स्वप्नमा दूर-दूर गएकै समानले व्यवहार गर्दछ, सबै प्रकाशकहरूका पनि प्रकाशक, एक यो’ मेरो मन ‘शिवसङ्कल्प’ अर्थात् आफ्नो र अरू प्राणीहरूको अर्थ कल्याणको सङ्कल्प गर्ने बनोस् । कसैको हानि गर्ने इच्छायुक्त कहिल्यै पनि नहोस् ॥३॥ हे सर्वान्तर्यामी ! जसबाट कर्म गर्नको लागि धैर्ययुक्त विद्वान्‌हरू यज्ञ र युद्धादिमा कर्म गर्दछन्; जुन अपूर्व सामर्थ्ययुक्त, पूजनीय र प्रजाको भित्र रहने गर्दछ, त्यो मेरो मन धर्म गर्ने इच्छायुक्त भएर अधर्मलाई सर्वथा छोडिदेओस् ॥४॥ जुन उत्कृष्ट ज्ञान र दोस्रालाई चेताउने निश्चयात्मकवृत्ति छ, र जो प्रजाहरूमा भित्र प्रकाशयुक्त र नाशरहित छ; जसको बिना कसैले केही पनि कर्म गर्न सक्दैन, त्यो मेरो मन शुभ गुणहरूको इच्छा गरेर दुष्ट गुणहरूदेखी पृथक् रहोस् ॥५॥ हे जगदीश्वर ! जसबाट सबै योगीहरूले यी सबै भूत, भविष्यत्, वर्तमानको व्यवहारहरूलाई जान्दछन्, जुन नाशरहित जीवात्मालाई परमात्माको साथमा मिलाएर सबै प्रकारले त्रिकालज्ञ गराउँदछ, जसमा ज्ञान र क्रिया छ; पाँच ज्ञानेन्द्रिय, बुद्धि र आत्मायुक्त रहन्छ, त्यस योगरूप यज्ञ जसबाट बढ्दछ, त्यो मेरो मन योग-विज्ञानयुक्त भएर अविद्यादि क्लेशहरूदेखि पृथक् रहोस् ॥६॥ हे परमविद्वन् परमेश्वर ! तपाईंको कृपाबाट जुन मेरो मनमा जसरी रथको मध्य धुरा (अक्ष) मा आरा (मदानी) लागेका हुन्छन्, त्यसरी नै ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद पनि प्रतिष्ठित हुन्छन्; र जसमा सर्वज्ञ, सर्वव्यापक, प्रजाको साक्षी चित्त चेतन विदित हुन्छ, त्यो मेरो मन अविद्याको अभाव गरेर विद्याप्रिय सदा रहोस् ॥७॥ हे सर्वनियन्तः ईश्वर ! जुन मेरो मन डोरीले घोडाको समान अथवा घोडाहरूको नियन्ता सारथिकै तुल्य मनुष्यहरूलाई अत्यन्त यता-उता डुलाउँछ; जुन हृदयमा प्रतिष्ठित, गतिमान् र अत्यन्त वेगशाली छ, त्यो मेरो मन सबै इन्द्रियहरूलाई अधर्माचरणदेखि रोकेर धर्मपथमा सदा चलाउने गरोस्, यस्तो कृपा ममाथि गर्नुहोस् ॥८॥
अग्ने॒ नय॑ सु॒पथा॑ रा॒येऽअ॒स्मान् विश्वा॑नि देव व॒युना॑नि वि॒द्वान् ।
यु॒यो॒ध्यस्मज्जु॑हुरा॒णमेनो॒ भूयि॑ष्ठां ते॒ नम॑ऽउक्तिं विधेम ॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र १६) ॥
हे सुखका दाता, स्वप्रकाशस्वरूप, सबैलाई जान्ने परमात्मन् ! तपाईंले हामीलाई श्रेष्ठ मार्गबाट सम्पूर्ण ज्ञान-विज्ञानहरूलाई प्राप्त गराउनुहोस्; र जुन हामीमा कुटिल पापाचरणरूप मार्ग छन्, त्यसदेखि पृथक् गरिदिनुहोस् । त्यसैले हामीहरू तपाईंलाई नम्रतापूर्वक अनेकौं स्तुतिहरू गर्दछौं कि तपाईंले हामीलाई पवित्र गर्नुहोस् । र—
मा नो॑ म॒हान्त॑मुत मा नो॑ऽअर्भ॒कं मा न॒ऽउक्ष॑न्तमु॒त मा न॑ उक्षि॒तम् ।
मा नो॑ वधीः पि॒तरं॒ मोत मा॒तरं॒ मा नः॑ प्रि॒यास्त॒न्वो॒ रुद्र रीरिषः ॥
—यजुर्वेद (अध्याय १६/मन्त्र १५) ॥
हे ‘रुद्र’ ! दुष्टहरूलाई पापको दुःखरूप फल दिएर रुवाउने परमेश्वर ! तपाईं हाम्रा साना-ठूला सबैजनहरू, गर्भस्थ, आमा-बाबु र प्रिय बन्धुवर्ग तथा शरीरको हनन गर्नको लागि प्रेरित नगर्नुहोस्, यस्तो मार्गबाट हामीलाई हिंडाउनुहोस् कि जसमा हामी तपाईंका दण्डनीय नबनौं ।
असतो मा सद् गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्माऽमृतं गमयेति ॥
—शतपथ ब्राह्मण (१४/३/१/३०) को वचन हो ॥
हे परमगुरो परमात्मन् ! तपाईंले हामीलाई असत् मार्गदेखि पृथक् गरेर सन्मार्गमा प्राप्त गराउनुहोस् । अविद्यान्धकारलाई छुटाएर विद्यारूप सूर्यलाई प्राप्त गराउनुहोस्, र मृत्युरोगदेखि पृथक् गरेर मोक्षको आनन्दरूप अमृतलाई प्राप्त गराउनुहोस् । अर्थात् जुन-जुन दोष वा दुर्गुणदेखि परमेश्वर र आफूलाई पनि पृथक् मानेर प्रार्थना गरिन्छ, त्यो विधि-निषेधमुख हुनाले सगुण-निर्गुण प्रार्थना । जो मनुष्यले जुन कुराको प्रार्थना गर्दछ, त्यसलाई त्यस्तै वर्तमान गर्नुपर्दछ अर्थात् जसरी सर्वोत्तम बुद्धिको प्राप्तिको लागि परमेश्वरको प्रार्थना गर्ने, त्यसको लागि जति आफूबाट प्रयत्न हुनसक्दछ, त्यति गर्ने । अर्थात् आफ्नो पुरुषार्थको उपरान्त प्रार्थना गर्नु योग्य हुन्छ । यस्तो प्रार्थना कहिल्यै पनि गर्नहुँदैन कि जसलाई परमेश्वरले स्वीकार गर्दैन जस्तै— ‘हे परमेश्वर ! तपाईंले मेरा शत्रुहरूको नाश, मलाई सबै भन्दा ठूलो, मेरो मात्रै प्रतिष्ठा र मेरो आधीन सबै होऊन्’ इत्यादि । किनभने जब दुइटै शत्रुले एक-अर्काको नाशको लागि प्राथना गरेमा त के परमेश्वरले दुइटैलाई नाश गरिदिने त ? यदि कसैले भन्दछ कि जसको प्रेम अधिक त्यसको प्रार्थना सफल हुन्छ तब हामी भन्दछौं कि जसको प्रेम न्यून हुन्छ, त्यसका शत्रुको पनि नाश हुनुपर्दछ । यस्तो मूर्खताको प्रार्थना गर्दागर्दै कसैले यसो भनेर पनि प्रार्थना गर्नेछन् कि— “हे परमेश्वर ! तपाईंले हामीलाई खाना पकाएर ख्वाउनुहोस्, घरको बढारबुढुर र लिपपोत गरिदिनुहोस्, लुगा धोइदिनुहोस् र खेती-पाती पनि गरिदिनुहोस् ।” यस प्रकारले जो परमेश्वरको भरोसामा अल्छी बनेर बस्दछन्, ती मान्छेहरू महामूर्ख हुन् । किनभने जहाँ परमेश्वरको पुरुषार्थ गर्नको लागि आज्ञा छ, त्यसलाई जो कसैले तोड्दछ भने, त्यसले कहिल्यै पनि सुख पाउँदैन । जसरी—
कु॒र्वन्ने॒वेह कर्मा॑णि जिजीवि॒षेच्छ॒त समाः॑ । ए॒वं त्वयि॒ नान्यथे॒तो॒ऽस्ति॒ न कर्म॑ लिप्यते॒ नरे॑ ॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र २) ॥
परमेश्वरले आज्ञा दिन्छ कि मनुष्य सय वर्ष पर्यन्त अर्थात् जबसम्म बाँचोस्, तबसम्म कर्म गर्दै जिउँने इच्छा गरोस्, कहिल्यै पनि अल्छी नबनोस् । हेर ! सृष्टिको बीचमा जति प्राणी वा अप्राणी छन्, ती सबै आफ्ना-आफ्ना कर्म र यत्न गरी नै रहन्छन् । जस्तै पिपीलिका (कमिला) आदि सदा प्रयत्न गरिराख्दछन्, पृथ्वी आदि सदा घुम्दछन् र वृक्ष आदि सदा बढ्दै-घट्दै रहन्छन्, त्यसरी नै यो दृष्टान्तलाई मनुष्यले पनि ग्रहण गर्नु योग्य छ । जसरी पुरुषार्थ गरिराखेको पुरुषलाई अरूले पनि सहायता गर्दछन्, त्यसरी नै धर्मबाट पुरुषार्थीको सहायता परमेश्वरले पनि गर्दछ । जसरी कामको लायकलाई मात्रै भृत्य (सेवक) राख्दछन्, अन्यलाई होइन । हेर्नको इच्छा हुँदामा नेत्र भएकोलाई नै देखाइन्छ, अन्धालाई होइन । यसै प्रकारले परमेश्वर पनि सबैको उपकार गर्ने प्रार्थनामा सहायक हुन्छ, हानिकारक कर्ममा होइन, जो कसैले ‘गुँड मीठो’ छ भन्दछ भने, त्यसलाई गुँड प्राप्त वा स्वाद प्राप्त कहिल्यै पनि हुँदैन, र जसले यत्न गर्दछ, उसलाई शीघ्र वा विलम्बले गुँड मिलि नै हाल्दछ ।
अब तेस्रो उपासना—
समाधिनिर्धूतमलस्य चेतसो निवेशितस्यात्मनि यत्सुखं भवेत् ।
न शक्यते वर्णयितुं गिरा तदा, स्वयन्तदन्तःकरणेन गृह्यते ॥
                —यो मैत्रायणी उपनिषद् (४/४/९) को वचन हो ॥
जुन पुरुषको समाधियोगबाट अविद्यादि मल नष्ट भएर गएको छ, आत्मस्थ भएर परमात्मामा चित्त जसले लगाएको छ, त्यसलाई परमात्माको जुन योगको सुख मिल्दछ; त्यसलाई वाणीले भनेर सकिंदैन, किनभने त्यस आनन्दलाई जीवात्माले आफ्नो अन्तःकरणबाट ग्रहण गर्दछ । ‘उपासना’ शब्दको अर्थ समीप हुनु हो । अष्टाङ्गयोगबाट परमात्माको समीपस्थ हुन र त्यसलाई सर्वव्यापी, सर्वान्तर्यामीरूपदेखि प्रत्यक्ष गर्नको लागि जुन-जुन काम गनुपर्ने हुन्छ, त्यो-त्यो सबै गर्नुपर्दछ अर्थात्—
तत्र—अहिंसासत्याऽस्तेयब्रह्मचर्याऽपरिग्रहा यमाः ॥
—पातञ्जल योगशास्त्र (साधनपाद/सूत्र ३०) ॥
इत्यादि सूत्र पातञ्जल-योगशास्त्रका हुन्— जसले उपासनाको आरम्भ गर्न चाहन्छ, त्यसको लागि यही आरम्भ हो कि त्यसले कसैसँग वैर नराखोस्, सर्वदा प्रीति गरोस् । सत्य बोलोस्, मिथ्या कहिल्यै नबोलोस्, चोरी नगरोस्, सत्य व्यवहार गरोस् । जितेन्द्रिय होस्, लम्पट नहोस् र निरभिमानी होस्, अभिमान कहिल्यै पनि नगरोस् । यी पाँच प्रकारका ‘यम’ मिलेर उपासनायोगको प्रथम अङ्ग हुन्छ ।
शौचसन्तोषतपःस्वाध्यायेश्वरप्रणिधानानि नियमाः ॥          
—योगसूत्र (साधनपाद/सूत्र ३२) ॥
राग-द्वेष छोडेर भित्रबाट, र जलादिले बाहिरबाट पवित्र रहोस्, धर्मबाट पुरुषार्थ गर्नाले लाभमा न प्रसन्नता र हानिमा न अप्रसन्नता गरोस् । प्रसन्न हुँदै आलस्यलाई छोडेर सदा पुरुषार्थ गर्ने गरोस् । सदा दुःख-सुखहरूको सहन र धर्मको नै अनुष्ठान गरोस्, अधर्मको होइन । सदा सत्य-शास्त्रहरूलाई पढोस्-पढाओस्, सत्पुरुषहरूको सङ्ग गरोस्, र ‘ओङ्कार’ को जप र अर्थ विचार गर्ने गरोस् । आफ्नो आत्मालाई परमेश्वरको आज्ञानुकूल समर्पित गरिदेओस् । यी पाँच प्रकारको ‘नियमहरूलाई’ मिलाएर उपासनायोगको दोस्रो अङ्ग हुन्छ । यस भन्दा अगाडिका कुराहरूका बारेमा ६ अङ्ग योगशास्त्र वा ऋग्वेदादिभाष्यभूमिकामा हेर्नुहोस् ।
जब उपासना गर्न चाहन्छ, तब एकान्त शुद्ध देशमा (ठाउँमा) गएर, आसन जमाएर, प्राणायाम गर्दै, बाह्य विषयहरूदेखि इन्द्रियहरूलाई रोक्दै, मनलाई नाभिप्रदेशमा, हृदय, कण्ठ, नेत्र, शिखा, पिठ्यूँको मध्य हाडमा कुनै स्थानमा स्थिर गरेर, आफ्नो आत्मा र परमात्माको विवेचन गर्दै, परमात्मामा मग्न हुन जानाले संयमी हुन्छ । जब यी साधनहरूलाई गर्नेछ तब त्यसको आत्मा र अन्तःकरण पवित्र भएर सत्यले भरपूर हुन जान्छ । नित्यप्रति ज्ञान-विज्ञानलाई बढाउँदै मुक्तिसम्म पुग्नजान्छ । जसले आठ प्रहरमा एक घडीमात्र पनि यस प्रकारले ध्यान गर्दछ, त्यसले सदा उन्नतिलाई प्राप्त गर्दछ । त्यहाँ सर्वज्ञादि गुणहरूको साथ परमेश्वरको उपासना गर्नु ‘सगुण’ र द्वेष, रूप, रस, गन्ध, स्पर्शादि गुणहरूदेखि पृथक् मानेर, अतिसूक्ष्म आत्माको भित्र-बाहिर व्यापक परमेश्वरमा दृढ स्थित हुन जानु ‘निर्गुणोपासना’ भनिन्छ ।
यसको फल— जसरी जाडोले कठाङ्ग्रिएको पुरुष आगोको नजिक जानाले शीत निवृत्त हुनजान्छ, त्यसै गरी परमेश्वरको समीप प्राप्त हुनाले सबै दोष, दुःख छुटेर परमेश्वरको गुण-कर्म-स्वभावको सदृश जीवात्माको गुण-कर्म-स्वभाव पवित्र हुन जान्छन् । त्यसैले परमेश्वरको स्तुति, प्रार्थना र उपासना अवश्य गर्नुपर्दछ । त्यसैले यसको फल पृथक् हुनेछ, परन्तु आत्माको बल यति बढ्नेछ कि, त्यसले पर्वतको समान दुःख प्राप्त हुँदा पनि हड्बडाउने छैन र सहन गर्न सक्नेछ । के यो सानो कुरो हो त ? र जसले परमेश्वरको स्तुति, प्रार्थना र उपासना गर्दैन, त्यो कृतघ्न र महामूर्ख पनि हुन्छ, किनभने जुन परमात्माले यस जगत्‌का सबै पदार्थ जीवहरूको सुखको लागि दिइराखेको छ, उसको गुणलाई भुल्न जानु, ईश्वरलाई नै नमान्नु ‘कृतघ्नता’‘मूर्खता’ देखि कम होइन ।
ईश्वरका ज्ञानका प्रकारहरू (७.४)
प्रश्न— जब परमेश्वरका कान, आँखा आदि इन्द्रियहरू छैनन् भने, फेरि उसले इन्द्रियहरूको काम कसरी गर्न सक्दछ ?
उत्तर— अपाणिपादो जवनो ग्रहीता पश्यत्यचक्षुः स श्रृणोत्यकर्णः ।
 स वेत्ति विश्वं न च तस्यास्ति वेत्ता तमाहुरग्र्यं पुरुषं पुराणम् ॥
—यो श्वेताश्वतरोपनिषद् (अध्याय ३/मन्त्र १९) को वचन हो ॥
परमेश्वरका हात छैनन्, परन्तु आफ्नो शक्तिरूपी हातबाट सबैको रचना, ग्रहण गर्दछ; खुट्टा छैनन्, परन्तु व्यापक हुनाले सर्वाधिक वेगवान् छ; आँखा छैनन्, परन्तु सबैलाई यथावत् देख्दछ; कान छैनन्, तथापि सबैको कुरा सुन्दछ; अन्तःकरण छैन, परन्तु सबै जगत्‌लाई जान्दछ र उसलाई अवधिसहित जान्नेवाला कोही पनि छैनन्; उसैलाई सनातन, सबै भन्दा श्रेष्ठ, सबैमा पूर्ण हुनाले ‘पुरुष’ भन्दछन् । उसले इन्द्रियहरू र अन्तःकरणको बिना आफ्नो काम आफ्नो सामर्थ्यले गर्दछ ।
प्रश्न— उसलाई धेरै मान्छेहरूले निष्क्रिय र निर्गुण भन्दछन् नि ?
उत्तरन तस्य कार्य्यं करणं च विद्यते, न तत्समश्चाभ्यधिकश्च दृश्यते ।
 परास्य शक्तिर्विविधैव श्रूयते, स्वाभाविकी ज्ञानबलक्रिया च ॥
—यो श्वेताश्वतरोपनिषद् (अध्याय ६/मन्त्र ८) को वचन हो ॥
उसका शरीर र इन्द्रियहरू छैनन्, उसको समान र ऊभन्दा बर्ता पनि अरू कुनै देखिंदैनन्, उसको पराशक्ति नै नाना प्रकारको सुनिन्छ र त्यो स्वभाविकी ज्ञानक्रिया र बलक्रिया हो । अर्थात् परमात्मादेखि कुनै तद्रूप कार्य र उसको कारण अर्थात् साधकतम दोस्रो अपेक्षित छैन । न कुनै उसको तुल्य नत कोही अधिक छन् । सर्वोत्तमशक्ति अर्थात् अनन्त ज्ञान, अनन्त बल र अनन्त क्रिया छ, त्यो स्वाभाविक अर्थात् सहज उसमा सुनिने गरिन्छ । यदि परमेश्वर निष्क्रिय हुन्थ्यो भने त जगत्‌को उत्पत्ति, स्थिति र प्रलय हुन सक्थेन । त्यसैले ऊ ‘विभु’ अर्थात् व्यापक छ, तथापि ‘चेतन’ हुनाले उसमा क्रिया पनि विद्यमान छ ।
प्रश्न— जब उसले क्रिया गर्दोहोला तब अन्तवाला क्रिया हुन्छ कि अनन्त ?
उत्तर— जति देश, कालमा क्रिया गर्न उचित सम्झन्छ त्यति नै देश, कालमा क्रिया गर्दछ । धेरै वा थोरै गर्दैन, किनभने ऊ विद्वान् हो ।
प्रश्न— परमेश्वर आफ्नो अन्त जान्दछ कि जान्दैन ? जान्दछ भने त अनन्त र जान्दैन भने त पूर्ण ज्ञानी होइन ?
उत्तर— परमात्मा पूर्ण ज्ञानी हो । किनभने ज्ञान उसैलाई भन्दछन् कि जसबाट जस्ताको तस्तै पदार्थ जान्न सकियोस् । जब परमेश्वर अनन्त छ भने त उसलाई अनन्त नै जान्नु ज्ञान, र अनन्तलाई सान्त र सान्तलाई अनन्त जान्नु अज्ञान अर्थात् ‘भ्रम’ भन्दछन् । ‘यथार्थ दर्शनं ज्ञानमिति’ (तुलना—भगवद्गीता १३/११) जुन जस्तो पदार्थ छ त्यसलाई त्यस्तै जान्नु ‘ज्ञान’ र त्यसदेखि उल्टो जान्नु ‘अज्ञान’ हो । त्यसैले—
क्लेशकर्मविपाकाशयैरपरामृष्टः पुरुषविशेष ईश्वरः ॥      —योगसूत्र (समाधिपाद सूत्र २४) ॥
जो अविद्यादि क्लेश, कुशल-अकुशल, इष्ट-अनिष्ट र मिश्र फलदायक कर्महरूको वासनादेखि रहित हुन्छ, त्यो सबै जीवदेखि विशेष हुनाले ‘ईश्वर’ भनिन्छ ।
प्रश्न— चेतन एक छ कि अनेक ?
उत्तर— ईश्वर चेतन एक, र जीव चेतन अनेक ।
ईश्वरको अस्तित्वको विषयमा कथन (७.५)
प्रश्न— ईश्वरासिद्धेः ॥१॥                —सांख्यशास्त्र (सूत्र १/९२) ॥
प्रमाणाभावान्न तत्सिद्धिः ॥२॥        —सांख्यशास्त्र (सूत्र ५/१०) ॥
सम्बन्धाभावान्नानुमानम् ॥३॥         —सांख्यशास्त्र (सूत्र ५/११) ॥
          —यी सबै सांख्यशास्त्रका सूत्र हुन् ॥
प्रत्यक्षबाट ईश्वरको सिद्धि हुँदैन ॥१॥ किनभने जब उसको सिद्धिमा प्रत्यक्ष नै हुँदैन भने त अनुमानादि प्रमाण घट्न सक्दैनन् ॥२॥ र व्याप्ति-सम्बन्ध नहुनाले अनुमान पनि हुन सक्दैन । पुनः प्रत्यक्षानुमानादिको नहुनाले शब्द-प्रमाण आदि पनि घट्न सक्दैन ॥३॥
उत्तर— यहाँ ईश्वरको सिद्धिमा प्रत्यक्ष प्रमाण छैन, र ईश्वर जगत्‌को उपादान कारण पनि होइन । पुरुषदेखि विलक्षण अर्थात् सर्वत्र पूर्ण हुनाले परमात्माको नाम ‘पुरुष’ र शरीरमा शयन गर्नाले जीवको पनि नाम ‘पुरुष’ हो । किनकि यसै प्रकरणमा भनिएको छ कि—
प्रधानशक्तियोगाच्चेत्सङ्गापत्तिः ॥१॥            —सांख्यशास्त्र (सूत्र ५/८) ॥
सत्तामात्राच्चेत्सर्वैश्वर्य्यम् ॥२॥            —सांख्यशास्त्र (सूत्र ५/९) ॥
श्रुतिरपि प्रधानकार्य्यत्वस्य ॥३॥            —सांख्यशास्त्र (सूत्र ५/१२)॥
यदि पुरुषमा प्रधानशक्तिको योग होस् त पुरुषमा सङ्गापत्ति हुन जान्छ । अर्थात् जसरी प्रकृति सूक्ष्मसँग मिलेर कार्यरूपमा सङ्गत भएको छ, त्यसरी नै परमेश्वर पनि स्थूल हुन जानेछ । त्यसैले परमेश्वर जगत्‌को उपादान कारण होइन, किन्तु निमित्त कारण हो ॥१॥ यदि चेतनबाट जगत्‌को उत्पत्ति हुन्छ भने त जसरी परमेश्वर समग्रैश्वर्ययुक्त छ, त्यस्तै संसारमा पनि सर्वैश्वर्यको योग हुनुपर्दछ, त्यस्तो छैन । त्यसैले परमेश्वर जगत्‌को उपादान कारण होइन, किन्तु निमित्त कारण हो ॥२॥ किनभने उपनिषद्ले पनि प्रधानलाई नै जगत्‌को उपादान कारण भन्दछ ॥३॥ जस्तै—
अजामेकां लोहितशुक्लकृष्णां बह्वीः प्रजाः सृजमानां स्वरूपाः ॥
    —यो श्वेताश्वतरोपनिषद् (अध्याय ४/मन्त्र ५) को वचन हो ॥
जो जन्मरहित सत्त्व, रज र तमोगुणरूप प्रकृति छ, वही स्वरूपाकारद्वारा धेरै प्रजारूप हुन जान्छ । अर्थात् प्रकृति परिणामिनी हुनाले अवस्थान्तर=अर्को अवस्था धारण गर्दछ र पुरुषभने अपरिणामी हुनाले ऊ अवस्थान्तर भएर दोस्रो रूपमा कहिल्यै पनि प्राप्त हुँदैन, सदा कूटस्थ निर्विकार रहन्छ । साथै प्रकृति सृष्टिमा सविकार र प्रलयमा निर्विकार रहन्छ । यसैले जो कसैले कपिलाचार्यलाई अनीश्वरवादी भन्दछ, त्यही अनीश्वरवादी हो, कपिलाचार्य होइनन् । तथा मीमांसाको धर्म-धर्मीबाट ईश्वर । वैशेषिक र न्याय पनि ‘आत्म’ शब्दबाट अनीश्वरवादी होइन, किनभने सर्वज्ञत्वादि धर्मयुक्त‘अतति सर्वत्र व्याप्नोतीत्यात्मा’ जो सर्वज्ञादि धर्मयुक्त सर्वत्र व्यापक सबै जीवहरूको आत्मा हो, त्यसैलाई मीमांसा, वैशेषिक र न्यायले ‘ईश्वर’ मान्दछन् ।
ईश्वरको अवतार निषेधको बारेमा कथन (७.६)
    प्रश्न— ईश्वरले अवतार लिन्छ कि लिंदैन ?
    उत्तर— लिंदैन, किनभने—
अज॒ एक॑पात् ॥  
—ऋग्वेद (मण्डल ७/सूक्त ३५/मन्त्र १३); यजुर्वेद (अध्याय ३४/मन्त्र ५३) ॥
ईश्वर एक प्रकारको अद्वितीय, निश्चल, अव्यभिचारी, बोधवाला जुन कहिल्यै उत्पन्न हुँदैन ।
स पर्य॑गाच्छु॒क्रम॑का॒यम॑व्र॒णम॑स्नावि॒रम् ॥          —यजुर्वेद (अध्याय ४०/मन्त्र ८) ॥
    ईश्वर आकाशकै सदृश सर्वव्यापक छ, तेजस्वी र दीप्तिमान् छ । त्यो देहरहित, स्नायुरहित अर्थात् नस-नाडीदेखि रहित एवं छिद्ररहित तथा निर्मल छ ।
न चास्य कश्चिज्जनिता न चाधिपा ॥        —श्वेताश्वतरोपनिषद् (अध्याय ६/मन्त्र ९) ॥
    ईश्वरका कोही पनि माता-पिता अर्थात् उत्पत्तिकर्ता छैनन्, न त उसका कोही स्वामी नै ।
दिव्यो ह्यमूर्तः पुरुषः सबाह्याभ्यन्तरो ह्यजः ।
अप्राणो ह्यमनाः शुभ्रो ह्यक्षरात्परतः परः ॥        —मुण्डकोपनिषद् (मुण्डक २/मन्त्र २) ॥
त्यो प्रकाशमान, अमूर्तरूप ब्रह्म भित्र-बाहिर सर्वत्र विद्यमान छ । त्यो अजन्मा, प्राणरहित, मनरहित एवं उज्ज्वल छ र अविनाशी आत्मा भन्दा पनि उत्कृष्ट छ ॥
यी चारवटै वचन ऋग्वेद, यजुर्वेद, श्वेताश्वतरोपनिषद् र मुण्डकोपनिषद्का हुन् । इत्यादि वचनबाट परमेश्वर न त जन्म न त कहिल्यै शरीरवाला हुन्छ ।
प्रश्न— यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥       
—भगवद् गीता (अध्याय ४/श्लोक ७) ॥
श्रीकृष्णजी भन्नुहुन्छ कि जब-जब धर्मको लोप हुन्छ तब-तब म शरीर धारण गर्दछु ।
उत्तर— यो कुरो वेदविरुद्ध हुनाले प्रमाण होइन । फेरि यस्तो पनि हुन सक्दछ कि श्रीकृष्ण धर्मात्मा थिए र धर्मको रक्षा गर्न चाहन्थे । यस कारण ‘म युग-युगमा जन्म लिएर श्रेष्ठहरूलाई रक्षा र दुष्टहरूलाई नाश गर्छु’ भन्नुमा केही दोष छैन । किनभने ‘परोपकाराय सतां विभूतयः’ परोपकारको लागि सत्पुरुषहरूको तन, मन, धन लागिरहेको हुन्छ, तथापि यसबाट श्रीकृष्ण ईश्वर हुन सक्दैनन् ।
प्रश्न— यदि यस्तो हो भने संसारमा ईश्वरका चौबीस अवतार हुन्छन् भनिन्छ, यिनलाई अवतार किन मान्दछन् ?
उत्तर— वेदको अर्थ नजान्नेले, सम्प्रदायी व्यक्तिहरूले झुक्याउनाले र आफै अविद्वान् भएर भ्रमजालमा फसेर यस्ता-यस्ता अप्रमाणिक कुरा गर्दछन् र मान्दछन् ।
प्रश्न— ईश्वरले अवतार नलिने हो भने त कंस-रावणादि दुष्टहरूको नाश कसरी हुन सक्दछ ?
उत्तर— प्रथम त जो जन्मन्छ, त्यसले अवश्य मृत्युलाई प्राप्त गर्दछ । जो ईश्वर अवतार शरीर धारण गरे बिना जगत्‌को उत्पत्ति-स्थिति-प्रलय गर्दछ, उसको सामुन्ने कंस र रावणादि एक किरो अथवा भुसुनो बराबर पनि होइनन् । ऊ सर्व व्यापक हुनाले कंस-रावणादिको शरीरमा पनि परिपूर्ण भैरहेको छ, जब चाहन्छ उति वेलै मर्मच्छेदन गरेर नाश गर्न सक्दछ । यस अनन्त-गुण-कर्म-स्वभावयुक्त परमात्मालाई एक क्षुद्र जीवलाई मार्नको लागि जन्म-मरणयुक्त भन्नु महामूर्खताको काम हो । यदि कसैले भन्दछ कि भक्तहरूको उद्धारको लागि जन्म लिन्छ भने पनि सत्य होइन, किनभने जो भक्तजन, ईश्वरको आज्ञानुकूल चल्दछन्, तिनीहरूलाई उद्धार गर्ने पूरा सामर्थ्य ईश्वरमा छ । के ईश्वरले पृथ्वी, सूर्य, चन्द्रादि जगत्‌ बनाउने, धारण गर्ने र प्रलय गर्ने रूप कर्महरूदेखि पुत्रोत्पत्ति कंस-रावणादिको वध र गोवर्धनादि उठाउनु ठूलो कर्म हो ? जो कसैले यस सृष्टिमा भएका परमेश्वरको कर्महरूलाई विचार गरेमा त ‘न भूतो न भविष्यति’ ईश्वरको सदृश न कोही भयो, न छ र न हुनेछ ।
फेरि, युक्तिले पनि ईश्वरको जन्म सिद्ध हुँदैन । जस्तै अनन्त आकाशलाई कसैले भन्दछ कि ‘गर्भमा आयो’ वा ‘मुट्ठीभित्र पारें’, यो कुरो साँचो कहिल्यै हुन सक्दैन, किनभने आकाश सबैमा व्यापक छ । न त्यो बाहिर आउँछ, नत भित्र नै जान्छ, त्यसै गरी नै परमेश्वर व्यापक हुनाले उसको आउनु-जानु सिद्ध हुन सक्दैन । किनभने जानु त्यहाँ हुन सक्दछ जहाँ ऊ छँदैछैन र आउनु पनि त्यहाँबाट हुन्छ जहाँ परमेश्वर हुँदै नहोस् । के यो गर्भमा व्यापक थिएन जो कतैबाट आयो ? र बाहिर छैन जो भित्रबाट निक्लोस् ? विद्याहीन बाहेक ईश्वरको बारेमा यस्तो अरू कसले भन्न र मान्न सक्दछ ? त्यसैले परमेश्वरको जन्म कहिल्यै पनि हुन सक्दैन । यसै प्रकार ‘येशु मसीह’ को पनि ईश्वरको जन्म होइन यो सम्झनुपर्दछ ।
प्रश्न— ईश्वरले आफ्ना भक्तहरूको पाप क्षमा गर्दछ कि गर्दैन ?
उत्तर— गर्दैन, किनभने पाप क्षमा गर्‍यो भने त उसको न्याय नष्ट हुन जानेछ र सबै मनुष्य महापापी हुनेछन् । किनभने तिनीहरूलाई पाप गर्नमा उत्साह र निर्भयता हुनेछ । जस्तै कुनै राजाले अपराधीहरूको पाप क्षमा गरिदिएमा त उनीहरूले झन-झन धेरै अपराध र पाप गर्न थाल्नेछन् । यस्तोमा जसले अपराध गर्दैन त्यो पनि अपराध गर्नदेखि डराउँदैन । त्यसैले सबै कर्महरूको फल दिनु नै ईश्वरको काम हो, क्षमा गर्नु होइन ।
जीवको स्वतन्त्रता (७.७)
प्रश्न— जीव स्वतन्त्र छ या परतन्त्र ?
उत्तर— आफ्नो कर्तव्य कर्महरूमा स्वतन्त्र र ईश्वरको व्यवस्थामा परतन्त्र छ ।
    स्वतन्त्रः कर्त्ता               —यो पाणिनीय अष्टाध्यायी (१/४/५४) व्याकरणको सूत्र हो ॥
    जो स्वतन्त्र अर्थात् स्वाधीन छ, त्यही कर्ता हो ।
    प्रश्न— स्वतन्त्र कसलाई भन्दछन् ?
    उत्तर— जसको आधीन शरीर, प्राण, इन्द्रिय र अन्तःकरणादि हुन्छन्, त्यो स्वतन्त्र हो । यदि स्वतन्त्र हुँदैन भने त त्यसलाई पाप-पुण्यको फल प्राप्त कहिल्यै पनि हुनसक्दैन । किनभने जसरी भृत्य स्वामी; र सेना, सेनाध्यक्षको आज्ञाले अथवा प्रेरणाले युद्धमा अनेक पुरुषहरूलाई मारेर पनि अपराधी हुँदैनन्, त्यसै गरी परमेश्वरको प्रेरणा र आधीनताले काम सिद्ध हुन्छ भने त जीवलाई पाप या पुण्य लाग्दैन । त्यस फलको भागी प्रेरक परमेश्वर हुन्छ । स्वर्ग-नरक अर्थात् सुख-दुःखको प्राप्ति पनि परमेश्वरको हुन्छ । जस्तै कुनै मनुष्यले शस्त्रविशेषले कसैलाई मार्‍यो भने त त्यही मार्नेवालालाई पक्राउ गरिन्छ, मान्छेले दण्ड पाउँछ, शस्त्रले होइन । त्यसरी नै पराधीन जीव पाप-पुण्यको भागी हुन सक्दैन । त्यसैले आफ्नो सामर्थ्यानुकूल कर्म गर्नमा जीव स्वतन्त्र, परन्तु जब उसले पाप गरिसक्दछ तब ईश्वरको व्यवस्थामा पराधीन भएर पाप भोग्दछ । त्यसैले कर्म गर्नमा जीव स्वतन्त्र र पापको दुःखरूप फल भोग्नमा परतन्त्र हुन्छ ।
जीव र ईश्वरको भिन्नताको वर्णन (७.८)
प्रश्न— यदि परमेश्वरले जीवलाई बनाउँथेन, सामर्थ्य दिन्थेन भने त जीवले केही पनि गर्न सक्थेन । त्यसैले परमेश्वरको प्रेरणाबाट नै जीवले कर्म गर्दछ ।
उत्तर— जीव कहिल्यै उत्पन्न भएन; यो अनादि हो । जसरी ईश्वर र जगत्‌को उपादान कारण नित्य छ, र जीवको शरीर तथा इन्द्रियहरूका गोलक परमेश्वरद्वारा बनाएका हुन्, परन्तु ती सबै जीवको आधीनमा छन् । जो कसैले मन, कर्म र वचनले पाप-पुण्य गर्दछ, त्यही भोक्ता हो, ईश्वर होइन । जसरी कुनै कारिगरले पहाडबाट फलाम झिक्यो, त्यस फलामलाई कुनै व्यपारीले क्रय गर्‍यो, उसको पसलबाट लोहारले लिएर तलवार बनायो, लोहारसँगबाट कुनै सिपाहीले तलवार लियो, उसले त्यस हतियारबाट कसैलाई मार्‍यो । अब यहाँ जसरी फलामलाई उत्पन्न गर्ने, उसबाट किनेर लिने, तलवार बनाउनेवाला र तलवारलाई समातेर राजाले दण्ड दिंदैन, किन्तु जसले तलवारद्वारा मार्‍यो, उसैले दण्ड पाउँछ । यसै प्रकार शरीरादिलाई उत्पत्ति गर्नेवाला परमेश्वर उसको कर्मको भोक्ता हुँदैन, किन्तु जीव भोक्ता हुन्छ । फेरि यदि परमेश्वरले कर्म गराउँथ्यो भने त कुनै जीवले पनि पाप गर्दैनथे, किनभने परमेश्वर पवित्र र धार्मिक हुनाले कुनै जीवलाई पाप गर्नमा प्रेरणा गर्दैन । त्यसैले जीव आफ्नो कर्म गर्नमा स्वतन्त्र छ । जसरी जीव आफ्नो कामहरूमा स्वतन्त्र छ, त्यसरी नै परमेश्वर पनि आफ्नो कामहरूमा स्वतन्त्र छ ।
प्रश्न— जीव र ईश्वरको स्वरूप, गुण, कर्म र स्वभाव कस्तो छ ?
उत्तर— दुइटै चेतनस्वरूप छन् । स्वभाव दुइटैको पवित्र, अविनाशी र धार्मिकता आदि छ । परन्तु परमेश्वरका सृष्टिको उत्पत्ति, प्रलय, सबैलाई नियममा राख्नु, जीवहरूलाई पाप-पुण्यको फल दिनु आदि धर्मयुक्त कर्म हुन् भने जीवको सन्तानोत्पत्ति, तिनको पालन, शिल्पविद्या आदि असल र खराब कर्म हुन् । ईश्वरको नित्यज्ञान, आनन्द, अनन्त बल आदि गुण हुन् । र जीवका—
इच्छाद्वेषप्रयत्नसुखदुःखज्ञानान्यात्मनो लिङ्गमिति ॥         —न्यायशास्त्र (१/१/१०) सूत्र ॥
प्राणापाननिमेषोन्मेषजीवनमनोगतीन्द्रियान्तरविकाराः ।
सुखदुःखे इच्छाद्वेषौ प्रयत्नश्चात्मनो लिङ्गानि ॥   
—वैशेषिक सूत्र (३/२/४) चन्द्रानन्दवृत्ति सूत्रपाठ ॥
दुइटै सूत्रमा— (इच्छा) पदार्थहरूको प्राप्तिको अभिलाषा, (द्वेष) दुःखादिको अनिच्छा, वैर, (प्रयत्न) पुरुषार्थ बल, (सुख) आनन्द, (दुःख) विलाप, अप्रसन्नता, (ज्ञान) विवेक, चिन्नु चाहिं यी तुल्य हुन् । परन्तु वैशेषिकमा (प्राण) प्राणलाई बाहिर निकाल्नु, (अपान) प्राणलाई बाहिरबाट भित्रतिर लैजानु, (निमेष) आँखा चिम्लनु, (उन्मेष) आँखा खोल्नु, (जीवन) प्राणलाई धारण गर्नु, (मन) निश्चय, स्मरण र अहङ्कार गर्नु, (गति) चल्नु, (इन्द्रिय) सबै इन्द्रियलाई चलाउनु, (अन्तर्विकार) भिन्न-भिन्न क्षुधा, तृषा, हर्ष, शोकादिको हुनु । यी जीवात्माका गुण परमात्मादेखि भिन्दै छन् । यिनैबाट आत्माको प्रतीति गर्नु, किनभने त्यो स्थूल छैन । जबसम्म आत्मा देहमा हुन्छ, तबसम्म नै यी गुण प्रकाशित रहन्छन्, र जब यसले शरीरलाई छोडेर जान्छ, तब यी गुणहरू शरीरमा रहँदैनन् । जसको हुनाले जुन हुन्छ, र जसको नहुनाले हुँदैन, ती गुणहरू उसैका हुन्छन्, जो त्यस शरीरमा थियो । जस्तै दीप र सूर्यादिको हुनाले प्रकाशादिको हुनु, नहुँदा नहुनु, त्यसरी नै जीव र परमात्माको विज्ञान गुणद्वारा हुन्छ ।
प्रश्न— परमेश्वर त्रिकालदर्शी हो, उसले भविष्यत्को कुरो जान्दछ । उसले जस्तो निश्चय गर्नेछ, जीवले त्यस्तै गर्नेछ । यसबाट जीव स्वतन्त्र छैन र जीवलाई ईश्वरले दण्ड पनि दिन सक्दैन । किनभने जस्तो ईश्वरले आफ्नो ज्ञानले निश्चित गरेको छ, त्यस्तै नै जीवले गर्दछ ।
उत्तर— ईश्वरलाई त्रिकालदर्शी भन्नु मूर्खताको काम हो, किनभने जुन भएर रहँदैन, त्यो ‘भूतकाल’ र नभएर हुन्छ, त्यो ‘भविष्यत्काल’ भनिन्छ । के ईश्वरलाई कुनै ज्ञान भएर रहँदैन तथा नभएर पनि हुन्छ ? यसैले परमेश्वरको ज्ञान सदा एकरस, अखण्डित वर्तमान रहन्छ । भूत, भविष्यत् जीवहरूको लागि हो । यति त होकि जीवहरूको कर्मको अपेक्षादेखि त्रिकालज्ञता ईश्वरमा छ, स्वतः होइन । जसरी स्वतन्त्रताले कर्म जीव गर्दछ, त्यसरी नै सर्वज्ञताले ईश्वर जान्दछ । जस्तो ईश्वर जान्दछ, त्यस्तै जीव गर्दछ अर्थात् भूत, भविष्यत्, वर्तमानको ज्ञान र फल दिनमा ईश्वर स्वतन्त्र र जीव किञ्चित् वर्तमान र कर्म गर्नमा स्वतन्त्र छ । ईश्वरको अनादि ज्ञान हुनाले जस्तो कर्मको ज्ञान छ, त्यस्तै नै उसको दण्ड दिने ज्ञान पनि अनादि छ । दुइटै ज्ञान उसका सत्य हुन् । के ‘कर्मज्ञान’ साँचो र ‘दण्डज्ञान’ मिथ्या कहिल्यै हुन सक्दछ ? त्यसैले यसमा कुनै पनि दोष आउँदैन ।
प्रश्न— जीव शरीरमा भिन्न विभु हो कि परिच्छिन्न ?
उत्तर— परिच्छिन्न । यदि विभु हुन्थ्यो भने त जाग्रत, स्वप्न, सुषुप्ति, मरण, जन्म, संयोग, वियोग, जानु, आउनु कहिल्यै पनि हुन सक्दैन । त्यसैले जीवको स्वरूप अल्पज्ञ, अल्प अर्थात् सूक्ष्म छ र परमेश्वरको अतिसूक्ष्म, अनन्त, सर्वज्ञ र सर्वव्यापक स्वरूप छ । त्यसैले जीव र परमेश्वरको ‘व्याप्य-व्यापक’ सम्बन्ध छ ।
प्रश्न— जुन ठाउँमा एउटा वस्तु हुन्छ, त्यस ठाउँमा अर्को वस्तु रहन सक्दैन । त्यसैले जीव र ईश्वरको संयोग सम्बन्ध हुन सक्दछ, व्याप्य-व्यापक होइन ।
उत्तर— यो नियम समान आकार भएका पदार्थमा मात्र घट्न सक्दछ, असमान आकृतिमा होइन । जस्तै फलाम स्थूल, अग्नि सूक्ष्म हुन्छ, यसकारणबाट फलाममा विद्युत् अग्नि व्यापक भएर एउटै अवकाशमा दुइटै रहन्छन्, त्यसरी नै जीव परमेश्वर भन्दा स्थूल र परमेश्वर-जीव भन्दा सूक्ष्म हुनाले परमेश्वर व्यापक र जीव व्याप्य हो । जस्तो यो व्याप्य-व्यापक सम्बन्ध जीव-ईश्वरको छ, त्यसरी नै सेव्य-सेवक, आधाराधेय, स्वस्वामी, राजा-प्रजा र पिता-पुत्र आदिको पनि सम्बन्ध हुन्छ ।
ईश्वरको सगुणता र निर्गुणताको बारेमा कथन (७.९)
प्रश्न— ब्रह्म र जीव अलग-अलग हुन् कि एउटै हुन् ?
उत्तर— अलग-अलग हुन् ।
प्रश्न— यदि जीव र ईश्वर एउटै नभएर छुट्टाछुट्टै हुन् भने त—
प्रज्ञानं ब्रह्म ॥१॥    —ऐतरेय उपनिषद् (३/५/३) ॥
अहं ब्रह्मास्मि ॥२॥    —बृहदारण्यकोपनिषद् (१/४/१०; शत.ब्रा.४/३/२/२१) ॥
तत्त्वमसि ॥३॥    —छान्दोग्योपनिषद् (६/८/७) ॥
अयमात्मा ब्रह्म ॥४॥    —माण्डूक्योपनिषद् २; शत. ब्रा. (१४/४/५/१४) ॥
यी वेदहरूका ‘महावाक्यहरू’ को के अर्थ हो ?
उत्तर— यी वेदवाक्य नै होइनन्, किन्तु ब्राह्मण-ग्रन्थहरूका वचन हुन्, र यिनको नाम ‘महावाक्य’ भनेर कुनै सत्यशास्त्रहरूमा लेखिएको छैन ।
अर्थ— अर्थात् ब्रह्म प्रकृष्ट ज्ञानस्वरूप छ ॥१॥
(अहम्)(ब्रह्म) अर्थात् ब्रह्मस्थ (अस्मि) हूँ । यहाँ ‘तात्स्थ्योपाधि’ छ, जस्तै ‘मञ्चाः क्रोशन्ति’ मञ्चान पुकार्दछन् । मञ्चान जड हो, त्यसमा पुकार्ने सामर्थ्य हुँदैन, त्यसैले मञ्चमा बसेका मानिसहरू पुकार्दछन् । यसै प्रकारले यहाँ पनि बुझ्नुपर्दछ । कसैले भन्दछ कि ब्रह्मस्थ सबै पदार्थ छन्, पुनः जीवलाई ब्रह्मस्थ भन्नुमा के विशेष छ ? यसको उत्तर यो हो कि सबै पदार्थ ब्रह्मस्थ हुन्, परन्तु जस्तो साधर्म्ययुक्त निकटस्थ जीव हो, त्यस्तो अन्य होइनन्, र जीवलाई ब्रह्मको ज्ञान र मुक्तिमा ब्रह्मको साक्षात्सम्बन्धमा रहन्छ, यसैले जीवको ब्रह्मको साथमा ‘तात्स्थ्य’ वा ‘तत्सहचरितोपाधि’ अर्थात् ब्रह्मको सहचारी जीव हो । त्यसैले जीव र ब्रह्म एक होइनन् । जस्तै कसैले कसैसँग भनोस् कि म र यो एकै हौं अर्थात् अविरोधी हौं, त्यस्तो जुन जीव समाधिस्थ, परमेश्वरमा प्रेमबद्ध भएर निमग्न हुन्छ, त्यसले भन्नसक्दछ कि म र ब्रह्म एक अर्थात् अविरोधी एक अवकाशस्थ हौं । जो जीव परमेश्वरको गुण-कर्म-स्वभावको अनुकूल आफ्नो गुण-कर्म-स्वभावलाई ढाल्दछ, त्यही साधर्म्यले ब्रह्मको साथ एकता भन्न सक्दछ ॥२॥
प्रश्न— त्यसो भए यसको अर्थ कस्तो गर्दछौ (तत्) ब्रह्म (त्वं) तँ जीव (असि) होस् । हे जीव ! (त्वम्) तँ (तत्) त्यो ब्रह्म (असि) होस् ।
उत्तरपक्ष— तिमीले ‘तत्’ शब्दबाट के लिन्छौ ?
पूर्वपक्ष‘ब्रह्म’
उत्तरपक्ष‘ब्रह्म’ पदको अनुवृत्ति कताबाट ल्यायौ ?
पूर्वपक्ष‘सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयं ब्रह्म’ यस पूर्व वाक्यबाट ।
उत्तरपक्ष— तिमीले यस छान्दोग्य उपनिषद्को दर्शन पनि गरेनौ । यदि तिमीले देखेका हुन्थ्यौ भने त यस्तो झुट्टो किन बोल्थ्यौ ? वहाँ ‘ब्रह्म’ शब्दको पाठ पनि छैन, किन्तु छान्दोग्यमा त—
सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम् ॥    
—छान्दोग्योपनिषद् (अध्याय ६/खण्ड २/मन्त्र १) ॥
यस्तो पाठ छ । वहाँ ‘ब्रह्म’ शब्द छैन ।
प्रश्न— त्यसो भए तिमीले तच्छब्दले के लिन्छौ ?
उत्तरस य एषोऽणिमैतदात्म्यमिद सर्वं तत्सत्य स आत्मा तत्त्मसि श्वेतकेतो इति ॥                                   —छान्दोग्योपनिषद् (६/८/७) ॥
त्यो परमात्मा जान्नयोग्य छ । जुन यो अत्यन्तसूक्ष्म र यस सबै जगत् र जीवको आत्मा हो । वही सत्यस्वरूप र आफ्नो आत्मा आफै हो । हे श्वेतकेतो ! प्रियपुत्र ! ‘तदात्मकस्तदन्तर्यामी त्वमसि’ उस परमात्मा अन्तर्यामीदेखि तँ युक्त छस् । यही अर्थ सबै उपनिषद्हरूदेखि अविरुद्ध छ । किनभने—
य आत्मनि तिष्ठन्नात्मनोऽन्तरो यमात्मा न वेद यस्यात्मा शरीरम् ।
य आत्मानमन्तरो यमयति स तऽआत्मान्तर्याम्यमृतः ॥                 
—शत.ब्रा. (१४/५/५/३०) ॥
—तुलना [काण्व बृहदारण्यकोपनिषद (३/७/२२)] ॥
यो बृहदारण्यक उपनिषद्को वचन हो । महर्षि याज्ञवल्क्यले उद्दालकलाई भन्नुहुन्छ कि— “हे उद्दालक ! जुन परमेश्वर आत्मा अर्थात् जीवमा स्थित र जीवात्मादेखि भिन्न छ, जसलाई मूढ जीवात्माले जान्दैन कि त्यो परमात्मा ममा व्यापक छ । जुन परमेश्वरको जीवात्मा शरीर अर्थात् जसरी शरीरमा जीव रहन्छ, त्यसरी नै जीवमा परमेश्वर व्यापक छ । जीवात्मादेखि भिन्न रहेर जीवको पाप-पुण्यको साक्षी भएर तिनको फल जीवलाई दिएर नियममा राख्दछ, वही अविनाशीस्वरूप तिम्रो पनि अन्तर्यामी आत्मा अर्थात् तिम्रो भित्र व्यापक छ, त्यसलाई तिमीले जान ।” इत्यादि वचनहरूलाई के कसैले अन्यथा गर्न सक्दछ र ? ॥३॥
‘अयमात्मा ब्रह्म’ अर्थात् समाधिदशामा जब योगीलाई परमेश्वर प्रत्यक्ष हुन्छ, तब त्यसले भन्दछ कि “यो जुन ममा व्यापक छ, वही ब्रह्म सर्वत्र व्यापक छ ।” त्यसैले जो आजभोलिका वेदान्ती जीव-ब्रह्मको एकता गर्दछन्, तिनीहरूले वेदान्तशास्त्रलाई जान्दैनन् ॥४॥
प्रश्नअनेनात्मना जीवेनानुप्रविश्य नामरूपे व्याकरवाणि ॥१॥      
—छान्दोग्योपनिषद् (६/३/३) ॥
तत्सृष्ट्वा तदेवानुप्राविशत् ॥२॥  
—तैत्तिरीयोपनिषद् (ब्रह्मानन्दवल्ली/अनुवाक ६/मन्त्र १) ॥
परमेश्वर भन्दछ कि म जगत् र शरीरलाई रचेर जगत्‌मा व्यापक र जीवरूप भएर शरीरमा प्रविष्ट हुँदै नाम र रूपको व्याख्या गरूँ ॥१॥ परमेश्वरले त्यस जगत् र शरीरलाई बनाएर, त्यसैमा ऊ प्रविष्ट भयो । इत्यादि श्रुतिहरूको अर्थ अर्कै कसरी गर्न सक्दछौ ॥२॥
उत्तर— यदि तिमीले पद, पदार्थ र वाक्यार्थ जान्दथ्यौ भने त यस्तो अनर्थ कुरो कहिल्यै गर्ने थिएनौ । किनभने यहाँ यस्तो सम्झ कि— एक ‘प्रवेश’ र अर्को ‘अनुप्रवेश’ अर्थात् पश्चात् प्रवेश भनिन्छ । परमेश्वर शरीरमा प्रविष्ट भएका जीवसँग अनुप्रविष्टकै समान भएर वेदद्वारा सबै नाम रूपादिको विद्यालाई प्रकट गर्दछ; र शरीरमा जीवलाई प्रवेश गराएर, आफू जीवको भित्र अनुप्रविष्ट भैरहेको छ । यदि तिमीले ‘अनु’ शब्दको अर्थ जान्दथ्यौ त त्यस्तो विपरीत अर्थ कहिल्यै गर्दैनथ्यौ ।
प्रश्न‘सोऽयं देवदत्तो य उष्णकाले काश्यां दृष्टः, स इदानीं प्रावृट्समये मथुरायां दृश्यते’ अर्थात् जुन देवदत्त मैले उष्णकालमा काशीमा देखेको थिएँ, उसैलाई वर्षा समय मथुरामा देख्दछु । यहाँ त्यो काशी देश उष्णकाल, यो मथुरा देश र वर्षाकाललाई छोडेर शरीरमात्रमा लक्ष्य गरेमा नै देवदत्त लक्षित हुन्छ, त्यसरी नै यस भागत्यागलक्षणादेखि ईश्वरको परोक्ष देश, काल, माया, उपाधि र जीवको यो देश, काल, अविद्या र अल्पज्ञता उपाधि छोडेर चेतनमात्रमा लक्ष्य दिनाले एउटै ब्रह्म वस्तु दुइटैमा लक्षित हुन्छ । यस ‘भागत्यागलक्षणा’ अर्थात् केही ग्रहण गर्नु केही छोडिदिनु— जस्तै सर्वज्ञत्वादि वाच्यार्थ ईश्वरको र अल्पज्ञत्वादि वाच्यार्थ जीवको छोडेर चेतनमात्र लक्ष्यार्थको ग्रहण गर्नाले ‘अद्वैत’ सिद्ध हुन्छ, यसबारे केही भन्न सक्दछौ ?
उत्तर— प्रथम तिमीले जीव र ईश्वरलाई नित्य मान्दछौ कि अनित्य ?
प्रश्न— यी दुइटै उपाधिजन्य कल्पित हुनाले अनित्य मान्दछौं ।
उत्तर— त्यस उपाधिलाई नित्य मान्दछौ कि अनित्य ?
प्रश्न— हाम्रो मतमा—
जीवेशौ च विशुद्धाचिद् विभेदस्तु तयोर्द्वयोः ।
अविद्या तच्चितोर्योगः षडस्माकमनादयः ॥१॥
   —विद्यारण्य विरचित ‘अनुभूतिप्रकाश’ (अध्याय १/श्लोक ६१) ॥
कार्य्योपाधिरयं जीवः कारणोपाधिरीश्वरः ।
कार्य्यकारणतां हित्वा पूर्णबोधोऽवशिष्यते ॥२॥
 —यी ‘संक्षेपशारीरक’ र ‘शारीरकभाष्य’ मा कारिका हुन् ॥
   —अप्पयदीक्षित रचित नारायणयन्त्र-कलकत्तामुद्रित-सिद्धान्तलेशसंग्रह ॥
हामी वेदान्तीले ६ पदार्थहरू अर्थात् एक जीव, दोस्रो ईश्वर, तेस्रो ब्रह्म, चौथो जीव र ईश्वरको विशेष भेद, पाँचौं अविद्या=अज्ञान, र छैटौं अविद्या र चेतनको योगलाई अनादि मान्दछौं । परन्तु एक ब्रह्म अनादि, अनन्त र अन्य पाँच अनादि सान्त हुन्, जस्तो कि प्रागभाव हुन्छ । जबसम्म अज्ञान रहन्छ, तबसम्म यी पाँच रहन्छन्, र यी पाँचैको आदि विदित हुँदैन, त्यसैले ‘अनादि’ र ज्ञान भएपश्चात् नष्ट हुन्छन्, यसैले ‘सान्त’ अर्थात् नाशवाले भनिन्छ ।
उत्तर— यी तिम्रा दुइटै श्लोक शुद्ध छैनन्, किनभने अविद्याको योगको बिना जीव र मायाको योगको बिना ईश्वर तिम्रो मतमा सिद्ध हुन सक्दैन । यसबाट ‘तच्चितोर्योगः’ जुन छैटौं पदार्थ तिमीले गनेका छौ, त्यो रहेन । किनभने त्यो अविद्या माया जीव ईश्वरमा चरितार्थ हुन गयो र ब्रह्म तथा माया र अविद्याको योगको बिना ईश्वर बन्दैन, फेरि ईश्वरलाई अविद्या र ब्रह्मदेखि पृथक् गन्नु व्यर्थ हो । त्यसैले दुइटा मात्रै पदार्थ अर्थात् ब्रह्म र अविद्या तिम्रो मतमा सिद्ध हुन सक्दछन्, ६ होइन ॥१॥ तथा तिम्रो प्रथम कार्योपाधि र कारणोपाधिले जीव र ईश्वरको सिद्ध गर्न तब हुनसक्दछ कि जब अनन्त, नित्य-शुद्ध-बुद्ध-मुक्तस्वभाव, सर्वज्ञ, सर्वव्यापक ब्रह्ममा अज्ञान सिद्ध गरे । यदि त्यसको एक देशमा स्वाश्रय र स्वविषयक अज्ञान अनादि सर्वत्र मान्यौ भने त सबै ब्रह्म शुद्ध हुन सक्दैन; र जब एक देशमा अज्ञान मान्यौ भने त त्यो परिच्छिन्न हुनाले यता-उता आउने-जाने गरिरहनेछ । जहाँ-जहाँ जानेछ, त्यहाँ-त्यहाँको ब्रह्म अज्ञानी र जुन-जुन देशलाई छोड्दै जानेछ, त्यस-त्यस देशको ब्रह्म ज्ञानी भैरहनेछ तब कुनै देशको ब्रह्मलाई अनादि शुद्ध ज्ञानयुक्त भन्न सक्नेछैनौ । फेरि जुन अज्ञानको सीमामा ब्रह्म छ, त्यसले अज्ञानलाई जान्नेछ । बाहिर र भित्रको ब्रह्मको टुक्रा हुन जानेछ । यदि भनौला कि टुक्रा हुन जाओस् ब्रह्मको के हानि ? जुन टुक्रा भयो भने त त्यो अखण्ड होइन । जुन अखण्ड भयो भने त अज्ञानी होइन तथा ज्ञानको अभाव वा विपरीत ज्ञान पनि गुण हुनाले कुनै द्रव्यको साथमा नित्य सम्बन्धले रहनेछ । यदि यस्तो हो भने त समवायसम्बन्ध हुनाले अनित्य कहिल्यै पनि हुन सक्दैन । फेरि जस्तै शरीरमा एक ठाउँमा खटिरो हुनाले सर्वत्र दुखाई फैलिन्छ, त्यसरी नै एक देशमा अज्ञान, सुख-दुःख, क्लेशहरूको उपलब्धि हुनाले सबै ब्रह्म दुःखादिको अनुभवयुक्त हुनेछ र सबै ब्रह्मलाई शुद्ध भन्नसक्ने छैनौ । त्यसरी नै ‘कार्योपाधि’ अर्थात् अन्तःकरणको उपाधिको योगले ब्रह्मलाई जीव मान्दछौ भने त, हामीले सोध्छौं कि ब्रह्म व्यापक हो कि परिच्छिन्न ? यदि ब्रह्म  व्यापक र उपाधि— ‘परिच्छिन्न’ हो अर्थात् एकदेशी र पृथक्-पृथक् हो भन्दछौ भने, तब त अन्तःकरण चल्ने-फिर्ने गर्दछ कि गर्दैन भन्ने कुरा सोद्धछौं ?
उत्तर— चल्ने-फिर्ने गर्दछ ।
प्रश्न— अन्तःकरणको साथ ब्रह्म पनि चल्ने-फिर्ने गर्दछ कि स्थिर रहन्छ ?
उत्तर— स्थिर रहन्छ ।
प्रश्न— जब अन्तःकरण जुन-जुन देशलाई छोड्दै जानेछ, त्यस-त्यस देशको ब्रह्म अज्ञानरहित र जुन-जुन देशलाई प्राप्त गर्दै जानेछ त्यस-त्यस देशको शुद्ध ब्रह्म अज्ञानी हुँदै जान्छ होला । यसरी क्षणमा ज्ञानी र क्षणमा अज्ञानी ब्रह्म हुन्छ होला । यसबाट मोक्ष र बन्ध पनि क्षणभङ्ग हुनेछ । फेरि जस्तो एउटाले देखेकोलाई कुनै अन्यले स्मरण गर्न सक्दैन, त्यसरी नै हिजो देखेको-सुनेको वस्तु वा कुराको ज्ञान रहन सक्दैन । किनभने जति वेला देखेको-सुनेको थियो, त्यो दोस्रो देश र दोस्रै काल, जति वेला स्मरण गर्दछ, त्यो दोस्रो देश र दोस्रै काल हो । यदि भन्दछौ कि ब्रह्म एक हो, तब त सर्वज्ञ किन होइन ? यदि भन्दछौ कि अन्तःकरण भिन्न-भिन्न हो, यसले गर्दा त्यो पनि भिन्न-भिन्न हुन जान्छ होला । त्यसो भए त त्यो जड हो, त्यसमा ज्ञान हुन सक्दैन । यदि भनौला कि न केवल ब्रह्म र न केवल अन्तःकरणलाई ज्ञान हुन्छ, किन्तु अन्तःकरणस्थ चिदाभासलाई ज्ञान हुन्छ । तापनि चेतनलाई नै अन्तःकरणद्वारा ज्ञान भयो, त्यसो भए त्यो नेत्रद्वारा अल्प अल्पज्ञ किन छ ? त्यसैले कारणोपाधि र कार्योपाधिको योगबाट ब्रह्म, जीव र ईश्वर बनाउन सक्दैनौ । किन्तु ‘ईश्वर’ नाम ब्रह्मको हो र ब्रह्मदेखि भिन्न अनादि, अनुत्पन्न र अमृतस्वरूप जीवको नाम ‘जीव’ हो । यदि तिमीले भन्यौ कि जीव ‘चिदाभास’ को नाम हो, तब त त्यो क्षणभङ्ग हुनाले वही ‘प्रत्यभिज्ञा’ को भङ्गको दोष आयो र ‘अनिर्मोक्षापत्ति’ पनि आउँछ, किनकि जीव उत्पन्न हुनाले नष्ट हुनजान्छ भने त मोक्षको सुख कसले भोग्ने ? त्यसैले ब्रह्म जीव र जीव ब्रह्म कहिल्यै एक भएन, न छ र न हुनेछ ॥२॥
प्रश्न— त्यसो भए ‘सदेव सोम्येदमग्र आसीदेकमेवाद्वितीयम्’ ॥       
—छान्दोग्योपनिषद् (६/२/१) ॥
अद्वैतसिद्धि कसरी हुनेछ ? हाम्रो मतमा त ब्रह्मदेखि पृथक् कुनै सजातीय, विजातीय वस्तु र स्वगत् अवयवहरूको भेद नहुनाले एक ब्रह्म नै सिद्ध हुन्छ । जब जीव दोस्रो हो भने त अद्वैतसिद्धि कसरी हुन सक्दछ ?
उत्तर— यस भ्रममा परेर किन डराउँछौ ? विशेष्य-विशेषण विद्याको विचार गर कि त्यसको के फल हो ? भन्ने कुरा बुझ । ‘व्यावर्त्तकं विशेषणं’ विशेषण भेदकारक हुन्छ भन्छौ भने त, यति अरू पनि मान कि ‘प्रवर्त्तकं प्रकाशकमपि विशेषणं भवतीति’ विशेषण प्रवर्त्तक र प्रकाशक धर्मवाला पनि हुन्छ । त्यसो हुँदा अद्वैत विशेषण ब्रह्मको हो भन्ने कुरा बुझ । यसमा व्यावर्त्तक धर्म यो हो कि ‘द्वैत वस्तु’ अर्थात् जसरी अनेक जीव र तत्त्व छन् तीदेखि ब्रह्मलाई पृथक् गर्दछ र विशेषणको प्रवर्त्तक र प्रकाशक धर्म यो हो कि ब्रह्म एउटै हुने प्रवृत्ति गराउँछ र प्रकाशक हो । जसरी “अस्मिन्नगरेऽद्वितीयो धनाढ्यो देवदत्तः, अस्यां सेनायामद्वितीयः शूरवीरो विक्रमसिंहः ।” कसैले कसैसँग भन्यो कि— “यस नगरमा अद्वितीय धनाढ्य देवदत्त र यस सेनामा अद्वितीय शूरवीर विक्रमसिंह छ ।” यसबाट के सिद्ध हुन्छ भने देवदत्तको सदृश यस नगरमा दोस्रो धनाढ्य र यस सेनामा विक्रमसिंहकै समान दोस्रो शूरवीर छैन । न्यून त छन् । र पृथ्वी आदि जड पदार्थ, पश्वादि र वृक्षादि पनि छन्, तिनको निषेध हुन सक्दैन । त्यसरी नै ब्रह्मको सदृश जीव वा प्रकृति छैन, किन्तु न्यून त छ । यसबाट यही सिद्ध भयो कि ब्रह्म सदा एक छ र जीव तथा प्रकृतिस्थ तत्त्व अनेक छन् । ती देखि भिन्न गरेर ब्रह्मको एकत्वको सिद्ध गर्नको लागि ‘अद्वैत’ वा ‘अद्वितीय’ विशेषण हो । यसबाट जीव वा प्रकृतिको र कार्यरूप जगत्‌को अभाव र निषेध हुन सक्दैन किन्तु यी सबै छन्, परन्तु ब्रह्मको तुल्य होइन, यसबाट न अद्वैतसिद्धि र न द्वैतसिद्धिको हानि हुन्छ । नहड्बडाऊ, सोच र सम्झ ।
प्रश्न— ब्रह्मको सत्, चित्, आनन्द र जीवको अस्ति, भाति, प्रियरूपदेखि एकता हुन्छ । फेरि किन खण्डन गर्दछौ ?
उत्तर— किञ्चित् साधर्म्य मिल्नाले एकता हुन सक्दैन । जसरी पृथ्वी जड, दृश्य हो, त्यस्तै जल र अग्नि आदि पनि जड र दृश्य हो, यतिमात्रैले एकता हुँदैन । यिनमा वैधर्म्य भेदकारक अर्थात् विरुद्ध धर्म जस्तै गन्ध, रूक्षता, कठोरता आदि गुण पृथ्वीका र रस, द्रवत्व, कोमलत्वादि धर्म जलका, र रूप, दाहकत्वादि धर्म अग्निको हुनाले एकता छैन । जस्तै मनुष्य र किरा आँखाले देख्छन्, मुखले खान्छन्, खुट्टाले हिंड्छन् तथापि मनुष्यको जाति, आकृति, दुई खुट्टा र किराको जाति, आकृति अनेक खुट्टा आदि भिन्न हुनाले एकता हुँदैन, त्यसरी नै परमेश्वरको अनन्त ज्ञान, आनन्द, बल, क्रिया, निर्भ्रान्तित्व र व्यापकता जीवदेखि र जीवको अल्पज्ञान, अल्पबल, अल्पस्वरूप, सभ्रान्तित्व र परिच्छिन्नतादि गुण ब्रह्मदेखि भिन्न हुनाले जीव र परमेश्वर एक होइन, किनभने यिनको स्वरूप पनि, परमेश्वर अतिसूक्ष्म र जीव उसदेखि केही स्थूल हुनाले, भिन्न छ ।
प्रश्नअथोदरमन्तरं कुरुते, अथ तस्य भयं भवति ॥
  —तैत्तिरीयोपनिषद् (ब्र.व.अनु.७) ॥
          द्वितीयाद्वै भयं भवति ॥                —बृहदारण्यकोपनिषद् (१/४/२) ॥
जसले ब्रह्म र जीवमा थोरै पनि भेद गर्दछ, त्यसलाई भय प्राप्त हुन्छ, किनभने दोस्रोबाट नै भय प्राप्त हुने गर्दछ ।
उत्तर— यसको अर्थ यो होइन । किन्तु जुन जीवले परमेश्वरको निषेध वा कुनै एक देश-कालमा परिच्छिन्न परमात्मालाई माने, वा उसको आज्ञा र गुण-कर्म-स्वभावदेखि विरुद्ध भएमा, अथवा कुनै दोस्रो मनुष्यसँग वैर गरेमा, त्यसलाई भय प्राप्त हुन्छ । किनभने ‘द्वितीय बुद्धि’ अर्थात् ईश्वरसँग मेरो कुनै सम्बन्ध छैन, तथा कुनै मनुष्यलाई भनोस् कि “तँलाई मैले केही पनि सम्झन्न, तैंले मेरो केही पनि गर्न सक्दैनस्,” वा कसैको हानि गर्दै र दुःख दिंदै गएमा त्यसलाई उनीहरूदेखि भय हुन्छ, र सबै प्रकारबाट अविरोध भएमा त बल्ल एक भनिन्छ । जस्तै संसारमा भनिन्छ कि देवदत्त, यज्ञदत्त र विष्णुमित्र एक हुन्, अर्थात् अविरुद्ध हुन् अर्थात् विरोध नरहनाले सुख र विरोध रहनाले दुःख प्राप्त हुन्छ ।
प्रश्न— ब्रह्म र जीवको सदा एकता अनेकता रहन्छ कि अथवा कहिले दुइटै मिलेर एक पनि हुन्छन्, कि हुँदैनन् ?
उत्तर— भर्खरै यसको पूर्व केही उत्तर दिइसकिएको छ, परन्तु साधर्म्य अन्वयभावले एकता हुन्छ । जसरी आकाशबाट मूर्त्त-द्रव्य जडत्व हुनाले र कहिल्यै पृथक् नरहनाले एकता र आकाशको विभु, सूक्ष्म, अरूप, अनन्त आदि गुण र मूर्त्तको परिच्छिन्न, दृश्यत्व आदि वैधर्म्यले भेद हुन्छ, अर्थात् जसरी पृथिव्यादि-द्रव्य आकाशदेखि भिन्न कहिल्यै पनि रहँदैन । किनभने ‘अन्वय’ अर्थात् अवकाशको बिना मूर्त्त-द्रव्य कहिल्यै पनि रहन सक्दैन र ‘व्यतिरेक’ अर्थात् स्वरूपदेखि भिन्न हुनाले पृथक्ता छ । त्यसरी नै ब्रह्मको व्यापक हुनाले जीव र पृथ्वी आदि द्रव्य त्यसदेखि अलग रहँदैनन् र स्वरूपदेखि एक पनि हुँदैनन् । जसरी घर बनाउनु भन्दा पूर्व भिन्न-भिन्न देशको माटो, काठ, फलाम, आकाशमा नै रहन्छन्, जब घर बन्यो तब पनि आकाशमा नै हुन्छ र जब त्यो नष्ट भयो अर्थात् त्यसको सबै अवयव भिन्न-भिन्न देशमा प्राप्त हुन गए, तब पनि आकाशमै हुन्छ । अर्थात् तीनै कालमा आकाशदेखि भिन्न हुन सक्दैनन् र स्वरूपदेखि भिन्न हुनाले नत कहिल्यै एक थिए, छन् र हुनेछन् । यसै प्रकारले जीव तथा सबै संसारका पदार्थ परमेश्वरमा व्याप्य हुनाले परमात्मादेखि तीनै कालहरूमा अभिन्न र स्वरूपदेखि भिन्न हुनाले कहिल्यै पनि एक हुन सक्दैनन् । आजभोलिका वेदान्तीहरूको दृष्टि कानो पुरुषको समान अन्वयतिर परेर व्यतिरेकभावदेखि छुटेर विरुद्ध भएको छ । कुनै पनि यस्तो द्रव्य छैन जसमा सगुणनिर्गुणता, अन्वय-व्यतिरेक, साधर्म्य-वैधर्म्य र विशेष्य-विशेषण भाव नहोस् ।
वेदको विषयमा विचार (७.१०)
प्रश्न— परमेश्वर सगुण हो कि निर्गुण ?
उत्तर— दुइटै प्रकारको हो ।
प्रश्न— के एक म्यानमा दुइटा तलवार कहिल्यै रहन सक्दछन् ! एक पदार्थमा सगुण र निर्गुणता कसरी रहन सक्दछ ?
उत्तर— जसरी जडका रूपादि गुण हुन्छन् र चेतनका ज्ञानादि गुण जडमा हुँदैनन्, त्यसरी नै चेतनमा इच्छादि गुण छन् र रूपादि जडको गुण छैन । त्यसैले ‘यद्गुणैस्सह वर्त्तमानं तत्सगुणम्, गुणेभ्यो यन्निर्गतं पृथग्भूतं तन्निर्गुणम्’ जो गुणहरूदेखि सहित त्यो ‘सगुण’ र जो गुणहरूदेखि रहित त्यो ‘निर्गुण’ भनिन्छ । आफ्नो-आफ्नो स्वभाविक गुणहरूको सहित र दोस्रो विरोधीको गुणहरूदेखि रहित हुनाले सबै पदार्थ सगुण र निर्गुण हुन्छन् । कुनै पनि यस्तो पदार्थ छैन जसमा केवल निर्गुणता वा केवल सगुणता होस्, किन्तु एउटैमा सगुणता र निर्गुणता सदा रहन्छ । त्यसरी नै परमेश्वर आफ्नो अनन्तज्ञान-बलादि गुणहरूदेखि सहित हुनाले ‘सगुण’ र रूपादि जडको तथा द्वेषादि जीवको गुणदेखि पृथक् हुनाले परमेश्वर ‘निर्गुण’ भनिन्छ ।
प्रश्न— संसारमा निराकारलाई निर्गुण र साकारलाई सगुण भन्दछन् । अर्थात् जब परमेश्वरले जन्म लिंदैन, तब ‘निर्गुण’ र जब अवतार लिन्छ, तब ‘सगुण’ भनिन्छ ?
उत्तर— यो कल्पना केवल अज्ञानीहरूको हो । जसलाई विद्या हुँदैन, तिनीहरू पशुकै समान यथा-तथा बर्बराउने गर्दछन् । जसरी सन्निपात-ज्वरयुक्त मनुष्य अण्डबण्ड बक्दछ, त्यसरी नै अविद्वान्‌हरूले भनेको वा लेखेकोलाई व्यर्थ सम्झनुपर्दछ ।
प्रश्न— परमेश्वर रागी हो कि विरक्त ?
उत्तर— दुइटै होइन, किनभने राग आफू भन्दा भिन्न उत्तम पदार्थहरूमा हुन्छ, सो परमेश्वरदेखि कुनै पदार्थ पृथक् वा उत्तम छैन, त्यसैले उसमा ‘राग’ को सम्भव छैन । र जसले प्राप्तलाई छोडिदिन्छ, त्यसलाई ‘विरक्त’ भन्दछन् । ईश्वर व्यापक हुनाले कुनै पदार्थलाई छोड्न सक्दैन, त्यसैले विरक्त पनि होइन ।
प्रश्न— ईश्वरमा इच्छा छ कि छैन ?
उत्तर— त्यस्तो इच्छा छैन । किनभने इच्छा पनि अप्राप्त, उत्तम र जसको प्राप्तिले सुख-विशेष होओस् तब नै ईश्वरमा इच्छा हुन सक्दछ । नत उसदेखि कुनै अप्राप्त पदार्थ, नत कुनै उसदेखि उत्तम र पूर्ण सुखयुक्त हुनाले सुखको अभिलाषा पनि छैन, त्यसैले ईश्वरमा इच्छाको त सम्भव छैन, किन्तु ‘ईक्षण’ अर्थात् सबै प्रकारको विद्याको दर्शन र सबै सृष्टिलाई गर्नु भनिन्छ, त्यो ईक्षण हो । इत्यादि संक्षिप्त विषयदेखि नै सज्जनहरूले धेरै कुराहरू बुझ्न सक्नेछन् ।
अब संक्षेपले ईश्वरको विषय लेखेर वेदको विषय लेखिन्छ—
यस्मा॒दृचो॑ अ॒पात॑क्ष॒न् यजु॒र्यस्मा॑द॒पाक॑षन् ।
समा॑नि॒ यस्य॒ लोमा॑न्यथर्वाङ्गि॒रसो मुखं॑ स्क॒म्भन्तं ब्रू॑हि कत॒मः स्वि॑दे॒व सः ॥
—अथर्ववेद (काण्ड १०/प्रपाठक २३/अनुवाक ४/मन्त्र २०) ॥
जुन परमात्मादेखि ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद प्रकाशति भएका छन्, त्यो कुनचाहिं देव हो ? यसको उत्तर— जसले सबैलाई उत्पन्न गरेर धारण गरिरहेको छ, त्यही परमात्मा हो ।
स्व॑य॒म्भूर्या॑थातथ्य॒तोऽर्था॒न् व्य॒दधाच्छाश्व॒तीभ्यः॒ समा॑भ्यः ॥
—यजुर्वेद (अध्याय ४०/मन्त्र ८) ॥
जो स्वयम्भू, सर्वव्यापक, शुद्ध, सनातन, निराकार परमेश्वर हो, उसैले सनातन जीवरूप प्रजाको कल्याणार्थ यथावत् रीतिपूर्वक वेदद्वारा सबै विद्याहरूको उपदेश गर्दछ ।
प्रश्न— परमेश्वरलाई तिमीले निराकार मान्दछौ कि साकार ?
उत्तर— निराकार मान्दछु ।
प्रश्न— जब निराकार हो भने त वेदविद्याको उपदेश बिना मुखको वर्णोच्चारण कसरी हुन सक्दछ ? किनभने वर्णहरूको उच्चारणमा ताल्वादि स्थान, जिह्वाको प्रयत्न अवश्य हुनुपर्दछ ।
उत्तर— परमेश्वर सर्वशक्तिमान् र सर्वव्यापक हुनाले जीवहरूलाई आफ्नो विद्याको उपदेश गर्नमा कुनै पनि मुखादिको अपेक्षा छैन । किनभने मुख-जिह्वादेखि वर्णोच्चारण आफू भन्दा भिन्न मनुष्यको लागि गर्ने गरिन्छ, आफ्नो लागि होइन । बिना मुख र जिह्वाको मनमा अनेक व्यवहारहरूको विचार र शब्दोच्चारण आफै भैराख्दछ । कानमा औंलाले थुनेर हेर, सुन कि बिना मुख-जिह्वा-ताल्वादि स्थानहरूको कस्ता-कस्ता शब्द भैरहेका छन्, त्यसरी नै जीवहरूलाई अन्तर्यामीरूपबाट उपदेश गरेको छ । किन्तु केवल दोस्रोलाई सम्झाउनको लागि उच्चारण गर्ने गरिन्छ । जब परमेश्वर निराकार सर्वव्यापक छ भने त आफ्नो विद्याको उपदेश जीवस्थ स्वरूपबाट जीवात्मामा प्रकाशित गरिदिन्छ । फेरि त्यो मनुष्यले आफ्नो मुखले उच्चारण गरेर दोस्रालाई सुनाउँछ, त्यसैले ईश्वरमा यो दोष आउन सक्दैन ।
प्रश्न— क-कसको आत्मामा कहिले वेदहरूको प्रकाश गरे ?
उत्तरअग्नेर्वा ऋग्वेदो जायते वायोर्यजुर्वेदः सूर्यात्सामवेदः ॥
                   —तुलना [शतपथ ब्राह्मण (११/४/२/३)] ॥
प्रथम अर्थात् सृष्टिको आदिमा परमात्माले अग्नि, वायु, आदित्य तथा अङ्गिरा ऋषिहरूको आत्मामा एक-एक वेदको प्रकाश गरे ।
प्रश्नयो वै ब्रह्माणं विदधाति पूर्वं यो वै वेदांश्च प्रहिणोति तस्मै ॥
                               —श्वेताश्वतरोपनिषद् (अध्याय ६/मन्त्र १८) ॥
यस वचनबाट ब्रह्माजीको हृदयमा वेदहरूको उपदेश गरियो । फेरि अग्न्यादि ऋषिहरूको आत्मामा किन भनियो ?
उत्तर— ब्रह्माको आत्मामा अग्नि आदिको द्वारा स्थापित गराए । हेर ! मनुस्मृतिमा के लेखेको छ ?
अग्निवायुरविभ्यस्तु त्रयं ब्रह्म सनातनम् । दुदोह यज्ञसिद्ध्यर्थमृग्यजुःसामलक्षणम् ॥
                              —मनुस्मृति (अध्याय १/श्लोक २३) ॥
जुन परमात्माले आदि सृष्टिमा मनुष्यलाई उत्पन्न गरेर अग्नि आदि चारै ऋषिहरूद्वारा चारै वेद ब्रह्मालाई प्राप्त गराए र उसै ब्रह्माले अग्नि, वायु, आदित्य र (तँ अर्थात्) अङ्गिराबाट ऋग्, यजुः, साम र अथर्ववेदको ग्रहण गरे ।
प्रश्न— ती चारैमा मात्र वेदहरूको प्रकाश गरे, अन्यलाई होइन, यसबाट ईश्वर पक्षपाती ठहरिन्छ ।
उत्तर— तिनीहरू चारै जनामात्र सबै जीवहरू भन्दा अधिक पवित्रात्मा थिए । अन्य उनीहरूका सदृश थिएनन् । त्यसैले पवित्र विद्याको उनैमा प्रकाश गरे ।
प्रश्न— कुनै देश-भाषामा वेदहरूको प्रकाश नगरेर संस्कृतमा किन गरे ?
उत्तर— यदि कुनै देश-भाषामा प्रकाश गर्थे भने त ईश्वर पक्षपाती हुन्थ्यो, किनभने जुन देशको भाषामा प्रकाश गर्थे तिनीहरूलाई सुगमता र विदेशीहरूलाई कठिनता वेदलाई पढ्न-पढाउनमा हुन्थ्यो । यसैले संस्कृतमा नै प्रकाश गरे, जो कुनै देशको भाषामा होइन, र अन्य सबै देशभाषाहरूको कारण हो, उसैमा वेदहरूको प्रकाश गरे । जसरी ईश्वरको पृथ्वी आदि सृष्टि सबै देश र देशवालाहरूको लागि एउटै र सबै शिल्पविद्याको कारण हो, त्यसरी नै परमेश्वरको विद्याको भाषा पनि एउटै हुनुपर्दछ कि सबै देशवालाहरूको लागि पढ्न-पढाउनमा तुल्य परिश्रम हुनाले ईश्वर पक्षपाती हुँदैन, र सबै भाषाहरूको कारण पनि यही हो ।
प्रश्न— वेद ईश्वरकृत हो, अन्यकृत होइन भन्ने यसको के प्रमाण छ ?
उत्तर— (१) जसरी ईश्वर पवित्र, सर्वविद्यावित्, शुद्धगुणकर्मस्वभाव, न्यायकारी, दयालु आदि गुणवाला छ, त्यस्तै जुन पुस्तकमा ईश्वरको गुण, कर्म, स्वभावको अनुकूल कथन हुन्छ, त्यो ईश्वरकृत हो; अन्य होइन । (२) र जसमा सृष्टिक्रम, प्रत्यक्षादि प्रमाण, आप्तहरूको र पवित्रात्माको व्यवहारदेखि विरुद्ध कथन नहोस्, त्यो ईश्वरोक्त हो । (३) जस्तो ईश्वरको निर्भ्रम ज्ञान त्यस्तै जुन पुस्तकमा भ्रान्तिरहित ज्ञानको प्रतिपादन हुन्छ, त्यो ईश्वरोक्त हो । (४) जस्तो परमेश्वर छ र जस्तो सृष्टिक्रम राखेको छ, त्यस्तै नै ईश्वर, सृष्टि, कार्य, कारण र जीवको प्रतिपादन जसमा हुन्छ, त्यो परमेश्वरकृत पुस्तक हो । (५) र जुन चाहिं प्रत्यक्षादि प्रमाण-विषयहरूदेखि अविरुद्ध, शुद्धात्माको स्वभावदेखि विरुद्ध नहोस् ।
यस प्रकारको वेदमात्रै छन् । अन्य बाइबल, कुरान, आदि होइनन् । यसको स्पष्ट व्याख्या बाइबल र कुरानको तेह्रौं र चौधौं समुल्लासमा गरिनेछ ।
प्रश्न— वेद ईश्वरदेखि हुनुपर्ने कुनै आवश्यकता नै छैन, किनभने मनुष्यहरूले क्रमशः ज्ञान बढाउँदै लगेर पश्चात् पुस्तक पनि बनाउन सक्नेछन् ।
उत्तर— कहिल्यै पनि बनाउन सक्ने छैनन् । किनभने बिना कारणको कार्योत्पत्तिको हुन असम्भव छ । जस्तै जङ्गली मनुष्य सृष्टिलाई देखेर पनि विद्वान् हुँदैनन् र जब कुनै शिक्षक मिल्यो भने त विद्वान् हुन्छन् र अहिले पनि कसैसँग नपढिकन विद्वान हुँदैनन् । यस प्रकार यदि ती ऋषिहरूलाई वेद विद्या नपढाएको भए त तिनीहरूले अरूलाई पढाउने थिएनन् यस्तो अवस्थामा सबै जना अविद्वान् रहन जान्थे । जसरी कसैको बालकलाई जन्मेदेखि एकान्तमा लगेर, अविद्वान्‌हरू वा पशुहरूसँग राखिदियो भने त त्यो जस्तो सङ्ग छ, त्यस्तै हुन जानेछ । यसको दृष्टान्त जङ्गली भील (कुसुण्डाहरू) आदि हुन् । जबसम्म आर्यावर्त्तदेखि अन्यत्र शिक्षा गएको थिएन तबसम्म मिश्र, यूनान र यूरोप देश आदिस्थ मनुष्यहरूमा केही पनि विद्या थिएन । र इंग्लैण्डको कोलम्बस आदि पुरुष अमेरिकामा जबसम्म गएका थिएनन्, तबसम्म तिनीहरू पनि हजारौं, लाखौं, करोडौं वर्षदेखि मूर्ख थिए । पछि सुशिक्षा पाउनाले विद्वान् भएका हुन् । त्यसरी नै परमात्मादेखि सृष्टिको आदिमा विद्या-शिक्षाको प्राप्तिले उत्तरोत्तर कालमा विद्वान् हुँदै आएका हुन् ।
स पूर्वेषामपि गुरुः कालेनानवच्छेदात् ।      —योगशास्त्र सूत्र (समाधिपाद/सूत्र २६) ॥
जसरी वर्तमान समयमा हामीहरू अध्यापकहरूसँग पढेर नै विद्वान् हुन्छौं, त्यसरी नै परमेश्वर सृष्टिको आरम्भमा उत्पन्न भएका अग्नि आदि ऋषिहरूका ‘गुरु’ अर्थात् पढाउनेवाला हुन् । किनभने जसरी जीव सुषुप्ति र प्रलयमा ज्ञानरहित हुन जान्छ, त्यस्तो परमेश्वर हुँदैन । उसको ज्ञान नित्य छ । त्यसैले यो निश्चित जान्नुपर्दछ कि बिना निमित्तबाट नैमित्तिक अर्थ सिद्ध कहिल्यै हुँदैन ।
प्रश्न— वेद संस्कृतभाषामा प्रकाशित भए र ती अग्नि आदि ऋषिहरूले त्यस संस्कृतभाषालाई जान्दैनथे, फेरि वेदहरूको अर्थलाई उनीहरूले कसरी जाने ?
उत्तर— परमेश्वरले जनायो, र धर्मात्मा योगी महर्षिहरू जब-जब जुन-जुनको अर्थलाई जान्ने इच्छा गरेर ध्यानावस्थित हुँदै परमेश्वरको स्वरूपमा समाधिस्थ भए, तब-तब परमात्माले अभीष्ट मन्त्रहरूको अर्थ जनाइदिए । जब धेरैको आत्माहरूमा वेदार्थप्रकाश भयो तब ऋषि-मुनिहरूले त्यो अर्थ र ऋषि-मुनिहरूको इतिहासपूर्वक ग्रन्थ बनाए । तिनैको नाम ब्राह्मण अर्थात् ‘ब्रह्म’ जुन वेदको व्याख्यानग्रन्थ हुनाले ‘ब्राह्मण’ नाम भयो । र—
ऋषयो मन्त्रदृष्टयः मन्त्रान्सम्प्रादुः ॥   —तुलना [निरुक्त (अ.७/खं.३); (अ.१/खं.२०)] ॥
जुन-जुन मन्त्रार्थको दर्शन जुन-जुन ऋषिलाई भयो र प्रथम नै अरू भन्दा पहिला कसैले त्यस मन्त्रको अर्थ प्रकाशित गरेका थिएनन्, प्रकाशित गरेर अरूलाई पनि पढाए, त्यसैले अद्यावधि ती-ती मन्त्रको साथमा ऋषिकका नाम स्मरणार्थ लेख्ने र लेखाइँने गरिन्छ । जो कसैले ऋषिहरूलाई मन्त्रकर्ता भन्दछ भने, तिनीहरूलाई मिथ्यावादी सम्झनु । ऋषिहरू त मन्त्रहरूका अर्थ प्रकाशक हुन् ।
प्रश्न— वेद कुन ग्रन्थहरूको नाम हो ?
उत्तर— ऋक्, यजुः, साम र अथर्व मन्त्रसंहिताहरूको नाम वेद हो, अन्यको होइन ।
प्रश्नमन्त्रब्राह्णयोर्वेदनामधेयम् ॥     —हेर्नुहोस् ! (कात्यायनपरिशिष्ट प्रतिज्ञासूत्र १/१) ॥
इत्यादि कात्यायनादिकृत प्रतिज्ञासूत्रादिको अर्थलाई के गर्दछौ ?
उत्तर— हेर ! संहिता पुस्तकको आरम्भ, अध्यायको समाप्तिमा वेद शब्द सनातनदेखि लेखिंदै आएको छ र ब्राह्मण पुस्तकको आरम्भ वा अध्यायको समाप्तिमा कहीं पनि लेखिएको छैन । र निरुक्तमा—
इत्यपि निगमो भवति ॥ इति ब्राह्मणम् ॥               —निरुक्त (अध्याय ५/खण्ड ३, ४) ॥
छन्दोब्राह्मणानि च तद्विषयाणि ॥               —पाणिनीय अष्टाध्यायी (४/२/६५) ॥
यस प्रमाणबाट पनि स्पष्ट विदित हुन्छ कि ‘वेद’ मन्त्रभाग र ‘ब्राह्मण’ व्याख्याभाग हो । यदि यसलाई विशेष हेर्न चाहेमा ‘ऋग्वेदादिभाष्यभूमिका’ मा हेर्नुहोला । वहाँ अनेकशः प्रमाणहरूदेखि विरुद्ध हुनाले यो कात्यायनको वचन माननीय हुन सक्दैन । किनभने यदि मान्यौं भने त वेद सनातन कहिल्यै हुन सक्दैनन् । किनभने ब्राह्मण-पुस्तकहरूमा थुप्रै ऋषि, महर्षि र राजादिको इतिहास लेखिएको छ र इतिहास जसको हुन्छ, उसको जन्मको पश्चात् लेखिन्छ । ती ग्रन्थ पनि उनको जन्म पश्चात्को हो र यस्तै सिद्ध हुन्छ । वेदहरूमा कसैको इतिहास छैन; किन्तु जुन-जुन शब्ददेखि विद्याको बोध हुन्छ, त्यस-त्यस शब्दको प्रयोग गरिएको छ । कुनै विशेष मनुष्यको संज्ञा वा विशेष कथाको प्रसङ्ग वेदहरूमा छैन ।
प्रश्न— वेदहरूका कति शाखा छन् ?
उत्तर— एक हजार एक सय सत्ताईस ।
प्रश्न— शाखालाई केलाई भनेर चिनिन्छ ?
उत्तर— व्याख्यालाई ‘शाखा’ भन्दछन् ।
प्रश्न— संसारमा विद्वान्‌हरू वेदको अवयवभूत विभागहरूलाई शाखा मान्दछन् नि त ?
उत्तर— अलिकता विचार गर्‍यौ भने त ठीक, किनभने जति शाखा छन्, ती आश्वलायन आदि ऋषिहरूका नामले प्रसिद्ध छन् र मन्त्रसंहिता परमेश्वरको नामबाट प्रख्यात छन् । जसरी चारै वेदहरूलाई परमेश्वरकृत मान्दछन्, त्यसरी नै आश्वलायनी आदि शाखाहरूलाई ती-ती ऋषिकृत मान्दछन् र सबै शाखाहरूमा मन्त्रहरूको प्रतीक राखेर व्याख्या गर्दछन् । जस्तै तैत्तिरीय शाखामा ‘इषे त्वोर्जे त्वा इति’, इत्यादि प्रतीक राखेर व्याख्या गरिएको छ र वेदसंहिताहरूमा कसैको पनि प्रतीक राखिएको छैन । त्यसैले परमेश्वरकृत चारै वेद मूल-वृक्ष र आश्वलायनादि सबै शाखा ऋषि-मुनिकृत हुन्, परमेश्वरकृत होइनन् यही कुरो साँचो हो । यसको विशेष व्याख्या हेर्न चाहेमा ‘ऋग्वेदादिभाष्यभूमिका’ मा हेर्नुहोला । जसरी माता-पिताले आफ्नो सन्तानमाथि कृपादृष्टि गरेर उन्नति चाहन्छन्, त्यसरी नै परमात्माले सबै मनुष्यमाथि कृपा गरेर वेदहरू प्रकाशित गरेको छ । जसबाट मनुष्य अविद्यान्धकार एवं भ्रमजालबाट छुटेर विद्या, विज्ञानरूपी सूर्यलाई प्राप्त गरेर आनन्दमा रहून् र विद्या तथा सुखहरूको वृद्धि गर्दै जाऊन् ।
प्रश्न— वेद नित्य हुन् कि अनित्य ?
उत्तर— ‘नित्य’ हुन्, किनभने परमेश्वर नित्य हुनाले उसको ज्ञानादि गुण पनि नित्य हुन्छ । जो नित्य पदार्थ हुन्छ त्यसको गुण, कर्म स्वभाव नित्य हुन्छ भने अनित्य द्रव्यको चाहिं ‘अनित्य’ हुन्छ ।
प्रश्न— के यो पुस्तक पनि नित्य हो ?
उत्तर— होइन । किनभने पुस्तक त कागज र मसीले बनेको हुन्छ, त्यो नित्य कसरी हुन सक्दछ ? किन्तु जो शब्द, अर्थ र सम्बन्ध छन्, ती नित्य हुन् ?
प्रश्न— ईश्वरले ती ऋषिहरूलाई ज्ञान दियो होला र त्यस ज्ञानबाट ती ऋषिहरूले वेद बनाए होलान् ?
उत्तर— ज्ञान ज्ञेयको बिना हुँदैन । गायत्र्यादि छन्द, षड्जादि र उदात्ताऽनुदात्तादि स्वरको ज्ञानपूर्वक गायत्र्यादि छन्दहरूको निर्माण गर्न बिना सर्वज्ञको कसैको सामर्थ्य छैन कि यस प्रकारको सर्वज्ञानयुक्त शास्त्रलाई बनाउन सकोस् । हो, वेदलाई पढेपश्चात् व्याकरण, निरुक्त र छन्द आदि ग्रन्थ ऋषि-मुनिहरूले विद्याहरूको प्रकाशको लागि गरेका हुन् । यदि परमात्माले वेदहरूको प्रकाश नगरेको भए त कसैले केही पनि बनाउन सक्ने थिएन । त्यसैले वेद परमेश्वरोक्त हुन् । यिनैको अनुसार सबै जनाहरू चल्नुपर्दछ र यदि कसैले सोधेमा कि तिम्रो मत के हो ? तब यही उत्तर दिनु कि हाम्रो मत ‘वेद’ अर्थात् जे-जति वेदमा भनिएको छ, हामी त्यो सबैलाई मान्दछौं ।
यसको अगाडि सृष्टिको विषयमा लेखिनेछ । यति संक्षेपले ईश्वर र वेदविषयमा व्याख्यान लेखियो ।                                    
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते ईश्वरवेदविषये
सप्तमः समुल्लासः सम्पूर्णः ॥७॥

Comments

Popular posts from this blog

बाह्रौं समुल्लास

चौथो समुल्लास