चौथो समुल्लास







(४) चौथो समुल्लास
समावर्त्तन, विवाह एवं गृहस्थाश्रमको विधि
समावर्त्तनको विषय (४.१)
वेदानधीत्य वेदौ वा वेदं वापि यथाक्रमम् । अविप्लुतब्रह्मचर्यो गृहस्थाश्रममाविशेत् ॥१॥      
                            —मनुस्मृति (अध्याय ३/श्लोक २) ॥
जब यथावत् ब्रह्मचर्य आचार्यानुकूल चलेर, धर्मले चारै वेद, तीन, दुई वा एक वेदलाई साङ्गोपाङ्ग पढेर जसको ब्रह्मचर्य खण्डित नभएको होस्, त्यो स्त्री वा पुरुष गृहाश्रममा प्रवेश गरोस् ।
तं प्रतीतं स्वधर्मेण ब्रह्मदायहरं पितुः । स्रग्विणं तल्प आसीनमर्हयेत्प्रथमं गवा ॥२॥        
—मनुस्मृति (अध्याय ३/श्लोक ३) ॥
जो यथावत् स्वधर्म अर्थात् जुन आचार्य र शिष्यको हो, त्यसदेखि युक्त पिता जनक वा अध्यापकदेखि ब्रह्मदाय अर्थात् विद्यारूप भागलाई ग्रहण, मालाको धारण गर्नेवाला, आफ्नो पलङ्गमा बसेका आचार्यालाई प्रथम गोदानले सत्कार गरोस् । यस्तै लक्षणयुक्त विद्यार्थीलाई पनि कन्याको पिताले गौ दिएर सत्कृत गरोस् ।
गुरुणानुमतः स्नात्वा समावृत्तो यथाविधि । उद्वहेत द्विजो भार्यां सवर्णां लक्षणान्विताम् ॥३॥    
—मनुस्मृति (अध्याय ३/श्लोक ४) ॥
गुरुको आज्ञा लिएर, स्नान गरेर, गुरुकुलदेखि अनुक्रमपूर्वक आएर ब्राह्मण, क्षत्रिय, वैश्य आफ्नो वर्णानुकूल सुन्दर लक्षणयुक्त कन्यासँग विवाह गरोस् ।
असपिण्डा च या मातुरसगोत्रा च या पितुः । सा प्रशस्ता द्विजातीनां दारकर्मणि मैथुने ॥४॥   
—मनुस्मृति (अध्याय ३/श्लोक ५) ॥
जुन कन्या माताको कुलको ६ पुस्ताहरूमा नहोस् र पिताको गोत्रको पनि नहोस्, त्यस कन्यासँग विवाह गर्नु उचित हुन्छ ।
टाढा विवाह गर्दाका फाइदाहरू (४.२)
यसको यो प्रयोजन हो कि—
परोक्षप्रिया इव हि देवाः प्रत्यक्षद्विषः ॥
—शतपथब्राह्मणे ॥ तु.-श.ब्रा.(६/१/१/२); गो.ब्रा.पू.(१/१) ॥
यो निश्चित कुरो हो कि जस्तो परोक्ष पदार्थमा प्रीति हुन्छ, त्यस्तो प्रत्यक्षमा हुँदैन । जस्तै कसैले मिश्रीको गुणलाई सुनेको छ र खाएको छैन भने त उसको मन त्यसै पदार्थमा लागिराखेको हुन्छ, जस्तै कुनै परोक्ष वस्तुको प्रशंसा सुनेर मिल्नको लागि उत्कट इच्छा हुन्छ, त्यसरी नै दूरस्थ अर्थात् जो आफ्नो गोत्र वा माताको कुलमा निकट सम्बन्धभित्रकी होइन भने त्यसै कन्यासँग वरको विवाह हुनुपर्दछ ।
निकटमा दोष र दूर विवाह गर्नमा गुण यो हो कि—
(१) पहिलो— जो बालक बाल्यावस्थादेखि निकट रहन्छन्, परस्पर क्रीडा, लडाई र प्रेम गर्दछन्, एक अर्काको गुण, दोष, स्वभाव, बाल्यवस्थाको विपरीत आचरण जान्दछन् र जुन नाङ्गै पनि एक अर्कालाई देख्दछन्, उनको परस्पर विवाह हुनाले प्रेम कहिल्यै पनि हुन सक्दैन ।
(२) दोस्रो— जस्तै पानीमा पानी मिलाउनाले विलक्षण गुण हुँदैन, त्यस्तै एक गोत्र पितृ वा मातृकुलमा विवाह हुँदा धातुहरूको फेर-बदल नहुनाले उन्नति हुँदैन ।
(३) तेस्रो— जसरी दूधमा मिश्री वा शुठो इत्यादि औषधिहरूको योग हुनाले उत्तमता हुन्छ, त्यसरी नै भिन्न गोत्र मातृ-पितृ कुलदेखि पृथक् वर्तमान स्त्री पुरुषहरूको विवाह हुनु एकदमै उत्तम कुरा हो ।
(४) चौथो— जसरी एक देशमा रोगी भए पनि त्यो दोस्रो देशमा वायु र खान-पानको फेर-बदलले रोगरहित हुन्छ, त्यसरी नै दूरस्थ-देशदेखि विवाह गर्नमा उत्तमता हुन्छ ।
(५) पाँचौं— निकट सम्बन्ध गर्दामा एक-अर्काको निकट हुँदामा सुख-दुःखको भान र विरोध हुनु पनि सम्भव छ, दूरस्थहरूमा हुँदैन र दूरस्थहरूको विवाहमा दूर-दूर प्रेमको डोरी लम्बिएर बढ्दै जान्छ, निकटस्थ विवाहमा हुँदैन ।
(६) छैटौं— दूर-दूर देशको वर्तमान र पदार्थहरूको प्राप्ति पनि दूर सम्बन्ध हुनमा सहजताले हुन सक्दछ, निकट विवाह हुँदामा होइन, त्यसैले—
दुहिता दुर्हिता दूरेहिता भवतीति ॥                        —निरुक्त (३/४) ॥
निरुक्तमा लेखिएको छ कि कन्याको नाम दुहिता यस कारणले हो कि यसको विवाह दूर देशमा हुनाले हितकारी हुन्छ, निकट गर्दामा हुँदैन ।
(७) सातौं— कन्याको पितृकुलमा दारिद्र्य हुन पनि सम्भव छ, किनभने जब-जब कन्या पितृकुलमा आउँछे, तब-तब उसलाई केही न केही दिनैपर्ने हुन्छ ।
(८) आठौं— कोही निकटमा हुनाले एक दोस्राको आफ्नो-आफ्नो पितृकुलदेखि सहायको घमण्ड र जब सानोतिनो कुनै पनि वैमनस्य हुँदामा त स्त्री तुरुन्तै पिताको कुलमा जान सक्दछे, एक दोस्राको निन्दा अधिक हुनेछ र विरोध पनि; किनभने प्रायः स्त्रीहरूको स्वभाव तीक्ष्ण र मृदु हुन्छ, इत्यादि कारणले पिताको एक गोत्र, माताको ६ पुस्ता र समीप देशमा विवाह गर्नु राम्रो हुँदैन ।
विवाहमा स्त्री-पुरुषको परीक्षा (४.३)
महान्त्यपि समृद्धानि गोऽजाविधनधान्यतः । स्त्रीसम्बन्धे दशैतानि कुलानि परिवर्जयेत्॥१॥
—मनुस्मृति (अध्याय ३/श्लोक ६) ॥
चाहे जतिसुकै धन, दौलत एवं चौपाय, राज्य, श्री आदिले समृद्ध यी कुल भए तापनि विवाहसम्बन्धमा निम्नलिखित दश कुललाई त्यागिदिनु ।
हीनक्रियं निष्पुरुषं निश्छन्दो रोमशार्शसम् । क्षय्यामयाव्यपस्मारिश्वित्रिकुष्ठिकुलानि च ॥२॥
                               —मनुस्मृति (अध्याय ३/श्लोक ७) ॥
जुन कुल सक्त्रियादेखि हीन, सत्पुरुषदेखि रहित, वेदाध्ययनदेखि विमुख, शरीरभरी लामा-लामा रउँ, अथवा हर्षको रोग भएको, क्षयरोगी, दमको रोगी, दीर्घखोकी, आमाशय (अजीर्ण), छारेरोगी, श्वेतकुष्ठ र गलितकुष्ठयुक्त कुलहरूको कन्या वा वरको साथमा विवाह हुनुहुँदैन । किनभने ती सबै दुर्गुण र रोग विवाह गर्नेवालाको कुलमा पनि वंशाणु रूपले प्रविष्ट हुन जान्छ, त्यसैले उत्तम कुलका केटा र केटीहरूको आपसमा विवाह हुनुपर्दछ ।
नोद्वहेत्कपिलां कन्यां नाऽधिकाङ्गीं न रोगिणीम् ।
नालोमिकां नातिलोमां न वाचाटान्न पिङ्गलाम् ॥३॥      —मनुस्मृति (अध्याय ३/श्लोक ८) ॥
न त पहेंली वर्णकी, न अधिकाङ्गी अर्थात् पुरुषभन्दा अग्ली, ठूलो ज्यान भएकी, अधिक बलवाली, न रोगयुक्त, न रउँरहित, न अधिक रउँ भएकी, न त धेरै बत्तौरी र एकदमै कुहिरा आँखा भएकी ।
नर्क्षवृक्षनदीनाम्नीं नान्त्यपर्वतनामिकाम् । न पक्ष्यहिप्रेष्यनाम्नीं न च भीषणनामिकाम् ॥४॥
—मनुस्मृति (अध्याय ३/श्लोक ९) ॥
न ऋक्ष अर्थात् अश्विनी, भरणी, रोहिणी आदि नक्षत्रका नाम भएकी; पीपल, वर आदि वृक्षका नाम भएकी; गङ्गा, जमुना आदि नदीका नाम भएकी; चांडाली आदि अन्त्य नामवाली; विन्ध्या, हिमालया, पार्वती आदि पर्वत नामवाली; काकी, श्येनी आदि पक्षी नामवाली; नागी, भुजङ्गा आदि सर्प नामवाली; दासी आदि प्रेष्य नामवाली र भीमा, भयंकारी काली, चण्डी आदि भीषण नाम भएकी कन्याको साथमा विवाह गर्नुहुँदैन । किनभने यी नाम कुत्सित र अन्य पदार्थहरूका पनि हुन् । किन्तु—
अव्यङ्गाङ्गीं सौम्यनाम्नीं हंशवारणगामिनीम् । तनुलोमकेशदशनां मृद्वङ्गीमुद्वहेत्स्त्रियम् ॥५॥       
    —मनुस्मृति (अध्याय ३/श्लोक १०) ॥
जसको सरल सीधा अङ्ग होस्, विरुद्ध नहोस्; जसको नाम सुन्दर होस् अर्थात् यशोदा, सुखदा आदि, हंस र हात्तीनीको तुल्य जसको चाल होस; सूक्ष्म लोम, केश र दाँतयुक्त; र जसको सबै अङ्ग कोमल होस्, त्यस्ती स्त्रीको साथमा विवाह गर्नु राम्रो हुन्छ ।
सानै उमेरमा विवाह गर्न निषेध (४.४)
प्रश्न— विवाहको समय र प्रकार कुनचाहिं राम्रो हुन्छ ?
उत्तर— सोह्रौं वर्षदेखि लिएर चौबीसौं वर्षसम्म कन्या र पच्चीसौं वर्षदेखि लिएर अड्चालीसौं वर्षसम्म पुरुषको विवाहको लागि उत्तम समय हो । यसमा जसले सोह्र र पच्चीसमा विवाह गरेमा निकृष्ट, अट्ठाह्र बीसकी स्त्री, तीस पैंतीस वा चालीसको पुरुष मध्यम, चौबीस वर्षकी स्त्री र अड्चालीस वर्षको पुरुषको विवाह उत्तम हो जुन देशमा यस प्रकारको विवाहको विधि श्रेष्ठ र ब्रह्मचर्य विद्याभ्यास अधिक हुन्छ, त्यो देश सुखी र जुन देशमा ब्रह्मचर्य-विद्याग्रहण रहित, बाल्यावस्था र अयोग्यहरूको विवाह हुन्छ, त्यो देश दुःखमा डुब्दछ । किनभने ब्रह्मचर्य विद्याको ग्रहणपूर्वक विवाहको सुधारले नै सबै कुराको सुधार र बिग्रेमा सबै कुरा बिग्रन जान्छ ।
प्रश्न—  
अष्टवर्षा भवेद् गौरी नववर्षा च रोहिणी ।
दशवर्षा भवेत्कन्या तत ऊर्ध्वं रजस्वला ॥१॥
माता चैव पिता तस्या ज्येष्ठो भ्राता तथैव च ।
त्रयस्ते नरकं यान्ति दृष्ट्वा कन्यां रजस्वलाम् ॥२॥
—यो श्लोक पाराशरी (७/६८) र शीघ्रबोध (१/५४, ६५) मा लेखिएको छ ॥
अर्थ— कन्याको आठौं वर्ष विवाहमा गौरी, नवौं वर्षमा रोहिणी, दशौं वर्षमा कन्या र यसभन्दा अगाडि रजस्वला संज्ञा हुन जान्छे ॥१॥ दश वर्षसम्ममा विवाह नगराइदिएमा त रजस्वला कन्याका माता, पिता र उसका दाइ-भाइ यी तीनैले देखेपछि त नरकमा गिर्दछन् ॥२॥
उत्तर
ब्रह्मोवाच
एकक्षणा भवेद् गौरी द्विक्षणेयन्तु रोहिणी ।
त्रिक्षणा सा भवेत्कन्या ह्यत ऊर्ध्वं रजस्वला ॥१॥
माता पिता तथा भ्राता मातुलो भगिनी स्वका ।
सर्वे ते नरकं यान्ति दृष्ट्वा कन्यां रजस्वलाम् ॥२॥
                        —यो सद्योनिर्मित ब्रह्मपुराणको वचन हो ॥
अर्थ— जति समयमा एक परमाणुले पल्टि मार्छ, त्यति समयलाई क्षण भन्दछन् । जब कन्या जन्मन्छे तब एक क्षणमा गौरी, दोस्रो क्षणमा रोहिणी, तेस्रो क्षणमा कन्या र चौथो क्षणमा रजस्वला हुन जान्छे ॥१॥ त्यस रजस्वलालाई देखेर उसका माता, पिता, दाइ-भाइ, मामा र बहिनी सबै नरकमा जान्छन् ॥२॥
प्रश्न— यी श्लोक प्रमाण होइनन् ।
उत्तर— किन प्रमाण होइन ? यदि ब्रह्माजीको श्लोकलाई प्रमाण होइन भन्दछौ भने त तिम्रा पनि प्रमाण हुन सक्दैन ।
प्रश्न— वाह-वाह ! पराशर र काशीनाथलाई पनि प्रमाण मान्दैनौ ।
उत्तर— वाह जी वाह ! के तिमीले ब्रह्माजीलाई प्रमाण मान्दैनौ, पराशर र काशीनाथ भन्दा ब्रह्माजी ठूला होइनन् र ? यदि तिमीले ब्रह्माजीका श्लोकलाई प्रमाण मान्दैनौ भने त, हामीले पनि पराशर, काशीनाथका श्लोकलाई मान्दैनौं ।
प्रश्न— तिम्रा श्लोक असम्भव हुनाले प्रमाण होइन, किनभने हजारौं क्षण जन्म समयमा नै बित्दछ त विवाह कसरी हुन सक्दछ ? र त्यति वेला विवाह गर्नमा केही फल पनि देखिंदैन ।
उत्तर— यदि हाम्रा श्लोक असम्भव छन् भने त तिम्रा पनि असम्भव छन् । किनभने आठ, नौ र दशौं वर्ष विवाह गर्न निष्फल छ, किनभने सोह्रौं वर्ष पश्चात् चौबीसौं वर्ष पर्यन्त विवाह हुनाले पुरुषको वीर्य परिपक्व, शरीर बलिष्ठ, स्त्रीको गर्भाशय पूरा र शरीर पनि बलयुक्त हुनाले सन्तान उत्तम हुन्छन् । जस्तो आठौं वर्षकी कन्यामा सन्तानोत्पत्तिको हुनु असम्भव छ, त्यसरी नै गौरी, रोहिणी नाम दिनु पनि अयुक्त छ । यदि गोरी कन्या नभएर काली होस् त, उसको नाम गौरी राख्न व्यर्थ छ । फेरि गौरी महादेवकी स्त्री, रोहिणी वसुदेवकी स्त्री थिइन् । उनलाई तिमी पौराणिकहरूले मातृसमान मान्दछौ । जब कन्यामात्रमा गौरी आदिको भावना गर्दछौ भने फेरि उनीहरूसित विवाह गर्नु कसरी सम्भव र धर्मयुक्त हुन सक्दछ ? त्यसैले तिम्रो र हाम्रो दुई-दुई श्लोक मिथ्या नै हुन् । किन कि जसरी हामीले ‘ब्रह्मोवाच’ गरेर श्लोक बनायौं, त्यसै गरी नै पराशर आदिको नामले आफ्नो मतलसिन्धु साँध्नेहरूले श्लोकहरू बनाएका हुन् । त्यसैले यी सबैका प्रमाणलाई छाडेर वेदको प्रमाणले काम गर्ने गर । हेर ! मनुस्मृतिमा—
त्रीणि वर्षाण्युदीक्षेत कुमार्यृतुमती सती । ऊर्ध्वं तु कालादेतस्माद्विन्देत सदृशं पतिम् ॥    
    —मनुस्मृति (अध्याय ९/श्लोक ९०) ॥
कन्या रजस्वला भएपछिका तीन वर्ष पर्यन्त पतिको खोजी गरेर आफ्नो तुल्य पतिलाई प्राप्त गरोस् । जब प्रतिमास रजोदर्शन हुन्छ भने त तीन वर्षमा ३६ पटक रजस्वला भएपछि विवाहकी योग्य हुन्छे, यसदेखि पूर्व हुँदिन ।
गुण-कर्मानुसारले वर्ण व्यवस्था (४.५)
काममामरणात्तिष्ठेद् गृहे कन्यर्तुमत्यपि । न चैवैनां प्रयच्छेत्तु गुणहीनाय कर्हिचित् ॥      
    —मनुस्मृति (अध्याय ९/श्लोक ८९) ॥
चाहे केटा-केटी मरणपर्यन्त कुमारै रहून्, परन्तु असदृश अर्थात् परस्पर विरुद्ध गुण-कर्म-स्वभाव भएकाहरूसँग कहिल्यै पनि विवाह हुनुहुँदैन । यसबाट यही सिद्ध हुन्छ कि न पूर्वोक्त समय भन्दा प्रथम, वा असदृशरूको विवाह हुन योग्य छैन ।
प्रश्न— विवाह गर्नु माता-पिताको आधीन हुनु पर्दछ कि केटा-केटीको आधीनमा ?
उत्तर— केटा-केटीको आधीनमा विवाह हुनु उत्तम हो । यदि माता-पिताले विवाह गराउनको लागि विचारे तापनि केटा-केटीको प्रसन्नताको बिना हुनुहुँदैन । किनभने एक दोस्राको प्रसन्नताबाट विवाह हुँदामा विरोध थोरै हुन्छ र सन्तान उत्तम हुन्छन् । अप्रसन्नताको विवाहमा नित्य क्लेश नै रहन्छ यो सत्य कुरा हो । विवाहको मुख्य प्रयोजन भनेको वर र कन्याको नै हो, माता-पिताको होइन । किनभने यदि उनीहरूमा प्रसन्नता रह्यो भने त उनीहरू सुखी र विरोधमा उनीहरू दुःखी हुन्छन् । र—  
सन्तुष्टो भार्यया भर्त्ता भर्त्रा भार्य्या तथैव च । यस्मिन्नेव कुले नित्यं कल्याणं तत्र वै ध्रुवम् ॥    
    —मनुस्मृति (अध्याय ३/श्लोक ६०) ॥
जुन कुलमा स्त्रीदेखि पुरुष र पुरुषदेखि स्त्री सदा प्रसन्न रहन्छन्, त्यस कुलमा आनन्द, लक्ष्मी र कीर्ति निवास गर्दछन्, र जहाँ विरोध, कलह हुन्छ, त्यहाँ दरिद्रता र निन्दा निवास गर्दछन् । यसैले जसरी स्वयंवरको रीति आर्यावर्त्तमा परम्परादेखि चलेर आएको छ, त्यही उत्तम हो । जब स्त्री-पुरुष विवाह गर्न चाहन्छन् तब विद्या, विनय, शील, रूप, आयु, बल, कुल, शरीरको परिमाणादि यथायोग्य हुनुपर्दछ । जबसम्म यी सबै कुराको तालमेल हुँदैन तबसम्म विवाहबाट केही पनि सुख हुँदैन र न त बाल्यवस्थामा विवाह गर्नाले सुख हुन्छ ।
युवा॑ सु॒वासाः॒ परि॑वीत॒ आगा॒त्स उ॒ श्रेया॑न्भवति॒ जाय॑मानः ।
तं धीरा॑सः क॒वय॒ उन्न॑यन्ति स्वा॒ध्यो॒ मन॑सा देव॒यन्तः॑ ॥१॥
—ऋग्वेद (मण्डल ३/सूक्त ८/मन्त्र ४)॥
आ धे॒नवो॑ धुनयन्ता॒मशिश्वीः सब॒र्दुघाः॑ शश॒या अप्र॑दुग्धाः ।
नव्या॑नव्या युव॒तयो॒ भव॑न्तीर्म॒हद्दे॒वाना॑मसुर॒त्वमेक॑म् ॥२॥
— ऋग्वेद (मण्डल ३/सूक्त ५५/मन्त्र १६)॥
पू॒र्वीर॒हं श॒रदः॑ शश्रमा॒णा दो॒षावस्तो॑रु॒षसो॑ ज॒र॑यन्तीः ।
मि॒नाति॒ श्रियं॑ जरि॒मा त॒नूना॒मप्यू॒ नु पत्नी॒र्वृष॑णो जगम्युः ॥३॥
— ऋग्वेद (मण्डल १/सूक्त १७९/मन्त्र १)॥
जुन पुरुष (परिवीतः) सबैतिरबाट यज्ञोपवीत, ब्रह्मचर्यसेवनले उत्तम शिक्षा र विद्याले युक्त, (सुवासाः) सुन्दर वस्त्र धारण गरेको ब्रह्मचर्ययुक्त, (युवा) पूर्ण जवान भएर विद्याग्रहण गरेर गृहाश्रममा, (आगात्) आउँछ, (सः) त्यही दोस्रो विद्याजन्ममा, (जायमानः) प्रसिद्ध भएर, (श्रेयान्) अतिशय शोभायुक्त मङ्गलकारी, (भवति) हुन्छ, (स्वाध्यः) राम्रोसँग ध्यानयुक्त, (मनसा) विज्ञानले, (देवयन्तः) विद्यावृद्धिको कामनायुक्त, (धीरासः) धैर्ययुक्त, (कवयः) विद्वान्‌हरू (तम्) उसैलाई (उन्नयन्ति) उन्नतिशील गरेर प्रतिष्ठित गर्दछन्, र जो ब्रह्मचर्यधारण विद्या, उत्तम शिक्षालाई ग्रहण नगरिकनै अथवा बाल्यवस्थामा विवाह गर्दछन्, ती स्त्री पुरुष नष्ट-भ्रष्ट भएर विद्वान्‌हरूका माझ अप्रतिष्ठा कमाउँछन् ॥१॥
जो (अप्रदुग्धाः) कसैले नदुहेको, ती (धेनवः) गाईकै समान, (अशिश्वीः) बाल्यावस्थादेखि रहित, (सवर्दुघाः) सबै प्रकारको उत्तम व्यवहारलाई पूर्ण गराउनेवाली, (शशयाः) कुमारावस्थाको उल्लङ्घन गराउनेवाली, (नव्यानव्याः) नवीन-नवीन शिक्षा र अवस्थाले पूर्ण, (भवन्तीः) वर्तमान, (युवतयः) पूर्ण युवावस्थास्थ स्त्रीहरू, (देवानाम्) ब्रह्मचर्य सुनियमदेखि पूर्ण विद्वान्‌लाई, (एकम्) अद्वितीय, (महत्) ठूला, (असुरत्वम्) प्रज्ञाशास्क्रशिक्षायुक्त, प्रज्ञामा रमणको भावार्थलाई प्राप्त हुँदै जवान पतिहरूलाई प्राप्त गरेर, (आधुनयन्ताम्) गर्भ धारण गरून् । भुलेर पनि बाल्यवस्थामा पुरुषको मनले पनि ध्यान नगरोस्, किनभने यही कर्म यस लोक र परलोकको सुखको साधन हो । बाल्यवस्थाको विवाहले जति पुरुषको नाश गर्दछ त्यस भन्दा पनि अधिक स्त्रीको नाश हुन्छ ॥२॥
जसरी (नु) शीघ्र, (शश्रमाणाः) अत्यन्त श्रम गर्नेवाला (वृषणः) वीर्य सींचनमा समर्थ पूर्ण युवावस्थायुक्त पुरुष, (पत्नीः) युवावस्थास्थ, हृदयलाई प्रिय स्त्रीहरूलाई, (जगम्युः) प्राप्त गरेर, पूर्ण शतवर्ष वा त्यस भन्दा अधिक आयुलाई आनन्दले भोग्दछन्, र पुत्र-पौत्रादिले संयुक्त रहन्छन् त्यसै गरी स्त्री पुरुष सदा वर्त्तून्, जसरी (पूर्वीः) पूर्व वर्तमान (शरदः) शरदऋतुहरू, र (जरयन्तीः) वृद्धावस्थालाई प्राप्त गराउनेवाली, (उषसः) प्रातःकालका वेलाहरूलाई (दोषाः) रात्रि, र (वस्तोः) दिन, (तनूनाम्) शरीरको, (श्रियम्) शोभाको, (जरिमा) अतिशय वृद्धपन, बल र शोभालाई, (मिनाति) दूर गरिदिन्छ, त्यसरी नै (अहम्) म स्त्री वा पुरुष, (उ) राम्रोसँग, (अपि) निश्चय गरेर ब्रह्मचर्यले विद्या, शिक्षा, शरीर र आत्माको बल साथै युवावस्थालाई प्राप्त गरेपछि मात्रै विवाह गरूँ, यसदेखि विरुद्ध गर्नु, वेदविरुद्ध हुनाले, सुखदायक विवाह कहिल्यै पनि हुन सक्दैन ॥३॥
जबसम्म यसै प्रकार सबै ऋषि-मुनि, राजा-महाराजा, आर्यहरू ब्रह्मचर्यले नै विद्यालाई पढेर नै स्वयंवर विवाह गर्दथे, तबसम्म यस देशको उन्नति भैरहेको थियो । जबदेखि यो ब्रह्मचर्यले विद्यालाई नपढ्न, बाल्यवस्थामा पराधीन अर्थात् माता-पिताको आधीनमा विवाह हुन थाल्यो, तबदेखि क्रमशः आर्यावर्त्त देशको हानि हुँदै गैरहेको छ । त्यस कारण यस दुष्ट कामलाई छाडेर सज्जनहरूले पूर्वोक्त प्रकारबाट स्वयंवर विवाह गर्ने गरून् । सो विवाह वर्णानुक्रमले गरोस् र वर्णव्यवस्था गुण कर्म स्वभावको अनुसार हुनुपर्दछ ।
प्रश्न— के जसका माता-पिता ब्राह्मण छन् भने, त्यो ब्राह्मणी-ब्राह्मण हुन्छ र जसका माता-पिता अन्यवर्णस्थ छन् भने, त्यो कहिल्यै ब्राह्मण हुन सक्दछ र ?
उत्तर— हो हुन सक्दछ, थुप्रै भैसकेका छन् र अगाडि पनि हुनेछन् । जस्तै छान्दोग्य उपनिषद्मा जाबाल ऋषि अज्ञात कुल, महाभारतमा विश्वामित्र क्षत्रिय वर्ण र मातङ्ग ऋषि चाण्डाल कुलबाट ब्राह्मण भएका थिए । अहिले पनि जो उत्तम विद्या स्वभाववाला हुन्छ, त्यो ब्राह्मणको योग्य र मूर्ख चाहिं शूद्रको योग्य हुन्छ, र यस्तै अगाडि पनि हुँदै जानेछ ।
प्रश्न— कहाँ जुन रज-वीर्यले शरीर बनेको हुन्छ, त्यो फेरिएर दोस्रो वर्णको योग्य कसरी हुन सक्दछ ?
उत्तर— रज-वीर्यको योगले ब्राह्मण-शरीर हुँदैन । किन्तु—
स्वाध्यायेन जपैर्होमैस्त्रैविद्येनेज्यया सुतैः । महायज्ञैश्च यज्ञैश्च ब्राह्मीयं क्रियते तनुः ॥     
    —मनुस्मृति (अध्याय २/श्लोक २८) ॥  
यसको अर्थ पूर्वमा गरेर आएको छु र यहाँ पनि संक्षेपमा लेख्दछु— (स्वाध्यायेन), पढ्न-पढाउन, (जपैः) विचार गर्न-गराउन, (होमैः) नानाविध होमको अनुष्ठान, (त्रैविद्येन) सम्पूर्ण वेदहरूलाई शब्द, अर्थ, सम्बन्ध, स्वरोच्चारणसहित पढ्नु-पढाउनु, (इज्यया) पौर्णमासी इष्टि आदिलाई गर्ने, (सुतैः) पूर्वोक्त विधिपूर्वक धर्मले सन्तानोत्पत्ति, (महायज्ञैश्च) पूर्वोक्त ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, वैश्वदेवयज्ञ र अतिथियज्ञ, (यज्ञैश्च) अग्निष्टोमादियज्ञ, विद्वान्‌हरूको सङ्ग, सत्कार, सत्यभाषण, परोपकारादि सत्यकर्म र सम्पूर्ण शिल्पविद्यादि पढेर दुष्टाचारलाई छोड्दै, श्रेष्ठाचारमा चल्नाले (इयम्) यो (तनुः) शरीरलाई (ब्राह्मी) ब्राह्मणको (क्रियते) बनाउन सकिन्छ । के यस श्लोकलाई तिमीले मान्दैनौ ?
उत्तर— मान्दछु ।
प्रश्न— फेरि किन रज-वीर्यको योगले वर्णव्यवस्थालाई मान्दछौ त ?
उत्तर— म एक्लैले मान्दिन, किन्तु थुप्रैले परम्परादेखि नै यस्तै मान्दै आएका छन् ।
प्रश्न— के तिमीले परम्पराको पनि खण्डन गर्दछौ ?
उत्तर— गर्दिन, परन्तु तिम्रो उल्टो बुझाइलाई नमानेर खण्डन पनि गर्दछु ।
प्रश्न— हाम्रो उल्टो र तिम्रो सीधा बुझाइ हो भन्ने यसको के प्रमाण छ ?
उत्तर— यही प्रमाण हो कि जुन तिमीहरूले पाँच-सात पिढीहरूको अगाडिको कुरालाई वर्तमानको सनातन मान्दछौ भने हामीले वेद तथा सृष्टिको आरम्भदेखि आज पर्यन्तको कुरालाई परम्परा मान्दछौं । हेर ! जसको पिता श्रेष्ठ उसको पुत्र दुष्ट र जसको पुत्र श्रेष्ठ उसको पिता दुष्ट तथा कहीं दुइटै श्रेष्ठ अथवा दुइटै दुष्ट देखिनमा आउँछ । यसैले तिमीहरू भ्रममा परेका छौ । हेर ! मनु महाराजले के भनेका छन्—
येनास्य पितरो याता येन याता पितामहाः । तेन यायात्सतां मार्गं तेन गच्छन्न रिष्यते ॥   
  —मनुस्मृति (अध्याय ४/श्लोक १७८) ॥
अर्थ— जुन मार्गबाट यसको पिता, पितामह चलेका छन्, उसै मार्गमा सन्तान पनि चलून् परन्तु (सताम्) जसका सत्पुरुष पिता, पितामह छन् उनको मार्गमा चलून् र जसका पिता, पितामह दुष्ट छन् भने उनको मार्गमा कहिल्यै नचलून् । किनभने सत्पुरुष, धर्मात्मा पुर्खाहरूको मार्गमा चल्नाले दुःख कहिल्यै हुँदैन, यसलाई तिमीले मान्दछौ कि मान्दैनौ ?
हो-हो मान्दछौं ।
फेरि हेर ! जुन परमेश्वर-प्रकाशित वेदोक्त कुरा हो त्यही सनातन र जुन यसदेखि विरुद्ध हुन्छ त्यो सनातन कहिल्यै हुन सक्दैन । यस्तो सबैले मान्नुपर्दछ वा पर्दैन ?
अवश्य मान्नुपर्दछ ।
जसले यस्तो मान्दैन, त्यसलाई भन कि कसैको पिता दरिद्र छ उसको पुत्र धनाढ्य रहेछ भने त के आफ्नो पिताको दरिद्रावस्थाको अभिमानले धनलाई फ्याँकिदिने त ? के जसको पिता अन्धो हुन्छ, उसको पुत्रको पनि आँखा फुटालिदिने त ? जसको पिता कुकर्मी छ, के उसको पुत्रले पनि कुकर्म नै गर्ने त ? होइन-होइन, किन्तु जुन-जुन पुरुषका उत्तम कर्म छन्, तिनको सेवन र दुष्ट कर्महरूको त्याग गरिदिनु सबैको लागि आवश्यक हो । जो कसैले रज-वीर्यको योगले वर्णाश्रमलाई मान्ने र गुणकर्महरूको योगले मान्दैन भने त त्यसलाई सोध्नुपर्दछ कि जो कसैले आफ्नो वर्णलाई छोडेर नीच, अन्त्यज अथवा ईसाई, मुसलमान भएको छ, त्यसलाई ब्राह्मण किन मान्दैनौ ? यहाँ यही भन्नेछौ कि उसले ब्राह्मणको कर्म छोडिदियो त्यसैले ऊ ब्राह्मण होइन । यसबाट यहि सिद्ध हुन्छ कि जो ब्राह्मणादि उत्तम कर्म गर्दछन्, तिनीहरू नै ब्राह्मणादि र जुन नीच पनि उत्तम वर्णको गुण कर्म स्वभाववाला हुन्छ भने त त्यसलाई पनि उत्तम वर्णमा र जो उत्तम वर्णस्थ भएर पनि नीच कर्म गर्दछ भने त्यसलाई नीच वर्णमा अवश्य गन्नुपर्दछ ।
प्रश्न— ब्रा॒ह्म॒णो॒ऽस्य॒ मुख॑मासीद् बा॒हू रा॑ज॒न्यः॒ कृतः ।
         ऊ॒रू त॑दस्य॒ यद्वैश्यः॑ प॒द्भ्या शू॒द्रो अ॑जायत ॥    
—यजुर्वेद (अध्याय ३१/मन्त्र ११) ॥
यो यजुर्वेदको ३१औं अध्यायको ११औं मन्त्र हो । यसको अर्थ यो हो कि ब्राह्मण ईश्वरको मुख, क्षत्रिय बाहू, वैश्य ऊरू र शूद्र पगबाट उत्पन्न भएको हो । यसैले जसरी मुख, न बाहु आदि र बाहू आदि न मुख हुन्छन्, यसै प्रकार ब्राह्मण न क्षत्रियादि र क्षत्रियादि ब्राह्मण हुन सक्दैनन् ।
उत्तर— यस मन्त्रको अर्थ जुन तिमीले गरेका छौ, त्यो ठीक होइन, किनभने यहाँ पुरुष अर्थात् निराकार, व्यापक परमात्माको अनुवृत्ति आउँछ । जब ऊ निराकार छ भने त्यसको मुखादि अङ्ग हुने कुरै भएन, जुन मुखादि अङ्गवाला होस् त त्यो पुरुष अर्थात् व्यापक होइन, र जो व्यापक होइन, त्यो सर्वशक्तिमान, जगत्‌को स्रष्टा, धर्ता, प्रलयकर्ता, जीवहरूको पुण्य-पापलाई जानेर व्यवस्था गर्नेवाला, सर्वज्ञ, अजन्मा, मृत्युरहित आदि विशेषणवाला हुन सक्दैन । त्यसैले यसको अर्थ यो हो कि जुन (अस्य) पूर्ण व्यापक परमात्माको सृष्टिमा मुखकै सदृश सबैमा मुख्य उत्तम हो, त्यो (ब्राह्मण) ब्राह्मण, (बाहू)—
‘बाहुर्वै बलं बाहुर्वैवीर्यम्’    
—शतपथब्राह्मण तुलना (६/२/३/३३; १३/१/११/५; ५/३/३/१७) ॥
बल वीर्यको नाम बाहु हो, त्यो जसमा अधिक हुन्छ सो (राजन्यः) क्षत्रिय (ऊरू) कटिदेखि अधोतिरको र जानुको उपरिस्थ भागको नाम ऊरू हो, जुन सबै पदार्थहरूमा र सबै देशहरूमा ऊरूको बलले जान्छ-आउँछ, प्रवेश गर्दछ, त्यो (वैश्यः)(पद्भ्याम्) जुन पगको अर्थात् नीच अङ्गको सदृश मूर्खतादि गुणवाला हो, त्यो शूद्र हो । अन्यत्र शतपथ ब्राह्मणादिमा पनि यस मन्त्रको यसरी नै अर्थ गरिएको छ । जस्तै—
यस्मादेते मुख्यास्तस्मान्मुखतो ह्यसृज्यन्त ॥ इत्यादि ।
                          —तुलना (श.ब्रा. ६/१/१/१०; तै.सं. ७ /१/१/४) ॥
जसदेखि यी मुख्य हुन् त्यसैले मुखबाट उत्पन्न भए, यस्तो कथन संगत हुन्छ । अर्थात् जस्तो मुख सबै अङ्गहरूमा श्रेष्ठ हो, त्यसरी नै पूर्ण विद्या र उत्तम गुण-कर्म-स्वभावले युक्त हुनाले मनुष्यजातिमा उत्तम ब्राह्मण भनिन्छ । जब परमेश्वरको निराकार हुनाले मुखादि अङ्ग नै छैनन् त मुख आदिबाट उत्पन्न हुनु असम्भव छ । जस्तो कि बन्ध्या स्त्रीको पुत्रको विवाह हुनु ! र जो मुखादि अङ्गबाट ब्राह्मणादि उत्पन्न भएमा त उपादान कारणको सदृश ब्राह्मणादिको आकृति अवश्य हुन्थ्यो । जस्तो मुखको आकार गोलमाल छ, त्यसरी नै उनको शरीर पनि गोलमाल हुनुपर्दछ । क्षत्रियहरूको शरीर भुजाहरूको सदृश, वैश्यहरूको शरीर ऊरूको तुल्य र शूद्रहरूको शरीर पगको समान आकारवाला हुन्थे । यस्तो छैन । यदि कसैले तिमीलाई प्रश्न गर्ला कि जो-जो मुखादिबाट उत्पन्न भएका थिए, तिनको ब्राह्मणादि संज्ञा होस् परन्तु तिम्रो होइन, किनभने जसरी सबै मनुष्यहरू गर्भाशयबाट उत्पन्न हुन्छन् त्यसरी नै तिमी पनि हुन्छौ । तिमी मुखादिबाट उत्पन्न नभएर ब्राह्मणादि संज्ञाको अभिमान गर्दछौ यसैले तिमीले भनेको अर्थ व्यर्थ हो र जुन हामीले अर्थ गरेका छौं त्यो साँचो हो, यस्तै अन्यत्र पनि भनिएको छ हेर—
शूद्रो ब्राह्मणतामेति ब्राह्मणश्चैति शूद्रताम् । क्षत्रियाज्जातमेवन्तु विद्याद्वैश्यात्तथैव च ॥   
   —मनुस्मृति (अध्याय १०/श्लाक ६५) ॥    
जो शूद्रकुलमा उत्पन्न भएर पनि ब्राह्मण, क्षत्रिय र वैश्यको समान गुण, कर्म, स्वभाववाला भएको छ भने त त्यो शूद्र ब्राह्मण, क्षत्रिय र वैश्य हुन जान्छ, त्यसरी नै जो ब्राह्मण, क्षत्रिय र वैश्यको कुलमा उत्पन्न भएर पनि शूद्रको सदृश हुन्छ भने त त्यो शूद्र हुन जानेछ । त्यसरी नै क्षत्रिय, वैश्यको कुलमा उत्पन्न भएर पनि ब्राह्मण वा शूद्रको समान हुनाले ब्राह्मण र शूद्र पनि हुन जान्छ । अर्थात् चारै वर्णमा जुन-जुन वर्णको सदृश जुन-जुन पुरुष वा स्त्री होस्, त्यो-त्यो उसै वर्णमा गनिन जान्छ ।
धर्मचर्य्यया जघन्यो वर्णः पूर्वं पूर्वं वर्णमापद्यते जातिपरिवृत्तौ ॥१॥
अधर्मचर्य्यया पूर्वो वर्णो जघन्यं जघन्यं वर्णमापद्यते जातिपरिवृत्तौ ॥२॥
—यो आपस्तम्बको सूत्र हो (धर्मसूत्र प्रश्न २/पटल ५/कण्डिका ११/सूत्र १०-११) ॥
धर्माचरणले निकृष्ट वर्ण आफ्नो भन्दा उत्तम-उत्तम वर्णलाई प्राप्त हुन्छ र उसै वर्णमा गनिन्छ जुनमा उसको योग्यता हुन्छ ॥१॥
त्यसरी नै अधर्माचरणले पूर्व-पूर्व अर्थात् उत्तम-उत्तम वर्णवाला मनुष्य आफूभन्दा नीचा वर्णहरूमा प्राप्त हुन्छ र उसै वर्णमा गनिन्छ ॥२॥
जस्तो पुरुष जुन-जुन वर्णको योग्य हुन्छ त्यसरी नै स्त्रीहरूको पनि व्यवस्था सम्झनुपर्दछ । यसबाट के सिद्ध हुन्छ भने यस प्रकारबाट हुनाले सबै वर्ण आफ्नो-आफ्नो कर्म, गुण, स्वभावयुक्त भएर शुद्धताको साथ रहन्छन् । अर्थात् ब्राह्मणकुलमा कोही क्षत्रिय, वैश्य, शूद्रको सदृश नहून् र क्षत्रिय, वैश्य तथा शूद्र वर्ण पनि शुद्ध रहन्छन् । वर्णसंकरता प्राप्त हुनेछैन । यसबाट कुनै वर्णको निन्दा वा अयोग्यता पनि हुनेछैन ।
प्रश्न— जो कसैको एउटै मात्र पुत्र वा पुत्री छ, त्यसले दोस्रो वर्णमा प्रविष्ट गर्‍यो भने त्यसका माता-पिताको सेवा कसले गर्नेछ र वंशच्छेदन पनि हुन जानेछ, यस्तो अवस्थामा कस्तो प्रकारको व्यवस्था हुनुपर्दछ ?
उत्तर— न कसैको सेवाको भङ्ग र न कसैको वंशोच्छेदन नै हुनेछ, किनभने तिनलाई आफ्ना छोरा-छोरीको सट्टामा स्ववर्णका योग्य दोस्रा सन्तान, विद्यासभा र राजसभाको व्यवस्थाबाट मिल्नेछ, त्यसैले केही पनि अव्यवस्था हुनेछैन । यो गुण कर्मले वर्णहरूको व्यवस्था कन्याहरूको सोह्रौं वर्ष र पुरुषहरूको पच्चीसौं वर्षको परीक्षामा नियत गर्नुपर्दछ र यसै क्रमबाट ब्राह्मणको ब्राह्मणी, क्षत्रियको क्षत्रिया, वैश्यको वैश्या र शूद्रको शूद्राको साथमा विवाह हुनुपर्दछ, तब नै आफ्नो-आफ्नो वर्णहरूको कर्म र परस्पर प्रीति पनि यथायोग्य हुनेछ । यी चारै वर्णहरूको कर्तव्य कर्म र गुण यस प्रकार छन्—
अध्यापनमध्ययनं यजनं याजनं तथा । दानं प्रतिग्रहश्चैव ब्राह्मणानामकल्पयत् ॥१॥    
    —मनुस्मृति (अध्याय १/श्लोक ८८) ॥
शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च । ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्मस्वभावजम् ॥२॥
              —भगवद्गीता (अध्याय १८/श्लोक ४२) ॥
ब्राह्मणका कर्म—
पढ्नु-पढाउनु, यज्ञ गर्नु-गराउनु, दान दिनु-लिनु, यी ६ कर्म ब्राह्मणका हुन्, परन्तु प्रतिग्रहः प्रत्यवरः [मनुस्मृति (१०/१०९)], अर्थात् दान लिनु नीच कर्म हो ॥१॥ (शमः) मनले नराम्रो कामको इच्छा पनि नगर्नु र त्यसलाई अधर्ममा कहिल्यै पनि प्रवृत्त हुन नदिनु, (दमः) श्रोत्र र चक्षु आदि इन्द्रियलाई अन्यायाचरणदेखि रोकेर धर्ममा चलाउनु, (तपः) सदा ब्रह्मचारी जितेन्द्रिय भएर धर्मानुष्ठान गर्नु । (शौच)
अद्भिर्गात्राणि शुध्यन्ति मनः सत्येन शुध्यति । विद्यातपोभ्यां भूतात्मा बुद्धिर्ज्ञानेन शुध्यति ॥    
   —मनुस्मृति (अध्याय ५/श्लोक १०९) ॥
जलले बाहिरी अङ्ग, सत्याचारले मन, विद्या र धर्मानुष्ठानले जीवात्मा र बुद्धि ज्ञानले पवित्र हुन्छ । भित्र रागद्वेषादि दोष र बाहिरको मललाई दूर गरेर शुद्ध गर्नु अर्थात् सत्याऽसत्यलाई विवेकपूर्वक सत्यको ग्रहण र असत्यको त्यागले निश्चय पवित्र हुन्छ । (क्षान्ति) अर्थात् निन्दा-स्तुति, सुख-दुःख, शीतोष्ण, क्षुधा-तृषा, हानि-लाभ, मानापमान आदिमा हर्ष-शोक छोडेर धर्ममा दृढ निश्चित रहनु, (आर्जव) कोमलता, निरभिमान, सरलस्वभाव राख्नु, कुटिलतादि दोष छोड्नु, (ज्ञानम्) सबै वेदादि शास्त्रहरूको साङ्गोपाङ्ग पढ्ने-पढाउने सामर्थ्य, विवेक सत्याऽसत्यको निर्णय, जुन वस्तु जस्तो छ अर्थात् जडलाई जड र चेतनलाई चेतन जान्नु र मान्नु, (विज्ञान) पृथ्वीदेखि लिएर परमेश्वर पर्यन्त पदार्थहरूको विशेषताले जानेर तिनबाट यथायोग्य उपयोग लिनु, (आस्तिक्य) कहिल्यै वेद, ईश्वर, मुक्ति, पूर्व-परजन्म, धर्म, विद्या, सत्सङ्ग, माता, पिता, आचार्य र अतिथिहरूको सेवा नछोड्नु र निन्दा पनि कहिल्यै नगर्नु, यी पन्ध्र कर्म र गुण ब्राह्मणवर्ण मनुष्यमा अवश्य हुनुपर्दछ ॥२॥
क्षत्रियका कर्म
प्रजानां रक्षणं दानमिज्याध्ययनमेव च । विषयेष्वप्रसक्तिश्च क्षत्रियस्य समासतः ॥१॥   
                        —मनुस्मृति (अध्याय १/श्लोक ८९) ॥
शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् । दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ॥२॥
              —भगवद्गीता (अध्याय १८/श्लोक ४३) ॥
न्यायले प्रजाको रक्षा अर्थात् पक्षपात छोडेर, श्रेष्ठहरूको सत्कार र दुष्टहरूको तिरस्कार गर्नु, सब प्रकारबाट सबैको पालन (दान) विद्या धर्मको प्रवृत्ति र सुपात्रहरूको सेवामा धनादि पदार्थहरूको व्यय गर्नु, (इज्या) अग्निहोत्रादि यज्ञ गर्नु वा गराउनु (अध्ययन) वेदादि शास्त्रहरू पढ्नु तथा पढाउनु र (विषयेष्वप्रसक्ति) विषयमा नफसेर, जितेन्द्रिय रहँदै, सदा शरीर र आत्माले बलवान् रहनु ॥१॥ (शौर्य्य) एक्लै सयौं हजारौंसँग पनि युद्ध गर्नमा भय नमान्नु, (तेजः) सदा तेजस्वी दीनतारहित प्रगल्भ दृढ रहनु, (धृति) धैर्यवान् हुनु, (दाक्ष्य) राजपाट र प्रजासम्बन्धी व्यवहारका साथै सबै शास्त्रहरूमा चतुरो हुनु, (युद्धे) युद्धमा पनि दृढ निःशङ्क रहेर उससँग कहिल्यै नहट्नु, नभाग्नु अर्थात् यस प्रकारले लडोस् कि जसबाट निश्चित विजय होस्, आफू बचोस्, भाग्नाले, शत्रुलाई धोका दिनाले नै जीत हुन्छ भने त यस्तै नै गरोस्, (दान) दानशीलता राख्नु, (ईश्वरभाव) पक्षपातरहित हुँदै सबैको साथ यथायोग्य चल्नु, विचार्नु, वचन दिएर प्रतिज्ञा पूरा गर्नु, बोलेको कुरालाई कहिल्यै पनि भङ्ग हुन नदिनु, यी एघार क्षत्रिय वर्णको कर्म र गुण हुन् ॥
वैश्यका कर्म
पशूनां रक्षणं दानमिज्याध्ययनमेव च । वणिक्पथं कुसीदं च वैश्यस्य कृषिमेव च ॥      
  —मनुस्मृति (अध्याय १/श्लोक ९०) ॥
(पशुरक्षा) गाई आदि पशुहरूको पालन, वर्द्धन गर्नु, (दान) विद्या धर्मको वृद्धि गर्न-गराउनको लागि धनादिको व्यय गर्नु, (इज्या) अग्निहोत्रादि यज्ञहरू गर्नु, (अध्ययन) वेदादि शास्त्रहरूलाई पढ्नु, (वणिक्पथ) सबै प्रकारको व्यापार गर्नु, (कुसीद) एक सयकडामा चार आना, छ, आठ, बाह्र, सोह्र वा बीस आनादेखि अधिक व्याज र मूल धनदेखि दुई गुणा अर्थात् एक रुपैयाँ दिएको छ भने त सय वर्षमा पनि दुई रूपैयाँ भन्दा अधिक नलिनु र नदिनु, (कृषि) खेती गर्नु, यी सबै वैश्यका गुण कर्म हुन् । शूद्रका कर्म
एकमेव हि शूद्रस्य प्रभुः कर्म समादिशत् । एतेषामेव वर्णानां शुश्रूषामनसूयया ॥          
    —मनुस्मृति (अध्याय १/श्लोक ९१) ॥
शूद्रलाई योग्य यो हो कि निन्दा, ईर्ष्या, अभिमान आदि दोषहरूलाई छाडेर ब्राह्मण, क्षत्रिय र वैश्यहरूको सेवा यथावत् गर्नु र त्यसैबाट आफ्नो जीवन चलाउनु, यही एक शूद्रको कर्म, गुण हो ।
यति संक्षेपले वर्णहरूका गुण र कर्म लेखियो । जुन-जुन पुरुषमा जुन-जुन वर्णको गुण कर्म हुन्छन्, त्यस-त्यस वर्णको अधिकार दिनु । यस्तो व्यवस्था राख्नाले सबै मनुष्य उन्नतिशील हुनेछन् । किनभने उत्तम वर्णलाई भय हुनेछ कि हाम्रा सन्तान मूर्खत्वादि दोषयुक्त भए भने त शूद्र हुनेछन् र सन्तान पनि डराउँदै रहने छन् कि यदि हामी उत्तम चालचलन र विद्यायुक्त भएनौं भने त शूद्र हुन पर्नेछ, र नीच वर्णमा उत्तम वर्णस्थ हुनको लागि उत्साह बढ्नेछ । विद्या र धर्मको प्रचारको अधिकार ब्राह्मणलाई दिनु किनभने तिनीहरू पूर्णविद्यावान् र धार्मिक हुनाले त्यस कामलाई यथायोग्य गर्न सक्दछन् । क्षत्रियहरूलाई राज्यको अधिकार दिनाले कहिल्यै पनि राज्यको हानि वा विघ्न हुँदैन । पशुपालनादिको अधिकार वैश्यहरूले नै गर्दामा योग्य हुन्छ, किनभने तिनीहरूले यस कामलाई राम्रोसँग गर्दछन् । शूद्रलाई सेवाको अधिकार यस कारणले हो कि तिनीहरू विद्यारहित मूर्ख हुनाले विज्ञानसम्बन्धी काम केही पनि गर्न सक्दैनन् किन्तु शरीरको बलको काम जति सबै गर्न सक्दछन् । यस प्रकार वर्णहरूलाई आफ्नो-आफ्नो अधिकारमा प्रवृत्त गराउनु राजा आदि सभ्यजनहरूको काम हो ।
विवाहका लक्षणहरू (४.६)
ब्राह्मो दैवस्तथैवार्षः प्राजापत्यस्तथाऽऽसुरः । गान्धर्वो राक्षसश्चैव पैशाचश्चाष्टमोऽधमः ॥    
     —मनुस्मृति (अध्याय ३/श्लोक २१) ॥
विवाह आठ प्रकारको हुन्छ । एक ब्राह्म, दोस्रो दैव, तेस्रो आर्ष, चौथो प्राजापत्य, पाँचौं आसुर, छैटौं गान्धर्व, सातौं राक्षस, आठौं पैशाच । यिनमा ब्राह्मविवाह त्यो हो कि— वर र कन्या दुइटै यथावत् ब्रह्मचर्यले पूर्ण विद्वान्, धार्मिक र सुशील हुन्छन, तिनको परस्पर प्रसन्नताले विवाह हुनुलाई ‘ब्राह्म’ विवाह भनिन्छ । विस्तृतयज्ञ गरेर, ऋत्विक्ले कर्म गर्दै जामातालाई अलङ्कारयुक्त कन्या दिनु ‘दैव’ विवाह भनिन्छ । वरदेखि केही लिएर विवाह गर्नुलाई ‘आर्ष’ भनिन्छ । दुइटैको विवाह धर्मको वृद्धिको अर्थमा हुनु ‘प्राजापत्य’ । वर र कन्यामा केही लेनदेन गरेर विवाह गर्नु ‘आसुर’ । अनियम, असमयमा कुनै कारणले दुइटैको इच्छापूर्वक वर र कन्याको परस्पर संयोग हुनु ‘गान्धर्व’ । लडाईं गरेर बलात्कार पूर्वक कन्या ग्रहण गर्नु ‘राक्षस’ । शयन वा मद्यादि पिएर मातेकी बेहोशी कन्यासँग बलात्कार संयोग गर्नु ‘पैशाच’ । यी सबै विवाहरूमा ब्राह्मविवाह सर्वोत्कृष्ट, दैव र प्राजापत्य मध्यम, आर्ष, आसुर र गान्धर्व निकृष्ट, राक्षस अधम र पैशाच महाभ्रष्ट हो । यसैले यो निश्चय राख्नुपर्दछ कि कन्या र वरको विवाहको पूर्व एकान्त मेल हुनुहुँदैन । किनभने युवावस्थामा स्त्री-पुरुषको एकान्तवास दूषणकारक हुन्छ । परन्तु जब कन्या वा वरको विवाहको समय होस् अर्थात् जब एक वर्ष वा ६ महिना ब्रह्मचर्याश्रम र विद्या पूरा हुनमा शेष रहोस्, तब कन्या र कुमारहरूको प्रतिबिम्ब अर्थात् जसलाई ‘फोटोग्राफ’ भन्दछन् अथवा प्रतिकृति उतारेर कन्याहरूको अध्यापिकाकहाँ कुमारहरूको, र कुमारहरूतिर केटाहरूको अध्यापककहाँ केटीहरूको प्रतिकृति पठाइदिनु । जस-जसको रूप मिल्छ, उस-उसको इतिहास अर्थात् जन्मदेखि लिएर त्यस दिन पर्यन्त जन्मचरित्र को पुस्तक होस् त्यसलाई अध्यापकले मगाएर हेरून् । जब दुइटैको गुण-कर्म स्वसदृश हुन्छ भने तब जस-जसको साथमा जस-जसको विवाह हुन योग्य देखिन्छ, उस-उस पुरुष र कन्याको प्रतिबिम्ब र इतिहास कन्या र वरको हातमा दिएर र भनून् कि यसमा जे तिम्रो अभिप्राय छ, हामीलाई विदित गरिदिनु । जब ती दुइटाका निश्चय परस्पर विवाह गर्नको लागि पक्का होओस्, तब ती दुइटैको समावर्त्तन एकै समयमा होस् । यदि तिनीहरूले अध्यापककहाँ विवाह गर्न चाहेमा त्यहीं गराइदिने, नत्र भने कन्याको माता-पिताको घरमा विवाह गराइदिन योग्य हुन्छ । जब तिनीहरू समक्ष हुन्छन्, तब अध्यापकहरू वा कन्याको माता-पिता आदि भद्रपुरुषहरूको सामुन्ने ती दुइटैलाई आपसमा कुराकानी, शास्त्रार्थ गर्नु र जे-जति गुप्त व्यवहार सोध्नुछ त्यो सभामा लेखेर, एक देस्राको हातमा दिएर प्रश्नोत्तर गरोस् । जब दुइटैले दृढ प्रेम विवाह गर्नमा राजि हुन्छन्, तब तिनीहरूको खान-पानको उत्तम प्रबन्ध हुनुपर्दछ कि जसबाट उनीहरूको शरीर जुन पूर्व ब्रह्मचर्य र विद्याध्ययन तपश्चर्या र कष्टले दुर्बल हुन्छ, त्यो चन्द्रमाको कलाझैं बढेर थोरै दिनमा नै पुष्ट भएर आओस् ।
पश्चात् जुन दिन कन्या रजस्वला भएर जब शुद्ध हुन्छिन् तब वेदी र मण्डप रचेर अनेक सुगन्ध्यादि द्रव्य र घृतादिको होम तथा आमन्त्रित अनेक विद्वान् पुरुष र स्त्रीहरूलाई यथायोग्य सत्कार गरोस् । पश्चात् जुन दिन ऋतुदान दिन योग्य सम्झिन्छन्, त्यसै दिन संस्कारविधिस्थ विवाह विधिको अनुसार सबै कर्म गरेर, मध्यरात्रि वा दश बजे अति प्रसन्नताको साथमा सबैको सामुन्ने पाणिग्रहणपूर्वक विवाहको विधिलाई पूरा गरेर, एकान्तसेवन गरून् । पुरुष वीर्यस्थापन र स्त्री वीर्याकर्षणको जुन विधि छ, त्यसैको अनुसार दुइटैले गरून् । जहाँसम्म बन्छ, त्यहाँसम्म ब्रह्मचर्यको वीर्यलाई खेर जान नदेओस्, किनभने त्यस वीर्य-रजबाट जुन शरीर उत्पन्न हुन्छ, त्यो अपूर्व उत्तम सन्तान हुन्छ । जब वीर्य गर्भाशयमा झर्ने समय हुन्छ, त्यति वेला स्त्री पुरुष दुइटै स्थिर र नासिकाको सामुन्ने नासिका, नेत्रको सामुन्ने नेत्र अर्थात् सीधा शरीर र अत्यन्त प्रसन्नचित्त रहून्, नहल्लिऊन् । पुरुषले आफ्नो शरीरलाई हलुका छोडोस् र स्त्रीले वीर्यप्राप्तिसमय अपान वायुलाई माथितिर खिचोस्, योनिलाई माथितिर संकोच गरेर वीर्यलाई माथि आकर्षण गर्दै गर्भाशयमा स्थित गरोस् । पश्चात् दुइटैले शुद्ध जलले स्नान गरून् ।
गर्भस्थित भएको परिज्ञान विदुषी स्त्रीलाई त उत्निखेरै थाहा हुन्छ, परन्तु यसको निश्चय एक महिना पश्चात् रजस्वला नभएपछि सबैलाई थाहा हुन्छ । शुठो, केशर, असगन्ध, सेतो सुकुमेल र कालोमिश्री हालेर तताएर प्रथम नै राखेर सेलाएको दूध यथारुचि दुइटैले पिएर अलग-अलग आफ्नो-आफ्नो शय्यामा शयन गरून् । यही विधि जब-जब गर्भाधान-क्रिया गरिन्छ तब-तब गर्न उचित हुन्छ ।
जब महिनाभरमा रजस्वला नभएपछि गर्भस्थितिको पक्का निश्चय हुन्छ, तबदेखि एक वर्ष पर्यन्त स्त्री पुरुषले कहिल्यै पनि समागम गर्नुहुँदैन । किनभने यस्तो हुनबाट सन्तान उत्तम र दोस्रो सन्तान पनि श्रेष्ठ हुँदैन, वीर्य व्यर्थ जान्छ, दुइटैको आयु घट्दछ र अनेक प्रकारको रोग लाग्दछ । परन्तु माथिबाट भाषणादि प्रेमयुक्त-व्यवहार अवश्य राख्नुपर्दछ । पुरुष वीर्यको स्थिति र स्त्री गर्भको रक्षा र खान-पान यस प्रकारले गरून् कि जसबाट पुरुषको वीर्य सपनामा पनि नष्ट नहोस् र गर्भमा बालकको शरीर अत्युत्तम रूप, लावण्य, पुष्टि, बल, फराक्रमयुक्त भएर दशौं महिनामा जन्मियोस् । विशेष उसको रक्षा चौथो महिनादेखि र अतिविशेष आठौं महिनादेखि अगाडि गर्नुपर्दछ । कहिल्यै पनि गर्भवती स्त्रीले रेचक, रुक्ष, मादकद्रव्य, बुद्धि र बलनाशक पदार्थहरूलाई भोजनादिमा सेवन नगरोस्, किन्तु घ्यू, दूध, उत्तम धान, गहुँ, मुंगी, मास र अन्न, पानी र देशकालको पनि सेवन युक्तिपूर्वक गर्ने गरोस् । गर्भमा दुई संस्कार एक चौथो महिनामा पुंसवन र दोस्रो आठौं महिनामा सीमन्तोन्नयन विधिको अनुकूल गरोस् ।
जब सन्तानको जन्म हुन्छ, तब स्त्री र बच्चाको शरीरको रक्षा असाध्यै सावधानीले गरोस् । अर्थात् शुण्ठीपाक, अथवा सौभाग्यशुण्ठीपाक प्रथम नै बनाएर राखोस् । त्यति वेला सुगन्धियुक्त उष्ण जल, जुन चाहिं मन्तातो होस्, त्यसैबाट स्त्रीले स्नान गरोस् । बालकलाई पनि सावधानीपूर्वक स्नान गराओस् । तत्पश्चात् नाडीछेदन-बालकको नाभिको फेदमा एक कोमल सूतले बाँधेर, चार अंगुल छोडेर माथिबाट काटोस् । त्यसलाई यसरी बाँधियोस् कि जसबाट शरीरको एक थोपा पनि रुधिर जान नपाओस् । पश्चात् उस स्थानलाई शुद्ध गरेर त्यसको द्वारभित्र सुगन्धादियुक्त घृतादिको होम गरोस् । तत्पश्चात् सन्तानको कानमा पिताले ‘वेदोऽसीति’ (श.ब्रा. १४/७/५/२५) अर्थात् तेरो ‘नाम वेद हो’ सुनाएर सुनको शलाका अर्थात् तारले घ्यू र मह लिएर सन्तानको जिब्रोमा ‘ओ३म्’ अक्षर लेखेर मधु र घृतलाई त्यसै शलाकाले चटाइदेओस् । पश्चात् उसकी आमालाई देओस् । दूध पिउन चाहेमा आमाको दूध पियाइयोस् । यदि आमाको दूध आएको छैन भने कुनै अन्य स्त्रीको दूध परीक्षा गरेर पियाइयोस् । पश्चात् दोस्रो कोठामा जहाँको वायु शुद्ध होस्, त्यहाँ सुगन्धित घ्यूको होम प्रातः र सायंकाल गर्ने गर्नु र त्यसैमा प्रसूता स्त्री तथा बालकलाई राख्नु । छ दिनसम्म माताको दूध पिलाउनु र स्त्री पनि आफ्नो शरीरको पुष्टिको अर्थ अनेक प्रकारको उत्तम भोजन गर्ने र योनिसंकोचादि पनि गर्ने ।
छैटौं दिनमा बाहिर निस्किने र सन्तानको लागि दूध पिलाउनको लागि धायीआमा राख्ने । उसको खान-पानमा राम्रो हेरचाह गरोस् । त्यसले दूध पिलाओस् र पालन पनि गरोस् । परन्तु उसकी माताले बच्चामाथि पूर्ण दृष्टि राखोस् कि कुनै प्रकारको अनुचित व्यवहार उसको पालनमा हुन नपाओस् । स्त्रीले दूध बन्ध गर्नको अर्थ स्तनको अग्रभागमा यस्तो लेप गरोस् कि जसबाट दूध स्रवित हुन नजाओस् । त्यसरी नै खान-पानको व्यवहारमा पनि यथायोग्य ख्याल राखोस् । पश्चात् नामकरणादि संस्कारविधिको रीतिले यथाकाल गर्दै जाओस् । पश्चात् जब दोस्रो महिनामा रजस्वला भएमा तब शुद्ध भएपछि उसै प्रकारले ऋतुदान देओस् ।
ऋतुकालाभिगामी स्यात् स्वदारनिरतः सदा ॥        —मनुस्मृति (अध्याय ३/श्लोक ४५) ॥
स्त्री-पुरुषका व्यवहारहरू (४.७)
ब्रह्मचार्य्येव भवति यत्र तत्राश्रमे वसन् ॥            —मनुस्मृति (अध्याय ३/श्लोक ५०) ॥
जो आफ्नै स्त्रीमा प्रसन्न र ऋतुगामी हुन्छ, त्यो गृहस्थ पनि ब्रह्मचारी कै सदृश हुन्छ ।
सन्तुष्टो भार्यया भर्त्ता भर्त्रा भार्या तथैव च । यस्मिन्नेव कुले नित्यं कल्याणं तत्र वै ध्रुवम् ॥१॥
यदि हि स्त्री न रोचेत पुमांसन्न प्रमोदयेत् । अप्रमोदात्पुनः पुंसः प्रजनं न प्रवर्त्तते ॥२॥
स्त्रियां तु रोचमानायां सर्वं तद्रोचते कुलम् । तस्यां त्वरोचमानायां सर्वमेव न रोचते ॥३॥            
 —मनुस्मृति (अध्याय ३/श्लोक ६०-६२) ॥      
जुन कुलमा भार्याले भर्ता र पतिले पत्नी सदैव प्रसन्न रहन्छे, त्यस कुलमा सबै सौभाग्य र ऐश्वर्य निवास गर्दछन् । जहाँ कलह हुन्छ, त्यहाँ दौर्भाग्य र दारिद्र्य स्थिर हुन्छ ॥१॥ जुन स्त्रीले पतिलाई प्रीति र पतिलाई प्रसन्न गर्दिन भने त पति अप्रसन्न हुनाले त्यहाँ काम उत्पन्न हुँदैन । जुन स्त्रीको प्रसन्नताले सबै कुल प्रसन्न हुन्छ र उसको अप्रसन्नताले सबै अप्रसन्न अर्थात् दुःखदायक हुन जान्छन् ॥२-३॥
पितृभिर्भ्रातृभिश्चैताः पतिभिर्देवरैस्तथा । पूज्या भूषयितव्याश्च बहुकल्याणमीप्सुभिः ॥१॥
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राऽफलाः क्रियाः ॥२॥
शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम् । न शोचन्ति तु यत्रैता वर्द्धते तद्धि सर्वदा ॥३॥
तस्मादेताः सदा पूज्या भूषणाच्छादनाशनैः । भूतिकामैर्नरैर्नित्यं सत्कारेषूत्सवेषु च ॥४॥      
            —मनुस्मृति (अध्याय ३/श्लोक ५५-५७, ५९) ॥
पिता, भाइ, पति र देवर यिनलाई सत्कारपूर्वक भूषणादिले प्रसन्न राख्नु, जसलाई धेरै कल्याणको इच्छा छ, त्यसले यस्तै गरोस् ॥१॥ जुन घरमा स्त्रीहरूको सत्कार हुन्छ, त्यसमा विद्यायुक्त भएर देवसंज्ञाले चिनिएर आनन्दले क्रीडा गर्दछन् र जुन घरमा स्त्रीहरूको सत्कार हुँदैन, त्यहाँ सबै क्रिया निष्फल हुन जान्छ ॥२॥ जुन घर वा कुलमा स्त्रीहरू शोकातुर भएर दुःख पाउँछन्, त्यो कुल शीघ्र नष्ट-भ्रष्ट हुन जान्छ र जुन घर वा कुलमा स्त्रीहरू आनन्दले, उत्साह र प्रसन्नताले भरिएर रहन्छन्, त्यो कुल सर्वदा बढिराख्दछ ॥३॥ यसैले ऐश्वर्यको कामना चाहने मनुष्यलाई योग्य हुन्छ कि सत्कार र उत्सवको समयमा भूषण, वस्त्र र भोजनादिले स्त्रीहरूको नित्यप्रति सत्कार गर्ने गरून् ॥४॥ यस कुराको सदैव ख्याल राख्नुपर्दछ कि ‘पूजा’ को अर्थ सत्कार हो र दिन-रातमा जब-जब प्रथम भेट हुन्छ वा छुट्टिन्छ, तब-तब प्रीतिपूर्वक ‘नमस्ते’ शब्दबाट एक-अर्कालाई अभिवादन गरौं ।
सदा प्रहृष्टया भाव्यं गृहकार्येषु दक्षया । सुसंस्कृतोपस्करया व्यये चामुक्तहस्तया ॥       
                        —मनुस्मृति (अध्याय ५/श्लोक १५०) ॥
स्त्रीहरूलाई योग्य छ कि अतिप्रसन्नताले घरको काममा चतुराईयुक्त सबै पदार्थलाई उत्तम संस्कार, घरको शुद्धि र व्ययमा अत्यन्त उदार सदा रहनु अर्थात् सबै चीज पवित्र र पाक यस्तो प्रकारले बनाऊन् कि औषधरूपी भएर घर, शरीर वा आत्मामा रोग आउन नपाओस् । जे-जे व्यय भएको छ त्यसको हिसाब यथावत् राखेर पति आदिलाई सुनाइदिने गर्नु । घरका नोकर-चाकरहरूबाट यथायोग्य काम लियोस् । घरको कुनै कामलाई बिग्रन नदियोस् ।
स्त्रियो रत्नान्यथो विद्या सत्यं शौचं सुभाषितम् । विविधानि च शिल्पानि समादेयानि सर्वतः ॥
—मनुस्मृति (अध्याय २/श्लोक २४०) ॥
उत्तम स्त्री, नाना प्रकारको रत्न, विद्या, सत्य, पवित्रता, श्रेष्ठभाषण र नाना प्रकारको कारीगरी सबै मनुष्यले सबै देश र मनुष्यबाट ग्रहण गरोस् ।
सत्यं ब्रूयात्प्रियं ब्रूयान्न ब्रूयात् सत्यमप्रियम् । प्रियं च नानृतं ब्रूयादेष धर्मः सनातनः ॥१॥
भद्रं भद्रमिति ब्रूयाद्भद्रमित्येव वा वदेत् । शुष्कवैरं विवादं च न कुर्यात्केनचित्सह ॥२॥        
     —मनुस्मृति (अध्याय ४/श्लोक १३८-१३९) ॥
सदा प्रिय सत्य, दोस्रालाई हितकारक बोलोस्, अप्रिय सत्य अर्थात् कानालाई कानो नभनोस्, झुट अर्थात् दोस्रालाई प्रसन्न गर्ने अर्थ नबोलोस् ॥१॥ सदा भद्र अर्थात् सबैको हितकारी वचन बोलोस् । शुष्कवैर अर्थात् बिना अपराध कसैसँग विरोध वा विवाद नगरोस् ॥२॥ जुन-जुन अर्काको हितकारक कुरा होस् र नराम्रो मानून्, तथापि भनेरै छोड्नु ।
पुरुषा बहवो राजन् सततं प्रियवादिनः । अप्रियस्य तु पथ्यस्य वक्ता श्रोता च दुर्लभः ॥
            —महाभारत उद्योगपर्व-विदुरनीति (अध्याय ३७ श्लोक १४) ॥
विदुरजी भन्नुहुन्छ कि हे धृतराष्ट्र ! यस संसारमा अर्कालाई निरन्तर प्रसन्न गर्नको लागि प्रिय बोल्ने प्रशंसकहरू थुप्रै छन्, परन्तु सुन्नमा अप्रिय विदित होस् र त्यो कल्याण गर्ने वचन होस्, त्यसलाई भन्ने र सुन्ने पुरुषहरू दुर्लभ छन् । किनभने सत्पुरुषहरूको बानी नै हो कि मुखले सामुन्ने अर्काको दोष भन्नु र आफ्नो सुनाउनु, परोक्षमा दोस्राको गुण सदा बताउनु । फेरि दुष्टहरूको यही रीति हो कि सम्मुखमा गुण बताउनु र परोक्षमा दोषको प्रकाश गर्नु । जबसम्म मनुष्यले अर्काबाट आफ्नो दोष सुन्दैन वा भन्नेवालाले भन्दैन तबसम्म मनुष्य दोषहरूबाट छुटेर गुणी हुँदैन । कहिल्यै पनि कसैको निन्दा नगर्नु । जस्तै—
गुणेषु दोषारोपणमसूया अर्थात् दोषेषु गुणारोपणमप्यसूया, गुणेषु गुणारोपणं दोषेषु दोषारोपणं च स्तुतिः जसले गुणमा दोष र दोषमा गुण लगाउँछ त्यो निन्दा र गुणमा गुण, दोषमा दोषको कथन गर्दछ त्यसलाई स्तुति भनिन्छ । अर्थात् मिथ्याभाषणको नाम ‘निन्दा’ र सत्यभाषणको नाम ‘स्तुति’ हो ।
बुद्धिवृद्धिकराण्याशु धन्यानि च हितानि च । नित्यं शास्त्राण्यवेक्षेत निगमांश्चैव वैदिकान् ॥१॥
यथा यथा हि पुरुषः शास्त्रं समधिगच्छति । तथा तथा विजानाति विज्ञानं चास्य रोचते ॥२॥
         —मनुस्मृति (अध्याय ४/श्लोक १९-२०) ॥
जुन बुद्धि, धन र हितको शीघ्र वृद्धि गराउने शास्त्र र वेदहरू छन्, तिनलाई नित्य सुनून् र सुनाऊन्, ब्रह्मचर्याश्रममा पढेका हुन्, तिनलाई स्त्री पुरुष नित्य विचारून् र पढाउने गरून् ॥१॥ किनभने जसरी मनुष्यले शास्त्रहरूलाई यथावत् जान्दछ, त्यसरी नै उसको विज्ञान दिनहुँ बढ्दै जान्छ र त्यसैमा रुचि पनि बढ्दै रहन्छ ॥२॥
पाँच महायज्ञहरू (४.८)
ऋषियज्ञं देवयज्ञं भूतयज्ञं च सर्वदा । नृयज्ञं पितृयज्ञं च यथाशक्ति न हापयेत् ॥१॥
        —मनुस्मृति (अध्याय ४/श्लोक २१) ॥
अध्यापनं ब्रह्मयज्ञः पितृयज्ञश्च तर्प्पणम् । होमो दैवो बलिर्भौतो नृयज्ञोऽतिथिपूजनम् ॥२॥
                        —मनुस्मृति (अध्याय ३/श्लोक ७०)॥
स्वाध्यायेनार्चयेतर्षीन् होमैर्देवान् यथाविधि । पितॄन् श्राद्धैश्च नॄनन्नैर्भूतानि बलिकर्मणा ॥३॥
                         —मनुस्मृति (अध्याय ३/श्लोक ८१) ॥
दुइटा यज्ञ ब्रह्मचर्य पृष्ठ ४० मा लेखिसकेको छु— तिनीहरू अर्थात् एक (ब्रह्मयज्ञ) वेदादि शास्त्रहरूलाई पढ्नु-पढाउनु, सन्ध्योपासन, योगाभ्यास । दोस्रो देवयज्ञ— विद्वान्‌हरूको सङ्ग, सेवा, पवित्रता, दिव्य गुणहरूको धारण, दातृत्व, विद्याको उन्नति गर्नु हो । यी दुइटा यज्ञ सायं-प्रातः गर्नुपर्ने हुन्छ ।
सा॒यंसा॑यं गृ॒हप॑तिर्नो अ॒ग्निः प्रा॒तः प्रा॑तः सौमन॒सस्य॑ दा॒ता० ॥१॥
प्रा॒तः प्रा॑तर्गृ॒हप॑तिर्नो अ॒ग्निः सा॒यंसा॑यं सौमन॒सस्य॑ दा॒ता० ॥२॥
—अथर्ववेद (काण्ड १९/अनुवाक ७/मन्त्र ३-४), (१९/५५/३-४) ॥
तस्मादहोरात्रस्य संयोगे ब्राह्मणः सन्ध्यामुपासीत ।   —(तु.-षड्विंश ब्राह्मण प्रपा.४/खं.५) ॥
उद्यन्तमस्तं यान्तमादित्यमभिध्यायन् ॥३॥—तैत्तिरीय आरण्यक (प्रपा. २/अनुवाक २) ॥
न तिष्ठति तु यः पूर्वां नोपास्ते यश्च पश्चिमाम् ।
स शूद्रवद्वहिष्कार्यः सर्वस्माद् द्विजकर्मणः ॥४॥        —मनुस्मृति (अध्याय २/श्लोक १०३) ॥
जुन सन्ध्या-सन्ध्या कालमा होम गरिन्छ, त्यो हुत द्रव्य प्रातःकालमा वायुशुद्धिद्वारा सुखकारी     हुन्छ ॥१॥ जुन अग्निमा प्रातः-प्रातः कालमा होम गरिन्छ, त्यो हुत द्रव्य सायंकाल पर्यन्त वायुको शुद्धिद्वारा बल, बुद्धि र आरोग्यकारक हुन्छ॥२॥ यसैले दिन र रात्रिको सन्धिमा अर्थात् सूर्योदय र सूर्यास्त समयमा परमेश्वरको ध्यान र अग्निहोत्र अवश्य गर्नुपर्दछ ॥३॥ र जसले यी दुइटै काम सायं र प्रातःकालमा गर्दैन, त्यसलाई सज्जनहरूले सब द्विजहरूको कर्मदेखि बाहिर निकालिदिनु, अर्थात् त्यसलाई शूद्रवत् सम्झनु ॥४॥
प्रश्न— त्रिकाल सन्ध्या किन नगर्ने ?
उत्तर— तीन समयमा सन्धि हुँदैन, प्रकाश र अन्धकारको सन्धि मात्र सायं-प्रातः दुइटा नै वेलामा हुन्छ । जसले यसलाई नमानेर मध्याह्नकालमा तेस्रो सन्ध्या गर्न मान्दछ, त्यसले मध्यरात्रिमा पनि किन नगर्ने ? जसले मध्यरात्रिमा पनि गर्न चाहन्छ भने प्रहर-प्रहर, घडी-घडी, पल-पल र क्षण-क्षणको पनि सन्धिमा सन्ध्योपासन गर्ने गरोस् । जुन यस्तो चाहेर पनि हुन सक्दैन र कुनै शास्त्रको मध्याह्नसन्ध्यामा प्रमाण पनि छैन । यसैले दुइटै कालमा मात्र सन्ध्या र अग्निहोत्र गर्नु, तेस्रो कालमा होइन । फेरि जुन तीन कालमा हुन्छ त्यो भूत, भविष्यत् र वर्तमानको भेदले गर्दा भएको हो । सन्ध्योपासनको भेदले होइन ।
तेस्रो ‘पितृयज्ञ’ अर्थात् जसमा देव जुन विद्वान्, ऋषि जसले पढ्छ-पढाउँछ, पितृ जुन माता-पिता आदि वृद्ध, ज्ञानी र परम योगीहरूको सेवा गर्नु । पितृयज्ञको दुइटा भेद छन्— पहिलो ‘श्राद्ध’ र दोस्रो ‘तर्पण’ । श्राद्ध अर्थात् श्रत् सत्यको नाम हो, ‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा, श्रद्धया यक्त्रियते तच्छ्राद्धम्’ अर्थात् जसबाट सत्यको ग्रहण गरियोस् त्यसलाई श्रद्धा र जुन-जुन श्रद्धाले सेवारूप कर्म गरिन्छ, त्यसको नाम ‘श्राद्ध’ हो । ‘तृप्यन्ति तर्पयन्ति येन पितॄन् तत्तर्पणम्’ अर्थात् जुन-जुन कर्मले तृप्त अर्थात् विद्यमान माता-पितादि पितृहरू प्रसन्न हुन्छन् र प्रसन्न गरियोस्, यसैको नाम ‘तर्पण’ हो, परन्तु यो कर्म जीवितहरूको लागि हो, मृतकहरूको लागि होइन ।
अथ देवतर्पणम्
ओं ब्रह्मादयो देवास्तृप्यन्ताम् । ब्रह्मादिदेवपत्न्यस्तृप्यन्ताम् ।
ब्रह्मादिदेवसुतास्तृप्यन्ताम् । ब्रह्मादिदेवगणास्तृप्यन्ताम् ॥                   
—हेर्नुहोस् (पारस्कर र आश्वलायन गृह्यसूत्र) ॥
इति देवतर्पणम्
‘विद्वासो हि देवाः’             —यो शतपथ ब्राह्मण (३/५/६/१०) को वचन हो ।
जो विद्वान् छन्, उनैलाई ‘देव’ भनिन्छ । जसले साङ्गोपाङ्ग चारै वेदलाई जान्दछ, उनैको नाम ‘ब्रह्मा’ र जो उनीदेखि न्यून पढेका छन्, उनको नाम पनि ‘देव’ अर्थात् ‘विद्वान्’ हो । उनकै सदृश विदुषी उनकी स्त्री ‘ब्रह्माणी’‘देवी’, उनकै तुल्य पुत्र र शिष्य तथा उनकै सदृश उनकै गण अर्थात् सेवक हुन्, उनैको सेवा गर्नुको नाम नै ‘श्राद्ध’‘तर्पण’ हो ।
अथ ऋषितर्पणम्
ओं मरीच्यादय ऋषयस्तृप्यन्ताम् । मरीच्याद्यृषिपत्न्यस्तृप्यन्ताम् ।
मरीच्याद्यृषिसुतास्तृप्यन्ताम् । मरीच्याद्यृषिगणास्तृप्यन्ताम् ॥                   
—हेर्नुहोस् (पारस्कर र आश्वलायन गृह्यसूत्र) ॥  
इति ऋषितर्पणम्
जो ब्रह्माको प्रपौत्र मरीचिवत् विद्वान् भएर पढाउँछन् र उनकै सदृश विद्यायुक्त उनकी स्त्रीहरू, कन्याहरूलाई विद्यादान दिन्छन्, उनकै तुल्य पुत्र र शिष्य तथा उनकै समान उनकै सेवक हुन्, तिनैको सेवन-सत्कार गर्नु ‘ऋषितर्पण’ हो ।
अथ पितृतर्पणम्
ओं सोमसदः पितरस्तृप्यन्ताम् । अग्निष्वात्ताः पितरस्तृप्यन्ताम् । बर्हिषदः पितरस्तृप्यन्ताम् ।
सोमपाः पितरस्तृप्यन्ताम् । हविर्भुजः पितरस्तृप्यन्ताम् । आज्यपाः पितरस्तृप्यन्ताम् । सुकालिनः पितरस्तृप्यन्ताम् । यमादिभ्यो नमः यमादींस्तर्पयामि । पित्रे स्वधा नमः पितरं तर्पयामि । पितामहाय स्वधा नमः पितामहं तर्पयामि । प्रपितामहाय स्वधा नमः प्रपितामहं तर्पयामि । मात्रे स्वधा नमो मातरं तर्पयामि । पितामह्यै स्वधा नमः पितामहीं तर्पयामि । प्रपितामह्यै स्वधा नमः प्रपितामहीं तर्पयामि । स्वपत्न्यै स्वधा नमः स्वपत्नीं तर्पयामि । सम्बन्धिभ्यः स्वधा नमः सम्बन्धिनस्तर्पयामि । सगोत्रेभ्यः स्वधा नमः सगोत्राँस्तर्पयामि ॥               —हेर्नुहोस् (यजुर्वेद अध्याय १९) ॥
—मनुस्मृति अध्याय ३ ॥ बृ. पाराशर स्मृति अ.७/श्लोक १६७-१६८) ॥
इति पितृतर्पणम् ॥
(सोमसदः) ‘ये सोमे जगदीश्वरे पदार्थविद्यायां च सीदन्ति ते सोमसदः’ जो परमात्मा र पदार्थ-विद्यामा निपुण छ । ‘यैरग्नेर्विद्युतो विद्या गृहीता ते अग्निष्वात्ताः’ जसले अग्नि अर्थात् विद्युदादि पदार्थहरूलाई जान्दछ । ‘ये बर्हिषि उत्तमे व्यवहारे सीदन्ति ते बर्हिषदः’ जो उत्तम विद्यावृद्धियुक्त व्यवहारमा स्थित छ । ‘ये सोममैश्वर्यमोषधीरसं वा पान्ति पिबन्ति वा ते सोमपाः’ जो ऐश्वर्यको रक्षक र महौषधि रसको पान गर्नाले रोगरहित र अन्यको ऐश्वर्यको रक्षक, औषधिहरू दिएर रोग नाशक हुन्छ, ती ‘सोमपा’‘ये हविर्होतुमत्तुमर्हं भुञ्जते भोजयन्ति वा ते हविर्भुजः’ मादक, हिंसाकारक द्रव्यलाई छोडेर भोजन गर्नेहरू, ती ‘हविर्भुजः’‘य आज्यं ज्ञातुं प्राप्तुं वा योग्यं रक्षन्ति वा पिबन्ति ते’ जो जान्नयोग्य वस्तुको रक्षक र घृत-दुग्धादि खाने र पिउनेहरू, तिनीहरू ‘आज्यपा’‘शोभनः कालो विद्यते येषान्ते सुकालिनः’ जसले राम्रो धर्म गर्ने र सुखरूपी समय होस् । ‘ये दुष्टान् यच्छन्ति निगृह्णन्ति ते यमा न्यायाधीशाः’ जो न्यायकारी दुष्टहरूलाई दण्ड र श्रेष्ठहरूको पालन गर्दछ । ‘यः पाति सः पिता’ जो सन्तानलाई अन्न र सत्कारको रक्षक वा जनक हो त्यो ‘पिता’‘पितुः पिता पितामहः पितामहस्य पिता प्रपितामहः’ जो पिताको पनि पिता हो, त्यो ‘पितामह’ र जो पितामहको पनि पिता हो, त्यो ‘प्रपितामह’‘या मानयति सा माता’ जसले अन्न र सत्कारद्वारा आफ्नो सन्तानको मान्य गर्दछिन् उनी ‘माता’‘या पितुर्माता सा पितामही, पितामहस्य च माता प्रपितामही’ जो पिताकी माता हुन्, उनी ‘पितामही’ र जुन पितामहकी माता हुन्, उनी ‘प्रपितामही’ । आफ्नी स्त्री तथा भगिनी, सम्बन्धी र एक गोत्रका अर्थात् अन्य कुनै भद्र पुरुष वा वृद्ध हुन्, ती सबैलाई अत्यन्त श्रद्धाले उत्तम अन्न, वस्त्र, सुन्दर-यान आदि दिएर राम्रोसँग जुन तृप्त गराउनु अर्थात् जुन-जुन कर्मले उनीहरूको आत्मा तृप्त र शरीर स्वस्थ्य रहन्छ, त्यस-त्यस कर्मबाट प्रीतिपूर्वक तिनको सेवा गर्नुलाई ‘श्राद्ध’‘तर्पण’ भनिन्छ ।
चौथो वैश्वदेव— अर्थात् जब भोजन तयार हुन्छ तब जे-जति भोजनार्थ बनेको छ, त्यसमा अमिलो, लवणान्न र क्षारलाई छोडेर घृत-मिष्टयुक्त अन्न लिंदै चुलोबाट अग्नि लिएर, निम्नलिखित मन्त्रले आहुति र भाग गर्नु ।
वैश्वदेवस्य सिद्धस्य गृह्येऽग्नौ विधिपूर्वकम् । आभ्यः कुर्य्याद्देवताभ्यो ब्राह्मणो होममन्वहम् ॥
      —मनुस्मृति (अध्याय ३/श्लोक ८४) ॥
जे पाकशालामा भोजनार्थ अन्न सिद्ध छ, त्यसको दिव्य गुणार्थ, उसै पाकाग्निमा निम्नलिखित मन्त्रले विधिपूर्व होम नित्य गरोस्—
होमको मन्त्र
ओं अग्नये स्वाहा । सोमाय स्वाहा । अग्नीषोमाभ्यां स्वाहा ।
विश्वेभ्यो देवेभ्यः स्वाहा । धन्वन्तरये स्वाहा । कुह्वै स्वाहा । अनुमत्यै स्वाहा ।
प्रजापतये स्वाहा । सह द्यावापृथिवीभ्यां स्वाहा । स्विष्टकृते स्वाहा ॥                
—मनुस्मृति (अध्याय ३/श्लोक ८५-८६) को आधारमा ॥
एक-एक मन्त्र पढेर एक-एक आहुति देओस् । भाग अर्थात् थालीमा वा भूमिमा पूर्वादि दिशाको अनुक्रमले भाग लगाउनु—
ओं सानुगायेन्द्राय नमः । सानुगाय यमाय नमः । सानुगाय वरुणाय नमः । सानुगाय सोमाय नमः । मरुद्भ्यो नमः । अद्भ्यो नमः । वनस्पतिभ्यो नमः । श्रियै नमः । भ्रदकाल्यै नमः । ब्रह्मपतये नमः । वास्तुपतये नमः । विश्वेभ्यो देवेभ्यो नमः । दिवाचरेभ्यो भूतेभ्यो नमः । नक्तञ्चारिभ्यो भूतेभ्यो नमः । सर्वात्मभूतये नमः ॥             —मनुस्मृति (अध्याय ३/श्लोक ८७-९१) को आधारमा ॥
एक-एक मन्त्रले पन्ध्र भाग लगाउनु, फेरि लवणान्नलाई भूमिमा राख्नु ।
शुनां च पतितानां च श्वपचां पापरोगिणाम् । वायसानां कृमीणां च शनकैर्निर्वपेद्भूवि ॥   
                        —मनुस्मृति (अध्याय ३/श्लोक ९२) ॥
एक कुकुर, दोस्रो पापी, तेस्रो चाण्डाल, चौथो पाप रोगी, पाँचौं काग, छैटौं कृमीको भाग लगाएर कुकुर आदिलाई देओस् र त्यो पन्ध्र भागलाई कुनै अतिथिलाई देओस् अथवा त्यति वेला अतिथि उपस्थित नभएमा त अग्निमा राखिदिनु । यो मनुस्मृति आदिको विधि हो । बाँकी भान्छाघरको वायु शुद्ध र जुन त्यसमा अदृष्ट जीवहरूको हत्या हुन्छ, त्यसको प्रत्युपकार हुन जान्छ ।
पाँचौं अतिथिसेवा— अतिथि-धार्मिक, सत्योपदेशक, सबैका उपकारक पूर्ण विद्वान्, सर्वत्र विचरण गर्नेवाला, संन्यासी अतिथि हुन्छन् । तिनको आसन, खान-पान, नम्रतादिले सत्कार गरेर, उनैसँग सत्सङ्ग गरेर, अपूर्व विद्यालाई जानोस् । समयको कारणले गृहस्थ र राजादि पनि अतिथि हुन सक्दछन् । परन्तु—
पाखण्डी तिरस्कार (४.९)
पाषण्डिनो विकर्मस्थान् वैडालवृत्तिकान् शठान् । हैतुकान् बकवृत्तींश्च वाङ्मात्रेणापि नार्चयेत् ॥
—मनुस्मृति (अध्याय ४/श्लोक ३०) ॥
(पाषण्डी) वेदनिन्दक, वेदविरुद्ध आचरण गर्ने (विकर्मस्थ) जो वेदविरुद्ध कर्मको कर्ता, मिथ्याभाषणादियुक्त, जस्तै बिरालोले लुकेर स्थिर हुँदै ताक्ने, कुद्ने, झम्टिने गरेर मुसा आदि प्राणीलाई मारेर आफ्नो पेट भर्दछ, त्यस्ता जनहरूको नाम ‘वैडालवृत्ति’, (शठ) अर्थात् हठी, दुराग्रही, अभिमानी, आफूले जान्दैन अरूले भनेको पनि मान्दैन, (हैतुक) कुतर्की व्यर्थ कराउने जस्ता कि आजभोलिका वेदान्ती “हामी ब्रह्म हौं जगत् मिथ्या हो, वेदादि शास्त्र र ईश्वर पनि कल्पित हो” इत्यादि कुरौटे (बकवृत्ति) जस्तै बकुल्लोले माछाको प्राण लिएर आफ्नो पेट भर्नको लागि ध्यानावस्थित हुन्छ, त्यस्तै वर्तमानका जटाजूट वैरागी आदि हुन्, तिनलाई वाणीमात्रले पनि सत्कार नगर्नु । किनभने यिनको सत्कार गर्नाले बढेर संसारलाई अधर्मयुक्त गराइदिन्छन् ।
यी पाँच महायज्ञको फलब्रह्मयज्ञ गर्नाले विद्या, शिक्षा, धर्म र सभ्यताको वृद्धि हुन्छ ।
‘अग्निहोत्र’ ले वायु, वृष्टि, जलको शुद्धि भएर औषधिहरू शुद्ध हुन्छन् । शुद्ध वायुको श्वासास्पर्श, खान-पानले आरोग्य, बुद्धि, बल, पराक्र बढेर धर्मार्थ, काम, मोक्षको अनुष्ठान निर्विघ्नताले सम्पन्न हुन्छ । त्यसैले यसलाई देवयज्ञ भन्दछन् । कारण यसले वायु आदि पदार्थलाई दिव्य बनाइदिन्छ ।
‘पितृयज्ञ’ को फल— जब उसले माता-पिता र ज्ञानीहरूको सेवा गर्नेछ, तब त्यसको ज्ञान बढ्नेछ । त्यसबाट सत्यासत्यको निर्णय गरेर सत्यको ग्रहण, असत्यको त्याग गरेर सुखी हुनेछ । दोस्रो कृतज्ञता अर्थात् जस्तो सेवा माता-पिता र आचार्यले सन्तान र शिष्यलाई गरे, त्यसको बदला दिनु उचित नै हो ।
‘बलिवैश्वदेव’ को पनि फल माथि नै भनेर आइसकेको छु, त्यही नै हो ।
जबसम्म उत्तम अतिथि जगत्‌मा हुँदैनन् तबसम्म उन्नति पनि हुँदैन । उनीहरू सबै देशमा घुमेर र सत्योपदेश गर्नाले पाखण्डको वृद्धि हुन पाउँदैन र सर्वत्र गृहस्थहरूलाई सहजसित सत्य विज्ञानको प्राप्ति भैराख्दछ र मनुष्यमात्रमा एउटै धर्म स्थिर रहन्छ । बिना अतिथिको सन्देहनिवृत्ति हुँदैन । यसबाट नछुटिकन दृढ निश्चय पनि हुँदैन, बिना निश्चयको सुख कहाँ ?
बिहान उठेदेखिका धर्मकर्महरू (४.१०)
ब्राह्मे मुहूर्त्ते बुध्येत धर्मार्थौ चानुचिन्तयेत् । कायक्लेशाँश्च तन्मूलान् वेदतत्त्वार्थमेव च ॥
    —मनुस्मृति (अध्याय ४/श्लोक ९२) ॥
चौथो प्रहर अथवा चार घडी रात हुँदा उठ्ने । आवश्यक कार्य गरेर धर्म र अर्थ, शरीरका रोगहरूको निदान र परमात्माको ध्यान गर्ने । कहिल्यै पनि अधर्मको आचण नगर्ने । किनभने—
नाधर्मश्चरितो लोके सद्यः फलति गौरिव । शनैरावर्त्तमानस्तु कर्त्तुर्मूलानि कृन्तति ॥
   —मनुस्मृति (अध्याय ४/श्लोक १७२) ॥
गरिएको अधर्माचरण निष्फल कहिल्यै पनि हुँदैन, परन्तु जुन समयमा अधर्म गर्दछ, त्यति वेलै फल पनि हुँदैन, त्यसैले अज्ञानीहरू अधर्माचरणदेखि डराउँदैनन् । परन्तु निश्चय जान कि त्यो अधर्माचरणले विस्तारै-विस्तारै सुखको तिम्रो मूललाई काटिराखेको हुन्छ । यस क्रमबाट—
अधर्मेणैधते तावत्ततो भद्राणि पश्यति । ततः सपत्नाञ्जयति समूलस्तु विनश्यति ॥   
  —मनुस्मृति (अध्याय ४/श्लोक १७४) ॥
जब मनुष्यले धर्मको मर्यादालाई छोड्दछ— जसरी बन्ध भएको पोखरीको पानीले घेरिएको पर्खाललाई फुटाएर पानी चारैतिरबाट वेगले बाहिर निस्कन्छ, त्यसरी नै अधर्मात्मा पनि मिथ्याभाषण, कपट, पाखण्ड अर्थात् रक्षा गर्ने भएका वेदहरूको खण्डन र विश्वासघातादि कर्मले पराई पदार्थलाई लिएर प्रथम बढ्दछ, पश्चात् धनादि ऐश्वर्यले खान, पान, वस्त्र, आभूषण, यान, स्थान, मान, प्रतिष्ठालाई प्राप्त गर्दछ, अन्यायले शत्रुलाई पनि जित्दछ, पश्चात् शीघ्र नष्ट भएर जान्छ । जसरी जरो काटिएको रूख नष्ट भएर जान्छ, त्यसरी नै अधर्मी नष्ट-भ्रष्ट भएर जान्छ । त्यसैले—
सत्यधर्मार्यवृत्तेषु शौचे चैवारमेत्सदा । शिष्याँश्च शिष्याद्धर्मेण वाग्बाहूदरसंयतः ॥
   —मनुस्मृति (अध्याय ४/श्लोक १७५) ॥
जुन वेदोक्त ‘सत्य धर्म’ अर्थात् पक्षपातरहित भएर सत्यको ग्रहण र असत्यको परित्याग न्यायरूप वेदोक्त धर्मादि; ‘आर्य’ अर्थात् उत्तम पुरुषहरूको गुण, कर्म, स्वभाव; र पवित्रताले नै सदा रमण गरोस् । वाणी, बाहू, उदर आदि अङ्गगहरूको संयम अर्थात् धर्ममा चलाउँदै, धर्मले शिष्यहरूलाई शिक्षा देओस् ।
ऋत्विक् पुरोहिताचार्य्यैर्मातुलातिथिसंश्रितैः । बालवृद्धातुरैर्वैद्यैर्ज्ञातिसम्बन्धिबान्धवैः ॥१॥
मातापितृभ्यां यामिभिर्भ्रात्रा पुत्रेण भार्यया । दुहित्रा दासवर्गेण विवादं न समाचरेत् ॥२॥
                    —मनुस्मृति (अध्याय ४/श्लोक १७९-१८०) ॥
(ऋत्विक्) यज्ञ गराउनेवाला, (पुरोहित) सदा उत्तम चालचलनको शिक्षाकर्ता, (आचार्य) विद्या प्रदान गर्नेवाला, (मातुल) मामा, (अतिथि) अर्थात् जसको कुनै जान-आउनको लागि निश्चित तिथि छैन, (संश्रित) आफ्ना आश्रित, (बाल) बालक, (वृद्ध) बूढा, (आतुर) पीडित, (वैद्य) आयुर्वेदको ज्ञाता, (ज्ञाति) स्वगोत्र वा स्ववर्णस्थ, (सम्बन्धी) सासू, श्वशुर आदि, (बान्धव) मित्र ॥१॥ (माता) आमा, (पिता) बुबा, (यामि) दिदीबहिनी, (भ्राता) दाजुभाइ, (पुत्र) छोरा, (भार्या) पत्नी, (दुहित्रा) कन्या र सेवकहरूसँग विवाद अर्थात् विरुद्ध झै-झगडा कहिल्यै पनि नगरोस् ॥२॥
अतपास्त्वनधीयानः प्रतिग्रहरुचिर्द्विजः । अम्भस्यश्मप्लवेनेव सह तेनैव मज्जति ॥
         —मनुस्मृति (अध्याय ४/श्लोक १९०) ॥
एक (अतपाः) ब्रह्मचर्य सत्यभाषणादि तपरहित, दोस्रो (अनधीयानः) अनपढ, तेस्रो (प्रतिग्रहरुचिः) अत्यन्त धर्मार्थ दोस्रादेखि दान लिनेवाला, यी तीनै जस्तै ढुङ्गाको डुँगाले समुद्र तर्नु बराबर, आफ्नो दुष्ट कर्मको साथमा नै दुःख-सागरमा डुब्दछन् । ती त डुब्दछन् नै, परन्तु दाताहरूलाई पनि साथमा लिएर डुबाइदिन्छन् ।
त्रिष्वप्येतेषु दत्तं हि विधिनाप्यर्जितं धनम् । दातुर्भवत्यनर्थाय परत्रादातुरेव च ॥
   —मनुस्मृति (अध्याय ४/श्लोक १९३) ॥
जसले धर्मबाट प्राप्त गरेको धन यी तीनैलाई दिन्छ, यो दान-दाताको नाश यसै जन्ममा र लिनेवालाको नाश परजन्ममा गर्दछ ।
यदि यस्तो भयो भने के हुन्छ—
यथा प्लवेनौपलेन निमज्जत्युदके तरन् । तथा निमज्जतोऽधस्तादज्ञौ दातृप्रतीच्छकौ ॥
  —मनुस्मृति (अध्याय ४/श्लोक १९४) ॥
जसरी ढुङ्गाको डुँगामा बसेर जलमा तर्नेवाला डुब्दछ, त्यस्तै अज्ञानी दाता र ग्रहीता दुइटै अधोगति अर्थात् दुःखलाई प्राप्त गर्दछन् ।
पाखण्डीको लक्षणहरू (४.११)
धर्मध्वजी सदालुब्धश्छाद्मिको लोकदम्भकः । बैडालव्रतिको ज्ञेयो हिंस्रः सर्वाभिसन्धक ॥१॥
अधोदृष्टिर्नैष्कृतिकः स्वार्थसाधनतत्परः । शठो मिथ्याविनीतश्च बकव्रतचरो द्विजः ॥२॥
     —मनुस्मृति (अध्याय ४/श्लोक १९५-१९६) ॥
(धर्मध्वजी) धर्म केही पनि नगर्ने, परन्तु धर्मको नामले मान्छेहरूलाई ठग्ने, (सदालुब्धः) सर्वदा लोभले युक्त, (छाद्मिकः) कपटी, (लोकदम्भकः) संसारी मान्छेहरूका सामुन्ने आफ्नो बडाइको डिङ्ग हाँक्ने, (हिंस्रः) प्राणीहरूको घातकी, अरूसँग वैरबुद्धि राख्नेवाला, (सर्वाभिसन्धकः) सबै राम्रो-नराम्रोसित पनि मेल राख्ने, त्यसलाई बैडाल-व्रतिक अर्थात् बिरालो समान धूर्त नीच सम्झनु ॥१॥ (अधोदृष्टिः) कीर्तिको लागि तल दृष्टि राख्ने, (नैष्कृतिकः) ईर्ष्यक कसैले उसको पैसा लिएर अपराध गरेको छ भने त त्यसको बदला लिनको लागि प्राणसम्म लिन तयार हुने । (स्वार्थसाधनतत्परः) चाहे कपट अधर्म विश्वासघात किन नहोस्, आफ्नो प्रयोजन साँध्नमा चतुर, (शठः) चाहे आफ्नो कुरो झुटो किन नहोस्, परन्तु हठ कहिल्यै नछोड्ने (मिथ्याविनीतः) झुट-मुट माथिबाट शील, सन्तोष र साधुता देखाउने, त्यसलाई (बकव्रतचरो द्विजः) बकुल्लाको समान नीच सम्झनु । यस्ता-यस्ता लक्षण भएकाहरू पाखण्डी हुन्छन्, यिनको विश्वास वा सेवा कहिल्यै पनि नगर्नु ॥२॥
गृहस्थ धर्मको विषय (४.१२)
धर्मं शनैः सञ्चिनुयाद् वल्मीकमिव पुत्तिकाः । परलोकसहायार्थं सर्वलोकान्यपीडयन् ॥१॥
नामुत्र हि सहायार्थं पिता माता च तिष्ठतः । न पुत्रदारं न ज्ञातिधर्मस्तिष्ठति केवलः ॥२॥
एकः प्रजायते जन्तुरेक एव प्रलीयते । एको नु भुङ्क्ते सुकृतमेक एव च दुष्कृतम् ॥३॥
                           —मनुस्मृति (अध्याय ४/श्लोक २३८-२४०) ॥
एकः पापानि कुरुते फलं भुङ्क्ते महाजनः । भोक्तारो विप्रमुच्यन्ते कर्त्ता दोषेण लिप्यते ॥४॥
  —महाभारत उद्योगपर्व (प्रजागरपर्व १/अध्याय ३३/श्लोक ४१) ॥
मृतं शरीरमुत्सृज्य काष्ठलोष्ठसमं क्षितौ । विमुखा बान्धवा यान्ति धर्मस्तमनुगच्छति ॥५॥
                                —मनुस्मृति (अध्याय ४/श्लोक २४१) ॥
स्त्री र पुरुषले बुझ्नुपर्दछ कि जसरी पुत्तिका अर्थात् धमिरोले देवल बनाउँछ, त्यसै गरी सबै भूतहरूलाई पीडा नदिइकन परलोक अर्थात् परजन्मको सुखार्थ विस्तारै-विस्तारै धर्मको सञ्चय गर्दै गरोस् ॥१॥ किनभने परलोकमा न माता, न पिता, न पुत्र, न स्त्री, न ज्ञातिले सहायता गर्न सक्दछन्, किन्तु एक धर्म नै सहायक हुन्छ ॥२॥ हेर ! एक्लै जीव जन्मन्छ, मरणलाई प्राप्त हुन्छ, एक्लै धर्मको फल सुख र अधर्मको दुःखरूप फललाई भोग्दछ ॥२॥ यो पनि बुझ कि कुटुम्बमा एउटा पुरुषले पाप गरेर पदार्थ ल्याउँछ र महाजन अर्थात् सबै कुटुम्बले त्यसलाई भोग्दछन्, भोग्नेहरू दोषका भागी हुँदैनन्, किन्तु अधर्मको कर्ता नै दुःखको भागी हुन्छ ॥४॥ जब कुनै कसैको सम्बन्धी मर्दछ, त्यसलाई काठ वा माटाको डल्लोलाई झैं भूमिमा छोडेर, पीठ पर्काएर, बन्धुवर्ग विमुख भएर जान्छन् । कोही पनि उसको साथमा जाँदैनन्, किन्तु एकमात्र धर्म नै उसको सङ्गी हुन्छ ॥५॥ त्यसैले—
तस्माद्धर्मं सहायार्थं नित्यं सञ्चिनुयाच्छनैः । धर्म्मेण हि सहायेन तमस्तरति दुस्तरम् ॥१॥
धर्मप्रधानं पुरुषं तपसा हतकिल्विषम् । परलोकं नयत्याशु भास्वन्तं खशरीरिणम् ॥२॥
                         —मनुस्मृति (अध्याय ४/श्लोक २४२-२४३) ॥
त्यस हेतुले परलोक, अर्थात् परमसुख र परजन्मको सहायार्थ नित्य धर्मको सञ्चय विस्तारै-विस्तारै गर्दै जाओस्; किनभने धर्मको नै सहायताले ठूला-ठूला दुस्तर दुःखसागरबाट जीव तर्न सक्दछ ॥१॥ किन्तु जुन पुरुषले धर्मलाई नै प्रधान सम्झन्छ, जसको धर्मको अनुष्ठानले कर्तव्य (=सम्भावित) पाप दूर भएर गए, त्यो प्रकाशस्वरूप र आकाश जसको शरीरवत् छ, त्यो परलोक अर्थात् परमदर्शनीय परमात्मालाई धर्मले नै शीघ्र प्राप्त गराइदिन्छ ॥२॥ यसैले—
दृढकारी मृदुर्दान्तः क्रूराचारैरसंवसन् । अहिंस्रो दमदानाभ्यां जयेत्स्वर्गं तथाव्रतः ॥१॥
वाच्यर्था नियताः सर्वे वाङ्मूला वाग्विनिःसृताः । तां तु यः स्तेनयेद्वाचं स सर्वस्तेयकृन्नरः ॥२॥
आचाराल्लभते ह्यायुराचारादीप्सिताः प्रजाः । आचाराद्धनमक्षय्यमाचारो हन्त्यलक्षणम् ॥३॥
                    —मनुस्मृति (अध्याय ४/श्लोक २४६, २५६, १५६) ॥
सदा दृढकारी, कोमल-स्वभाव, जितेन्द्रिय, हिंसक-क्रूर-दुष्टाचारी पुरुषदेखि पृथक् रहँने, धर्मात्मा, मनलाई जितेर र विद्यादि दानले सुखलाई प्राप्त गर्दछ ॥१॥ परन्तु यो पनि ख्याल राखोस् कि जुन वाणीमा सबै अर्थ अर्थात् व्यवहार निश्चित हुन्छन्, त्यो वाणी नै उसको मूल र सबै व्यवहार पनि त्यसैबाट सिद्ध हुन्छ; जसले यस्तो वाणीलाई चोर्दछ अर्थात् मिथ्याभाषणमा लगाउँछ, त्यो सबै चोरी आदि पापलाई गर्नेवाला हुन्छ ॥२॥ यसैले मिथ्याभाषणादिरूप अधर्मलाई छोडेर, जुन धर्माचार अर्थात् ब्रह्मचर्य, जितेन्द्रियताले पूर्ण आयु, र धर्माचारले उत्तम प्रजा; धर्माचारबाटै अक्षय धनलाई प्राप्त गर्दछ तथा जुन धर्माचारले दुष्ट-लक्षणहरूलाई नाश गर्दछ, त्यस आचरणलाई सदा गर्ने गर ॥३॥ किनभने—
दुराचारो हि पुरुषो लोके भवति निन्दितः । दुःखभागी च सततं व्याधितोऽल्पायुरेव च ॥१॥        
   —मनुस्मृति (अध्याय ४/श्लोक १५७) ॥
जो दुष्टाचारी पुरुष हुन्छ, त्यो संसारमा सज्जनहरूको माझमा निन्दालाई प्राप्त, निरन्तर दुःखलाई भोग्ने र अनेक प्रकारको रोगले ग्रस्त भएर अल्पायुमै शीघ्र नष्ट-भ्रष्ट भएर जान्छ । त्यसैले यस्तो प्रयत्न गरोस्—
यद्यत्परवशं कर्म तत्तद्यत्नेन वर्जयेत् । यद्यदात्मवशं तु स्यात् तत्तत्सेवेत यत्नतः ॥१॥
सर्वं परवशं दुःखं सर्वमात्मवशं सुखम् । एतद्विद्यात्समासेन लक्षणं सुखदुःखयोः ॥२॥   
    —मनुस्मृति (अध्याय ४/श्लोक १५९, १६०) ॥
जुन-जुन पराधीन कर्म छन्, तिन-तिनको प्रयत्नले त्याग; र जुन-जुन स्वाधीन कर्म छन्, त्यस-त्यसको प्रयत्नले सेवन गरोस् ॥१॥ किनभने जुन-जुन पराधीनता हो, त्यो-त्यो सबै दुःख र जुन-जुन स्वाधीनता हो, त्यो-त्यो सबै सुख; यही संक्षेपले सुख र दुःखको लक्षण जान्नुपर्दछ ॥२॥
परन्तु जुन एक-दोस्राको आधीन काम हो, त्यस-त्यसलाई आधीनताबाट नै गर्नुपर्दछ, जस्तै कि स्त्री र पुरुष एक-दोस्राको आधीन व्यवहार अर्थात् स्त्री पुरुषको र पुरुष स्त्रीको प्रियाचारी, अनुकूल रहनु, व्यभिचार वा विरोध कहिल्यै पनि नगर्नु । पुरुषको आज्ञानुकूल घरको काममा स्त्री र बाहिरको कामको लागि पुरुषको आधीन रहनु । दुष्ट व्यसनमा फस्नदेखि एक-अर्कालाई रोक्नुपर्दछ, अर्थात् यही निश्चय जान्नु । जब विवाह हुन्छ तब स्त्रीको हातमा पुरुष र पुरुषको हातमा स्त्री बिकिसकेका हुन्छन्, अर्थात् स्त्री र पुरुषको साथ हाव, भाव, बोली-वचन, नखशिखापर्यन्त जेसुकै हुन्छ, त्यो वीर्यादि एक-दोस्राको आधीनमा हुन जान्छ । स्त्री र पुरुषको प्रसन्नताको बिना कुनै पनि व्यवहार नगरियोस् । यिनमा जुन ठूलो अप्रियकारक व्यभिचार, वेश्या-परपुरुषगमनादि काम हो, तिनलाई दुइटै स्त्री-पुरुषले छोडिदिनुपर्दछ, दुइटैले यसलाई छोडेर, आफ्नो लोग्नेसँग स्वास्नी र स्वास्नीसँग लोग्ने सदा प्रसन्न रहने गर्नुपर्दछ । स्त्रीको पूजनीय देव पति हुन्छ र पुरुषको पूजनीय देवी अर्थात् सत्कार गर्नयोग्य देवी स्त्री हुन्छे ।
जो ब्राह्मणवर्णस्थ छ, त्यसले केटाहरूलाई पढाओस् तथा सुशिक्षा गरोस् तथा केटीहरूलाई स्त्रीले पढाओस् । नानाविध उपदेश र वक्तृत्व प्रदान गरेर तिनीहरूलाई विद्वान् बनाओस् । जबसम्म गुरुकुलमा रहन्छन्, तबसम्म माता-पिताकै समान अध्यापकहरूलाई सम्झिनु र अध्यापकहरूले पनि आफ्नै सन्तान सरह सम्झनुपर्दछ ।
पण्डितको लक्षणहरू (४.१३)
शिक्षा-दीक्षा दिने अध्यापक र अध्यापिका कस्ता खालका हुनुपर्दछ—
आत्मज्ञानं समारम्भस्तितिक्षा धर्मनित्यता । यमर्था नापकर्षन्ति स वै पण्डित उच्यते ॥१॥
निषेवते प्रशस्तानि निन्दितानि न सेवते । अनास्तिकः श्रद्दधान एतत्पण्डितलक्षणम् ॥२॥
क्षिप्रं विजानाति चिरं शृणोति, विज्ञाय चार्थं भजते न कामात् ।
नासम्पृष्टो ह्युपयुङ्क्ते परार्थे, तत्प्रज्ञानं प्रथमं पण्डितस्य ॥३॥
नाप्राप्यमभिवाञ्छन्ति नष्टं नेच्छन्ति शोचितुम् । आपत्सु च न मुह्यन्ति नराः पण्डितबुद्धयः ॥४॥
प्रवृत्तवाक् चित्रकथ ऊहवान् प्रतिभानवान् । आशु ग्रन्थस्य वक्ता च यः स पण्डित उच्यते ॥५॥
श्रुतं प्रज्ञानुगं यस्य प्रज्ञा चैव श्रुतानुगा । असंभिन्नार्यमर्यादः पण्डिताख्यां लभेत सः ॥६॥
—यी सबै महाभारत उद्योगपर्व विदुरप्रजागर (अध्याय ३३) का श्लोकहरू हुन् ॥
अर्थ— जसको आत्मज्ञान; सम्यक् आरम्भ अर्थात् जो निकम्मा अल्छी कहिल्यै नरहोस्; सुख, दुःख, हानि, लाभ, मानापमान, निन्दा, स्तुतिमा हर्ष, शोक कहिल्यै पनि नगरोस्; धर्ममा नै नित्य निश्चित रहोस्; जसको मनलाई उत्तम-उत्तम पदार्थ अर्थात् विषय-सम्बन्धी वस्तुले आकर्षण गर्न नसकोस्, त्यसैलाई पण्डित भन्दछन् ॥१॥ उसको कर्त्तव्याकर्त्तव्य कर्म— सदा धर्मयुक्त कर्मको सेवन; अधर्मयुक्त कर्मको त्याग; ईश्वर, वेद, सत्याचारको निन्दा नगर्ने; ईश्वर आदिमा अत्यन्त श्रद्धालु होस्; यही पण्डितहरूको कर्त्तव्याकर्त्तव्य कर्म हो ॥२॥ त्यो कस्तो हुनुपर्दछ— कठिन विषयलाई पनि शीघ्र जान्नसक्ने; धेरैकालसम्म शास्त्रहरूलाई पढोस्, सुनोस् र विचार गरोस्; जे-जति जान्दछ त्यसलाई परोपकारमा प्रयुक्त गरोस्, आफ्नो स्वार्थको लागि कुनै काम नगरोस्, बिना सोधे वा योग्य समयको बिना जाने अर्काको अर्थमा सम्मति नदिनु; त्यही प्रथम प्रज्ञान पण्डितमा हुनुपर्दछ ॥३॥ त्यो कस्तो होस्— जुन प्राप्तिको अयोग्यको इच्छा कहिल्यै नगरोस; नष्ट भएको पदार्थमाथि कहिल्यै शोक नगरोस्; आपत्कालमा मोहमा कहिल्यै प्राप्त नहोस् अर्थात् व्याकुल नहोस्, त्यही नै बुद्धिमान् पण्डित हो ॥४॥ उसको रीति कस्तो होस्— जसको वाणी सबै विद्याहरूमा र प्रश्नोत्तर गर्नमा अतिनिपुण; विचित्र शास्त्रका प्रकरणहरूको कुशल वक्ता; यथायोग्य तर्क र स्मृतिमान्; ग्रन्थहरूको यथार्थ अर्थको शीघ्र वक्ता छ भने त्यसैलाई पण्डित भन्दछन् ॥५॥ जसको प्रज्ञा सुनेका सत्य अर्थको अनुकूल र जसको श्रवण बुद्धिको अनुसार हुन्छ; जसले कहिल्यै पनि आर्य अर्थात् श्रेष्ठ धार्मिक पुरुषहरूको मर्यादाको छेदन गर्दैन, त्यसैले पण्डितसंज्ञा प्राप्त गर्दछ ॥६॥ जहाँ यस्ता-यस्ता सज्जन स्त्री-पुरुष अध्ययन-अध्यापन गराउनेवालाहरू हुन्छन्, त्यहाँ विद्या, धर्म र उत्तमाचारको वृद्धि भएर प्रतिदिन आनन्द बढ्दै जान्छ ।
मूर्खको लक्षणहरू (४.१४)
पढाउनमा अयोग्य र मूर्खको लक्षणहरू—
अश्रुतश्च समुन्नद्धो दरिद्रश्च महामनाः । अर्थांश्चाऽकर्मणा प्रेप्सुर्मूढ इत्युच्यते बुधैः ॥१॥
अनाहूतः प्रविशति ह्यपृष्टो बहु भाषते । अविश्वस्ते विश्वसिति मूढचेता नराधमः ॥२॥
                      —यी श्लोक पनि महाभारत उद्योगपर्व विदुरप्रजागर (अध्याय ३३) कै हुन् ॥
अर्थ— जसले कुनै शास्त्र पढेको छैन, सुनेको छैन; र अतीव घमण्डी, दरिद्र हुँदा पनि ठूलो-ठूलो मनोरथ राख्ने; बिना कर्मले पदार्थहरूको प्राप्तिको इच्छा गर्ने, त्यसलाई बुद्धिमानीहरूले ‘मूढ’ भन्दछन् ॥१॥ नबोलाइकन सभामा वा कसैको घरमा प्रविष्ट गर्ने, उच्चासनमा बस्न चाहने, बिना सोधे सभामा बड्बड् गर्ने; विश्वासको अयोग्य वस्तु वा मनुष्यमा विश्वास गर्ने, त्यही ‘मूढ’ र सबै मनुष्यमा ‘नीच’ मनुष्य गनिन्छ ॥२॥ जहाँ यस्ता पुरुष, अध्यापक, उपदेशक, गुरु र माननीय हुन्छन्, त्यहाँ अविद्या, अधर्म, असभ्यता, कलह, विरोध र फुट बढेर दुःख नै बढ्दछ ।
विद्यार्थीका कर्मको वर्णन (४.१५)
अब विद्यार्थीहरूको लक्षण—
आलस्यं मदमोहौ च चापलं गोष्ठिरेव च ।
स्तब्धता चाभिमानित्वं तथाऽत्यागित्वमेव च ।
एते वै सप्त दोषाः स्युः सदा विद्यार्थिनां मताः ॥१॥
सुखार्थिनः कुतो विद्या नास्ति विद्यार्थिनः सुखम् ।
सुखार्थी या त्यजेद्विद्यां विद्यार्थी वा त्यजेत्सुखम् ॥२॥
                    —यी श्लोक पनि महाभारत उद्योगपर्व विदुरप्रजागर (अध्याय ४०) कै हुन् ॥
(आलस्य) शरीर र बुद्धिमा जडता; नशा-मोह=कुनै वस्तुमा फस्नु; चपलता; यता-उताको व्यर्थ कथा गर्नु-सुनाउनु; पढ्दा-पढ्दै रोकिनु; अभिमानी; अत्यागि हुनु; यी सात दोष विद्यार्थीहरूमा हुने गर्छन् ॥१॥जो यस्ता हुन्छन् तिनलाई विद्या कहिल्यै पनि आउँदैन । सुख भोग्ने इच्छा गर्नेलाई विद्या कहाँ ? र विद्या पढ्नेलाई सुख कहाँ ? किनभने विषयसुखार्थीले विद्यालाई र विद्यार्थीले विषयसुखलाई छोडिदेओस् ॥२॥ यस्तो नगरिकन विद्या कहिल्यै पनि प्राप्त गर्न सकिंदैन । साथै यस्ताहरूलाई विद्या प्राप्त हुन्छ—
सत्ये रतानां सततं दान्तानामूर्ध्वरेतसाम् । ब्रह्मचर्यं दहेद्राजन् सर्वपापान्युपासितम् ॥      
   —महाभारत अनुशासन पर्व (अध्याय ७५/श्लोक ३८) ॥
जो सदा सत्याचारमा प्रवृत्त, जितेन्द्रिय र जसको वीर्य अधःस्खलित कहिल्यै हुँदैन, तिनैको ब्रह्मचर्य साँचो र तिनै विद्वान् हुन्छन् ॥ यसैले शुभलक्षणयुक्त अध्यापक र विद्यार्थीहरू हुनुपर्दछ । अध्यापकहरूले यस्तो यत्न गरोस्, जसबाट विद्यार्थीहरू सत्यवादी, सत्यमानी, सत्यकारी, सभ्य, जितेन्द्रिय, सुशीलतादि शुभगुणयुक्त, शरीर र आत्माको पूर्ण बललाई बढाएर समग्र वेदादि शास्त्रहरूमा विद्वान् बनून्, सदा तिनको कुचेष्टालाई छोडाउने र विद्या पढाउनमा चेष्टा गर्ने र विद्यार्थीहरूले पनि सदा जितेन्द्रिय, शान्त, पढ्नमा प्रेमी, विचारशील, परिश्रमी भएर यस्तो पुरुषार्थ गरोस्, जसबाट पूर्ण विद्या, पूर्ण आयु, पूर्ण धर्मात्मा र पुरुषार्थ गर्न जानोस्, इत्यादि ब्राह्मण-वर्णको काम हो ।
क्षत्रियको कर्मको बारेमा राजधर्ममा लेखिनेछ ।
जो वैश्य छन्, तिनीहरू ब्रह्मचर्यादिले वेदादि विद्या पढ्ने, विवाह गर्ने, नाना देशहरूको भाषा, नाना प्रकारको व्यापारको रीति, तिनको दर-भाव, किन्नु-बेच्नु, द्वीपद्वीपान्तरहरूमा लाभार्थ जानु-आउनु, लाभार्थ कामको आरम्भ गर्नु, पशुपालन र खेतीको उन्नति चतुराईबाट गर्नु-गराउनु, धनलाई बढाउनु, विद्या र धर्मको उन्नतिमा व्यय गर्नु, सत्यवादी, निष्कपटी भएर सत्यताले सबै व्यापार गर्नु, सबै वस्तुहरूको रक्षा यसरी गर्ने कि, जसबाट केही नष्ट हुन नपाओस् ।
शूद्र सबै सेवाहरूमा चतुर, पाकविद्यामा निपुण, अतिप्रेमले द्विजहरूको सेवा र उनैबाट आफ्नो उपजीविका गर्नु, र द्विजहरू यिनको खान, पान, वस्त्र, स्थान, विवाहादिमा जे-जति व्यय हुन्छ, सबै थोक दिनु, अथवा मासिक कर दिनु । चारै वर्ण परस्पर प्रीति, उपकार, सज्जनता, सुख, दुःख, हानि, लाभमा ऐकमत्य रहेर राज्य र प्रजाको उन्नतिमा तन, मन, धन व्यय गर्दैराखोस् ।
पुनर्विवाह एवं नियोगको विषय (४.१६)
स्त्री र पुरुषको वियोग कहिल्यै पनि हुनुहुँदैन । किनभने—
पानं दुर्जनसंसर्गः पत्या च विरहोऽटनम् । स्वप्नोऽन्यगेहवासश्च नारीसन्दूषणानि षट् ॥                
    —मनुस्मृति (अध्याय ९/श्लोक १३) ॥
मद्य, भाङ्ग आदि मादक द्रव्यहरू पिउनु; दुष्ट पुरुषहरूको सङ्ग; पतिसँग वियोग, एक्लै जताततै व्यर्थ पाखण्डी आदिको दर्शनले फिर्दै हिंड्नु र पराई घरमा शयन वा वास गर्नु; यी ६ कुराहरू स्त्रीलाई दूषित गराउने दुर्गुणहरू हुन्, र यिनै दुर्गुण पुरुषहरूको लागि पनि हो । पति र स्त्रीको वियोग दुई प्रकारबाट हुन्छ— कहीं कार्यार्थ देशान्तरमा जानु र दोस्रो मृत्युबाट हुने वियोग । यिनमा प्रथमको उपाय यही हो कि दूर देशमा यात्रार्थ जाँदाखेरि स्त्रीलाई पनि साथमा लैजाने । यसको प्रयोजन यो हो कि धेरै कालसम्म वियोग हुन नपरोस् ।
प्रश्न— स्त्री र पुरुषको बहुविवाह हुनु राम्रो हो कि होइन ?
उत्तर— युगपत् अर्थात् एकै समयमा हुँदैन ।
प्रश्न— के समयान्तरमा अनेक विवाह पनि हुनुपर्दछ ?
उत्तर— हुनुपर्दछ, जस्तै—
या स्त्री त्वक्षतयोनिःस्याद् गतप्रत्यागतापि वा । पौनर्भवेन भर्त्रा सा पुनः संस्कारमर्हति ॥   
   —मनुस्मृति (अध्याय ९/श्लोक १७६) ॥
जुन स्त्री वा पुरुषको पाणिग्रहण संस्कार मात्र भएको छ र संयोग (नभएको) अर्थात् अक्षतयोनि स्त्री, अक्षतवीर्य पुरुष छ भने त, त्यस स्त्री वा पुरुषको अन्य स्त्री वा पुरुषसँग पुनर्विवाह हुनुपर्दछ । फेरि शूद्रवर्णमा पनि चाहे जस्तोसुकै होस् पुनर्विवाह हुन सक्दछ । किन्तु ब्राह्मण, क्षत्रिय, वैश्य वर्णमा क्षतयोनि स्त्री, क्षतवीर्य पुरुषको पुनर्विवाह हुनुहुँदैन ।
प्रश्न— पुनर्विवाहमा के दोष छ ?
उत्तर(पहिलो) स्त्री पुरुषमा प्रेम न्यून हुन्छ । किनभने जब चाहन्छन् तब पुरुषले स्त्री र स्त्रीले पुरुष छोडेर अर्कैसँग सम्बन्ध गाँस्दछन् ।
(दोस्रो) जब स्त्री वा पुरुष, पति (वा स्त्री) मरेपछि दोस्रो विवाह गर्न चाहेमा, तब पूर्व पतिको वा प्रथम स्त्रीको पदार्थलाई उडाएर लैजानु वा मेटाइदिनु राम्रो मान्दछन् र उनको कुटुम्ब तीसँग झगडा गर्नेछन् ।
(तेस्रो) थुप्रै भद्रकुलको नाम वा चिह्न पनि नरहेर, उसको पदार्थ छिन्न-भिन्न हुन जान्छ ।
(चौथो) पातिव्रत्य र स्त्रीव्रत धर्म नष्ट हुनु, इत्यादि दोषहरूको अर्थ द्विजहरूमा पुनर्विवाह वा अनेक विवाह कहिल्यै पनि गर्नुहुँदैन ।
प्रश्न— जब वंशच्छेदन हुन जान्छ, तब पनि उसको कुल नष्ट हुन जान्छ र स्त्री पुरुषले व्यभिचारादि कर्म गरेर गर्भपातानादि थुप्रै दुष्ट कर्म गर्नेछन्, त्यसैले पुनर्विवाह गर्न राम्रो हुन्छ ।
उत्तर— राम्रो हुँदैन, किनभने जुन स्त्री पुरुष ब्रह्मचर्यमा स्थित रहन चाहन्छन् भने त कुनै पनि उपद्रव हुनेछैन । फेरि जसले कुलको परम्परा राख्नको लागि कुनै आफ्नो स्वजातिको बच्चा काख (गोद) लिनेछन्, त्यसबाट कुल पनि चल्नेछ र व्यभिचार पनि हुनेछैन, र जसले ब्रह्मचर्यमा रहन सक्दैन भने नियोग गरेर सन्तानोत्पत्ति गराउन सक्दछन् ।
प्रश्न— पुनर्विवाह र नियोगमा के अन्तर छ ?
उत्तर(पहिलो) जसरी विवाह गर्दामा कन्याले आफ्नो पिताको घरलाई छाडेर पतिको घरमा जान्छे र पितासँग विशेष सम्बन्ध रहँदैन, र विधवा स्त्री उसै विवाहित पतिको घरमा रहन्छे ।
(दोस्रो) त्यसै विवाहित स्त्रीका छोराहरू त्यसै विवाहित पतिका सम्पत्तिको अंशबण्डामा अधिकारी हुन्छन् । फेरि विधवा स्त्रीका छोरा वीर्यदाताका नामले चिनिदैनन्, न त त्यसको गोत्रका नै हुन्छन्, न त त्यसको स्वत्व ती केटाहरूमा नै हुन्छ, किन्तु तिनीहरू मृतपतिको नामले चिनिन्छन्, उसैको गोत्रका हुन्छन्, र उसैको पदार्थको अधिकारी भएर उसैको घरमा रहन्छन् ।
(तेस्रो) विवाहित स्त्री-पुरुषले परस्पर सेवा र पालन गर्न आवश्यक छ, र नियुक्त स्त्री-पुरुषको कुनै पनि सम्बन्ध रहँदैन ।
(चौथो) विवाहित स्त्री-पुरुषको सम्बन्ध मरणपर्यन्त रहन्छ भने नियुक्त स्त्री-पुरुषको सम्बन्ध कार्यसिद्धिको पश्चात् टुट्दछ ।
(पाँचौं) विवाहित स्त्री-पुरुष आपसमा गृहको कार्यको सिद्धि गर्नको लागि यत्न गर्दछन् भने नियुक्त स्त्री-पुरुष आफ्नो-आफ्नो घरको काम गर्ने गर्दछन् ।
प्रश्न— विवाह र नियोगको नियम एउटै हो कि पृथक्-पृथक् ?
उत्तर— केही थोरै मात्र भेद छ, जति पूर्वमा भनेर आएँ र दोस्रो यो हो कि स्त्री-पुरुष एक पति र एउटै स्त्री मिलेर दश सन्तानसम्म उत्पन्न गर्न सक्दछन्, र नियुक्त स्त्री-पुरुष दुई वा चार भन्दा अधिक सन्तानोत्पत्ति गर्न सक्दैनन् । अर्थात् जस्तो कुमार-कुमारीको विवाह हुन्छ, त्यस्तै जसकी/जसको स्त्री वा पुरुष मर्दछ, तिनैको नियोग हुन्छ, कुमार-कुमारीको होइन । जसरी विवाहित स्त्री-पुरुष सदा सङ्गमा नै रहन्छन्, त्यस्तो चाहिं नियुक्त स्त्री-पुरुषको व्यवहारमा हुँदैन, किन्तु बिना ऋतुदानको समय एकत्र हुनुहुँदैन । जुन स्त्रीले आफ्नो लागि नियोग गर्दछे भने जब दोस्रो गर्भ रहन्छ, त्यसै दिनबाट स्त्री-पुरुषको सम्बन्ध छुट्दछ । साथै जुन पुरुषले आफ्नो लागि नियोग गर्दछ भने दोस्रो गर्भ रहेपछि सम्बन्ध छुट्दछ । परन्तु त्यही नियुक्त स्त्रीले दुई-तीन वर्ष पर्यन्त ती बच्चालाई पालेर नियुक्त पुरुषलाई सुम्पिदियोस् । यसरी एक विधवा स्त्रीले दुइटा आफ्नो लागि र दुई-दुइटा अन्य-अन्य चार नियुक्त पुरुषहरूको लागि सन्तान पाउन सक्दछे, र एक मृतकस्त्री-पुरुषले पनि दुई आफ्नो लागि र दुई-दुइटा अन्य-अन्य चार विधवाहरूको लागि पुत्र उत्पन्न गर्न सक्दछ । यसरी मिलाएर दश-दश सन्तानोत्पत्तिको आज्ञा वेदमा पनि छ । जस्तै—
इ॒मां त्वमि॑न्द्र मीढ्वः सुपु॒त्रां सु॒भगां॑ कृणु । दशा॑स्यां पु॒त्राना धे॑हि॒ पति॑मेकाद॒शं कृ॑धि ॥
—ऋग्वेद (मण्डल १०/सूक्त ८५/मन्त्र ४५) ॥
हे (मिढ्व, इन्द्र) वीर्य-सेचनमा समर्थ ऐश्वर्ययुक्त पुरुष ! तँ यस विवाहित स्त्री वा विधवा स्त्रीहरूको लागि श्रेष्ठपुत्र र सौभाग्ययुक्त बना । यस विवाहित स्त्रीमा दश पुत्र उत्पन्न गरेर एघारौं स्त्रीलाई मान् ॥ हे स्त्री ! तैंले पनि विवाहित पुरुष वा नियुक्त पुरुषहरूबाट दश सन्तान उत्पन्न गरेर एघारौं पतिलाई मान् । यस वेदको आज्ञाले ब्राह्मण, क्षत्रिय र वैश्यवर्णस्थ स्त्री र पुरुष दश-दश सन्तान भन्दा अधिक उत्पन्न नगरून् । किनभने अधिक जन्माउनाले सन्तान निर्बल, निर्बुद्धि, अल्पायु हुन्छन् र स्त्री तथा पुरुष पनि निर्बल, अल्पायु र रोगी भएर वृद्धावस्थामा धेरै दुःख पाउँछन् ।
प्रश्न— यो नियोगको कुरो त व्यभिचार जस्तो देखिन्छ नि ?
उत्तर— जस्तै बिना विवाहितहरूको व्यभिचार मानिन्छ, त्यस्तै बिना नियुक्तहरूको पनि व्यभिचार मानिन्छ । यसबाट यही सिद्ध हुन्छ कि जस्तो नियमसँग विवाह भएपछि व्यभिचार मानिदैन, त्यस्तै नियमपूर्वक नियोग गर्नाले व्यभिचार मानिदैन । जसरी— अर्काकी छोरी र अर्काको छोराको शास्क्रोत्त विधिले विवाहपूर्वक समागममा व्यभिचार वा पाप, लज्जा, शर्म हुँदैन, त्यसरी नै वेदशास्क्रोत्त नियोगमा व्यभिचार, पाप, लज्जा, शर्म मान्न हुँदैन ।
प्रश्न— ठीक त हो, तर यो वेश्याको जस्तै कर्म देखिन्छ ।
उत्तर— होइन, किनभने वेश्याको समागममा कुनै निश्चित पुरुष वा नियम लागु हुँदैन, र नियोगमा विवाहकै समान नियम लागु हुन्छ । जसरी अर्कैलाई छोरी दिइन्छ, अर्कैसँग समागम गर्नमा विवाहपूर्वक लज्जा शर्म हुँदैन, त्यसरी नै नियोगमा पनि हुनुहुँदैन । के जुन व्यभिचारी पुरुष वा स्त्री हुन्छन्, तिनीहरू विवाह भएपछि पनि कुकर्म गर्नबाट बच्दछन् ?
प्रश्न— मलाई त नियोगको कुरामा पाप देखिनेजस्तो लाग्दैछ ।
उत्तर— यदि नियोगको कुरामा पाप देख्दछौ भने त विवाहको कुरामा पनि तिमीले पाप किन देख्दैनौ ? पाप त नियोगलाई रोक्नमा छ । किनभने ईश्वरको सृष्टिक्रमानुकूल स्त्री-पुरुषको स्वाभाविक व्यवहार रोकिन सक्दैन, सिवाय वैराग्यवान्, पूर्ण विद्वान् योगीहरू बाहेक । के गर्भपतनरूप भ्रूणहत्या र विधवा स्त्री र मृतक स्त्री-पुरुषको महासन्तापलाई पापमा गन्दैनौ ? किनभने जबसम्म युवावस्थामा हुन्छन्, मनमा सन्तानोत्पत्ति र विषयको चाहना हुनेहरूले कुनै राज्यव्यवहार वा जाति-व्यवहारले रोकावट गरे पनि गुप्त-गुप्त कुकर्म नराम्रो तरिकासँग गरिराखेका हुन्छन् । यस्तो व्यभिचार र कुकर्मलाई रोक्ने यही एउटा श्रेष्ठ उपाय हो कि जसबाट जितेन्द्रिय रहन सकून्, तिनले विवाह वा नियोग नगरे त ठीकै हो । परन्तु जो यस्ता छैनन्, तिनको लागि विवाह र आपत्कालमा नियोग अवश्य हुनुपर्दछ । यसबाट व्यभिचार न्यून हुन जान्छ, प्रेमले उत्तम सन्तान भएर मनुष्यको वृद्धि हुन सम्भव छ, र गर्भहत्या सर्वथा छुटेर जानेछ । नीच पुरुषहरूबाट उत्तम स्त्री र वेश्यादि नीच स्त्रीहरूबाट उत्तम पुरुषहरूको व्यभिचाररूप कुकर्म, उत्तम कुलमा कलङ्क, वंशको उच्छेद, स्त्री-पुरुषहरूको सन्ताप र गर्भहत्यादि कुकर्म विवाह र नियोगले निवृत्त हुन्छन्, त्यसैले नियोग गर्नु राम्रो हो ।
प्रश्न— नियोगमा के-के कुरा हुनुपर्दछ ?
उत्तर— जसरी प्रसिद्धिले विवाह, त्यसरी नै प्रसिद्धिले नियोग । जसरी विवाहमा भद्र पुरुषहरूको अनुमति र कन्या वरको प्रसन्नता हुन्छ, त्यस्तै नियोगमा पनि । अर्थात् जब स्त्री-पुरुषको नियोग गर्नु छ भने तब आफ्ना कुटुम्बमा पुरुष-स्त्रीहरूको सामुन्ने भनून् कि हामी दुईले नियोग सन्तानोत्पत्तिको लागि गर्दैछौं । जब नियोगको नियम पूरा हुनेछ, तब हामीले संयोग गर्नेछैनौं । यदि अन्यथा गर्‍यौं भने त पापी र जाति वा राज्यको दण्डनीय हुनेछौं । महिना-महिनामा एकपटक गर्भाधानको कर्म गर्नेछौं, गर्भ रहे पश्चात् एक वर्ष दिनसम्म पृथक् रहनेछौं ।
प्रश्न— नियोग आफ्नो वर्णमा हुनुपर्दछ कि, वा अन्य वर्णस्थको साथमा पनि ?
उत्तर— आफ्नो वर्णमा वा आफ्नो भन्दा उत्तमवर्णस्थ पुरुषको साथमा । अर्थात् वैश्या स्त्रीले वैश्य, क्षत्रिय र ब्राह्मणको साथमा, क्षत्रिया स्त्रीले क्षत्रिय र ब्राह्मणको साथमा, ब्राह्मणी स्त्रीले ब्राह्मणको साथमा नियोग गर्न सक्दछे । यसको तात्पर्य यही हो कि वीर्य सम वा उत्तम वर्णको हुनुपर्दछ, आफू भन्दा तल्लो वर्णको होइन । स्त्री र पुरुषको सृष्टिको यही प्रयोजन हो कि धर्मले अर्थात् वेदोक्त रीतिले विवाह वा नियोगबाट सन्तानोत्पत्ति गर्नु ।
प्रश्न— पुरुषले नियोग गर्न के आवश्यकता छ, किनभने उसले दोस्रो विवाह गर्नेछ ?
उत्तर— मैले लेखिसकेको छु, द्विजहरूमा स्त्री र पुरुषको एक पटक मात्रै विवाह हुनु वेदादि शास्त्रहरूमा लेखिएको छ, द्वितीय पटक होइन । कुमार र कुमारीको विवाह हुनुमा न्याय र विधवा स्त्रीसँग कुमार पुरुष र कुमारी स्त्रीसँग विधुर पुरुषको विवाह हुनमा अन्याय अर्थात् अधर्म हो । जसरी विधवा स्त्रीसँग पुरुषको विवाह गरिंदैन, त्यसरी नै विवाहित र स्त्रीसँग समागम गरिसकेको पुरुषसँग विवाह गर्न कुमारीले पनि इच्छा गर्दिन । जब विवाह गरिसकेको पुरुषसँग कुनै कुमारी कन्या र विधवा स्त्रीको ग्रहण कुनै कुमार पुरुषले पनि गर्नेछैन, तब पुरुष र स्त्रीलाई नियोग गर्नुपर्ने आवश्यकता हुनेछ र यही धर्म हो कि जस्तालाई त्यस्तैसँग नै सम्बन्ध हुनुपर्दछ ।
प्रश्न— जसरी विवाहमा वेदादि-शास्त्रहरूको प्रमाण छ, त्यसै गरी नै नियोगमा प्रमाण छ कि छैन ?
उत्तर— यस विषयमा थुप्रै प्रमाण छन्, हेर र सुन—   
कुह॑ स्वद्दो॒षा कुह॒ वस्तो॑र॒श्विना॒ कुहा॑भिपि॒त्वं क॑रतः॒ कुहो॑षतुः ।
को वां॑ शयु॒त्रा वि॒धवे॑व दे॒वरं॒ मर्य्यं॒ न योषा॑ कृणुते स॒धस्थ॒ आ ॥१॥
—ऋग्वेद (मण्डल १०/सूक्त ४०/मन्त्र २) ॥
उदी॑र्ष्व नार्य॒भि जी॑वलो॒कं ग॒तासु॑मे॒तमुप॑ शेष॒ एहि॑ ।
ह॒स्त॒ग्रा॒भस्य॑ दिधि॒षोस्तवे॒दं पत्यु॑र्जनि॒त्वम॒भि सं ब॑भूथ ॥२॥
—ऋग्वेद (मण्डल १०/सूक्त १८/मन्त्र ८) ॥
हे (अश्विना) स्त्री-पुरुषहरू ! जसरी (देवरं विधवेव) देवरलाई विधवा र (योषा मर्यन्न) विवाहिता स्त्रीले आफ्नो पतिलाई (सधस्थे) समान स्थान शय्यामा एकत्र भएर सन्तानोत्पत्तिको लागि (आ कृणुते) सब प्रकारबाट उत्पन्न गर्दछे, त्यसरी नै तिमी दुई स्त्री-पुरुष (कुहस्विद्दोषा) कहाँ रात्रि र (कुह वस्तः) कहाँ दिनमा बसेका थियौ ? (कुहाभिपित्वम्) कहाँ पदार्थहरूको प्राप्ति (करतः) गर्‍यौ ? र (कुहोषतुः) कुन समयमा कहाँ वास गर्दथ्यौ ? (को वां शयुत्रा) तिम्रो शयनस्थान कहाँ छ ? तथा को वा कुन देशका ह्वौ ? यसबाट यही सिद्ध हुन्छ कि देश-विदेशमा स्त्री-पुरुष सँगैमा रहून् र विवाहित पतिकै समान नियुक्त पतिको ग्रहण गरेर विधवा स्त्रीले पनि सन्तानोत्पत्ति गरोस् ॥१॥
प्रश्न— जुन विधवाको देवर अर्थात् पतिको भाइ छैन भने त नियोग कोसित गर्ने ?
उत्तर— देवरसँग । परन्तु देवर शब्दको अर्थ जस्तो तिमीले सम्झेका छौ, त्यस्तो होइन ।
हेर ! निरुक्तमा—
देवरः कस्माद् द्वितीयो वर उच्यते ॥               —निरुक्त (अध्याय ३ । खण्ड १५) ॥
अर्थ— देवर उसलाई भन्दछन् कि जो विधवाको दोस्रो पति हुन्छ, चाहे पतिको भाइ होस् वा दाइ, अथवा आफ्नो वर्ण वा आफू भन्दा उत्तम वर्णवाला होस्, जोसँग नियोग गरिन्छ, त्यसैको नाम ‘देवर’ हो ।  
हे (नारि) विदुई ! तैंले (एतं गतासुम्) यस मरेको पतिको आशा छोडेर (शेषे) बाँकी पुरुषहरूदेखि (अभिजीवलोकम्) मनले चाहेको दोस्रो पतिलाई (उपैहि) प्राप्त गरेस्, र (उदीर्ष्व) यस कुराको विचार र निश्चय राख कि जुन (हस्तग्राभस्य दिधिषोः) तँ विधवाको पुनः पाणिग्रहण गर्नको लागि नियुक्त पतिको सम्बन्धको लागि नियोग भयो भने त (इदम्) यो (जनित्वम्) जन्मिएको बालक उसै नियुक्त (पत्युः) पतिको हुनेछ र यदि तैंले आफ्नो लागि नियोग गरिस् भने त यो सन्तान तेरो तब हुनेछ; यसरी निश्चययुक्त (अभि सम् बभूथ) भएस् र नियुक्त पुरुषले पनि यसलाई पालन गरोस् ॥२॥
अदे॑वृ॒घ्न्यप॑तिघ्नी॒हैधि॑ शि॒वा प॒शुभ्यः॑ सु॒यमा॑ सु॒वर्चाः॑
प्र॒जाव॑ति वीर॒सू॒र्देवृका॑मा स्यो॒नेमम॒ग्निं गार्ह॑पत्यं सपर्य ॥
—अथर्ववेद [काण्ड१४/(प्रपा.२९) अनु.२/मन्त्र १८] ॥
हे (अपतिघ्न्यदेवृघ्नि) पति र देवरलाई दुःख नदिने भएकी स्त्री ! तँ (इह) यस गृहाश्रममा, (पशुभ्यः) पशुहरूको लागि, (शिवा) कल्याण गर्ने, (सुयमा) राम्रो प्रकारसँग धर्म नियममा चल्ने, (सुवर्चाः) रूप र सर्वशास्क्रविद्यायुक्त, (प्रजावती) उत्तम-पुत्र पौत्रादि सहित, (वीरसूः) शूरवीर पुत्रहरूलाई जन्माउन, (देवृकामा) देवरको कामना गर्ने, (स्योना) र सुख दिनको लागि, पति वा देवरलाई, (एधि) प्राप्त गरेर, (इमम्) यस, (गार्हपत्यम्) गृहस्थसम्बन्धी, (अग्निम्) अग्निहोत्रको, (सपर्य) सेवन गर्ने गर ।
तामनेन विधानेन निजो विन्देत देवरः ॥             —मनुस्मृति (अध्याय ९/श्लोक ६९) ॥
यदि अक्षतयोनि स्त्री विधवा भई भने त त्यसको पतिको निज सानो भाइले पनि त्यससँग विवाह गर्न सक्दछ ।
प्रश्न— एक स्त्री वा पुरुषले कति नियोग गर्न सक्दछन् ? र विवाहित नियुक्त पतिहरूको नाम के हुन्छ ?
उत्तर— सोमः॑ प्रथ॒मो वि॑विदे गन्ध॒र्वो वि॑विद॒ उत्त॑रः ।
 तृ॒तीयो॑ अ॒ग्निष्टे॒ पति॑स्तु॒रीय॑स्ते मनुष्य॒जाः ॥
—ऋग्वेद (मण्डल १०/सूक्त ८५/मन्त्र ४०) ॥
    हे स्त्री ! (ते) तेरो (प्रथमः) पहिलो विवाहित (पतिः) पति तँलाई (विविदे) प्राप्त हुन्छ, उसको नाम (सोमः) सुकुमारतादि गुणयुक्त हुनाले ‘सोम’; जुन दोस्रो नियोग हुनाले (विविदे) त्यो (गन्धर्वः) अर्थात् एक स्त्रीसँग सम्भोग गर्नाले ‘गन्धर्व’; जुन (तृतीय उत्तरः) दुईको पश्चात् तेस्रो पति हुन्छ, त्यो (अग्निः) अत्युष्णतायुक्त हुनाले ‘अग्नि’ संज्ञक; र जुन (ते) तेरो (तुरीयः) चौथोदेखि लिएर एघारौंसम्म नियोगबाट पति हुन्छन्, तिनीहरू (मनुष्यजाः) ‘मनुष्य’ नामले चिनिन्छन् । जस्तै (इमां त्वमिन्द्र.) यस मन्त्रमा एघारौं पुरुषसम्म स्त्रीले नियोग गर्न सक्दछे, त्यसरी नै पुरुषले पनि एघारौं स्त्रीसम्म नियोग गर्न सक्दछ ।
प्रश्न‘एकादश’ शब्दबाट दश पुत्र र एघारौं पतिलाई किन नगन्ने ?
    उत्तर— यदि यस्तो अर्थ गर्‍यौ भने त ‘विधवेव देवरम्’ ‘देवरः कस्माद् द्वितीयो वर उच्यते’ ‘अदेवृघ्नि’‘गन्धर्वो विविद उत्तरः’ इत्यादि वेदप्रमाणहरूदेखि विरुद्धार्थ हुनेछ । किनभने तिम्रो अर्थले त दोस्रो पनि पति प्राप्त हुन सक्दैन ।
देवराद्वा सपिण्डाद्वा स्त्रिया सम्यङ्नियुक्तया । प्रजेप्सिताधिगन्तव्या सन्तानस्य परिक्षये ॥१॥
ज्येष्ठो यवीयसो भार्य्यां यवीयान्वाग्रजस्त्रियम् । पतितौ भवतो गत्वा नियुक्तावप्यनापदि ॥२॥
औरसः क्षेत्रजश्चैव० ॥३॥            —मनुस्मृति (अध्याय ९/श्लोक ५९, ५८, १५९) ॥
इत्यादि मनुजीले लेख्नुभएको छ कि (सपिण्ड), अर्थात् पतिको ६ पुस्ताहरूमा पतिको भाइ वा दाइ अथवा स्वजातीय तथा आफ्नो भन्दा उत्तम जातिस्थ पुरुषसँग स्त्रीको नियोग हुनुपर्दछ । परन्तु जुन ती विधुर पुरुष र विधवा स्त्रीले सन्तानोत्पत्तिको इच्छा गर्दछन् भने मात्र नियोग गर्न उचित हुन्छ, अर्को कुरा जब सन्तानको सर्वथा क्षय हुन्छ, तब नियोग होस् ॥१॥ जुन आपत्काल, अर्थात् सन्तानहरूको इच्छा हुँदामा, दाइकी पत्नीसँग भाइको, भाइकी पत्नीसँग दाइको नियोग भएर सन्तानोत्पत्ति हुँदाखेरि पनि पुनः ती नियुक्त आपसमा समागम गरिराखे भने त पतित हुनेछन्, अर्थात् एक नियोगमा दोस्रो पुत्रको गर्भ रहनेसम्म नियोगको अवधि हो, यस पश्चात् समागम गर्न हुँदैन ॥२॥ र यदि दुइटैको लागि नियोग हो भने त चौथो गर्भसम्म, अर्थात् पूर्वोक्त रीतिले दश सन्तानसम्म हुन सक्दछ । पश्चात् विषयासक्तिमा गनिनेछ, यसले गर्दा तिनीहरू पतितमा गनिनेछन् । र जो विवाहित स्त्री-पुरुष पनि दशौं गर्भदेखि अधिक समागम गरे भने त कामी र निन्दित हुन्छन् । अर्थात् विवाह वा नियोग सन्तानहरूकै अर्थमा गरिएको हुन्छ, पशुवत् कामक्रीडाको लागि होइन ।
प्रश्न— नियोग मरेपछि नै हुन्छ कि पति जिउँदो हुँदा पनि ?
    उत्तर— जिउँदो हुँदा पनि हुन्छ—
अन्यमिच्छस्व सुभगे पतिं मत् ॥     —ऋग्वेद (मण्डल १०/सूक्त१०/ मन्त्र १०) ॥
जब पति सन्तानोत्पत्तिको लागि असमर्थ हुन्छ भने तब स्त्रीलाई आज्ञा देओस् कि हे सुभगे ! सौभाग्यको इच्छा गर्ने भएकी तँ (मत्) मदेखि (अन्यम्) दोस्रो पतिको (इच्छस्व) इच्छा गर्, किनभने अब मबाट सन्तानोत्पत्ति हुन सक्दैन । तब स्त्रीले दोस्रोसँग नियोग गरेर सन्तानोत्पत्ति गरोस्, परन्तु त्यस विवाहित महाशय पतिको सेवामा तत्पर रहोस् । त्यसरी नै स्त्री पनि जब रोगादि दोषले ग्रस्त भएर सन्तानोत्पत्तिमा असमर्थ भई भने तब आफ्नो पतिलाई आज्ञा देओस् कि हे स्वामी ! तपाईंले मबाट सन्तानोत्पत्तिको इच्छालाई छोडेर, कुनै अर्की विधवा स्त्रीसँग नियोग गरेर सन्तानोत्पत्ति गर्नुहोस् । जस्तै कि पाण्डु राजाकी स्त्री कुन्ती र माद्री आदिले गरे । साथै जसरी व्यासजीले चित्राङ्गद र विचित्रवीर्यको मरण पश्चात् ती आफ्नी भाइकी स्त्रीहरूसँग नियोग गरेर अम्बिकामा धृतराष्ट्र, अम्बालिकामा पाण्डु र दासीमा विदुरको उत्पत्ति गरे, इत्यादि इतिहासहरू पनि यस कुराको प्रमाण हुन् ।
प्रोषितो धर्मकार्यार्थं प्रतीक्ष्योऽष्टौ नरः समाः । विद्यार्थं षड् यशोऽर्थं वा कामार्थं त्रींस्तु वत्सरान् ॥१॥
वन्ध्याष्टमेऽधिवेद्याब्दे दशमे तु मृतप्रजाः । एकादशे स्त्रीजननी सद्यस्त्वप्रियवादिनी ॥२॥
—मनुस्मृति (अध्याय ९/श्लोक ७६, ८१) ॥
विवाहित स्त्री; जो विवाहित पति धर्मको अर्थ परदेश गएको छ भने ८ वर्ष, विद्या र कीर्तिको लागि गएको छ भने त ६ वर्ष, र धनादि कमाउनको लागि गएको हो भने त ३ वर्षसम्म बाटो हेरेर, पश्चात्मा नियोग गरेर सन्तानोत्पत्ति गरोस् । जब विवाहित पति आयो भने त नियुक्त पुरुष पनि छुटोस् ॥१॥ त्यसरी नै पुरुषको लागि पनि नियम छ, जब विवाह गरेदेखि आठ वर्षसम्म स्त्रीमा गर्भ रहेन भने, यदि बन्ध्या भै भने त आठौं वर्षमा, सन्तान जन्मेर पनि रहेनन् भने त दशौं, जब-जब हुन्छ तब-तब कन्या, पुत्र नभएको खण्डमा एघारौं, र जो स्त्री अप्रिय बोल्दछे भने त तुरुन्त त्यसलाई छोडेर, दोस्रो स्त्रीसँग नियोग गरेर सन्तानोत्पत्ति गरोस् ॥२॥ त्यसरी नै जो पुरुष अत्यन्त दुःखदायक छ भने त्यसलाई तुरुन्त छोडेर दोस्रोसँग नियोग गरेर सन्तानोत्पत्ति गरेर उसै विवाहित पतिको दायभागी (अंशियार) सन्तान गराओस् । इत्यादि प्रमाण र युक्तिहरूबाट स्वयंवर विवाह र नियोगबाट आफ्नो-आफ्नो कुलको उन्नति गरोस् ।
जसरी ‘औरस’ अर्थात् विवाहित पतिबाट जन्मेको पुत्र, पिताको पदार्थहरूको स्वामी हुन्छ, त्यसरी नै ‘क्षेत्रज’ अर्थात् नियोगबाट जन्मेका पुत्रले पनि मृतपिताको दायभागी (अंशियार) हुन्छ ।
अब यसमाथि स्त्री र पुरुषले यस कुराको ख्याल राख्नुपर्दछ कि वीर्य र रजलाई सदैव अमूल्य सम्झिऊन् । जो कसैले यस्तो अमूल्य पदार्थलाई परस्त्री, वेश्या वा दुष्ट पुरुषहरूको सङ्गमा लागेर नष्ट गर्दछन्, ती महामूर्ख हुन्छन् । किनभने किसान वा माली मूर्ख भएर पनि आफ्नो खेत वा वाटिकाको बिना अन्यत्र बीउ रोप्दैनन् । जुन कि साधारण बीउको र मूर्खको यही वर्तमान (पहिचान) हो भने त जुन सर्वोत्तम मनुष्यशरीररूपी वृक्षको बीजलाई कुक्षेत्रमा खसाल्दछ भने, त्यो महामूर्खमा गनिन्छ, किनभने त्यसको फल त्यसलाई मिल्दैन र ‘आत्मा वै जायते पुत्रः’ यो ब्राह्मण ग्रन्थ (शत.कां.१४/प्रपा.७/ब्रा.५/कं.२६) को वचन हो ।
अङ्गा॑दङ्गा॒त्सम्भ॑वसि॒ हृद॒या॒दधि॑ जायसे । आ॒त्मासि पु॒त्र मा॒ मृथाः॒ स जी॑व श॒रदः श॒तम्॥
—यो सामवेदको ब्राह्मणको वचन हो ॥
       —सामवेद ब्राह्मण मन्त्रपर्व (प्रपा.१/खण्ड ५/कण्डिका १७ को पूर्वार्द्ध र १८ को उत्तरार्द्ध) ॥
हे पुत्र ! तँ अङ्ग-अङ्गबाट उत्पन्न भएको वीर्यबाट उत्पन्न र हृदयबाट उत्पन्न हुन्छस्, त्यसैले तँ मेरो आत्मा होस्, म भन्दा पूर्व नमर्नू, किन्तु शय वर्षसम्म बाँच्नू । जसबाट यस्ता-यस्ता महात्मा र महाशयहरूको शरीर उत्पन्न हुन्छ, त्यसलाई वेश्यादि दुष्टक्षेत्रमा खेर फाल्नु, वा दुष्ट बीज राम्रो क्षेत्रमा रोप्नु महापापको काम हो ।
प्रश्न— विवाह किन गर्ने ? किनभने यसबाट स्त्री र पुरुष बन्धनमा परेर थुप्रै संकोच गर्नु र दुःख भोग्नुपर्दछ, त्यसैले जसको जोसँग प्रीति हुन्छ, तिनीहरू तबसम्म मिलिरहून्, जब प्रीति छुट्दछ तब छोडिदिऊन् ।
उत्तर— यो त पशु-पक्षीहरूको व्यवहार भयो नि, मनुष्यको होइन । यदि मान्छेमा विवाहको नियम रहेन भने त, गृहाश्रमको राम्रो व्यवहार सबै नष्ट-भ्रष्ट हुन जान्छ । कसैले कसैसँग भय वा लाज मान्ने छैन । वृद्धावस्थामा कसैले कसैको सेवा पनि गर्नेछैन, र महाव्यभिचार बढेर सबै रोगी, निर्बल र अल्पायु भएर शीघ्र-शीघ्र मर्नेछन् । कोही कसैको पदार्थको स्वामी वा अंशियार नहुने र कसै-कसैको पदार्थमा दीर्घकाल-पर्यन्त स्वत्व रहनेछ, इत्यादि दोषहरूको निवारणार्थ विवाह अवश्य हुनुपर्दछ ।
प्रश्न— जब विवाह हुनेछ, एक पुरुषकी एक स्त्री र एक स्त्रीको एक पुरुष हुनेछ, तब स्त्री गर्भवती हुन्छे, स्थिररोगिणी अथवा पुरुष दीर्घरोगी भए भने फेरि दुइटैको युवावस्था रहेछ भने; त्यतिखेर उनीहरूको मन थामिएन भने के गर्ने ?  
उत्तर— यसको प्रत्युत्तर नियोगमा दिइसकेको छु, र जब गर्भवती स्त्रीसँग एक वर्ष पर्यन्त समागम नगर्ने समयमा पुरुषको स्त्रीको मन थामिन सकेन भने कुनै विधवासित नियोग गरेर त्यसको लागि पुत्रोत्पत्ति गरिदेओस्, परन्तु वेश्यागमन वा व्यभिचार कहिल्यै पनि नगर्नू ।
जहाँसम्म हुन सक्दछ, त्यहाँसम्म अप्राप्त वस्तुको इच्छा, प्राप्तको रक्षण र रक्षितको वृद्धि अनि बढेको धनको व्यय देशोपकारमा गर्ने गर्नु । सबै प्रकारको अर्थात् पूर्वोक्त रीतिले आफ्नो-आफ्नो वर्णाश्रमको व्यवहारहरूलाई अत्युत्साह, प्रयत्न, तन, मन, धनले गर्ने गर्नु । आफ्ना माता, पिता, सासू, श्वशुरको अत्यन्त शुश्रूषा गर्ने गर्नु । मित्र, छिमेकी, राजा, विद्वान्, वैद्य र सत्पुरुषहरूसँग प्रीति राख्ने र दुष्टसँग उपेक्षा राखेर तिनलाई सुधार्नको लागि प्रयत्न गर्ने । जहाँसम्म बन्न सक्दछ, त्यहाँसम्म प्रेमले आफ्ना सन्तानहरूलाई विद्वान् र सुशिक्षित बनाउनतिर धनादिलाई लगाउने । धर्मले सबै व्यवहारलाई गर्दै मोक्षको साधन पनि गर्ने गर्नु जसको प्राप्तिले परमानन्द होओस् । तलका यस्ता व्यर्थ श्लोकहरूलाई नमान्नू—
पतितोऽपि द्विजः श्रेष्ठो न च शूद्रो जितेन्द्रियः । निर्दुग्धा चापि गौः पूज्या न च दुग्धवती खरी ॥१॥
 —तुलना (भाषा पाराशरी अध्याय ८/श्लोक ३३, पराशरस्मृति अध्याय ८/श्लोक ३२) ॥
अश्वालम्भं गवालम्भं संन्यासं पलपैत्रिकम् । देवराच्च सुतोत्पत्तिं कलौ पञ्च विवर्जयेत् ॥२॥
    —तुलना (पारस्कर गृह्य सूत्र काण्ड १/कं. ३ को गदाधर भाष्यमा उद्धृत श्लोकबाट) ॥  
नष्टे मृते प्रव्रजिते क्लीवे च पतिते पतौ । पञ्चस्वापत्सु नारीणां पतिरन्यो विधीयते ॥३॥                                       —भाषा पाराशरी (अध्याय ४/श्लोक ३०) ॥
यी कपोलकल्पित पाराशरीका श्लोक हुन् । जुन दुष्ट कर्मकारी द्विजलाई श्रेष्ठ, र श्रेष्ठ कर्मकारी शूद्रलाई नीच मान्यो भने त यसभन्दा पर पक्षपात, अन्याय, अधर्म दोस्रो अधिक के नै होला ! के दुहुनो गाई र थारो गाई गोपाललाई पालनीय हुन्छ, त्यस्तै कुमाले आदिलाई गधिनी पालनीय हुन्न ? र यो दृष्टान्त पनि विषम छ, किनभने द्विज र शूद्र मनुष्य जाति, गाई र गधिनी भिन्न जाति हो । कथञ्चित् पशु जातिबाट दृष्टान्तको एकदेश दार्ष्टान्तमा मिले पनि त यसको आशय अयुक्त हुनाले यो श्लोक विद्वान्‌हरूलाई माननीय कहिल्यै पनि हुन सक्दैन ॥१॥
जब अश्वालम्भ अर्थात् घोडालाई मारेर अथवा गाईलाई मारेर होम गर्नु वेदविहित छैन भने त त्यसलाई कलियुगमा निषेध गर्नु वेदविरुद्ध किन होइन ? यदि कलियुगमा यस नीच कर्मलाई निषेध मान्यौं भने त त्रेता आदिमा विधि हुन्थ्यो । त्यसकारण यस्तो दुष्ट काम श्रेष्ठ युगमा हुनु सर्वथा असम्भव छ । साथै संन्यासको वेदादिमा विधि छ, त्यसको निषेध गर्नु निर्मूल हो । जब मांसको निषेध छ भने त सर्वदा नै निषेध छ । जब देवरबाट पुत्रोत्पत्ति गर्न वेदमा लेखिएको छ भने त यो श्लोककर्ता किन भन्कन्छ ? ॥२॥
यदि (नष्टे) अर्थात् पति कुनै देश-देशान्तरमा गएको छ भने, घरमा स्त्रीले नियोग गरोस्, त्यति वेलै विवाहित पति आयो भने त त्यो कस्की स्त्री हुन्छे ? कोही भन्दछ कि विवाहित पतिकी । हामीले मान्यौं, परन्तु यस्तो व्यवस्था पाराशरीमा त लेखिएको छैन । के स्त्रीका पाँच नै आपत्समय हो ? रोगी भएको भए, लडाईं भएको भए, इत्यादि आपत्काल पाँच भन्दा अधिक छन्, त्यसैले यस्ता-यस्ता श्लोकहरूलाई कहिल्यै पनि मान्नहुँदैन ॥३॥
प्रश्न— के त ! तिमीले पराशर मुनिको वचनलाई पनि मान्दैनौ ?     
उत्तर— चाहे कसैको वचन होस्, परन्तु वेदको विरुद्ध हुनाले मान्दैनौं, र यो पराशरको वचन पनि होइन । किनभने जसरी ‘ब्रह्मोवाच, वसिष्ठ उवाच, राम उवाच, शिव उवाच, देव्युवाच’ इत्यादि श्रेष्ठहरूको नाम लेखेर, ग्रन्थरचना यसको लागि गर्दछन् कि सर्वमान्यको नामले यी ग्रन्थलाई संसारमा सबैले मान्नेछन् र हाम्रो पुष्कल जीविका चल्नेछ । केही प्रक्षिप्त (पछि थपिएको) श्लोकहरूलाई छोडेर मनुस्मृति नै वेदानुकूल छ, अन्य स्मृति छैनन् । यसरी नै अन्य जाल ग्रन्थहरूको पनि व्यवस्था सम्झनु ।
गृहस्थ आश्रमको श्रेष्ठता (४.१७)
प्रश्न— गृहाश्रम सबै भन्दा सानो हो कि ठूलो ?
उत्तर—आफ्नो कर्ममा सबै ठूला हुन् । परन्तु—
यथा नदीनदाः सर्वे सागरे यान्ति संस्थितिम् । तथैवाश्रमिणः सर्वे गृहस्थे यान्ति संस्थितिम् ॥१॥
—मनुस्मृति (अध्याय ६/श्लोक ९०) ॥
यथा वायुं समाश्रित्य वर्त्तन्ते सर्वजन्तवः । तथा गृहस्थमाश्रित्य वर्त्तन्ते सर्व आश्रमाः ॥२॥
यस्मात्त्रयोऽप्याश्रमिणो दानेनान्नेन चान्वहम् । गृहस्थेनैव धार्य्यन्ते तस्माज्ज्येष्ठाश्रमो गृही ॥३॥
स संधार्य्य प्रयत्नेन स्वर्गमक्षयमिच्छता । सुखं चेहेच्छता नित्यं योऽधार्यो दुर्बलेन्द्रियैः ॥४॥
                                      —मनुस्मृति (अध्याय ३/श्लोक ७७-७९) ॥
अर्थ— जसरी नदी र ठूला-ठूला नद तबसम्म घुमिराख्दछन्, जबसम्म समुद्रलाई प्राप्त गर्दैनन्, यसै गरी गृहस्थकै आश्रयले सबै आश्रम स्थिर रहन्छन्, बिना गृहस्थाश्रमले अन्य आश्रमको कुनै पनि व्यवहार सिद्ध हुन सक्दैन ॥१॥ (जसरी वायुको आश्रयमा सबै प्राणी छन्, त्यसरी नै गृहस्थाश्रम सबै आश्रमहरूको पनि आश्रम हो) बिना यस आश्रमले ब्रह्मचारी, वानप्रस्थी र संन्यासीको दैनिक व्यवहार अर्थात् निर्वाह सिद्ध हुँदैन ॥२॥ जसबाट ब्रह्मचारी, वानप्रस्थ र संन्यासी तीनै आश्रमको दान र अन्नादि दिएर प्रतिदिन गृहस्थले नै धारण गर्दछ, यसैले गृहस्थ ज्येष्ठाश्रम हो, अर्थात् सबै व्यवहारहरूमा धुरन्धर मानिन्छ ॥३॥ त्यसैले जसले अक्षय मोक्ष र संसारको सुखको इच्छा गर्दछ, त्यसले प्रयत्न गर्दै गृहाश्रमलाई धारण गरोस् । गृहाश्रम दुर्बलेन्द्रिय अर्थात् भीरु र निर्बल पुरुषलाई धारण गर्न अयोग्य छ, यसलाई राम्रोसँग धारण गरोस् ॥४॥
यसैले जे-जति व्यवहार संसारमा छन्, त्यसको आधार भनेको गृहाश्रम नै हो । यदि यो गृहाश्रम हुन्थेन भने त सन्तानोत्पत्ति नहुनाले ब्रह्मचर्य, वानप्रस्थ र संन्यासाश्रम कहाँबाट उत्पन्न हुन सक्दथे ? जो कसैले गृहाश्रमको निन्दा गर्दछ भने, त्यो आफै निन्दनीय हुन्छ, र जसले प्रशंसा गर्दछ त्यही प्रशंसनीय हुन्छ । परन्तु तब नै गृहाश्रममा सुख हुन्छ जब स्त्री र पुरुष दुइटै परस्पर प्रसन्न, विद्वान्, पुरुषार्थी र सबै प्रकारको व्यवहारको ज्ञाता हुन्छन् । यसैले गृहाश्रमको सुखको मुख्य कारण ब्रह्मचर्य र पूर्वोक्त स्वयंवर विवाह हो ।
यहाँ संक्षेपमा समावर्त्तन, विवाह र गृहाश्रमको विषयमा शिक्षा लेखें । यसको अगाडि वानप्रस्थ र संन्यासको विषयमा लेखिने छ ।     
 
इति श्रीमद्दयानन्दसरस्वतीस्वामिकृते सत्यार्थप्रकाशे
सुभाषाविभूषिते समावर्त्तनविवाहगृहाश्रमविषये
चतुर्थः समुल्लासः सम्पूर्णः ॥४॥

Comments

Popular posts from this blog

बाह्रौं समुल्लास

सातौं समुल्लास